निर्णय नं. ७४२० - कुलोपानी हटक खिचोला मेटाई पाउँ ।

निर्णय नं. ७४२० ने.का.प.२०६१ अङ्क ८
पूर्ण इजलास
माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
माननीय न्यायाधीश श्री अनुपराज शर्मा
माननीय न्यायाधीश श्री परमानन्द झा
सम्बत् २०६१ सालको दे.पू.इ.नं. .....२१
फैसला मितिः २०६१।८।१७।५
मुद्दा : कुलोपानी हटक खिचोला मेटाई पाउँ ।
पुनरावेदक
वादीः पाल्पा जिल्ला गेझा गा.वि.स वडा नं.९ बस्ने चिरञ्जीवी खनाल समेत
बिरुद्ध
प्रत्यर्थी
प्रतिवादीः ऐ.ऐ.बस्ने मानसिं सिजाली समेत
§ मिति २०३३।१०।१२ को पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलाबाट प्रत्यर्थी प्रतिवादीहरुले विवादित फेदी खोलाको कुलोको पानी प्रयोग गरी सकेपछि यी वादीहरुको जग्गामा समेत पानी पटाउन पाउने भन्ने देखिन आएको अवस्था देखिएको र हाल प्रतिवादीहरुले पानी लगाउन नदिएको भन्ने दावी समेत रहेको देखिदां प्रस्तुत फिराद लाग्नै नसक्ने भन्न नमिल्ने ।
§ खोलाको पानी स्वभावैले वगेर जाने प्रकृतिको भएको र जग्गा आवाद गर्नेको महलको १ नं को कानूनी व्यवस्थाले पनि कुलो निमार्ण गर्ने यी प्रतिवादहिरुले पानी प्रयोग गरी सकेपछि सो कुलोको पानी यी वादीहरुले समेत प्रयोग गर्न पाउने अवस्था विद्यमान रहेकै देखिदा विवादित कुलो यी प्रतिवादीहरुले वनाएको ठहर भई पहिले यी प्रतिवादीहरुले सो कुलोको पानी प्रयोग गर्न पाउने फैसला अन्तिम भएर वसेको अवस्थामा विवादको कुलोमा वादी दावी बमोजिम निजहरुको हक कायम हुन सक्ने अवस्था नदेखिंदा दावी नपुग्ने ठहर गरेको पुनरावेदन अदालतको फैसला सदर हुने ।
पुनरावेदक वादीतर्फवाटः विद्वान अधिवक्ता श्री शम्भु थापा
प्रत्यर्थी प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री रामजी विष्ट
अवलम्वित नजिरः
फैसला
न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत बुटवलको मिति २०५७।२।९।२ को फैसला उपर परेको प्रस्तुत मुद्दामा संयुक्त इजलासका माननीय न्यायाधीशहरुका वीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ :–
२. जिल्ला पाल्पा गेझा गा.वि. स. वडा नं.९ कि.नं.८७९ खेत रोपनी १–१२–०१÷२ कि.नं.५९५ पाखो रोपनी ७–३–३१÷२ कि.नं.५७९ रोपनी ३–३–३ कि.नं.४०४ रोपनी ७–५–० कि.नं.८६४ रोपनी १०–३–० १÷२ पाखो म गुणनिधी खनालका नाउँमा जग्गाधनी दर्ता प्रमाणपूर्जा भएको मेरो पैतृक सम्पत्ति हो । यसै जग्गामा मेरो घर बसोबास छ । त्यस्तै ऐ.गा.वि.स.वडा नं.९ को कि.नं.५९३ खेत रोपनी २–४–० ३÷४ कि.नं.५९४ रोपनी १२–१५–१ कि.नं.५९६ रोपनी ५–२–२ ३÷४ कि.नं.९९८ रोपनी २–२–३ कि.नं.६०३ रोपनी १–१२–० कि.नं.८८१ रोपनी १४–१०–० १÷४ कि.नं.८८२ रोपनी ०–९–० १÷२ पाखो म चिरन्जीवी खनालका नाउँमा जग्गाधनी दर्ता प्रमाण पूर्जा भएको मेरो पैतृक सम्पत्ति हो । यसै जग्गामा मेरो घर बसोबास छ । उल्लेखित जग्गा साविकमा पाल्पा मन भागा मौजाको दर्ता कि.नं.१ हलदरको पाखो दर्ताको जग्गा भै साविक देखि नै हामी दाजुभाइको घर बसोबास भएका जग्गा हो । पूर्खाका पाला देखि नै पानी खान र तरकारी फलफुलमा पानी सिंचाइ गर्न हाम्रो जग्गाको पूर्व सिमानाको फेदी खोलाबाट आफ्नो जग्गामा कुलो बनाई पानी ल्याई उपभोग गरि रहेका थियौं । फेदी खोलामा पानी भएकोले पाखो जग्गालाई खेतमा दर्ता गरि पाउँ भनि हामी दुवै भाईले तत्कालीन पाल्पा माल कार्यालयमा दरखास्त दिएका थियौं । हामी घर नभएको मौका पारी गेझा छाप डाडा बस्ने हरिलाल देवकोटा, ज्ञानप्रसाद देवकोटा, पदमराज देवकोटा, जागेश्वर घिमिरे समेतले आफ्नो खेतमा सुख्खा लाग्छ दर्ता नहोस् भनी सर्जमिन गराई पठाएछन् । पाल्पा माल कार्यालयबाट अदालतबाट निर्णय गराउनु भनि ज्ञानप्रसाद समेतलाई पैतिस दिने म्याद दिने भन्ने मिति २०३२।४।२८।४ मा पर्चा भयो । हरिलाल देवकोटा समेत ४ जनाले कुलो पानी मुद्दा दिएकोमा वादीले आफ्नो खेत पाटेपछि प्रतिवादीको जग्गालाई लिके खोला र फेदी खोला दुवै खोलाबाट निकालिएको कुलाको पानी लगी आवाद गर्न पाउने ठहर्छ भन्ने मिति २०३३।२।२६ गते श्री पाल्पा जिल्ला अदालतबाट भएको फैसला र सो फैसलालाई सदर गर्ने गरी २०३३।१०।१२।३ मा पश्चिमान्चल क्षेत्रीय अदालतबाट फैसला भएको छ । पाल्पा अदालतको फैसलाले खेत आवाद गर्न पाउने ठहर पछि हाम्रो जग्गामा खेत बनाई आएका छौं । सर्भे नापी हुँदाका बखत खेत आवाद भै सकेको मात्र खेतमा र अरु पाखोमा नापी दर्ता भए पनि हामीले क्रमशः खेत बनाई आवाद गरी आएका छौं । पदमराज देवकोटा समेतका व्यक्तिहरुले २०३२ सालमा कुलोपानीमा विवाद उठाए पनि निजहरुको खेतमा पश्चिमपट्टिको छापा धारो लिके खोलाबाट कुलो बनाई ल्याएको पानीबाट सिंचाइ हुन्छ । लिके खोलामा निजहरुलाई सिंचाइ गर्न पानी प्रशस्त भएकोले हाम्रो फेदी खोलाको कुलोबाट निजहरुले पनि पहिले पानी लगेका थिएनन् र २०३३ सालको फैसला पछि पनि हाम्रो जग्गा र पदमराज देवकोटा समेतको जग्गाको बीचमा अन्य धेरै व्यक्तिहरुको जग्गा पर्दछ । फेदी खोलाको पानी निजहरुको खेतसम्म पु¥याउन कठिनाइ छ । फेदी खोलाको हाम्रो जग्गामा बनेको कुलाको फैसला पछि हामीले एकलौटी रुपमै उपभोग गरी आएका थियौ । कुलोबाट पानी नचुहिने गराउन हामी वादी २ भाईले मात्र रु.४३,४६१।– लगाई मुहान देखि कुलो केही भागमा सिमेण्ट गरेका हौं र पानी लगी धान खेती, तरकारी फलपूmल खेतीमा सिंचाइ गर्नका साथै घरायसी उपयोग समेत गरि आएका थियौंं । २०५४।४।१६ गते सम्म उक्त कुलोको पानीबाट पटानी गरी माथि उल्लेखित मध्ये आधा खेत रोपेको र सो मिति देखि अरु खेत पटानी गर्न नदिएको कारण बाँझो नै छ । प्रतिवादीहरुले व्यक्तिगत रिसइवीका कारणले फेदी खोलाको कुलोपानी हामीले जितेका छौं भन्दै हाम्रा खेत रोपाइ गरेकै दिन २०५४ साल श्रावण १६ गते हामीलाई आतंकित पार्दा पुरै पानी हाम्रो खेतमा लगाउन नदिई आफ्नो लिके खोलाको कुलोमा लगी खसाले । उजुरबाजुर गरेमा कुट्छौं मार्छौ भन्ने धम्की समेत दिए । गाउँ विकास समिति ऐन, २०४८ को दफा ४५ को उपदफा (१) बमोजिम अन्यायमा परि न्याय पाउन सम्मानित अदालतको शरणमा आएका छौं । विपक्षीहरुको खेतमा अर्का पानीको श्रोत गेझा बर्दले सिंचाइ आयोजनाबाट र लिके खोलाबाट समेत सिंचाइ हुने भएपछि फेदी खोलाको कुलोपानीको उपयोगमा पनि प्राथमिकता पाउँछन् भन्नु न्याय र विवेकसम्मत हुँदैन । प्रतिवादीहरुलाई फेदी खोलाको पानी आवश्यक छदै छैन । हामीलाई फेदी खोलाको वाहेक अर्को पानीको श्रोत छैन । एउटा पहाडी ग्रामिण किसानको लागि पानी जीवनदाता अन्न दाता सबै कुरा हो । आफ्नो जग्गाको बीचबाट बगेर जाने पानी उपयोग गर्न नपाउँदा हामी प्रकृतप्रदत्त न्यायबाट बन्चित भएका छौं । पानीको बहुराष्ट्रिय उपभोगमा पनि प्राथमिकता मुहानले पाउनु पर्दछ । पानी बगेर गएपछि फर्केर नआउने हुँदा मुहानले उपयोग गरेपछि बचेको पानी माथिल्लाले उपभोग गर्न व्यवहारिकरुपमा पाउँदैन । हाम्रो जग्गा फेदीखोलाको कुलाको मुहानमा छ । आफ्नै जग्गाको बीचबाट कुलो बनाएका छौ । फेदी खोलाको पानी प्रतिवादीहरुले उपयोग गर्न पाउने हैनन् । मुलुकी ऐन जग्गा आवाद गर्नेको १ नं.मा कुलो बनाउनेले र मुहानकाले पानीको उपयोगमा प्राथमिकता पाउने प्रष्ट उल्लेख छ । अघिदेखि वाँडी आएका ठाउँमा माग बमोजिम पानी नदिई बाँझो गराउन हुँदैन भनिएकोले कुलो बनाउन र मुहानको जग्गावालाको हैसियतले होस् वा अघि देखि पानी उपयोग गरेको हैसियतमा होस् केही खोलाको पानी हटक गरी हाम्रो खेत जग्गा बाँझो गराउन पाउने हक प्रतिवादीहरुलाई छैन । जग्गा आवाद गर्नेको १ नं.ले फेदी खोलाको पानीमा हाम्रो हक सुरक्षित छ । तसर्थ फेदी खोलाको कुलो पानीमा विपक्षीहरुको हटक खिचोला मेटाई उक्त कुलो पानीबाट हामीले हाम्रो खेतमा सिंचाइ लगायत घरायसी उभोग गर्न पाउने गरी कुलो पानीमा हाम्रो हक कायम गरि न्याय पाउँ भन्ने समेत व्यहोराको चिरन्जीवी खनाल र गुणनिधी खनालको २०५४।५।२९ को फिरादपत्र ।
३. वादी दावीको फेदी खोलाको कुलो पानीमा विपक्षी वादीहरुको दावी खिचोला परेकोले खिचोला मेटाई कुलोपानी हाम्रै सदर कायम राखी पाउँ भनी म पदमराज देवकोटा समेत उल्लेखित चार जनाको यसै अदालतमा कुलो पानी मुद्दाको फिराद उजुर परेकोमा विपक्षी वादीहरुले उक्त फेदी खोलाको पानी दिनुपर्ने होइन, लिके खोलाको पानी मात्र कायम गराई पाउँ भनी जिकिर लिई प्रतिउत्तर फिराएको भएपनि दर्तावाला बसन्त राजका छोरा विष्णुप्रसाद जोशीकै पाला गाउँकै लोकनाथ खनालले फेदी खोल्सी को मुहानबाट ल्याएको पूर्वतर्फको कुलोको पानी हिनामिना गराई सो दुई कुलाको दोभान देखि पूर्वपट्टिको आफ्ना पाखो जग्गामा लान खोज्दा मेरो कुलो पानी हिनामिना गरी लान पाउँदैनौं भनी विष्णुप्रसाद जोशीले धरपक्कड गर्दा अब हिनामिना गर्ने छैन गरे सो खेतको उव्जा बुझाउँला भनी निज लोकनाथले १९९४।२।१३।४ मा यिनै विपक्षी वादीहरुको बाबु खडानन्द खनाल समेत साक्षी राखी विष्णुप्रसाद जोशीलाई कागज गरी दिएको सो कागज अ.वं.७८ नं. बमोजिम सुनाई तैकात गराउँदा इन्कार गर्न नसकेको समेतका प्रमाण लगाई उक्त दुवै खोल्सीको कुलो पानीबाट हामी उस मुद्दाका वादीहरुको खेत पाटेपछि मात्र बढी भएको पानी विपक्षीहरुले लगी आवाद गर्न पाउने गरी यसै अदालतबाट २०३३।२।२६ गते भएको फैसला नै सदर गरी २०३३।१०।१२ मा श्री पश्चिमान्चल क्षेत्रीय अदालतबाट अन्तिम फैसला भएको भएपछि विपक्षीहरुले कुन आधार फैसलाबाट उक्त फेदी खोलाको पानीको आधार लिई कुलो बनाएको र खेत आवाद गरेको हो सो को तथ्ययुक्त प्रमाण वादीले दिन नसकेका र हामीलाई लिके खोल्सीको पानीले मात्र पुग्ने भएमा निज विष्णुप्रसाद जोशीले फेदी खोलाको पानीमा विपक्षी वादीका बाबुले गरेको कागज प्रमाणबाट पनि वादीहरुको उक्त फेदी खोलाको कुलो पानीमा अघि देखि हक पुगेको भन्न नमिल्ने आफ्नो हकै नपुग्ने कुलो पानीमा वादीहरुले रु.४३,४६१।– खर्च लगाई मर्मत गरे होलान् भन्ने कुरा पनि पत्यार लायक नपर्ने हुनाले वादी लेख झुठ्ठा हो सो कुलो वादीहरुले बनाएको र मर्मत गरेको समेत कुनै कुरा होइन । हाम्रो खेतको साविक दर्तावाला बसन्त राज जोशीकै पाला कुलो बनाई हामीले मर्मत गरि पानी समेत लगाई आएका छौं । निर्माणाधीन रहेको गेझा बर्दले फाँट सिंचाइ योजनाको कुलो नरहको पानीले पछि हाम्रो खेत सिंचाइ होला भनेर हामीले फैसला प्रमाणबाट जितेको हाम्रो हक भोगचलनको पानी अहिले देखि नै वादीलाई दिनुपर्ने खाँचो हामीलाई नपरेको र अघि देखि नै हामीले लगाई पटाई आएको कुलो पानी २०५४।४।१६ गते मात्र खिचोला गर्नुपर्ने आवश्यक समेत नपरेको र हामीले वादीहरुको कुलो पानी खिचोला गरेका समेत होइनौं छैनौं । फिराद दावी झुठ्ठा हो । २०३३।१०।१२।३ मा अन्तिम फैसला भई कुलो पानीमा हाम्रो हक पुगेपछि सो खेत मुरी १६ को जग्गा बाँडफाँड हुँदा ज्ञानप्रसाद देवकोटाका भागमा परेको जग्गा २०४२।१।१४ मा राजिनामा गरी र.नं.१८७९ बाट मुकुन्दप्रसाद देवकोटालाई हक छाडी राजिनामा गरी दिएको त्यस्तै जागेश्वर घिमिरेका नाउँमा भएको जग्गा २०३९।१२।८ मा म मान सिंह सिंजालीलाई र.नं.१५९१ मा राजिनामा गरी दिएको र हरिलाल देवकोटाको नाममा भएको जग्गा २०४२।१।१७ मा राधाकुमारी देवकोटालाई र.नं.१८२८ मा राजिनामा पारीत गरिदिएको उक्त फेदी खोलाको कुलो पानी हामी प्रतिवादी दुई जनाले मात्र उपभोग गरेको नभई निज जग्गाधनी लक्ष्मीप्रसाद, ठाकुरप्रसाद, मुकुन्दप्रसाद, राधाकुमारी समेतले कुलो पानी लगायका हुनाले वादीले लक्ष्मीप्रसाद समेतका कुलो उपभोग गर्ने व्यक्तिहरुका नाउँमा उजुर जारी गर्न नसकी हाम्रो उपर मात्र उजुर दावी गरेको कारणबाट पनि र २०३३।१०।१२ को फैसला भइसकेपछि सोही कुलो पानी विषयमा अ.वं.८५ नं.ले यो उजुर लाग्न नमिल्ने हुँदा खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मान सिं सिंजाली र पदमराज देवकोटाको मिति २०५४।९।३ को प्रतिउत्तर पत्र।
४. २०५४ साल श्रावण २२।२३ गतेतिर प्रतिवादीहरुले वादीहरुको कुलो पानीमा खिचोला गर्नु भएको हो भन्ने वादीका साक्षी हरिप्रसाद आचार्य, गोपाल पन्त, लक्ष्मणप्रसाद भण्डारी, डोलदेव पन्त समेतको एकै मिलानको बकपत्र ।
५. वादीको खेतमा परिणत भएको जग्गा नै छैन । प्रतिवादीको खेतमा लाग्ने पानी फोरी देखाउनको लागि खेत बनाएका हुन् । लिके खोल्सी र फेदी खोल्सीको पानी बिरुवाको पदमराज समेतको खेतमा लाग्छ भन्ने प्रतिवादीहरुको साक्षी चन्द्रकान्त खनाल, उदयराज भण्डारी, राजु सेढाई, लिलावहादुर गाहाको एकै मिलानको बकपत्र ।
६. विवादित फेदी खोलाको पानीबाट वादीहरुको जग्गामा सिंचाइ भई बढी हुन आएको पानीको प्राकृतिक नियमानुसार तल झर्ने प्रक्रिया हुने हुँदा प्रतिवादीको कुलोमा आउन सक्ने देखिन्छ भने प्रतिवादीहरुले सिंचाइ गरी बढी भएको पानी माथितिर बगेर नजाने हुँदा यी वादीले प्रयोगमा ल्याउन सक्दैनन् । मुलुकी ऐन जग्गा आवाद गर्ने महलको १ नं. मा मुहानको खेतमा पानी पुगेपछि उस मुन्तिरकाले लैजान पाउँदछन भन्ने उल्लेख भएको समेत पाइन्छ । वादी मुहानपट्टिका र नक्साअनुसार निजहरुको जग्गाको आलीबाट कुलो गएको र प्रतिवादीहरु तल देखिएबाट वादीहरुलाई अर्को लिकेखोलाबाट आएको कुलोले समेत नछुने अबस्थामा प्रतिवादीले लिकेखोलाबाट आएको कुलोको सम्पूर्ण पानी प्रयोग गरी फेदीखोलाबाट आएको पानी पनि सम्पूर्ण पानी प्रयोग गरी यी वादीहरुले आफ्नु जग्गाबाट गएको मुहानपछिका व्यक्तिहरुले पानी प्रयोग नै गर्न नपाउने भन्ने प्रतिउत्तर जिकिर प्राकृतिक न्यायको समानुपातिक न्याय भनि मान्न सकिने अबस्था देखिएन । वादी प्रतिवादी बीच यसै विषयमा विवाद भै रहेको अबस्था समेतलाई विचार गर्दा फेदी खोलाको पानी वादीले प्रयोग गर्ने र लिके खोलाको पानी यि प्रतिवादीहरुले प्रयोग गर्ने र फेदी खोलाको पानी पनि वादीहरुले प्रयोग गरी बढी भएमा स्वतः प्रतिवादीहरुलाई आउने हुँदा निजहरुले पनि प्रयोग गर्न पाउने नै अबस्था हुँदा जग्गा आवाद गर्नेको १ नं.अनुसार फेदी खोलाबाट ल्याएको खोलाको पानी यी वादीले प्रयोग गर्ने गरी वादीको वादी दावी बमोजिम हुने ठहर्छ भन्ने समेत व्यहोराको पाल्पा जिल्ला अदालतको मिति २०५६।५।२ को फैसला ।
७. विपक्षीले दावी लिएको खेत भनेको जग्गा खेतमा दर्ता नभएर घरवारीमा दर्ता भएको जग्गा हो । उक्त जग्गा खेतमा दर्ता गरी पाउँ भनी दिएको दरखास्तको आधारमा सर्जमिन हुँदा १९५३ सालको दर्ताको कि.नं.१७ को खेतमुरी ।१६।३ मिति २०१८।१।२३।६ मा राजिनामा पारीत गरी ज्ञानप्रसाद देवकोटाले लिएको सो खेत सुख्खा पर्न जान्छ भनी नयाँ खेत दर्ता गर्न नहुने भनी मिति २०३१।६।३१ गते सर्जमिन भै अदालत जानु भनी मालपोत कार्यालयले सुनाएपछि पाल्पा जिल्ला अदालतमा मुद्दा परी कि.नं.१७ को विरुवा भन्ने खेतमा पानी पुगेपछि मात्रै चिरन्जीवी खनाल समेतले आफ्नो जग्गामा पानी लगी आवाद गर्न पाउने गरी मिति २०३३ सालमा पाल्पा जिल्ला अदालतबाट भएको फैसला पश्चिमान्चल क्षेत्रीय अदालतबाट २०३३।१०।१२ गते सदर भयो । वादीले विरुवा खेतमा पानी पुगेपछि मात्रै पानी पाउने गरी अन्तिम फैसला भैसकेपछि सोही विषयमा विपक्षीहरुलाई मुद्दा दायर गर्ने अधिकार नहुने कुरा अ.वं.८५ नं.ले व्यवस्था गरेको हुँदा–हुदै खारेज गर्नुपर्नेमा इन्साफ गरेकोले सो फैसला बदर गरी फिराद दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको पुनरावेदन अदालत वुटवलमा मिति २०५६।५।३१ मा परेको पुनरावेदन पत्र ।
८. विवादित कुलोपानी विषयमा तत्कालीन पश्चिमान्चल क्षेत्रीय अदालत समेतको २०३३।१०।१२ को अन्तिम फैसला सम्बन्धमा कुनै विश्लेषण र विवेचना नगरी प्रस्तुत मुद्दामा वादी दावी बमोजिम खिचोला ठह¥याएको समेत शुरु पाल्पा जिल्ला अदालतको मिति २०५६।५।२ को फैसला प्रमाण मूल्यांकनको परिप्रेक्ष्यमा फरक पर्न सक्ने हुँदा अ.वं.२०२ नं.तथा पुनरावेदन अदालत नियमावली २०४८ को नियम ४७, ४८ बमोजिम छलफलको लागि प्रत्यर्थीहरुलाई झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वुटवलको मिति २०५६।११।१७ को आदेश ।
९. विवादित फेदी खोलाको कुलो पानी पश्चिमाञ्चल क्षेत्रीय अदालत पोखरा समेतको २०३३।१०।१२ को फैसलाले पुनरावेदक प्रतिवादीहरुको निजी ठहरी अन्तिम भैरहेकोले विवादित कुलो वादीहरुको कायम हुन सक्ने देखिएन । प्रतिवादीहरुले उक्त कुलाको पानी प्रयोग गरिसकेपछि वादीहरुले पाउने देखियो । तसर्थ अन्तिम फैसलाको प्रतिकूल हुने गरी फेदीखोलाबाट आएको पानी वादीहरुले एकलौटीरुपमा प्रयोग गर्न पाउने भन्न नमिल्ने हुँदा वादी दावी बमोजिम हुने ठहराएको शुरु फैसला नमिलेकोले उल्टी भै वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत बुटवलको मिति २०५७।९।२ को फैसला ।
१०. जग्गा आवाद गर्नेको १ नं.बमोजिम कुलाको मुहानका व्यक्तिले खेतमा पानी पठाउन केही अडकाउ भएमा सो मुनीको खेतवालाले पहिला पानी पटाउन सक्ने भन्ने कानूनी व्यवस्था भएको र पुनरावेदन अदालतले आफ्नो निर्णय आधार लिएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा विपक्षीहरुले मात्र उक्त कुलोबाट पानी पटाउन पाउने भन्ने नभै हामीहरु समेतले पानी पटाउन पाउने भनी उल्लेख भएबाट र फेदी खोलाको पानी विपक्षीहरुले प्रयोग नै नगरेका समेत कारण दावी बमोजिम हुने ठहराएको शुरु पाल्पा जिल्ला अदालतको फैसला सदर हुनुपर्नेमा दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत बुटवलको फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी चिरन्जीवि खनाल समेतको यस अदालतमा परेको संयुक्त पुनरावेदन पत्र ।
११. वादीको जग्गा फेदी खोलाको मुहानतर्फ भएको जलश्रोत ऐन, २०४९ को दफा ४ ले सामूहिकरुपमा सिंचाइ गर्न पाउने व्यवस्था गरेको पाइन्छ । लिकेखोला वर्दले सिंचाइ योजना समेत कार्यान्वित भै प्रतिवादीको जग्गामा सिंचाइ भै आएको देखिन्छ । वादीको जग्गा उचाईमा भएको कारणले लिकेखोला वर्दले सिंचाइ योजनाको पानी नजाने भौतिक तथ्यहरुको परिप्रेक्ष्यमा २०३३।१०।१२ को क्षेत्रीय अदालतको फैसलाको अर्थ गर्नुपर्नेमा उपरोक्त नयाँ कानून र तथ्यको न्यायोचित तवरले विवेचना नगरी शुरु फैसला उल्टाई पुनरावेदन अदालत बुटवलले गरेको फैसला मिलेको नदेखिंदा अ.वं.२०२ नं.बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५८।४।१७ को आदेश ।
१२. आफ्नो खेतमा सिचाई गर्न र घर प्रयोजनको लागि समेत हाम्रो जग्गाको पूर्व सिमानाको फेदी खोलाबाट आफ्नो जग्गामा कुलोपानी ल्याई उपभोग गरी आएकोमा विपक्षीहरुले लिखे खोलाबाट आफ्नो जग्गामा सिंचाइ गर्न बनाई ल्याएको कुलोमा हाम्रो फेदी खोलाबाट बनाई ल्याएको कुलो मिसाई हामीलाई सिंचाइ गर्न नदिई खिचोला गरेकाले खिचोला मेटाई सो फेदी खोलाको कुलो पानीमा हाम्रो हक कायम समेत गरी पाउँ भनी फिराद दावी लिएको पाइन्छ । यिनै पुनरावेदक र प्रतिवादी पद्यराज देवकोटा समेत वादी भै चलेको कुलो पानी मुद्दामा वादी दावी बमोजिम फेदी खोलाको पानीबाट बनाएको कुलो वादी पद्यराज समेतको ठहर्ने र सो कुलोबाट निजहरुले आफ्नो खेतमा पानी पटाइसके पछि मात्र यस मुद्दाका वादीहरुले पटाउन पाउने ठहराई पाल्पा जिल्ला अदालतबाट भएको फैसला पश्चिमाञ्चल क्षेत्रीय अदालत समेतबाट मिति २०३३।१०।१२ मा सदर भै अन्तिम भएर रहेको देखिन्छ । यो कुरालाई वादीहरुले पनि आफ्नो फिरादपत्रमा स्वीकार गरेकै देखिन्छ । यसरी अन्तिम भएर रहेको निर्णयलाई दुवै पक्षले मान्न कर लाग्ने व्यवस्था न्याय प्रशासन ऐन, २०४८ को दफा १९(१) ले गरेको देखिन्छ । एकपटक अन्तिम फैसला भैसकेको विषयमा पक्षले पटक–पटक सोही कुरामा झमेला व्यहोर्नु नपरोस् भन्ने कुरालाई दृष्टिगत गरेर नै सोही कुरामा फिरादपत्र लिई सुन्न नहुने भन्ने समेत कुराको व्यवस्था अ.वं.८५ नं.ले समेत गरेको देखिन्छ । यसरी फेदी खोलाको पानी सर्वप्रथम प्रस्तुत मुद्दाका प्रतिवादीहरुले प्रयोग गरेपछि मात्र वादीहरुले प्रयोग गर्न पाउने ठहरी भएको फैसला अन्तिम रहेको अबस्थामा हाल प्रस्तुत मुद्दाका वादीहरुले उक्त खोलाको पानी आपूmले सिंचाइको लागि कुलो बनाई एकलौटी प्रयोग गरी आएकोले प्रतिवादीहरुले खिचोला गरे भनी लिएको दावी नै झुठ्ठा देखिंदा वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालत बुटवलको फैसला मनासिब देखिंदा सदर हुने ठहर्छ वादी दावी पुग्ने ठहराएको शुरुको इन्साफ उल्टी गरी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालतको फैसला बदर गरी वादी दावी बमोजिम हुने ठहराएको शुरु पाल्पा जिल्ला अदालतको फैसला सदर गर्ने ठहराएको सहयोगी माननीय न्यायाधीश श्री बलिरामकुमारको रायसँग सहमत नहुँदा प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)क बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय ।
१३. भूमि उत्पादनसिलतामा अधिक मात्रामा बृद्धि गरिनुपर्ने भन्ने हालको बदलिंदो परिवेशमा लिके खोलाको निर्माण भै सो खोलाबाट बनाएको कुलोबाट विपक्षी प्रतिवादीहरुको जग्गामा पानी गई सिचाई हुने र वादीले दावी लिएको फेदी खोलाको कुलोको मुहानमा वादीहरुको जग्गा भएको अदालतबाट भै आएको नक्साबाट देखिन्छ । प्रतिवादीले जिकिर लिएको र पुनरावेदन अदालत समेतले आफ्नो निर्णयाधारमा प्रस्तुत गरेको श्री पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०३३।१०।१२ को फैसलाले पनि मुहानको जग्गावालाले पानी पठाउन नपाउने भनी नभनेको अबस्थामा फेदी खोलाको कुलोको पानी प्रतिवादीहरुले मात्र एकलौटीरुपमा प्रयोग गरी आफ्नो खेतमा सिचाई गर्न पाउने भनी निर्णय गर्न प्राकृतिक न्याय एवं कानूनको विपरीत समेत हुने देखिंदा वादी दावी बमोजिम ठहर निर्णय गर्नुपर्नेमा दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत बुटवलको फैसला उल्टी हुने ठहर्छ । दावी नपुग्ने ठहर गरेको पुनरावेदन अदालतको फैसला सदर गर्ने गरेको माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको रायसँग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री बलिरामकुमार को राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०६०।१२।९ को फैसला ।
१४. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीकोतर्फबाट विद्वान अधिवक्ता श्री शंभु थापाले प्रतिवादीहरुको जग्गामा विवादित फेदी खोलाको पानी आवश्यक नै पर्र्दैन । लिखे खोला समेतको पानीबाट प्रतिवादीको जग्गामा सिंचाइ हुन सक्ने कुरा भइआएको नक्साबाट पनि देखिन्छ । वादीहरुको जग्गा फेदीखोलाको मुहानसंगै जोडिएकोले पहिले वादीहरुले नै सिंचाइ गर्न पाउनु पर्ने प्रचलित कानूनी व्यवस्था समेत रहेभएबाट दावी नपुग्ने ठहर गरेको पुनरावेदन अदालतको फैसला नमिलेको हुंदा सो फैसला उल्टी हुने ठहर गरेको माननीय न्यायाधीश श्री वलिरामकुमारको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहश प्रस्तुत गर्नुभयो । प्रत्यर्थी प्रतिवादीकोतर्फबाट विद्वान अधिवक्ता श्री रामजी विष्टले विवादित फेदी खोलाको कुलो यी प्रतिवादीहरुले नै वनाएको भन्ने कुरा स्थापित भएको छ । वादीहरुको जग्गा खेत नभै पाखो जग्गा हो । प्रतिवादीको जग्गा खेत भएको र अरु खोलाको पानीबाट सिंचाइ हुने अवस्था पनि नरहेको नक्साबाट पनि सो कुरा पुष्टि हुन्छ । विवादित फेदी खोलाको पानी पहिले यी प्रतिवादीहरुले प्रयोग गर्न पाउने भन्ने कुरा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलाबाट अन्तिम भएर रहेको छ । प्रतिवादीले प्रयोग गरेपछि वादीले पनि प्रयोग गर्न पाउने भन्ने फैसलाले भनेको अवस्थामा वादीले सो कुलोको पानी एकलौटी प्रयोग गर्न पाउनुपर्छ भन्न मिल्दैन । वादी नपुग्ने ठहर गरेको माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहश जिकिर प्रस्तुत गर्नु भयो ।
१५. विद्वान कानून व्यवसायीहरुको वहश जिकिर समेत सुनी सम्बन्धित मिसिल कागजात अध्ययन गरी निर्णयतर्फ विचार गर्दा पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०३३।१०।१२ को फैसलाअनुसार विवादित फेदी खोलाको कुलोको पानी पहिले प्रतिवादीहरुले प्रयोग गर्ने र प्रतिवादीहरुलाई पुगेपछि हामीले प्रयोग गर्न पाउँने गरी निर्णय भएपनि सो कुलोको पानी प्रतिवादीलाई आवश्यक नपर्ने हुंदा मर्मत समेत गरी हामीले नै सवै प्रयोग गरी आएकोमा २०५४ साल देखि प्रतिवादीहरुले रोकी पानी पटाउन नदिएकोले सो कुलोमा हक कायम गरी पाउँ भन्ने पुनरावेदक वादीहरुको दावी रहेको देखिन्छ । मिति २०३३।१०।१२ को पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलाबाट प्रत्यर्थी प्रतिवादीहरुले विवादित फेदी खोलाको कुलोको पानी प्रयोग गरी सकेपछि यी वादीहरुको जग्गामा समेत पानी पटाउन पाउने भन्ने देखिन आएको अवस्था देखिएको र हाल प्रतिवादीहरुले पानी लगाउन नदिएको भन्ने दावी समेत रहेको देखिदां प्रस्तुत फिराद लाग्नै नसक्ने भन्न मिलेन ।
१६. अव विवादित फेदी खोलाको पानी प्रयोगको सम्बन्धमा विचार गर्दा मुलुकी ऐन जग्गा आवाद गर्नेको महलको १ नं ले आफ्नो खर्च वा आँतका बल्ले जसले कुलो बनाउँछ उसलाई पहिले पानी नभई अरुले पाउँदैन । अघिदेखि भाग बाँडी आएको ठाउँमा भाग बमोजिम पानी नदिई खेत बाँझो गराउन समेत हुंदैन । मुहानका खेतमा पानी पुगेपछि उस मुन्तिरकाले लैजान पाउँछ । मुहानका खेतवालाको केही अड्काउ भयो भने उसै मुन्तिरकाले पानी लगी रोप्न हुन्छ । पछिबाट मुहानकाले पानी लगी रोप्न हुन्छ । नयाँ कुलो बनाउँदा पुरानो कुलोले पाट्ने खेतमा पानी कम हुदैन भने माथि नयाँ कुलो बनाउन पाउँछ भन्ने व्यवस्था गरेको पाइन्छ । विवादित फेदी खोलाको कुलोको निर्माण यी प्रतिवादीहरुकातर्फबाट भएको भन्ने कुरा यी प्रतिवादीहरु मध्येका पदमराज देवकोटा समेत वादी र यी वादी चिरञ्जीवि खनाल समेत प्रतिवादी भएको २०३२ सालको दु.दा.द.नं.१७३ को कुलो पानी मुद्दाबाट देखिन आउँछ । सोही कुलो पानी मुद्दाबाट सो कुलो यी प्रतिवादीहरुले वनाएको ठहर भइ पाल्पा जिल्ला अदालतबाट २०३३।२।२३ मा निर्णय भएको र सो उपर यी वादीको पुनरावेदन परेकोमा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट समेत सो कुलोको पानी पहिले यी प्रतिवादीहरुले प्रयोग गरी सकेपछि यी वादीहरुले प्रयोग गर्न पाउँने निर्णय सो अदालतबाट मिति २०३३।१०।१२ मा भई सो फैसला अन्तिम भएर वसेको देखिन्छ । सो तथ्यलाई पुनरावेदक वादीहरुले समेत इन्कार गर्न सकेको पाइदैन । यसरी अदालतबाट भएको अन्तिम फैसला मुद्दाका पक्षहरुलाई कानून सरह वन्धनकारी हुने कुरा यस अदालतबाट समेत विभिन्न मुद्दामा सिद्धान्त प्रतिपादन भएका छन् र प्रचलित न्याय प्रशासन ऐन २०४८ को दफा १९(१) ले अदालतबाट भएका अन्तिम निर्णय मुद्दाका पक्षहरुलाई मान्न कर लाग्ने व्यवस्था गरेको पाइन्छ । यसबाट विवादित कुलो पानीको प्रयोगको सम्बन्धमा यी नै वादी प्रतिवादीहरुका बीचमा विवाद परी तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट विवादको निप्टारा भई यी प्रतिवादीहरुले सो कुलोको निर्माण आफैले गरेको भन्ने आधारमा सो कुलोको पानी पहिले यी प्रतिवादीहरुले प्रयोग गर्ने र प्रतिवादीहरुले प्रयोग गरिसकेपछि यी वादीको जग्गामा प्रयोग गर्न पाउने भन्ने निर्णय भएको छ । सो कुरालाई दुवैपक्षले इन्कार गर्न मिल्दैन । खोलाको पानी स्वभावैले वगेर जाने प्रकृतिको भएको र माथि उल्लेख भएको जग्गा आवाद गर्नेको महलको १ नं को कानूनी व्यवस्थाले पनि कुलो निमार्ण गर्ने यी प्रतिवादहिरुले पानी प्रयोग गरी सकेपछि सो कुलोको पानी यी वादीहरुले समेत प्रयोग गर्न पाउने अवस्था विद्यमान रहेकै देखिन्छ । यसरी विवादित कुलो यी प्रतिवादीहरुले वनाएको ठहर भई पहिले यी प्रतिवादीहरुले सो कुलोको पानी प्रयोग गर्न पाउने फैसला अन्तिम भएर वसेको अवस्थामा विवादको कुलोमा वादी दावी बमोजिम निजहरुको हक कायम हुन सक्ने अवस्था नदेखिंदा दावी नपुग्ने ठहर गरेको पुनरावेदन अदालत बुटवलको फैसला सदर गरेको माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय सदर हुन्छ । नियमानुसार गरी मिसिल वुझाई दिनु ।
उपर्युक्त रायमा सहमत छौं ।
न्या. अनुपराज शर्मा
न्या. परमानन्द झा
इति सम्बत् २०६१ साल मंसिर १७ गते रोज ५ शुभम् .......