शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३८०९ - न्वारान गराई पाउँ

भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक:

निर्णय नं. ३८०९     ने.का.प. २०४६            अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४४ सालको फौ.पु.नं. ४६४

फैसला भएको मिति  : २०४६।३।६।३ मा

पुनरावेदक/प्रतिवादी : का.जि.का.न.पं. वडा नं. २१ भोटेबहाल बस्ने इन्द्रबहादुर खड्गी

विरुद्ध

विपक्षी/वादी : का.न.पं. वडा नं. ३० ज्याठा बस्ने तेजकुमारी खड्गी

मुद्दा : न्वारान गराई पाउँ

(१)    सन्तान उत्पादन गर्ने क्षमता छ छैन भनी अस्पतालमा जाँच हुँदा अस्पताल परीक्षण समितिका सदस्यहरूले दिएको प्रतिवेदनमा निजको सन्तान उत्पादन गर्ने क्षमता हुँदै नभएको भन्ने नदेखिएबाट वादी दावी बमोजिम प्रतिवादीले बच्चाको न्वारान गरिदिनु पर्ने ।

(प्रकरण नं. १६)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

प्रत्यर्थी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा

फैसला

न्या.प्रचण्डराज अनिल

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझाई प्रतिवादी तर्फबाट पर्न आएको निवेदनमा यस अदालत संयुक्त इजलासका मिति २०४४।६।२ का आदेशले पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

२.    विपक्षी पति मेरो माइती घरको दोकानमा २०३७ साल भदौ देखि आवत जावत गर्दै आउनु भएको थियो, त्यस्तैमा हामीहरूको आपसमा खुलस्त बोलचाल शुरु भएको हो, यसरी नै हामी दुवैमा प्रेम बसेको माइती घरमा र अरु छरछिमेकमा समेत थाहा भइसकेको छ । त्यस्तैमा ०३७ साल असोज १३ गते विपक्षी आई गोदावरी घुम्न जाउँ भनी भनेकोले म पनि मन्जूर गरी गोदावरी र यस्तै अन्य विभिन्न ठाउँमा घुम्न जान लाग्यौं । ०३८।५।१८ गते विहिवार बिहान ७ बजे हामी दुवै गुहेश्वरीमा गई दर्शन गरी तिमीलाई मैले आज श्रीमतीको ग्रहण गरें, तिमीले फिक्री मान्न पर्दैन भने र मैले पनि त्यही समयदेखि पतिको रुपमा ग्रहण गरिसकेपछि हामी दुबैजना ८.३० बजे पशुपतिमा आई विपक्षीले मलाई सिन्दुर हाल्नु भयो । माथि लेखिएको काम कुरा भइसकेपछि विपक्षी बारम्बार मेरो माइती घरमा आउने बस्ने गर्नुहुन्थ्यो । यस्तैमा ०३८।६।७ गते मेरो माइती घर अरु कोही नभएको समय दिनको ३ बजे आई ठट्टा मस्करी गरी बसी ७ बजे हामी दुबै थरको माथिल्लो कोठामा गई हामी दुबैको मन्जूरी साथ करणी लिनु दिनु भयो र त्यसपछि आआफ्नो इच्छा अनुसार बारम्बार हामी दुवैको बीच करणी लिनु दिनु हुन्थ्यो । यस्तैमा ०३९।११।८ गते विपक्षी म भएको घरको दोकानमा आई हामी दुवैको मञ्जूरी साथ करणी लिनु दिनु भएको र ०३९ सालको चैत्र महिना देखि मेरो रजस्वला बन्द भयो, तपाईले मलाई बन्दोबस्त मिलाई दिनुहवस् भन्दा फिक्री मान्न पर्दैन, बच्चा जन्मेपछि म बन्दोबस्त मिलाई हाल्छु भनेका थिए । २०४०।७।२३ गते मलाई प्रसव पीडा भएकोले वीर अस्पतालमा रातको २ बजे छोरा जन्मेका र अभिभावकको नाम विपक्षीकै राखी दिएको छु विपक्षीले न्वारान गर्दिन, बच्चा मेरो होइन भनेकाले फिराद गर्न आएकी छु । माथि लेखे अनुसार विपक्षीको वीर्यबाट नै बच्चा जन्मेकोले उक्त बच्चाको न्वारान गरी विपक्षीलाई मेरो लोग्ने नाता कायम गरिपाउँ भन्ने फिरादपत्र ।

३.    विपक्षको फिरादपत्र दावी सम्पूर्ण झुठ्ठा हो, मेरो आफ्नो जातीय अनुसार ०१७ सालमा श्रीमती कृष्णदेवीसंग वैवाहिक कार्य सम्पन्न भई पति पत्नी भई घर व्यवहार चलाई आए तापनि हामीहरूका छोरा छोरी कुनै सन्तान जायजन्म भएको छैन । म व्यापारीवर्गको हुँदा विपक्षीलाई चिनेको हुँ, त्यस्तैमा लाभहानिको विवेचना गरी नारायणी अञ्चल नारायणघाटमा बाबुकाजी खड्कीको घरमा ०३५ सालको दशैदेखि परिवार सहित मासु पसल राखी जातीय अनुसार काम गरी जीविका चलाई आएको छु । ०४० साल जेष्ठ महीनामा नारायणघाटमा गर्मीको कारणले शरिरमा असर भई अस्वस्थ भएबाट उपचारको लागि काठमाडौंं आई ओमबहालमा डेरा गरी बसेका व्यक्तिलाई मेरो कुनै शत्रु पक्षका व्यक्तिले विपक्षीलाई उचाली अपरिचित व्यक्ति विपक्षीले बिना कसूरमा मलाई नैतिकहिनताको दोषारोपण गरी झुठ्ठा दावी लिई न्वारान गराई लोग्ने नाता कायम गरिपाउँ भनी फिराद गरेको झुठ्ठा हो । काठमाडौंं बाहिर जिल्ला नारायणघाट भरतपुर नगरपञ्चायत अन्तर्गत पुतली बजारमा परिवार सहित बाबुकाजी खड्कीको घरमा मासु पसल राखी व्यवसाय गरी आइरहेका व्यक्तिलाई बिना कसूरमा रातको ७ बजे बराबर करणी लिनु दिनु भनी न्वारान गरी लोग्ने नाता कायम गरिपाउँ भनी झुठ्ठा दावीको फिरादपत्र अ.बं. १८० नं. बमोजिम खारेज गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

४.    वादीलाई प्रतिवादीले विभिन्न ठाउँमा घुमाउन लगेको र गुहेश्वरीमा लगेर सिन्दुर हालेको, बाचा खाएको भन्ने कुरा मैले सुनेको हुँ । बच्चा इन्द्रबहादुरकै हो भन्ने समेत व्यहोराको वादीको साक्षी महेन्द्रकाजी कुंवर समेतको बकपत्र ।

५.    प्रतिवादी इन्द्रबहादुर ०३५ साल देखि परिवार सहित नारायणघाटमा व्यापार गरी बसी हालसम्म पनि उँही बस्नु भएको छ । ०३५ साल देखि नाराणघाटमा गई हालसम्म त्यहीं बसेका मानिसले २०३८ सालमा वादीलाई सिन्दुर हालेको होइन, वादी प्रतिवादीको नाता कायम हुन र न्वारान गरी दिन पर्ने समेत होइन भन्ने बन्दसवाल सहितको बकपत्र ।

६.    बुझिएका वादीका साक्षीको किटानी बकपत्रको आधार र प्रतिवादी पक्षहरूका साक्षीहरूमा परस्पर बाझिने बकपत्र समेतका आधारबाट समेत वादी दावी बमोजिम बच्चा छोरो प्रतिवादीकै वादी प्रतिवादी बीच विवाह वादीले उल्लेख गरे बमोजिम भई निज प्र.कै करणी वीर्यबाट जन्मेको देखिँदा समेत निज प्रतिवादीले वादी दावी बमोजिम उक्त बच्चा छोराको न्वारान गरिदिनु पर्ने र निज प्र.वादीको लोग्ने नाता कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको ०४१।११।११।३ को काठमाडौंं जिल्ला अदालतको फैसला ।

७.    शुरुको फैसलामा खास बुझ्ने प्रमाण नबुझी नबुझ्ने प्रमाण बुझी खास इन्साफमा तलमाथि पर्ने गरी न्वारान तथा लोग्ने स्वास्नीको सम्बन्ध कायम गर्ने गरी गरेको फैसलामा प्रमाण ऐन तथा अन्य प्रचलित नेपाल कानुन समेतको गम्भिर त्रुटि भएकोले सो त्रुटिपूर्ण फैसला उल्टाई लोग्ने स्वास्नीको सम्बन्ध बदर गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादी इन्द्रबहादुर खड्गीको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

८.    प्रमाणको समुचित मूल्यांकन बेगर फिराद दावी बमोजिम नाता कायम हुने ठहराएको शुरुको इन्साफ फरक पर्ने देखिएकोले अ.बं. २०२ नं. तथा क्षे.अ. नियमावली बमोजिम छलफलका लागि विपक्षी झिकाई आएपछि वा म्याद नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको २०४२।५।९।१ को म.क्षे. अदालत सिंगलबेञ्चको आदेश ।

९.    काठमाडौंं जिल्ला अदालतले वादी दावी बमोजिम प्रतिवादीले बच्चाको न्वारान गरिदिनु पर्ने र निज प्रतिवादी वादीको लोग्ने नाता कायम हुने ठहराएको इन्साफ मिलेकै देखिन्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।१२।३ को फैसला ।

१०.    मेरो तर्फबाट सन्तानोत्पादन नै हुन नसक्ने अवस्थामा विपक्षी वादीले मेरो करणी वीर्यबाट गर्भ रह्यो भन्ने समेत सम्पूर्ण कुरा झुठ्ठा बनावटी भएको छ । मेरो वीर्य समेत नजँचाई गरिएको फैसला मुलुकी ऐन, अ.बं. १८४(क) र प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा पर्न आएको निवेदन ।

११.    प्रतिवादी इन्द्रबहादुर तर्फबाट सन्तान उत्पादन हुने तत्व नभएको भन्ने र प्रतिवादीबाट गर्भ रहेको भन्ने भरपर्दो तथ्ययुक्त सबूद प्रमाण वादीबाट पेश हुनसकेको पनि पाइदैन । यस्तो स्थितिमा लोग्ने नाता कायम गरी न्वारान गर्नुपर्ने ठहराई म.क्षे.अ.बाट गरेको फैसलामा अ.बं.१८४(क),१८५ समेतको त्रुटि गरेको देखिँदा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख)(ग) तथा उपदफा (७) अनुसार पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४४।६।२ को आदेश ।

१२.   यस्मा २०४०।७।२३ मा बीर अस्पतालमा २८ वर्षकी मीनाको नामबाट भोटेबहाल वतन देखाई डेलीभरी केशमा भर्ना भएको छ छैन भए सो सक्कल कागज काम सकिएपछि फिर्ता लग्ने गरी झिकाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४५।८।२४ को आदेश ।

१३.   यस्मा पुनरावेदक प्रतिवादी इन्द्रबहादुर खड्गीको सन्तान उत्पादन गर्ने क्षमता छ छैन ? छैन भने कहिलेदेखि र रोग अप्रेशन वा के कुन कारणबाट सो क्षमता नभएको हो सम्पूर्ण कारण सहित निजको परीक्षण वीर अस्पतालबाट गराई आएपछि पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०४५।१०।१० को आदेशानुसारको प्रतिवेदन मिसिल सामेल रहेको ।

१४.   नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले सन्तान नभई धर्मपुत्र पाल्ने पुनरावेदकसंग विपक्षीको बिवाह भई बच्चा जन्मेको भन्न मिल्ने होइन । २०३८ सालमा काठमाडौंंमा नभई चितौनमा भएका व्यक्तिलाई यहाँ विवाह भएको भन्ने वादीको भनाई मिल्दैन । म.क्षे.अ. बाट सबूदको मूल्यांकन नगरी भएको फैसला उल्टी हुनुपर्छ भन्ने तथा प्रत्यर्थी वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले प्रतिवादी पुनरावेदकसंग करणी लिनु दिनु गरी बच्चा जन्मेको कुरा वादीले किटान गरेका छन् । वादीका साक्षीले तेजकुमारीको लोग्ने आउने जाने गरेको कुरा बकी लेखाएका छन् । इन्द्रबहादुरको गर्भ धारण नगरेको भए निजलाई पोल्नु पर्ने अवस्था छैन । अस्पतालको प्रतिवेदनबाट अझै निज प्र.इन्द्रबहादुरको सन्तान उत्पादन गर्ने क्षमता थोरै मात्रामा भए पनि रहेको भन्ने पुष्टि भई आएकोबाट समेत मन्दिरमा गई भएको विवाह पश्चात जन्मेको बालक हुँदा क्षेत्रीय अदालतको इन्साफ मनासिब हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

१५.   प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ सोही कुराको निर्णय दिनु पर्ने हुन आयो ।

१६.    यस्मा निर्णयतर्फ विचार गर्दा, यिनै प्रतिवादी इन्द्रबहादुरसंग मन्दिरमा गई विवाह गरेको र तत्पश्चात राजीखुशीले करणी लिनु दिनु भई गर्भ रहेको भन्ने वादीको किटानी कथन रहेको पाइन्छ । प्रतिवादीले सो कुरालाई इन्कार गरे तापनि कसको गर्भ धारण गरी बालक जन्मेको भन्ने कथन कहींबाट देखिँदैन । वादीका साक्षीले घटनाको विवरण अनुसार वादी प्रतिवादी बीचको लोग्ने स्वास्नीको सम्बन्धको बारेमा अदालतमा पुष्ट्याई गरेको पाइयो । प्रतिवादीका साक्षीहरूले निज इन्द्रबहादुर नारायणगढमा बसेका भने तापनि निजको बसाई बारेको भनाई विवादास्पद रहेको देखिन्छ । इन्द्रबहादुर खड्गीको सन्तान उत्पादन गर्ने क्षमता छ छैन भनी अस्पतालमा जाँच हुँदा बीर अस्पताल परीक्षण समितिका सदस्यहरूले दिएको मिति २०४५।१२।१३ को प्रतिवेदनमा पनि निजको सन्तान उत्पादन गर्ने क्षमता हुँदै नभएको भन्ने देखिँदैन । तसर्थ वादी दावी बमोजिम प्रतिवादीले बच्चाको न्वारान गरिदिनु पर्ने र निज प्रतिवादी वादीको लोग्ने नाता कायम हुने ठहराएको शुरुको सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४६ साल आषाढ ६ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु