निर्णय नं. ७४१६ - लेनदेन

निर्णय नं.७४१६ ने.का.प.२०६१ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री वलराम के.सी.
सम्वत २०५८ सालको दे.पु.नं. ..७९९८
फैसला मितिः २०६१।२।८।६
मुद्दाः लेनदेन ।
पुनरावेदक
प्रतिवादीः सुनसरी जिल्ला धरान न.पा.घर भै हाल का.जि.का.म.न.पा.वडा नं.५ बस्ने विरमाया लिम्वू
विरुद्ध
प्रत्यर्थी
वादीः ताप्लेजुङ्ग जिल्ला सानाथाक्रा गा.वि.स.वडा नं.५ को हाल का.जि. का.म.न.पा. वडा नं.७ बस्ने रणमाया लिम्वू
§ लिखतमा नै रकम असुले पनि वा जग्गा नै दाखिल खारेज गरी साहुले एकलौटी कायम गरेमा मन्जुर छ भन्ने व्यहोरा उल्लेख भएकोले करार ऐन अन्तर्गत नै वादीले दावी लिनुपर्ने भन्ने नदेखिई रकमतर्फ दावी लिन सक्ने लिखतमा नै तमसुकी व्यहोरा र भाखा राखी साँवा व्याज भराई लिन पाउने उल्लेख गरेको हुँदा साँवा व्याजमा दावी लिएकोलाई अन्यथा भन्न नमिल्ने ।
§ मिति २०५२।६।१२ मा भएको लिखतमा लागेको सहिछाप प्रतिवादीको हो होइन भनी विशेषज्ञ जाँच गराउँदा लिखतमा लागेको सहिछाप प्रतिवादी कै हो भन्ने विशेषज्ञको राय भएको र प्रमाण ऐन, २०३१ को दफा ५२ वमोजिम आफ्नो राय समेतलाई पुष्टी हुने गरी निजले बकपत्र गरी दिएबाट सोही ऐनको दफा २३(७) बमोजिम निजको रायलाई प्रमाणमा लिन मिल्ने नै देखिने ।
पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री हरिप्रसाद गेलाल
प्रत्यर्थी वादीतर्फवाटः विद्वान अधिवक्ताहरु श्री रुकु थापा के.सी. र श्री खिमानन्द वन्जाडे
अवलम्वित नजिरः
फैसला
न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०५६।६।४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्याई पाउँ भनी प्रतिवादीको यस अदालतमा परेको निवेदनमा दोहोर्याउने निस्सा प्रदान भै पुनरावेदनमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :–
२. विपक्षीले मलाई विश्वासमा पारी रु.६,८०,०००।– लिई कपाली तमसुकमा उल्लेखित भाखा भित्र तिर्न नसके काठमाडौं जिल्ला बालकुमारी गा.वि.स.वडा नं.९ को कि.नं.३४५ को क्षेत्रफल ०–८–० जग्गा पारित गरी दिने शर्तमा कागज गरिदिए पनि भाखा नाघेपछि रकम पनि तिर्दिन र जग्गा पास गरी दिन्न भनेकाले तीन महिनाको साँवा व्याज रु.६,९६,९९८।– भराई पाउँ र रुपैया दिन नसके उल्लेखित कित्ता जग्गा पास गराई वा विपक्षीको अन्य जायजेथाबाट असुल उपर गरी पाउँ भन्ने व्यहोराको फिराद दावी ।
३. विपक्षीसँग मैले उक्त व्यहोराको कागज गरी कुनै रकम लिएको छैन र लिनुपर्ने आवश्यकता पनि छैन । किर्ते कागज खडा गरेको हुनुपर्छ । जालसाजी क्रियाबाट फुर्सद पाउँ भन्ने प्रतिउत्तर पत्र ।
४. मिति २०५२।६।१२ गतेको रु.६,८०,०००।– को तमसुक लिखत मैले गरेको होइन, सहिछाप मेरो होइन, सो कागजलाई जालसाजी घोषित गरी पाउँ भनी प्र.ले.अ.वं.७८ नं.बमोजिम गरेको बयान ।
५. लिखित सद्दे भएको र रित पुगको नै देखिएको र तिरे बुझाएको प्रमाण प्रतिवादीबाट आएको नपाइएकोले वादी दावी बमोजिमको साँवा र त्यसको कानून बमोजिमको व्याज समेत वादीले प्रतिवादीबाट भराई पाउने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०५४।११।८ को फैसला ।
६. विपक्षी वादीले आफ्नो फिरादपत्रमा उल्लेखित व्यहोराको कारोवार तथा उल्लेखित मितिमा कुनै कागज भएको छैन । लिखत तयार भएको बखतका साक्षी तथा लेखक साक्षी समेत नबुझी निर्णय गरिएको छ । शर्त बमोजिम नगरेमा मात्रपछि अन्य उपचार भएकोमा पहिलो अनुसारको माग छैन । लेनदेन कारोवार नगरेको अबस्थामा जग्गाको स्वामित्व खरिद बिक्री गर्ने शर्तलाई कपाली तमसुक सरह मानी म बाट साँवा व्याज भराउने गरेको फैसला बदर गरी पाउँ भन्ने पुनरावेदन पत्र ।
७. विवादको लिखतमा लागेको सहिछाप कारणी कै हो भन्ने विशेषज्ञको राय भएको र लिखतको प्रकृतिलाई अन्यथा भन्न नसकिएको साथै लिखत साक्षी र विशेषज्ञलाई बुझी पाउँ भन्ने पुनरावेदन जिकिर नभएकोले सोतर्फ बोलिरहनु पर्ने अबस्था नदेखिंदा दावी बमोजिम सावाँ व्याज भराई दिने गरेको काठमाडौं जिल्ला अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको फैसला
८. दावीको लिखतमा मैले सही गरेको छैन भन्ने मेरो इन्कारी प्रतिउत्तर भएको साथै लिखत पनि कानून बमोजिम भएको नदेखिएकोमा सोको व्याख्या नगरी राय दिने विशेषज्ञ र लिखत साक्षीहरु समेत नबुझी गरेको पुनरावेदन अदालतको फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोराको विरमाया लिम्वुको मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन ।
९. यसमा विशेषज्ञको राय अदालतमा परीक्षण गर्नुपर्नेमा सो नगरी दावी बमोजिमको रकम वादीले प्रतिवादीबाट भरी पाउने गरी गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५६।६।४ को फैसलामा वादी बेचु साहु तेली बिरुद्ध रामप्रसाद साहु तेली समेतको किर्ते जालसाजी मुद्दा (ने.का.प.२०४३ अं.४ नि.नं.२६८८ पृ.३३६) मा यस अदालतको संयुक्त इजलासबाट प्रतिपादित नजिर तथा प्रमाण ऐन, २०३१ को दफा २३ को उपदफा ७ को त्रुटी विद्यमान हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को आधारमा दोहोर्याउने निस्सा प्रदान गरिएको छ । शुरु रेकर्ड भए प्रमाण मिसिल समेत झिकाई पेश गर्नु भन्ने यस अदालतको आदेश ।
१०. यसमा विशेषज्ञलाई बकपत्र गराई पेश गर्नु भन्ने यस अदालतको आदेश ।
११. विवादको लिखत मैले परीक्षण गरेको र रेखा तथा लेखा विज्ञानको आधारमा वैज्ञानिक उपकरणको माध्यमबाट परीक्षण गरी देखिएको यथार्थ व्यहोरा खोली प्रतिवेदन दिएको हुँ भन्ने समेत व्यहोराको रेखा तथा लेखा विशेषज्ञ विश्वराज पौडेलले यस अदालतमा गरेको बकपत्र ।
१२. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फका विद्वान अधिवक्ता हरिप्रसाद गेलालले विवादको लिखत मुलुकी ऐन लेनदेन व्यवहारको महलमा उल्लेखित कानूनी व्यवस्था बमोजिम तयार भएको छैन । लिखतको प्रकृतिबाट करार ऐन, बमोजिम दावी गर्न आउनुपर्नेमा आउन सकेको छैन साथै लिखत मैले गरेको होइन भनी प्रतिउत्तर जिकिर लिई सकेपछि साक्षी प्रमाण बुझी निर्णय गर्नुपर्नेमा बुझ्नुपर्ने अत्यावश्यक प्रमाण समेत नबुझी गरेको पुनरावेदन अदालत पाटनको फैसला बदर हुनुपर्दछ भन्ने र विपक्षीतर्फका विद्वान अधिवक्ता रुकु थापा के.सी.र खिमानन्द बन्जाडेले दावीको लिखतमा लागेको सहीछाप विपक्षीको भएको भन्ने विशेषज्ञको परीक्षणबाट पुष्टी भएको साथै विशेषज्ञले दिएको परीक्षण प्रतिवेदन समेतलाई पुष्ठी हुने गरी यस अदालतमा आई बकपत्र समेत गरेबाट लिखतको अस्तित्वमा विवाद नभएपछि दावी बमोजिम साँवा व्याज भराउने ठहराएको पुनरावेदनको फैसला अन्यथा गर्नुपर्ने अबस्था नहुँदा सदर हुनुपर्दछ भनी गर्नु भएको बहस समेत सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा दावी बमोजिम साँवा व्याज भरी पाउने ठहराएको पुनरावेदन अदालत पाटनको फैसला मिले नमिले सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो।
१३. निर्णयतर्फ विचार गर्दा विपक्षले मिति २०५२।६।१२ मा म सँग रु.६,८०,०००।– को कपाली तमसुकको लिखत गरी भाखा भित्र तिर्न नसके मेरो नामको कि.नं.३४५ को ०–८–० जग्गा पास गरी दिने शर्त राख्नु भएमोमा भाखा भित्र साँवा व्याज समेत नतिरी जग्गा पास समेत नगरेकाले साँवा व्याज भराई पाउँ र सो नसके उल्लेखित जग्गा पास गराई पाउँ भन्ने समेत वादी दावी लिखत आपूmले नगरी दिएको भन्ने इन्कारी प्रतिउत्तर भै वादी दावी बमेजिम साँवा व्याज भराई पाउने ठहराएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला उपर प्रतिवादीको यस अदालतमा पुनरावेदन परेको देखियो ।
१४. यसमा पुनरावेदक प्रतिवादी विरमाया लिम्वूले विपक्षी वादी रणमाया लिम्वूनीसंग मिति २०५२।६।१२ मा घर खर्च गर्न भनी रु.६,८०,०००। (छ लाख असी हजार) लिई आफ्नो नाउँको साविक वालकुमारी गा.वि.स. वडा नं. ९(ख) कि.नं. ३४५ को क्षेत्रफल ०—८—० जग्गा पारित गरी दिने र जग्गा पारित नगरे ३ महिनाभित्र साँवा व्याज वुझाउने गरी लिखत गरिदएको देखिन्छ । लिखतमा नै रकम असुले पनि वा जग्गा नै दाखिल खारेज गरी साहुले एकलौटी कायम गरेमा मन्जुर छ भन्ने व्यहोरा उल्लेख भएकोले करार ऐन अन्तर्गत नै वादीले दावी लिनुपर्ने भन्ने नदेखिई रकमतर्फ दावी लिन सक्ने नै देखियो । साथै लिखतमा नै तमसुकी व्यहोरा र भाखा राखी साँवा व्याज भराई लिन पाउने उल्लेख गरेको हुँदा साँवा व्याजमा दावी लिएकोलाई अन्यथा भन्न मिल्ने देखिएन ।
१५. दावीको लिखतमा लागेको प्रतिवादीको सहिछाप आफ्नो नभई जालसाजीवाट खडा गरेको भन्ने प्रतिवादीको जिकिरतर्फ विचार गर्दा मिति २०५२।६।१२ मा भएको लिखतमा लागेको सहिछाप प्रतिवादीको हो होइन भनी विशेषज्ञ जाँच गराउँदा लिखतमा लागेको सहिछाप प्रतिवादी कै हो भन्ने विशेषज्ञको राय भएको र प्रमाण ऐन, २०३१ का दफा ५२ वमोजिम आफ्नो राय समेतलाई समेतलाई पुष्टी हुने गरी निजले बकपत्र गरी दिएबाट सोही ऐनको दफा २३(७) बमोजिम निजको रायलाई प्रमाणमा लिन मिल्ने नै देखियो ।
१६. तसर्थ लिखतको प्रकृति र विशेषज्ञको राय समेतका सम्बद्ध प्रमाणहरुको आधारमा दावीको लिखत सद्दे नै देखिएबाट प्रतिवादीको जिकिर मनासिब नदेखिंदा दावी बमोजिम साँवा व्याज भरी पाउने ठहराएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको २०५६।६।४ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
पुनरावेदक/ प्रतिवादी विरमाया लिम्वुके माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकाले निजले यस अदालतमा पुनरावेदन गर्दा लाग्ने कोर्ट फी १२,३५०।९८ तत्काल दाखिल गर्न नसक्ने भनी दिएको निवेदनमा यस अदालतको मिति २०५८।२।२ गते आदेशानुसार कोट फी ऐन, २०१७ को दफा २३ बमोजिम सुविधा प्राप्त गरी पुनरावेदन दर्ता भएको देखिंदा हाल सो कोर्ट फी निजलाई लाग्ने भै निजबाट जरीवाना सरह असूल गर्न लगत राख्नु भनी काठमाडौं जिल्ला अदालतमा लेखि पठाई दिनु––––––––
मिसिल नियमानुसार बुझाई दिनु –२
उक्त रायमा सहमत छु ।
न्या.वलराम के.सी.
इजलास अधिकृत पुरुषोत्तम ढकाल
इति सम्बत् २०६१ साल जेठ ८ गते रोज ६ शुभम्––– ।