शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७४६१ - कर्तव्य ज्यान ।

भाग: ४६ साल: २०६१ महिना: फागुन अंक: ११

निर्णय नं. ७४६१     ने.का.प.२०६१               अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

संबत् २०६१ सालको फौ.पु.नं. ३०९१, ३१९२

संबत् २०६१ सालको फौ.सा.नं. ......४३३

फैसला मितिः २०६१।११।१४।६

 

मुद्दाः कर्तव्य ज्यान ।

 

पुनरावेदक

प्रतिवादीः भक्तपुर जिल्ला, झौखेल गा.वि.स.वडा नं. ८ घर भै हाल कारागार शाखा,       सदरखोर डिल्लीवजार, काठमाडौंमा थुनामा रहेका बर्ष ३५ को  नवराज वाँनिया

बिरुद्ध

बिपक्षी

वादीः जीवन थापाको जाहेरीले श्री ५ को सरकार

                       

पुनरावेदक

वादीः जीवन थापाको जाहेरीले श्री ५ को सरकार             

बिरुद्ध

विपक्षी

प्रतिवादीः भक्तपुर जिल्ला, झौखेल गा.वि.स. वडा नं. ८ घर भै हाल सदरखोर शाखा, डिल्लीवजारमा थुनामा रहेका नवराज बानियाँ 

 

वादी : जीवन थापाको जाहेरीले श्री ५ को सरकार   

बिरुद्ध

प्रतिवादी भक्तपुर जिल्ला झौखेल गा.वि.स. वडा नं. ८ घर भै हाल सदरखोर शाखा, डिल्लीवजारमा थुनामा रहेको नवराज वानियाँ

 

§  अ.वं. १८८ नं. को कानूनी व्यवस्था हेरिंदा ऐनले सर्वश्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा सावित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो की भन्न हुने सम्मको शङ्काले वा अपराध गरेको अवस्था बिचार गर्दा कसूरदारलाई ऐन बमोजिम सजाँय दिंदा चर्को हुने भै घटी सजाँय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाँय ठहराई आफ्नो चित्तले देखेको कारण सहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्न हुने ।

(प्र.नं. ३१)

§  अ.वं. १८८ नम्वर बमोजिम व्यक्त गरिएको रायलाई सो नं. लगायतका अन्य प्रचलित कुनै पनि कानूनी व्यवस्थाबाट अन्तिम निर्णय भन्ने मानेको पाइँदैन । सो व्यवस्थाको अन्तिम वाक्याँशमा ..अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाई तोक्न हुन्छ... भन्ने भएकाले एकातिर यो रायलाई अन्तिम निर्णय मान्न मिल्दैन भने अर्कोतिर यस्तो अधिकारलाई अदालतको स्वविवेकमा छाडिएको हुने ।

§  अन्तिम निकाशा नै भै नसकेको तथा न्यायकर्ताको स्वविवेकीय अधिकार समेत उपर वादी श्री ५ को सरकारकोतर्फबाट पर्न आएको पुनरावेदनलाई उचित मान्न नमिल्ने भएकाले वादी श्री ५ को सरकारकोतर्फबाट पर्न आएको प्रस्तुत पुनरावेदन खारेज हुने ।

(प्र.नं. ३३)

§  एकातिर अधिकार प्राप्त अधिकारी समक्ष भएको बयानलाई प्रमाण ऐन, २०३१ को दफा ९(२)क. (१), (२) र (३) अनुसारको अवस्था रहेको भनी देखाउन र पुष्टी गर्न सकेको छैन भने अर्कोतिर अदालत समक्ष आइ गरेको बयानलाई समर्थन गर्नका लागि प्रमाण ऐन, २०३१ को दफा २७ अनुसार पुर्‍याउनु पर्ने प्रमाण पेश दाखिल गरी पुष्टि गर्न सकेको पनि पाइँदैन । यसरी प्रतिवादीले कसूर गरेको भन्ने कुरा अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानका अलावा मौकामा खडा भएका घटनास्थल तथा लाश जाँच प्रकृति मुचुल्का, वरामदी मुचुल्का, शव परीक्षण प्रतिवेदन एवं विशेषज्ञले अदालत समक्ष गरेको वकपत्र समेतका आधारले पुष्टि गरेकै देखिंदा मुलुकी ऐन ज्यान सम्बन्धि महलको १ नम्वरको कसूरमा ऐ. १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद हुने ।

(प्र.नं. ३४)

 

पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री अग्नी खरेल

विपक्षी वादीतर्फवाटः विद्वान सह न्यायाधिवक्ता श्री टिकावहादुर हमाल

अवलम्वित नजिरः

 

फैसला

            न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत, पाटनको मिति २०६१।१।२४।५ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ख) तथा ऐ. दफा १०(२) बमोजिम साधक  दायर  भै पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छ :-

            २.    मिति २०५८।११।२६ का दिन बहिनी उमा बानियाँ चिन्ताग्रस्त अवस्थामा छिन्  भनी फोन आएकोले निजको घरमा हेर्न जाँदा नाक मुखबाट रगत निस्केको, शरीरको बिभिन्न भागमा नीलडामहरु भै मृत अवस्थामा रहेको देखिई निजलाई ज्वाइँले मारेको शंका लागेको हुँदा पक्राउ गरी कानून बमोजिम कारवाही गरिपाउँ भन्ने मृतकको दाजु जीवन थापाको जाहेरी दरखास्त ।

            ३.    कपालमा रगत लागेको, दाहिनेतर्फ टाउको फुटी रगत वगेको टाउकोमाचुच्चो हतियारले खोपेको, दाहिने आँखी भौ माथि आधा इन्च निलो डाम, निधार मुनिको नाकको डाँडीमा रगत लागि जमेको, नाकको प्वालवाट रगत निस्की वरी परी जमेको, दाहिने कुममा  निलडाम रहेको र मृतक लाश रहेको विछ्यौनाको सिरानीमा प्रसस्त मात्रामा रगत लागेको देखिएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का ।

            ४.    मिति २०५८।११।२६ गतेका दिन उमा वानियाँँले वानेश्वर स्थित मामाको घरमा गई वस्छु भनेकीले  मामा घरमा जानु पर्दैन भनि हाँमी वीच सोहि विषयमा विवाद भै रिस उठी छातिमा एक थप्पड हिर्काउँदा काठको थाममा ठोक्किएर  सोफामा ढल्न पुगिन । ढलेपछि सोफामै श्रीमतीको घाँटी केहि वेर हातले थिचे पछि सोफा नजिकको दराजमाथी  राखेको सानो फलामको छुरी झिकेर श्रीमतीको टाउकोमा हिर्काएं । टाउँकोबाट रगत वगेको थियो ।  श्रीमती वोल्न सकेकी थिइनन । निज सोफा नजिक काठको थामनिर घोप्टो परी लडिरहेकोले  म कोठाको ढोका लगाएर तल आइ केही वेर घरको बाहिर वरपर घुमफिर गरें । करिव डेढ घण्टा पछि पुनः कोठामा गएर हेर्दा श्रीमती नउठेको र रगत पच्छे भै घोप्टो अवस्थामा नै देखि वोलाउँदा नवोलेकीले मैले निजलाई सो ठाउँबाट दुइ हातले उचालेर खाट माथि विस्तरामा सुताइदिएँ ।  राम्रोसंग हेर्दा सास नै नफेरेकीले मृत्यु भैसकेको जस्तो लाग्यो र गाउँ टोलमा समेत सवै हल्ला भयो । मैले श्रीमतीलाई मार्नमा प्रयोग गरेको फलामको छुरी मेरै घरको म सुत्ने कोठाको काठको दराज माथि पंखा छेउमा राखेको छु । उमा वानियाँलाई  मार्नमा म एक्लै थिएं । वारदात भुंइतला माथि म तथा श्रीमती सुत्ने कोठामा भएको र वाहिर पिढीमा मेरो आमा विरामी भई सुतिरहनु भएको थियो, दिदि वसन्ती वानियाँँ पनि आमासंगै वस्नु भएको थियो । घटना सम्बन्धमा निजहरुलाई केहि थाहा थिएन भन्ने समेत व्यहोराको प्रतिवादी नवराज वानियाँले अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती वयान ।

            ५.    प्रतिवादी नवराज सुत्ने कोठाको पूर्वतर्फ काठ र सिसाको दराजमाथी रातो कालो रङ्गको चरो आकारको २१ से.मि. लामो काठको विंड भएको फलामे छुरी फेला परेको भन्ने खानतलासी मुचुल्का ।

            ६.    मृतक वुहारी र भाइ नवराज वानियाँ विच पहिला देखि नै  झगडा हुने गर्दथ्यो । उक्त दिन पनि झगडा भएको थियो । भाइले नै कुटपिट गरी हतियार समेत प्रयोग गरी वुहारीलाई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ । घटनामा अन्य कोहि कसैको संलग्नता छैन भन्ने समेत अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादीको दिदी वसन्ती बानियाले गरेको कागज ।

            ७.    मृतक वुहारीलाई छोरा नवराज वानियाँले नै कुटपिट गरी कुनै धारीलो हतियार प्रहार गरी मारेको हुनु पर्छ । अरु कसैको संलग्नता छैन । अरु मानिस निजहरुको कोठामा गएको देखेको छैन । मृतक वुहारी र छोरा नवराज बानिया पहिले देखि नै झै झगडा गर्ने र कहिले काही छोराले उमालाई कुटपिट समेत गर्दथे ।  मृतक उमा वानियाँलाई मेरो छोरा नवराज वानियाँले नै कुटपिट गरी हतियार प्रयोग गरी मारेको हुनु पर्दछ भन्ने समेत व्यहोराको अधिकार प्राप्त अधिकारी समक्ष समक्ष प्रतिवादीका पिता उदयवहादुर वानियाँले गरेको   कागज ।

            ८.    मृतक उमा वानियाँलाई निजकै श्रीमान नवराज वानियाँले कर्तव्य गरी मारेका हुन। अरु कोहि कसैले मारेकोमा शंका लाग्दैन । मृतक उमा वानियाँले आत्महत्या गरेकी भन्ने कुरा मलाई विश्वास लाग्दैन भन्ने समेत व्यहोराको बुझिएका विदुरप्रसाद लम्सालले अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागज ।

            ९.    जेठाजु नवराज वानियाँ र दिदी उमा वानियाँ के कुन बिषयलाई लिएर झै झगडा गरी कुटपिट समेत गरे र के कस्तो प्रकारको हतियार प्रयोग गरी कर्तव्य गरी मारेका हुन मलाई थाहा भएन । निज मृतक उमा वानियाँ पहिला देखि नै काठमाडौंमा अस्थायी जागिरे भएकोले दिनहुँ जस्तो वाहिर घुम्न जाने गर्नु हुन्थ्यो । सोही कारणले वा अन्य के बिषयलाइ लिएर कहिले काहि झगडा हुने गर्दथ्यो । उक्त दिन के कुन बिषयलाई लिएर झगडा भयो थाहा पाइन, , जेठाजु नवराज वानियाँले नै मृतक उमा वानियाँलाई कुटपिट गरी कर्तव्य गरी मारेको हुनु पर्छ भन्ने समेत व्यहोराको अधिकार प्राप्त अधिकारी समक्ष सरु वानियाँले गरेको कागज ।

            १०.    सामान्य झै झगडा गर्ने भएको कारण घरमा निजहरु दुवै जना मात्र रहेको र घटनाको प्रकृति तथा लास समेत हेर्दा अन्य कसैको मिलेमतो समेत नभएको हुँदा निज नवराज वानियाँले नै मारेकोमा शंका लाग्छ भन्ने व्यहोराको अधिकार प्राप्त अधिकारी समक्ष केशव वानियाँले गरेको कागज ।

            ११.    मेरी छोरी नाताकी उमा वानियाँलाई प्रतिवादी नवराज वानियाँले मादक पदार्थ सेवन गरी कुटपिट गर्दै आएको कुरा मृतकले माइती आउँदा भन्ने गरेकी र मलाई समेत उक्त वेदनाको वारेमा भन्ने गरेकिले मृतक उमा वानियाँलाई प्रतिवादी नवराज वानियाँले हतियार प्रयोग गरी घाटी थिची मारेकोमा मलाई पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको विरवहादुर खड्काले अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागज ।

            १२.   घाँटी थिची श्वास प्रश्वास वन्द भई उमा वानियाँको मृत्यु भएको हो भन्ने शव परीक्षण प्रतिवेदन ।

            १३.   उमा वानियाँलाई कुटपिट गरी घाटी थिची धारिलो हतियार प्रहार गरी मारेकोमा पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको विशेश्वर थापाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागज ।

            १४.   जीवन थापा क्षेत्रीको किटानी जाहेरी, घटनास्थल तथा लाश प्रकृति मुचुल्का विवरण, प्रतिवादी नवराज वानियाँको साविती वयान, खान तलासी तथा वरामदी मुचुल्का, बुझिएका मानिसहरुको कागज, घाँटी थिची श्वास प्रश्वास वन्द भई मृत्यु भएको हो भन्ने शव परीक्षण प्रतिवेदन र मेडिकल रिपोर्ट समेतका आधार प्रमाणबाट निज प्रतिवादी नवराज वानियाँले आफनै श्रीमती वर्ष २४ की उमा वानियाँलाई झै झगडा हुँदा कुटपिट गरी मुक्का प्रहार गरी घाटी थिची चक्कुले  टाउकोमा प्रहार गरी मारेको  देखिन आएको हुँदा निज प्रतिवादीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं.को कसूरमा सोही ऐनको दफा १३(१) अनुसार सजाय गरी पाउँ भन्ने  वादी श्री ५ को सरकारले भक्तपुर जिल्ला अदालतमा प्रस्तुत गरेको अभियोग पत्र ।

            १५.   मैले कुटपिट गरेर मारेको होइन । कुनै हतियार प्रयोग गरेको छैन । वीरवहादुर मेरो ठूलो वुवा, विशेश्वर मेरो दाइ नाताको पर्छ, निजहरुले मेरा विरुद्ध किन कागज गरे मलाई  थाहा छैन । मैले छुरी प्रहार गरेर मारेको भनी भनेको थिइन । किन त्यस्तो लेखाइ दिए त्यस भन्दा वाहेक अरु कुरा ठिक छ, सहि मेरो हो । वरामद भएको चक्कु मेरो हो भन्ने समेत व्यहोराको प्रतिवादी नवराज वानियाँले भक्तपुर जिल्ला  अदालतमा गरेको वयान ।

            १६.    तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीको वारदातमा संलग्नता रही कसूरदार हुन भन्ने विश्वास गर्ने आधार भएकोले पछि प्रमाण वुझ.दै जाँदा थप प्रमाणबाट ठहरे वमोजिम हुने गरी हाल मुलुकी ऐन अ.वं. ११८ को (२) को अवस्था विद्यमान भएकोले  निजलाई अ.वं. १२१ नं. वमोजिम थुनुवा पुर्जी दिने पर्चा गरि दिएको छ  भन्ने  भक्तपुर जिल्ला अदालतको  आदेश ।

            १७.   घटना घटेको भोलिपल्ट विहान हामी मृतकको घरमा गई मारेको कोठा भित्र हेर्दा टाउकोमा हतियारको चोट र घाँटीमा निलडाम थियो । कोठामा रगतको फाल्चा पुछेर राखेको थियो । मृतक वहिनीको टाउकोमा घाउ भै रगत बगिरहेको थियो । मिति २०५८।११।२६ गतेको जाहेरीमा लेखाएको कुरा ठीक छ भन्ने समेत जाहेरवाला जीवन थापाको वकपत्र ।

            १८.   प्रतिवादी नवराज वानियाँले आफनी श्रीमती उमा वानियाँसंग झगडा गरी छातिमा हानी लडाई घांटी थिची टाउकोमा छुरीले रोपी उमा वानियाँको मृत्यु भएको भन्ने  जाहेरी दरखास्त, घटनास्थल प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन, प्रतिवादीको वयान, वरामदी मुचुल्का समेतका कागज प्रमाणबाट प्रतिवादीले उमा वानियाँलाई मारेको देखिंदा ज्यान सम्बन्धी महलको १३(१) नं. अनुसार सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्छ भन्ने भक्तपुर जिल्ला अदालतबाट भएको फैसला ।

            १९.    भक्तपुर जिल्ला अदालतले कसूरदार ठहराई गरेको फैसलामा प्रमाणको उचित मूल्याङ्कन  गरिएको छैन । प्रत्यक्ष दर्शी प्रमाणको अभाव रहेकोछ । प्रतिवादीको अदालतमा इन्कारी वयान छ ।  मार्नु पर्ने सम्मको कारण र अवस्था केहि छैन ।  सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्‍याएको फैसला त्रुटिपूर्ण हुँदा उल्टाई आरोपित कसूरबाट सफाइ पाउँ भन्ने समेत प्रतिवादी नवराज वानियाँले पुनरावेदन अदालत, पाटनमा दिएको पुनरावेदन पत्र ।

            २०.   भक्तपुर जिल्ला अदालतको फैसला प्रमाण मूल्याङ्कनको परिप्रेक्ष्यमा फरक पर्न सक्ने हुँदा अ.वं. २०२ नं. तथा पु.वे.अ. नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलको लागि पेशीको सूचना पु.वे.स.व.का. पाटनलाई दिई  पेश गर्नु भन्ने पुनरावेदन अदालत, पाटनबाट भएको  आदेश ।

            २१.   मृत्युको कारण घाँटी थिचेबाट भएको भन्ने शव परीक्षण प्रतिवेदनमा उल्लेख छ भने सीटको परीक्षण मजवुत शीर्षकमा हल्का वस्तुको प्रयोगबाट घाँटी थिचेको कारण उल्लेख गरेको समेतबाट शव परीक्षण गर्ने विशेषज्ञ बुझी नियमानुसार पेश गर्नु भन्ने समेत २०६०।७।४ को पुनरावेदन अदालतको  आदेश ।

            २२.   मैले मृतक उमा बानियाको शव परीक्षण गरेको हुँ । प्रतिवेदनमा दिएको मृत्युको कारणमा घाँटीमा परेको चापबाट मृत्यु भएको भन्ने स्पष्ट छ र अन्त्यमा उक्त चाप Soft Material बाट भएको हुन सक्ने भन्ने समेत उल्लेख छ । क्यात भनेको हल्का नभएर नरम भनिएको हो । यदि कडा बस्तुको प्रयोग भएको भए त्यसको स्पष्ट डाम वाहिर नै देखिने गर्दछ । तर नरम वस्तुको प्रयोग भएमा वाहिरी स्पष्ट डाम नभई भित्री रक्तश्राव तथा नील डाम उत्पन्न हुन्छ भन्ने शव परीक्षण गर्ने विशेषज्ञ डा. हरिहर वस्तीले पुनरावेदन अदालत पाटनमा गरेको वकपत्र ।

            २३.   यसमा घटनास्थल लाश प्रकृति र वरामदी मुचुल्कामा रोहवरमा बस्ने मानिसहरु जिल्ला अदालतबाट बुझ्न वाँकी नै रहेकोले सरकारी वकील कार्यालय मार्फत बुझी पेश गर्नु भन्ने पु.वे.अ.पाटनबाट भएको आदेश ।

            २४.   प्रतिवादी नवराज वानियाँले उमा वानियाँलाई लात मुक्काले हानी लडाई पछारी घाँटीमा निकै वेर थिची सानो छूराले टाउकोमा चोट छाडि कर्तव्य गरी मारेको स्पष्ट हुँदा निजलाई ज्यान सम्बन्धी महलको १ नं. को कसूरमा ऐजनको दफा १३(१) नं. अनुसार सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्‍याएको भक्तपुर जिल्ला अदालतको फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीले गरेको अपराधको अवस्था र प्रतिवादीको उमेर समेतलाई मध्य नजर राख्दा निजलाई उक्त सजाय गर्दा चर्को पर्न सक्ने ठानी ८ बर्ष कैदको सजाय गर्न मुनासिव देखिई अ.वं. १८८ नं. बमोजिम राय समेत व्यक्त गरेका छौं भन्ने समेत पुनरावेदन अदालत, पाटनबाट मिति २०६१।१।२४ मा भएको जाहेरी फैसला ।

            २५.   मैले मारेको होइन । मार्न पर्ने सम्मको कारण छैन । अनुमान र शंकाको भरमा जाहेरी गरिएको छ । जाहेरी र वकपत्रको व्यहोरा वाझिएको छ । प्रहरी समक्ष भएको साविती अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भएको छैन । म दिनको १.०० वजे देखि ४.३० तिर घरमा आउँदा श्रीमती मरी सकेको अवस्था भएकोमा हचुवाको भरमा कसूरदार ठहर्‍याइएको छ । घटनास्थल प्रकृति मुचुल्का र वरामदी मुचुल्कामा वस्ने मानिसलाई बुझिएको छैन । मृतकलाई मार्नु पर्ने सम्मको पूर्व कारण प्रमाणित गर्न सकिएको छैन । रिस इवि नभै सामान्य लाठा ढुङ्गा लात मुक्काले प्रहार भएकोमा ज्यान सम्बन्धीको १४ नं. आकर्षित हुनुपर्ने हो । ज्यान सम्बन्धी महलको १३(१) आकर्षित हुन मनसाय र अपराधिक कार्य हुन नितान्त आवश्यक छ, त्यो अवस्था छैन । म उपर लगाएको अभियोग शंकारहित तवरबाट पुष्टि हुन नसकी निर्दोष रहे भएको हुँदा हचुवाको भरमा कसूरदार ठहर गरी जन्मकैदको सजाय गर्ने गरेको शुरु र त्यसलाई सदर गर्ने गरेको पुनरावेदन अदालत, पाटनको फैसला प्रमाण ऐन, २०३१ को दफा ३, १८, २५, ५४ तथा मुलुकी ऐन अदालती बन्दोवस्तको १८४क. विपरीत हुँदा वदर गरी पाउँ भन्ने प्रतिवादी नवराज वानियाँँले यस अदालतमा दिएको पुनरावेदन पत्र ।

            २६.   प्रतिवादी र मृतक वीच झगडा भइ रहने, प्रतिवादीले उमा वानियाँलाई माइतीमा समेत कुटपिट गर्ने गरेको प्रमाणबाट देखिनुका साथै मृतकलाई छातिमा हिर्काइ काठको थाममा ठोकिइ भुईमा लडेपछि मृतकको घाँटी थिच्नु र छुरीको प्रयोग गर्नुले प्रतिवादीको अपराधिक मनसायको प्रधान्यता रहेकोले जघन्य अपराधमा, अ.वं. १८८ नं. प्रयोग गरी सजाय घटाउन न्यायोचित छैन । प्रतिवादीले न्यायिक प्रक्रियामा सहयोग गरेको देखिंदैन । परिपक्व उमेरका प्रतिवादीलाई उमेरको कुन अवस्थालाई चित्रण गरिएको हो त्यो कहि कतै उल्लेख छैन । न्यायिक प्रक्रियालाई सहयोग गरे नगरेको, कसूर गरेमा पश्चातापको भाव आए नआएको, सुधे्रर भविष्यमा अपराध नगर्ने वाचा गरे नगरेको, पीडित वा समाजलाई हुन गएको हानी नोक्सानी, क्रुरता र यातना आदि अवस्था र परिस्थितिलाई विचार गर्नु उपयुक्त देखिन्छ भनी यस अदालतको बर्ष १२, अंक ३, २०६० पूर्णाङ्क २६१ शान्ति वि.क. विरुद्ध, श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दामा सिद्धान्त समेत प्रतिपादन भएकोमा सो समेत ग्रहण नगरी अ.वं. १८८ नं. को प्रयोग गरी ८ बर्ष कैद सजाय गर्ने गरी घटाउने गरेको हदसम्मको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला वदर गरी पाउँ भन्ने वादी श्री ५ को सरकारकोतर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

            २७.   पुनरावेदन अदालत, पाटनको मिति २०६१।१।२४ को फैसला बमोजिम साधक जाँचका लागी दर्ता गरी नियमानुसार पेशगर्नु भन्ने समेत मिति २०६१।४।२० को साधक दर्ता आदेश ।

            २८.   नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री टीकावहादुर हमालले प्रतिवादीले आरोपित कसूर गरेको तथ्य स्थापित भएको छ । जाहेरी दरखास्त, साविति वयान व्यहोरामा उल्लिखित तथ्यहरु शव परीक्षण प्रतिवेदन, घटनास्थल तथा लाश जाँच  प्रकृति मुचुल्का, वरामदी मुचुल्कामा उल्लिखित  व्यहोरा एक आपसमा मेल खाएका छन् । पूर्व रिसइवि भएको कारणले सो घटना भएको देखिंदा अ.वं. १८८ नं. प्रयोग गरी सजाय घटाउन  मिल्दैन । तसर्थ शुरु अदालतको फैसला सदर हुनु पर्दछ भन्ने तथा प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री अग्नी खरेलले प्रस्तुत मुद्दामा मौकामा बुझिएका व्यक्तिहरुलाई नबुझी फैसला भएको छ । वसन्ती वानियाँ र उदयवहादुर वानियाँको कथन  प्रमाणमा लिन मिल्दैन । अ.वं. १८८ नं. को प्रयोग गरे उपर पुनरावेदन लाग्न सक्दैन । जाहेरवालाको वकपत्र विरोधाभाषपूर्ण छ । वरामदी मुचुल्काका मानिस बुझिएको छैन । ज्यान मार्नु पर्ने सम्मको पूर्व रिसइवी छैन । सानो चक्कु जोखिम हतियार मान्न नमिल्ने भएकाले प्रतिवादीलाई सफाई दिइनु पर्दछ भनी वहस प्रस्तुत गर्नु भयो ।

            २९.   प्रस्तुत मुद्दामा ज्यान सम्बन्धी महलको १३(१) वमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्‍याएको भक्तपुर जिल्ला अदालतको फैसला सदर गर्दै कानून बमोजिमको  सजाय गर्दा चर्को हुने भनी अ.वं. १८८ नं. वमोजिम  ८ बर्ष कैद गर्न राय व्यक्त गरेको पुनरावेदन अदालत पाटनको फैसला उपर प्रतिवादी नवराज वानियाँले सफाई पाउँ भनी र वादी श्री ५ को सरकारकोतर्फबाट जघन्य अपराधमा सजाय घटाउने राय व्यक्त गर्न मिल्दैन भनी पुनरावेदन जिकिर लिइ पुनरावेदन दायर गर्नुका साथै न्याय प्रशासन  ऐन, २०४८ को दफा  १०(२) अनुसार साधकको रोहबाट समेत पेश हुन आएको रहेछ ।

            ३०.   प्रस्तुत मुद्दामा प्रतिवादीको यस अदालतमा पुनरावेदन परेको देखिएकोले निजका हकमा पेश भएको साधकको लगत कायम रहन नसक्ने हुँदा सो साधकको लगत कट्टा गरी दिएको छ ।

            ३१.   पुनरावेदन जिकिर अनुरुप प्रतिवादीलाई सफाइ दिन मिल्ने, नमिल्ने र ज्यान सम्बन्धी महलको १३(१) नं. वमोजिम सजाय गरी राय सम्म व्यक्त गरेको बिषयमा श्री ५ को सरकारलाई पुनरावेदन दिन पाउने हक  रहन्छ, रहँदैन ? तत्सम्बन्धमा नै बिचार गर्नु परेको छ ।

            ३२.   मुलुकी ऐन अदालती बन्दोवस्तको १८८ नं. अनुसार व्यक्त गरिएको राय उपर वादी श्री ५ को सरकारकोतर्फबाट पुनरावेदन पर्न आएको सम्बन्धमा बिचार गर्दा अ.वं. १८८ नं. को कानूनी व्यवस्था हेरिंदा ऐनले सर्वश्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा सावित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो की भन्न हुने सम्मको शङ्काले वा अपराध गरेको अवस्था बिचार गर्दा कसूरदारलाई ऐन बमोजिम सजाँय दिंदा चर्को हुने भै घटी सजाँय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाँय ठहराई आफ्नो चित्तले देखेको कारण सहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्नु हुन्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजाँयमा घटाई तोक्न हुन्छभन्ने उल्लेख भएको पाइन्छ । उल्लेखित कानूनी व्यवस्थाले अ.वं. १८८ नम्वर बमोजिम व्यक्त गरिएको रायलाई सो नं. लगायतका अन्य प्रचलित कुनै पनि कानूनी व्यवस्थाबाट अन्तिम निर्णय भन्ने मानेको पाइँदैन । सो व्यवस्थाको अन्तिम वाक्याँशमा ..अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाई तोक्न हुन्छ... भन्ने भएकाले एकातिर यो रायलाई अन्तिम निर्णय मान्न मिल्दैन भने अर्कोतिर यस्तो अधिकारलाई अदालतको स्वविवेकमा छाडिएको हुन्छ । न्यायकर्तालाई स्वविवेक प्रयोग गर्न विधायिकाले प्रदान गरेको यस्तो अधिकार उपर मुद्दाका पक्षले पुनरावेदन दिन पाउने अधिकार हुने हो भने त्यस्तो प्रावधान कानूनमा राखिनुको कुनै औचित्य देखिन आउँदैन । प्रस्तुत मुद्दामा वर्ष १२, अङ्क ३, पूर्णाङ्क २६१ मा उल्लेखित संवत् २०५८ सालको फौ.पु.नं. ३०९१ तथा २०५९ सालको साधक नं. ३२४ को नजिर आकर्षित हुनुपर्ने भन्ने सरकारी पक्षको पुनरावेदन जिकिरको सन्दर्भमा उक्त मुद्दामा प्रस्तुत मुद्दाको प्रकृति जस्तो विवाद उत्पन्न भै निरोपण भएको कुरा देखिन आएको नदेखिएकोले उक्त मुद्दाको निर्णय यस मुद्दामा आकर्षित हुन सक्ने समेत देखिन आएन । यसर्थ अन्तिम निकाशा नै भै नसकेको तथा न्यायकर्ताको स्वविवेकीय अधिकार समेत उपर वादी श्री ५ को सरकारकोतर्फबाट  पर्न आएको पुनरावेदनलाई उचित मान्न नमिल्ने भएकाले वादी श्री ५ को सरकारकोतर्फबाट पर्न  आएको प्रस्तुत पुनरावेदन खारेज गरि दिएको छ ।

            ३३.   अव प्रतिवादी नवराज वानियाँकोतर्फबाट पर्न आएको पुनरावेदनका सम्बन्धमा बिचार गर्दा प्रस्तुत मुद्दामा प्रतिवादी नवराज वानियाँले आफु उपर आरोपित कसूर गरेको स्पष्ट प्रमाणको अभावमा अधिकार प्राप्त अधिकारी समक्ष भएको साविती वयानको आधारमा मात्र कसूरदार ठहर गर्न मिल्दैन । अदालतमा इन्कारी वयान छ । चश्मदित साक्षी प्रमाण छैनन् । मार्नु पर्ने सम्मको पूर्व रिसइवी र कारण पनि छैन । आरोपित कसूर गरेको ठहर गरी सजाय गर्ने गरेको शुरु र पुनरावेदन अदालतको इन्साफ उल्टी गरी सफाई पाउँ भन्ने देखिन्छ । प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती वयानलाई प्रमाणमा लिन मिल्ने हो, होइन ? अधिकार प्राप्त अधिकारी समक्ष भएको प्रतिवादीको वयानलाई मौकामा खडा भएका अन्य स्वतन्त्र प्रमाणले पुष्टि गर्छ, गर्दैन ? प्रतिवादीले आरोपित कसूर गरे नगरेको के हो ? भन्ने सम्बन्धमा बिचार गर्दा प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा वारदात हुनु पूर्व मृतकले वानेश्वर स्थित मामा घर जान्छु भनेको, प्रतिवादीले नजाउ भनी दुवै पक्ष वीच एकापसमा वाद विवाद भनाभन भएको, प्रतिवादीले उमा वानियाँलाई थप्पडले छातीमा हानेको, उमा वानियाँ काठको थाममा ठोक्किएपछि सोफामा ढलेकोसोफामा ढलेपछि पनि प्रतिवादीले हातले मृतकको घाँटी थिचि केही बेरपछि धारिलो फलामको छुरीले टाउकोमा प्रहार गरेको  कार्यबाट मृतक उमा वानियाँको मृत्यु भएपछि मृतकलाई खाटमा सुताउने, नाडी छाम्ने मानिस बोलाउने र अस्पतालमा लानको लागि एम्वुलेन्स बोलाउन खोजेको समेत पाइन्छ । प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्षको वयान, मौकामा खडा भएका घटनास्थल प्रकृति, लाश जाँच प्रकृति मुचुल्का, घाँटी थिची मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदन जस्ता स्वतन्त्र प्रमाणबाट पुष्टि भै रहेकोले प्रस्तुत वारदात परिस्थितीजन्य प्रमाण श्रृँखलावद्ध कडिको रुपमा नै बर्णित भएको पाइन्छ । प्रतिवादीले अदालत समक्ष भएको वयानको  स.ज. ८ मा घटनास्थल तथा लाशजाँच प्रकृति मुचुल्कालाई समर्थन गरेको, स.ज. १६ मा वरामद भै आएको चक्कु सनाखत गरेको, स.ज. १५ मा अधिकार प्राप्त अधिकारी समक्षको बयान पढी वाँची सुनाउँदा छुरी प्रहार गरी मारेको भनी भनेको होइन भन्ने सम्म उल्लेख गर्दै स.ज. १८ मा साक्षी प्रमाण केहि छैन भनी उल्लेख गरिदिएको देखिन्छ । प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान स्वतन्त्र प्रमाणबाट पुष्टि भएकोमा सो  वयान खण्डनकालागि प्रतिवादिले आफ्नोतर्फबाट कुनै सवूद प्रमाण प्रस्तुत गर्न सकेको पाइँदैन । एकातिर अधिकार प्राप्त अधिकारी समक्ष भएको बयानलाई प्रमाण ऐन, २०३१ को दफा ९(२)क. (१), (२) र (३) अनुसारको अवस्था रहेको भनी देखाउन र पुष्टी गर्न सकेको छैन भने  अर्को तिर अदालत समक्ष आइ गरेको बयानलाई समर्थन गर्नका लागि प्रमाण ऐन, २०३१ को दफा २७ अनुसार पुर्‍याउनु पर्ने प्रमाण पेश दाखिल गरी पुष्टि गर्न  सकेको पनि पाइँदैन । यसरी प्रतिवादीले कसूर गरेको भन्ने कुरा अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानका अलावा मौकामा खडा भएका घटनास्थल तथा लाश जाँच प्रकृति मुचुल्का, वरामदी मुचुल्का, शव परीक्षण प्रतिवेदन एवं विशेषज्ञले अदालत समक्ष गरेको वकपत्र समेतका आधारले पुष्टि गरेकै देखिंदा निजलाई मुलुकी ऐन ज्यान सम्बन्धि महलको १ नम्वरको कसूरमा ऐ. १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको पुनरावेदन  अदालतको फैसला मिलेकै देखिंदा सदर हुन्छ ।

            ३४.   रायका सम्बन्धमा बिचार गर्दा प्रतिवादी र मृतक वीच लोग्ने स्वास्नीको नाताको सम्बन्ध रहेको, मार्नु पर्ने सम्मको पूर्व रिसइवी नरहेको तथा प्रतिवादीले अपराध गर्दाको अवस्था मृतक मामाघर जाने र प्रतिवादीले नजाउ भनी विवादको सृजना भै उक्त वारदात घटित भएको अवस्था समेतलाई मध्यनजर राख्दा निजलाई ज्यान सम्बन्धी महलको १३(१) नं. वमोजिम सर्वश्वसहित जन्मकैद गर्दा चर्को  पर्ने देखिंदा  मुलुकी ऐन अ.वं. १८८ नम्वर  बमोजिम  कैद बर्ष ८ (आठ) सजाय हुनका लागि व्यक्त गरेको पुनरावेदन अदालत, पाटनको राय समेतको ईन्साफ सदर हुने ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।

 

तपसिल

माथि इन्साफ खण्डमा लेखिए अनुसार प्रतिवादी नवराज वानियाँलाई ज्यान सम्बन्धि महलको १ नं. र १३(१) अनुसार सजाय भै  कैदको हकमा  अ.वं. १८८ नम्वर अनुसार ८ (आठ) बर्ष कैद हुने ठहर भै निज मिति २०५८।११।२७ बाट थुनामा रहेको देखिंदा निजलाई २०६६।११।२७ सम्म थुनामा राखी २०६६।११।२८ मा थुनाबाट मुक्त गरी दिनु भनी कारागार शाखा, डिल्लीवजारमा लेखीपठाई दिनु भनी भक्तपुर जिल्ला अदालतमा लेखी पठाई दिनु........१

माथि ठहर खण्डमा लेखिए अनुसार प्रतिवादी नवराज वानियाँलाई कैद बर्ष ८ (आठ) हुने ठहर भएको शुरु जिल्ला अदालतको तपसिल खण्ड २ मा उल्लेख भए अनुसारको सर्वश्व गरी रहनु नपरेकोले सर्वश्वको लगत कट्टा गरि दिनु भनि शुरु भक्तपुर जिल्ला अदालतमा लेखि पठाई   दिनु ....... २

मिसिल नियमानुसार गरी बुझाई दिनु ..३

 

उक्त रायमा म सहमत छु ।

 

न्या.रामप्रसाद श्रेष्ठ

इ.अ.ठाकुरप्रसाद शर्मा

 

इति संबत् २०६१ साल फाल्गुण १४  गते रोज  ६ शुभम ....

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु