शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७४७३ - हक कायम गरी नामसारी गरी चलन चलाई पाउँ ।

भाग: ४६ साल: २०६१ महिना: चैत्र अंक: १२

निर्णय नं.७४७३           ने.का.प.२०६१       अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश  श्री मीनबहादुर रायमाझी

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

सम्वत २०५८ सालको दे.पु.नं.:८५३८

सम्बत २०५८ सालको दे.पु.नं.:८७१४

फैसला मितिः२०६१।१०।७।२

 

मुद्दा :हक कायम गरी नामसारी गरी चलन चलाई पाउँ ।

 

पुनराबेदक

प्रतिबादीः जिल्ला बाके उढरापुर गा.बि.स. वडा नं. १ बस्ने श्यामलाल अहिर 

बिरुद्घ

प्रत्यर्थी

बादी ऐ.ऐ. बस्ने पबितराम अहिर

 

पुनराबेदक

बादी जिल्ला बाके उढरापुर गा.बि.स.वडा नं.स्ने पबितराम अहिर

बिरुद्घ

प्रत्यर्थी

प्रतिबादीः ऐ.ऐ.बस्ने श्यामलाल अहिर

 

§  मृतक जनकाको मृत्यु भइसकेपछि निजकी छोरी जगरानीको मृत्यु भएको अबस्थामा मृतक जनकाको कानून बमोजिम पाउने अपुताली निजकी छोरी जगरानीमा स्थापित नहुने र जगरानीको मृत्यु पश्चात निजको छोरा यी बादी पबितरामको सो अपुतालीमा हक कायम हुन नसक्ने भन्न मिल्ने अबस्था नहुने ।

(प्र.नं. १४)

§  प्रतिबादीले देखाएको पुस्तेवारी अनुसार यी प्रतिबादी जनकाको तीन पुस्ता भित्रकै भतिजा नाताको ब्यक्ति भएको भन्ने देखिन्छ । उपरोक्त ब्यहोरालाई बादीले यस अदालतमा दिएको पुनराबेदन पत्रमा अन्यथा भनी जिकिर लिन सकेको देखिदैन । यस स्थितिमा जनका अहिरको स्याहार संभार र मरे पछि काजकृया समेत यी प्रतिबादी श्यामलालले गरेको भन्ने मान्नु पर्ने ।

§  अपुतालीको ११ नं. को ब्यबस्था अनुसार प्रतिबादी श्यामलाल अहिरले जनका अहिरको पालन पोषण र काजकृया समेत गरेको आधारमा मर्ने जनका अहिरको नाममा रहेको बिवादित  जग्गाहरुमा आधा स्याहार संभार गर्ने भतिजा नाताका हकवाला यी प्रतिबादी श्यामलालको हक स्थापित हुने ।

(प्र.नं. १५)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी

प्रत्यार्थी वादी तर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

            न्या. खिलराज रेग्मीः पुनरावेदन अदालत नेपालगन्जको मिति २०५६/१२/२३ को फैसला उपर बादी प्रतिवादी दुबै पक्षको यस अदालतमा पुनराबेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :

            २.    मूल पुर्खा स्वर्गिय बिजयी अहिरको पत्नी जनका अहिरको छोरा नभई एक मात्र छोरी म बादीकी आमा जगरानी अहिर हुन । बज्यै जनका अहिरको मिति २०४८।५।१५ मा परलोक भएपछि निजको सम्पत्ति खाने नजिकको हकवाला आमा जगरानीले नामसारी गराउन नपाउदै आमा जगरानी मिति २०४९।१।१० मा परलोक हुनु भएकोले जनका अहिरको जग्गा नामसारीको लागि मैले मालपोत कार्यालय बाकेमा मिति २०५२।३।२० मा निबेदन दिएको थिएँ । सो कार्यालयले प्रकाशित गरेको ३५ दिने सूचनाको म्याद भित्र यी प्रतिबादीले जनका अहिरको भतिजा हुँ भनी उक्त जग्गा नामसारीको लागि निबेदन दिएकोले जग्गाको हक बेहक र नाता सम्बन्धमा बिबाद उठेकोले सो कार्यालयले ऐनका म्याद भित्र बाके जिल्ला अदालतमा नालेस गर्न  जानु भन्ने निर्णय गरेको छ । जनका अहिरको भतिजा झुर्रा अहिरले आफ्नो भागको जग्गा पाइ सकेका छन । यी प्रतिबादी जनकाको भतिजा नाताको होइनन् । जनका अहिर जीबित छदा निजको सेवा टहल,रेखदेख,औषधि उपचार र मृत्युपछि दान पुण्य भण्डारा समेतको कार्य म र आमा जगरानीले गरेका हौं । स्वर्गिय बज्यै जनकाको नाममा रहेको जिल्ला बाके गा.बि.स.उढरापुर वडा नं. १(क) कि.नं.२०३,१५१,९६,वडा नं.१(ख) कि.नं.२८,४० को जग्गाहरुमा आमा जगरानीको हक कायम हुनेमा नामसारी गराउने कार्य नगर्दै आमाको मृत्यु भएकाले आमाको नाममा नामसारी हुने सम्पत्ति अपुतालीको २ नं. बमोजिम मेरो हक कायम गरी नामसारी र चलन समेत चलाई पाउँ भन्ने समेत ब्यहोराको फिरादपत्र ।

३.    बादीले देखाएको पुस्तावारी गलत छ । मुल पुर्खाको नाम थाहा नभएको निजका २ छोराहरु जेठा स्व.रामप्रसाद अहिर र कान्छा स्व. मितई अहिर हुन् । स्व. रामप्रसादका २ छोरा स्व.पराग अहिर र स्व.जोधी अहिर हुन् । स्व पराग अहिरको छोरा झुर्रा अहिर हुन । स्व. मितई अहिर तर्फबाट २ छोरा मध्ये जेठा म प्रतिबादीको बावु स्व.असर्फी अहिर र कान्छा बिजयी अहिर हुन । निज बिजयी अहिरको पत्नी जनका अहिर निजहरुको एक मात्र छोरी स्व.जगरानी र निज जगरानीको छोरा बादी पबितराम हुन । म प्रतिबादी काका बिजयी अहिर र काकी जनका अहिरको एकासगोलको भतिजा हुँ । म प्रतिबादी मर्ने जनका अहिरको एकासगोलको हकवाला भतिजा नाताको पर्ने हुँदा फिराद दावी खारेज गरी दाबीमा उल्लेखित कित्ता जग्गाहरु मेरो नाममा रहेकोले यथावत कायम राखी पाउँ भन्ने ब्यहोराको प्रतिउत्तरपत्र ।

            ४.    दर्तावाला जनका अहिरको २०४८।५।१५ मा स्वर्गे भई अपुतालीको २ नं. बमोजिम निजको अपुतालीमा निजको एकमात्र छोरी जगरानीको हक पुग्ने भई निजको नाममा नामसारी गर्ने गराउने म्याद भित्र निज जगरानीको पनि २०४९।१।१० मा परलोक भएको अबस्था बिद्यमान देखिन आएबाट निज स्व.जगरानीको हक पुगेको नामसारी सम्म हुन बाँकी रहेको सम्पतिमा अपुतालीको २ नं. बमोजिम यी बादीको हक निहित रहे भएको देखिदा दाबीको जग्गामा बादीको हक कायम हुने भई बादीको नाममा नामसारी हुने र चलन समेत चलाई पाउने ठहर्छ भन्ने शुरु बाँके जिल्ला अदालतको फैसला ।

            ५.    अपुताली हक वादीको दावी वमोजिम छोरी पट्टीका नातिमा एकै चोटी सर्न सक्दैन। अपुतालीको २ नं. मा अपुताली सम्पतिमा जो मरी अपुताली परेको हुन्छ पहिलो हक मर्नेको लोग्ने वा स्वास्नी दोस्रो हक मर्नेको छोरा तेश्रो मर्नेको छोरी, छोरी छैन भने चोथो हक मर्ने व्यक्ति संगै बस्ने हकवाला र त्यस्तो हकवाला पनि नभए अन्य हकवालामा जाने व्यवस्था छ । छोरीको छोराले पाउने व्यवस्था छैन । म मृतक जनका अहिरको एकासगोलको अंशियार हकवाला भतिजा हुँदा हुँदै छोरी पट्टिको सन्तान छोराले अपुताली पाउन सक्ने होइन । छोरी पट्टिको नाती प्रत्यर्थीको नाउँमा अपुताली हक कायम हुने गरी भएको शुरु फैसला बदर गरी प्रतिउत्तर एवं पुनराबेदन जिकिर बमोजिम हक इन्साफ गरी पाउँ भन्ने ब्यहोराको प्रतिबादीको पुनराबेदन अदालत नेपालगन्जमा परेको पुनराबेदनपत्र ।

६.    अंश र अपुताली दुई बेग्ला बेग्लै अबधारणामा आधारित हुने र अपुताली हक स्वतः प्राप्त नहुने हुँदा हकवाला नभएको अबस्थामा मात्रै छोरीको छोराले अपुताली खाने पाउने अपुतालीको ८ नं.ले ब्यबस्था गरेको परिप्रेक्ष्यमा शुरुको फैसला फरक पर्न सक्ने देखिनाले छलफलको लागि अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाउनु भन्ने पुनराबेदन अदालत नेपालगञ्जको आदेश ।

            ७.    छोरा छोरीले स्याहार सम्भार नगर्दा हकवालाले अचलमा आधा अपुताली खान पाउने ब्यबस्था भएको हुँदा सम्पुर्ण अपुताली पबितरामले मात्र खान पाउने भन्ने शुरु बाँके जिल्ला अदालतको इन्साफ नमिलेकोले नरम गरम मिलाई आधि मात्र बादी पबितरामले र आधि हकवाला प्रतिबादी श्यामलालले खान पाउने ठहर्छ । पुरै अपुताली बादीले पाउने भन्ने शुरु बाके जिल्ला अदालतको इन्साफ केही उल्टी हुन्छ भन्ने पुनराबेदन अदालत नेपालगन्जको मिति २०५८।३।५ को फैसला । 

            ८.    अपुताली पर्ने जनकाको म एकासगोलको हकवाला भतिजा हु भन्ने कुरा बाके जिल्ला अदालत र पुनराबेदन अदालत नेपालगन्जको फैसलाबाट स्पस्ट देखिएको अबस्थामा अपुतालीको २ नं. बमोजिम छोरीको छोरामा अपुताली हक स्थापित हुन सक्दैन । हकवाला भतिजा हुँदा हुँदै छोरी पट्टिका छोराले अपुताली पाउन नसक्ने भन्ने सन्दर्भमा अपुतालीको ८ नं.मा स्पस्ट ब्यबस्था हुनुको साथै सर्बोच्च अदालतबाट सिद्घान्त स्थापित भएको परिप्रेक्ष्यमा आधा बादीले अपुताली पाउने ठहर गरेको पुनराबेदन अदालत नेपालगन्जको त्रुटिपूर्ण फैसला उल्टी गरी प्रतिउत्तर जिकिर बमोजिम गरी पाउँ भन्ने समेत ब्यहोराको प्रतिबादीको यस अदालतमा परेको पुनराबेदनपत्र ।

            ९.    स्वर्गिय जनका अहिरको नाममा दर्ता रहेको सम्पत्तिमा अपुतालीको २ नं. बमोजिम एक मात्र छोरी मेरी आमा जगरानीको अपुताली हक कायम भएको अबस्था छ । आमा जगरानीले निजको अपुताली हक स्थापित भई सकेको सम्पत्ति जग्गा पजनीको २ क.नं.बमोजिम जहिलेसुकै पनि आफ्नो नाममा दा.खा. नामसारी गराउन पाउनेमा सो गर्न नपाउदै निजको परलोक भएको हुँदा मेरी आमाको अपुताली हक कायम भइसकेको सम्पत्तिमा अपुतालीको २ नं. बमोजिम निजको एक मात्र छोरा म पबितरामको एकलौटि अपुताली हक कायम हुनेमा बिना आधार प्रमाण बिपक्षीको आधा हक लाग्ने गरी भएको पुनराबेदन अदालत नेपालगन्जको त्रुटिपूर्ण फैसला उल्टी गरी हक इन्साफ पाउँ भन्ने समेत ब्यहोराको बादीको तारेखमा नबस्ने गरी यस अदालतमा परेको पुनराबेदन पत्र । 

            १०.    नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । पुनराबेदक प्रतिबादीको तर्फबाट बिद्वान अधिबक्ता श्री राधेश्याम अधिकारीले जनका अहिर २०४८ सालमा मरी अपुताली परेको छ । निजकी छोरी जगरानीले सो अपुताली पाउनको लागि कुनै कारबाही नचलाएकोले निजले सो अपुताली खान चाहेकी भन्ने देखिएको छैन । जनका अहिरको मृत्यु भई परेको अपुतालीमा जगरानीको नाममा नामसारी नभई निजको हक कायम भई नसक्दै जगरानीको २०४९ सालमा मृत्यु भएकोले जनका अहिरको अपुताली सिधै छोरीको छोरा यी बादीको नाममा सर्न सक्दैन । यस सम्बन्धमा ने.का.प. २०३०, पृष्ठ ५९ निर्णय नं. ७२६ र ने.का.प. २०५५ पृष्ठ ४४७ निर्णय नं. ६५८१ मा प्रतिपादित सिद्घान्त समेतको आधारमा बादीले जनका अहिरको अपुताली पाउन सक्ने अबस्था नभएकोले जनका अहिरको आधि अपुताली बादीले पाउने ठहर गरेको पुनराबेदन अदालत नेपालगञ्जको फैसला उल्टी गरी अपुताली परेको सम्पुर्ण सम्पतिमा मेरो पक्षको हक स्थापित हुने गरी फैसला हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

            ११.    उपरोक्त बहस समेतलाई बिचार गरी जनका अहिरको मृत्यु भई अपुताली परेको सम्पतिमा बादीको हक कायम हुने ठहर गरेको शुरु बाके जिल्ला अदालतको फैसलालाई केही उल्टी गरी जनका अहिरको अपुताली परेको सम्पति मध्ये आधिमा बादीको र आधिमा प्रतिबादीको हक कायम हुने ठहर  गरेको पुनराबेदन अदालत नेपालगन्जको फैसला मिले ,नमिलेको सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।

            १२.   निर्णयतर्फ बिचार गर्दा बिजयी अहिर र जनका अहिरको छोरा नभई एक मात्र छोरी मेरी आमा जगरानी भएकोमा बिजयी अहिर र जनका अहिरको परलोक भएपछि निजको सम्पति खाने मेरी आमा जगरानीले नामसारी गराउन नपाउँदै जगरानीको मृत्यु भएकोले आमा जगरानीको नाममा नामसारी हुने सम्पतिमा अपुतालीको २ नं. बमोजिम मेरो हक कायम गरी पाउँ भन्ने फिराद दाबी भएको देखियो । मर्ने जनका अहिरको म एका सगोलको हकवाला भतिजा हुँदा हुँदै छोरीको छोराले अपुताली पाउन नसक्ने हुँदा फिराद दावी खारेज गरी पाउँ भन्ने ब्यहोराको प्रतिउत्तर जिकिर रहेको देखिन्छ । जनका अहिरको अपुताली बादीले पाउने ठहर गरेको शुरु बाँके जिल्ला अदालतको फैसलालाई केही उल्टी गरी बादी र प्रतिबादीले आधाआधा अपुताली पाउने ठहर गरेको फैसला उपर नजिकको हकवाला छदा छदै मर्नेको अपुताली हक सिधैै छोरीको छोरामा स्थापित हुन नसक्ने भन्ने जिकिर लिई प्रतिबादीको र मर्ने जनकाकी छोरी आफ्नी आमा जगरानीको हक कायम भई सकेकोमा आमा जगरानीको मृत्यु पछि आफ्नो पुरै हक हुनुपर्ने भन्ने जिकिर लिई बादीको यस अदालतमा पुनराबेदन परेको देखियो ।

            १३.   मर्ने जनका अहिरको लोग्ने,छोरा र छोराको छोरा नभई यी बादीकी आमा जगरानी एक जना मात्र छोरी भएको भन्ने कुरामा बिबाद भएको देखिएन । जनका अहिर मरी अपुताली परेको तथा प्रस्तुत मुद्दाको फिराद दायर हुँदाको अबस्थामा प्रचलनमा रहेको मुलुकी ऐन एघारौ संसोधन हुनु अघिको  अपुतालीको २ नं.मा अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा, वा छोराको छोरा भएसम्म छोरीले अपुताली पाउदैन ।त्यस्ता कोही नभए छोरीले अपुताली पाउछ भन्ने ब्यबस्था भएको पाइन्छ। उक्त ब्यबस्था बमोजिम लोग्ने, छोरा वा छोराको छोरा नहुने जनका अहिरको मृत्यु पश्चात निजको अपुताली निजकी छोरी जगरानीले पाउन सक्ने अबस्था देखियो । जगरानीले सो अपुताली आफ्नो नाममा नामसारी नगराए पनि कानून बमोजिम प्राप्त गर्न सक्ने सो अपुतालीमा निजको हक पुगी सकेको मान्नुपर्ने हुन्छ । नामसारी नगराएको कारणले मात्र निजको हक समाप्त हुन्छ वा लाग्न सक्दैन भन्न मिल्दैन । किन कि नामसारी जहिले सुकै पनि हुन सक्ने कुरा हो ।

            १४.   जहाँसम्म पुनराबेदक प्रतिबादी तर्फका बिद्वान अधिबक्ताले ध्यानाकर्षण गर्नु भएको नजिरहरुको प्रश्न छ ने.का.प.२०३०, पृष्ठ ५९, निर्णय नं. ७२६ मा प्रतिपादित नजिर प्रस्तुत मुद्दा दायर हुँदा प्रचलनमा नरहेको अपुतालीको २ नं. संशोधन हुनु भन्दा अगाडिको अबस्थामा हकवालाको सम्बन्धमा प्रतिपादित भएको देखिदा सो नजिर यस मुद्दाको सन्दर्भमा आकर्षित हुने देखिएन । ने.का.प २०५५ निर्णय नं. ६५८१ पृष्ठ ४४७  मा  प्रकाशित नजिरको हकमा बिचार गर्दा त्यसमा जो ब्यक्ति मरी अपुताली परेको हो, सो ब्यक्ति भन्दा निजको छोरी अगाडि मरी सकेको अबस्थामा मर्नेको हकवाला हुँदा हुँदै छोरीको छोराले अपुताली पाउन नसक्ने  भन्ने सिद्धान्त प्रतिपादन भएको देखिन्छ । प्रस्तुत मुद्दामा जनका अहिर मरी अपुताली परेकोमा जनका अहिर भन्दा पछि निजकी छोरी जगरानीको मृत्यु भएको भन्ने देखिकोले सो मुद्दा र प्रस्तुत मुद्दाको तथ्य फरक भएको देखिदा उक्त नजिर पनि यस मुद्दामा आकर्षित हुने देखिन आएन । जो मरी अपुताली परेको हो, उसको छोरीले पाउने अपुताली हक नामसारी नगराउदै मृत्यु भएको अबस्थामा अपुताली पाउन सक्ने छोरीको हकदारमा सो अपुताली हक स्थापित हुने नहुने भन्ने सम्बन्धको प्रस्तुत मुद्दाको बिबादको बिषयबस्तुसंग मिल्दो ने.का.प. २०५६ अंक १२ निर्णय नं.  ६८३० पृष्ठ ८८६ मा प्रकाशित अपुताली हक कायम मुद्दामा अपुताली हक नामसारी नहुदैमा हक नै कायम नहुने भन्न मिल्दैन । मृतककी छोरीमा स्थापित भई सकेको अपुताली निज पछि निजकै हकदारमा निसृत हुने भन्ने सिद्धान्त प्रतिपादन भएको पाईन्छ । उपरोक्त नजिर समेतको आधारमा मृतक जनकाको मृत्यु भइसकेपछि निजकी छोरी जगरानीको मृत्यु भएको अबस्थामा मृतक जनकाको कानून बमोजिम पाउने  अपुताली निजकी छोरी जगरानीमा स्थापित नहुने र जगरानीको मृत्यु पश्चात निजको छोरा यी बादी पबितरामको सो अपुतालीमा हक कायम हुन नसक्ने भन्न मिल्ने अबस्था भएन ।

१५.   अपुतालीको ११ नं. मा छोरा छोरीले संभार नगर्दा हकवाला वा दाजु भाईले स्याहार गरेको रहेछ भने त्यो मरी अपुताली प¥यो भने त्यो अपुतालीको चलमा सबै र अचलमा आधा सो स्याहार संभार गर्ने हकवाला दाजुभाइले र आधा ऐन बमोजिमका हकवालाले पाउछन् भन्ने ब्यबस्था भएको पाईन्छ । जनका अहिर निजको छोरीसंग साथमा बसेको अथवा जनकालाई निजकी छोरी जगरानीले आफुसंग लगी पालन पोषण गरेको भन्ने कुरा पुष्टि हुने कुनै प्रमाण बादीले दिन सकेको पाईदैन । जनकासंग एकासगोलमा रही निजको सेवा टहल गरी निजको मृत्यु पश्चात काजकृया समेत प्रतिबादीले गरेको भन्ने प्रतिउत्तरबाट देखिन्छ । प्रतिबादीले देखाएको पुस्तेवारी अनुसार यी प्रतिबादी जनकाको तीन पुस्ता भित्रकै भतिजा नाताको ब्यक्ति भएको भन्ने देखिन्छ । उपरोक्त ब्यहोरालाई बादीले यस अदालतमा दिएको पुनराबेदन पत्रमा अन्यथा भनी जिकिर लिन सकेको देखिदैन । यस स्थितिमा जनका अहिरको स्याहार संभार र मरे पछि काजकृया समेत यी प्रतिबादी श्यामलालले गरेको भन्ने मान्नु पर्ने हुन आयो ।अपुतालीको ११ नं. को उपरोक्त ब्यबस्था अनुसार प्रतिबादी श्यामलाल अहिरले जनका अहिरको पालन पोषण र काजकृया समेत गरेको आधारमा मर्ने जनका अहिरको नाममा रहेको बिवादित  जग्गाहरुमा आधा स्याहार संभार गर्ने भतिजा नाताका हकवाला यी प्रतिबादी श्यामलालको हक स्थापित हुने देखिन आयो । आधामा ऐन बमोजिमको हकवाला छोरी जगरानीको हक स्थापित हुने भई जगरानीको मृत्यु भई सकेकोले निजको हकको अपुतालीमा निजको छोरा यी बादी पबितरामको हक स्थापित हुने अबस्था देखियो ।

१६. जनका अहिर मरी अपुताली परेकोमा निजको नाम रहेको विवादित कि.नं.२०३, १५१, ९६, २८, ४० को जग्गाहरुमा बादीको हक  कायम  हुने  ठहर गरेको शुरु बाँके जिल्ला अदालतको फैसलालाई केही उल्टी गरी बिवादको उपरोक्त  कि. नं. जग्गाहरुमा  नरम  गरम मिलाई आधि बादी पबितराम अहिरले र आधि प्रतिबादी श्यामलाल अहिरले खान पाउने ठहर गरेको पुनराबेदन अदालत नेपालगञ्जको इन्साफ मिलेकै देखिदा सदर हुने ठहर्छ । बादी र प्रतिबादी दुबै पक्षको पुनराबेदन जिकिर पुग्न सक्दैन । तारेखमा नबस्ने गरी पुनराबेदन गर्ने बादीलाई फैसला भएको जानकारी दिई  मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.मीनवहादुर रायमाझी

इजलास अधिकृत मुरारीबाबु श्रेष्ठ

 

इति सम्बत २०६१ साल माघ ४ गते रोज २ शुभम् .......................

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु