निर्णय नं. ७४६४ - जालसाजी ।

निर्णय नं. ७४६४ ने.का.प.२०६१ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री वद्रीकुमार वस्नेत
सम्वत् २०५७ सालको फौ.पु नं. –––२६६८
फैसला मितिः २०६१।९।१५।५
मुद्दाः– जालसाजी ।
पुनरावेदक
प्रतिवादीः जिल्ला वारा कलैया न.पा.वडा नं. ११ वस्ने जय चन्द्रप्रसाद चौरसिया समेत
बिरुद्ध
प्रत्यर्थी
वादीः जिल्ला वारा गा.वि.स.छतवा वडा नं. ७ वस्ने हिरमतिया हजामिन मरी मु.स.गर्ने राम आशिष ठाकुर हजाम
§ कुनै पनि क्रिया जालसाजी ठहर्नको लागि दावीकर्ताको स्थापित अधिकार (Perfect right) अपहरित भएको हुनुपर्ने ।
§ प्रस्तुत मुद्दामा वादीले आफ्नो जुन हक विवादीत २०५५।१०।१ को मिलापत्रवाट अपहरित भयो भनि दावी लिएको हो त्यो हक निजको Perfect right नभई संयोगिक किसिमको हक (Contingent Right) देखिन आउने ।
(प्र.नं. १५)
पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा, अधिवक्ता श्री जानकीप्रसाद गिरी
प्रत्यर्थी वादीतर्फवाटः अधिवक्ताहरु श्री कृष्णप्रसाद सापकोटा, श्री जगन्नाथ महता सिंह, श्री उत्तमप्रसाद पन्त र श्री शम्भुवहादुर गोले
अवलम्वित नजिरः
फैसला
न्या.वद्रीकुमार वस्नेतः पुनरावेदन अदालत हेटौडावाट मिति २०५७।२।१७।३ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) र (ख) अन्तर्गत प्रतिवादी पक्षवाट यस अदालतमा मुद्दा दोहोर्याई हेरी पाउँ भन्ने निवेदन परी यस अदालत संयुक्त इजलासको मिति २०५७।३।१५ को आदेशवाट मुद्दा दोहोर्याउने निस्सा प्रदान भई यस अदालतको फौजदारी पुनरावेदन दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ :–
२. धरोहर ठाकुरको संगोलको पत्नी म फिरादी हुं । पति धरोहर ठाकुरको मोही हक दर्ताको जिल्ला वारा गा.वि.स. विसंभरपुर वडा नं. ९ कि.नं. २९७ को ज.वि. ०–८–० कि.नं. ४७४ को ज.वि. ०–९–० तथा कि.नं. ४८३ को ज.वि. ०–८–१५ गरी जम्मा ज.वि. १–५–१५ को साविक जग्गा धनी रामप्रसाद वरै र हालका जग्गा धनी विपक्षी जयचन्द्र हुनु हुन्छ ।
३. उपरोक्त जग्गाहरु दर्तावाला मोही मेरो पतिले मोहीमा जोती कमाई आउनु भएकोमा पति धरोहर ठाकुर आफ्ना कालगतिवाट २०३० सालमा स्वर्गवास हुनु भयो । जग्गाधनीले भू.सु. ऐन को दफा २६ (१) बमोजिम मलाई पत्याई जोत्न दिएबाट म फिरादीले नै मोही सम्वन्धी आफ्नो दायित्व निर्वाह गरी सालसालै उक्त जग्गाहरुको हुने कुत वाली जग्गाधनीलाई वुझाई तिरो तिरी आएको छु । म फिरादीले मोही हक भोगको उक्त जग्गाहरु आफ्नो स्व. पतिको नामबाट आफ्ना नाममा मोही नामसारी गरी पाउँ भनि भू.सु.का. वारामा मुद्दा दिएकोमा उक्त मुद्दा भु.सु.का. वारामा विचाराधीन नै छ । मेरो मोही हक भोगको उपरोक्त जग्गाहरुबाट मेरो मोही हक मेटन उपरोक्त विपक्षीहरुले आपसमा मिलेमतो गरी विपक्षी नारायण ठाकुरले उक्त जग्गाहरुको सम्बन्धमा नै. भू.सु.का मा मोही नामसारी मुद्दा दिएकोमा थाहा भै मैले त्यस कार्यालयमा नारायण ठाकुरले उपरोक्त जग्गाहरुको मोही नामसारीका सम्वन्धमा दिएको उक्त मुद्दा र मैले दिएको द.नं. ४१०४ को मोही नामसारी मुद्दा लगाउ कायम गरी एकै साथ हेरी पाउँ भनी २०५५।९।१५ मा निवेदन दर्ता समेत गराएको छु । उक्त जग्गाहरुको मोही हक विपक्षी नारायण ठाकुरको नामसारी हुने गरी विपक्षीहरुले मिलापत्र गरी सके भन्ने कुरा मिति २०५५।१०।११ गते गाउँ घरमा सुनी आफ्नो संगोलको छोरा रामअशिष मार्फत सोही दिन भू.सु.का. वारामा आई पत्ता लगाउदा नक्कल लिई हेर्दा विपक्षी नारायण ठाकुरले उपरोक्त माथि उल्लेखित जग्गा पिता धरोहरको नामबाट मेरो नाममा मोही नामसारी गरी पाउँ भनि मिति २०५५।९।१५ मा निवेदन दिएकोमा विपक्षी जग्गा धनीले मोहीमा नारायण ठाकुरलाई नै पत्याउने मंजुर गरेको भनी प्रतिवाद गरी उक्त जग्गाहरुमा नारायण ठाकुरका नाममा मोही नामसारी दर्ता समेत हुने गरी भू.सु.का. वारामा मिति २०५५।१०।१ गते विपक्षीहरुले मिलापत्र समेत गरे गराएको कुरा थाहा पाई मिलापत्र वदर गरी पाउँ भनी भू.सु.का. वारामा मुद्दा समेत दिएको छु । पति धरोहर ठाकुरको स्वर्गवास पश्चात देखिनै उपरोक्त जग्गाहरु जग्गाधनीले म फिरादीलाई जोत्न दिई मोही मानी साल सालै कुतवाली समेत वुझी लिई पाई आएको अवस्था मेरो मोही हक भोगको उक्त जग्गाहरुवाट मेरो मोही हक मेट्न विपक्षीहरुले आपसमा मिलेमतो गरी झुठा व्यहोराको निवेदन दिई दिलाई प्रतिवाद गरी मुद्दा मिलापत्र गर्दैमा त्यस्तो त्रुटी पूर्ण गैरकानूनी मिलापत्रको आधारबाट मेरो मोही हक मेटिने होइन । जग्गावाला विपक्षीहरुको आचरणहरुवाटै भू.सु. ऐनको दफा २६ (१) बमोजिम मोहीको मृत्यु पश्चात मोहीको सगोलको पत्नी छोरामा सगोलको पत्नीलाई पत्याई मोही मानी म वाट कुत वुझी सालसालै वुझी सकेपछि २०५५ सालमा आई मेरो भिन्दको छोरा विपक्षी नारायण ठाकुरलाई पत्याउने भनी पत्याउने अधिकार पटक पटक प्रयोग गरी स्वेच्छा अनुसार मोही हेरफेर गरी रहन मिल्ने होइन । मलाई मोही मानी २०३० साल देखि अद्यापी सम्मको वाली साल सालै वुझी सकेपछि विपक्षी नारायण ठाकुरलाई पत्याउन मन्जुर छ भनी प्रतिवाद गरी मिलापत्र गरी मेरो मोही हक मेटन उपरोक्त लेखिए बमोजिम विपक्षीहरुले जालसाज गरेको हुंदा जालसाज गर्ने विपक्षीहरुलाई कृर्ते कागजको १० नं. बमोजिम सजायँ समेत गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
४. वादी दावीको जग्गाको मोही पिता धरोहर ठाकुर भै जोती आउनु भएकोमा पिता धरोहर ठाकुर स्वर्गवास हुनु भए पछि मैले मोही नामसारी गरी पाउँ भनी भु.सु.का. वारामा निवेदन दिएको थिएं । भूमि सम्वन्धी ऐनको दफा २६(१) बमोजिम मोहीको उत्तराधिकार धरोहर ठाकुरको पत्नी छोरा मध्ये जग्गावालाले पत्याएको व्यक्तिको नाममा मोही नामसारी दर्ता लगत कायम हुने व्यवस्था भएको, धरोहर ठाकुरको पत्नी विपक्षी वादी र छोरा म प्र. नारायण ठाकुर तथा राम आशिष ठाकुर राम सेवक ठाकुर समेत ४ व्यक्ति भएकोमा विपक्षी जयचन्द्रप्रसादले म नारायण ठाकुरको निवेदन उजुर परेकोमा म नारायण ठाकुरलाई पत्याउन मंजुर गरी प्रतिवाद गरेको र वादीलाई पत्याउन मन्जुर नगरी प्रतिउत्तर दिएको हुंदा म नारायण ठाकुरलाई पत्याई मिति २०५५।१०।१ मा मिलापत्र गरेको हुंदा प्रस्तुत उजुर हकदैयाको अभाव हुंदा खारेजभागी छ भन्ने समेत व्यहोराको प्र. नारायण ठाकुर हजामको प्रतिउत्तरपत्र ।
५. वादीको जग्गाको जग्गावाला म प्रतिवादी हुं भन्ने कुरामा र दावीको जग्गाको मोही धरोहर ठाकुर भई निजको नाममा मोही लगत मिति २०५५।९।१३ सम्म कायम रहेको कुरामा विवाद छैन । विपक्षी हिरमतिया र नारायण ठाकुरले मोही नामसारी गरी पाउँ भनी मिति २०५५।९।१३ मा निवेदन दिएकोमा मेरो नाममा म्याद जारी भै मैले पाउनु पर्ने अवस्थाको भै नारायण ठाकुरलाई पत्याउन मन्जुर गरी र विपक्षी हिरमतियालाई पत्याउन मन्जुर नगरी प्रतिवाद गरेको थिएं । नारायण ठाकुरलाई पत्याउन मन्जुर हुंदा निजका नाममा मोही नामसारी हुने गरी मिति २०५५।१०।१ मा मिलापत्र गरेको छु । भूमि सम्वन्धी ऐनको दफा २६(१) मा मोहीको मृत्यु पछि मोहीको पत्नी छोरा समेत मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई मोही हक प्राप्त हुने व्यवस्था भएको र श्री सर्वोच्च अदालतवाट निवेदक दुखा साह विरुद्ध भूमिसुधार कार्यालय धनुषा, समेत भएको उत्प्रेषण मुद्दामा भूमि सम्वन्धी ऐनको दफा २६(१) को प्रयोग भूमिसुधार अधिकारीले गर्ने नभई जग्गावालाले गर्न पाउने हो भनी सिद्धान्त प्रतिपादन भई राखेको छ । जग्गाको वाली भरपाई लिदैमा र जग्गाको वाली लिदैमा वाली वुझाउने व्यक्ति वा वाली भराई दिएका व्यक्ति मोही नहुने भन्ने र मोही लगत दर्ता भै सकेपछि मात्र मोही हुने कुरा श्री सर्वोच्च अदालतको नि.नं. ३८९६ निवेदक वृछा महतो विरुद्ध भूमिसुधार कार्यालय पर्सा समेत मुद्दा उत्प्रेषण ने.का.प. २०४६, पृष्ठ ८०, नि.नं. ४७५० र वादी मोहनकुमार प्रतिवादी श्यामवहादुर समेत मुद्दा उत्प्रेषण ने.का.प. २०५० पृष्ठ २९५ बाट स्पष्ट छ । जग्गावाला म प्रतेवादी भएको र धरोहर ठाकुरको नाममा मोही लगत समेत कायम रहेको अवस्था भै म उपर उजुर परेको हुंदा मैले प्रतिवाद गरी भएको अधिकार अनुसार मिलापत्र गरेकोलाई अधिकारयुक्त छैन भनी भन्न नमिल्ने । आफ्नो अधिकार अनुसार गरेको काम कृर्ते कागजको ३ नं. अन्तर्गत नपरी जालसाजी नहुने । धरोहर ठाकुरको नाममा मोही लगत कायम नरही नारायण ठाकुरको नाममा मोही लगत कायम भइसकेको अवस्थामा वादी अ.वं. ८२ नं. ले हकदैयादार नहुने मोही लगत कट्टा भै सकेपछि कोही पनि हकदैयादार नहुने भन्ने कुरा श्री सर्वोच्च अदालतवाट निवेदक कृष्णवहादुर थापा विरुद्ध भूमिसुधार कार्यालय काठमाडौं समेत भएको उत्प्रेषण मुद्दामा श्री सर्वोच्च अदालत वुलेटिन २०५१, वर्ष ३, अंक २० पूर्णांक ६२ बाट स्पष्ट छ । २०३० सालमा धरोहर ठाकुर स्वर्गवास भएको र नारायण ठाकुर संग २०४२।३।२ मा वण्डापत्र भै छुटिएको भन्ने हुंदा धरोहर ठाकुरको एकासंगोलको पत्नी वादीलाई मोही उद्धेश्यको लागि मान्न मिल्ने होइन । वादी र नारायण ठाकुर दुबै समान अवस्थाको हुंदा म जग्गाधनीलाई भएको अधिकार प्रयोग गरी गरेको मिलापत्र अधिकारयुक्त र कानून संगत छ, त्यसो हुंदा वादीको गैरकानूनी झुठा दावीवाट अलग फुर्सत गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी जयचन्द्रप्रसाद चौरासियाको प्रतिउत्तरपत्र ।
६. नारायण ठाकुर भिन्न भइसकेको अवस्था पछि भिन्न भएको अवस्थामा मोही पत्याउन नसकिने दफा २६ (१) को अवस्था र व्यवहारवाट मोही पत्याई सकेको अवस्थालाई मिलापत्रको माध्यमवाट परि रहेको हिरमतियाको मिसिलमा असर पार्ने तवरवाट मिति २०५५।१०।१ मा मिलापत्र भएको देखिंदा सो कार्य जालसाजी ठहर्छ भन्ने समेत व्यहोराको २०५६।९।२० को वारा जिल्ला अदालतको फैसला ।
७. म नारायण ठाकुर धरोहर ठाकुरको छोरा भन्नेमा विवाद छैन । धरोहर ठाकुरको नाममा मोही लगत कायम रहेको कुरामा समेत विवाद नभएको र भूमि सम्वन्धी ऐनको दफा २६ (१) ले जग्गावालाले पत्याएको व्यक्तिलाई मोही हक प्राप्त हुनेछ भन्ने व्यवस्था छ । मेरो मोही हकको प्रमाणपत्रलाई असरदायी निर्णय अ.वं. ३५ नं. विपरीत हो । मोही सम्वन्धी निर्णय गर्ने अधिकार भूमिसुधार कार्यालयको हुंदा अधिकार प्राप्त अधिकारीले गराएको मिलापत्र जालसाजीको परिभाषा भित्र पर्दैन । हिरमतियाको स्वर्गवास पश्चात अ.वं. ६२ (३) विपरीत सकार र निर्णय गम्भीर कानूनी त्रुटी हो । अ.वं. १२ नं. बमोजिम मुल्तवी राखिएको हुंदा मुल्तवी मुद्दामा असर पुर्याउन मिलापत्र गरेको भन्न मिल्दैन । तसर्थ शुरु वारा जिल्ला अदालतको फैसला वदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी नारायण ठाकुर हजामको पुनरावेदन जिकिर ।
८. मोही हो वा होइन भन्ने अधिकार भूमिसुधार अधिकारीलाई हुंदा प्रस्तुत फैसला अ.वं. ३५ नं. प्रतिकूल छ र न्यायिक हस्तक्षेप हो । मोही लगत दर्ता नभै मोही सम्वन्धी कुरामा उजुर गर्न हक नपुग्ने । उजुरी अ.वं. ८२ नं. प्रतिकूल हुने र मिति २०५६।३।७ मा हिरमतियाले प्रस्तुत मुद्दा दायर गरेको र हिरमतिया तथा नारायण ठाकुर मिति २०४२।३।२ मा वण्डा गरी छुटि वसेको भन्ने देखिएकै छ । मिति २०५६।४।११ मा हिरमतिया स्वर्गवास भएको मिति २०४२।३।२ मा भिन्दको व्यक्ति रामअषिश ठाकुरबाट मुद्दा सकार गराइएको कुरा अ.वं. ६२(३), भू.सं. ऐनको दफा २६ (१) र स.अ. को नि.नं. ६२३५ समेतको प्रतिकूल हुंदा शुरु वारा जिल्ला अदालतको फैसला वदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी जयचन्द्रप्रसाद चौरसियाको पुनरावेदन पत्र ।
९. दर्तावाला मोही परलोक भएपछि निजका अलग अलग वसेका पत्नी छोरा मध्ये मोहीको पत्नी संग २० औं वर्ष देखि जग्गा धनीले वाली बुझी खाई आएकोवाट जग्गा धनीले हिरमतियालाईनै पत्याई आएका हुन भनी मान्नु पर्ने हुंदा र हिरमतिया देवीको हकमा प्रतिकूल असर पर्ने गरी मिलापत्र भएको यस अवस्थामा त्यस्तो मिलापत्रलाई जालसाजी ठहर्याई शुरु वारा जिल्ला अदालतवाट भएको मिति २०५६।९।२० को फैसला मिलेकै हुंदा सदर हुने ठहर्छ । प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडावाट मिति २०५७।२।१७ मा भएको फैसला ।
१०. विवादीत कि.नं. २९७, ४७४, ४८३ को दर्तावाला मोही वादी हिरमतिया हजामिन नरही स्व. धरोहर हजाम रहेको यथार्थतामा विवाद छैन । दर्तावाला मोही स्व. धरोहर हजामको २०३० सालमानै स्वर्गारोहण भइसकेको पनि निर्विवाद छ । दर्तावाला स्व. मोहीको नामको मोहीयानी हक फिरादी हिरमतियाको नाममा नामसारी भई निजको हकको सृष्टि भएको कदापी पनि छैन । हकको सृष्टिनै नभएको विपक्षीको हक मेटिने समाप्त हुने भन्ने अवस्था नै छैन । हकको सृष्टिनै नभएको विपक्षीको फिराद ग्रहण गरी वादी दावी बमोजिम हुने ठहर गरी गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हेटौडाको फैसलामा अ.वं. ८२ नं. को गम्भीर व्याख्यात्मक प्रश्न विद्यमान हुनुका साथै फैसलामा ने.का.प. २०३६ नि.नं. १२३० पृष्ठ १७ मा संस्थापित सिद्धान्तको अवज्ञा भएको छ । तसर्थ उक्त फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) र (ख) बमोजिम दोहोर्याई हेरी शुरु वारा जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौडाको फैसला समेत वदर गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी पक्षको यस अदालतमा परेको निवेदन पत्र ।
११. यसमा मिलापत्र वदर समेतको मुद्दा भूमिसुधार कार्यालयमा दायर भै रहेकोले विवादको समाधान त्यसैवाट हुनेमा मिलापत्रलाई जालसाजी भनी एउटै विषयमा २ किसिमका उजुर २तर्फ दायर गरेको कानून संगत नभएको र हिरमतियाको मृत्यु भए पछि मोही हकको दायित्व दैयादारमा सर्ने व्यवस्था नभएको समेत स्थितिमा पुनरावेदन अदालत हेटौडाको निर्णयमा किर्ते कागजको ३ नं. को त्रुटि देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम दोहोर्याउने निस्सा प्रदान गरिएको छ सम्वन्धित शुरु रेकर्ड तथा भए प्रमाण मिसिलहरु समेत झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासवाट भएको मिति २०५७।३।१५ को आदेश ।
१२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरुकोतर्फवाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता श्री शम्भु थापा तथा विद्वान अधिवक्ता श्री जानकीप्रसाद गिरीले प्रतिवादी जयचन्द्रप्रसाद चौरसियाको नाउँमा दर्ता रहेको कि.नं.२९७,४७४ र ४८३ को जग्गाका दर्तावाला मोही स्व. धरोहर ठाकुर भएकोमा निजको मृत्यु २०३० सालमा भएको र उक्त जग्गाको मोहियानी हक नामसारी गर्ने सन्दर्भमा धरोहरकी पत्नी वादी हिरमनिया र छोरा प्रतिवादी नारायण ठाकुर वीच विवाद भई दुवैको भु.सु.का. वारामा निवेदन परेकोमा जग्गा धनीले दर्तावाला मोहीको छोरा नारायण ठाकुरलाई पत्याई भु.सु.का. वारामा मिलापत्र भएको देखिन्छ । २०५५।१०।१ को मिलापत्र वदर गर्नको लागि प्रत्यर्थी वादीको अ.वं. १८६ नं. बमोजिम भु.सु.का. वारामा मुद्दा परी रहेको छ । तत्पश्चात वारा जिल्ला अदालतमा प्रस्तुत जालसाँजी मुद्दा परेको अवस्था हो । यसरी एउटै विषयमा अलग अलग अड्डामा मुद्दा परेकोमा अ.वं. ८९ नं. बमोजिम पहिला परेको मुद्दावाट इन्साफ गरी पछिल्लो नालिस वातिल गर्नुपर्ने कानूनी व्यवस्था छ । यसमा प्रमुख विवाद भनेकै मोही पत्याउने हो । मोहीको हुने को नहुने भन्ने कुराको निर्णय गर्ने अधिकार भुमिसुधार कार्यालयलाई मात्र छ । जिल्ला अदालतले भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६ (१) को व्याख्या समेत गरी भु.सु.का.को अधिकारक्षेत्र ग्रहण गरेको त्यो विलकुल त्रुटीपूर्ण छ । दर्तावाला मोही धरोहरको मृत्यु २०३० सालमा भएको हुंदा मोही पत्याउने सम्वन्धमा नेपाल कानून व्याख्या सम्वन्धी ऐन, २०१० को दफा ४ बमोजिम मोहीको मृत्यु हुँदाको वखत प्रचलित कानून लागू हुने हो । भूमि सम्वन्धी ऐन, २०२१ को साविक दफा २६ (१) मा मोही मरेमा निजको मोहियानी हक निजको पति, पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने प्रावधान रहेको र सोही बमोजिम जग्गा धनीले मोहीमा वादी हिरमतियालाई नपत्याई प्रतिवादी नारायण ठाकुरलाई मोही पत्याएको देखिन्छ । मोहियानी हक स्वतः पति पत्नि वा छोराहरुमा सर्ने होइन दफा २६ (१) को नाता मध्ये जग्गाधनीले जसलाई पत्याउँछ उसैलाई मोहीयानी हक प्राप्त हुन्छ भनी सम्मानित सर्वोच्च अदालतवाट ने.का.प. २०४२, नि.नं. २४१२, पृष्ठ ६१२ मा सिद्धान्त प्रतिपादन भइसकेको हुँदा जग्गाधनीले दर्तावाला मोहीको छोरा प्रतिवादी नारायण ठाकुरलाई मोहिमा पत्याएको क्रियामा कुनै त्रुटी समेत छैन । जग्गा धनी र मोही वीच मोही पत्याउने सन्दर्भमा सक्षम अड्डामा भएको मिलापत्रलाई जालसाँजी भनी किर्ते कागजको ३ नं. अनुसारको उपचारको माग गरी वादी प्रस्तुत मुद्दाको फिराद लिएर आएको देखिन्छ । स्थापित भइसकेको हक अपहरित भएकोमा मात्र किर्ते कागजको ३ नं. आकर्षित हुने हो । किर्ते कागजको ३ नं. मा अर्काको हक मेट्ने हदम्याद तारिख जाने वा कुनै तरह संग नोक्सान पार्ने इत्यादी जुनसुकै मतलवले होस नगरे नभएको झुठ्ठा कुरा गरे भएको हो भनी वा मिति अड्ढ वा व्यहोरा फरक पारी सहिछाप गरी गराई कागज वनाए वा वनाउन लगाएमा समेत जालसाजी गरेको ठहर्छ भन्ने प्रावधान रहेको छ । वादी हिरमतियालाई जग्गाधनीले पहिलेनै मोहीमा पत्याई सकेको भए निजको हक स्थापित भएको मान्न सकिन्थ्यो र निज उक्त किर्ते कागजको ३ नं. अनुसार प्रस्तुत मुद्दा लिएर आउन सक्ने स्थिति हुन्थ्यो तर यहाँ निजको हक स्थापित भएकै छैन । पुनरावेदन अदालत हेटौडाले वादी हिरमतिया संग २० औ वर्ष देखि जग्गा धनीले वाली वुझी खाई आएकोवाट जग्गा धनीले हिरमतियालाई नै पत्याई आएका हुन भनी मान्नु पर्ने भनेको छ । तर उक्त बुँदा सम्मानित सर्वोच्च अदालतवाट प्रतिपादीत नजीर प्रतिकूल रहेको छ । विधिवत मोही रोजेपछि मात्र मोही हक प्राप्त हुन्छ आपसी व्यवहार र आचरणवाट मोही हुन सक्दैन भनि ने.का.प. २०५२ नि.नं. ६१०३ अंक ११ पृष्ठ ९५७ तथा साविक मोहीको मृत्युपछि जग्गाधनीले पत्याएको व्यक्तिलाई मोही हक प्राप्त हुन्छ वालि वुझेको भरपाईको आधारमा मात्र मोही मान्न नमिल्ने भनि ने.का.प. २०५१ नि.नं. ४९०६ अंक ५ पृष्ठ ३४७ मा प्रतिपादित सिद्धान्त प्रतिकूल हुने गरी जालसाजी मुद्दाको रोहवाट मोहीको तेरो मेरो हेरी निर्णय गरेको शुरु वारा जिल्ला अदालतको मिति २०५६।९।२० को फैसला र सो लाई सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौडाको मिति २०५७।२।१७ को फैसला समेत त्रुटिपूर्ण हुंदा उल्टी हुनु पर्छ भनि वहस प्रस्तुत गर्नु भयो ।
१३. त्यसै गरी प्रत्यर्थी वादीकोतर्फवाट उपस्थित हुनु भएका विद्वान अधिवक्ताहरु श्री कृष्णप्रसाद सापकोटा, श्री जगन्नाथ महतो सिंह, श्री उत्तमप्रसाद पन्त तथा श्री शम्भुवहादुर गोलेले आफ्ना पति पिता स्व. धरोहरको नाउँको मोहीयानी हक नामसारीको लागि वादी हिरमतिया र प्रतिवादी नारायण ठाकूरको दुवैको निवेदन परेको छ । दुवै निवेदन एकैसाथ राखी निर्णय होस भनि निवेदन समेत परेको अवस्थामा त्यसलाई वेवास्ता गरी भू.सु.का.मा जग्गाधनी र नारायण ठाकूर वीच २०५७।१०।१ मा मिलापत्र गराइएको छ । यसरी दुवै पक्षको निवेदनपत्र दर्ता भएको कार्यालयलाई समेत जानकारी भएको विषयमा एउटा निवेदनलाई पन्छाएर अर्को दावीमा मिलापत्र गर्नु भनेको वादी हिरमतियाको हक मेट्न गरिएको जालसाजीनै हो भन्ने कुरा स्पष्ट छ । दुई तहबाट जालसाँजी ठहर भइसकेको छ । कुनै पनि क्रियाकलाप जालसाँजी हुनको लागि विवादको विषयवस्तुमा उजुरी कर्ताको निर्विवाद हक हुनु पर्छ त्यसमा विवाद छैन । २०३० सालमा दर्तावाला मोही धरोहरको मृत्यु भए पछि उक्त हक एका सगोलकी पत्नी हिरमतियामा आएकै छ । २०४२ सालमा हिरमतियाले प्रतिवादी नारायण ठाकुरलाई अंश समेत दिई वण्डा पत्र भएको छ । छुटिएर गई सकेपछि वावुको मोहियानी हक निजमा जान सक्दैन । मोही हक स्वास्नी वा छोरा भएर मात्र पाउने अंश जस्तो हक होइन । यो त जोतेर पाउने हक हो । जग्गा हिरमतियाले जोतेको भन्ने कुरा वादी हिरमतियावाट कूत वुझी जग्गा धनीले गरि दिएको भरपाईले पुष्टि गरि रहेको छ । मोहीयानी हक नामसारीको लागि कुनै हदम्यादको व्यवस्था छैन । वादीको २०५५ सालमा नामसारीको लागि निवेदन परेको हुंदा फिराद परेको वेला प्रचलित कानून बमोजिम न्याय निरोपण हुने स्पष्ट छ । यस सम्वन्धमा पुनरावेदक प्रतिवादी चन्द्रवहादुर पिला श्रेष्ठ विरुद्ध तुलसीवहादुर प्रजापति भएको सम्वत् २०५५ सालको दे.पु.ई.नं. ६८ को निखनाई पाउँ भन्ने मुद्दामा सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासवाट मिति २०५६।८।१६ गते सिद्धान्त समेत प्रतिपादन भइसकेको छ । शुरु भु.सु.का. वारावाट भएको विवादीत २०५५।१०।१ को मिलापत्र मोही पत्याउनको लागि मात्र भएको नभई मोही हक नामसारी गर्नकै लागि भएको हुंदा यसरी एकाको हक मेट्नको लागि खडा गरिएको जालसाजी पूर्ण क्रियाको वारेमा न्याय निरोपण गर्ने क्षेत्राधिकार सक्षम अदालतलाई नहुने भन्ने कल्पना समेत गर्न सकिदैन । तसर्थ वादी दावी बमोजिम उक्त मिति २०५५।१०।१ को मिलापत्रलाई जालसाजी ठहर्याएको शुरु वारा जिल्ला अदालतको मिति २०५६।९।२० को फैसला र त्यसलाई सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौडाको मिति २०५७।२।१७ को फैसला समेत मनासिव र न्यायोचित हुँदा सदर होस भनि वहस प्रस्तुत गर्नु भयो ।
१४. दुवैतर्फका विद्वान कानून व्यवसायीहरुले प्रस्तुत गर्नु भएको उल्लेखित वहस जिकीर समेत सुनी प्रस्तुत मुद्दाको मिसिल संलग्न सम्पूर्ण कागजातहरुको अध्ययन गरियो । यसमा वादी दावी बमोजिमको भु.सु.का. वारामा भएको मिति २०५७।१०।१ को मिलापत्रलाई जालसाजी ठहर्याएको शुरु वारा जिल्ला अदालतको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत हेटौडावाट मिति २०५७।२।१७ मा भएको फैसला मिले नमिलेको के रहेछ हेरि निर्णय दिनुपर्ने देखियो ।
१५. निर्णयतर्फ विचार गर्दा जयचन्द्रप्रसाद नाउँ दर्ताको कि.नं. २९७, ४७४ र ४८३ को जग्गाको दर्तावाला मोही वादी हिरमतियाका पति तथा प्रतिवादी नारायण ठाकुरका पिता स्व. धरोहर ठाकुर भएकोमा कुनै विवाद देखिदैन । मोहि धरोहर ठाकुर २०३० सालमा परलोक भएकोमा तत्काल निजका नाउँको मोही हक नामसारी गर्ने कार्य भई नसकेको अवस्थामा २०५५ सालमा आएर मोहीको पत्नी प्रत्यर्थी वादी हिरमतिया र छोरा पुनरावेदक प्रतिवादी नारायण ठाकुर छुट्टाछुट्टै निवेदन लिएर मोही नामसारीको लागि भूमिसुधार कार्यालय वारामा गएको देखिन आउँछ । यसरी आफ्ना स्व. पति पिताको मोही हक नामसारी गर्ने सन्दर्भमा दर्तावाला मोहीको पत्नी र छोरा दुवैको दावी परेको अवस्थामा जग्गा धनी जय चन्द्रप्रसाद चौरसियाले दर्तावाला मोहीको छोरा नारायण ठाकुर हजामलाई मोहीमा पत्याएको हुंदा कि.नं. २९७, ४७४, ४८३ को जग्गाको मोहियानी हक नारायण ठाकुर हजामको नाउँमा नामसारी हुने गरी २०५५।१०।१ मा जग्गा धनी र नारायण ठाकुर हजाम वीच मिलापत्र भएको यसै साथ रहेको शुरु भू.सु.का.को मोही नामसारी मुद्दाको प्रमाण मिसिल संलग्न मिलापत्रको सक्कल कागजवाट देखिन आयो । उक्त मिलापत्र वदर गरी पाउँ भनी प्रत्यर्थी वादी हिरमतिया हजामिनकोतर्फवाट शुरु भु.सु.का. वारामा फिरादपत्र परी रहेको तथ्यलाई प्रस्तुत मुद्दाको फिराद पत्रमा नै वादी हिरमतियाले उल्लेख गरेको देखिन्छ । सोही मिलापत्रलाई किर्ते कागजको ३ नं. अन्तर्गत जालसाजी भनि वादि हिरमतियाकोतर्फवाटै प्रस्तुत मुद्दा परेको पाइयो । मुलुकी ऐन किर्ने कागजको ३ नं. मा अर्काको हक मेटने हदम्याद तारेख जाने वा कुनै तरह संग नोक्सान पार्ने इत्यादि जुनसुकै मतलवले होस नगरे नभएको झुठ्ठा कुरा गरे भएको हो भनी वा मिति अड्ढ वा व्यहोरा फरक पारी सहिछाप गरी गराई कागज वनाए वा वनाउन लगाएमा समेत जालसाजी गरेको ठहर्छ भन्ने कानूनी व्यवस्था रहे भएको पाइन्छ । उल्लेखित कानूनी व्यवस्थाको आधारमा कुनै पनि क्रिया जालसाजी ठहर्नको लागि दावी कर्ताको स्थापित अधिकार (Perfect right) अपहरित भएको हुनुपर्ने देखिन्छ । यो तथ्यलाई प्रत्यर्थी वादीतर्फका विद्वान अधिवक्ताले समेत वहसको क्रममा स्वीकारै गर्नु भएको पाइन्छ । तर प्रस्तुत मुद्दामा वादीले आफ्नो जून हक विवादीत २०५५।१०।१ को मिलापत्रवाट अपहरित भयो भनि दावी लिएको हो त्यो हक निजको Perfect right नभई संयोगिक किसिमको हक (Contingent Right) देखिन आउँछ । दर्तावाला मोही स्व. धरोहर हजामको नाउँको मोही हक निजको मृत्यु पश्चात भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम जग्गा धनिले पत्याएमा मात्र वादी हिरमतिया हजामिनको पूर्ण अधिकारमा परिणत हुन सक्ने हुन्छ । अन्यथा त्यसमा वादीको हक स्थापित हुन सक्ने देखिदैन । विवादीत कि.नं. २९७,४७४ र ४८३ को जग्गाको मोही हक वादी हिरमतिया हजामीनलाई प्राप्त हुने हो वा प्रतिवादी नारायण ठाकुर हजामलाई प्राप्त हुने हो भन्ने कुराको निरोपण प्रस्तुत जालसाँजी मुद्दावाट हुने नभई भूमिसुधार कार्यालय वारामा विचाराधिन उक्त मिलापत्र वदर मुद्दावाटै हुने स्थितिमा वादी हिरमतिया हजामीनको पूर्ण रुपमा स्थापित नै नभइसकेको हक विवादीत मिति २०५५।१०।१ को मिलापत्रवाट मेट्ने कार्य भयो भनि लिइएको वादी दावी नपुग्ने ठहर्याउनु पर्नेमा उक्त मिलापत्रलाई मुलुकी ऐन किर्ते कागजको ३ नं. बमोजिम जालसाजी ठहर्याएको शुरु वारा जिल्ला अदालतको मिति २०५६।९।२० को फैसला र सोही फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौडाको मिति २०५७।२।१७ को फैसलामा समेत मुलुकी ऐन किर्ते कागजको ३ नं. को व्याख्यामा गंभीर त्रुटी भई मिलेको नदेखिएकोले उल्लेखित दुवै फैसलाहरु उल्टी हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु वारा जिल्ला अदालतको मिति २०५६।९।२० को फैसला र सोलाई सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौडावाट भएको मिति २०५७।२।१७ को फैसला समेत उल्टी भई वादी दावी नपुग्ने ठहरी फैसला भएकोले शुरु वारा जिल्ला अदालतको फैसलाले प्रतिवादीहरु नारायण ठाकुर हजाम र जयचन्द्रप्रसाद चौरसियालाई किर्ते कागजको १० नं. बमोजिम जनही रु ५० का दरले जरिवाना हुने ठहर्याई निजहरुवाट उक्त रकम असुल गर्ने गरी राखेको लगत अव कायम राख्न नपर्ने हुंदा उक्त लगत कट्टा गरि दिनु भनि शुरु वारा जिल्ला अदालतलाई लगत दिनु ––––––––१
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ... २
उक्त रायमा सहमत छु ।
न्या.केदारप्रसाद गिरी
इजलास अधिकृतः– टेकप्रसाद ढुङ्गाना
इति संवत् २०६१ साल पौष १५ गते रोज ५ शुभम–––––––––––––––––