शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७०१० - उत्प्रेषण समेत ।

भाग: ४३ साल: २०५८ महिना: भाद्र अंक:

निर्णय नं. ७०१०         ने.का.प. २०५८        अङ्क ५/६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा

संवत् २०५६ सालको रि.पु.ई.नं. ३८०१

आदेश मितिः २०५८।२।१२।६

 

विषयः उत्प्रेषण समेत ।

 

रिट निवेदकः ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १४ को हाल ऐ. वडा नं. १८ मा वस्ने देवलाल राजकर्णिकार ।

विरुद्ध

विपक्षीः नुवाकोट जिल्ला अदालत समेत ।

 

§  विषय वा प्रसंगले अर्को अर्थ नलागेमा भन्ने कानुन व्याख्याको सिद्धान्त सन्दर्भवाट सम्वन्धित कानूनको के कस्तो अर्थ लाग्ने हो हेर्नु पर्दछ भन्ने कुरामा आधारित भएको छ । वारेश मुद्दाका सम्बन्धमा अदालतमा उपस्थित हुनु पर्ने व्यक्ति होइन । मुद्दाका पक्ष विपक्ष वा वादी प्रतिवादी उपस्थित हुनुपर्ने व्यक्ति भन्ने कुरा मुद्दामा उपस्थित हुनु पर्ने भन्ने शव्दावलीले प्रष्ट गर्दछ । वारेशको आफ्नो मुद्दा हुँदैन । त्यसैले वारेशलाई मुद्दाको पक्ष भन्न नमिल्ने हुन्छ । मुलुकी ऐन अ.वं. ६२(३) नं. को व्यवस्था मुद्दा सकार गर्ने सम्बन्धी व्यवस्था हो । मुद्दाका हाजीर हुनु पर्ने पक्ष मरी, वहुलाए, वेपत्ता भएमा निजको दैयादरले ३५ (पैतिस) दिन भित्र मुद्दा सकार गर्ने अवस्था पर्दछ । वारेशको आफ्नो मुद्दा नहुने हुँदा वारेसको दैयादारको रुपमा मुद्दाको सम्बन्धित पक्ष कायम हुन सक्ने हुँदैन ।

§  मुद्दाको पक्षको दैयादारले मुद्दामा उपस्थित हुनुपर्ने पक्ष मरे, वहुलाए वा वेपत्ता भएमा सो मितिले ३५ दिन भित्र मुद्दा सकार गर्न पर्ने कानूनी व्यवस्था भएकोले त्यस्ता दैयादार वारेशको दैयादार भन्न नमिली मुद्दाका पक्षको दैयादारलाइ जनाउने हुँदा समेत वारेश वेपत्ता भएको कारणले मुद्दा सकार गर्न पाउने कानूनी व्यवस्था नदेखिंने ।

(प्र.नं. १० र ११)

 

रिट निवेदक तर्फबाटः विव्दान अधिवक्ता श्री पूर्णचन्द्र पौडेल

विपक्षी तर्फबाटः

अवलम्वित नजिरः

 

आदेश

न्या.लक्ष्मणप्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत दायर भै पेश हुन आएको प्रस्तुत रिट निवेदन समेतको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ ।

२.    नुवाकोट जिल्ला साविक विदुर गा.वि.स.को हाल विदुर न.पा.वडा नं. १ कि.नं. ७६३ को जग्गा र त्यसमा वनेको घर समेतको दर्तावाला श्रीमाया डंगोल राजकर्णिकारको मृत्यु भएको र निजले कसैलाई लिखत गरि नदिएको अवस्थामा सिद्धराजको छोरा रत्नराज शाक्यले आफ्नो नाममा नामसारी दा.खा. गरि पाउन निवेदन दिंदा सो वमोजिम हुनु पर्ने हो होइन, वाटाको म्याद वाहेक ७ दिन भित्र उपस्थित हुन आउनु भनि मालपोत कार्यालय, नुवाकोटवाट म्याद सूचना मेरा नाउँमा पठाएकोले म्याद भित्रै उक्त घर जग्गाको दर्तावाला श्रीमाया मेरी श्रीमती भएको र नामसारी माग गर्ने रत्नराज वेसरोकारवाला व्यक्ति हुँदा मेरो नाउँमा नामसारी गरी पाउँ भनि हाजिर उपस्थित हुन गएकोमा मालपोत कार्यालयले निज रत्नराजकै नाउँमा एकलौटी नामसारी गर्ने गरी २०५३।६।१० मा निर्णय गर्यो । सो निर्णय वदर गरी मेरो अपुताली हक कायम गराइ पाउन २०५३ साल माघ महिनामा मेरो फिराद नुवाकोट जिल्ला अदालतमा परेको म रिट निवेदक वृद्ध भएको तथा वेइलाकाको वसोवास भई जिल्ला अदालतमा उपस्थित भइ मुद्दाको आफै पूर्पक्ष गर्न नसक्ने भई वारेश भैरबवहादुर थापा मार्फत पुर्पक्ष गराउदै आएको थिएं । निज वारेशले २०५६।७।३० को तारेखमा उपस्थित नभइ तारेख छाडेको कुरा मेरो कानून व्यवसायीले मलाई खवर गरेको र निज वारेश समेत वेपत्ता वेखवर रहेकाले मुलुकी ऐन अ.वं.६२(३) नं. वमोजिम मुद्दा सकार गरी तारेखमा रहन पाउन अर्को वारेश गणेश श्रेष्ठ मार्फत २०५६।८।२० मा निवेदन लिइ उपस्थित हुन गएकोमा जिल्ला अदालतका श्रेस्तेदारले उक्त अ.वं. ६२ नं. अनुसार निवेदकलाई मुद्दा सकार गराइ तारेखमा राख्न कानूनले नमिल्ने भनि मेरो निवेदन नै दरपिठ गरि दिए । सो दरपीठ उपर जिल्ला न्यायाधीश समक्ष उजुर गर्दा श्रेस्तेदारले गरेको २०५६।८।२० को दरपीठलाई कायम गरी २०५६।८।२७ मा आदेश भयो । अ.वं. १७ नं. वमोजिम पुनरावेदन अदालत समक्ष निवेदन गर्दा पनि जिल्ला अदालतको उपरोक्त दरपिठ आदेश मिलेकै देखिएको भनि सदर भयो । उक्त आदेशहरु कानून विपरीत भइ वदर गराई माग्ने अर्को कुनै कानूनी वाटो नभएकोले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत यो निवेदन गर्न आएको छु ।

३.    मुलुकी ऐन अ.वं. ६२(३) मा म्याद तारेखमा हाजिर हुनुपर्ने व्यक्ति मरी वा वौलाहा वा वेपत्ता भई म्याद तारेख गुज्रेमा त्यस्तो भएको मितिले वाटाको म्याद वाहेक ३५ दिन भित्र निजको दैयादारले मुद्दा सकार गर्न आए गर्न दिनुपर्छ भन्ने उल्लेख भएको, मेरो वारेश भैरबवहादुर थापा वेपत्ता भएकोले सो कानूनी व्यवस्था अनुसार मैले मुद्दा सकार गरी तारेखमा वस्न पाउने प्रष्ट छ । अ.वं. ५९ नं.मा अ.वं. ६२ नं. मा लेखिए जतिमा सोहि वमोजिम हुन्छ भन्ने उल्लेख भएवाट अ.वं. ५९ नं.को सो व्यवस्थालाई जवरजस्ति तानी मलाइ तारेख दिनवाट इन्कार गर्नु अन्यायपूर्ण छ । अ.वं. ६२(३) नं. ले दिएको अधिकारवाट वंचित गर्ने गरी विपक्षीले गरेको आदेश वदर गरी पाउँ । अ.वं. ६२ न.. मा म्याद तारेखमा हाजिर हुनुपर्ने व्यक्ति भनि लेखिएवाट उक्त नम्वरको व्यवस्था पक्ष वा वारेश जो सुकै तारेखमा रहेको भएपनि आकर्षित हुने प्रष्ट छ । वारेश मरे वौलाए वा वेपत्ता भए अख्तियारी दिनेले अ.वं. ६२(३) नं. अन्तर्गत मुद्दा सकार गर्न पाउने हुन्छ । यदि अ.वं. ६२ नं. वमोजिम तारेख नदिने हो भने वारेश मरे वौलाए, वेपत्ता भएमा के गर्ने भन्ने वारेमा नेपाल कानूनमा अन्त कतै व्यवस्था नभएकोले वारेश वौलाएकोले पक्षको हक त्यतिकै समाप्तै हुन्छ भन्न मिल्दैन । यस्तोमा अ.वं. ६२(३) नं. आकर्षित हुने देखिन्छ ।

४.    प्रस्तुत मुद्दामा २०५४ साल जेष्ठ महिनामा प्रतिउत्तर परेकोमा २०५६।७।३० सम्म विपक्षी अदालतले मुद्दा छिनेको छैन । अदालती वन्दोवस्तको १४(१) नं. लाई पालना गरी विपक्षीले मुद्दा छिनेको भए मेरो वारेश वेपत्ता हुने सम्मको अवस्था पर्दैनथ्यो । अड्डाको यस्तो हेलचेक्र्याईवाट मेरो हक जाने होइन । अतः बिपक्षी अदालतहरुले मिति मितिमा गरेका उल्लेखित आदेशहरु वदर गरी मेरो वारेश भैरववहादुर थापा वेपत्ता भइ मेरो तारेख गुज्रेकोमा मुलुकी ऐन अ.वं. ६२ नं. वमोजिम म आफैले मुद्दा सकार गरी तारेखमा रहन पाउने गरी उपयुक्त आदेश जारी गरी पाउँ । साथै यो रिट निवेदन माथि सुनुवाइ हुँदाहुँदै विपक्षी जिल्ला अदालतले उक्त अपुताली हक कायम मुद्दा डिसमिस गरि दिएमा यो रिट निवदनको प्रयोजन नै समाप्त हुने हुँदा प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त मुद्दा डिसमिस नगर्नु भनि विपक्षी जिल्ला अदालतको नाउँमा अन्तरिम आदेश समेत जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर ।

५.    यसमा वाटाका म्याद वाहेक १५ दिन भित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाउँमा म्याद सूचना पठाई लिखित जवाफ परे वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत, एक न्यायाधीशको इजलासको २०५६।११।१३ को आदेश ।

६.    नुवाकोट जिल्ला अदालतको वेरीतको आदेश वदर गरीपाउँ भनि निवेदक देवलाल राजकर्णिकारको अ.वं. १७ नं. अन्तर्गत परेको निवेदन वेन्च समक्ष पेश हुँदा निवेदक वादी देवलालको कानून व्यवसायीले २०५४।८।६ मा पहिलो पटक दिन १५ गुज्रिएको तारेख थमाएको देखिएको र निजको वारेश भेरववहादुरले २०५६।७।३० को तारेख गुजारी वसेकोमा २०५६।८।२० मा मात्र यि निवेदक वादीले अ.वं. ६२ न.. वमोजिम मुद्दा सकार गराई तारेखमा रहन पाउँ भनि निवेदन दिएको । यसवाट अ.वं. ५९ नं. वमोजिम गुज्रेको तारेख थाम्न पाउने अवधि वाँकी रहेको देखिन आएन । वारेश वेपत्ता भएमा अ.वं. ६२(३) नं. वमोजिमको प्रावधान आकर्षित हुने नभइ मुद्दा सकार गर्न पाउने अवस्था नहुँदा श्रेस्तेदारवाट भएको दरपीठ आदेश सदर गरेको जिल्ला न्यायाधीशको २०५६।९।२७ को आदेश कानून अनुरुप भएको भनि यस अदालत, एक न्यायाधीशको इजलासवाट आदेश भएको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रत्यर्थी पुनरावेदन अदालत, पाटनको तर्फवाट पेश भएको लिखित  जवाफ ।

७.    वादी देवलाल राजकर्णिकारको वारेश भैरव थापाले २०५४।८।६ मा पहिला पटक तारेख गुजारी अ.वं. ५९ नं. वमोजिम १५ दिन थमाइ सकेकोमा पुनः २०५६।७।३० मा तारेख गुजारी अ.वं. ५९ नं. वमोजिम दोश्रो पटक थमाउन पाउने म्याद वाँकी रहेको नदेखिएको हुँदा र वारेश दिने पक्षले अर्को वारेश पठाई अ.वं. ६२(३) नं. वमोजिम म्याद थामी मुद्दा सकार गराउने व्यवस्था नदेखिंदा मुद्दा सकार गरी पाउँ भनि २०५६।८।२० मा परेको निवेदनका हकमा मुद्दा सकार नगरिएको र उक्त मुद्दा २०५६।११।३ मा डिसमिस फैसला समेत भइ सकेको हुँदा रिट निवेदन खारेज गरी पाउँ भनि विपक्षी नुवाकोट जिल्ला अदालतको तर्फवाट पेश भएको लिखित जवाफ ।

८.    नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत रिट निवदनमा निवेदकका तर्फवाट उपस्थित विव्दान अधिवक्ता पूर्णचन्द्र पौडेलले अ.वं. ६२ नं. को प्रत्येक देहायमा म्याद तारेखमा हाजीर हुनुपर्ने व्यक्ति भनि लेखिएकोवाट उक्त नम्वरको व्यवस्था पक्ष वा वारेश जो सुकै तारेखमा रहेको भएपनि आकर्षित हुन्छ । वारेश वेपत्ता भएमा वारेशको दैयादार पक्ष आफै हुने हुँदा सम्बन्धित पक्ष नै मुद्दा सकार गर्न जाने हो । अ.वं. ६२ मा लेखिएको व्यक्ति भन्नाले वारेश समेतलाई जनाउँछ । अ.वं. ६२ नं. लाइ अ.वं. ५९ नं. संग मिसाएर व्याख्या गरि तारेख थामी दिन इन्कार गरेको नुवाकोट जिल्ला अदालतको आदेश सदर गरेको पुनरावेदन अदालतको आदेश समेत त्रुटिपूर्ण भै वदरभागी छन् भनि वहस प्रस्तुत गर्नु भयो ।

९.    उपर्युक्त वहस जिकिर समेत सुनि निर्णयतर्फ विचार गर्दा, यसमा मुद्दामा उपस्थित भई पूर्पक्ष गर्ने अख्तियार दिएको वारेश वेपता भई तारेख गुज्रेकोले मुलुकी ऐन अदालती वन्दोवस्तको ६२ नं. अनुसार ३५ दिनभित्र मुद्दा सकार गर्न जांदा सो निवेदन दरपीठ गरेको र जिल्ला न्यायाधीश तथा पुनरावेदन अदालत समेतवाट सदर गर्ने आदेश गरेको त्रुटिपुर्ण हुदा वदर गरि मुद्दा  सकार गराई म्याद थामी दिनु भन्ने परमादेश समेत विपक्षी अदालतका नाउँमा जारी गरी पाऊँ भन्ने रिट निवेदकको माग  भएकोमा वारेश वेपत्ता भएकोमा सकार गर्न नमिल्ने हुँदा समेत रिट निवेदन खारेज गरी पाउँ भन्ने लिखित जवाफ व्यहोरा समेतवाट देखिन आउँछ । निवेदक तर्फका विव्दान कानून व्यवसायीको अ.वं. ६२(३) नं. मा व्यक्ति भन्ने शव्द प्रयोग भएको, वारेश पनि व्यक्ति भएकोले वारेश वेपत्ता भएमा पनि पक्षले मुद्दा सकार गर्न पाउनु पर्दछ भन्ने वहस जिकिर रहेको पाइन्छ ।

      १०.    विषय वा प्रसंगले अर्को अर्थ नलागेमा भन्ने कानुन व्याख्याको सिद्धान्त सन्दर्भवाट सम्वन्धित कानूनको के कस्तो अर्थ लाग्ने हो हेर्नु पर्दछ भन्ने कुरामा आधारित भएको छ । वारेश मुद्दाका सम्बन्धमा अदालतमा उपस्थित हुनु पर्ने व्यक्ति होइन । मुद्दाका पक्ष विपक्ष वा वादी प्रतिवादी उपस्थित हुनुपर्ने व्यक्ति भन्ने कुरा मुद्दामा उपस्थित हुनु पर्ने भन्ने शव्दावलीले प्रष्ट गर्दछ । वारेशको आफ्नो मुद्दा हुँदैन । त्यसैले वारेशलाई मुद्दाको पक्ष भन्न नमिल्ने हुन्छ । मुलुकी ऐन अ.वं. ६२(३) नं. को व्यवस्था मुद्दा सकार गर्ने सम्बन्धी व्यवस्था हो । मुद्दाका हाजीर हुनु पर्ने पक्ष मरी, वहुलाए, वेपत्ता भएमा निजको दैयादरले ३५ (पैतिस) दिन भित्र मुद्दा सकार गर्ने अवस्था पर्दछ । वारेशको आफ्नो मुद्दा नहुने हुँदा वारेसको दैयादारको रुपमा मुद्दाको सम्बन्धित पक्ष कायम हुन सक्ने हुँदैन ।

      ११.    अतः उपरोक्त उल्लेख भए अनुसार मुद्दाको पक्षको दैयादारले मुद्दामा उपस्थित हुनुपर्ने पक्ष मरे, वहुलाए वा वेपत्ता भएमा सो मितिले ३५ दिन भित्र मुद्दा सकार गर्न पर्ने कानूनी व्यवस्था भएकोले त्यस्ता दैयादार वारेशको दैयादार भन्न नमिली मुद्दाका पक्षको दैयादारलाइ जनाउने हुँदा समेत वारेश वेपत्ता भएको कारणले मुद्दा सकार गर्न पाउने कानूनी व्यवस्था देखिएन । अतः निवेदकलाई मुद्दा सकार गराई तारेखमा राखि पूर्पक्ष गर्न नमिल्ने भनि गरेको नुवाकोट जिल्ला अदालतका श्रेस्तेदारको आदेश र सोलाई मान्यता दिएको जिल्ला न्यायाधीशको मिति २०५६।८।२७ को र पुनरावेदन अदालतको २०५६।९।२९ को आदेशमा कुनै त्रुटी नदेखिंदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । विपक्षी जिल्ला अदालत समेतको जानकारीको लागि यो आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई मिसिल नियमानुसार वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. कृष्ण कुमार वर्मा

 

इति संवत् २०५८ साल जेष्ठ १२ गते रोज ६ शुभम ............ ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु