निर्णय नं. ३८०७ - अंश दवायो

निर्णय नं. ३८०७ ने.का.प. २०४६ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४५ सालको दे.पु.नं. ९२१
फैसला भएको मिति : २०४६।३।६।३ मा
पुनरावेदक/वादी : जि.मोरङ गा.पं. झुर्किया वार्ड नं. १ बस्ने हैरानु राजबंशी
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने सतालु राजबंशी
मुद्दा : अंश दवायो
(१) अबण्डा रहेको सम्पत्ति बण्डा हुनु पर्नेमा वादी दावी नै नभएको भनी ठहर गरेको अञ्चल अदालतको फैसला सदर गरेको क्षेत्रीय अदालतको निर्णय गल्ती देखिई उल्टी हुने ।
(प्रकरण नं. १६)
पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह
प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास
अवलम्वित नजीर : २०४३ को दे.पु.नं. ५१७ नि.नं. ३३१५, पुनरावेदक वादी झुरा यादव विरुद्ध विपक्षी प्रतिवादी छेदन यादव भएको अंश दपोट मुद्दामा यस अदालत संयुक्त इजलासबाट सिद्धान्त प्रतिपादित (ने.का.प. २०४४,अड्ढ १२, पृष्ठ १३२०) ।
फैसला
न्या.महेशरामभक्त माथेमा
१. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझाई वादीको यस अदालतमा पर्न आएको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. म समेत उपर विपक्षीले ०३५।४।४ गते अंश मुद्दा दायर गरेकोमा बाबु टोका राजवंशीले विपक्षी सतालु र निजकी पत्नी महेशरियाका नाउँमा खरीद गरेको जग्गाा र बाबु दर्ताको जग्गा बाबु मर्दा सतालु, गोविन्द र म हैरानु दर्ताको जग्गा समेतको तायदाती फाँटवारी विपक्षी जेठो हुँदा निजबाट नै लिई आमा भएकोले ४ अंश भाग गरी विपक्षीलाई अंश छुट्याई दिएमा विरोध छैन भन्ने मेरो प्रत्युत्तर परेको र दाजु गोविन्दको छोराहरू विपक्षी मिलुवा भई म्याद गुजारी बसेको पछि आमालाई झिकाई कागज गराउँदा लोग्नेकै पालामा आफ्नो अंश भागको जग्गा पछि दाखिल दर्ता गराई भोगी आएको छु । मैले अंश पाउनु पर्ने होइन भनी बयान गरेको म विरामी परी तारेख गुज्रन गएबाट अदालतले सतालुबाट नै फाँटवारी माग गरेकोमा २०३६।११।१३ मा फाँटवारी पेश गर्दा सतालु म हैरानु र गोविन्द दर्ताको जग्गा मात्र अंशले लाग्ने भनी आफ्नो पत्नी महेश्वरीया नामको जग्गा निज मर्दा सतालुकै नाममा आएको मौजे मानपुरको रै.नं. ६९ को जग्गा र सतालुको मौजे झपनपुरको मेरो अंश लाग्ने जग्गा नदेखाई फाँटवारीको जग्गा ३ भागको १ भाग विपक्षीले पाउने गरी ०३७।३।१७ गते फैसला भएको विमारी भई म्यादमा पुनरावेदन गर्न नसकी अन्तिम हुन गयो । अंश मुद्दा दिनु अघि निज दर्ता रहेको कि.नं. ११६ को २–१७–११ कि.नं. ११७ को ज.वि.०–१३–८ कि.नं. १६५ कि.नं. १६५ को १–९–११ कि.नं. २६७ को ०–९–१, कि.नं. ५ को ०–१३–१६ कि.नं. ३८३ को ०–७–१९, कि.नं. ३१३ को ०–१–० कि.नं. २२८ को ०–३–१० समेतको जम्मा ज.वि. ६–१३–१६ फाँटवारीमा देखाउनु पर्ने नदेखाई भोगी आएकोले पुरै जग्गा खान पाउने हुँदा एकलौटी कायम गरी मेरो नाउँमा दर्ता गरिपाउँ भन्ने समेत ०३९।११।१८ को फिरादपत्र ।
३. म सतालुले वादी समेतका नाउँमा अंश मुद्दा दिएको आदेशानुसार तायदाती फाँटवारी पेश भई दवाए छपाएको छ भनी उजूर गर्नु भनी सूचना दिएकोमा वादीका सगोलका छोराले बुझी लिएको यस्मा केही आपत्ति नजनाएकोले ३ खण्डको १ खण्ड पाउने गरी २०३७।३।१७ गते फैसला भई ०४२।३।२७।५ गते चलन पुर्जी दिएको बाबु र म तथा मेरा पत्नी महेश्वरीया समेतका नाउँमा जग्गा खरीद गरेको नभई वादी समेत सगोलमा नै बसी दावी बमोजिम अंश दवाएको छैन आदेश बमोजिम बण्डा गर्नुपर्ने फाँटवारी दाखेल नगरी फैसलालाई चित्त बुझाई बसेकोले मानो छुट्टि भिन्न भई आफू आफूले आर्जन गरेको र वादीले पनि आर्जन गरेको बाबु टोकनलालबाट २०११।२।६ मा म वादीले राजीनामा गरी लिएको जग्गामा २०१७ सालमा जग्गा वाली मुद्दा दिनु भएको २०२२ सालमा मानो छुट्टिएको भन्ने २०३५ सालको मुद्दाबाट भुलबाटै लेखिन गएको देखिन आमा चोचो २०३९ सालमा परलोक भएको आमाको अपुताली मैले पाउनु पर्ने मलाई नदिई एकलौटी वादीले आफ्नै पत्नी छोराका नाउँमा दर्ता गराएकाले उजूर गर्छ भनी मेरा नाउँमा उजूरी गरेको वादी दावी खारेज गरिपाउँ भन्ने समेतको प्रतिउत्तरपत्र ।
४. अंशियार मध्येको प्र. सतालुका नाउँमा रहेको बण्डा हुने सम्पत्ति देखिँदा तायदाती दिँदा अदालतको आदेशानुसार बण्डा हुने सम्पत्तिको तायदाती पेश गर्नु पर्नेमा लुकायो भन्न न्यायसंगत भएन । अबण्डा सम्पत्ति अंशियारहरूले बण्डा गरी खान पाउने ठहर्छ भन्ने समेत शुरु मोरङ जिल्ला अदालतको २०४१।१।१८।२ को फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन । मेरो प्रतिउत्तर जिकिर बमोजिम गरिपाउँ भन्ने समेत प्रतिवादीको २०४१।४।१६ को पुनरावेदनपत्र ।
६. वादीको दावी अबण्डा रहेको सम्पत्ति दिलाई भराई पाउँ भन्ने नभए पछि दावी नै नभएकोमा अदालतले दावी सृजना गरी अबण्डा सम्पत्ति अंशियारहरूले बण्डा गरी खान पाउने ठहर्छ भनी शुरुले गरेको फैसला मिलेको देखिएन । उल्टी हुने ठहर्छ भन्ने समेत कोशी अञ्चल अदालतको २०४२।२।७।५ को फैसला ।
७. उक्त कोशी अञ्चल अदालतको फैसलामा चित्त बुझेन । सो फैसला उपर पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत हैरानु राजबंशीको निवेदन ।
८. वादीको दावी नै नभएको भनेको कोशी अञ्चल अदालतको फैसलामा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(३) अन्तर्गतको त्रुटि देखिएकोले पुनरावेदन गर्न अनुमति प्रदान गरिएको छ भन्ने समेत क्षेत्रीय अदालत सिंगलबेञ्चको २०४३।५।८ को आदेश ।
९. वादीको दपोट तर्फको दावी शुरु जिल्ला अदालतबाट नठहरे तर्फ निजको पुनरावेदन परेको देखिएन । अब दपोट नठहरे पनि अबण्डा ठहर्छ भन्ने जिल्ला अदालतको निर्णयलाई वादीले नै नगरेको दावीलाई अदालतले आफैंले उठाउनु कानुनसंगत हुँदैन । अबण्डा छुट्याई पाउँ भन्ने तर्फ विधिवत वादी दावी नभई अदालतले स्वयं दावी सृजना गरी गरेको निर्णय मिलेन भन्ने कोशी अञ्चल अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।९।२० को फैसला ।
१०. अंश दपोट नठहराई अबण्डा सम्पत्ति भनी वादीको अंश पाउने ठहर गरी फैसला भएकोमा सो उपर विपक्षीको पुनरावेदन पर्दैमा पुनरावेदन सुन्ने अदालतले पुनः जिल्ला अदालतमा पठाई यस्मा दपोट ठहरिने वा नठहरिने निर्णय गर्नु भनी कानुनद्वारा निर्देशित बाध्यात्मक प्रकृया नअपनाई पू.क्षे.अ. ले गरेको फैसला कानुनसंगत छैन । पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी हैरानु राजबंशीको यस अदालतमा पर्न आएको निवेदनपत्र ।
११. विवादित जग्गा सगोल बस्दाको हो वा होइन र दपोट गरेको हो होइन मुख्य निर्णय दिनु पर्ने विषय भएकोमा अबण्डा छुट्याई पाउँ भन्ने वादी दावी नै नभएकोमा अदालतले स्वयं बढी श्रृजना गरेको मिलेन भनी कोशी अञ्चल अदालतको सदर गरेको पू.क्षे.अ. को फैसलामा अंशबण्डाको २७ नं. को कानुनी व्याख्या सम्बन्धी त्रुटि गरेको देखिन आएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४४।१२।१० को आदेश ।
१२. नियम बमोजिम निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्ज विहारीप्रसाद सिंह तथा प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कमलनारायण दासले गर्नुभएको बहस समेत सुनियो ।
१३. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।
१४. यस्मा निर्णयतर्फ विचार गर्दा अंश दपोटको दावी नठहरे पनि विवादित जग्गा अंश भाग लाग्ने देखिन्छ । त्यस्तो सम्पत्ति अंश मुद्दाबाट भाग बण्डा भएको देखिँदैन । सतालुबाट तायदाती लिइएको र वादी प्रतिवादी बीच अंशबण्डा हुनु अघि सगोलमा रहेको विवादको सम्पत्ति अबण्डा भएको र सो अंशियारहरूले बण्डा गरी खान पाउने देखिँदा शुरु जिल्ला अदालतबाट भएको इन्साफ मनासिब देखियो ।
१५. जहाँसम्म शुरुको इन्साफ उल्टाई कोशी अञ्चल अदालतबाट भएको फैसला सदर गरी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट अबण्डा छुट्याई पाउँ भन्ने तर्फ विधिवत वादी दावी नभई अदालतले स्वयं दावी श्रृजना गरेको भनी ठहराइएको छ, सो सम्बन्धमा एकलौटी हक पाउँ भन्ने दावी भएकोमा भागशान्ति बमोजिम बण्डा भएकोलाई वादी दावी बाहिर गई निर्णय भएको भन्न मिल्दैन साथै “तायदातीमा नदिएको आधारमा आफ्नो अंशियारलाई पाउने अंशबाट बन्चित गर्न दवाएको भन्ने नमिलेकोले दपोट गरेको ठहर्दैन तर प्रमाणको फैसलाबाट पनि पुर्खाको दर्ताको जग्गा नदिकाटमा परी पछि उकास भै विपक्षीको नाउँमा दर्ता हुन आएको देखिएकोले पाउने अंश बमोजिम आधि जग्गा पुनरावेदकले पाउने” भन्ने यस अदालत संयुक्त इजलासबाट २०४३ को दे.पु.नं. ५१७, नि.नं. ३३१५, पुनरावेदक वादी झुरा यादव विरुद्ध विपक्षी प्रतिवादी छेदन यादव भएको अंश दपोट मुद्दा (ने.का.प. २०४४,अड्ढ १२,पृ. १३२०) मा सिद्धान्त समेत प्रतिपादित भइरहेको पाइन्छ ।
१६. अतः यस अवस्थामा अबण्डा रहेको सतालुको नाउँमा रहेको विवादित सम्पत्ति बण्डा हुनु पर्नेमा वादी दावी नै नभएको भनी ठहर गरेको कोशी अञ्चल अदालतको फैसला सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय गल्ती देखिई उल्टी हुने भई शुरु मोरङ्ग जि.अ. को फैसला मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक वादी हैरानु राजबंशीके शुरु जि.अ. को इन्साफ सदर हुने ठहरेकाले कोशी अञ्चल अदालत तथा पूर्वाञ्चल क्षेत्रीय अदालतले राख्ने गरेको लगत कट्टा गरी शुरु जि.अ. को लगत कायम राख्नु भनी शुरुमा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु.....१, पुनरावेदक वादीले पूर्वाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. १२५।९२ र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. ४१।६४ समेत जम्मा रु. १६७।५६ प्रतिवादीबाट भरी पाउने हुँदा यसै सरहद को जेथा देखाई भराई पाउँ भनी ऐनका म्याद भित्र दरखास्त दिए कानुन बमोजिम भराई दिनु भनी शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु....२, मिसिल नियमानुसार बुझाई दिनु.....३
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल आषाढ ६ गते रोज ३ शुभम् ।