शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३८१३ - नामसारी

भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक:

निर्णय नं. ३८१३     ने.का.प. २०४६            अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४४ सालको दे.वि.नं. ४५

फैसला भएको मिति : २०४६।१।४।७ मा

वादी : रुपन्देही जिल्ला हाटी वनगाई गा.पं. वा.नं. ४ बस्ने दुर्गाबहादुर पुन

विरुद्ध

प्रतिवादी : जि. रुपन्देही हाटी वनगाई गा.पं. वा.नं. ४ बस्ने गुरुचरण यादव

मुद्दा : नामसारी

(१)    पक्ष विपक्ष नै कायम नगरिएको विपक्षको पुनरावेदन लाग्नै नसक्ने लिई जिल्ला कार्यालयले गरेको पुनरावेदन फैसला नै कानुन अनुरुपको नदेखिएको र त्यस्तो कानुनले लाग्नै नसक्ने पुनरावेदन लिई गरेको फैसला उपर क्षेत्रीय अदालतले निजै विपक्षीको पुनरावेदन लिई गरेको फैसला कानुन अनुरुपको भन्न नमिल्ने ।

(प्रकरण नं. १२)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

प्रत्यर्थी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रमेशविक्रम कार्की

फैसला

न्या.हिरण्येश्वरमान प्रधान

१.     श्री ५ महाराजाधिराज सरकारबाट इन्साफ जाँच गरिदिनु भन्ने हु.प्र. बक्स भई दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य तथा जिकिर यस प्रकार रहेछ ।

२.    हाटी वनगाई गा.पं. वडा नं. ४(क) कि.नं. २ को सिम ज.वि. ०७ लाई भुलबाट वडा नं. ५(क) कि.नं. १,,३ को जग्गा छूट दर्ता गरिपाउँ भन्ने माग भएको थियो । यस कार्यालयबाट सबूद प्रमाण बुझी २०३९।३।२९ मा अस्थाई र २०३९।६।१० मा स्थायी म बलबहादुरको नाउँमा दर्ता भएको सो जग्गा रु. २२,०००। मा दुर्गाबहादुर पुनलाई राजीनामा पारीत गरी दिएकोमा पनि दुर्गाबहादुरले जग्गा चिनाई देऊ भनी नक्सा हेरी जग्गा देखाउँदा वडा नं. ५(क) कि.नं. १,,३ जग्गा मेरो नभई वडा नं. ४(क) कि.नं. २ को जग्गा भएको देखिएको, हामी धनी ऋणी दुवै उपस्थित भई दरखास्त गरेका छौं । मालपोत ऐन, २०३४ को दफा २ ले त्यस्तो फरक पर्न गएको सच्याई दिने अधिकार हुँदा वडा नं. ५(क) कि.नं. १,,३ को ज.वि. दुर्गाबहादुरका नाउँमा संशोधन गरिपाउँ भन्ने समेत २०३९।७।२५ को बलबहादुर थापा, दुर्गाबहादुर पुनको संयुक्त दरखास्त ।

३.    क्षेत्रीय किताब उतारको प्रतिलिपि र मिति २०३९।७।२९ मा भएको सरजमीन मुचुल्का समेत मिसिल संलग्न रहेको ।

४.    बलबहादुरबाट दुर्गाबहादुरले राजीनामा पारीत गरी लिएको जग्गा बदर भएपछि उक्त संशोधन हुने वडा नं. ४(क) कि.नं. २ को ज.वि. १० जग्गा दुर्गाबहादुर पुनकै हकमा देखिँदा मालपोत ऐन, २०३४ को दफा ७(३) बमोजिम संशोधन र दफा ७(२) बमोजिम दर्ता समेत गरी दिने ठहर्छ भन्ने समेत २०३९।८।२७ को मालपोत कार्यालय रुपन्देहीको पर्चा ।

५.    मेरो भोगचलन भित्रको जग्गा हो । मालपोत कार्यालयले जग्गाको अस्तित्व नै फरक पारी राजीनामा संशोधन गर्ने अधिकार नै छैन । मेरा नाउँमा दर्ता हुनुपर्छ भन्ने समेत गुरुचरण यादवले जिल्ला कार्यालय रुपन्देहीमा दिएको पुनरावेदन ।

६.    मालपोत कार्यालय रुपन्देहीको पर्चा मनासिब ठहर्छ भन्ने समेत २०४१।४।२५।५ को जिल्ला कार्यालय रुपन्देहीको फैसला ।

७.    विवाद परेको जग्गामा हक बेहक हुने गरी निर्णय गर्ने अधिकार मालपोत कार्यालयलाई नहुँदा सो निर्णय उपर पुनरावेदन सुन्ने अधिकारी जिल्ला कार्यालयबाट बदर गरिदिनु पर्नेमा झन उल्टो सोही निर्णय सदर गरिएबाट अ.बं. ३५ नं. ले दुवै निर्णय बदरभागी छ । कानुनको प्रत्यक्ष त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको गुरुचरणको निवेदनमा अधिकार क्षेत्रमा त्रुटि भएको देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत २०४१।११।१०।५ को प.क्षे.अ. को आदेश ।

८.    यस्मा तेरो मेरोमा विवाद रहेको स्थितिमा सच्याई दर्ता कायम गर्ने अधिकार नभएको मालपोत कार्यालयले वार्ड नं., कित्ता र क्षेत्रफल समेत बेगल भएको बेग्लै जग्गालाई प्रत्यर्थीको नाउँमा दर्ता गर्ने गरी आफैंले अघि मिति २०३९।३।२९ मा गरेको निर्णय समेत आफैले बदर गर्ने गरी निर्णय गरेको त्यस्तो निर्णय अधिकार क्षेत्र विहीन देखिएको र सो निर्णयलाई सदर गरेको जिल्ला कार्यालय रुपन्देहीको मिति २०४१।४।२५ को पुनरावेदन निर्णय समेत सोही कारणले त्रुटिपूर्ण देखिएकोले जिल्ला कार्यालय रुपन्देहीको मिति २०४१।४।२५ को निर्णय र मालपोत कार्यालय रुपन्देहीको मिति २०३९।८।२७ को निर्णय समेत बदर हुन्छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

९.    यस्मा बक्स भई आएको हुकुम प्रमांगी बमोजिम गर्न विविधको लगतमा दर्ता गरी निवेदकलाई ७ दिनको म्याद दिनु । मिसिल झिकाई आएपछि संयुक्त इजलासमा पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।

१०.    यस्मा कित्ता नम्बर संशोधन गरिपाउँ भन्ने बलबहादुर, दुर्गाबहादुरको संयुक्त निवेदनमा मालपोत कार्यालय रुपन्देहीबाट २०३९।८।२७ मा भएको निर्णयबाट गुरुचरण पक्ष विपक्ष देखिँदैन । गुरुचरणको जिल्ला कार्यालय रुपन्देहीमा पुनरावेदन परी भएको निर्णय उपर पक्ष विपक्ष नै नदेखिएका गुरुचरणको पुनरावेदनको निवेदनमा अनुमति प्रदान गरी गरेको निर्णय कानुन अनुरुप भएको भन्न नमिल्ने हुँदा अ.बं.२०२ नं. र सर्वोच्च अदालत नियमावली बमोजिम छलफलको निमित्त विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने व्यहोराको यस अदालत संयुक्त इजलासको आदेश ।

११.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी निवेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विपक्षीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रमेशविक्रम कार्कीले गर्नुभएको बहस समेत सुनी प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ सो को निर्णय दिनु पर्ने देखिन आयो ।

१२.   यस्मा निर्णयतर्फ विचार गर्दा मालपोत कार्यालयले बलबहादुर र दुर्गाबहादुरको संयुक्त निवेदन परी अघि सोही मालपोत कार्यालयबाट २०३९।६।१० मा भएको निर्णयलाई संशोधन गरी वार्ड नं. ४(क) कि.नं. २ को जग्गा बलबहादुरको कायम गरी राजीनामाबाट दुर्गाबहादुरको नाउँमा दर्ता गर्ने गरी २०३९।८।२७ मा गरेको निर्णय उपर विपक्षीको जिल्ला कार्यालय रुपन्देहीमा पुनरावेदन परेकोबाट इन्साफ जाँची मालपोत कार्यालयको निर्णय सदर गरे उपर विपक्षीकै पुनरावेदन परी क्षेत्रीय अदालतबाट मालपोत कार्यालयको रुपन्देही जिल्ला कार्यालयले सदर गरेको निर्णय बदर गरेको देखियो । तर अ.बं. १९३ नं. मा भएको व्यवस्थाबाट कुनै अड्डाबाट भएको निर्णय उपर सो मुद्दामा पक्ष विपक्षी भएमा मात्र पुनरावेदन गर्ने व्यवस्था गरेको पाइन्छ । तर प्रस्तुत मुद्दामा विपक्षीले जुन मालपोत कार्यालयको २०३९।८।२७ को निर्णय उपर जिल्ला कार्यालय रुपन्देहीमा सो निर्णयबाट आफू हारेको भनी देखाई पुनरावेदन गरेको छ, सो मिसिल हेरिएमा सो मिसिलमा यिनै विपक्षी पक्ष, विपक्षी वा अरु कुनै रुपबाट संलग्न रहेको देखिन नआएकोले मिसिलको कारवाहीबाट पक्ष विपक्ष नै कायम नगरिएको विपक्षीको पुनरावेदन लाग्नै नसक्ने लिई जिल्ला कार्यालय रुपन्देहीले गरेको पुनरावेदन फैसला नै कानुन अनुरुपको नदेखिएको र त्यस्तो कानुनले लाग्नै नसक्ने पुनरावेदन लिई गरेको फैसला उपर क्षेत्रीय अदालतले निजै विपक्षीको पुनरावेदन लिई गरेको फैसला पनि कानुन अनुरुपको भन्न नमिलेकोबाट सो दुवै फैसलाहरू बदर हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४३।५।८।१ को फैसला बदर हुने ठहरेकाले उक्त फैसलाले रुपन्देही जिल्ला हाटीवनगायी गा.पं. वडा नं. ४(क) कि.नं. २ जग्गा विगाहा १० दुर्गाबहादुरका नाउँमा संशोधन दर्ता प्रमाणित गर्ने गरेको मिति २०३९।८।२७ को मालपोत कार्यालयको निर्णय बदर गरिएको जानकारी मालपोत कार्यालयमा लेखी पठाउने गरेकोमा सो बमोजिम गर्न नपर्ने भनी मालपोत कार्यालय रुपन्देहीमा लेखी पठाउन का.जि.अ.त. मा लेखी पठाई दिनु .........१ इन्साफ जाँचको लागि हुकुम प्रमांगी बक्स भई आएको हुँदा अरु केही गर्न परेन, मिसिल नियम बमोजिम गरी बुझाई दिनु .....२

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४६ साल वैशाख ७ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु