निर्णय नं. ३८१४ - बिक्री बदर

निर्णय नं. ३८१४ ने.का.प. २०४६ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको दे.पु.नं. ७७५
फैसला भएको मिति : २०४५।१२।३०।४ मा
पुनरावेदक/वादी : जि.गुल्मी धुर्कोट जैसीथोक गा.पं. वार्ड नं. १ बस्ने केशवराज पोखरेल उपाध्याय
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ.वार्ड नं.२ बस्ने गोपीराम घिमिरेसमेत
मुद्दा : बिक्री बदर
(१) सट्टापट्टामा चित्त नबुझेको भए अंश मुद्दामा सोही सट्टापट्टाबाट पाएको जग्गा तायदातीमा दिई सोहीबाट अंश पाउने ठहर्याए उपर सट्टापट्टामा आफ्नो उजूर परी कारवाहीमा रहेको कुरा देखाई पुनरावेदन दिई सो तायदाती समेत बदर गराउनु पर्ने ।
(प्रकरण नं. ८)
(२) जुन कुरामा आफूले आफ्नो हक बदर गरिपाउँ भनी दावी लिई मुद्दा दिई कारवाही समेत चलाई राखेको छ, सोही सट्टापट्टाको लिखतबाट पाएको तायदातीको जग्गा अंश पाउने भनी ठहर भएकोमा चित्त बुझाई बसेपछि सोही सट्टापट्टामा आफ्नो हक जति बदर गरी पाउनु पर्ने भन्ने प्रस्तुत पुनरावेदन जिकिर पुग्न नसक्ने ।
(प्रकरण नं. ८)
वादी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल
प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुड्डाना
फैसला
न्या.हिरण्येश्वरमान प्रधान
१. प.क्षे.अ. को २०४४।१।२७ को फैसलामा चित्त बुझेन । पुनरावेदन गर्ने अनुमति पाउँ भनी पर्न आएको निवेदनमा अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. विपक्षीहरूको बाबु र मेरो बाबुको चल अचल सम्पत्ति एकैसगोलमा राखी चलन गरिआएकोमा २००२ सालमा मेरा बाबु र २०१५ सालमा विपक्षीहरूका बाबु स्वर्गे भएको र म विदेशमा बसी आएको, २०४०।१।११ गते घर आई मेरो बाबुको मैले पाउने अंश माग गर्दा दिन इन्कार गरी मेरो मन्जूरी नलिई गरेको सट्टापट्टाको लिखत मेरो हक जति बदर गरिपाउँ भन्ने वादी दावी ।
३. विपक्षीले हामीबाट अंश पाउने होइन । वादी दावी बमोजिम प्र.नेत्रप्रसादले गोपिरामलाई दिएको जग्गा म नेत्रप्रसाद र म गंगाधर २०३३।१०।१५ गते छुट्टी भिन्न हुँदा मेरो अंश भागमा परेको जग्गा सट्टापट्टा गरेको र विपक्षीको हकको जग्गा सट्टापट्टा नगरेको वादीको झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने प्रतिवादी ।
४. मेरो अंश भाग जति बिक्री बदर गरिपाउँ भन्ने वादी दावी झुठ्ठा ठहर्छ भन्ने शुरु गुल्मी जि.अ. को २०४२।१।२३ को फैसला ।
५. शुरु फैसलामा चित्त नबुझी वादी तर्फबाट लु.अं.अ. मा परेको पुनरावेदनमा घरको मुख्य व्यक्तिले जग्गा सट्टापट्टा गर्दा वादीको मन्जूरी लिइरहनु पर्ने अवस्था (साविक पेज नं. ४७५) मा नदेखिँदा वादी बमोजिमको सट्टापट्टाको लिखत बदर नहुने ठहर्याएको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने लु.अं.अ. को २०४२।५।११।३ को फैसला ।
६. लु.अं.अ. को उक्त फैसला समेतमा चित्त नबुझी वादीतर्फबाटै प.क्षे.अ. मा पुनरावेदन परेकोमा सट्टापट्टा गर्दा घरको मुख्य मानिसलाई राजी गराउनु पर्ने भन्नेसम्म लेनदेन व्यवहारको ३६ नं. को तात्पर्य भएको र वादी घरको मुख्य मानिस आफू नभई प्रतिवादीहरू नै हुन् भन्ने कुरा यिनै वादी प्रतिवादी भई चलेको प्रमाणको अंश मुद्दाबाट देखिएको र सट्टापट्टाबाट लिएको सम्पत्तिमा यी पुनरावेदकको समेत बण्डा लागेको कुरालाई स्वीकार गरेको देखिँदा समेत वादी दावी बमोजिम बिक्री बदर नहुने ठहर्याएको शुरु फैसला सदर गरेको लु.अं.अ.को फैसला मनासिब ठहर्छ भन्ने समेत प.क्षे.अ.को २०४४।१।२७।१ को फैसला ।
७. प.क्षे.अ. को सो फैसला चित्त बुझेन । पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको वादीको निवेदनमा वादीको हक लाग्ने जति कुरामा सट्टापट्टा गर्दा घरको मुख्य भएको नाताले मात्र सट्टापट्टा गर्न प्रतिवादीले सक्ने हो की होइन ? भन्ने लेनदेन व्यवहारको १० नं. तथा ३६ नं. को कानुनी व्याख्या सम्बन्धी प्रश्न देखिएकोमा क्षे.अ. ले सोझै घरको मुख्यले सट्टापट्टा गर्न सक्ने भन्ने ठहर्याई फैसला गरेको देखिँदा उक्त लेनदेन व्यवहारको १० नं. तथा ३६ नं. को व्याख्यात्मक त्रुटि भएको हुँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्त इजलासको ०४४।९।६।२ को आदेश ।
८. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा वादीतर्फका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल र प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री दमन ढुङ्गानाले गर्नुभएको बहस जिकिर सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी वादी दावी नपुग्ने ठहर्याएको शुरु तथा अं.अ. को इन्साफ सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको के रहेछ भनी निर्णयतर्फ विचार गर्दा यिनी पुनरावेदक वादीले प्रस्तुत मुद्दाको फिराद दायर गरेकै मितिमा यिनै विपक्षीहरूमध्ये वादी समेतको हकको भनेको जग्गा सट्टापट्टा गरी लेनदेन मन्जूर गर्ने गंगाधर र दिने नेत्रप्रसाद समेत उपर आफ्नो एक खण्ड अंश दिलाई पाउँ भनी मुद्दा दायर गरेको, जिल्ला अदालतबाट यिनी वादीको दावी बमोजिम विपक्षी नेत्रप्रसाद र गंगाधरले दिएको तायदाती मध्येबाट अंश पाउने ठहरी फैसला भएको र नेत्रप्रसादले सो मुद्दामा दिएको तायदातीमा वादीले आफ्नो हक जति बदर गरी पाउँ भनी लिएको सट्टापट्टाको लिखतबाट नेत्रप्रसादले पाएकै जग्गा तायदातीमा देखाएको कुरा वादीले यस मुद्दामा गरेको पुनरावेदनमा स्वीकार गरेको र इजलास समक्ष छलफल गर्दा पनि सो कुरा स्वीकार गरेको, यदि वादी पुनरावेदकले विवादको सट्टापट्टामा चित्त नबुझेको भए अंश मुद्दामा सोही सट्टापट्टाबाट पाएको जग्गा तायदातीमा दिई सोहीबाट अंश पाउने ठहराए उपर सट्टापट्टामा आफ्नो उजूरी परी कारवाहीमा रहेको कुरा देखाई पुनरावेदन दिई सो तायदाती समेत बदर गराउनु पर्नेमा सो नगरी आएको तायदातीबाट एक खण्ड अंश पाउने ठहर्याएकोमा चित्त बुझाई बसेको प्राप्त अंश मुद्दाको प्रमाणको मिसिलबाट देखिन आयो । यसरी जुन कुरामा आफूले आफ्नो हक बदर गरिपाउँ भनी दावी लिई मुद्दा दिई कारवाही समेत चलाई राखेको छ सोही सट्टापट्टाको लिखतबाट पाएको तायदातीको जग्गा अंश पाउने भनी ठहर भएकोमा चित्त बुझाई बसेपछि सोही सट्टापट्टामा आफ्नो हक जति बदर गरी पाउनु पर्ने भन्ने प्रस्तुत पुनरावेदन जिकिर पुग्न नसक्ने हुँदा सट्टापट्टाको लिखत बदर गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहर्याएको इन्साफ मनासिब ठहर्छ । कोर्टफी राखी पुनरावेदन दायर भएकोले केही गर्नु परेन । नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.बब्बरप्रसाद सिंह
इति सम्वत् २०४५ साल चैत्र ३० गते रोज ४ शुभम् ।