निर्णय नं. ७००२ - जग्गा खिचोला ।

निर्णय नं. ७००२ ने.का.प.२०५८ अङ्क ५/६
पूर्ण इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री केशवप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
संवत् २०५३ सालको दे.पु.ई.नं. ..११६
फैसला मितिः २०५८।२।३।४
मुद्दाः जग्गा खिचोला ।
पुनरावेदक
वादीः दोलखा जिल्ला लापिलाङ गा.वि.स.वडा नं. ९ वस्ने पदमकुमारी थमेनी ।
विरुद्ध
विपक्षी
प्रतिवादीः ऐ.ऐ.वस्ने धनवहादुर थामी ।
§ पारित लिखत जेठो भै पछि गरेको भएपनि त्यसले मान्यता पाउने सिद्धान्त यस अदालतवाट प्रतिपाद भै रहेको परिप्रेक्षमा पुनरावेदन अदालतले लिएको निर्णयाधार त्रुटिपूर्ण देखिन आयो । यी वादीको लिखत अदालतको फैसला अनुसार ०३२।४।८ मा पारित भएको र धनवहादुरको लिखत घरसारको देखिंदा वादीको लिखत पछिको भएकोले मान्यता नपाउने भन्न मिलेन । जुन लिखत पहिले पारित भएको छ उसैले मान्यता पाउने हुन्छ ।
§ प्रतिवादी धनवहादुरको घर रहेको भन्ने आधारमा सो जग्गा निवेदक वादीको नठहर्ने हो कि भन्नलाई वादीको रीतपूर्वकको लिखत वमोजिमको सो जग्गा हो भन्नेमा विवाद देखिएन । घरमा दावी नरहेकोले सो घर वाहेकको न.नं. १७ को जग्गा समेत वादीको लिखत वमोजिम कै देखिन आएकोले सोमा दावी नपुग्ने ठहर गरेको शुरु दोलखा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला सो हदसम्म नमिलेकोले सो उपर दोहोर्याउने निस्सा समेतको आदेश दिने नगरेको यस अदालत संयुक्त इजलासको मिति ०५३।१।१२ को आदेश समेत उल्लेखित नजिर समेतका परिप्रेक्षमा त्रुटिपूर्ण हुँदा वदर भै न.नं. १७ को जग्गामध्ये घर रहेको जग्गा वाहेकमा वादी दावी वमोजिम प्रतिवादीले खिचोला गरेको ठहर्ने ।
(प्र.नं. २७ र २८)
पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ताहरु श्री शान्ता थपलीया, श्री अनिता सापकोटा चापागार्इ र श्री इन्दीरा श्रीस
विपक्षी प्रतिवादी तर्फबाटः श्री धनवहादुर वस्नेत
अवलम्वित नजिरः
फैसला
न्या.केशवप्रसाद उपाध्यायः सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१) (ख) वमोजिम पूर्ण इजलासको लगतमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छ ।
२. लछुमन थामीको नाउंमा पुराना गाउँ घरवारी विजन पाथी ।१।४ दर्ता भएको, निज लछुमन स्वर्गे भएपछि निजको ठूली आमा हिरामायाको हक भएको र मेरो आमा मनमायाले २०२२।८।२।४ मा राजिनामा गरी लिई आमाको हक भएको विजन पाथी ।१।४ मध्ये पूर्व गोरेटो वारी भनेको धनवहादुर थामीको वारी, पश्चिम पन्चेको वारी ठाडो खोल्सा, उत्तर तेर्सो मुल वाटो, दक्षिण मसिने थामीको खेत यति ४ किल्ला भित्रको विजन पाथी ।१ को पुरानो गाउं घरवारी मैले ०३१।४।१ मा राजिनामा गरी लिएको जग्गामा मैले घर समेत बनाइ भोगी आएकोमा उत्तर लापीलाङ जाने तेर्सो वाटो, दक्षिण मेरो घर मुनीवाट गाउंमा जाने गोरेटो वाटो, पुर्व बिपक्षी धनवहादुरको घर वल्लो पटृीको सिढी र लम्पालीको साँध, पश्चिम टुल्के थामीको घर जग्गा सांध ४ किल्ला भित्रको विजन माना अन्दाजी ।.।२ का र घरवारी मुल्य रु.१०००। मोलिने जग्गा खिचोला गरेकोले खिचोला मेटाइ मेरो हक सदर गराइ पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. वादी दावीको ४ किल्ला भित्रको सम्पूर्ण जग्गा वादीको मात्र हक लाग्ने होइन । धनवीर थामी जिम्मा लछुमन थामीको नाम दर्ता भएको पुर्व सानो किर्तिमान थामीको वारी र वादीको आमा र मेरो सासु मनमायाको खेत सांध, पश्चिम लापीलाङ जाने तेर्सो मुल वाटो, उत्तर मानवहादुर थामीको वारी, दक्षिण ठाडो खोल्सा पानी डोल ४ किल्ला भित्रको पुराना गाउंवारी जग्गा लछुमनवाट वादीको आमा मेरो सासु मनमायाले २०२२ सालमा राजिनामा गरी लिई निजको हक भएको जग्गामध्ये पुर्व वादीकै आमा मनमायाको हकमा वांकी रहेको उक्त विजन मध्ये पुर्व सानो किर्तिमान थामीको वारी सांध, पश्चिम लापीलाङ जाने तेर्सो मुलवाटो, उत्तर आरुवोटे गाउं जाने ठाडो बाटो, दक्षिण ठाडो खोल्सा यति ४ किल्ला भित्रको विजन मुठी ।।।६ को पुराना गाउँ घरवारी जग्गा निज मनमायावाट मैले २०२४।६।१५ मा र २०२४।११।२ मा घरसारमा राजिनामा गरी लिई मेरो २ श्रीमती भएकोले सो लापीलाङ जाने तेर्सो मुलवाटो माथि अथवा सो वाटो देखि पश्चिम पटृीको अघि नै खड्गवहादुर थामीवाट राजिनामा गरी लिइ एक घर वनाइ सो घर जग्गा मेरो कान्छि श्रीमती चन्द्रमायालाई वसोवास गर्न दिई मनमायावाट २०२४ सालमा लिएको मुलवाटो मुनीको जग्गामा मुलवाटो श्रीमती समेतले वसोवास गरी आएको जग्गालाई बिपक्षीले हाल फिरादमा किल्ला उल्टो पाल्टो लेखि मेरो जग्गालाई वादीले आफ्नो भनि किल्ला भित्र पारी खान सक्छु कि भनि यो झुटृा फिराद गरेको हो भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
४. प्रतिवादीवाट पेश दाखिल भएको २०२४।६।१५ र २०२४।११।२ को सक्कल लिखत जालसाजी खडा गरेका हुन भन्ने समेत व्यहोराको वादीको वारेस नारायण लाल श्रेष्ठले गरेको वयान ।
५. दाखिल गरेको कागजहरु जालसाजवाट खडा भएको होइन, सत्य साँचो व्यहोरावाट भएको हो भन्ने समेत व्यहोराको प्र. धनवहादुर थामीको वयान ।
६. ०२४।६।१५ र ०२४।११।२ को सक्कल लिखतहरु जालसाजवाट खडा भएको होइन, सत्य सांचो व्यहोरावाट भएको हो भन्ने समेत खड्गवहादुर थामीको वयान र सोही व्यहोराको किर्तिमान थामीको वा. पृथ्वीवहादुरको वयान ।
७. लिखत सद्दे हो भन्ने प्र. मैतरवहादुर थामीको वयान ।
८. जालसाजी मुद्दामा लिखत जालसाजी नठहर्ने गरी आजै यसै वेन्चवाट फैसला भएकोले यस मुद्दावाट सद्दे वा जालसाजी भनि निर्णय गरिरहनु परेन । भै आएको नक्सा हेर्दा न.नं. ४, न.न.. १५, न.नं. १७ र न.नं. ७,८ मा झगडा जनिई आएको देखिएको । न.नं. ७।८ को हकमा यिनै वादी पदमकुमारीको उपर मनमायाको जग्गा खिचोलामा फिराद परेकोमा सोहि मुद्दावाट निर्णय हुने, न.नं. ४,१५,१७ को जग्गा तर्फ हेर्दा न.नं. १५ को घरवारी मनमायाको वांकी विजनको देखिएको र न.नं. १७ को जग्गा धनवहादुरको राजिनामाको हुँदा खिचोला गरे भन्ने वादीको दावा पुग्न सक्दैन । न.नं. ४ को हक्मा नक्सा हुँदा मात्र चन्द्रमायाको भनि जनिएको सो उपर वादीको उजुर नपरेको सो कित्ता उपर वादीको छुट्टै उजुर पर्न आएको अवस्थामा उसै अवस्थामा निर्णय हुने हुँदा यस मुद्दावाट केही गरि रहनु परेन भन्ने समेत व्यहोराको दोलखा जिल्ला अदालतको ०४६।१२।३० को फैसला ।
९. जालसाजी मुद्दामा अलग्गै पुनरावेदन गरेको छु । अ.वं. १७१ नं. को रीत नपुर्याई नक्सा भएको हुँदा वदरभागी छ । जालसजी मुद्दामा लेखिएको चार किल्ला भिडाएमा र सो ।१ एक पाथीको जग्गा कटाई मनमायाको वाँकी रहन गएको ।।४ को दुइ कित्ता जग्गा छुटृा छुट्टै भई अलग अलग रहेको भइ एक पाथी जग्गा मलाइ विक्रि गरेपछि सो ठाउँमा मनमायाको जग्गा वाँकी छैन । शुरु अदालतले हचुवा तवरवाट गरेको फैसला प्रत्यक्ष अन्यायपूर्ण भई गैरकानूनी समेत हुँदा उक्त फैसला वदर गरी पाउँ भन्ने समेत पद्मकुमारीको तत्कालीन जनकपुर अन्चल अदालतमा परेको पुनरावेदन पत्र।
१०. प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी तारेखमा रहेका पक्षलाई पुनरावेदन अदालत, पाटनको तारेख तोकी मिसिल समेत पठाइ दिनु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, जनकपुरको २०४८।८।२४ को आदेश ।
११. दे.पु.नं. २११५ को जग्गा खिचोला मुद्दामा बिपक्षी झिकाउने आदेश भएकोले यस्मा पनि अ.वं. २०२ नं. वमोजिम बिपक्षीलाई झिकाउने भन्न समेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति ०४९।२।११ को आदेश ।
१२. वादी पदमकुमारीवाट मनमायाले २०३१।४।१ मा घरसारमा राजिनामा गरी लिएको सो राजिनामा ०३२।४।८।५ मा पारित भएको भन्ने हक्मा सो राजिनामा पारित हुनुभन्दा अगावै दावीको जग्गा धनवहादुरलाई २०२४।६।१५ र २०२४।१२।२ मा राजिनामा गरी दिएको देखिएकोले न.नं. १७ को जग्गामा प्रतिवादी प्रत्यर्थी धनवहादुरको घर समेत देखिएकोले वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरुको इन्साफ मनासिव हठर्छ, पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०४९।१०।२२ को फैसला ।
१३. पुनरावेदन अदालत पाटनको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान भै फैसला त्रुटिपूर्ण हुँदा मुद्दा दोहर्याई हेर्ने निस्सा प्रदान गरी पाउँ भन्ने समेत व्यहोराको वादी पदम कुमारीको यस अदालतमा परेको निवेदन ।
१४. न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान नदेखिएकोले दोहर्याउने निस्सा प्रदान गर्न मिलेन भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५३।१।१२।३ को आदेश ।
१५. अदालतवाट भै अएको मुचुल्का वमोजिम कुण्डलीवाट देखिने न.नं. ७ र ८ को जग्गाको हकमा वादीले प्रतिवादीलाई गरि दिएको राजिनामा भित्रको जग्गा ठहराएकोमा वादीले पुनरावेदन गर्न नसकी बसेको स्थिति र न.नं. १५ को जग्गामा मनमायाको ठहर गरेको पु.वे.अ. पाटनको इन्साफमा न्याय प्रशासन ऐन, २०४८ नजिकको प्रतिकूल भएको देखिन नआएको स्थितिमा मुद्दा दोहोर्याइ पाउने निस्सा प्रदान गर्न नमिलेको भनि मिति ०५३।१।२२ मा आदेश भै रहेको देखिन्छ। हाल पुनरावेदनको लागि परेको प्रस्तुत निवेदन साथ समेत न्याय प्रशासन ऐन, ०४८ को दफा ११ अन्तर्गतको अवस्था विद्यमान रहेको नदेखिंदा पुनरावलोकनको निस्सा प्रदान गर्न मिलेन, कानून वमोजिम गर्नु भन्ने समेत व्यहोराको यस अदालत, संयुक्त इजलासको मिति २०५३।४।७ को आदेश ।
१६. रजिष्ट्रेशन पारित भएको लिखतलाई मान्यता नदिइ घरसारको लिखतलाई मान्यता दिइ भएको शुरु सदर गरेको पुनरावेदन अदालतको फैसला तथा सो उपर दोहोर्याउने निवेदन दिंदा दोहोर्याउने निस्सा दिन मिल्दैन भन्ने र सो उपर पुनरावलोकन गरी पाउँ भनि परेको निवेदनमा पुनरावलोकनको निस्सा दिन नमिल्ने भनि भएको संयुक्त इजलासको आदेश पदमप्रसाद उपाध्याय आचार्य, विरुद्ध चुडावहादुर पाण्डे क्षेत्री, मुद्दा लिखत बदर ने.का.प. २०३६ नि.नं. १२४३, पृष्ठ ७४, प्रदिप विरुद्ध दलवहादुर मुद्दा जग्गा ने.का.प. २०४७ को नि.नं. ४०६३, पृष्ठ ११३ समेतमा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल हुन पुगी रुलिङ वाझेकोले पूर्ण इजलासवाट हेरीदिनु भन्ने आदेश पाउं भन्ने समेत व्यहोराको वादी पदम कुमारीको सम्माननीय प्रधानन्यायाधीश समक्ष परेको निवेदन पत्र ।
१७. निवेदिकाले निवेदनमा उल्लेख गरेको यस अदालतवाट अघी भइरहेको कानूनको व्याख्यासँग प्रस्तुत मुद्दामा भएको निर्णय बाझिएको अवस्था देखिन आएकोले सर्वोच्च अदालत नियमावली, ०४९ को नियम ३(१) को खण्ड (ख) अनुसार प्रस्तुत मुद्दालाई पूर्ण इजलास समक्ष पेश गर्न निवेदिकालाई सात दिनको सूचना पठाई पूर्ण इजलासको लगतमा दर्ता गरी सम्बन्धित मिसिल समेत झिकाइ नियमानुसार पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेत व्यहोराको सम्माननीय प्रधानन्यायाधीशको मिति २०५३।१०।१० को आदेश ।
१८. विवादित जग्गा रहेको गा.वि.स.को सर्भे नापीवाट भएको नक्सा ट्रेस समेत झिकाइ प्रतिवादीले मनमायावाट मिति २०२४।६।१५ मा पारित गराई लिएको भनिएको जग्गाको र वादीले ०३२।४।८।५ मा पारित गराइ लिएको भनिएको राजिनामाको चार किल्लाको हाल साविक समेत स्पष्ट देखिने खुल्ने गरी विवादित जग्गाको सर्भेको कि.नं. समेत उल्लेख गरी नक्सा गरी पठाउनका लागि शुरु मिसिल र दुवै थरलाई शुरु दोलखा जिल्ला अदालतको तारेख तोकी पठाई नक्सा भै आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत, पूर्ण इजलासको मिति २०५६।६।१३ को आदेश ।
१९. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा वादी पद्म कुमारीको तर्फवाट विद्वान अधिवक्ताहरु श्री शान्ता थपलिया, श्री अनीता सापकोटा चापागाई, श्री इन्दिरा कुमारी श्रीसले र प्रतिवादी धनवहादुर थामीका तर्फवाट विद्वान अधिवक्ता श्री धनवहादुर वस्नेतले गर्नु भएको वहस जिकिर समेत सुनी आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा दुवै तर्फका विद्वान कानून व्यवसायीहरुले प्रस्तुत गर्नु भएको वहसनोट समेत अध्ययन गरी निर्णय तर्फ बिचार गर्दा प्रतिवादी धनवहादुर तर्फका कानून व्यवसायी विद्वान अधिवक्ता श्री धनवहादुर वस्नेतले इजलास समक्ष भएको वहस र आफ्नो वहसनोटमा समेत प्रस्तुत मुद्दा पूर्ण इजलासमा पेश गर्नुभनी प्रधानन्यायाधीशवाट भएको आदेश रीतपूर्वकको छैन । आदेशमा कारण नखोलिएको हुँदा सुनुवाई गर्न मिल्दैन भन्ने पहिलो जिकिर लिनु भएको पाइएकोले सर्वप्रथम त्यस प्रश्नको निराकण गर्नुपर्ने हुन आएको छ । सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) मा ‘कुनै कानूनको व्याख्या वा कुनै कानूनी सिद्धान्तको सम्बन्धमा दुइ संयुक्त इजलासको राय वा निर्णय भिन्न भै संयुक्त इजलासले वा प्रधानन्यायाधीशले पूर्ण इजलासमा पेश गर्न आदेश दिएको मुद्दा’ पूर्ण इजलासवाट हेर्नुपर्ने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत मुद्दामा वादीले पुनरावेदन अदालतको फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (ख) समेतका आधारमा दोहर्याइ हेरी पाउँ भनि यस अदालतमा प्रवेश गरेकोमा दोहर्याउने निस्सा नहुने आदेश उपर पुनरावलोकनको आदेश नभए पश्चात प्रधानन्यायाधीश समक्ष परेको निवेदनमा प्रधानन्यायाधीशले उल्लेखित नियमावलीको व्यवस्थाको आधारमा प्रस्तुत मुद्दा पूर्ण इजलासमा पेश गर्ने आदेश भएको देखिन्छ । यस मुद्दामा यस अदालतवाट पुनरावेदनको रुपमा मुद्दा दर्ता भई पूर्ण सुनवाइ गरी निर्णय भएको अवस्था नभै पुनरावेदन अदालतको फैसला दोहर्याई हेर्न पर्ने नपर्ने भन्ने रोहमै मुद्दाको समाप्ती हुन गएको र वादी पदम कुमारीले यस अदालतमा दोहर्याई दिने निस्सा नहुने आदेश उपर पुनरावलोकन गरी पाउँ भनि परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ अन्तर्गतको अवस्था विद्यमान नभएको भनि पुनरावलोकनको निस्सा नहुने आदेश भए पश्चात ने.का.प. २०३६, नि.नं. १२४३, पृष्ठ ७४, ने.का.प. २०४७, नि.नं. ४०६३, पृष्ठ ११३ समेतमा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल सो पुनरावलोकनको निस्सा नहुने आदेश समेतमा विद्यमान रहेको भनि प्रस्तुत निवेदन परेको देखिन्छ । वादीले प्रस्तुत निवेदनमा उल्लेख गरेका मुद्दाको तथ्य र निर्णय देहाय वमोजिम रहेको छ ।
२०. ने.का.प. २०३६, अंक ३, नि.नं. १२४३, पृष्ठ संख्या ७४: विपक्षी मध्ये फूल कुमारीसँग २०३०।१०।१३ गते रु. २३,०००। मा घरसारमा राजीनामा गराइ लिई भोग चलन गरी आएको जग्गामा बिपक्षीहरु मिली मलाई राजिनामा गरी दिई सकेपछि गैरकानूनी तरिकावाट दोहोरो पारी बिपक्षी मध्ये फूल कुमारी राणा, पद्यप्रसाद धनी बनी ०३१।२।२ मा रु. ३७०००। मा राजीनामा खडा गरी मकवानपुर मालमा पारित गरी लिएछन् । सो कुरा मैले पारित गराइ पाउँ भनि दिएको मुद्दाको प्रतिउत्तर लेखवाट थाहा भएवाट मलाइ गरि दिएको राजिनामा वमोजिमको जग्गा विपक्षी पद्यप्रसादलाई पुनः राजीनामा गरि दिएको ०३१।२।२ को राजीनामा लिखत वदर गरी पाउँ भन्ने वादी दावी भएकोमा रजिष्ट्रेशनको ३५ नं. मा दोहोरो लिखत भएकोमा पहिले रजिष्ट्रेशन भएको लिखत जेठो ठहर्छ भन्ने उल्लेख भएको देखिन्छ । प्र. पद्मप्रसादको लिखत ०३१।२।२५ मा पारित भएको छ । वादी चुडावहादुरको लिखत मिति २०३०।१०।१३ मा लेखिएको छ, तर सो लिखत पारित भएको छैन । रजिष्ट्रेशन पारित गरि पाउँ भनि चुडावहादुरको ०३१।४।१८ मा नालिश परेको मुद्दा कारवाही हुँदैछ । सो लिखत पारित गरीपाउँ भनि नालेश पर्नु भन्दा अगावै पदमप्रसादको लिखत पारित भै सकेको हुनाले चुडावहादुरको लिखत निजको परेको नालिशवाटै पारित हुने ठहरिन आएपनि रजिष्ट्रेशन पास हुन जांदा प्र. पदमप्रसादको लिखत जेठो ठहर्न आउंछ भन्ने आधारमा लिखत वदर गरीपाउं भन्ने दावी गर्न अ.वं. ८२ नं. ले हकदैया पुग्न नसक्ने भन्ने निर्णय भएको देखिन्छ ।
२१. ने.का.प. २०४७, अंक २, नि.नं. ४०६३ : नन्दराम रावलले म वाट रु.९०००। लगी सो वापत आफ्नो हक भोगको जग्गा मलाइ ०३१।२।२५ मा राजीनामा दिएको म्याद भित्र पारित गरी नदिंदा पारीत गरीपाउँ भनि फिराद दिएकोमा नन्दरामले मेरो उपर करकापसँग कागज गरायो भनि उजुर गर्दा जुम्ला जिल्ला अदालतवाट सो दुवैमा मैले जीति नन्दरामको क.अं.अ.मा पुनरावेदन परेकोमा मुद्दा किनारा नहुँदै निज नन्दराम मरेको, हकदारले सकार नगरेकोले ०३८।२।२५ मा दुवै मुद्दा डिसमिस भएपछि राजीनामा पारित भएको छ । अन्यायी दिलवहादुरले नन्दरामले मलाइ राजीनामा गर दिएको जान्दा जान्दै सोही जग्गामा खिचोला गरेकोले दलवहादुर र नन्दराम मिली वीचवीचमा राजीनामा लिनुदिनु गरेकोले राजीनामा नामसारी समेत वदर गरी पाउँ भन्ने वादी र नन्दरामले म दलवहादुरवाट रु. ८०००। मा २०३२।४।२० मा राजिनामा दिई जुम्ला मालवाट पास भएको, राजीनामा वमोजिम ०३३।७।१३ मा नामसारी गरी भोग गरी आएको भन्ने प्रतिउत्तर जिकिर रहेकोमा वादीले लिखत पारित गरी पाउँ भन्ने माग गर्न आए भन्दा अगावै मिति ०३२।४।२० मै विवादित जग्गा प्रतिवादीले राजीनामा गरी रजिष्ट्रेशन समेत पारित गराई लिएको देखिंदा प्रतिवादीले राजीनामा पारित गरी लिएको लिखत नै जेठो देखिन आयो । यस्तो अवस्थामा विवादित जग्गामा वादीको हक पुग्न सक्ने देखिएन भन्ने निर्णय (पूर्ण इजलासवाट) भएको देखिन आउँछ ।
२२. उल्लेखित मुद्दामा भाषागत अर्थात वादीको दावीको भाषागत शैली जे जस्तो भएपनि मुलरुपमा ती दुवै निर्णयवाट दोहोरो लिखत भएको अवस्थामा जुन पहिला रीतपूर्वक रजिष्ट्रेन पारित भएको छ त्यसैले मान्यता पाउने भन्ने सिद्धान्त कायम भएको देखिन्छ । लिखतको मितिका आधारमा लिखतलाई जेठो भन्ने मान्यता दिएको देखिंदैन ।
२३. प्रस्तुत मुद्दामा यी वादीको ०३१।४।१ को लिखत ०३२।४।८ मा पारित भएकोमा सो लिखतलाई पछिल्लो लिखत मानि प्रतिवादी धनवहादुरको २०२४।६।१५ र ०२४।११।२ मा घरसारमा राजीनामा गरि दिएको लिखतलाई मान्यता दिएको देखिंदा उल्लेखित नजिरहरुको प्रत्यक्ष त्रुटीयुक्त फैसला भएको पाइएकोले यस अदालतवाट प्रतिपादित सिद्धान्तको प्रतिकूल रहेको निर्णय सदर गरेको यस अदालतको मिति ०५३।१।१२ र ०५३।४।७ को आदेशमा रुलिंग वाझिन गएको प्रष्ट देखिन आयो । पूर्व निर्णयसँग वाझिने गरी भएको फैसला वा अन्तिम आदेशको न्यायिक पुनरावलोकन गरी एकरुपता कायम गर्ने अधिकार यस अदालतकै हो । निवेदनमा बिभिन्न प्रकारका नजिरहरु उल्लेख गरी निवेदक आएको अवस्था नभई स्पष्टसँग सिद्धान्त वाझिएको नजिर देखाई निवेदन गरेको र सोही निवेदनमा उल्लेख भएको नजिरसँग वाझिएको देखिएको भनि स.अ. नियमावली, २०४९ को व्यवस्था वमोजिम प्रधानन्यायाधीशले पूर्ण इजलासमा पेश गर्ने आदेश गरेको देखिंदा हेर्न नमिल्ने भन्न मिलेन ।
२४. अव इन्साफ तर्फ बिचार गर्दा आमा मनमायावाट निजको हक भएको विजनपाथी १।४ मध्ये पूर्व गोरेटो वारी भनेको धनवहादुर थामीको वारी, पश्चिम पन्चेको वारी ठाडो खोल्सा, उत्तर तेर्सो मूलवाटो, दक्षिण मसिने थामीको खेत यति ४ किल्ला भित्रको विजन पाथी १ को पुरानो घरवारी जग्गा ०३१।४।१ मा राजीनामा गरि लिइ भोगी आएकोमा उत्तर लापिलाङ जाने तेर्सो वाटो, दक्षिण पटृीको सिडी र लम्पालीको साँध, पश्चिम टुल्के थामीको घर जग्गा साँध, ४ किल्लाको विजन माना अन्दाजी ।.।२ को घरवारीको जग्गा खचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने वादीको मुख्य फिराद दावी देखिन्छ । वादी दावीको ४ किल्ला भित्रको सम्पूर्ण जग्गा वादीको मात्र हक लाग्ने होइन । पूर्व सानो किर्तिमान थामीको वार र वादीको आमा मेरो सासु मनमायाको खेत साँध, पश्चिम लापिलाङ जाने तेर्सो मूलवाटो, साँध उत्तर मानवहादुर थामीको वारी साँध दक्षिण ठाडो खोला यति ४ किल्ला भित्रको पुरानो गाउं घरवारी जग्गाको विजन १।४ मध्ये मनमायावाट वादीले पारित गरि लिएको पूर्व वारीवाट गाउंमा जाने तेर्सोवाटो, पश्चिम लापिलाङ जाने तेर्सो मूलवाटो, दक्षिण वादीको पारितको वारी ठूलो धारे २ ढुंगा, उत्तर मानवहादुर थामीको वारी यति ४ किल्ला भित्रको विजन माना ।।१ को पुराना गाउँ घरवारी मेरो श्रीमती चन्द्रमायाले अघिनै मनमायावाट राजीनामा गरि लिएको र पूर्व मनमायाकै हकमा वाकि रहेको वारी, पश्चिम लापिलाङ जाने तेर्सो मूलवाटो, उत्तर ठूलो धारे ढुंगा सांध, दक्षिण आरुवोटे गाउं जाने ठाडो वाटो सांध यति ४ किल्ला भित्रको विजन पाथी १।४ मध्येको विजन पाथी ।१ को पुराना गाउं घरवारी जग्गा विपक्षी वादीले आमा मनमायावाट पारित गरि लिएको जग्गामा पश्चिम सिमाना लापिलांग जाने मुलवाटोको छेउमा २ तले ढुंगाको छाना लगाएको घर सहितको घरवारी वादीको पारित राजीनामाको घर जग्गा, उक्त विजन ।१।४ मध्येकै पूर्व सानु किर्तिमान थामीको वारी, पश्चिम लापिलाङ जाने तेर्सो मूलवाटो, उत्तर आरुवोटे गाउं जाने वाटो, दक्षिण ठाडो खोल्सा यति ४ किल्ला भित्रको विजन मुठी ।।।६ को पुरानो घरवारी जग्गा निज मनमायावाट मैले २०२४।६।१५ मा र २०२४।११।२ मा घरसारमा राजीनामा गरी लिइ घरसारमा राजीनामा गरी हक भएको जग्गा वादीले मेरो हो भनि दावी गरेको भन्ने प्रतिउत्तर जिकिर रहेको पाइन्छ । वादीले मनमायावाट ०३१ सालमा लिएको भनेको लिखतमा विजन पाथी ।१।४ मध्येको पूर्व गोरेको वारी भनेको धनवहादुर थामीको वारी, पश्चिम पंचेको वारी ठाडो खोल्सा, उत्तर तेर्सो मुलवाटो दक्षिण मसिने थामीको खेत यति ४ किल्ला भित्रको विजन पाथी ।१ को पुरानो गाउं घरवारी भन्ने रैकर जग्गा भन्ने उल्लेख भएको पाइन्छ । यस अदालतको आदेशानुसार मिति ०५७।१।११ गतेको प्रतिवेदन साथ पेश भै मिसिल सामेल रहेको नक्सामा न.नं. ७, कि.नं. ४६६, न.नं. ८, कि.नं. ४६७, न.नं. ९, कि.नं. ४६८, न.नं. १०, कि.नं. ४६९, न.नं. ११, कि.नं. ३२६ को जग्गामा वादी मनमायावाट खरिद गरी लिएको आफ्नो जग्गा हो भनि वादीले विवाद जनाएको देखिन्छ । साथै मिति २०४६।६।५ को मिसिल सामेल रहेको अदालतवाट भै आएको नक्साको न.नं. ७ मा मनमायावाट खरिद गरेको विजन पाथी ।१ मध्येको जग्गा भन्ने उल्लेख भएको पाइन्छ भने प्रतिवादीले सो न.नं. ७ मा उल्लेख भएको जग्गालाई विजनपाथी ।१।४ मध्ये विजन माना ।।४ मध्येको सासु मनमायाको वारी जग्गा हो भनि जिकिर लिएको पाइन्छ । त्यसैगरी न.नं. १५ वादीले आमा मनमायाले गरी दिएको विजन पाथी १।४ मध्येको मेरो जग्गा हो र प्रतिवादीले विजन पाथी १।४ मध्ये विजन माना ।।४ मध्येको सासु मनमायाको जग्गा भन्ने उल्लेख गरेको र सोहि नक्साको न.नं. १७ मा देखाइएको जग्गा वादीले मनमायावाट गरि लिएको विजन पाथी १ मध्येको मेरो वारी जग्गा र प्रतिवादीले सासुले दिएको ।।।६ मुठीको पुरानो गाउँ घरवारी जग्गा भन्ने जिकिर लिएको पाइन्छ । यसप्रकार यस मुद्दामा वादी र प्रतिवादी दुवैको दाता मनमायाले गरि दिएको लिखत वमोजिमको वादी प्रतिवादीको जग्गा एकै हो वा वादी प्रतिवादीको जग्गा अलग अलग हुन र एकै जग्गा भए कसको ठहर हुने हो भन्ने बिषयमा न्याय निरोपण हुनुपर्ने देखिन आयो ।
२५. वादी प्रतिवादी दुवैको दाता मनमायाका नाउंमा साविक विजन पाथी १।४ को पुरानो गाउँ घरवारी जग्गा रहेको भन्नेमा दुवैको मुख मिलेकै देखिन्छ । सो विजन पाथी १।४ मध्ये पहिलेको नक्सामा उल्लेख भएको न.नं. १५ को जग्गा वादी मनमाया, प्रतिवादी यिनै पदम कुमारी भएको खिचोला मुद्दामा मनमायाको ठहरी भएको फैसला अन्तिम भै रहेको र सो उपर यी वादीको निवेदन परेको नदेखिई अन्तिम भै बसेको देखिंदा त्यस तर्फ बिचार गर्न मिलेन । त्यसैगरी सोही मुद्दामा न.नं. ७ र ८ को जग्गा वादी मनमायाले खिचोला गरेको भनि लिएको दावी पुग्न नसक्ने गरी सो न.नं. ७ र ८ को जग्गा समेत यी वादीको राजीनामा भित्रको परेको भनि भएको पुनरावेदन अदालत समेतको फैसला अन्तिम भई बसेको देखिंदा त्यस तर्फ पनि बिचार गरिरहन परेन । विवादको मिति ०४६।६।५ को नक्साको न.नं. १७ को जग्गा सम्ममा न्याय निरुपण हुन वांकी रहेको पाईयो ।
२६. सो जग्गाको सम्बन्धमा बिचार गर्दा पुनरावेदन अदालतले सो जग्गामा दावी ठहर नहुने आधारमा वादी पदम कुमारीले मनमायावाट ०३१।४।१ मा घरसारमा राजीनामा गरी लिएको सो राजीनामा फैसला वमोजिम २०३२।४।८ मा पारित भएको भन्ने हकमा सो राजीनामा पारित हुनुभन्दा अगावै विजन मुठी ।.।।६ को जग्गा धनवहादुरलाई २०२४।६।१५ र २०२४।११।२ मा राजीनामा गरि दिएको देखिएको र न.नं. १७ को जग्गामा प्रतिवादी धनवहादुरको घर समेत देखिएकोले भन्ने आधारमा दावी पुग्न नसक्ने फैसला सदर गरेको पाइन्छ ।
२७. माथि प्रश्न नं. (१) को निराकरणमा उल्लेख भएको नजिर अनुसार पारित लिखत जेठो भै पछि गरेको भएपनि त्यसले मान्यता पाउने सिद्धान्त यस अदालतवाट प्रतिपाद भै रहेको परिप्रेक्षमा पुनरावेदन अदालतले लिएको निर्णयाधार त्रुटिपूर्ण देखिन आयो । यी वादीको लिखत अदालतको फैसला अनुसार ०३२।४।८ मा पारित भएको र धनवहादुरको लिखत घरसारको देखिंदा वादीको लिखत पछिको भएकोले मान्यता नपाउने भन्न मिलेन । जुन लिखत पहिले पारित भएको छ उसैले मान्यता पाउने हुन्छ ।
२८. उक्त न.नं. १७ मा प्रतिवादी धनवहादुरको घर रहेको भन्ने आधारमा सो जग्गा निवेदक वादीको नठहर्ने हो कि भन्नलाई वादीको रीतपूर्वकको लिखत वमोजिमको सो जग्गा हो भन्नेमा विवाद देखिएन। घरमा दावी नरहेकोले सो घर वाहेकको न.नं. १७ को जग्गा समेत वादीको लिखत वमोजिम कै देखिन आएकोले सोमा दावी नपुग्ने ठहर गरेको शुरु दोलखा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला सो हदसम्म नमिलेकोले सो उपर दोहोर्याउने निस्सा समेतको आदेश दिने नगरेको यस अदालत संयुक्त इजलासको मिति ०५३।१।१२ को आदेश समेत उल्लेखित नजिर समेतका परिप्रेक्षमा त्रुटिपूर्ण हुँदा वदर भै न.नं. १७ को जग्गामध्ये घर रहेको जग्गा वाहेकमा वादी दावी वमोजिम प्रतिवादीले खिचोला गरेको ठहर्छ । ऐन कानूनका म्याद भित्र चलन चलाई माग गर्न आएमा चलन चलाई दिनु भनि शुरु दोलखा जिल्ला अदालतमा लेखि पठाई मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उपर्युक्त रायमा सहमत छौं ।
न्या. गोविन्दवहादुर श्रेष्ठ
न्या. केदारप्रसाद गिरी
इति संवत् २०५८ साल जेष्ठ ३ गते रोज ४ शुभम ......................................