निर्णय नं. ३८०८ - अपुताली हक कायम

निर्णय नं. ३८०८ ने.का.प. २०४६ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४४ सालको दे.पु.नं.७२५
फैसला भएको मिति : २०४६।१।२०।३ मा
पुनरावेदक/प्रतिवादी : जि. नवलपरासी स्वाठि गा.पं. वडा नं. ४ बस्ने फुलकुमारी थारु
विरुद्ध
विपक्षी/वादी : ऐ. जमुवाड गा.पं. वडा नं. ३ बस्ने गुलइची थारु
मुद्दा : अपुताली हक कायम
(१) वादी प्रतिवादीका बाबु बाजे तथा आमाहरू परलोक भई निजहरूको हक खाने निज दुई छोरीहरू मात्र रहेको अवस्थामा मृतकको छोरीलाई मात्र अपुताली प्राप्त हुन्छ भन्न नमिल्ने वादीको आमाको मृत्यु अघि भएको कारणबाट कुनै तात्विक असर नपर्ने ।
(प्रकरण नं. १४)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
फैसला
न्या.प्रचण्डराज अनिल
१. पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. बाजे रामप्रसादका दुई छोरामा जेठा म फिरादीको बाबु लक्ष्मीनारायण र कान्छा सत्यनारायण हुन् । जेठा लक्ष्मीनारायणकी श्रीमती तेतरी, कान्छा सत्यनारायणकी महारानी भन्ने महरजिया हुन् कान्छा सत्यनारायण र महरजियाको एकमात्र छोरी विपक्षी फुलवा भन्ने फुलकुमारी हुन् र जेठा लक्ष्मीनारायण र तेतरीका एकमात्र छोरी गुलइची हुन् । बाजे रामप्रसाद जीवित छँदै निजका छोरा जेठा मेरा पिता र कान्छा बाबु परलोक भई २०२४ सालमा मेरी आमा पनि परलोक हुनुभयो । २०२६ सालमा बाजे रामप्रसाद पनि परलोक भई जो भएको सम्पत्ति कान्छी महरजियाको नाउँमा नामसारी गर्नुभयो । निज ०३८ साल भाद्रमा परलोक भई पर्न आएको अपुताली विपक्षी फुलकुमारीले र मैले आधा आधा पाउने हुँदा पश्चिम तर्फको आधा अपुताली हक कायम गरी नामसारी समेत गरिपाउँ भन्ने समेत फिराद दावी ।
३. वादीका बाबु र मेरा बाबु पहिले परलोक भई २०२४ सालमा वादीको आमा र २०२६ सालमा बाजे परलोक भएको कुरा वादीले स्वीकारै गरेको, अपुतालीको ऐनले वादीले अपुताली पाउने अवस्था छैन मेरी आमाको हक भई आमा ०३८ सालमा परलोक भएपछि अपुतालीको ४ नं. को अन्तिम वाक्यांशले म एकमात्र छोरी हुँदा मेरो हक भएको हो सो अपुतालीमा वादीको हक नै नपुग्ने हुँदा झुठ्ठा वादी दावीबाट फुर्सद पाउँ भन्ने प्रतिउत्तर जिकिर ।
४. अपुताली हक कायम गरी मेरा नाउँमा नामसारी गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने नवलपरासी जिल्ला अदालतको ०४१।५।११ को फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन मेरा नाउँमा हककायम गरी नामसारी गरिपाउँ भन्ने गुलइची थरुनीको पुनरावेदनपत्र ।
६. अपुताली हक कायम गरी नामसारी दर्ता गरिपाउँ भन्ने समेत वादी दावी नपुग्ने ठहर्याएको शुरु जिल्ला अदालतको इन्साफ मनासिब देखिँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने लु.अं.अ.तको ०४२।३।१८ को फैसला ।
७. उक्त फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने गुलइची थरुनीको निवेदनपत्र ।
८. अपुतालीको ४ नं. र ५ नं. को गलत व्याख्या गरी अं.अ.बाट फैसला गरेको देखिँदा न्या.प्र.सु. ऐन, ०३१ को दफा १३(३)(ख) अन्तर्गत अनुमति प्रदान गरिएको छ भन्ने प.क्षे.अ. सिंगलबेञ्चको ०४२।८।५ को आदेश ।
९. यस्मा वादी प्रतिवादीका बाबु आमाबाट सगोल भई रहे भएकोमा विवाद नभएको, बाबु आमाबाट छोराहरू जायजन्म नभएको, वादी प्रतिवादी भाइ भाइका समस्तरको छोरी भएको अपुतालीको ४ नं. मा भिन्न नभई संग बसेका अरु अंशियार सबै मरी अपुताली पाउने भएमा सबै अंशियारका छोरीले ऐन बमोजिम बाँडी खान पाउने प्रावधान भएको र ५ नं. मा त्यस्ता अंशियार मध्ये एका अंशियारले आफ्नी छोरीलाई मात्र लेखी दिन हुँदैन भन्ने व्यवस्था भएकोबाट समेत वादी दावीको जग्गामा वादीको अधिकार अपुताली हक कायम हुने ठहर्छ । शुरु सदर गरेको लु.अं.अ. को फैसला उल्टी हुन्छ भन्ने समेत प.क्षे.अ. को मिति ०४४।७।१ को फैसला ।
१०. उक्त फैसलामा अपुतालीको २ नं. को व्याख्याको प्रश्न समावेश छ । प.क्षे.अ. बाट न्यायिक विवेचना नै नगरी मलाई हराइएको अ.बं. १८४क, १८५ र १८९ नं. तथा प्रमाण ऐनको दफा ५४ समेतको व्याख्या सम्बन्धी प्रश्न समावेश छ । अपुतालीको कानुनको व्याख्या र प्रतिपादित कानुनी सिद्धान्तको पालना नगरिएको हुँदा सो फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत प्रतिवादी फुलकुमारी थारुको यस अदालतमा पर्न आएको निवेदनपत्र ।
११. यस्मा क्षे.अ. को फैसलामा अपुतालीको २ नं. को व्याख्या सम्बन्धी त्रुटि भएकोले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति ०४४।९।३ को आदेश रहेछ ।
१२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले गर्नुभएको बहस समेत सुनियो ।
१३. प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ सो मा नै निर्णय दिनु पर्ने हुन आयो ।
१४. यस्मा निर्णयतर्फ विचार गर्दा बाजे रामप्रसादका दुई छोरामा जेठा लक्ष्मीनारायण र कान्छा सत्यनारायण हुन् । लक्ष्मीनारायणको श्रीमती तेतरी र सत्यनारायणको महारानी भन्ने महरजिया हुन् । कान्छा सत्यनारायण तथा महरजियाको एकमात्र छोरी विपक्षी फुलकुमारी हुन् जेठा लक्ष्मीनारायण र तेतरीको एकमात्र छोरी म गुलइची हुँ । पिता र कान्छा बाबु परलोक भई ०२४ सालमा मेरी आमा पनि परलोक हुनुभयो । ०२६ सालमा बाजे रामप्रसाद परलोक भई भएको सम्पत्ति कान्छी आमा महरजियाका नाउँमा नामसारी भई गएको निज २०३८ सालमा परलोक भई पर्न आएको अपुताली विपक्षी र मैले आधा आधा पाउने हुँदा आधा अपुताली हक कायम गरी नामसारी समेत गरिपाउँ भन्ने समेत फिराद दावी रहेको देखिन्छ । मेरी आमाकै हक भई आमा ०३८ सालमा परलोक भएपछि अपुतालीको ४ नं. को अन्तिम वाक्यांशले म एकमात्र छोरी हुँदा मेरो हक भएको हो सो अपुतालीमा वादीको हकै पुग्दैन भन्ने समेत प्रतिउत्तर जिकिर रहेको पाइयो । वादीकी आमा तेतरी, बाजे रामप्रसाद तथा कान्छी आमा महरजीया एकासगोलका अंशियार रहेकोमा विवाद देखिएन । २०२४ सालमा वादीकी आमा तेतरी र ०२६ सालमा बाजे रामप्रसाद परलोक भई भएको सम्पत्ति कान्छी आमा महरजीयाका नाउँमा नामसारी भई गएको देखिन्छ । २०३८ सालमा निज महरजीयासमेत परलोक भई सगोलका सबै अंशियार मरी निजहरूको हक खाने विपक्षी प्रतिवादी फुलकुमारी र वादी गुलइची दुई छोरीमात्र रहेको देखिन आयो । यस सन्दर्भमा विद्यमान कानुनी व्यवस्थातर्फ दृष्टिपात गर्दा मुलुकी ऐन अपुतालीको ४ नं. ले “..... भिन्न नभई संग बसेका अरु अंशियारहरूमा सबै मरी अपुताली पाउने भएमा सबै अंशियारका छोरीहरूले ऐन बमोजिम बाँडी खान पाउँछन....” भन्ने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत विवादमा पनि वादीप्रतिवादीका बाबुबाजे तथा आमाहरु परलोक भई निजहरूको हक खाने निज दुई छोरीहरू मात्र रहेको देखियो । यस्तो अवस्थामा मृतक महरजीयाको छोरीलाई मात्र अपुताली प्राप्त हुन्छ भन्न मिलेन । वादीको आमा तेतरीको मृत्यु अघि भएको कारणबाट कुनै तात्विक असर पर्ने देखिएन । तसर्थ अपुतालीको २ नं. मा भएको व्यवस्था प्रस्तुत मुद्दाको तथ्य संग मिल्ने देखिन आएन । अतः शुरु तथा अं.अ.को इन्साफ उल्टी गरी वादी दावीको जग्गामा वादीको आधा अपुताली हक कायम हुने ठहर्याएको प.क्षे.अ. को इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले प.क्षे.अ. को ०४४।७।१ का फैसलाले प्रतिवादीबाट वादीले भरी लिन पाउने ठहरेको कोर्टफी ४५२।४२ (चारसय बाउन्न रुपैयाँ बयालिस पैसा) प्रतिवादीको यस अदालतमा पुनरावेदन दायर धरौटी रहेको देखिँदा सोही धरौटीबाट भराई पाउँ भनी वादीको दर्खास्त परे कानुनबमोजिम गरी भराई दिनु भनी शुरु जि.अ.मा लगत दिन का.जि.अ.त. मा लेखी पठाई दिनु र क्षे.अ.ले राख्ने गरेको लगत कट्टा गरिदिनु भनी शुरुमा लेखी पठाई दिनु ......१, मिसिल नियमबमोजिम गरी बुझाई दिनु.....२
उक्त रायम म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४६ साल बैशाख २० गते रोज ३ शुभम् ।