निर्णय नं. ७४६६ - कर्तव्य ज्यान ।

निर्णय नं. ७४६६ ने.का.प.२०६१ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री राम नगिना सिंह
माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित
सम्बत् २०५८ सालको फौ.पु.नं.२४९२
फैसला मितिः २०६१।११।२०।५
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक
वादीः टेकवहादुर रेउलेको जाहेरीले श्री ५ को सरकार
बिरुद्ध
प्रत्यार्थी
प्रतिवादीः सल्यान जिल्ला रिम गा.वि.स.वडा नं.४ बस्ने नरवहादुर रेउले
§ लक्षित व्यक्ति उपर कार्य गर्दा जुन अपराध हुन सक्थ्यो, उक्त कार्य अर्को अनिच्छित व्यक्ति उपर भएमा पनि सोही अपराध मानिने ।
§ एउटा मानिसलाई मार्ने नियतले गरेको प्रहार अर्को अनिच्छित मानिसलाई लागेर मृत्यु हुन पुगेको अबस्थामा कर्ताको आपराधिक मनसाय समाप्त भएको मानिने नभई सरेको (Transferred) मानिने हुँदा मनसाय प्रेरित हत्याको फौजदारी दायित्व सिर्जना हुने ।
(प्र.नं. २४)
§ छुरी जस्तो घातक हतियार प्रहार गरेकोलाई साधारण लाठा ढुंगाको श्रेणीमा पर्छ भन्न पनि नमिल्ने हुँदा ज्यान सम्वन्धीको १४ नं. आकषित नहुने ।
(प्र.नं. २५)
पुनरावेदक वादीतर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री अमृत वस्नेत
प्रत्यार्थी प्रतिवादीतर्फवाटः
अवलम्वित नजिरः
फैसला
न्या.रामनगिना सिंहः शुरु सदर गरेको पुनरावेदन अदालत तुलसीपुरको मिति २०५७।१०।१० को फैसला उपर दोहोर्याई हेरिपाउन वादीतर्फबाट यस अदालतमा निवेदन परी न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :–
२. मिति २०५४।८।२९ गते मंसीर पूर्णिमा परेकाले रिम र धनवाङ गा.वि.स.समेतका रेउले जातिका मानिसहरु परम्परा अनुसार ब्रहम र मष्ट देवताको पुजाआजा मेला गर्न भनी मूल पुजारी चन्द्रलाल रेउले समेत भै पुजा गरी रहेको अबस्थामा मेघराज र नरवहादुर रेउले समेत ८ जना भएको बेलामा नमालुम के कसले के कस्तो परिबन्दबाट बोका र कुखुराको टाउकोको विवादबाट रिसइवी लिई छुरी कटारी जस्तो धारिलो हतियारले दाजु चन्द्रलाल रेउलेलाई लागेको कुरा थाहा पाई तत्काल घटनास्थलमा पुगी नरवहादुर रेउले र हामीहरुले उपचारको लागि बोकी हेल्थपोष्टतर्फ लैजान लाग्दा बाटैमा दाजु चन्द्रलालको मृत्यु भएको हुँदा नरवहादुर रेउले समेतलाई पक्राउ गरी कानूनी कारवाही गरिपाउँ भन्ने जाहेरी दरखास्त ।
३. सल्यान रिम गा.वि.स.वडा नं.३ स्थित ब्रहम र मष्ट देवताको मन्दिरको ढोकाबाट ४ हात उत्तर पूर्वमा चन्द्रलाल रेउलेको घाउ चोटबाट बगेको रगत जमिनमा खसेको सो रगत मध्य क्यापको सहायताबाट प्रहरी डोरले सिसिमा राखी आफ्नो जिम्मा लिएको घटनास्थल प्रकृति मुचुल्का ।
४. नरवहादुर रेउलेको पाखो वारीमा राखिएको खरको भारी भित्र काठको विंड भएको फलामको छुरी बरामद गरेको भन्ने बरामदी मुचुल्का ।
५. मिति २०५४।८।२९ गते ब्रहम र मष्टको पुजा चल्दा के परिबन्दबाट हो, झगडा भै कसले हो चन्द्रलाल रेउलेलाई छुरी हाने भन्ने थाहा पाई जाँदा पत्रविर बुढाथोकीको हातमा छुरी देखेकी हुँ । मेरो श्रीमान् र अरुलाई छुरी प्रहार हुन्छ कि भन्ने डरले छुरी खोसी खरको भारी भित्र लुकाई दिएको हुँ सो छुरी प्रहरीले बरामद गरेको हो भन्ने नरवहादुरको श्रीमती झक्की रेउलेले गरिदिएको कागज ।
६. गहिरो काटेको चोटबाट अत्याधिक रगत बगी सेन्कोप भएर मृत्यु भएको हो भन्ने चन्द्रलाल रेउलेको पोष्टमार्टम रिपोर्ट ।
७. मिति २०५४।८।२९ गते घटनास्थलमा ब्रहम र मष्टको पुजा भैरहेको समयमा मेघराज र नरवहादुर बीच बोका र कुखुराको टाउको बाँडफाडको विषयमा विवाद झिकी नरवहादुरले मेघराजलाई मार्छु भनी छुरी हान्न लाग्दा सो चोट चन्द्रलाललाई लाग्न गई रगताम्य भै उपचार गराउन लैजाँदा लैजाँदै बाटोमा मृत्यु भएको हो भन्ने टेकवहादुर साहु, पत्रविर बुढाथोकी, तुल्सीराम रेउले, लोकवहादुर साहु, मानवहादुर साहु, कुलवहादुर रोक्का समेतले प्रहरीमा गरेको एकै मिलानको बयान ।
८. मैले पूजामा सहयोग गर्ने भएकोले बलिका टाउकाहरु वण्डा पाउने हुँदा पहिले जस्तै यस पटक पनि ३ वण्डा लगाउने भन्दा ६ वण्डा लगाउने हो यसमा तपाईलाई के मतलव भनी नरवहादुरले भन्दा निजको र मेरो विवाद झगडा हुँदा मलाई समाई छुरी झिकी प्रहार गर्न लाग्दा हामीलाई छुट्टयाउन आएका चन्द्रलाल रेउलेलाई बायाँ कुममा लाग्न गै अरु मानिसले छुरी खोसेका हुन् । चन्द्रलालको मृत्यु नरवहादुरले प्रहार गरेको छुरीको चोटको कारणबाट भएको भन्ने मेघराज साहुले प्रहरीमा गरेको बयान ।
९. मिति २०५४।८।२९ गते बोकाको टाउकाको बाँडफाडको विषयमा विवाद हुँदा मेघराज मलाई समात्न आएकोले समातासमातको अबस्थामा पत्रविरले मलाई हान्न आएको देखि मैले आफ्नो पाइन्टको जेबमा लुकाई राखेको छुरी निकाली रिसको आवेशमा छुरी फन्नाउँदै मेघराजलाई हान्न भनी प्रहार गरेकोमा मेघराज छलिंदा छुरीको चोट चन्द्रलाललाई लाग्न गई उपचार गराउन लैजाँदालैजाँदै मृत्यु भएको हो । मृतकसँग मेरो कुनै रिसइवी थिएन भन्ने प्रतिवादी नरवहादुर रेउलेले प्रहरीमा गरेको बयान ।
१०. मृतकलाई मार्नुपर्ने पूर्व रिसइवी कुनै नभएको भएपनि आफुले लुकाई राखेको छुरी जस्तो जोखिमी हतियारले प्रहार गरी चन्द्रलालल रेउलेको मृत्यु हुन गएकोले निज प्रतिवादी नरवहादुर रेउलेलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(१)नं.बमोजिम सजाय गरिपाउँ भन्ने समेत व्यहोराको अभियोग पत्र ।
११. मिति २०५४।८।२९ गते ब्रहम र मष्टको मन्दीरमा बोका काटी पुजा सकी उक्त टाउका बाँडफाडको विषयमा मेघराज साहु समेतका व्यक्तिहरुले विवाद निकाली उक्त टाउका मध्ये ३ वण्डा लगाई १ वण्डा मागेकाले उक्त विषयमा मेरो र मेघराजको बीचमा समातासमात हुँदा पत्रविरले मेरो शरिरमा कुटपिट गरेकोले मैले पुजा गर्न ल्याएको छुरी नचाउदा मेरो दाजु मृतक चन्द्रलाल रेउलेलाई बाँया कुमको जोर्नीमा छुरीले लाग्न गै घाइते भएपछि डाक्टर बोलाई ल्याई उपचार गराउन नपाउँदै दाजुको मृत्यु भएको हो, मार्नुपर्ने रिसइवी केहि थिएन । मेघराज र पत्रविरलाई तर्साउन छुरी नचाउँदा मृतकलाई लाग्न गई मृत्यु भएको हुँदा भवितव्यसम्ममा सजाय हुनुपर्ने हो भन्ने समेत व्यहोराको प्रतिवादी नरवहादुर रेउलेले शुरु अदालतमा गरेको बयान ।
१२. वादी पक्षका साक्षी कुलवहादुर रेउले, तिलकवहादुर साहु, मानवहादुर बुढाथोकी, मेघराज साहु, लोकवहादुर साहु समेत तथा प्रतिवादीका साक्षी टेकवहादुर रेउलेले शुरु अदालतमा गरेको बकपत्र ।
१३. प्रतिवादी र मृतक सहोदर दाजुभाई भई निजहरुको बीचमा पहिले र तत्काल पनि कुनै रिसइवी वा विवाद भएको नदेखिएको, प्रतिवादी चन्द्रलाल रेउलेलाई मार्ने मनसायले छुरी प्रहार गरेको पनि नदेखिएको सिर्फ वाद–विवाद भएको कारणले मेघराज साहुलाई तत्काल उठेको रिसले छुरी प्रहार गर्दा निजले सो प्रहार छल्दा झुक्किएर मृतक चन्द्रलाल रेउलेलाई लाग्न गएको देखिएकोले मृतक चन्द्रलाल रेउलेको मृत्यु प्रतिवादीले छाडेको चोटले भवितव्यबाट भएको देखियो । तसर्थ छुरी जस्तो जोखिम हतियारलाई हेलचक्रयाई गरी चलाउँदा मृतक चन्द्रलाल रेउलेको मृत्यु भएको देखिएकोले प्रतिवादी नरवहादुर रेउलेलाई ज्यान सम्बन्धी महलको ६ नं.को देहाय (२) बमोजिम दुई वर्ष कैद सजाय हुने ठहर्छ । ज्यान सम्बन्धी महलको १३(१) नं.बमोजिम सजाय गरिपाउँ भन्ने वादी दावी सो हदसम्म पुग्न नसक्ने ठहर्छ भन्ने शुरु जिल्ला अदालतले मिति २०५५।९।७ को फैसला ।
१४. प्रतिवादी मेघराज साहुलाई मारेमा निज प्रतिवादीलाई माफी हुने वा कर्तव्य ज्यानको कसूरबाट उन्मुक्ति पाउने आधार केहि नभएको एकातिर स्पष्ट छ भने कसैले आफ्नो नजिकको नातामा आफ्नो मानिसको मारे मराएमा छुट हुने भन्ने कानूनी व्यवस्था कतै भएको पाइदैन । प्रतिवादीले मेघराज साहुलाई मार्न छुरी प्रहार गरेपछि मेघराज साहुलाई लाग्न नगई मृतक चन्द्रलाल रेउलेलाई लागी निजको मृत्यु सोहि छुरीको चोटको कारण भएको अबस्थामा प्रतिवादीलाई कर्तव्य ज्यानमा मांग दावी बमोजिम सजायं गर्नुपर्नेमा सो नगरी भवितव्य ठहर्याई भएको फैसला न्यायसंगत छैन । प्रतिवादीले मानिस मार्ने अपराधिक मनसाय लिएर छुरी जस्तो घातक हतियार प्रहार गरेकोमा सोहि अपराधिक मनसाय मुताविक परिणाम पनि मानिस नै मरेको अबस्थामा अभियुक्तलाई सजायमा कम गर्न मिल्दैन, अभियुक्तले इच्छाएको परिणाम र हुन गएको परिणामको प्रकृति एउटै भएमा सरेको मनसायको सिद्धान्त लागु हुन्छ र प्रतिवादीले सो परिणाम वापतको दायित्व पूर्णरुपमा बहन गर्नुपर्छ । अतः माथि उल्लेखित आधार प्रमाणबाट शुरु सल्यान जिल्ला अदालतको त्रुटीपूर्ण फैसला बदर गरी शुरु अभियोग दावी बमोजिम प्रतिवादीलाई सजाय गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारकोतर्फबाट पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
१५. यसमा धार भएको जोखिम हतियारले मृतकलाई चोट लागी अति रक्तश्रावण भै मृत्यु भएको घटनाक्रमलाई दृष्टिगत गर्दा शुरु जिल्ला अदालतको इन्साफ फरक पर्ने देखिंदा अ.वं.२०२ नं.र पुनरावेदन अदालत नियमावली, २०४८ बमोजिम प्रत्यर्थीलाई झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।
१६. शुरु सल्यान जिल्ला अदालतले प्रतिवादीलाई ज्यान सम्बन्धी महलको ६(२) नं.बमोजिम २ वर्ष कैद सजाय हुने ठहर्याई दावी बमोजिम ज्यान सम्बन्धीको १३(१) नं.बमोजिम दावी नपुग्ने गरी गरेको फैसला सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत तुलसीपुरको मिति २०५७।१०।१० को फैसला ।
१७. मुलुकी ऐन ज्यान सम्बन्धीको १३(१) नं.को कसूर कायम हुन प्रतिवादीले मानिसलाई मार्ने उद्देश्यले जोखिमी हतियारले प्रहार गर्नु र त्यसबाट मानिसको मृत्यु हुनु पर्याप्त छ । कसैले प्रयोग गरेको जोखिमी हतियार एउटालाई हान्छु मार्छु भनी हानेमा उसले बुद्धि, बलले छले पश्चात अर्कोलाई लाग्न गएमा त्यस्तो हतियार प्रहार गर्ने व्यक्तिसँग सो मर्ने व्यक्तिको रिसइवी थियो थिएन भनी जाँच गर्ने भन्ने कुरा कुनै अर्थ रहदैन । प्रतिवादीले मेघराजलाई छुरीले काटी मार्न भनी छुरी प्रहार गरेपछि मेघराज साहुलाई नलागी मृतक चन्द्रलाल रेउलेलाई लागी निजको मृत्यु सोही छुरीको चोटको कारण भएको अबस्थामा प्रतिवादीलाई सरेको मनसायको सिद्धान्त अनुसार कर्तव्य ज्यानमा माग दावी बमोजिम सजाय गर्नुपर्नेमा भवितव्य ठहर्याएको ज्यान सम्बन्धीको १३(१), ने.का.प.२०४१ पृष्ठ २२७ मा प्रतिपादित कानूनी सिद्धान्त समेतको विपरीत भै त्रुटीपूर्ण हुँदा बदर वातिल गरी शुरु अभियोग दावी बमोजिम प्रतिवादीलाई सजाय गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको यस अदालतमा परेको मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन पत्र ।
१८. यसमा अभियुक्त नरवहादुरले मेघराज भन्ने व्यक्तिलाई छुरीले काटी मार्ने विचारबाट प्रहार भएको छुरी मेघराजलाई नलागी चन्द्रलाललाई लागेको र सोही चोटबाट चन्द्रलालको मृत्यु भएको देखिंदा यस्तो अबस्थामा ज्यान सम्बन्धीको ५ नं.को व्याख्यात्मक त्रुटी गरी गरेको पुनरावेदन अदालत दाङको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) को त्रुटीको आधारमा मुद्दा दोहोर्याई हेरिदिने निस्सा प्रदान गरिदिएको छ । नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको मिति २०५८।३।५ को आदेश ।
१९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक/वादी श्री ५ को सरकारकोतर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री अमृत बस्नेतले प्रतिवादी नरवहादुरले मेघराजलाई मार्ने नियतले धारिलो हतियारले गरेको प्रहार मेघराजलाई नलागी चन्द्रलाललाई लागी सोही चोटबाट निजको मृत्यु भएको हुँदा सरेको मनसायको सिद्धान्त (Principle of Transferred malice) अनुसार सो आपराधिक कृत्यको दायित्व प्रतिवादीले व्यहोर्नु पर्नेमा शुरु र पुनरावेदन अदालतले भवितव्य ठहर्याएको त्रुटीपूर्ण हुँदा बदर गरी अभियोग दावी बमोजिम प्रतिवादी सजायं होस् भनी बहस प्रस्तुत गर्नुभयो ।
२०. पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ छैन ? सो प्रश्नमा निर्णय दिनुपर्ने देखियो । इन्साफतर्फ विचार गर्दा, व्रहम मष्ट देवताको मन्दिरमा बोका, कुखुरा समेत ल्याई बलि चढाउने पुजा गर्ने मेला भर्ने परम्परा रहेअनुसार २०५४।८।२९ गते मंसीर पूणिमाको दिन पुजाआजा गरी आएको अबस्थामा बोकाको टाउको लिने विषयमा विवाद भई चन्द्रलाल रेउलेलाई नरवहादुर रेउले समेत भएका अबस्थामा नमालुम को कसले के कस्तो परिवन्धबाट छुरी कटारीको जस्तो धारिलो हतियारले बायाँ घाँटी बायाँ कुमको जोर्नीको भागमा प्रहार गरी शख्त घाइते तुल्याएकोमा उपचारार्थ हेल्थपोष्टमा लैजाँदालैजाँदै बाटैमा मृत्यु भएकोले मेघराज रेउले नरवहादुर रेउले, तुलसी राम रेउले समेतका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान कारवाही गरिपाउँ भनी परेको जाहेरीको आधारमा प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । अनुसन्धान तहकिकातबाट प्रतिवादी नरवहादुर रेउलेले मेघराज साहुलाई गरेको प्रहार निजलाई नलागी चन्द्रलाललाई लागेबाट निजको मृत्यु भएको भन्ने आधारमा प्रतिवादीलाई मुलुकी ऐन ज्यान सम्बन्धीको १३(१) नं.बमोजिम सजाय गरिपाउन अभियोग दावी लिएको रहेछ । वादीले दावी लिएको ज्यान सम्बन्धी महलको १३ नं.को देहाय (१) मा नियमानुसारको व्यवस्था रहेको पाइन्छ :–
“धार भएको वा नभएको जोखिमी हतियार गैह्रले हानी रोपी, घोची ज्यान मारेमा जतिजना भई हतियार छाडेको छ, उति जना ज्यानमारा ठहर्छन् । सर्वस्वसहित जन्मकैदको सजाय गर्नु पर्छ ।”
शुरु जिल्ला अदालत र पुनरावेदन अदालतले मृतक चन्द्रलालको मृत्यु प्रतिवादी नरवहादुर रेउलेले जोखिमी हतियारले छोडेको चोटले भवितव्यबाट भएको देखिएको भनी ज्यान सम्बन्धी महलको ६(२) नं.बमोजिम दुई वर्ष कैद हुने ठहर्याई फैसला गरेको पाइन्छ । ज्यान सम्बन्धीको उक्त ६(२) नं.मा निम्नानुसारको प्रावधान रहेको छ :–
“होस नपुर्याई वा हेलचक्राई गरी कुनै काम गर्दा भवितव्य परेकोमा पाँच सय रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन्छ ...”
२२. शुरु र पुनरावेदन अदालतले गरेको फैसला त्रुटीपूर्ण रहेकोले उल्टी गरी अभियोग दावी बमोजिम प्रतिवादीलाई ज्यान सम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुनुपर्छ भनी वादीतर्फबाट यस अदालतमा निवेदन परेको र विद्वान उपन्यायाधिवक्ताले पनि सोही व्यहोराको जिकिर बहसको क्रममा लिनु भएको छ । मिसिलको अवलोकनबाट मृतकको बायाँ कुमको जोर्नीको भागमा एक इञ्च लम्वाई भएको धारिलो र तिखो किसिमको हतियारको जस्तो गहिरो घाउ चोट प्वाल देखिएको र शरिरभरी रगत लागी सुकेको भन्ने मृतक चन्द्रलालको लाश प्रकृति मुचुल्काबाट देखिएको छ भने शव परीक्षण प्रतिवेदनबाट पनि गहिरो तथा घातक चोट परी अत्याधिक रक्तश्राव भई मृत्यु भएको भन्ने देखिन्छ । प्रतिवादी नरवहादुर रेउलेबाट प्रहार भएको ११.१/२ इन्च लम्वाई भएको काठको विंड भएको फलामको छुरी बरामद भएको छ । बरामदी व्यहोरालाई उक्त कागजको मुचुल्कामा बस्ने साक्षी तिलकवहादुर साहु लगायतका व्यक्तिले अदालतमा गरेको बकपत्रद्वारा समर्थन गरिदिएको अबस्था रहेको छ । प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्षको बयानमा पुजा गरेको बोका कुखुराको टाउको वण्डा गर्ने विषयमा विवाद हुँदा मैले आफ्नो पेन्टको पाकेटमा लुकाई राखेको छुरी (कटारी) निकाली रिसको झोकमा फनफनाउँँदै विवाद गर्ने मेघराज साहुलाई हान्न भनी प्रहार गरेकोमा निज छलिंदा सो प्रहार चन्द्रलाल रेउलेको बायाँ कुम र घाँटीको बीचमा लाग्न गई उपचार गराउन लैजाँदै गर्दा मृत्यु भएको हो भन्ने उल्लेख गरेको देखिन्छ । अदालतमा निजले मौकामा गरेको बयानमा केही फरक हुने गरी मेघराज र मेरो बीचमा समातासमात भई मलाई कुटपिट गर्न थालेकोले तर्साउनको लागि पुजा गर्न ल्याएको छुरी नचाउँदा मेरो दाजु चन्द्रलाल रेउलेलाई बायाँ कुमको जोर्नीमा लाग्न गई मृत्यु भएको भन्ने उल्लेख गरेको देखिन्छ । तर निजले तर्साउनकै लागि खुकुरी नचाएको भन्ने मिसिल संलग्न कागजातबाट नदेखिई मेघराजलाई गरेको प्रहार निज छलिंदा नलागी चन्द्रलाल उपर लाग्न पुगेको भन्ने देखिन्छ । मौकामा कागज गर्ने भगवती रेउले, कलिमान रेउले लगायतका व्यक्तिहरुले मौकामा व्यक्त गरेको उपरोक्त तथ्यलाई अदालतमा बकपत्र गरी समर्थन गरेको देखिन्छ । यसप्रकार मन्दिरमा पुजा भैसकेपछि पुजा गरेको बोका समेतको टाउको वण्डा गर्ने विषयमा विवाद भएपश्चात सो झगडाको कारण मेघराज साहुलाई मार्न भनी छुरी जस्तो जोखिमी धारिलो हतियार प्रहार गरेकोमा निजको सो प्रहार चन्द्रलाललाई लाग्न गएको र सोही प्रहारबाट चन्द्रलाल मृत्यु भएको भन्ने पुष्टि भैरहेको देखिन्छ ।
२३. मुलुकी ऐन ज्यान सम्बन्धीको १ नं.मा कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नका लागि उद्योग गर्न हुँदैन । कुनै मानिसको ज्यान मारेमा कसूरको प्रकृति अनुसार सजाय हुने व्यवस्था ज्यान सम्बन्धी महलको विभिन्न प्रावधानले गरेको छ । प्रस्तुत मुद्दामा प्रतिवादी नरवहादुर रेउलेले मेघराज साहुलाई मार्न आफुले बोकिराखेको छुरी (कटारी)ले प्रहार गरेकोमा निजलाई नलागी नजिकै रहेका चन्द्रलाल रेउलेलाई लाग्न पुगी निजको मृत्यु भएको अबस्था छ । अर्थात् प्रतिवादी नरवहादुर रेउलेले लक्षित गरेको व्यक्ति मेघराज साहुलाई नलागी चन्द्रलाललाई लाग्न पुगेर निजको मृत्यु भै मर्ने मानिस मात्र अदली बदली भएको देखिन्छ । यस्तो वारदातलाई शुरु र पुनरावेदन अदालतले भवितव्य मानी ज्यान सम्बन्धीको ६(२) नं.अनुसार सजाय गरेको पाइयो । ज्यान सम्बन्धीको ५ नं.अनुसार भवितव्य हुन–ज्यान लिनेसम्मको इविलाग वा मनसाय नभएको र गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएको अबस्था हुनुपर्ने हुन्छ । भवितव्यमा आपराधिक मनसाय तत्वको अभाव हुन्छ र परिणामको हेक्का पनि हुँदैन । कानूनले निषेध नगरेको कुनै कार्य गर्दा कारणबस मानिस मर्न गएमा भवितव्य मानिने हो तर कानूनले वर्जित गरेको मानिस मार्ने नियतले हतियार चलाई प्रहार गर्दा लक्षित मानिसको सट्टा अर्कोलाई लागी त्यो मानिस मर्न गएमा त्यस्तो कृत्य भवितव्य अन्तर्गत पर्दछ भन्न सकिदैन । ज्यान सम्बन्धीको ६(२) नं.अनुसार होस नपुर्याई वा हेलचक्राई गरी कुनै काम गर्दा भवितव्य परेमा सजाय हुने व्यवस्था गरेको छ । यो नं.मा रहेको “कुनै काम” भन्ने शव्दले कानूनले निषेध नगरेको कामलाई इंगित गरेको सम्झ्नुपर्दछ । फौजदारी कसूर सिर्जना हुने कुनै कृत्य गर्दा अर्को फौजदारी अपराध घटित हुन गएमा त्यस्तो कृत्यलाई भवितव्य अन्तर्गत राख्नु फौजदारी न्यायको सिद्धान्त विपरीत हुन जान्छ ।
२४. विद्वान लेखक Glanville Williams ले आफ्नो पुस्तकमा– Malice in its legal sense means a wrongful act done intentionally, without just cause or excuse. "Malice" in law generally means intention or recklessness. Transferred intention (transferred malice) occurs when an injury intended for one falls on another by accident. In other words if the accused intends a particular consequence he is guilty of crime of intention even though his act takes effect upon an object (whether person or property) that was not intended. His "Malice" is by a legal fiction transferred from the one object to the other. The accused is then treated for legal purposes as though he had intended to hit the object that he did hit, though in fact he not have the intent, nor even was reckless as to it -Glanville Williams; Criminal Law, 2nd ed, pp72, 73, 75 & 126_. भनी उल्लेख गर्नुभएको विचार प्रस्तुत सन्दर्भमा प्रसांगिक देखिन्छ । उल्लिखित आधारमा प्रस्तुत मुद्दामा पुनरावेदकको हकमा विचार गर्दा, प्रतिवादी नरवहादुर रेउलेको नियत मेघराज साहुलाई धारिलो छुरीले प्रहार गर्नु रहेको र सो नियतको कार्यान्वयन एकातिर कानूनद्वारा वर्जित अपराधिक कृत्य हो भने त्यस्तो कृत्यबाट मानिसको ज्यान जान सक्छ भन्ने अवश्यम्भावी परिणाम हो । प्रतिवादी नरवहादुर रेउलेले मेघराज साहुलाई गरेको प्रहार निजको सट्टा चन्द्रलाल उपर पर्न गएको कारण मृत्यु भएको अबस्था हुँदा मेघराज साहुलाई मार्न राखेको निज प्रतिवादीको मनसाय चन्द्रलाल उपर सरेको मान्नुपर्ने हुन्छ । यस्तोमा सरेको मनसायको सिद्धान्त (Principle of Transferred malice) लागू हुन पुग्दछ । लक्षित व्यक्ति उपर त्यस्तो कार्य गर्दा जुन अपराध हुन सक्थ्यो, उक्त कार्य अर्को अनिच्छित व्यक्ति उपर भएमा पनि सोही अपराध मानिने हुन्छ । एउटा मानिसलाई मार्ने नियतले गरेको प्रहार अर्को अनिच्छित मानिसलाई लागेर मृत्यु हुन पुगेको अबस्थामा कर्ताको आपराधिक मनसाय समाप्त भएको मानिने नभई सरेको (Transferred) मानिने हुँदा मनसाय प्रेरित हत्याको फौजदारी दायित्व सिर्जना हुने देखिन्छ । मेघराज साहुलाई मार्ने लक्ष्य राखी छुरी (कटारी) जस्तो धारिलो तथा जोखिमी हतियारले प्रहार गरेकोमा दुर्घटनाबस मृतकलाई लाग्न गएको भनी प्रतिवादीले जिकिर लिंदैमा त्यस्तो आपराधिक कृत्यलाई भवितव्य नामाकरण गर्न मिल्ने देखिन्न ।
२५. यस्तै प्रकृतिको सम्बत् २०५३ को फौ.पु.नं.११६२ को पुनरावेदक/प्रतिवादी सुधारमान राई वादी श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दामा मिति २०५४।५।२४ मा फैसला हुँदा यस अदालतबाट – “एउटालाई हान्छु भनी प्रहार गर्दा अर्कोलाई लागी त्यसको जरियाबाट घाइतेको मृत्यु हुन्छ भने प्रहार गर्ने व्यक्तिलाई कर्तव्यको दोषी मान्नु पर्दछ किनभने छुरी जस्तो घातक हतियारले प्रहार गर्दा मानिस मर्न सक्छ भन्ने जानकारी प्रहारकर्तालाई भएकै सम्झ्नुपर्दछ । छुरी जस्तो घातक हतियार प्रहार गरेकोलाई साधारण लाठा, ढुंगाको श्रेणीमा पर्छ भन्न पनि नमिल्ने हुँदा ज्यान सम्बन्धीको १४ नं.आकर्षित हुने अबस्था पनि देखिंदैन । न त ज्यान मर्ला जस्तो नदेखिएको कार्य गर्दा मृतक मरेको भई भवितव्य भएको नै देखिन्छ” भन्ने उल्लेख गर्दै प्रतिवादीलाई ज्यान सम्बन्धीको १३(१) नं. अनुसार सजाय हुने ठहर्याएको देखिन्छ (ने.का.प.२०५५, पृष्ठ ५४४) ।
२६. उपरोक्त उल्लेखित आधारमा प्रतिवादी नरवहादुर रेउलेले मार्ने मनसायले मेघराज साहुलाई गरेको प्रहार निजलाई नलागी सँगै रहेको चन्द्रलाललाई लाग्न गई सरेको मनसायको सिद्धान्त (Principle of Transferred malice) अनुसार प्रतिवादको मृतक उपर मार्ने नियत सरेको देखिंदा भवितव्यमा सजाय गरेको मिलेको देखिएन । तसर्थ शुरु र पुनरावेदन अदालतले प्रतिवादीलाई भवितव्य मानी कम सजाय गरेको उल्टी भै निजलाई अभियोग माग दावी बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ ।
२७. उक्त वारदातमा मर्ने चन्द्रलालसँग प्रतिवादी नरवहादुर रेउलेको अघिदेखिको कुनै रिसइवी रहेको भन्ने मिसिलबाट देखिन नआएको, निजहरु दाजुभाई नाताका देखिएको र मन्दिरको पुजामा चढाएको बोका कुखुराको टाउको वण्डा गर्ने विषयमा तत्काल उठेको वादविवाद झगडाको कारण प्रतिवादीले बोकी राखेको छुरी (कटारी) जस्तो धारिलो र जोखिमी हतियार मेघराज साहु माथि प्रहार गर्दा सो हतियार मृतकलाई लाग्न गएको र प्रतिवादीले नै उपचार गराउने क्रममा चन्द्रलालको मृत्यु भएको हुँदा ज्यान सम्बन्धीको १३(१) नं.अनुसार सर्वस्वसहित जन्मकैदको सजायं गर्दा चर्को पर्न जाने हुँदा र घटी सजाय गर्दा पनि कानूनको मनसाय पुरा हुन जाने हुनाले अ.वं.१८८ नं.बमोजिम प्रतिवादी नरवहादुर रेउलेलाई ११ (एघार) वर्ष कैद सजाय हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम शुरु र पुनरावेदन अदालतले गरेको फैसला केही उल्टी भै प्रतिवादी नरवहादुर रेउलेलाई ज्यान सम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजायं हुने भई अ.वं.१८८ नं.अनुसार ११ (एघार) वर्ष कैद हुने ठहरेकोले प्रतिवादी थुनामा रहेको अवधि कटाई बाँकी अवधि कैद ठेकी असुल गर्नु भनी शुरु जिल्ला अदालतमा लेखी पठाई दिनु ––––––१
मिसिल नियमानुसार बुझाई दिनु ––१
उक्त रायमा सहमत छु ।
न्या.शारदाप्रसाद पण्डित
उ.स.नृपध्वज निरौला
इति सम्बत् २०६१ साल फागुन २० गते रोज ५ शुभम्–––––