शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८७७४ - घर उठाई खिचोला मेटाई चलन

भाग: ५४ साल: २०६९ महिना: जेष्ठ अंक:

ने.का.प. २०६९,            अङ्क २

निर्णय नं. ८७७४

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रेम शर्मा

माननीय न्यायाधीश श्री कमलनारायण दास

संवत् २०६४ सालको दे.पु.नं. २११

फैसला मितिः २०६७।७।२२

मुद्दा :घर उठाई खिचोला मेटाई चलन 

पुनरावेदक वादीः जिल्ला मोरङ्ग विराटनगर उपमहानगरपालिका वडा नं. १७ रानी सिकियाही     टोलमा बस्ने सन्तोष स्वर्णकार

विरुद्ध

विपक्षी प्रतिवादीः जि.मोरङ्ग बिराटनगर उ.म.न.पा. वडा नं. १७ बस्ने गंगा महतो समेत

शुरु फैसला गर्ने :

मा.न्या.श्री तेजबहादुर कार्की

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री दीपककुमार कार्की

मा.न्या.श्री केदारप्रसाद चालिसे

 

§  कसैले कुनै सम्पत्ति आफ्नो भन्ने हैसियतमा निरन्तररुपमा भोग गरिरहेको हुन्छ र त्यसउपर वैध स्वामित्ववालाले थाहा पाएर पनि त्यस्तो भोगलाई मौन सम्मति प्रदान गर्दछ भने त्यसबाट भोगकर्ताको भोगाधिकार सिर्जना हुनसक्ने 

§  बलपूर्वक, चोरी क्रिया, अनुरोध वा विशेष आग्रहको अभावमा अर्काको जग्गामा दीर्घ भोग नै वास्तविक प्रतिकूल भोग (Adverse Possession) को स्थापित आधार हो भनी मान्न सकिन्छ । प्रतिकूल भोग स्थापित गर्न भोगको अटुट निरन्तरता परम आवश्यक तत्व मानिने 

(प्रकरण नं.५)

§  ४० औ वर्षदेखि घर बनाई भोग चलन गरी आएकोमा सो जग्गाबाट घर उठाई पाऊँ भनी समयमा नै कानूनी उपचारमा नआई जग्गाको भोगचलनलाई मौन सम्मति प्रदान गरेको अवस्थामा केवल २०६० सालमा मात्र आफ्नो जग्गामा खिचोला गरी घर बनाई बसोबास गरेको भन्ने कथन ठोस प्रमाणबाट पुष्टि हुन नसक्ने 

(प्रकरण नं.४०)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री मणिराम निरौला

विपक्षी प्रतिवादी तर्फबाटः

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

 

फैसला

            न्या.प्रेम शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ :

            साविक दर्तावाल प्रतिवादी धुनीदेवीको ससुरा गंगा महतोको पिता कारी नुनिया महतोका नाममा साविक रै.नं. ३७४ को गोग्राहा मौजे रानी सिकियाहीको जग्गा सर्वे नापी हुँदा विराटनगर ११ (क) कि.नं. ९३ को ०१५ जग्गा मध्ये मेरा पति हनुमान मल्ललाई विभिन्न मितिमा दा.खा. हुँदा उक्त कि.नं. ९३ कित्ताकाट भई कि.नं. २४१ को ज.वि. ०½  र कि.नं. ३३० को ०३ १/२ समेत जम्मा ज.वि. ०१० जग्गा मेरो पतिको नाममा दर्ता हुन आएको हो उपरोक्त जग्गामा कुनै घर बसोबास केही थिएन । पछि पति तथा पतिका दाजुभाइ बीच एक आपसमा अंशवण्डा हुँदा कि.नं. ८३५ ज.वि. ० ¼  र कि.नं.८३७ को ० ¾  गरी जम्मा ०१० जग्गा देवर दिनेशकुमारको अंश भागमा परी निजबाट मैले २०५९।८।५ मा राजीनामा गराई सो दुवै कित्ता जग्गा मैले खरीद गरी लिएको विवादरहित हकभोगको घर नभएको खाली जग्गा थियो । म फिरादी र मेरा पति भारतको विहारमा निम्ता मान्न मिति २०६०।८।७ मा गएको र घरमा कोही नभएको मौका पारी ऐ. ८ गतेका दिन विहान ७ बजेबाट नौला ७,८ जना मिस्त्री समेतको मद्दतमा उपरोक्त जि. मोरङ्ग विराटनगर उपमहानगरपालिका वडा नं. १७ मा पर्ने कि.नं.८३५ को पूर्व तर्फबाट ०२ घर जग्गा र कि.नं.८३७ को ०¾ ससिम कित्ता समेत जम्मा ०¾ जग्गामा पूर्व उत्तरको सँधियार यी दुवै प्रतिवादीहरूले मेरो जग्गा खिचोला गरी चापी कर्ची बाँसको भित्ता लगाई, सेतो कर्कट पाताको छाना लगाई, अगाडिको बरण्डामा टालीको छाना लगाई बनाएको १ कोठाको घर १, र बाँस कर्चीको टाटी बेरा लगाई फुसको छाना उखु पत्ताको गाह्रो भएको घर १ समेत २ वटा घर मिति २०६०।८।१४ गतेका दिन सम्ममा तयार गरी प्रतिवादी र निजका परिवार समेत बस्न थालेको हुँदा गाउँका भरभलादमी समेत राखी छलफल गर्दा गराउँदा समेत घर हटाई मेरो जग्गा खाली नगरिदिएकोले घर बनाउनेको ११ नं. को हदम्यादभित्र प्रस्तुत फिराद गरेको छु । घर बनाउनेको ४ नं. बमोजिम घर हटाउन लगाई जग्गा खाली गराई चलन समेत चलाई पाऊँ भन्ने समेत व्यहोराको वादी सन्तोष स्वर्णकारको मिति २०६१।२।१० को फिराद पत्र 

            वादी दावी विल्कुल झूठा तथा बनावटी मात्र हो । हामी प्रतिवादीहरूले वादीको कि.नं. ८३५ र ८३७ को जग्गा खिचाला नगरी साविकदेखि म प्रतिवादी मध्येकी धुनिदेवी महतो नामदर्ताको कि.नं. १२०२ को जग्गामा घर बनाई बसोबास गर्दै आएका छौँ । गाउँघरको रिसइबिले दुःख दिने नियतले प्रस्तुत झूठा मुद्दा दिएको मात्र हो । झूठा दावीबाट फुर्सद दिलाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरू धुनीदेवी महतो र गंगा महतोको मिति २०६१।४।१५ को संयुक्त प्रतिउत्तर पत्र 

            प्रतिवादीहरूले मिति २०६०।८।८ गते देखि ऐ.१४ गते सम्ममा वादीको कि.नं. ८३५ र ८३७ को जग्गा मिची २ थान घर निर्माण गरेको हो भन्ने समेत व्यहोराको वादीको साक्षी कुमार थापा क्षेत्रीको बकपत्र 

            विवादित जग्गामा पहिलेदेखि नै प्रतिवादीहरूको घर बसोबास थियो । प्रतिवादीहरूले खिचोला गरी घर बनाएको होइन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी शुभकलाल मण्डलले गरीदिएको बकपत्र 

            वादी दर्ताको कि.नं. ८३७ को जग्गामा प्रतिवादीहरूले अनाधिकार घर बसोबास गरेको देखिएकोले मिसिल संलग्न नाप नक्सा मुचुल्काको न.नं. ७ अंकित कि.नं. ८३७ को ज.वि. ०¾  मा प्रतिवादीहरूले खिचोला गरेको ठहर्छ । सो ठहर्नाले उक्त न.नं. ७ को जग्गाबाट प्रतिवादीको घर हटाई उक्त जग्गा वादी सन्तोष स्वर्णकारले भोग चलन गर्न पाउने ठहर्छ । तथ्य प्रमाणको अभावमा कि.नं. ८३५ को जग्गाको हकमा फिराद दावी पुग्न नसक्ने ठहर्छ भन्ने शुरु मोरङ्ग जिल्ला अदालतको मिति २०६२।१।१८ को फैसला 

            शुरु जिल्ला अदालतले कि.नं. ८३५ को जग्गामा दावी पुग्न नसक्ने ठहर्‍याएको हदसम्मको फैसलामा चित्त बुझेन । दावीको उक्त कि.नं. ८३५ को जग्गा म वादीको दर्ताको हो भन्ने फैसलाले स्वीकार गरिसकेपछि दावीबमोजिम मैले प्रतिवादीबाट चलन पाउनु पर्नेमा दावी पुग्न नसक्ने भनी शुरु जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी दावीबमोजिम न्याय पाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत बिराटनगरमा परेको पुनरावेदन पत्र 

            शुरु जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझेन । हाम्रो बसोबासको घर कि.नं. १२०२ मा रहेको भन्ने हाम्रो भनाई रहेकोमा हालमात्र उक्त विपक्षीको कि.नं. ८३७ को जग्गामा रहेको थाहा भयो । वादीले उल्लेख गरेको मितिमा हामीले कुनै घर बनाएको छैन । ४० वर्ष अगाडि ससुरा बाजेकै पालामा निर्मित घरमा नै हाम्रो बसोबास यथास्थितिमा छ । वादीको फिराद मुलुकी ऐन, घर बनाउनेको ११ नं. को हदम्याद नाघी दायर भएको हुँदा हदम्यादको कानूनी प्रश्नबाटै दावीको तथ्यभित्र प्रवेश गरी हेर्न नमिल्नेमा फिराद हेरी गरेको शुरुको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत विराटनगरमा परेको पुनरावेदन पत्र 

            शुरु मोरङ्ग जिल्ला अदालतको फैसलाउपर दुवै पक्षको पुनरावेदन परेको देखिदा सो व्यहोरा एक अर्कालाई सुनाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत बिराटनगरको मिति २०६३।९।२३ को आदेश 

             विवादित न.नं. ७ को घर हटाई उक्त जग्गा वादीले चलन पाउने गरी गरेको शुरु मोरङ्ग जिल्ला अदालतको मिति २०६२।१।१८ को फैसला सो हदसम्म नमिलेकोले केही उल्टी हुने ठहर्छ । कि.नं. ८३५ को जग्गाको हकमा वादी दावी नपुग्ने ठहर्‍याएको हदसम्मको उक्त फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत विराटनगरको मिति २०६३।११।२९ को फैसला 

            न.नं.८ को कित्ता नं. ८३५ को जग्गामा वादीले झगडा नजनाएको भनी फैसलामा भनिएको हकमा प्रतिवादीले जग्गामा खिचोला गरेको भनी मेरो फिराद दावी परिरहेकोमा वादीले झगडा नजनाएको भनी गलत तर्कको आधारमा दावी नपुग्ने गरेको न्यायसँगत भएन । बाबु पतिले हक छाडेको जग्गामा नै घर बनाई दाता कै छोरा श्रीमतीले बस्न पाउने कानूनी प्रावधान छैन । प्रतिवादीले मेरो खाली जग्गा खिचोला गरी झोपडी घर बनाएको भन्ने राजीनामा लिखत, अंशवण्डा कागज साक्षी बकपत्रबाट समेत समर्थन भएको छ । मेरो दर्ता हकभोग स्वामित्वको जग्गामा प्रतिवादीको घर बसोबास कायम गर्न मिल्दैन । ठोस प्रमाणको अभावमा अघिदेखि भोगी आएको भन्दैमा अर्कोको सम्पत्ति भोग गर्न मिल्दैन भन्ने नजीर सिद्धान्त समेतको प्रतिकूल भएको पुनरावेदन अदालतको फैसला उल्टी गरी फिराद दावीबमोजिम खिचोला गरी बनाएको झोपडी घर हटाई चलन पाऊँ भन्ने वादीको यस अदालतमा परेको पुनरावेदन पत्र 

             वादीको हक दर्ताको कि.नं. ८३७ को जग्गामा प्रतिवादीको घर बसोबास भनी अदालतबाट भई आएको मिति २०६१।१०।१२ को नक्सा मुचुल्काको न.नं. ७ मा प्रतिवादी धुनिदेवी महतोको बसोबास रहेको भनी उल्लेख गरेबाट नक्सा मुचुल्का र अन्य प्रमाणको गम्भीर बेवास्ता गरी वादी दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भई फरक पर्नसक्ने देखिँदा प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०६८।२।१ को आदेश ।        

नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदपत्र सहितको मिसिल अध्ययन गरी पुनरावेदकका तर्फबाट उपस्थित रहनुभएका विद्वान अधिवक्ता श्री मणिराम निरौलाले प्रस्तुत विवादका जग्गा विपक्षीका पति पिता कारी महतोबाट मेरो पक्षले २०३४ सालमा खरीद गरी लिएका जग्गा हुन् । कि.नं. ८३७ को जग्गा सन्तोष स्वर्णकारका नाममा आएको छ । सो जग्गामा २०६० साल मंसिर देखि घर निर्माण भएको छ । हाम्रो पक्षले २०६० सालमा घर बनाएको भने पछि कि त हदम्यादको आधारमा खारेज हुनुपर्दछ । हदम्यादको आधारमा खारेज नभएपछि २०६० सालपछि घर बनाएको भनी खिचोला ठहर हुनुपर्दछ । वादी मुन्द्रकला झा भएको मुद्दाको मिसिलबाट पहिला घर बनेको भन्ने देखिदैन । पुनरावेदन अदालतको फैसला उल्टी गरिपाऊँ भन्ने समेत प्रस्तुत गर्नुभएको बहस सुनियो 

            उल्लिखित बहस जिकीर समेत सुनी हेर्दा पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको छ, छैन र वादीको पुनरावेदन जिकीर पुग्ने सक्ने हो , होइन सोही सम्बन्धमा निर्णय दिनुपर्ने भएको छ 

            २. निर्णयतर्फ विचार गर्दा, साविक दर्तावाल प्रतिवादी धुनीदेवीको ससुरा गंगाको पिता कारी नुनिया (महतो) का नाउँको कित्ता नं.९३२ मध्येबाटै खरीद गरी लिएका जग्गाहरू पति हनुमान र निजका भाइहरूमा २०५० सालमा बण्डा हुँदा देवर दिनेशकुमार स्वर्णकारका नाममा परेको कि.नं.८३५ र ८३७ का जग्गा निजबाट मिति २०५९।८।५ मा पारीत राजीनामाबाट मेरो नाममा दर्ता भएकोमा विपक्षीहरूले मिति २०६०।८।८ गतेबाट खिचोला गरी कि.नं. ८३५ को पूर्वतर्फबाट अन्दाजी ०२ धुर जग्गा र कि.नं. ८३७ को ०¾ जग्गामा बाँस समेतका २ वटा झुप्रा घर बनाई बसोबास गरेको हुँदा झोपडी घर हटाउन लगाई जग्गा खाली गराई पाऊँ भन्ने फिराद दावी भएकोमा न.नं.७ को कि.नं. ८३७ को जग्गाको घर हटाई चलन पाउने गरी भएको शुरु फैसला सो हदसम्म केही उल्टी गरी कि.नं. ८३५ को जग्गाको हकमा वादी दावी नपुग्ने ठहर्‍याएको हदसम्म शुरु फैसला सदर हुने ठहर्‍याई पुनरावेदन अदालतबाट फैसला भएको रहेछ 

            ३. मिसिल संलग्न जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपिबाट कि.नं. ८३५ को जग्गाको क्षे.फ.० ¼  र कि.नं. ८३७ को जग्गाको क्षे.फ. ०¾ रही यी जग्गाहरू पुनरावेदकको भोगचलनमा रहेको देखिन आउँछ । प्रस्तुत विवादका जग्गा यी पुनरावेदक वादी पक्षले विपक्षी प्रतिवादीका पति पिता कारी महतोबाट पारीत गरी लिएकोमा विवाद देखिदैन । विपक्षी प्रतिवादीको नामदर्तामा रहेको कि.नं. १२०२ को जग्गामा निज प्रतिवादीको घर बसोबास रहेको भन्ने देखिन आउँदैन भने सो जग्गाको सडकतर्फ किनारा समेत रहेको नदेखिएबाट निकास बाटो नरहेको जग्गामा घर बसोबास रहेको भनी सम्झन मिल्ने अवस्था पनि छैन । विवादित घर बाहेक प्रतिवादीको अन्यत्र बसोबास रहेको भन्ने पुष्टि हुने अवस्था मिसिलबाट देखिन आउँदैन 

            ४. दावीको जग्गामा विपक्षी प्रतिवादीहरूले २०६० सालमा घर निर्माण गरेको भनी यी पुनरावेदक वादीहरूले जिकीर लिए पनि सो भन्दा अगाडि यी विपक्षीहरूको अन्यत्र घर बसोबास रहेको नदेखिई सोही ठाउँमा नै ४० वर्ष अगाडिदेखि घर बनाई बसोबास गरेको भन्ने प्रतिउत्तर जिकीर रहेको र विपक्षी प्रतिवादीहरूले २०६० सालमा प्रस्तुत विवादको जग्गामा घर निर्माण गरी खिचोला गरेको भन्ने ठोस प्रमाणबाट पुष्टि हुन सकेको अवस्था मिसिलबाट देखिदैन । यस आधारमा पनि वि.सं. २०३४ र २०३६ सालमा विपक्षी प्रतिवादीहरूका पति पिताबाट जग्गा खरीद गरी यी वादी पक्षहरूले भोग चलन गरिरहेको जग्गामा एक्कासी विपक्षी प्रतिवादीहरूले खिचोला गरी घर निर्माण गरी बसोबास गरेको भन्ने कुरा विश्वासलायक देखिदैन । यसका अतिरिक्त विपक्षी प्रतिवादीहरूले पुनरावेदन अदालतसमक्ष गरेको पुनरावेदन पत्रमा आफ्नो घर विपक्षीको जग्गामा साविकदेखि नै रहेको भनी स्वीकार गरेको देखिन आउँछ । यसरी यी पुनरावेदक वादीका दाता नै विपक्षी प्रतिवादी पक्ष रहेको सन्दर्भमा यी विवादका जग्गामा विपक्षीहरूले साविकदेखि नै निर्मित घरमा बसोबास गरी आएको भन्ने देखिन आएबाट यी पुनरावेदक विरुद्ध विपक्षी प्रतिवादीहरूको प्रतिकूल भोग (Adverse Possession) को अवस्था सिर्जना भएको पाइन्छ । आफूले खरीद गर्दाको समयदेखि नै सो जग्गामा विपक्षीहरूको बसोबास रहेको अवस्था भए निजहरूलाई सो जग्गाको भोग चलनबाट निषेध गर्न यी पुनरावेदकले समयमै कानूनी उपचार खोजेको पनि देखिन आउँदैन 

            ५. वस्तुतः सम्पत्तिमा वैध स्वामित्ववालाले भोग गरिरहेको हुन्छ भन्ने सामान्य अनुमान हो । तर वैध स्वामित्व कुनै एक व्यक्तिको रहेको र व्यवहारमा भोग बैध स्वामित्वाला वाहेकको व्यक्तिमा रहेको अवस्था हुनसक्ने तथ्यलाई इन्कार गर्न सकिदैन । कसैले कुनै सम्पत्ति आफ्नो भन्ने हैसियतमा निरन्तररुपमा भोग गरिरहेको हुन्छ र त्यस उपर वैध स्वामित्वलाले थाहा पाएर पनि त्यस्तो भोगलाई मौन सम्मति प्रदान गर्दछ भने त्यसबाट भोगकर्ताको भोगाधिकार सिर्जना हुनसक्दछ । अर्थात् बलपूर्वक, चोरी क्रिया, अनुरोध वा विशेष आग्रहको अभावमा अर्काको जग्गामा दीर्घ भोग नै वास्तविक प्रतिकूल भोग (Adverse Possession) को स्थापित आधार हो भनी मान्न सकिन्छ । प्रतिकूल भोग स्थापित गर्न भोगको अटुट निरन्तरता परम आवश्यक तत्व मानिन्छ 

            ६. यसरी विपक्षीले ४० औ वर्षदेखि घर बनाई भोग चलन गरी आएकोमा सो जग्गाबाट घर उठाई पाऊँ भनी समयमा नै यी पुनरावेदक वादीले कानूनी उपचारमा नआई विपक्षीको गरेको जग्गाको भोगचलनलाई मौन सम्मति प्रदान गरेको देखिन आउँछ । केवल २०६० सालमा मात्र आफ्नो जग्गामा खिचोला गरी घर बनाई बसोबास गरेको भन्ने वादीको कथन ठोस प्रमाणबाट पुष्टि भएको नदेखिई आधारहिन रहेको देखिन आयो । यसबाट साविकदेखि नै निरन्तर भोग गरी आफू बसोबास गरिरहेको ठाउँमा विपक्षी प्रतिवादीहरूले अविछिन्नरुपमा भोगाधिकार प्राप्त गरेको देखिन आउँछ 

            ७. तसर्थ विपक्षीले साविकदेखि नै घर बसोबास गरेको कार्यलाई यी पुनरावेदक वादीको आचारणबाट मौन स्वीकृति दिएको अवस्था मिसिलबाट देखिएको हुँदा न.नं. ७ को कि.नं. ८३७ को जग्गाबाट वादीले घर उठाई पाउने गरेको शुरु फैसला उल्टी गरी कि.नं. ८३५ को जग्गाको हकमा वादी दावी नपुग्ने ठहर्‍याई गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत, बिराटनगरको मिति २०६३।११।२९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू 

उक्त रायमा सहमत छु 

न्या.कमलनारायण दास

इति संवत् २०६७ साल कात्तिक २२ गते रोज ३ शुभम्

इजलास अधिकृतः चुरामन खडका

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु