निर्णय नं. ७४६२ - अंश ।

निर्णय नं. ७४६२ ने.का.प.२०६१ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
सम्वत् २०५६ सालको दे.पु. नं. ....५७७४
फैसला मितिः २०६१।१।२३।४
मुद्दाः अंश ।
पुनरावेदक
वादीः जि.मोरङ्ग राजघाट गा.वि.स.वडा नं. २ वस्ने लाखवहादुर धिमालको मु.स.गर्ने गणेशवहादुर धिमाल
विरुद्ध
प्रत्यार्थी
प्रतिवादीः जि.मोरङ्ग राजघाट गा.वि.स.वा.नं. २ वस्ने मुनीलाल धिमाल समेत
§ निजी आर्जन गरेको सम्पत्ति वण्डा नलाग्ने हुन्छ । तर प्रस्तुत मुद्दामा वादी प्रतिवादीहरु मानो छुट्टिएको तथ्य स्थापित भएको अवस्था छैन । यसरी सगोलको अवस्थामा परिवारको सामुहिक प्रयासले झोरा जग्गा आवाद गरेको देखिंदा त्यस्तो झोरा जग्गा कुनै अंशियारको नाउँमा दर्ता गर्दैमा निजी आर्जनको भन्न नमिलि सामुहीक प्रयासले आर्जन गरेको सम्पत्तिमा सवै अंशियारको अंश हक समान रुपमा स्थापित हुने ।
§ वादी प्रतिवादीहरु मानु छुट्टिई अलग अलग वसी आएको नदेखिएको, २०३४।९।२७ भन्दा अघिको सम्पत्ति रहे भएकोमा अंशवण्डाको ३० नं. बमोजिम उक्त मिति अगावै छुट्टिई भिन्न भै सो अनुसार दाखेल खारेज, विक्री व्यवहार गरी व्यवहार प्रमाणवाट अंश भिन्न भएको अवस्था समेत नरहेको समेतवाट यी पुनरावेदक वादी र प्रतिवादीहरु वीच अंशवण्डा भएको स्थिति नदेखिने ।
(प्र.नं. २२ र २३)
पुनरावेदक वादीतर्फवाटः विद्वान अधिवक्ताद्वय श्री शिवराज अधिकारी, श्री भोजराज आचार्य
प्रत्यर्थी प्रतिवादीतर्फवाटः
अवलम्वित नजिरः
फैसला
न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत विराटनगरवाट मिति २०५३।३।२४ मा भएको फैसला उपर वादी पक्षवाट परेको निवेदन अनुसार न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) बमोजिम निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छः–
२. पिता मुनीलालको जेठी श्रीमती ज्यामति धिमाल्नी पट्टीका जेठा छोरा लालमन, माइलो म फिरादी कान्छो दिलवहादुर तथा कान्छी श्रीमती सवाई धिमाल्नी पट्टीका जीतवहादुर र एकराज भएको तर आमा ज्यामती धिमाल्नीको धेरै अघि परलोक भै सकेको हुँदा ७ अंशियार छौ । २०१७ साल तिर झोरा जग्गा फडानी गरेकोमा ०२८ साल तिर केही जग्गा पिताजी र केही जग्गा अन्य अंशियारको नाउँमा राखी संगोलमा भोगी आएको हुँदा विपक्षीहरुवाट अंशवण्डाको महलको २०,२१,२२,२३ नं. बमोजिम तायदाती फाँटवारी दाखिल गराई ऐ.ऐ. को १ र २ नं. बमोजिम ७ भागको १ भाग अंश छुट्याई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. वादी ०१७ साल देखिनै अन्य दाजु भाइहरुवाट अलग वसी आएको हुन । पिताजी दाजुहरुका नाउँमा दर्ता रहेको जग्गा ०२५ सालको सर्भे नापी समेतवाट दर्ता भएको जग्गालाई ०२८ सालको झोडा आयोगवाट दर्ता भएको भन्ने वादी दावी झुठा हो । हामी भाइहरुवाट समेत अंश माग भएको फरेवी वादी दावीवाट अलग फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी जीतवहादुर धिमाल, एकराज धिमालको संयुक्त प्रतिउत्तर ।
४. हाम्री आमा ज्यमतीको मृत्यू पछि २०१६ सालमा वादी र हामी समेत नगद रु ३,०००। र अन्य चल सम्पत्ति लिई अलग अलग भएका हौ । फिरादीको भागमा रु ७००। र अन्य चल सम्पत्ति जिम्मा दिइएको हो । ०१७ साल चैत्र महिनामा मानो समेत छुट्याई वेग्लै वसी आएको हो । हामीले ०१८ सालमा झोडा आवाद गरी ०२५ सालको सर्वे नापीवाट नाप नक्सा भई भूमि प्रशासन कार्यालयको मिति ०२९।६।१० को निर्णयवाट हामीहरुका नाउँमा दर्ता भएको जग्गालाई सगोलको ०२८ सालको नापीमा दर्ता भएको भनी झुठ्ठा फिराद दिएको हो । तसर्थ झुठ्ठा फिराद दावीवाट फुर्सद गरि पाउँ भन्ने समेत व्यहोराको प्र. लालमन धिमाल, दीलवहादुर धिमाल, समेतको प्रतिउत्तर ।
५. जेठी श्रीमती परलोक भएपछि निज पट्टीका छोराहरु रु ३०००। नगद र अन्य चल सम्पत्ति जिम्मा लिई अलग वसी सकेपछि ०१८ साल देखि मौजे अठियागारीको जग्गा ढाल फाँड गरी आवाद गरेपछि आ–आफना नाउँमा दर्ता गरी आएको हो । हामीहरुले मानो छुटि आर्जेको सम्पत्ति कसैको भाग वण्डा नलाग्ने हुँदा वादीलाई अंश दिनुपर्ने होइन भन्ने समेत व्यहोराको प्र. मुनीलाल धिमाल र सवाई धिमालको संयुक्त प्रतिउत्तर ।
६. वादी प्रतिवादी वीच अंशवण्डा भएको छैन वादीले प्रतिवादीहरुवाट अंश पाउनु पर्ने हो भन्ने समेत व्यहोराको वादीका साक्षी प्रेमकान्त उपाध्यायको वकपत्र ।
७. वण्डापत्र भए नभएको थाहा छैन वादी २०१६ सालमै भिन्न भै भिन्दै रही वसी आएको हो । त्यस अघि कुनै पैत्रिक सम्पत्ति थिएन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी सानु धिमाल, जिं खाइब धिमाल, वलवहादुर धिमाल समेतले गरेको वकपत्र ।
८. २०१८ सालमा झोडा ढाल फाँड गरी मैले आर्जेको जग्गा मध्ये केही वेची हाल मेरो नाउँमा जि. मोरङ्ग राजघाट गा.वि.स.वा.नं. ७ (ङ) कि.नं. ९७ मा ३–२–१२ जग्गा वाँकी छ भन्ने समेत व्यहोराको प्र. सवाई धिमाल, जितवहादुर धिमाल, एकराज धिमाल समेतको वारेस भै आफ्ना हकमा समेत प्र. मुनीलाल धिमालले मिति २०४९।१२।२९ मा गरेको कागज ।
९. मानो छुट्टिदा अचल सम्पत्ति नभएको र पछि सुकुम्वासीको हैसियतवाट पाएको सम्पत्ति संगोलको आर्जन भन्न नसकिने हुँदा अंश पाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको मोरङ्ग जिल्ला अदालतको मिति ०५१।१।१२ को फैसला ।
१०. विना प्रमाण ०१६ सालमा मानो छुट्टिई वसेको भनी प्रतिवादीले भनेको मौखिक कथनलाई विश्वास मानी सो पछि आर्जन भएको सम्पत्तिवाट अंश नपाउने गरेको फैसला उल्टी वदर गरी वादी दावी बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगर समक्ष परेको वादीको पुनरावेदन ।
११. २०१६ सालमा मानो छुट्टिई भिन्न भएको भन्ने प्रतिउत्तर जिकिर भएतापनि मानो छुट्टिएको भिन्न भएको पारित लिखत प्रस्तुत हुन सकेको नदेखिंदा ०१६ सालमै भिन्न भएको भन्ने मुख्य आधार लिई वादीले अंश नपाउने ठहर गरेको शुरु इन्साफ विचारणीय देखिंदा छलफल निमित्त विपक्षी झिकाउनु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति ०५२।५।७ गतेको आदेश ।
१२. वादीको अंश पाउँ भन्ने दावी नपुग्ने ठहराएको शुरु मोरङ्ग जिल्ला अदालतको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरवाट मिति ०५३।३।२४ मा भएको फैसला ।
१३. पुनरावेदन अदालत विराटनगरवाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) र (ख) को गम्भिर त्रुटि गरी फैसला भएको हुँदा मुद्दा दोह–याई हेरी उक्त निर्णय उल्टी गरी मेरो शुरु माग बमोजिम अंश पाउने गरी पाउँ भन्ने समेत व्यहोराको वादीतर्फवाट यस अदालतमा परेको निवेदन ।
१४. यसमा, वावुको नाउँमा नै जग्गा दर्ता भएको स्थितिमा अंश लिई छुट्टि नसकेको छोराले उक्त सम्पत्तिमा अंश नपाउनु कानून संगत मान्न मिलेन । संगोलको सम्पत्तिमा जीय जीयकै अंश लाग्ने प्रावधान छ । झोरावाट प्राप्त जग्गा परिवारकै श्रमले आवाद हुनेमा परिवारका सवैको हक लाग्ने हुँदा पुनरावेदन अदालत विराटनगरको फैसलामा अंशवण्डाको १ नं. को त्रुटी देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२.१ (क) अन्तर्गत दोहर्याउने निस्सा प्रदान गरिएकोछ भन्ने समेत व्यहोराको यस अदालतको मिति ०५६।२।१९ को आदेश ।
१५. यस अदालतको मिति ०५८।३।१८ को आदेश बमोजिम प्रतिवादी लालमन धिमालले मिति ०५८।७।१६ मा प्र. सवाई धिमाल –१ डिल्लीवहादुर भन्ने दिलवहादुर धिमाल –१, जितवहादुर धिमाल–१ एकराज धिमाल १ समेतले संयुक्त रुपमा मिति ०५९।३।२७ मा, पुनरावेदक वादीको मु.स. गर्ने गणेश वहादुर धिमालले मिति २०५९।३।२८ मा पेश गरेको तायदाती विवरण ।
१६. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फवाट रहनु भएका विद्वान अधिवक्ताद्वय श्री शिवराज अधिकारी र भोजराज आचार्यले वादी प्रतिवादी भिन्न भएको प्रमाण प्रतिवादीहरुले पेश गर्न सकेका छैनन् मानु छुट्टिएको लिखत पनि छैन । संगोलमा रहंदा सवैको परिश्रमले झोरा क्षेत्रको जग्गा आवाद गरी पिता तथा केही भाइको नाउँमा दर्ता गराएको हो । प्रतिवादी मुनीलालको नातिहरु सम्मको नाउँमा रहेको जग्गा झोडा क्षेत्रको जग्गानै हो । ०३४ सालको अंशवण्डाको महलको ३० नं. मा भएको संशोधन भविष्यलक्षी असर हुने गरी भएको हो तर पुनरावेदन अदालतले भूतलक्षी असर हुने गरी प्रयोग गरेको छ । यसै गरी अंश मुद्दामा तारिख गुजारेकोलाई समेत पुनरावेदन अदालतवाट मेरो पक्षको हित विपरीत आधारमा लिएको छ जुन कानूनतः मिल्दैन । १६।१७ सालमा वादी प्रतिवादीहरु भिन्न भएको भन्ने कुरामा प्रतिवादीहरु विचमै एकमत देखिदैन । तसर्थ शुरु तथा पुनरावेदन अदालतको फैसला उल्टी गरी हाल जीवित ५ अंशियार हुँदा ५ भागको १ भाग अंश वादीले पाउने गरी पाउँ भनी गर्नु भएको वहस तथा प्रत्यर्थी प्रतिवादीकातर्फवाट रहनु भएका विद्वान अधिवक्ता श्री रामप्रसाद भट्टराईले प्रतिवादीहरु संग भएको जग्गा पैतृक सम्पत्ति नभएको र झोडा आवाद गरी कमाएको जग्गा हुँदा वण्डा लाग्ने होइन, आ–आफनो मेहेनतवाट अलग अलग पाएको जग्गा वण्डा लाग्दैन यस सम्वन्धमा ने.का.प. २०५७ नि.नं. ६८५७ पृ. १२४ मा प्रकाशित नजीर आकर्षित हुन्छ साथै उखडाको जग्गा पनि अलग अलग दर्ता देखिए आ–आफूले कमाएको मान्नु पर्ने भनी ने.का.प. २०४४ पृ. ६९८ मा सिद्धान्त प्रतिपादन भएको हुँदा यसै प्रकृतिको आ–आफूले झोरा आवाद गरेको जग्गा वण्डा लाग्ने होइन । वादी ०१६ सालमै छुट्टिएको साक्षी समेतवाट प्रमाणित रहेको हुँदा शुरु र पुनरावेदन अदालतवाट भएकै फैसला सदर होस् भनी गर्नु भएको वहस सुनियो ।
१७. पेश हुन आएको पुनरावेदन समेतका सम्पूर्ण मिसिल कागजात अध्ययन गरी पक्ष विपक्षवाट रहनु भएका विद्वान कानून व्यवसायीहरुवाट प्रस्तुत वहस जिकिर समेत मध्यनजर गर्दा यस मुद्दामा पुनरावेदन अदालत विराटनगरवाट मिति २०५३।३।२४ मा भएको फैसला मिले नमिलेको के रहेछ भनी निर्णय दिनुपर्ने हुन आयो ।
१८. निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरु संग संगोलमा रहेको अवस्था हुँदा ७ भागको १ भाग अंश प्रतिवादीहरुवाट दिलाई भराई पाउँ भन्ने वादी दावी भै वादी ०१६ सालमै अलग भिन्न भै वसी आएका हुन हामीले ०१८ सालमा झोडा आवाद गरी ०२९ सालमा आ–आफ्ना नाउँमा दर्ता गरेका हौ । अंश दिनुपर्ने होइन भन्ने नै मुख्य प्रतिवादी जिकिर रहेको यस मुद्दामा अंश पाउँ भन्ने वादी दावी नपुग्ने भनी शुरु मोरङ्ग जिल्ला अदालतवाट भएको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको फैसला उपर मुद्दा दोहोर्याई हेरी पाउँ भनी वादी पक्षवाट परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को (क) नं. को आधारमा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै पुनरावेदन दायरीमा दर्ता भै यस इजलास समक्ष पेश हुन आएको रहेछ ।
१९. वादीले फिरादपत्रमा उल्लेख गरेको नाता सम्वन्धमा प्रतिवादीहरुले कुनै विवाद नउठाएका हुँदा यी वादी र प्रतिवादीहरु अंशियार अंशियार रहे भएको कुरामा विवाद देखिन आएन । वादीले आफूहरु संगोलमा रही आएको भनी दावी लिएको तर प्रतिवादीहरुले आफूहरु २०१६ सालमा मानु छुट्टिई अलग भैसकेको र तत्पश्चात मात्र ०१८ सालमा झोडा आवाद गरी ०२९।६।१० को निर्णयवाट आ–आफ्ना नाउँमा जग्गा नापी दर्ता गराएको हुँदा वादी दावी बमोजिम वण्डा गर्नुपर्ने होइन भनी प्रतिउत्तर जिकिर लिएको देखिन्छ । वादीका साक्षीले वादीको दावी र प्रतिवादीका साक्षीहरुले प्रतिवादी जिकिर समर्थन गर्दै वकपत्र गरेको देखिए पनि प्रतिवादी जिकिर बमोजिम यी वादी र प्रतिवादीहरु ०१६ सालमा मानो छुट्टिएको वा तत्पश्चात अंशवण्डा गरे भएको भन्ने प्रमाणित गर्ने कुनै सवूत प्रमाण प्रतिवादीहरुवाट पेश हुन आएको देखिदैन । हालको मुलुकी ऐन रजिष्ट्रेशनको महलको १ नं. तथा तत्काल प्रचलित मुलुकी ऐन, रजिष्ट्रेशनको महलको ३ नं. मा समेत मानु छुट्टिएको लिखत अनिवार्य रुपमा रजिष्ट्रेशन गर्न पर्ने व्यवस्था भएकोमा सो बमोजिम भए गरेको समेत मिसिलवाट देखिन आउदैन । कानून अनुरुपनै वाध्यात्मक रुपमा मानो छुट्टिएको लिखत रजिष्ट्रेशन हुनुपर्नेमा सो नभएको र मानो छुट्टिएको भन्ने प्रतिवादी जिकिर अन्य सवूत प्रमाणवाट पनि प्रमाणित हुन नसकेको हुँदा वादी प्रतिवादी वीच ०१६।०१७ सालमै मानु छुट्टिएको भन्ने प्रतिवादी जिकिर कानून र तर्कसंगत देखिन आएन । वादीले आफ्नो नाउँमा जग्गा जमीन केही नभए पनि हाल सम्म संगोलकै झोरा जग्गामा वसोवास गरी आएको दावी लिएकोमा प्रतिवादीहरुवाट वादीको हाल वसोवास संगोलको जग्गामा नरही अन्यत्र रहेको छ भनी जिकिर लिन सकेको अवस्था पनि देखिदैन । पुनरावेदन अदालतको फैसलामा यी पुनरावेदक वादी अलग भिन्न वसी अलग व्यवहार गरी आएको अवस्था रहेको भन्ने उल्लेख भै प्रत्यर्थी प्रतिवादीतर्फका विद्वान कानून व्यवसायीले समेत अंशवण्डाको महलको ३० नं. बमोजिम व्यवहार प्रमाणवाट अलग भएको देखिएको हुँदा पुनः अंशवण्डा गर्नु नपर्ने भनी जिकिर समेत लिनु भएकोमा सोतर्फ विचार गर्दा अंशवण्डाको ३० नं. को हालको संशोधन २०३४।९।२७ मा भएको हुँदा सो भन्दा अगावै वण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशवण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाव भाग शान्ति बमोजिम लिई पाई दाखिल खारेज गराई सकेको वा आ–आफनो भागको अचल छुट्टाछुट्टै भोग विक्रि व्यवहार गरेको व्यवहार प्रमाणवाट देखिने हुनुपर्ने हुन्छ तर प्रस्तुत मुद्दामा त्यसरी अल अलग भोग विक्रि व्यवहार वा दाखिल खारेज भएको स्थिति देखिदैन । यस सन्दर्भमा यो यो पैतृक सम्पत्ति वादी प्रतिवादीहरुले आ–आफ्नो नाउँमा दाखेल खारेज गरेको भनी कुनै प्रमाण प्रतिवादीले दिन गुजार्न सकेको समेत नदेखिंदा अंशवण्डाको ३० नं. को प्रयोजनार्थ व्यवहार प्रमाणवाट वादी प्रतिवादीहरु छुट्टि भिन्न भएको भनी अर्थ गर्न नमिल्ने भनी ने.का.प. २०५२ नि.नं. ५०४७ मा सिद्धान्त प्रतिपादन भएको समेत देखिन्छ । यसै गरी वादीका नाउँमा कुनै जग्गा रहे भएको भन्ने प्रतिवादीको जिकिर रहेको सम्म पनि देखिदैन । यस्तै तथ्य भएको राम रिझन खत्वे विरुद्ध सोखिया मण्डल खत्वे भएको अंश मुद्दामा (ने.का.प. २०५०, पृ २६९, नि.नं. ४७४२) मा यस अदालतवाट प्रतिपादीको नाममा धेरै कित्ता जग्गा छ तर वादीको नाउँमा एक कित्ता पनि दर्ता नामसारी नभएको परिप्रेक्ष्यमा अंशवण्डा भइसकेको ठहर्याउन न्यायोचित नहुने भनी सिद्धान्त समेत प्रतिपादन भएको देखिन्छ ।
२०. यो मुद्दाका प्रतिवादीहरु मध्येका मुनीलाल धिमाल यी वादी प्रतिवादीहरुको वावु भएको र ०२९।६।१० को निर्णयवाट निजका नाउँमा समेत झोरा आवाद गरी प्राप्त गरेको जग्गा दर्ता गरेको भन्ने तथ्यमा दुवै पक्ष वीच मुख मिलेकै देखिन आउछ । पिता माताको सम्पत्तिमा छोराहरुको अंश हक स्वभाविक रुपमा स्थापित हुने हुन्छ । अंश हक नैसर्गिक प्रकृतिको हुने मान्यतालाई हाम्रो न्यायिक व्यवहारमा निरन्तर रुपमा अंगिकार गरिदै आएको समेत देखिन्छ । यी वादी प्रतिवादी वीच प्रतिवादी जिकिर बमोजिम मानो छुट्टिएको वा अंशवण्डा भै सकेको अवस्था नरहेको तथ्य माथि विवेचन भै सकेको छ । जसवाट वादीदावी बमोजिम प्रतिवादीहरुवाट अंश पाउनेनै देखिन आउछ ।
२१. जहाँसम्म झोरा आवाद गरी कमाएको जग्गा नीजी सम्पत्ति हो अंशवण्डा गर्नुपर्ने होइन भन्ने प्रतिवादीहरुको जिकिरको प्रश्न छ सोतर्फ विचार गर्दा २०१७ साल तिर झोरा जग्गा फडानी गरी ०२८ साल तिर केही जग्गा पिताजीको नाममा र केही अन्य अंशियारको नाउँमा राखेको भन्ने फिराद पत्रमा उल्लेख भै ०१८ सालमा झोरा आवाद गरी ०२९।६।१० को निर्णयवाट वादी प्रतिवादीहरुका पिता प्रतिवादी मध्येकै मुनीलाल धिमाल समेतका नाउँमा दर्ता गरेको भन्ने कुरा सवै प्रतिवादीले प्रतिउत्तरमा स्वीकार गरेकै देखिन्छ । यी वादीको नाउँमा कुनै जग्गा राखे दर्ता गरेको देखिदैन । अंशवण्डाको १८ नं. ले मानो नछुटिई संग वसेका अवस्थामा कुनै अंशियारले आफ्नो ज्ञान शीप वा प्रमाणवाट निजी आर्जन गरेको सम्पत्ति वण्डा नलाग्ने हुन्छ । तर प्रस्तुत मुद्दामा वादी प्रतिवादीहरु मानो छुट्टिएको तथ्य स्थापित भएको अवस्था छैन । यसरी सगोलको अवस्थामा परिवारको सामुहिक प्रयासले झोरा जग्गा आवाद गरेको देखिंदा त्यस्तो झोरा जग्गा कुनै अंशियारको नाउँमा दर्ता गर्दैमा निजी आर्जनको भन्न मिल्ने हुदैन । सामुहीक प्रयासले आर्जन गरेको सम्पत्तिमा सवै अंशियारको अंश हक समान रुपमा स्थापित हुनेनै हुन्छ । यस सम्वन्धमा प्रत्यर्थी प्रतिवादीतर्फवाट रहनु भएको विद्वान कानून व्यवशायीले ने.का.प. २०५७ नि.नं. ६८५७ पृ. १२४ मा प्रकाशित नजीर प्रस्तुत गर्नु भएकोमा उक्त वादी मौना डगौरा थारु प्रतिवादी ढाटु डगौरा थारु समेत भएको अंश मुद्दामा अलग अलग सुकुम्वासीको हैसियतले जग्गा पाई व्यवहार प्रमाणवाट अलग अलग भोग चलन गरी आएको तथ्य रहेको तर प्रस्तुत मुद्दामा यी वादीका नाउँमा कुनै जग्गा दर्ता नरहेको र अलग अलग विक्री व्यवहार गरेको अवस्था नहुँदा समेत उक्त नजिर यस मुद्दामा आकर्षित हुने देखिन आएन।
२२. यसरी वादी प्रतिवादीहरु मानु छुट्टिई अलग अलग वसी आएको नदेखिएको, २०३४।९।२७ भन्दा अघिको सम्पत्ति रहे भएकोमा अंशवण्डाको ३० नं. बमोजिम उक्त मिति अगावै छुट्टिई भिन्न भै सो अनुसार दाखेल खारेज, विक्री व्यवहार गरी व्यवहार प्रमाणवाट अंश भिन्न भएको अवस्था समेत नरहेको र माथि विवेचित आधार प्रमाणवाट समेत यी पुनरावेदक वादी र प्रतिवादीहरु वीच अंशवण्डा भएको स्थिति देखिएन । वादी दावी बमोजिम प्रतिवादीहरुवाट वादीले अंश पाउनेनै देखिन आयो । वादीले फिरादपत्रमा ७ भागको १ भाग अंश पाउँ भनी दावी गरेतापनि वादी प्रतिवादीहरु वीच नातामा विवाद नरहेको र प्रतिवादी अंशियार मध्येका वादी प्रतिवादीका पिता मुनीलाल धिमालको मिति २०५६।३।२९ मा र आमा सवाई धिमालको २०६०। आषाढ मा मृत्यु भै अव यी वादी –१, लालमन धिमाल–१, दिलवहादुर धिमाल–१, जीतवहादुर धिमाल –१, एकराज धिमाल –१, समेत जना ५ मात्र अंशियार जीवित रहेका एवं मृतक व्यक्तिको अंश भाग लगाई रहन नपर्ने हुँदा समेत वादीले वादी प्रतिवादीले पेश गरेको तायदाती तथा यस अदालतका मिति २०६०।८।२२ का आदेशानुसार मालपोत कार्यालय मोरङ्गको च.नं. २१५४ मिति ०६०।१०।१३ को पत्रसाथ प्राप्त दर्ता श्रेस्ता उतारवाट देखिएको सम्पत्तिवाट ५ भागको १ भाग अंश पाउने ठहर्छ । उल्लेख भए बमोजिम वादीले ५ भागको १ भाग अंश पाउने ठहर गर्नुपर्नेमा अंश पाउँ भन्ने वादी दावी नपुग्ने ठहयाएको शुरु मोरङ जिल्ला अदालतको फैसला र सोलाई सदर गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०५३।३।२४ को फैसला उल्टी हुन्छ । अन्य कुराका हकमा तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि ठहर खण्डमा उल्लेख भए बमोजिम वादी प्रतिवादीले पेश गरेको तायदाती तथा यस अदालतको आदेशानुसार प्राप्त दर्ता श्रेस्ता बमोजिमको सम्पत्तिवाट वादीले ५ भागको १ भाग अंश पाउने ठहर भएको हुँदा वण्डा छुट्याई पाउँ भनी ऐनका म्याद भित्र वादीको निवेदन परे तपसिल बमोजिमको सम्पत्तिवाट कानून बमोजिम गरी वादीलाई ५ भागको १ भाग वण्डा छुट्याई दिनु भनी शुरु मोरङ जिल्ला अदालतमा लेखि पठाउनु ........ १
क. प्रतिवादी लालमन धिमालले मिति ०५८।७।१९ मा पेश गरेको तायदातीवाटः–
जिल्लाः मोरंग राजघाट गा.वि.स. वा.नं ७ङ
कि.नं. क्षेत्रफल जग्गाधनीका नाउँ कैफियत
१९२ ०–२–१२ लालमन धिमाल फुसकोघर
ख. प्रतिवादी सवाई धिमाल समेतले ०५९।३।२७ मा पेश गरेको तायदातीवाट :–
मोरङ्ग राजघाट ७ङ
कि.नं. क्षेत्रफल जग्गाधनीका नाउँ कैफियत
२२२ ०–१२–० दिलवहादुर धिमाल घर समेत
२४९ ०–१५–० जीतवहादुर धिमाल ,,
२५८ ०–१६–१६ ,, ,,
२१३ १–१०–१६ एकराज धिमाल ,,
ग– वादी लाखवहादुरको मु.स. गर्ने गणेशवहादुर धिमालले मिति २०५९।३।२८ मा पेश गरेको तायदातीवाट
मोरङ्ग राजघाट ७ङ
कि.नं. क्षेत्रफल जग्गाधनीका नाउँ कैफियत
२१२ १–११–१६ जीतवहादुर धिमाल घर समेत
२१८ ०–१९–१० रंगलाल धिमाल
२१९ ०–१९–१० जगतवहादुर धिमाल
२२१ ०–१९–१० रोहित धिमाल घर समेत
२२० ०–१९–१० दिपक धिमाल ,,
१८८ १–०–० सोमप्रसाद धिमाल ,,
१९० १–०–० भरत धिमाल ,,
१८९ १–०–० दशरथ धिमाल ,,
१९३ ०–९–० वाथी धिमाल ,,
१९१ १–०–० ज्ञानवहादुर धिमाल ,,
१८७ १–०–० लालमन धिमाल ,,
घ. यस अदालतको मिति ०६०।८।२२ का आदेशानुसार मालपोत कार्यालय मोरङ्गको
च.नं. २१५४ मिति ०६०।१०।१३ को पत्रसाथ प्राप्त दर्ता श्रेस्तावाट :–
जि.मोरङ्ग राजघाट ७ङ
कि.नं. क्षेत्रफल जग्गाधनीका नाउँ कैफियत
३१७ ०–१४–१० रोहितकुमार धिमाल ,,
२९९ ०–१६– ६ रंगलाल धिमाल ,,
२८५ ०–१८–० दशरथ धिमाल ,,
२८७ ०–७–० वाँधी धिमाल ,,
१९२ ०–२–१२ लालमन धिमाल
३०१ ०–१३–१० जगतवहादुर धिमाल ,,
२५६ ०–११–१० दिलवहादुर धिमाल ,,
वादीले कोर्टफि वापत फिराद दायर गर्दा रु.२५। पुनरावेदन अदालत मोरङ्गमा पुनरावेदन गर्दा रु.१००। तथा यस अदालतमा पुनरावेदन दर्ता गर्दा रु.१००। गरी जम्मा रु.२२५। कोर्टफि वुझाएको मिसिलवाट देखिंदा प्रतिवादीहरुवाट भराई पाउँ भनी यसै सरहदको जेथा देखाई ऐनका म्याद भित्र वादीले निवेदन गरे नियमानुसार भराई दिनु भनी शुरु मोरङ्ग जिल्ला अदालतमा लेखी पठाउनु .....२
वादीले यस अदालतको मिति ०५८।३।१८ का आदेशानुसार तायदाती विवरण पेश गर्दा कोर्टफि दाखिल गर्नुपर्नेमा मिति ०५९।३।१६ का आदेशानुसार कोर्टफि ऐन, २०१७ को दफा २३ बमोजिम सुविधा प्राप्त गरेको हुँदा माथि उल्लेख गरे बमोजिमको वण्डा पाउने सम्पत्तिवाट कोर्टफि यकीन गरी प्रतिवादीहरुवाट जरीवाना सरह असूल उपर गर्नु भनी शुरु अदालतमा लेखि पठाउनु .......... ३
दायरीवाट यस मुद्दाको लगत कट्टा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ...... ४
उक्त रायमा सहमत छु ।
न्या.रामप्रसाद श्रेष्ठ
इजलास अधिकृत : रितेन्द्र थापा
इति संवत् २०६१ साल वैशाख २३ गते रोज ४ शुभम्.............................