निर्णय नं. ७३८६ - गोवध ।

निर्णय नं.७३८६ ने.का.प.२०६१ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
सम्वत २०५८ सालको फौ.पु.नं. २७६८
फैसला मितिः २०६१।५।११।६
मुद्दाः– गोवध ।
पुनरावेदक
प्रतिवादीः जिल्ला बांके जैसपुर गा.वि.स. वडा नं. ९ घर भई हाल केन्द्रीय कारागार शाखा नेपालगंजमा थुनामा रहेको सीताराम चमार
बिरुद्व
प्रत्यर्थी
वादीः छिटु यादवको जाहेरीले श्री ५ को सरकार
§ प्रतिवादीले विरामी गाइको घाटीमा चक्कुले काटी मारेको भनी किटानी जाहेरी दरखास्त परेको र जाहेरवालाले जाहेरी व्यहोरालाई समर्थन हुने गरी अदालतमा बकपत्र समेत गरेको देखिन्छ । प्रतिवादीले गाईलाई नमारेको भए विना कारण निज उपर किटानी जाहेरी दरखास्त दिनुपर्ने कुनै कारण पनि रहे भएको भन्ने देखिन आएको छैन । लाश प्रकृति मुचुल्कावाट मृतक गाइको शरीरमा कुकुरले टोकेको घाउ रहेको भन्ने देखिन नआएको हुंदा दुइवटा कुकुरले अगाडि र पछाडिवाट गाईलाई खाइरहेको भन्ने प्रतिवादीको अदालतमा भएको वयान व्यहोरा समर्थित भएको नदेखिई निजको अदालतमा भएको इन्कारी वयानलाई सत्य सांचो व्यहोराको हो भनी मान्न मिल्ने देखिन नआउने ।
§ प्रहरी समक्ष गरेको साविती वयान स्वेच्छाले गरेको नभई अन्यथा हो भन्ने कुरा प्रमाणित हुने कुनै भरपर्दो ठोस सवुद प्रमाण प्रतिवादीले दिन गुजार्न सकेको पनि पाइदैन । शव परीक्षण प्रतिवेदनमा तल्लो गर्धन काटिई रक्तश्राव भई गाइको मृत्यु भएको भनी स्पष्ट रुपमा उल्लेख भएको र घटनास्थल प्रकृति मुचुल्कावाट प्रशस्त मात्रमा रगत जमेको भन्ने देखिएकोले मरिसकेको गाइलाई काट्दा त्यति धेरै रगत नआउने भएकोले विरामी भई वसी रहेको गाइको घाटीमा चक्कुले काटी मारेको भन्ने प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती वयान समर्थित भएको देखिन आयो । यस स्थितिमा उपरोक्त आधार प्रमाणवाट प्रतिवादी सीताराम चमारले विरामी गाईको घांटीमा काटी मारेको भन्ने देखिन आई निज प्रतिवादीलाई अभियोग दावी वमोजिम मुलुकी ऐन, चौपायाको १ नं. को कसूरमा सोही महलको ११ नं. वमोजिम १२ बर्ष कैद हुने ठहर गरेको शुरु वांके जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत नेपालगन्जको फैसला मिलेकै देखिंदा सदर हुने ।
(प्र.नं. २० र २१)
पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री यमुना भट्टराई
प्रत्यर्थी वादीतर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री विश्वराज कोइराला
अवलम्वित नजिरः
फैसला
न्या.चन्द्रप्रसाद पराजुलीः पुनरावेदन अदालत नेपालगन्जको मिति २०५८।२।३१ को फैसला उपर प्रतिवादीको यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-
२. मिति २०५६।९।११ गते दिउंसो मेरो छोरा बर्ष ९ को वंशीलाल यादवले २ जिउ गाई चराउन गाउंकै नजिक खेतमा लगेकोमा एउटा गाई पटक पटक उठने र वस्ने गरी रहेको थियो । गाई वसेको अवस्थामा सीताराम चमारले गाईको घांटी काटी मारी छाला काढ्न लागेको छोराले देखी मलाई खवर गर्न आएपछि म समेत घटनास्थलमा पुग्दा निजले छाला काढी रहेकै थियो । निजलाई पक्राउ गर्न खोज्दा हातमा रहेको चक्कु घटनास्थलमै फाली फरार भएकोले पक्राउ गरी कानून वमोजिम आवश्यक कारवाही गरीपाउं भन्ने व्यहोराको जाहेरी दरखास्त ।
३. बांके, वसुदेवपुर गा.वि.स. वा.नं. २ कटलिया स्थित घटनास्थलमा मृतक गाईको लाशको मुख अर्ध खुल्ला भै दुईवटा दांत देखिएको, आंखा खुल्ला, नाकवाट रगत वगेको, घांटीको तर्कुली पट्टिको छाला तथा मासु काटिएको, नाइटो पट्टिको भागको छाला काडेको, मलद्वारवाट गोवर निस्किएको, मृतक गाई रहेको स्थान देखि अं.१ हातको दुरीमा रगत प्रशस्त मात्रामा जमेको, लासको छेउमा फलामको छुरी थान १ समेत देखिएको भन्ने समेत व्यहोराको घटनास्थल तथा लाश प्रकृति विवरण मुचुल्का ।
४. घटनास्थल तथा मृतक गाईको लाश प्रकृति विवरण कार्यका लागि खटि आएका प्रहरी डोरले गाईको लाश नजिक विडमा ट्युवले वेरिएको अं. ६.५ इन्च लम्वाई भएको छुरी थान १, हामीहरुको रोहवरमा वरामद गरी लिएको थियो भनी पंचम यादव समेत जना ५ ले गरी दिएको वरामदी मुचुल्का ।
५. तल्लो गर्धन काटिएको समेतवाट रक्तश्राव भै गाईको मृत्यु भएको भन्ने व्यहोराको गाईको पोष्टमार्टम रिपोर्ट ।
६. मिति २०५६।९।११ गते राती नदी पारी सुनारी भन्ने ठाउंवाट घर फर्कि आइरहेको थिएँ । सोही अवस्थामा वांके वसुदेवपुर गा.वि.स.वा.नं. २ कटलिया गाउंको वाटो नजिक खाली खेतमा गाई वसिरहेको देखी उक्त स्थानमा पुगी हेर्दा गाई विरामी जस्तो थियो । गाई वसिरहेको देखी मेरो साथमा भएको चक्कूले घांटी काटी मारेको हुं । उक्त गाई काटी मार्नुपर्ने कारण मेरो जात चमार भएको र छाला काटी विक्री गर्ने उद्देश्य थियो । वरामदी मुचुल्कामा उल्लेखित धारिलो फलामको चक्कू मेरै हो । उक्त गाईलाई कर्तव्य गरी मार्दाको अवस्थामा सोही चक्कू प्रयोग गरेको थिएं । उक्त गाईलाई म एक्लैले कर्तव्य गरी मारेको हुँ भन्ने व्यहोराको प्रतिवादी सीताराम चमारको प्रहरीमा भएको वयान ।
७. मृत्यु भएको गाईको मूल्य गाउं घरमा विक्री गर्दा रु.१५००।– (एक हजार पांच सय) सम्म पर्दछ भन्ने व्यहोराको मूल्य खुलाएको कागज ।
८. गाई लिई खेतमा चराउन गएको अवस्थामा एउटा गाई उठ्ने वस्ने गरिरहेको अवस्थामा प्रतिवादीले गाईलाई चक्कुले घांटी काटी मारी छाला काढ्न लागेको हुन भन्ने व्यहोराको जाहेरवालाको छोरा वंशीलाल यादवको कागज ।
९. मिति २०५६।९।११ गते अं. १७.०० वजेको समयमा प्रतिवादी सीताराम चमारले घांटी काटी मारी छाला काढ्न लागेको भन्ने खवर पाएपछि घटनास्थलमा जांदा गाईको घांटीको तर्कुली पट्टिको मासु तथा छाला काटिएको, नाइटो पट्टिको छाला काडिएको, गाईको अगाडिको दाहिने खुट्टाको फिलाको मासु थरथर गरी कांपिरहेको देखेका हौं र निज चमारलाई पक्राउ गर्न खोज्दा हातमा रहेको फलामको चक्कु घटनास्थलमा फाली भागी गएको हो भन्ने व्यहोराको मिस्त्रीलाल कुर्मी, रामफल रहिदास, पंचम यादव समेतको एकै मिलानको कागज ।
१०. यसमा जाहेरी दरखास्त, घटनास्थल तथा लाश प्रकृति मुचुल्का, वरामदी मुचुल्का, पोष्टमार्टम रिपोर्ट, प्रतिवादी सीताराम चमारको वयान प्रत्यक्षदर्शि वंशीलाल यादव एवं वुझिएका मानिस रामफल रहिदास, मिश्रीलाल कुर्मी र पंचम यादव समेतको कागजवाट प्रतिवादी सीताराम चमारले जाहेरवालाको अं. बर्ष ६ को मूल्य रु.१५००।– पर्ने गाईलाई चक्कूले घांटी काटी मारी छाला काढी रहेको भन्ने देखिन आएकोले निज प्रतिवादीको सो कार्य मुलुकी ऐन चौपायको महलको १ नं. विपरीतको कसूर भएको हुंदा निज प्रतिवादी सीताराम चमारलाई ऐ महलको ११ नं. वमोजिम सजाय गरीपाउं भन्ने व्यहोराको अभियोग पत्र ।
११. मिति २०५६।९।११ गते विहान ९ वजे सुनार भन्ने ठाउंमा गाई भैसीको छाला काडने कामको लागि गएको थिएं । छाला नपाई फर्की आउंदा वाटोमा गाई लडिरहेको र २ वटा कुकुरले पछाडि तथा छातीवाट खाइरहेको देखी कुकुरलाई भगाई मृतक गाईको छाला काटेको हुं । त्यतिकैमा गाउंका मानिसहरु आई मलाई जिवित गाईलाई किन मारेको भनी कुटपिट गरेका र कम्दीवाट प्रहरीहरु आई मलाई पक्राउ गरी लगेका हुन । जीवित गाईलाई काटी मारेको नहुंदा मलाई सजाय हुने होइन । प्रहरीमा म संग सोधी वयान लिएको होइन सही मात्र गराएका हुन भन्ने समेत व्यहोराको प्रतिवादी सीताराम चमारले अदालतमा गरेको वयान ।
१२. प्रतिवादी सीताराम चमारले आरोपित कसूर गरेको ठहर्छ भन्ने व्यहोराको शुरु वांके जिल्ला अदालतको फैसला ।
१३. गोवध जस्तो गम्भीर अपराधमा अदालतले सम्पूर्ण सत्य तथ्यलाई वुझी इन्साफ गर्नुपर्नेमा सो नगरेको, चश्मदिद गवाहको रुपमा रहेका भनिएका वंशीलालले प्रहरी समक्ष व्यक्त गरेको कुरा अदालतमा आई पुष्टि गर्न नसकेको अवस्थामा प्रमाण ऐन २०३१ को दफा १८ वमोजिम उक्त कुरा प्रमाणमा लिने हुने होइन । प्रहरीमा भएको मेरो वयान स्वतन्त्र रुपमा नभै डर, धाक — धम्की देखाई गरिएको हुंदा सो वयान अन्य तथ्यवाट पुष्टि हुन नसकेको अवस्थामा आरोपित कसूर गरेको ठहराएको त्रुटिपूर्ण फैसला वदर गरी फुर्सद पाउं भन्ने व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत नेपालगंजमा परेको पुनरावेदन पत्र ।
१४. प्रतिवादी सीताराम चमारले दावी वमोजिमको कसूर गरेको हुंदा निजलाई चौपायाको ११ नं. वमोजिम सजाय हुने ठह¥याएको शुरु वांके जिल्ला अदालतको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत नेपालगन्जको मिति २०५८।२।३१ को फैसला ।
१५. चश्मदित गवाह भनिएको व्यक्ति अदालतमा आई वकपत्र गर्न नसकेको, अदालतले चिकित्सकलाई वकपत्रको लागि झिकाउंदा चिकित्सक उपस्थित नभएको र म एक्लो व्यक्तिले जिउदो गाई मार्न नसक्ने अवस्थामा मैले गोवध गरेको भनी सजाय गरेको शुरु जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत नेपालगंजको त्रुटिपूर्ण फैसला वदर गरी सफाइ पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
१६. प्रतिवादी सीताराम चमारले अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती वयान अन्य कुनै स्वतन्त्र एवं विश्वसनीय प्रमाणवाट समर्थित भएको देखिदैन । जाहेरवाला पनि चश्मदित व्यक्ति देखिदैन । निजको छोरा बंशीलाल यादवले भनेकोले थाहा पाएको भन्ने भनाइ भएको देखिन्छ । बंशिलाल यादवलाई अदालतमा वकपत्र समेत गराएको नदेखिएको अवस्थामा पुनरावेदन अदालत नेपालगन्जले शुरुको सदर गरेको फैसला फरक पर्न सक्ने देखिएकोले अ.वं. २०२ नं. अनुसार छलफलको लागि उपस्थित हुन महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिनु भन्ने यस अदालतको आदेश ।
१७. नियम वमोजिम पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । पृनरावेदकतर्फवाट विद्वान अधिवक्ता श्री यमुना भट्टराइले मेरो पक्षले अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती वयान कुनै स्वतन्त्र प्रमाणवाट पुष्टि भएको छैन । पोष्टमार्टम रिपोर्ट कानूनले निर्धारण गरेको फाराममा तयार नगरी लेटरप्याडमा गरिएको छ । सो रिपोर्टमा घांटीमा कस्तो, कति गहिरो घाउ भएको भन्ने खुलेको छैन । प्रमाण ऐन, २०३१ को दफा १८ वमोजिम पोष्टमार्टम रिपोर्टमा त्रुटि देखिई शंकास्पद देखिएकोले सोलाई प्रमाणमा लिन मिल्दैन । जाहेरवाला चश्मदित होइनन् । कुकुरले टोकेर नसा छिन्निएर पनि रगत वग्न सक्ने अवस्था छ शंकाको भरमा लगाइएको अभियोग दावी वमोजिम प्रतिवादीलाई सजाय गरेको शुरु जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत नेपालगन्जको फैसला उल्टी गरी मेरो पक्षले सफाइ पाउनु पर्छ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।
१८. प्रत्यर्थी वादी श्री ५ को सरकारतर्फवाट विद्वान उपन्यायाधिवक्ता श्री विश्वराज कोइरालाले प्रतिवादीले अदालतमा गरेको वयानमा गाईलाई कुकुरले खाइरहेको भन्ने देखिन्छ । लाश प्रकृति मुचुल्कामा कुकुरले खाएको भन्ने नदेखिई काटिएको भन्ने देखिएको हुंदा मरिसकेको गाईको छाला काढ्न लागेको भन्ने प्रतिवादीको अदालतमा भएको वयान समर्थन भएको छैन । घटनास्थलमा प्रसस्त रगत जमेको भन्ने देखिन्छ । मरिसकेको गाईलाई काट्दा धेरै रगत वग्न सक्ने अवस्था हुदैन । विरामी भएर लडिरहेको गाइलाई घाटीमा काटेर मारी छाला काढ्न लागेको भन्ने प्रतिवादीको प्रहरीमा भएको वयान लाश जांच प्रतिवेदन लाश प्रकृति मुचुल्कावाट पुष्टि भएकोले प्रतिवादीलाई अभियोग दावी वमोजिम कसूरदार ठहर गरी सजाय गरेको शुरु वांके जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत नेपालगन्जको फैसला सदर हुनुपर्छ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।
१९. उपरोक्त वहस समेतलाई दृष्टिगत गरी अभियोग दावी वमोजिम प्रतिवादी सीताराम चमारलाई मुलुकी ऐन चौपायाको १ नं. विपरीतको कसूरमा सोही महलको ११ नं. वमोजिम १२ बर्ष कैद हुने ठहर गरेको शुरु वांके जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत नेपालगन्जको फैसला मिले, नमिलेको सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
२०. निर्णयतर्फ विचार गर्दा प्रतिवादी सीताराम चमारले जाहेरवालाको गाइलाई चक्कुले घाटी काटी मारी छाला काढिरहेको भन्ने देखिंदा निज प्रतिवादीलाई मुलुकी ऐन चौपायाको १ नं. को कसूरमा सोही महलको ११ नं. वमोजिम सजाय गरीपाउं भन्ने अभियोग दावी भएको पाइन्छ । प्रतिवादीले अदालतमा वयान गर्दा कुकुरले खाइरहेको मृतक गाईको छाला काढेको हुं, जीवित गाइलाई मारेको होइन भनी आरोपित कसूरमा इन्कार रहेको देखिन्छ । अनुसन्धानको क्रममा प्रहरी समक्ष वयान गर्दा वसिरहेको विरामी गाईलाई घाटीमा काटी मारेको हुं भनी निज प्रतिवादी कसूर गरेकोमा सावित भएको देखिन्छ । यी प्रतिवादीले विरामी गाईको घाँटीमा चक्कुले काटी मारेको भनी किटानी जाहेरी दरखास्त परेको र जाहेरवालाले जाहेरी व्यहोरालाई समर्थन हुने गरी अदालतमा बकपत्र समेत गरेको देखिन्छ । प्रतिवादीले गाईलाई नमारेको भए विना कारण निज उपर किटानी जाहेरी दरखास्त दिनुपर्ने कुनै कारण पनि रहे भएको भन्ने देखिन आएको छैन । लाश प्रकृति मुचुल्कावाट मृतक गाईको शरीरमा कुकुरले टोकेको घाउ रहेको भन्ने देखिन नआएको हुंदा दुइवटा कुकुरले अगाडि र पछाडिवाट गाईलाई खाइरहेको भन्ने प्रतिवादीको अदालतमा भएको वयान व्यहोरा समर्थित भएको नदेखिई निजको अदालतमा भएको इन्कारी वयानलाई सत्य सांचो व्यहोराको हो भनी मान्न मिल्ने देखिन आएन ।
२१. प्रहरी समक्ष गरेको साविती वयान स्वेच्छाले गरेको नभई अन्यथा हो भन्ने कुरा प्रमाणित हुने कुनै भरपर्दो ठोस सवुद प्रमाण प्रतिवादीले दिन गुजार्न सकेको पनि पाइदैन । शव परीक्षण प्रतिवेदनमा तल्लो गर्धन काटिई रक्तश्राव भई गाईको मृत्यु भएको भनी स्पष्ट रुपमा उल्लेख भएको र घटनास्थल प्रकृति मुचुल्कावाट प्रशस्त मात्रमा रगत जमेको भन्ने देखिएकोले मरिसकेको गाईलाई काट्दा त्यति धेरै रगत नआउने भएकोले विरामी भई वसी रहेको गाईको घाटीमा चक्कुले काटी मारेको भन्ने प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती वयान समर्थित भएको देखिन आयो । यस स्थितिमा उपरोक्त आधार प्रमाणवाट प्रतिवादी सीताराम चमारले विरामी गाइको घाटीमा काटी मारेको भन्ने देखिन आई निज प्रतिवादीलाई अभियोग दावी वमोजिम मुलुकी ऐन, चौपायाको १ नं. को कसूरमा सोही महलको ११ नं. वमोजिम १२ बर्ष कैद हुने ठहर गरेको शुरु वांके जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत नेपालगन्जको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.खिलराज रेग्मी
इति सम्वत् २०६१ साल भदौ ११ गते रोज ६ शुभम्...............