शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३८१० - अंश

भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक:

निर्णय नं. ३८१०     ने.का.प. २०४६            अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४५ सालको दे.पु.नं. ९०१

फैसला भएको मिति :      २०४५।१२।२५।६ मा

पुनरावेदक/प्रतिवादी : का.न.पं.वा.नं.५ हाडिगाउँ बस्ने पूर्णबहादुर के.सी.

विरुद्ध

प्रत्यर्थी/वादी : ऐ.ऐ. बस्ने कर्मकुमारी के.सी.

मुद्दा : अंश

(१)    ३५ वर्ष पुगेकी अविवाहितले छोरा सरह आफ्नो भाग अंश पाउने ।

(प्रकरण नं. १३)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर अर्याल

प्रत्यर्थी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री रेवन्दबहादुर कुंवर

फैसला

न्या.प्रचण्डराज अनिल

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतका फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

२.    बाबु कृष्णबहादुरको छोरा छोरी ५ मा छोरा जेठा विपक्षी पूर्णबहादुर, कान्छा सोमबहादुर र छोरी जेठी कमला, माहिली दिलकुमारी, कान्छी कर्मकुमारी भएकोमा बाबु र मुमा परलोक भई सक्नुभएको कमलाको विवाह भइसकेको, माहिली दिदी दिलकुमारी र कान्छी म कर्मकुमारीको विवाह नभई अविवाहिता बसेका छौं । दाजु पूर्णबहादुरलाई घरसारमै मिली बण्डा गरी दिनुहोस् भनी अनुरोध गर्दा वास्तै नगरी बस्नु भएको हुँदा बाध्य भई यो फिराद गर्न आएको छु । फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी विपक्षीसंग तायदाती फाँट लिई सम्पूर्ण सम्पत्तिको ४ खण्डको १ खण्ड मेरो भाग अंश दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको कर्मकुमारी के.सी. को ०३९।४।१८।२ को फिराद दावी ।

३.    फिरादीलाई मैले अंश दिनु पर्ने होइन । फिरादी समेत २ जना दिदीहरू अविवाहित हुनुभएकोले उहाँहरूले अंशबण्डाको महल अनुसार अंश पाउने हुँदा फिरादी समेतको हक दाज्यैज्यूले जिम्मा लिई मैले आफ्नो हक जति लिई छोडपत्र रजिष्ट्रेशन गरी दिएको छु । फिरादीको अंशसंग म सरोकार नरहेकोले फिराद दावीबाट अलग फूर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी सोमबहादुर के.सी. को प्रतिउत्तर जिकिर ।

४.    हामी दाजु भाइ अंशियारको बीचमा २०१७।१२।१० मा अंशबण्डा भएको र विपक्षी समेतका दिदी बहिनीहरूको विवाह खर्च पर सारी बण्डा भइसकेकाले तत्कालिन अंशबण्डाको ५१ नं.अनुसार वादीको फिराद नलाग्ने हुँदा वादीको फिराद खारेज गरिपाउँ भन्ने समेत व्यहोराको पूर्णबहादुर के.सी. को प्रतिउत्तर जिकिर ।

५.    प्रतिवादी पूर्णबहादुर के.सी.बाट दाखिला भएको तायदाती अनुसार ३ खण्डको १ खण्ड वादीले अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौंं जिल्ला अदालतको २०४०।७।९ को फैसला ।

६.    का.जि.अ. को फैसलामा मेरो चित्त बुझेन । मेरो प्रतिउत्तर जिकिर तथा पुनरावेदन जिकिर अनुसार गरिपाउँ भन्ने समेत व्यहोराको पूर्णबहादुर के.सी. को बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

७.    वादीले अंश पाइसकेको भन्ने नदेखिँदा शुरु का.जि.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको बागमती अन्चल अदालतको २०४२।५।६ को फैसला ।

८.    बा.अं.अ. को फैसलामा चित्त बुझेन, पुनरावेदनको अनुमति पाउँ भन्ने समेत पूर्णबहादुर के.सी.को निवेदनमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को आदेश ।

९.    यस्मा वादी विवाह नगरी बसेको ३५ वर्ष नाघेको, पैतृक सम्पत्तिबाट यी वादी लगायतकी छोरीहरूले अंश पाई छुट्टी बसेको प्रमाणित सबूद पुनरावेदक प्रतिवादीबाट आउन सकेको देखिँदैन । यसर्थः अंश दिनु पर्ने होइन भन्ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्नसक्ने देखिएन । अंशियार मध्ये प्र.पूर्णबहादुर र सोमबहादुर बीच २०१७ सालमा अंशबण्डा खडा भएकोमा सोमबहादुरले आफ्नो अंश भाग बापत प्र.पूर्णबहादुरबाट रु. ६००१ ।नगद लिई अंश छोडी पूर्णबहादुरले सोमबहादुरको अंश भाग खान पाउने र ४ भागको १ भाग अंश पाउँ भन्ने फिराद दावी आएकोमा सोही एक खण्ड अंश पाउनेमा दावी भन्दा बाहिर गई तीन भागको १ भाग अंश पाउने ठहराएकोसम्म शुरु का.जि.अ. को फैसला सदर गर्ने गरेको बा.अं.अ. को फैसला सो हदसम्म उल्टी हुने ठहर्छ । प्र.बाट पेश भएको तायदातीबाट ४ खण्डको १ खण्ड अंश वादीले पाउने ठहर्छ भन्ने समेत म.क्षे.अ. को २०४४।११।११ को फैसला ।

१०.    म.क्षे.अ. को उक्त फैसलामा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५) को खण्ड (ख) र (ग) अन्तर्गतको त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्र.पूर्णबहादुर के.सी. को यस अदालतमा पर्न आएको निवेदनमा म.क्षे.अ. को इन्साफमा मु. ऐन अंशबण्डाको १ र १६ नं. को व्याख्यात्मक त्रुटि देखिनाले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्थामा पुनरावेदनको अनुमति दिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासबाट मिति २०४४।१२।२४ मा आदेश भएको रहेछ ।

११.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्रीहरि अर्याल तथा प्रत्यर्थी वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रेवन्तबहादुर कुंवरले गर्नुभएको बहस समेत सुनियो ।

१२.   प्रस्तुत मुद्दामा म.क्षे.अ. को इन्साफ मिले नमिलेको के रहेछ सो मा नै निर्णय दिनु पर्ने हुन आयो ।

१३.   यस्मा आज निर्णय सुनाउने तारेख तोकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा, बाबु कृष्णबहादुरको छोराछोरी ५ मा छोरा जेठा पूर्णबहादुर र कान्छा सोमबहादुर, छोरी जेठी कमला, माहिली दिलकुमारी, कान्छी कर्मकुमारी भएकोमा बाबु आमा परलोक भइसकेका जेठी कमलाको विवाह भइसकेको, माहिली दिदी दिलकुमारी र कान्छी म कर्मकुमारी अविवाहित बसेका छौं । दाजु पूर्णबहादुरसंग अंश माग गर्दा नदिएकोले सम्पूर्ण सम्पत्तिको ४ खण्डको १ खण्ड मेरो अंश भाग दिलाई पाउँ भन्ने समेत वादी कर्मकुमारीको फिराद परेकोमा मैले आफ्नो हक जति लिई छोडपत्र गरिदिएको छु । दिदीहरूको अंश दाजु जिम्मा छ । मैले अंश दिनुपर्ने होइन भन्ने समेत प्र.सोमबाहादुर के.सी. तथा हामी दाजुभाइ अंशियार बीच २०१७।१२।१० मा अंशबण्डा भएको विपक्षी समेत दिदी बहिनीको विवाह खर्च पर सारी बण्डा भइसकेकोले तत्कालिन अंशबण्डाको ५१ नं. अनुसार वादीको फिराद नलाग्ने हुँदा खारेज गरिपाउँ भन्ने समेत प्र.पूर्णबहादुरको प्रतिउत्तर जिकिर रहेको देखिन्छ । २०१७ सालमा दुई दाजुभाइ बीच अंशबण्डा हुँदा विवाह खर्च बापतको सम्पत्ति प्र.मध्येका पूर्णबहादुर जिम्मा राखी बण्डापत्र पास गरेको र सोमबहादुरको अंश भाग यिनै पुनरावेदक प्रतिवादी पूर्णबहादुरबाट रु. ६००१।नगद बुझी निज सोमबहादुरले आफ्नो अंश छोडी गएकोमा समेत वादी प्रतिवादी बीच मुख मिलेकै देखियो । वादी कर्मकुमारी तथा यसै लगाउको अंश मुद्दाकी वादी दिलकुमारी दुई दिदी बहिनी अविवाहिता रही ३५ वर्ष नाघेको अवस्था देखिई पृथक पृथक फिराद गरेकोमा ३५ वर्ष ननाघेको र विवाह भइसकेको वा अंश भाग लिई भिन्न भइसकेको भन्ने समेत देखिन आएन । मुलुकी ऐन अंशबण्डाको १६ नं. मा पैतीस वर्ष उमेर पुगेकी विवाह नभएकी छोरीले छोरा सरह अंश पाउँछे । अंश लिएपछि विवाह भयो वा पोइल गई भने उसले पाएको अंशबाट ऐन बमोजिमको विवाह खर्च पर सारी बाँकी ऐनले हक पुग्नेले पाउँछभन्ने कानुनी प्रावधान विद्यमान रहेको पाइन्छ । यस्तो अवस्थामा वादी अविवाहित रहेको र ३५ वर्ष नाघी सकेको भन्ने समेत देखिएको तथा वादीको अंश भाग समेत दाजु विपक्षी पूर्णबहादुर जिम्मा रहेको कुरा २०१७ सालमा बण्डापत्र पास हुँदा दिदी बहिनीको विवाह खर्च समेत निजै जिम्मा रहेको भनी उक्त बण्डापत्रमा उल्लेख भएबाट समेत ३५ वर्ष पुगेकी अविवाहित वादीले छोरा सरह प्र.पूर्णबहादुरबाट आफ्नो भाग अंश पाउने नै देखिन्छ । जहाँसम्म बागमती अञ्चल अदालतले ३ भागको एक भाग अंश पाउने ठहराएको छ, सो फैसला फिराद दावी भन्दा बाहिर गई भएको देखिँदा उल्लिखित सबूद प्रमाणको आधारमा वादीले प्रतिवादीबाट ३ भागको १ भाग अंश पाउने ठहर्‍याएको अञ्चल अदालतको फैसला सो हदसम्म उल्टी गरी प्रतिवादीबाट पेश भएको तायदाती बमोजिमको ४ भागको १ भाग अंश वादीले पाउने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी रही पुनरावेदन दायर भएको देखिँदा केही गर्नु परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायममा म सहमत छु ।

 

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल चैत्र २५ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु