शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७४२१ - लागूऔषध ।

भाग: ४६ साल: २०६१ महिना: मंसिर अंक:

निर्णय नं.७४२१           ने.का.प.२०६१               अङ्क ८

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली

संवत २०६१ सालको पुनरावलोकन निस्सा नं.... ३२

फैसला मितिः२०६१।७।२६।५

 

मुद्दाः लागूऔषध ।

 

पुनरावेदक

वादीः  प्र.नि. रीता वस्नेत समेतको प्रतिवेदन जाहेरीले श्री ५ को सरकार 

विरुद्ध

प्रत्यर्थी

प्रतिवादीः १२ मुर्रे सेन्ट मोसमन्ट पार्क पर्थ६०.१२ वेस्टर्न अष्ट्रेलिया घर भै हाल केपरलवान रोगो जाम्पी व्यानयूवङ्गाई इष्ट जाभा इण्डोनेसिया वस्ने गोर्डन विलियम रविन्सन

 

§  विदेश जान लागेका विदेशी नागरिकलाई प्रहरीले विना कारण र आधारमा पक्राउ गर्नुपर्ने र निजलाई जवर्जस्ती केशको कार्यवाही हो भनी कागजमा सही गराउनु पर्ने अन्य अवस्था नदेखिएको र प्रतिवादी स्वयंले समेत सो कुरा पुष्टी गर्न नसकेवाट सो लागूऔषध निज प्रतिवादी गोर्डन विलियम रविन्सनका साथबाट वरामद भएको रहेनछ भन्न सकिने अवस्था देखिन नआउने ।

§  पूर्व प्रतिपादित कानूनी सिद्धान्त र कानूनी व्याख्या जवसम्म पुनरावलोकनको माध्यम वा अन्य तरिकाबाट परिमार्जन  संशोधन वा परिवर्तन हुदैन तवसम्म ती सिद्धान्त वा वाख्या अनिवार्यरुपमा पालाना हुनेपर्ने ।

§  लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ८(२) मा कुनै जग्गा वा सवारी वा अन्य कुनै ठाउँमा प्रवेश गर्दा वा खानतलाशी गर्दा समयले भ्याएसम्म सम्बन्धित नगरपंचायत वा गाउँ पंचायत वा वडा समितिका एक जना कर्मचारीलाई साक्षी राखी गर्नुपर्नेछ तर समयले नभ्याएको स्थितिमा उपरोक्त व्यक्तिहरु साक्षी नराखी गरेको वरामदी मुचुल्का नै अमान्य हुने नदेखिने ।

§  प्रतिवादी आफूले अंग्रेजी भाषा वुझ्ने वोल्ने र लेख्ने व्यक्ति रहेका भनी वयानमा स्वीकार गरेको र अंग्रेजीमा उल्था गरी निजलाई वयान गराइएको र संझाइ वुझाई निजले स्वच्छाले हस्ताक्षर गरेको हो भन्ने पुनरावेदकतर्फको जिकिरलाई अन्यथा अर्थ गर्नुपर्ने अवस्था नदेखिने

§  वरामद भएको लागूऔषध निजको जुत्ता र झोलामा फल्स वटम वनाई शुरक्षा निकायलाई समेत झुक्यानमा पारी अवैध तरिकाले खरिद गरि विक्री गर्ने उद्येश्यले विदेशतर्फ जान लागेको तथ्य निजको वयान र अन्य प्रमाण कागजातबाट पुष्टी भइरहेको देखिन आउने ।

 

पुनरावेदक वादीतर्फवाटःविद्वान नायव महान्यायाधिवक्ता श्री द्रोणराज रेग्मी र विद्वान सह न्यायाधिवक्ता श्री डिल्लीरमण आचार्य

प्रत्यर्थी प्रतिवादीतर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

न्या.दिलीपकुमार पौडेलः यस अदालत संयुक्त इजलासको मिति २०६१।१।११ को फैसला उपर परेको निवेदनमा न्याय प्रशासन ऐन २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) अन्तर्गत पुनरावलोकनको निस्सा प्रदान भै   पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ:-

२.    मिति २०५८।५।१ गते तदनुसार १७ अगष्ट २००१ का दिन काठमाडौंवाट एस.क्यू.४१३ उडानद्वारा सिंगापुर हुदै इण्डोनेशियातर्फ जान लागेका व्रिटिस पासपोर्ट नं. ५००१५११६५ वाहक व्रिटिस नागरिक गोर्डन विलियम रविन्सनलाई शंका लागि चेक जाँच गर्दा निजले लगाएको जुत्तामा, निजको लगेज झोलामा र झोला भित्रको लेडिज जुत्तामा अवैध लागूऔषध हेरोइन फेला परेकोले उक्त लागूऔषध हेराइन मात्र तौलदा २ के.जि.३१५ ग्राम भएकोले निज प्रतिवादी लाई इण्डोनेशियातर्फ जानलाग्दा हेरोइन सहित पक्राउ गरेको हो भन्ने समेत व्यहोराको वरामदी मुचुल्का ।

३.    मिति २०५८।५।१ गते डिउटीमा कार्यरत रहेको अवस्थामा एस.क्यू. ४१३ को उडानद्वारा सिंगापुर हुदै इण्डोनेशियातर्फ जान आएका व्रिटिस नागरिक गोर्डन विलियम रविन्सन माथि शंका लागि चेक जाँच गर्दा निजले लगाएको जुत्ता तलासी लिंदा लागूऔषध हेरोइन फेला परेको र तौलंदा ८५०, ग्राम भएको निजको लगेज झोलावाट ९७५ ग्राम हेरोइन र झोला भित्र राखेको लेडिज सेन्डलवाट ४९० ग्राम हेरोइन फेला परेकोले उक्त लागूऔषध जम्मा परिमाण २ के.जि. ३१५ ग्राम हेरोइन वरामद गरी निज व्रिटिस नागरिक गोर्डन विलियम रविन्सन समेतलाई आवश्यक कारवाहीको लागि दाखिल गरेका छौं भन्ने समेत व्यहोराको प्र.नि. रीता वस्नेत समेतको प्रतिवेदन जाहेरी ।

४.    अभियुक्त गोर्डन विलियम रविन्सनवाट वरामद भएको पदार्थ २ के.जि. ३१५ ग्राम मध्ये ३।३ ग्रामका दरले जम्मा ९ ग्राम नमूना निकालिएको हो भन्ने समेत व्यहोराको नमूना मचुल्का ।

५.    मिति २०५८।५।१ गते वरामद भएको २ के.जि. ३१५ ग्राम लागू औषध हेरोइन भनिएको पाउडर मेरो साथवाट वरामद भएको हो । उक्त लागूऔषध अष्ट्रेलिया मेलवर्नमा Virgil नाम गरेका व्यक्तिलाई पठाउन मैले भारतीय मुसलमानवाट ल्याई वोकी इण्डोनेशिया लान लागेको हुं । इण्डोनेशिया जान लाग्दा उक्त हेरोइन भनिएको पाउडर सहित पक्राउमा परेको हुं । मेलवर्नमा Virgil  र Martyn नामका व्यक्तिले १०० ग्रामको अष्ट्रेलियन डलर १००० दिन्थे । त्यसवाट खर्च समेत काम चलाउने गरेको थिए । उक्त कार्यमा नेपालीहरु कोही संलग्न छैनन् भन्ने समेत व्यहोराको प्रतिवादी गोर्डन विलियम रविन्सनले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान कागज ।

६.    गोर्डन विलियम रविन्सनको साथवाट वरामद भएको परीक्षणको लागि पठाइएको नमूना पदार्थमा लागूऔषध हेरोइन (डाइयसिटामाइल मार्फिन) पाइयो भन्ने समेत व्यहोराको राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन ।

७.    हाल लागूऔषध सहित पक्राउमा परेका व्रिटिस नागरिक गोर्डन विलियम रविन्सन २०५८।४।२६ गते वेलुका होटलमा वस्न आई ऐ २७ गते निस्की गएका र ऐ ३२ गते विहान पुन वस्न आई २०५८।५।१ गते निस्की गएका हुन् । निजले लागूऔषध हेरोइन साथमा वोकेको कुराको पूर्व जानकारी थिएन । निज व्रिटिस नागरिक यस पूर्व पनि आफ्नी श्रीमती, साथी र जेठान भन्ने मानिस समेत लिई वस्न आएका थिए । यस वाहेक केही मलाई थाहा भएन भन्ने समेत व्यहोराको होटल होराइजनका मैनेजर देवीप्रसाद पौडेलले गरेको कागज ।

            ८.    मिति २०५८।५।१ गते पा.पो.नं. ५००१५११६५ वाहक व्रिटिस नागरिक गोर्डन विलियम रविन्सन एस.क्यू. ४१३ वाट काठमाडौंवाट सिंगापुर हुदै इण्डोनेशिया जान लागेको अवस्थामा २ के.जि. ३१५ ग्राम लागूऔषध हेरोइन वरामद भएको कुरा वरामदी मुचुल्का र प्रहरी प्रतिवेदन तथा प्रतिवादीको वयान कागजवाट पुष्टि हुन आयो । उक्त हेरोइन मेलवर्न (अष्ट्रेलिया) मा Virgil नाम गरेका व्यक्तिलाई पठाउन आफैले वोकी लैजान लागेको व्यहोरा निजको स्वीकारोक्ति वयान समेतवाट पुष्टि भएको र वरामदी पदार्थमा हेरोइन भन्ने राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनवाट देखिंदा उक्त पदार्थ हेरोइन नै भएको तथ्य स्थापित भयो । अतः व्रिटिस नागरिक  गोर्डन विलियम रविन्सनले २ के.जि. ३१५ ग्राम लागूऔषध हेरोइन भारतवाट नेपाल ल्याई नेपालवाट विदेश निकासी गरी लागूऔषध नियन्त्रण ऐन, २०३३ को (संशोधन सहित) दफा ४ को खण्ड (घ) र (ङ) र (च) वमोजिमको कसूर अपराध गरेको प्रष्ट हुन आएकोले निज गोर्डन विलियम रविन्सनलाई ऐ ऐनको दफा १४ (१) को खण्ड (छ) को (३) वमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको अभियोग    पत्र ।

            ९.    भारतमा व्यापार गर्न ५ वर्षको भिसा भएकोले म भारत आएकोमा ट्रान्जिट यात्रीको रुपमा भारतवाट नेपाल हुंदै इण्डोनेशिया जानको लागि नेपाल आएको थिएं । लागूऔषध हेरोइनको वारेमा केही थाहा छैन र ओसारपसार केही  गर्दिन । म वाट वरामद भएको होइन । अधिकार प्राप्त अधिकारी समक्षको वयान कागजको व्यहोरा मेरो आफ्नो होइन । प्रहरीले ज्यादती र जवरजस्तीपूर्वक सहिछाप गराएका हुन् । उक्त वयानमा भएको सहिछाप मेरै हो । केशको कार्यविधि हो भनी प्रहरीले खाली कागजमा सही गराएका र झुठ्ठो वरामदी मुचुल्का वनाएको मात्र हो । वरामद भएको हेरोइन, झोला, जुत्ता मेरो होइन । पासपोर्ट हवाई टिकट र इण्डोनेशियाका नोटहरु मेरा हुन् भन्ने समेत व्यहोराको प्रतिवादी गोर्डन विलियम रविन्सनले विशेष अदालतमा गरेको वयान ।

१०.    त्रिभुवन अन्तर्राष्ट्रिय विमान को पहिलो तल्लामा रहेको चेकजाँचको क्रममा निज रविन्सनले लगाएको जुत्ता खोल्न लाग्दा इन्कार गरेकोले सम्झाई वुझाइ जुत्ता खोली हेर्दा जुत्ता भित्र  जुत्ताकै आकारमा प्लाष्टिक र मोजा भित्र अवैध लागू औषध खैरो हेरोइन ८५० ग्राम फेला परेको र निजको टिकटमा लगाएको लगेज ट्याग उप्काएको जस्तो देखिएकोले एयरलाइन्ससंग सम्पर्क राख्दा निजको एउटा लगेज देखिएकोले खोली हेर्दा वरामद भएको लागूऔषध फेला परेको हो भन्ने समेत व्यहोराको प्रतिवेदक प्र.ना.नि. कृष्ण गोपाल पनेरुले र सोही मिलानको प्र.स.नि. रीता वराल खड्का र  प्र.स.नि.कुमार विक्रम थापाले गरेको वकपत्र ।

            ११.    विमानस्थलको प्रस्थान कक्षमा ह्याण्ड व्याग र शरीर तलाशी गर्ने एरियामा प्रतिवादीलाई पक्राउ गरी निजले लगाएको दुवै जुत्ताबाट लागूऔषध फेला परेको रहेछ वरामदी मुचुल्का तयार गर्ने क्रममा लगेज छ छैन भनी वुझ्दा एप्रोनमा पुगिसकेको व्याग समेत ल्याई जाँच गर्दा निजबाट २ किलो ३१५ ग्राम लागूऔषध वरामद भएको ठीक हो भन्ने समेत व्यहोराको प्र.ना.नि. अर्जुनकुमार खड्काको वकपत्र ।

१२.   ह्याण्ड व्यागेज चेक गर्ने ठाउँमा प्रतिवादीको शरीर चेकजाँच गर्दा निजले लगाएको जुत्ता भित्र ८५० ग्राम निजको व्यागबाट ९७५ र लेडिज जुत्ता भित्रबाट ४९० ग्राम गरी निजबाट जम्मा २ किलो ३१५ ग्राम लागूऔषध फेला परेको हो भन्ने समेत व्यहोराको प्र.नि. रीता वस्नेतको वकपत्र ।

            १३.   प्रतिवादीबाट सवै मिलाएर २ किलो ३१५ ग्राम लागूऔषध मेरो सामुन्नेबाट वरामद भएको हो भन्ने समेत व्यहोराको प्र.ना.नि. नन्दलाल साहले गरेको वकपत्र ।

            १४.   प्रतिवादीको जुत्ता समेतबाट २ किलो ३१५ ग्राम लागूऔषध मेरो रोहवरमा वरामद गरेको हो भन्ने समेत व्यहोराको प्र.नि सुनिल खनालले गरेको वकपत्र ।

            १५.   उक्त लागूऔषध जुत्ता र झोलाबाट समेत  वरामद म समेतले गरेको ठीक हो भन्ने समेत व्यहोराको प्र.ह. रामकुमार श्रेष्ठले गरेको वकपत्र ।

१६.    परीक्षण गरिएको लागूऔषध हामीले परीक्षण गरेको हो भन्ने समेत व्यहोराको सहायक वैज्ञानिक वि.आर शाक्य समेतको वकपत्र ।

            १७.   वादीका साक्षी प्र.स.नि.कुमार विक्रम थापा, प्र.ना.नि. अर्जुनकुमार खड्का, प्र.नि. रीता वस्नेतले प्रतिवादीले लगाएको जुत्ता र निजको टिकटमा उल्लेख भएको लगेजको ट्याग नं. अनुसारको सामान (लगेज) एप्रोनवाट मगाई जाँच गर्दा जम्मा २ के.जि. ३१५ ग्राम अवैध लागूऔषध हेरोइन वरामद भएको हो भनी किटान साथ अदालत समक्ष उपस्थित भई वकपत्र गरी दिएवाट यी प्रतिवादीको अदालत समक्षको इन्कारी वयान विश्वसनीय नभएको देखिन आउँछ । यी प्रतिवादीको संग साथवाट २ के.जि. ३१५ ग्राम हेरोइन वरामद भएको अवस्थामा सो हेरोइन निजको होइन वा उक्त हेरोइन संग निजको सम्वन्ध छैन भनी निज प्रतिवादीले नै प्रमाणित गर्नुपर्नेमा सो गर्न नसकेको अवस्थामा लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ वमोजिम निजलाई उन्मुक्ति दिन मिल्ने देखिएन । अतः प्रतिवादी वाट लागूऔषध हेरोइन वरामद भएको कुरालाई वादी पक्षको साक्षीको वकपत्र समेतवाट पुष्टि भएको अवस्था देखिएवाट निज प्रतिवादी गोर्डन विलियम रविन्सनले अभियोग माग दावी वमोजिम कसूर अपराध गरेको ठहर्छ । सो ठहर्नाले निजलाई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ (१) (छ) (३) वमोजिम कैद वर्ष १७ (सत्र) र रु. १०,०००,००। (दश लाख) जरिवाना हुन्छ भन्ने समेत व्यहोराको विशेष अदालत काठमाडौंको २०५८।९।१९ को फैसला ।

            १८.   विशेष अदालतको फैसलामा चित्त नवुझेकोले यो पुनरावेदन गरेको छु । मैले लगाएको जुत्तावाट एवं लगेज भित्र राखिएको लेडिज जुत्तावाट लागूऔषध भेटिएको भन्ने व्यहोरा झुठ्ठा हो । वरामदी मुचुल्का रीतपूर्वकको छैन । मुचुल्का नेपाली भाषामा तयार भएको छ । मैले वुझने भाषामा मलाई सम्झाई वुझाई मेरो सहिछाप गराइएको भन्ने कुरा सो मुचुल्कामा कहिं कतै उल्लेख भएको छैन । अधिकार प्राप्त अधिकारी समक्ष गराइएको वयान अदालतमा उक्त वयानको अर्थ सम्झाउँदा वुझाउँदा उक्त वयानमा मैले भन्दै नभनेको कुराहरु लेखाई मलाई हस्ताक्षर गराइएको रहेछ । जुन कुरा मैले विशेष अदालत समक्ष दोभाषे राखी गराइएको वयानमा उल्लेख गरेको छु । वादी पक्ष स्वयंले आफ्नो हिरासतमा राखी मैले वुझदै नवुझ्ने भाषामा लेखिएको वयानलाई मैले स्वेच्छापूर्वक गरेको वयान भनी मेरो विरुद्धमा प्रमाण लगाई कसूरदार ठहर गरेको फैसला प्रमाण ऐन, २०३१ दफा ९(२) को प्रतिकूल छ । मैले आफ्नो साथमा नराखेको लगेज र सो भित्र रहेको लागूऔषध मेरै हो भन्ने कुरा ठोस र समर्थित प्रमाणित हुन सकेको छैन । यस्तो अवस्थामा कानून र प्रमाणको न्यायपूर्ण विवेचना नै नगरी भएको विशेष अदालत काठमाडौंको मिति २०५९।८।१९ को फैसला त्रुटिपूर्ण हुनाले सो फैसला वदर गरी आरोपित कसूरवाट पूर्ण रुपमा सफाइ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी गोर्डन विलियम रविन्सनको यस अदालतमा परेको पुनरावेदन पत्र ।

            १९.    लागूऔषध वरामद भएको भनिएको झोला सुरक्षा जाँच पछि हवाई जहाजको एप्रोनमा पठाई सकिएकोमा सो ठाउँवाट ल्याइएको र उक्त झोला आफनो नभएको भनी पुनरावेदक प्रतिवादीले कसूरमा इन्कार रही वयान गरेको देखिन्छ । उक्त झोला प्रतिवादीकै हो भन्ने तथ्ययुक्त प्रमाणको अभावमा अनुमानको आधारमा सो झोला निजको हो भनी त्यसवाट वरामद भएको लागूऔषध समेत प्रतिवादीकै ठहर गर्दा लागूऔषध को परिमाणमा अन्तर भै सजायमा फरक पर्न सक्ने देखिन्छ । विशेषज्ञ समक्ष जाँचको लागि पठाइएको लागूऔषधको नमूना र विशेषज्ञले जाँच गर्दा देखाएको परिमाणमा समेत अन्तर भई नमूनाको लागि लिइएको लागूऔषध कै परीक्षण भएको भन्ने शंकास्पद स्थिति भएको र विशेषज्ञको रायमा वरामद भएको लागूऔषध विशुद्ध रुपमा हेरोइन नै हो भन्ने नभएको अवस्थामा पुनरावेदक प्रतिवादीलाई सजांय गर्ने गरी भएको विशेष अदालत काठमाडौंको फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई छलफलको लागि सूचना दिई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०६०।५।१९ को आदेश ।

            २०.   प्रतिवादीले अदालतमा वयान गर्दा दशीको लागूऔषध वरामद भएको जुत्ता समेत मेरो होइन भनेको, प्र.नि. रीता वस्नेत समेतले दिएको २०५८।५।१ को प्रतिवेदनमा प्रतिवादी गोर्डन विलियम रविन्सनको जुत्ता खोली हेर्दा लुकाई राखेको अवस्था लागूऔषध फेला परेको भन्ने उल्लेख भएकोमा वरामदी मुचुल्कामा वस्ने प्रहरी अधिकृत कसैले पनि प्रतिवादीको जुत्ता खोलेको भनेको देखिदैन । प्रतिवेदक रीता वस्नेतले अदालतमा गरेको वकपत्रको स.ज. ७ र ८ मा प्र.ज. शिव शंकर थापा समेतले प्रतिवादीको तलासी लिएको भन्ने निज प्र.ज. शिव शंकर थापालाई वुझेको नदेखिएकोले निजलाई वुझनु पर्ने देखिंदा झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०६०।८।१९ को आदेश ।

            २१.   प्र.नि रीता वस्नेतको निर्देशानुसार निजको जुत्ता खोलिएकोमा निजको जुत्ता भित्रबाट ८५० ग्राम समेत गरी निजबाट जम्मा २ किलो ३१५ ग्राम लागूऔषध खैरो हेरोइन वरामद गरिएको हो भन्ने समेत व्यहोरका प्र.ज.शिव शंकर थापाले यस अदालतमा  गरेको वकपत्र ।

            २२.   अनुसन्धानको क्रममा गरिएको यी पुनरावेदक प्रतिवादीले आरोप स्वीकार गरिएको भनिएको वयान कागज रीतपूर्वक नदेखिनुका साथै सर्वमान्य कानूनी सिद्धान्तको समेत विपरीत देखिएको, वरामदी मुचुल्काका मानिसहरुको भनाइमा एकरुपता नभै सो वरामदी मुचुल्का सत्यतथ्यमा आधारित रहेको देखिन नआएको, वरामद भएको लागूऔषधको परिमाण समेत सन्देहास्पद स्थितिको भएको समेतका कारणवाट यी पुनरावेदक प्रतिवादीले आरोप अनुरुपको कसूर गरेको कुरा स्वतन्त्रतवरवाट पुष्टि हुन नआएकोले शंका र एकपक्षीय अनुसन्धानको आधार लिई कसूर ठहर गर्न मिल्ने देखिन आएन । यस अदालतको संयुक्त इजलासको प्रत्यर्थी वादी झिकाउने अ.वं. २०२ नं. अनुरुपको आदेशमा उल्लेख भएका आधारहरुलाई प्रत्यर्थीतर्फका विद्वान नायव महान्यायाधिवक्ताले खण्डन हुने ठोस आधार समेत प्रस्तुत गर्न सक्नु भएको छैन । विद्वान नायव महान्यायाधिवक्ताले वहसको क्रममा उल्लेख गर्नु भएको स.अ. बुलेटिन बर्ष ५, अंक ९, पृष्ठ २०, पूर्णांक ११९, स. अ.बुलेटिन २०५५, अंक २०, पृष्ठ ८, पूर्णाङ्क १५८, स.अ. बुलेटिन २०५४, अङ्क ५, पृष्ठ २६ समेतमा प्रतिपादित नजिरहरु प्रस्तुत मूद्दाको बिषयवस्तुसँग प्रासंगिक हुने  देखिएन ।  

            २३.   अतः यस स्थितिमा यस अदालतवाट मिति २०६०।५।१९ को अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाउने आदेशमा उल्लेखित लागूऔषध वरामद भएको भनिएको झोला सुरक्षा जाँच पछि हवाई जहाजको एप्रोनमा पठाइसकेपछि ल्याइएको, उक्त झोला आफ्नो नभएको भनी प्रतिवादीले कसूरमा इन्कार रही वयान गरेको, उक्त झोला प्रतिवादीकै हो भन्ने तथ्ययुक्त प्रमाणको अभावमा अनुमानको आधारमा सो झोला र त्यसवाट वरामद भएको लागूऔषध प्रतिवादीकै ठहर गर्दा लागूऔषधको परिमाणमा अन्तर देखिने तथा विशेषज्ञ जाँचको लागि पठाइएको लागूऔषध नमूनाको लागि लिइएको वाट नै परीक्षण भएको भन्ने शंकास्पद स्थिति रहेको, विशेषज्ञको रायमा वरामद भएको लागूऔषध रुपमा हेरोइन नै हो भन्ने नभएको अतिरिक्त नेपाली भाषाको अनभिज्ञ प्रतिवादीलाई निजले युक्तियुक्त कारणवाट सम्झन वुझ्न सक्ने भाषावाट दोभाषेको सहयोग विना अधिकार प्राप्त अधिकारीले गराएको साविती वयानको आधार लिई र वादी पक्षको साक्षीहरुको विरोधाभाषपूर्ण वकपत्रलाई प्रमाणमा लिई तथा शंकास्पद रुपवाट तयार भएको शंकारहित अकाट्य सवुद प्रमाणको अभावमा प्रतिवादीले शंकाको सुविधा समेत पाउने हुँदा कसूरमा पूर्ण इन्कारी रहेको प्रतिवादीलाई आरोपित कसूरवाट सफाइ दिनुपर्नेमा अभियोग दावी वमोजिम सजाय गर्ने गरेको विशेष अदालत काठमाडौंको मिति २०५८।८।१९ को फैसला उल्लेखित आधार प्रमाण र अवलम्वित नजिर समेतवाट मिलेको नदेखिंदा सो फैसला उल्टी हुने ठहर्छ । प्रतिवादी गोर्डन विलियम रविन्सनले अभियोग दावीवाट सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०६१।१।११ को फैसला  ।

            २४.   यस अदालत संयुक्त इजलासबाट विशेष अदालत काठमाडौंले प्रतिवादीलाई कसूर ठहर गरी १७ वर्ष कैद र १०,०००००। जरिवाना हुने ठहर गरेको फैसला उल्टी गरी प्रतिवादीलाई सफाइ दिने ठहर गरेको फैसलामा न्याय प्रशासन ऐन २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) को अवस्था विद्यमान भएकोले प्रस्तुत मुद्दा पुनरावलोकन गरी संयुक्त इजलासबाट मिति २०६१।१।११ मा भएको फैसला बदर गरी शुरु विशेष अदालत काठमाडौंको फैसला सदर कायम गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावलोकन गरी पाउँ भन्ने निवेदन पत्र ।

            २५.   प्रतिवादी गोर्डन विलियम रविन्सनलाई अभियोग दावीबाट सफाइ दिने ठहर गरेको यस अदालत संयुक्त इजलासको मिति २०६१।१।११ को फैसलामा २०५३  सालको फौ.पु.नं. १४६४,१६१३ पुनरावेदक प्रतिवादी सन्तोष भन्ने डिकवहादुर कार्की समेत विरुद्ध प्र.ना.उ. धिरेन्द्रकुमार देवान समेतको जाहेरीले वादी श्री ५ को सरकार भएको लागूऔषध मुद्दामा २०५६।१२।७।२ मा भएको फैसला२०४६ सालको फौ.पु.नं. ३६८ पुनरावेदक प्रतिवादी हेमराज पि.के. विरुद्ध श्री ५ को सरकार वादी भएको लागूऔषध मुद्दामा २०४९।१।३१ मा भएको फैसला, ने.का.प. २०५०, नि.नंं ४६९८, पृष्ठ ९७ र ने.का.प. २०५७, नि.नंं ६८५२, पृष्ठ ९२ मा प्रकाशित फैसलामा स्थापित नजिर कानूनी सिद्धान्तको प्रतिकूल निर्णय भएको देखिन आएबाट समेत मिति २०६१।१।११ को संयुक्त इजलासको फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) अनुसार पुनरावलोकन गरी हेर्नुपर्ने अवस्था विद्यमान देखिंदा सोही बमोजिम पुनरावलोकनको निस्सा प्रदान गरिएको छ नियम बमोजिम गरी पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत पूर्ण इजलासको मिति २०६१।३।११ को आदेश ।

            २६.   नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारकोतर्फवाट उपस्थित विद्वान नायवमहान्यायाधिवक्ता श्री द्रोणराज रेग्मी र विद्वान सह न्यायाधिवक्ता श्री डिल्लिरमण आचार्यले प्रतिवादी अंग्रेजी भाषा  वुझ्न सक्ने व्यक्ति भएकोमा विवाद छैन । अंग्रेजी सामन्यातः श्री ५ को सरकारको सेवामा कार्यरत व्यक्तिले लेख्न वुझ्न सक्ने हुंदा प्रतिवादीलाई अभियोग सम्बन्धि सवै कुरा वुझाई निजले भने बमोजिम अनुुसन्धान अधिकारीबाट वयान भएको हो । अनुसन्धानको अवस्थामा निजले दोभाषेको  मांग गरेको र मागं गरेको भन्ने कुरा पुनरावेदनमा पनि खुलाएको अवस्था छैन । वरामद भएको अरु सामान आफ्नो भनी अदालतमा समेत स्वीकार गरेको, वरामदी मुचुल्का र अनुसन्धान अधिकारी समक्ष भएको वयानमा भएको सहीछाप आफ्नै हो भनी अदालतमा स्वीकार गरेको अवस्था हुंदा निजले अनुसन्धान अधिकारी समक्ष गरेको वयानलाई अन्यथा अर्थ गर्न मिल्ने अवस्था छैन । वरामदी मुचुल्का रीतपूर्वक कै छ । वरामदी मुचुल्काका मानिसले पनि निज प्रतिवादीबाट लागूऔषध वरामद गरी मुचुल्का तयार भएको भनी यस अदालतमा समेत वकपत्र गरेको अवस्था हुंदा निज प्रतिवादीको अनुसन्धान अधिकारी समक्षको सावीती वयान समर्थित भइरहेको छ । नमूना वरामद भएकै लागूऔषधबाट अदालतको कर्मचारी सहितको रोहवरमा झिकी जाँच गर्न पठाएको हुंदा शंकाको स्थिति रहेको छैन । संयुक्त इजलासबाट प्रतिवादीलाई सफाइ दिने गरी गरेको फैसलामा यसै अदालतबाट प्रतिपादित नजिर सिद्धान्त र कानूनी व्याख्याको त्रुटी विद्यमान रहेको छ । प्रतिवादी आफूलाई लागेको अभियोगको सम्बन्धमा अनभिज्ञ रहेको देखिदैन । वयानमा नै उल्लेख नभएका सिद्धान्त कायम हुन सक्ने अवस्था छैन । वरामदी मुचुल्का परीक्षण प्रतिवेदनका सम्बन्धमा प्रतिवादीले विवादै नगरेको अवस्थामा सोलाई आफैले प्रश्न खडा गरी निर्णय गरेको मिलेको छैन । यदि झोलाका सम्बन्धमा शंकाको स्थिति देखिएकै अवस्थामा पनि जुत्ताबाट वरामद भएको लागूऔषध कै आधारमा पनि सफाइ दिन मिल्ने अवस्था देखिदैन । संयुक्त इजलासको निर्णय कायम रही रहे लागूऔषध (नियन्त्रण) ऐन तथा यस अदालतको पूर्ण इजलासबाट प्रतिपादित सिद्धान्त समेत निष्क्रिय हुन जाने हुनाले पुनरावलोकन गरी हेर्ने निस्सामा लिएका नजिरमा प्रतिपादित सिद्धान्त समेतका आधारमा यस अदालत संयुक्त इजलासको प्रतिवादीलाई सफाइ दिने गरेको फैसला उल्टी गरी विशेष अदालत काठमाडौंको फैसला सदर कायम हुनुपर्दछ भन्ने समेत व्यहोराको वहश प्रस्तुत गर्नुभयो । प्रत्यर्थी प्रतिवादी गोर्डन विलियम रविन्सनले अदालतमा समेत गरेको वयानमा निजले उल्लेख गरेको निजको स्थायी ठेगानामा मुलुकी ऐन अदालती वन्दोवस्तको ११० को देहाय ३घ. नं. मा भएको व्यवस्था अनुरुप हुलाकद्वारा रजिष्ट्रि गरी र सर्वोच्च अदालत नियमावली, २०४९ को नियम १०४च. को व्यवस्थाअनुरुप निजको नाउँमा दैनिक पत्रिकामा यस अदालतमा उपस्थित हुने व्यहोराको म्याद सूचना प्रकाशित गर्दा पनि निज स्वयं वा निजतर्फबाट तोकिएको म्याद सूचनामा कोही पनि उपस्थित हुन नआएका निज उपस्थित नभए पनि प्रस्तुत मुद्दाको निर्णयमा वाधा नपर्ने हुदा सम्वन्धित मिसिल कागजात अध्ययन गरी यस अदालतबाट प्रत्यर्थी प्रतिवादीलाई आरोपित कसूरबाट सफाइ दिने गरेको फैसला मिलेको छ छैन सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

            २७.   सोतर्फ विचार गर्दा यी पुनरावेदक प्रतिवादी गोर्डेन विलियम रविन्सनले २ के.जि. ३१५ ग्राम लागूऔषध हेरोइन निजले लगाएको जुत्ता र निजको व्याग भित्र रहेको लेडिज जुत्ता र व्यागमा फल्स वटम वनाई राखी नेपालवाट विदेश निकासी गरी लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को खण्ड (घ) (ङ) (च) वमोजिमको कसूर अपराध गरेको भनी सोही ऐनको दफा १४ (१) (छ) (३) वमोजिमको सजाय माग गरी प्रस्तुत मुद्दा निज प्रतिवादी विरुद्ध परेको देखिन आउँछ । निज विदेशी नागरिक भै नेपालवाट सिंगापुर हुदै विदेश इन्डोनेसियातर्फ सिंगापुर एयरलाइन्सवाट जान लागेको र सो क्रममा टिकट चेकिङ समेत भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षको पहिलो तला अर्थात १ तला माथि रहेको यात्रुहरुको हयान्ड व्यागेज एवं शरिर समेत सुरक्षा जाँच गर्ने स्थानमा निजले लगाएको जुत्ता चेक गर्दा जुत्ताकै सोलको आकारमा राखिएको अवस्थामा अवैध लागूऔषध ८५० ग्राम फेला परेको र निजको प्रारम्भिक जाँच प्रक्रिया पुरा गरी हवाई जहाजमा लोडिङ गर्ने स्थान (एप्रोन) मा पुगी सकेको झोला समेत जाँच गर्दा सो झोलामा फल्स वटम वनाई ९७५ ग्राम र सो व्याग भित्रको लेडिज जुत्तावाट ४९० ग्राम समेत लागूऔषध निजवाट वरामद गरिएको हो भन्ने भनाइ अनुसन्धानकर्ता र अभियोजन पक्षको रहेको देखिन्छ । अनुसन्धानको क्रममा गरेको वयानमा निजले सो लागूऔषध भारत वम्वैवाट खरिद गरी नेपालल्याई अष्ट्रेलिया पुर्‍याउन लागेको भनी स्वीकार गरी वयान गरी र वरामदी मुचुल्कामा सहीछाप गरी आरोपित कसूर गरेमा स्वीकार गरेको  पाइन्छ । अदालतमा वयान गर्दा भने आफ्नो साथबाट सो लागूऔषध वरामद भएको होइन । केशको कार्यविधि हो भनेका थिए । वयानमा भएको र वरामदी मुचुल्कामा भएको सहीछाप आफ्नो हो भन्ने वयान गरेको पाइन्छ । यसबाट प्रत्यर्थी प्रतिवादीलाई निज उपर के कस्तो अभियोग लागेको हो वा निजबाट के कस्तो गैरकानूनी कार्य भएको हो भन्ने सम्बन्धमा निजलाई वुझाई निजको वयान भएको रहेछ भन्ने कुरा निजले अनुसन्धानको क्रममा भएको वयानमा भएको सही र वरामदी मुचुल्कामा भएको सही आफ्नो हो र केशको कार्यविधि हो भनी सही गराएको भनी अदालतमा दोभाषेको रोहवरमा भएको वयानमा समेत स्वीकार गरेबाट सो कुरा पुष्टी हुन आउँछ । निजले प्रहरीले ज्यादती गरी वयान गरेको भनी अदालतमा उल्लेख गरेपनि प्रहरीले के कस्तो ज्यादती गरेको हो र प्रहरीले ज्यादती गर्नु पर्ने कारण र अवस्था के परेको थियो सो कुरा खुलाउन सकेको पाइदैन । निज नेपाल हुंदै सिंगापुर एयर लाइन्सको SQ ४१३ को उडानबाट सिंगापुर हुंदै इन्डोनेसिया जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा पक्राउ परेको भन्नेमा विवाद छैन । यसरी विदेश जान लागेका विदेशी नागरिकलाई प्रहरीले विना कारण र आधारमा पक्राउ गर्नुपर्ने र निजलाई जवर्जस्ती केशको कार्यवाही हो भनी कागजमा सही गराउनु पर्ने  अन्य अवस्था देखिएको छैन र प्रतिवादी स्वयंले समेत सो कुरा पुष्टी गर्न सकेको छैन । यसबाट सो लागूऔषध निज प्रतिवादी गोर्डन विलियम रविन्सनका साथबाट वरामदी भएको प्रकृतिबाट वरामद भएको रहेनछ भन्न सकिने अवस्था देखिन आउँदैन । सो वरामद भएको लागूऔषध  अदालतको प्रतिनिधि समेतको रोहवरमा नमूना निकाली विषशज्ञकहाँ परीक्षण गर्न पठाएको मिसिल संलग्न मिति २०५८।५।४ को मुचुल्काबाट पुष्टी भइ रहेको देखिन्छ । सोही मिति २०५८।५।४ को मुचुल्काबाट झिकिएको नमूना लागूऔषध विशेषज्ञ कहां परीक्षणको लागि पठाएको र विशेषज्ञको परीक्षण प्रतिवेदनबाट सो वरामद भएको लागूऔषध Samples contains the narcotic drug heroins भन्ने उल्लेख भएबाट यी प्रतिवादीबाट वरामद भएको सो लागूऔषध हिरोइन प्रकृतिको लागूऔषध रहेछ भन्ने कुराको पुष्टी भइरहेको पाइन्छ । लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ३ परिभाषा को खण्ड (क) को देहाय ७ को व्यवस्था बमोजिम श्री ५ को सरकारले मिति २०५१।२।२ को राजपत्रमा सो ऐनको सो दफा ३(क) को ७ को प्रयोजनका लागि विभिन्न वस्तुहरुलाई लागूऔषधको रुपमा तोकिएको पाइन्छ । जसको देहाय ४ मा मर्फिन, हेरोइन, वा डाएमर्फिन र यिनीहरुका लवण तथा यसको मूल अणुमा थप रसायनिक समूह जोडी उत्पादन गरिएका सम्बन्धित सवै रसायनहरु (Marphin, Heorin or diamorphine their salts and derivatives) लाई समेत लागूऔषधको रुपमा परिभाषित गरिएको छ । त्यस्ता प्रकारका लागूऔषध सोही ऐनको दफा ४ को देहाय (घ)(ङ)(च) ले विक्रि वितरण गर्न, निकासी पैठारी गर्न र खरिद गर्ने,राख्ने, वा ओसारपसार गर्ने कार्यलाई निषेध गरेको छ । सो लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ प्रमाणको भार मूल शीर्षक अन्तर्गत सो दफाले कुनै व्यक्तिका साथमा कुनै लागूऔषध भएको फेला परेमा वा निजले खेती गरेको जग्गामा गाँजा, अफिम वा कोकाको खेती भइरहेको वा सो भएको कुराको प्रमाण फेला परेमा वा कुनै लागूऔषधको निर्माण वा उत्पादनको निमित्त चाहिने केही विधि पुगिसकेको कुनै पदार्थ फेला परेमा वा कुनै पदार्थबाट लागूऔषध उत्पादन गरिएपछि सो पदार्थको बाँकी रहेको केही कसर निजको साथमा राखिएको फेलापरेमा त्यस्तो पदार्थ यो ऐन र यस ऐन अन्तर्गत वनेका नियम वा जारी गरिएको आदेश बमोजिम प्राप्त गरेको वा राखेको हो भन्ने कुराको प्रमाण निजले पेश गर्नुपर्नेछ । त्यस्तो प्रमाण पेश गर्न नसकेमा र अन्यथा प्रमाणित भएमा वाहेक निजले यस ऐन अन्तर्गत सजाय हुने अपराध गरेको मानिनेछ भन्ने व्यवस्था गरेको पाइन्छ । त्यसरी उल्लेख भएको दफा ४ को खण्ड (घ)(ङ)(च) मा वर्णित कार्य गरेको र दफा १२ बमोजिमको आधारमा वाहेकका त्यस्तो कार्य गरेको देखिन आएमा सोही ऐनको दफा १४ को उपदफा (१) को देहाय (छ) को (३) बमोजिम एकसय ग्रामदेखि माथि जतिसुकै परिमाणको कारोवार गर्नेलाई पन्ध्र वर्ष देखि जन्मकैद र पाँच लाख रुपयाँदेखि पच्चीस लाख रुपयाँसम्म जरिवाना हुने व्यवस्था गरेको पाइन्छ ।

            २८.   लागूऔषध (नियन्त्रण) ऐन, २०३३ सर्व साधारण जनताको सदाचार, स्वास्थ, सुबिधा र आर्थिक हित राख्नको लागि लागूऔषधको खेती, उत्पादन, निर्माण, खरिदविक्रि, सञ्चय, ओसारपसार, सेवन तथा निकासी पैठारी समेतमा नियन्त्रण गर्न वनेको ऐन हो । यस ऐनले निषेधित गरेका कार्य कसैले गरेमा त्यसबाट समाजलाई नै असर पर्न सक्दछ भन्ने कुरा उल्लेखित सर्व साधारण जनताको सदाचार र स्वास्थ सुविधा वरकरार राख्न ऐन वनेको भन्ने प्रस्तावनामा प्रयुक्त यी शव्दावलीहरुबाट पुष्टी हुन्छ । यसै परिप्रेक्षमा यस ऐनले कुनै व्यक्तिको साथमा रहेको लागूऔषध आफ्नो होइन भनी र आफ्नो साथमा रहेको भएपनि सोही ऐनको दफा १२ अनुरुप सम्बन्धित पदाधिकारीको स्वीकृतिबाट राखेको हो भन्ने कुुराको प्रमाण त्यस्तो लागूऔषध खरिद सञ्चय विक्रि आदी गर्ने व्यक्तिले नै सो व्यहोरा पुष्टी गर्नुपर्ने हुन्छ । यसै ऐनको परिक्षलित उद्देश्य अनुरुप यस अदालतबाट लागूऔषध सम्बन्धि मुद्दाहरुमा प्रमाणको भार देखि लिएर अनुसन्धानका क्रममा भएको प्रक्रियाका सम्बन्धमा समेत विभिन्न सिद्धान्त र मार्गदर्शन भएका पाइन्छन् । ती सिद्धान्त र मार्गदर्शन यस अदालत स्वयंका लागि पनि हो । यस अदालतले समेत अन्यथा अवस्था देखिन नआएसम्म समान अवस्था भएको पूर्व कानूनी व्याख्या र सिद्धान्तलाई निश्चय नै अनुसरण गर्नुपर्ने हुन्छ । त्यस्ता सिद्धान्त र व्याख्यालाई अनुसरण नगरिएमा कानूनी अन्यौलता आई कानूनी राज्यको अवधारणमा समेत वाधा पुग्न सक्दछ । पूर्व प्रतिपादित कानूनी सिद्धान्त र कानूनी व्याख्या जवसम्म पुनरावलोकनको माध्यम वा अन्य तरिकाबाट परिमार्जन  संशोधन वा परिवर्तन हुदैन तवसम्म ती सिद्धान्त वा वाख्या अनिवार्यरुपमा पालाना हुनु पर्दछ ।

२९.   यस अदालतबाट प्रतिपादित सिद्धान्त र व्याख्यातर्फ हेर्दा प्रतिवादीबाट लागूऔषध वरामद नै नभएको भए त्यसरी वरामद भएको हो भनी वरामद मुचुल्का खडा गर्नुपर्ने कारण केही हुन सक्दैन (२०५३ सालको फौ.पु.नंं १४६४, १६१३, मुद्दा लागूऔषध पुनरावेदक प्रतिवादी सन्तोष भन्ने डिकवहादुर कार्की समेत विरुद्ध प्र.ना.उ. धिरेन्द्रकुमार देवान समेतको जाहेरीले वादी श्री ५ को सरकार, फैसला मिति २०५६।१२।७।२।), प्रहरी सावितिलाई मुद्दामा दर्शाइएको घटनाक्रम  प्रमाण संकलन प्रक्रिया आदिको सन्दर्भमा मिसिल सामेल रहेको तथ्य प्रमाणसंग समग्ररुपले भिडाई हेर्नुपर्ने हुन्छ । प्रस्तुत वारदातमा चित्रण गरिएको घटनाक्रम प्रमाण संकलन प्रक्रिया वा प्रमाण जुटाउने कार्य समेतलाई दृष्टिगत गर्दा वरामदी मुचुल्कामा मौलिक त्रुटी रहेको देखिन आउँदैन (२०४६ सालको फौ.पु.नं. ३६८ मुद्दा लागूऔषध पुनरावेदक प्रतिवादी हेमराज पि.के. विरुद्ध वादी श्री ५ को सरकार, फैसला मिति २०४९।१।३१), लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ८(२) मा कुनै जग्गा वा सवारी वा अन्य कुनै ठाउँमा प्रवेश गर्दा वा खानतलाशी गर्दा समयले भ्याएसम्म सम्बन्धित नगरपंचायत वा गाउँ पंचायत वा वडा समितिका एक जना कर्मचारीलाई साक्षी राखी गर्नुपर्नेछ तर समयले नभ्याएको स्थितिमा उपरोक्त व्यक्तिहरु साक्षी नराखी गरेको वरामदी मुचुल्का नै अमान्य हुने देखिदैन । समयले भ्याए सम्म मात्र उक्त व्यक्तिहरु राख्ने व्यवस्था हो (ने.का.प. २०५०, नि.नं. ४६९,पृष्ठ ९७) लागूऔषध (नियन्त्रण) ऐन २०३३ को दफा १२ ले कुनै व्यक्तिको साथमा कुनै लागूऔषध फेला परेमा त्यस्तो पदार्थ निजले कानून बमोजिम प्राप्त गरेको वा राखेको हो भन्ने कुराको प्रमाण निजले नै पेश गर्नुपर्ने, अन्यथा अपराध गरेको मानिनेछ भनी उल्लेख भएको सन्दर्भमा वरामदी मुचुल्का, सो मुचुल्काका व्यक्तिहरुले अदालत समक्ष गरेको वकपत्र र प्रतिवादी स्वयंले अधिकार प्राप्त अधिकारीका समक्ष गरेको वयानका आधारमा निज प्रतिवादीबाट लागूऔषध वरामद भएको हो भन्ने कुरा पुष्टी भएको (ने.का.प. २०५७, नि.नं. ६८५२, पृष्ठ ९२) भन्ने निर्णय सिद्धान्त यस अदालत पूर्ण इजलास समेतबाट प्रतिपादन भै लागूऔषध( नियन्त्रण) ऐन, २०३३ को दफा ८,१२ समेतका कानूनी व्यवस्थाको व्याख्या भएको पाइन्छ । 

            ३०.   प्रस्तुत मुद्दामा माथि गरिएको विश्लेषणबाट प्रत्यर्थी प्रतिवादी गोर्डन विलियम रविन्सन २ के.जी. ३१५ ग्राम लागूऔषध सहित  सिंगापुर एयर लाइन्सको उडान नं. कत्र ४१३ को उडानद्वारा सिंगापुर हुँदै इन्डोनेसियातर्फ जाने क्रममा प्रक्राउ परेकोे भन्नेमा विवाद छैन । निजका साथबाट वरामद भएको भनिएको सो लागूऔषध विदेश भारतबाट नाम थाहा नभएका दुईजना व्यक्तिबाट अमेरिकी डलर २०,००० मा खरिद गरी काठमाडौंमा आई इन्डोनेसिया हुदैं अष्ट्रेलीया पुर्‍याई तहां विक्री गर्ने उद्देश्यले लिएर जान लागेको भन्ने कुरा वयानको क्रममा अनुसन्धान अधिकारीका समक्ष सो व्यहोरा  स्वीकार गरेको देखिन्छ । सो लागूऔषध वरामद गरी भएको वरामदी मुचुल्कामा समेत निजको हस्ताक्षर रहेको र अदालतमा भएको वयानमा समेत सो हस्ताक्षर आफूले गरेको हो भनी स्वीकार गरेको देखिन्छ । वरामद भएको लागूऔषधका सम्बन्धमा भएको वरामदी मुचुल्काका मानिसहरुले यस अदालतमा समेत आई निजले लुकाई छिपाई सो लागूऔषध लिएर जाने प्रयास गर्दाको अवस्थामा निज पक्राउ परेको भनी निज प्रतिवादीको अनुसन्धानका क्रममा भएको साविती वयान र निजले वरामदी मुचुल्कालाई स्वीकार गरी गरेको सहीछाप समेतको व्यहोरा स्वतन्त्र रुपले प्रमाणित हुन आएको देखिन्छ । निज प्रतिवादी आफूले अंग्रेजी भाषा वुझ्ने वोल्ने र लेख्ने व्यक्ति रहेका भनी वयानमा स्वीकार गरेको र अंग्रेजीमा उल्था गरी निजलाई वयान गराइएको र संझाइ वुझाई निजले स्वइच्छाले हस्ताक्षर गरेको हो भन्ने पुनरावेदकतर्फको जिकिरलाई अन्यथा अर्थ गर्नुपर्ने अवस्था देखिन आउँदैन । सो वरामद भएको लागूऔषध निजको जुत्ता र झोलामा फल्स वटम वनाई शुरक्षा निकायलाई समेत झुक्यानमा पारी अवैध तरिकाले खरिद गरि विक्री गर्ने उद्देश्यले विदेशतर्फजान लागेको तथ्य निजको वयान र अन्य प्रमाण कागजातबाट पुष्टी भइरहेको देखिन आयो । यस अवस्थामा वरामदी मुचुल्काका मानिसको वकपत्र समेतको व्यहोरा शंकास्पद भन्ने समेतकोे आधारमा निजलाई सफाइ दिने ठहर गरेको यस अदालत संयुक्त इजलासको फैसलामा माथि उल्लेख भएको ने.का.प.२०५७ समेतमा प्रतिपादित सिद्धान्त र कानूनी व्याख्याको त्रुटी विद्यमान रहेको देखिन आएकोले सो सुंयक्त इजलासको मिति २०६१।१।११ को फैसला उल्टी हुन्छ । प्रत्यर्थी प्रतिवादी गोर्डन विलियम रविन्सनलाई अभियोग दावी बमोजिम लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को खण्ड (घ)(ङ)(च) को कसूर गरेको ठहर गरी लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ को उपदफा (१) को देहाय (छ) को (३) बमोजिम १७ वर्ष कैद र १०,००,०००। रुपैयाँ जरीवाना गर्ने ठहर गरेको विशेष अदालतको फैसला सदर  हुन्छ । यस अदालतको फैसलाको तपसिल बमोजिमको कार्य गर्नुपर्ने नहुंदा सो को लगत कट्टा गर्नु भनी र विषेश अदालत काठमाडौंको फैसलाको तपसिल बमोजिमको फैसला कार्यान्यवन गर्नु भनी शुरुमा लेखी पठाई नियमानुसार गरी मिसिल बुझाई दिनु । 

 

उपर्यक्त रायमा सहमत छौं ।

 

न्या.केदारप्रसाद गिरी

न्या.चन्द्रप्रसाद पराजुली

 

 

इति सम्वत् २०६१ साल कार्तिक २६ गते रोज ५ शुभम्––––––

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु