निर्णय नं. ७४२४ - लागूऔषध (अफिम खेती)

निर्णय नं.७४२४ ने.का.प.२०६१ अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
माननीय न्यायाधीश श्री बलिरामकुमार
सम्वत् २०५८ सालको फौ.पु.नं. .....२१०४
फैसला मितिः २०६०।१२।३०।
मुद्दाः लागूऔषध (अफिम खेती)
पुनरावेदक
वादीः प्र.स.नि. कृष्णवहादुर गुरुङ्गको प्रतिवेदनले श्री ५ को सरकार
विरुद्ध
प्रत्यार्थी
प्रतिवादीः जि.वारा कवहिगोठ गा.वि.स. वा.नं. ७ वस्ने अमिचन राउत समेत
§ अ.वं. ७२ नं. वमोजिम जस्को हकमा कारवाही गर्नुपर्ने हो सो को हकमा अभियोगपत्र स्वीकार गरी अर्को वारदात र प्रतिवादीको हकमा छुट्टै अभियोगपत्र लिई आउनु भन्ने आदेश गर्नुपर्नेमा दुवै प्रतिवादीको हकमा दायर हुन आएको अभियोग पत्र स्वीकार गरी लिइसकेको अवस्थामा पुरै अभियोगपत्र अ.वं. ७२ नं. ले खारेज गर्न मिल्दैन पहिलो क्रमको प्रतिवादीको हकमा यसै अभियोगपत्रवाट निर्णय गर्नुपर्ने हुँदा अभिचन राउतको हकमा इन्साफ दिनुपर्ने ।
§ ३० वोट अफिम वरामद गर्दा मौकामा यी प्रतिवादी पनि रोहवरमा वसी उक्त मुचुल्कामा सहीछाप समेत गरिदिएको अवस्थामा लागूऔषध ( नियन्त्रण ) ऐन २०३३ को दफा ८ को प्रयोजनको लागि उक्त वरामदी मुचुल्कालाई अन्यथा भन्न मिल्ने अवस्था देखिन नआउने।
§ लागूपदार्थ (नियन्त्रण) ऐन २०३३ को दफा १२ वमोजिम खेती गरेको जग्गामा लागु पदार्थ फेला परेमा कानून वमोजिम आदेश प्राप्त गरी खेति गरेको वा राखेको हो भन्ने कुराको प्रमाण प्रतिवादीले नै पुर्याउनु पर्नेमा त्यस्तो कुनै सवूत प्रमाण प्रस्तुत गर्न सकेको देखिएन । ऐनले नै वैधताको प्रमाण पुर्याउनु पर्ने दायित्व सुम्पिएको यी प्रतिवादीले आफ्नो दायित्व पुरा गर्न नसकेको अवस्थामा वरामद भएको परिमाणमा अवैध रुपमा लागु पदार्थ अफिम खेती गरेको होइन भन्न नमिल्ने ।
पुनरावेदक वादीतर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री शरद खड्का
प्रत्यर्थी प्रतिवादीतर्फवाटः
अवलम्वित नजिरः
फैसला
न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत हेटौडावाट मिति ०५४।११।२१ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) अन्तर्गत निस्सा प्रदान भै पुनरावेदन दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार रहेको छ ।
२. मिति ०५१।११।२२ गतेका दिन जिल्ला बारा गा.वि.स. प्रसुरामपुर वडा नं. २ वस्ने किसुन राउतको नम्वरी जग्गा ज.वि. ०–१–० मा पूर्व पट्टि प्याज, वकुला, र सिमिको वीच वीचमा लगाइएको अफिमको बोट ९० उखेलि वरामद गरिएको भन्ने वरामदी मुचुल्का ।
३. मिति ०५१।११।२२ गतेका दिन जिल्ला बारा गा.वि.स. कवहीगोठ वडा नं. ७ वस्ने अभिचन राउतले आफ्नो नम्वरी ज.वि. ०–१–० मा पूर्व पट्टि प्याज बकुला सिमिको वीचमा लगाइएको ३० वोट गाजा सहितको अफिमको बोट उखेलिएको जग्गाधनी अभिचन राउतलाई पक्राउ गरी निजको रोहवरमा भएको वरामदी मुचुल्का ।
४. किसुन राउत र अभिचन राउतको खेत एक कठा जग्गा मध्ये किसुन राउतको खेतवाट ९० वोट तथा अभिचन राउतको खेतवाट दाना सहितको ३० वोट अफिम पक्राउ परी निज प्रतिवादीहरुलाई पक्राउ गरी वरामदी मुचुल्का साथ पेश गरेका छौ भन्ने समेतको प्र.स.नि. कृष्णवहादुर गुरुङ्ग समेतको प्रतिवेदन ।
५. म आफ्नो जग्गामा आफैले लगाएको अफिम खेती प्रहरीले वरामद गरेको हो म वेमारी भएको कारणले औषधीको निमित्त खादैछु दुखाई कम हुने भएकोले थोरै पिउने गर्दछु । अफिम खेति गर्नु हुदैन भन्ने मलाई थाहा नभएकोले ओषधीको रुपमा गाँजा लगाएको हो भन्ने समेतको प्रतिवादी अभिचन राउतले अनुसन्धान अधिकारी समक्ष गरेको वयान ।
६. मेरो खेतमा अफिम खेती लगाएको छैन के कसरी वरामद भयो मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्र. किसुन राउत अहिरले अनुसन्धान अधिकारी समक्ष गरेको वयान ।
७. डोरमा दाखेल भएको प्रतिवादी किसुन राउत र अभिचन राउतले अफिम खेति गरेका छैनन र निजहरु गाजाको व्यापार ओसारपसार समेत गर्ने मानिस होइनन भन्ने समेत सरजमिन मुचुल्का ।
८. प्रतिवादीहरु किसुन राउत अहिर र अभिचन राउतले आ–आफ्नो खेतमा अफिम लगाएको भन्ने प्रमाणवाट पुष्टि हुन आएकोले निजहरुलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ को संशोधन सहितको दफा १४ (१) देहाय (च) को २ अनुसार सजायं भई उक्त कि.नं. १६९ किसुन राउतको र कि.नं. ११७ को अभिचन राउतको जग्गा समेत जफतको माँग दावि भएको अभियोग पत्र ।
९. मलाई देखाइएको अफिम मेरो खेतवाट तथा म वाट समेत वरामद भएको होइन मैले अफिम खेती गरेको छैन । प्रहरीले आफ्नो मनले व्यहोरा लेखि डर धाक देखाई सहि गराएका हुन । वयान पढाएर सुनाएन भन्ने समेत व्यहोराको अभिचन राउत ले बारा जिल्ला अदालत समक्ष गरेको वयान ।
१०. मैले मेरो जग्गामा अफिम लगाएको मैले विक्रि वितरण वा सेवन पनि गर्दिन वरामद भएको अफिम समेत म बाट वरामद भएको होइन । प्रहरीले मलाई विहान पख दिशा गर्न वाहिर निस्कदा पक्राउ गरेका हुन भन्ने समेतको प्र. किसुन राउत अहिरको बारा जिल्ला अदालत समक्ष गरेको वयान ।
११. वरामद भएको अफिमको बोटहरु प्रतिवादीहरुको रोहवरमा निजहरुकै खेतवाट वरामद भएको हो भर भलादमीलाई वोलाउदा नआएकोले रोहवरमा नराखिएको हो भन्ने समेतको प्रतिवेदक प्र.ज. यज्ञप्रसाद भुसाल, डालचन्द्र अधिकारी प्र.ना.नि. कृष्णवहादुर गुरुङ्ग, दुर्गा शरण झा समेतले अदालत समक्ष गरेको वकपत्र ।
१२. सरजमिनका मानिसहरु जगदिश अहिर, राम दयाल राउत अहिर, जयलालप्रसाद महादेव राय यादव, सम्पतलाल यादवले एकै मिलान व्यहोरावाट अफिम कहाँवाट र कसवाट वरामद भयो थाहा छैन । प्रतिवादीहरुको खेतमा अफिम छैन र निजहरुको खेतवाट वरामद भएको होइन भन्ने समेतको अदालत समक्ष गरि दिएको वकपत्र ।
१३. प्रहरीले अफिम कहाँवाट ल्याए हामीलाई थाहा छैन, निजहरुको खेतमा अफिम लगाएको थिएन र निजहरुको खेतवाट अफिम वरामद भएको समेत होइन वरामदी मुचुल्का झुठा हो भन्ने समेतको प्रतिवादी किसुन राउत अहिरको साक्षी रामलाल पंडिन, प्र. अभिचन राउतको साक्षी शिव पुजन राउत अहिरले एकै मिलान व्यहोरामा गरेको वकपत्र ।
१४. अ.वं. ७२ नं. को प्रतिकूल एउटै अभियोगपत्रवाट दावि लिएको देखिंदा प्रतिवादी अभिचन राउत उपरको अभियोग दावि खारेज हुने ठहर्छ र अर्का प्रतिवादी किसुन राउत अहिरको हकमा केवल प्रहरी प्रतिवेदन र अदालतमा आई गरि दिएको वकपत्रको आधारमा कसूर गरेको भनि ठहर गर्न न्यायोचित नभएकोले निज उपरको दावी र जग्गा जफत गरि पाउं भन्ने दावी समेत पुग्न नसक्ने ठहर्छ भन्ने शुरु वारा जिल्ला अदालतको मिति ०५४।३।३ को फैसला ।
१५. मुलुकी ऐन अ.वं. ७२ मा जतिसुकै मानिस उपर एउटै झगडाको विषयको कुरा लेखिल्याएको एकै फिरादपत्रवाट इन्साफ गर्नु पर्छ भन्ने समेत स्पष्ट व्यवस्थाको र प्रतिवादी मौकामा पक्राउ परेको वरामदी मुचुल्कामा रोहवरमा वसी सहीछाप गरेको जस्ता प्रमाणलाई मूल्यांकन नगरी गरिएको शुरु वारा जिल्ला अदालतको फैसला गम्भीर त्रुटिपूर्ण छ अतः उक्त फैसला उल्टी गरी शुरु अभियोग माग दावि बमोजिम प्रतिवादीहरुलाई सजायँ गरिपाउं भन्ने वादी श्री ५ को सरकारतर्फवाट पुनरावेदन अदालतमा परेको पुनरावेदन ।
१६. मिति ०५१।११।२२ गते वरामदी मुचुल्काअनुसार प्रतिवादी किसुन राउत अहिरको खेतवाट लागूऔषध वरामत भएको भनी देखिएको र सो वरामदी मुचुल्का प्र. किसुन राउतको रोहवरमा भएको देखिनाले निज माथिको दावि पुग्न नसक्ने भनी र प्रतिवादी अभिचन राउतको हकमा अ.वं. ७२ नं.अनुसार खारेज हुने भनी भएको शुरु बारा जिल्ला अदालतको फैसला फरक पर्न सक्ने हुँदा विपक्षी झिकाउनु भन्ने पुनरावेदन अदालत हेटौडाको आदेश ।
१७. प्रतिवादीहरु छुट्टाछुट्टै स्थानका वासिन्दा भै छुट्टाछुट्टै वरामदी मुचुल्का भएकोमा एउटै अभियोग पत्रवाट मुद्दा चलाएको हुँदा प्र. अभिचन राउतको हकमा दावी खारेज गरेको मिलेकै देखिन आयो । अर्का प्रतिवादी किसुन राउतका हकमा यस अदालतवाट अ.वं. २०२ नं. अनुरुप विपक्षी झिकाउने आदेश गर्दा लिएको आधारसंग सहमत हुन सकिएन । अतः शुरु बारा जिल्ला अदालतवाट भएको फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको मिति ०५४।११।२१ को फैसला ।
१८. पुनरावेदन अदालत हेटौडावाट शुरुको इन्साफ मुनासिव ठहर्याई भएको फैसलामा कानूनको व्याख्या सम्वन्धी प्रश्नमा गंभीर कानूनी त्रुटी विद्यामान हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को आधारमा मुद्दा दोहर्याई हेरी उक्त फैसला वदर गरी प्रतिवादीहरुलाई अभियोग दावी बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारकोतर्फवाट यस अदालतमा परेको निवेदन ।
१९. अ.वं. ७२ नं. मा “फिराद लिंदा देवानी फौज्दारी मुद्दाको छुट्टछुट्टै लिनु पर्छ लेखिए भन्दा वढ्ता कुरा एउटै फिरादपत्रमा लेखि ल्याएको रहेछ भने फिरादपत्र फिर्ता गर्न भने हुँदैन । फिरादपत्रवाट जति कुराको इन्साफ गर्नु नपर्ने हो उति कुरा सोही फिरादपत्रमा शीरमा लेखि हाकिमले दस्तखत गरी सो इन्साफ गर्नु नपर्ने भएको जति कुरा फिरादपत्रवालालाई थाहा हुना निमित्त सोही फिरादपत्रको भरपाइमा लेखी दिनु पर्छ” भन्ने उल्लेख भएको देखिन्छ । यसवाट फिरादपत्रवाला दुनिया वादी प्रकृतिको भई प्राकृतिक वा कानूनी व्यक्तिहरु वीच चलेको मुद्दामा यो व्यवस्था प्रयुक्त हुने भई सरकार वादी हुने फौज्दारी मुद्दाको सिलसिलामा लागु हुने नदेखिएकोले प्र. अभिचन राउतको हकमा खारेज गर्ने गरेको र लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा ८ बमोजिम लागूऔषध सम्वन्धी मुद्दामा वरामदी मुचुल्का तयार गर्ने विशेष कार्यविधि प्रयोग हुनेमा वरामदी मुचुल्कामा अ.वं. १७२ नं. अन्तर्गतको सामान्य कार्यविधिको रीत नपुगेको भनी प्र. किसुन राउतलाई सफाइ दिने गरी पुनरावेदन अदालतवाट भएको फैसला मा अ.वं. ७२ नं. र लागूऔषध नियन्त्रण ऐन, ०३३ को दफा ८ को त्रुटी एवं श्री ५ को सरकार विरुद्ध भरत राई भएको लागूऔषध मुद्दामा यस अदालतवाट प्रतिपादित सिद्धान्त ( ने.का.प.०५० अंक २ पृ ९७) समेतको विपरीत देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को (क) र (ख) को आधारमा प्रस्तुत मुद्दा दोहर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालतको मिति ०५६।५।३०।४ को आदेश ।
२०. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारतर्फवाट रहनुभएका विद्वान उपन्यायाधिवक्ता श्री शरद खड्काले मुलुकी ऐन अदालती वन्दोवस्तको ७२ नं. को आशय देवानी र फौज्दारी विषयको एकै फिरादपत्रवाट सुनुवाइ हुन सक्दैन भन्ने भएको तर प्रस्तुत मुद्दाका दुवै प्रतिवादी एकै दिन एकै समयमा एकै गस्तीटोलीले अफिमको बोट वरामद गरेको देखिंदा एउटै वारदात भएको मान्नुपर्ने हुन्छ । तसर्थ शुरु र पुनरावेदन अदालतवाट अ.वं. ७२ नं. को गलत व्याख्या गरी प्र. अभिचन राउतको हकमा दावी खारेज गर्ने फैसला भएको छ, उक्त अदालतवाट अ.वं. १७२ नं. को आधारमा वरामदी मुचुल्का । रीतपूर्वको नभएको भन्ने ठहर भएको छ, जुन लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा ८ को विपरीत छ तसर्थ उक्त दुवै फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग माग दावी बमोजिम सजायँ हुनुपर्छ भनी गर्नु भएको वहस सुनियो ।
२१. पेश हुन आएको पुनरावेदनपत्र सहितको मिसिल कागजात अध्ययन गरी पुनरावेदक वादीतर्फवाट उपस्थित विद्वान उपन्यायाधिवक्ताको वहस समेत मध्यनजर गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत हेटौडावाट मिति ०५४।११।२१ मा भएको फैसला मिलेको छ, छैन भनी निर्णय दिनुपर्ने हुन आयो ।
२२. निर्णयतर्फ विचार गर्दा आ–आफनो जग्गामा अफिम खेती गरेको भनी प्र. किसुन राउत अहिर र अभिचन राउतका उपर लागूऔषध ( नियन्त्रण) ऐन, २०३३ को दफा १४(१) को देहाय (च) को २अनुसारको कसूरमा सोही दफा बमोजिम सजायँ गरी अफिम खेती गरेको जग्गा सोही ऐनको दफा १८ नं. बमोजिम जफत गरि पाउँ भन्ने अभियोग दावी रहेको यस मुद्दामा मुलुकी ऐन अ.वं. ७२ नं. बमोजिम प्र. अभिचन राउतको हकमा दावी खारेज हुने र प्र. किसुन राउत अहिर उपरको अभियोग दावी पुग्न नसक्ने गरी शुरु वारा जिल्ला अदालतवाट भएको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौडाको फैसला उपर वादी श्री ५ को सरकारतर्फवाट मुद्दा दोहर्याई हेरी पाउंभनी परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को आधारमा दोहर्याई हेरिदिने निस्सा प्रदान भै पुनरावेदन दायरीमा दर्ता भै पेश हुन आएको रहेछ ।
२३. अभियोग लगाइएका दुईजना प्रतिवादीहरु मध्ये प्रतिवादी किसन राउत अहिरको मिति ०५६।७।१ गते मृत्यु भै सकेको मिसिल संलग्न मृत्यु दर्ताको प्रमाणपत्रवाट देखिएको हुँदा अ.वं. १७६ नं. तथा दण्ड सजायको ३ नं. ले केही गरिरहनु परेन ।
२४. प्रतिवादी अभिचन राउतका सम्वन्धमा विचार गर्दा जि. वारा कवहीगोट गा.वि.स. वार्ड नं. ७ कि.नं. ११७ को प्र. अभिचन राउतको जग्गावाट ३० वोट अफिम वरामद भएको तथा प्र. किसुन राउतको जि. वारा प्रर्शुराम पुर गा.वि.स. वडा नं. २ को कि.नं. २६९ को जग्गावाट ९० थान अफिम वरामद भै दुई अलगअलग वरामदी मुचुल्का तयार गरी अन्य अनुसन्धान कारवाही एकै साथ गरी एकै अभियोग पत्रवाट मुद्दा दायर गरिएको देखिन्छ । सम्वन्धीत जिल्ला अदालतवाट समेत सोही अभियोग पत्रवाट कारवाही गरी फैसला गर्ने क्रममा दुई व्यक्तिको अलगअलग गा.वि.स.मा रहेको अलगअलग जग्गामा छुट्टाछुट्टै वरामदी मुचुल्का खडा भएकोमा एकै अभियोगपत्रमा मुद्दा दायर गरेको अ.वं. ७२ नं. प्रतिकूल भएको भनि प्र. अभिचन राउतको हकमा दावि खारेज गरेको पाइयो । उक्त ७२ नम्वरमा “फिरादपत्र लिंदा देवानी फौज्दारी मुद्दाको छुट्टाछुट्टै लिनु पर्छ सो वाहेक एउटै फिरादपत्रमा एउटै मानिसले एउटै मानिस उपर जतिसुकै झगडाका विषयको कुरा लेखी ल्याएको र जतिसुकै मानिसले जतिसुकै मानिस उपर एउटै झगडाका विषयको कुरा लेखी ल्याएको भए पनि लिई सो बमोजिम सबै कुराको सोही फिरादपत्रवाट इन्साफ गर्नु पर्छ । लेखिए भन्दा वढता कुरा एउटै फिरादपत्रमा लेखि ल्याएको रहेछ भने फिरादपत्र फिर्ता गर्न भने हुदैन । वढी जति लेखि ल्याएको कुराको यस फिरादपत्रवाट इन्साफ गर्न नपर्ने अरु अड्डा वा यसै अड्डावाट अर्को फिरादपत्र दिए मात्र इन्साफ गर्नु पर्ने भनी सो फिरादपत्रवाट जति कुराको इन्साफ गर्नु नपर्ने हो उति कुरा सोही फिरादपत्रका शिरमा लेखी हाकिमले दस्तखत गरी सो इन्साफ गर्नु नपर्ने भए जति कुरा फिरादपत्रवालालाई थाहा हुना निमित्त सोही फिरादपत्रको भरपाईमा लेखी दिनु पर्छ” भनि उल्लेख भएको पाइन्छ । अ.वं. ७२ नं. बमोजिम एकै फिरादवाट मुद्दा दायर गर्न ल्याएकोमा पनि फिराद फिर्ता नगरी वढी लेखि ल्याएको जतिमा अर्को फिरादपत्र दिएमात्र इन्साफ गर्नुपर्ने भनि सो फिरादपत्रको शीरमा लेखि फिरादपत्रवालालाई थाहा हुन निमित्त सोही फिरादपत्रको भरपाईमा लेखि दिनुपर्ने समेतका प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । तर यस मुद्दामा उल्लेख भए बमोजिम केही नगरी अभियोगपत्र स्वीकार गरी अन्तमा मात्र एक जना अभियुक्तका हकमा अभियोग दावीनै खारेज गरेको देखियो । त्यसरी दावी खारेज गर्दा अभिचन राउतकै हकमा के आधारमा खारेज गरेको हो उक्त फैसलामा उल्लेख भएको देखिएन । अ.वं. ७२ नं. मा एउटै फिरादवाट इन्साफ गर्न नपर्ने मुद्दाका अंशहरु पृथक गर्दा के कस्तो आधारमा पृथक गर्नुपर्ने हो भन्ने सम्वन्धमा स्पष्ट उल्लेख भएको देखिंदैन । अर्थात् इन्साफ गर्नुपर्ने अंश र इन्साफ गर्नु नपर्ने अंश भनि छुट्याउने आधार किटान गरेको पाइदैन । मुद्दा फैसला गर्ने अधिकारीले इन्साफ गर्नुपर्ने अंश भनि स्वविवेकमा छुट्याउन न्यायोचित पनि हुदैन । यस अदालतवाट मदनलाल अग्रवाल समेत विरुद्ध कर विभाग समेत भएको उत्प्रेषणको आदेश जारी गरी पाउं भन्ने मुद्दा (ने.का.प. २०२५, पृष्ठ २७३, निर्णय न ४४२) मा “छुट्टाछुट्टै विषयमा आफ्नो आफ्नो हक आघात परेको भए सो प्रचलनका लागि छुट्टाछुट्टै निवेदन दिनुपर्नेमा २३ जनाको एउटै निवेदनवाट सवैका हकमा कार्वाही चलाई निर्णय गर्न नमिल्ने हुँदा निवेदकहरुको नाम लेखिएको क्रममा सवै भन्दा पहिलो क्रमको व्यक्तिको हकमा मात्र निर्णय दिनु पर्छ” भनि पहिलो क्रमलाई प्राथमिकता दिएको पाइन्छ । पहिलो क्रमलाई कायम राखी तत्पश्चातको प्रतिवादी वा मुद्दाको विषयलाई इन्साफ गर्नु नपर्ने गरी पृथक गर्दा वढी न्याय पूर्ण र वस्तुगत हुनुको अतिरिक्त उक्त प्रतिपादित सिद्धान्तको आसय अनूकुल समेत हुने देखिन्छ । वेग्ला वेग्लै प्रतिवादीहरुका आ–आफ्नो खेतमा अफिमको खेती गरिएको अवस्थामा खेति भएको वेग्ला वेग्लै वरामदी मुचुल्कावाट मुद्दाको उठान गरी एउटै अभियोगपत्रवाट प्रस्तुत मुद्दा दायर गरेको देखिन्छ । त्यसरी आ–आफ्नो वेग्ला वेग्लै गा.वि.स.मा रहेको आ–आफ्नो जग्गामा गरिएको अफिम खेतीको वरामदी मुचुल्कावाट कारवाही भएको अवस्थामा वेग्ला वेग्लै वार्दात देखिन आई छुट्टाछुट्टै अभियोग दायर गर्नुपर्नेमा एउटै अभियोग पत्रवाट दायर गरिएको हुँदा अ.वं. ७२ नं. बमोजिम जस्को हकमा कारवाही गर्नुपर्ने हो सो को हकमा अभियोगपत्र स्वीकार गरी आर्को वारदात र प्रतिवादीको हकमा छुट्टै अभियोगपत्र लिई आउनु भन्ने आदेश गर्नुपर्नेमा दुवै प्रतिवादीको हकमा दायर हुन आएको अभियोग पत्र स्वीकार गरी लिई सकेको अवस्थामा पुरै अभियोगपत्र अ.वं. ७२ नं. ले खारेज गर्न मिल्दैन पहिलो क्रमको प्रतिवादीको हकमा यसै अभियोगपत्रवाट निर्णय गर्नुपर्ने हुँदा अभिचन राउतको हकमा इन्साफ दिनुपर्ने हुन आउछ । तर शुरु र पुनरावेदन अदालतले निजको हकमा खारेज गरेको हुँदा उक्त निर्णय मिलेको देखिएन ।
२५. प्रतिवादी अभिचन राउतको हकमा अभियोग दावी पुग्ने हो वा होइन भन्ने सन्दर्भमा विचार गर्दा यी प्रतिवादीले आफ्नो खेतवाट अफीम वोट ३० वरामद भएको होइन भनी दावीको कसूरमा अदालत समक्ष इन्कारी वयान गरेको देखिन्छ । निजकातर्फवाट उपस्थित तथा वुझिएका व्यक्ति तथा सर्जमिनका मानिसहरुले समेत वरामदी मुचुल्का तथा अभियोग दावी झुट्ठाहो भनी वकपत्र गरे तापनि आफूहरुले निजको खेतवाट उक्त अफिम विरुवा वरामद गरेको हो भनी वरामदी मुचुल्का तयार गर्ने प्र.ना.नि. कृष्णवहादुर गुरुंग, यज्ञप्रसाद भूसाल, डालचन्द्र अधिकारी समेतले अदालतमा वकपत्र गरीदिएको देखिन्छ । साथै निजहरुले रोहवरमा वस्न स्थानिय पदाधिकारीलाई वोलाउंदा उपस्थित नभएको भनी आफ्नो वकपत्रमा उल्लेख गरिदिएको, जि. वारा कवहीगोठ गा.वि.स.वा.न. ७ स्थित प्र. अभिचन राउतको खेतवाट उक्त ३० वोट अफिम वरामद गर्दा मौकामा यी प्रतिवादी पनि रोहवरमा वसी उक्त मुचुल्कामा सहीछाप समेत गरिदिएको अवस्थामा लागूऔषध (नियन्त्रण) ऐन २०३३ को दफा ८ को प्रयोजनको लागि उक्त वरामदी मुचुल्कालाई अन्यथा भन्न मिल्ने अवस्था देखिन आएन । अदालत समक्षको वयानमा उक्त वरामदी मुचुल्कामा प्रहरीले डर धाक देखाई वरामद गरेको हो भनी लेखाएकोमा सो को कुनै सवुत प्रमाण खुलाउन सकेको देखिंदैन । निजले अदालत समक्ष इन्कारी वयान गरे तापनि अनुसन्धान अधिकारी समक्ष अफिम लगाएको. हो भनी दावीको कसूर स्वीकार गरेको नै देखियो । लागूपदार्थ (नियन्त्रण) ऐन २०३३ को दफा १२ वमोजिम निजले खेती गरेको जग्गामा लागु पदार्थ फेला परेमा कानून वमोजिम आदेश प्राप्त गरी खेति गरेको वा राखेको हो भन्ने कुराको प्रमाण निजलेनै पुर्याउनु पर्नेमा त्यस्तो कुनै सवूत प्रमाण प्रस्तुत गर्न सकेको देखिएन । ऐनले नै वैधताको प्रमाण पुर्याउनु पर्ने दायित्व सुम्पिएको यी प्रतिवादीले आफ्नो दायित्व पुरा गर्न नसकेको अवस्थामा वरामद भएको परिमाणमा अवैध रुपमा लागु पदार्थ अफिम खेती गरेको होइन भन्न मिल्ने देखिएन । तसर्थ यी प्रतिवादी अभिचन राउतले जि. वारा कवहीगोठ गा.वि.स. वा.न. ७ कि.न ११७ को जग्गा मा अवैध रुपमा लागूऔषध अफिम खेती गरी लागूऔषध (नियन्त्रण) ऐन २०३३ को दफा ४ (ख) को कसूर गरेको देखिनाले निजलाई सोही ऐनको दफा १४(१) को देहाय (च) को देहाय (२) वमोजिम तीन वर्ष कैद र पच्चीस हजार जरिवाना हुन्छ । अफिम खेति गरेको कि.नं.११७ को जग्गा जफत गरीपाउं भनी लिएको वादी दावी सन्दर्भमा विचार गर्दा अभियोग पत्रमा उक्त ऐनको दफा १८ (क) बमोजिम भनी उक्त जग्गा जफत गरी पाउँ भनी दावी लिइएको छ । तर दफा १८ (क) मा लागु पदार्थ उत्पादन गरिएको जग्गा जफत हुन सक्ने व्यवस्थानै नभएकोले सो सम्वन्धमा अभियोग माग दावी नपुग्ने ठहर्छ ।
२६. तसर्थ माथि उल्लेख भए बमोजिम प्रतिवादी अभिचन राउतका हकमा समेत इन्साफ वोल्नु पर्नेमा निजका हकमा अभियोग दावीनै खारेज गर्ने गरेको शुरु वारा जिल्ला अदालतको फैसला र सोलाई सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको मिति ०५४।११।२१ को फैसला उल्टी हुन्छ अन्य कुराका हकमा तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम प्रतिवादी अभिचन राउतलाई ३ वर्ष कैद र रु.२५,०००। जरीवानाको सजायँ हुने ठहरेको र निज वेरुजु हुँदा उक्त कैद र जरीवानाको लगत कसी कानून बमोजिम असूल उपर गर्नु भनी शुरु बारा जिल्ला अदालतमा लेखि पठाई दिनु .....१
दायरीवाट यस मुद्दाको लगत कट्टा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ............ २
उक्त रायमा सहमत छु ।
न्या.वलिरामकुमार
इजलास अधिकृत : रीतेन्द्र थापा
इति सम्वत् २०६० साल चैत्र ३० गते रोज शुभम्................ ।