शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७४७४ - उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जी गरी गरी पाउँ ।

भाग: ४६ साल: २०६१ महिना: चैत्र अंक: १२

निर्णय नं.७४७४     ने.का.प.२०६१       अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री अनुपराज शर्मा

माननीय न्यायाधीश श्री बलराम के. सी.

सम्वत २०५८ सालको रिट नं. –––३०४६

आदेश मितिः २०६१।९।१२।२

 

विषय :उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जी गरी गरी पाउँ ।

 

निवेदकः रामेछाप जिल्ला ठोसे गा.वि.स. वडा नं. ६ ठोसेबजार बस्ने वर्ष ४५ को       मानबहादुर बस्नेत

विरुद्ध

विपक्षीः जिल्ला स्वास्थ्य कार्यालय, रामेछाप समेत

 

§  मिति ०४३।३।२७ देखि स्थायी कर्मचारीको रुपमा निरन्तर कार्य गरी आएको कर्मचारीलाई व्यक्तिगत विवरण भराउने प्रयोजनको निम्ति सक्कल स्थायी नियुक्ति पत्र पेश गर्न नसकेको तथा कार्यालयमा रहेको फाइलमा समेत शुरु नियुक्ति पत्र नभएको भनि मिति ०५८।५।१८ मा आएर कार्यरत कार्यालयमा हाजिर गर्न नदिने भनि निर्णय गर्नु कानूनसंगत नहुनुका साथै उचित नदेखिने ।

§  निजामती सेवा ऐन, २०४९ को दफा २४ङ मा आफ्नो कार्यालयमा कार्यरत निजामती कर्मचारीको वैयक्तिक विवरण दुरुस्त राख्ने जिम्मेवारी कार्यालय प्रमुखको हुनेछ भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको कुरालाई ध्यान नदिई कर्मचारीका साथै आफूले समेत सुरक्षित गरी राख्नुपर्ने कर्मचारीको स्थायी नियुक्ति पत्र कार्यालयको फाइलमा नरहेको एवं मिति ०४७ सालमा कार्यालय स्थानान्तरण हुँदा हराएको हुन सक्ने भनि गैर जिम्मेवारीपूर्ण कुरा गरी पन्ध्र वर्ष देखि निरन्तर स्थायी कर्मचारीको रुपमा कार्यरत कर्मचारीलाई कार्यालयमा हाजिर गर्न नदिने भनि निर्णय गर्नु कानून विपरीत समेत हुने ।

(प्र.नं. ७)

 

निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री विनोद कार्की

विपक्षी तर्फवाटः

अवलम्वित नजिरः

 

आदेश

            न्या.अनुपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८(२) बमोजिम दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :

२.    म निवेदक मिति ०४३।३।२६ को निर्णय अनुसार ०४३।३।२७ गतेदेखि पियन पदको नियुक्ति पाई श्री ५ को सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, रामेछाप हेल्थ सेन्टर अन्तर्गत ठोसेबजार हेल्थपोष्टमा इमान्दारितापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्दै आएको छु । साथै श्री ५ को सरकारको स्थायी कर्मचारीको हैसियतले प्राप्त गर्ने सञ्चयकोषको सुविधा समेत परिचयपत्र नं. २०२४४९ अन्तर्गत प्राप्त गर्दै आइरहेको छु । शुरु नियुक्ति पाएका मितिदेखि श्री ठोसेबजार हेल्थपोष्ट बाहेक अन्यत्र कहिकतै मेरो सरुवा भएको छैन । ०५० सालमा श्री ५ को सरकार (मन्त्रीपरिषद) को मिति ०५०।२।१८ को निर्णय अनुसार स्वास्थ्य मन्त्रालय र अन्तर्गतका कार्यालयहरु समेतको नयाँ संगठन तालिका स्वीकृत भई नयाँ संगठन तालिका अनुसारको पद तथा कार्यालयमा मिलान गर्ने क्रममा ०५०।४।१ गतेदेखि लागू हुने गरी मलाई साविक पद तथा कार्यालयमैं रहने गरी पदस्थापन गरिएको थियो । कर्मचारी वैयक्तिक विवरण (सिटरोल) भर्ने क्रममा मैले प्राप्त गरेको स्थायी नियुक्तिको सक्कल प्रति हराएको हुँदा आफूसँग रहेको प्रतिलिपिका आधारमा जिल्ला स्वास्थ्य कार्यालय, रामेछापमा सम्पर्क गर्दा स्थायी नियुक्ति पत्रको प्रतिलिपिले नहुने र सक्कल प्रति नैं आवश्यक पर्ने भनि जिल्ला स्वास्थ्य प्रमुखले भन्नु भएपछि मैले सक्कल प्रति हराएको हुँदा कार्यालयको रेकर्डबाट हेरी सोही अनुसार सिटरोलमा सिफारिश गरी पाउँ भनि अनुरोध गर्दा मलाई नैं स्थायी नियुक्ति पत्र पेश गर्नु अन्यथा नियमानुसार कारवाही गरिने व्यहोरा जानकारी गराइन्छ भन्ने व्यहोराको पत्र दिएपछि मैले आफूसँग रहेको स्थायी नियुक्तिपत्र हराएको हुँदा म आफूसँग मात्र हुनुपर्ने प्रकृतिको कागजात नभएकोले कार्यालयमा पनि रेकर्ड रहनुपर्ने हुँदा कार्यालयकै तर्फबाट खोजी गरी सिटरोल भरी पाउँ भन्ने व्यहोराको मिति ०५८।५।७ मा निवेदन प्रस्तुत गरेपछि का.मु. जिल्ला स्वास्थ्य प्रमुखद्वारा हस्ताक्षरीत जिल्ला स्वास्थ्य कार्यालय रामेछापको मिति ०५८।५।१४ च.नं. २३७ को आवश्यक कारवाही सम्बन्धमा भन्ने विषयको पत्र श्री मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, हरिहरभवन ललितपुरमा पठाई श्री ठोसेबजार हेल्थपोष्टमा बोधार्थ दिइएको रहेछ ।

३.    माथि उल्लेखित पत्रको व्यहोरा हेर्दा हेल्थपोेष्ट ठोसेमा वर्षौदेखि कार्यरत पियन मानबहादुर बस्नेतले नियुक्ति सम्बन्धमा आवश्यक कारवाही गरी पाउँ भनि हेल्थपोष्ट मार्फत दिनुभएको निवेदन यस कार्यालयमा प्राप्त भई द.नं. ६ मिति ०५८।५।७ को सक्कलै निवेदन यसैसाथ संलग्न राखी पठाइएको छ । निज कुन मितिमा पियन पदमा स्थायी नियुक्ति हुनुभएको भन्ने नियुक्ति सम्बन्धी कागजात यस कार्यालयमा नभएको साथै नियुक्ति पेश गर्न निजलाई बारम्बार ताकेता गर्दा पनि पेश नगरेको केवल तहाँको च.नं. १६२५ मिति ०५०।४।२८ को ठोसे हेल्थपोष्ट रामेछापको पियन पदमा पदस्थापना गरिएको पत्र मात्र भएको हुनाले तहाँ निजको नियुक्ति सम्बन्धी पत्र भएमा सोही अनुसार उपलब्ध हुन र नभए नि.से.नि. अनुसार कारवाही हुन समेत सादर अनुरोध गर्दछुभनि लेखिएको र ठोसे हेल्थपोष्टलाई दिइएको बोधार्थको व्यहोरामानिजको स्थायी नियुक्ति एवं सिटरोल प्राप्त नभएसम्म हाजिर नगराउनु हुनभनि उल्लेख भएको रहेछ । तत्पश्चात सदा झैं कार्यालयमा गई हाजिर गर्न खोज्दा ठोसे हेल्थपोष्टका इन्चार्जले ०५८।५।१८ का दिन तपाईलाई हाजिर गराउन मिल्दैन । जिल्ला स्वास्थ्य कार्यालयबाट तपाईलाई हाजिर नगराउन निर्देशन दिएको रहेछ भन्नु भएपछि मलाई हाजिर गर्न नदिने हो भने लिखित रुपमा जानकारी गराउन अनुरोध गर्दा सो गर्न पनि इन्कार गरी मलाई कार्यालयमा हाजिर हुनुबाट बञ्चित गरेकोले साह्रै अन्यायमा परी अन्य प्रभावकारी उपचारको अभावमा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अन्तर्गत सम्मानित अदालत समक्ष यो रिट निवेदन लिई उपस्थित भएको छु । म निवेदक ०४३।३।२७ गतदेखि पियन पदमा स्थायी नियुक्ति पाई निरन्तर रुपमा जिल्ला स्वास्थ्य कार्यालय, रामेछाप अन्तर्गत ठोसे हेल्थपोेष्टमा कार्यरत रहेको छु । उक्त हेल्थपोष्टको म कार्यरत रहेको पियन पदको दरबन्दीमा कसैको सरुवा भई आएको वा कुनै नयाँ नियुक्ति समेत भएको छैन । करिब १५ वर्षदेखि अनवरत कार्यरत रहेको स्थायी कर्मचारीको नियुक्ति पत्र हाल आएर रेकर्डमा नदेखिएको भनि म निवेदकलाई नैं पेश गर्नु भन्ने निर्देशन दिई मैले पेश गर्न नसकेको भन्ने वहानामा मलाई हाजिर गर्नबाट बञ्चित गराउने कार्य निजामती सेवा ऐन, २०४९ को दफा २४(ङ) को बर्खिलाप छ । आफ्नो मातहतका कर्मचारीको वैयक्तिक विवरण दुरुस्त राख्नुपर्ने कार्यालय प्रमुखको दायित्व ऐनले स्पष्ट रुपमा तोकेको हुँदाहुँदै कार्यालयमा रेकर्ड नभएको भनि म निम्नस्तरको कर्मचारीलाई स्थायी नियुक्ति पेश गर्न नसकेको भनि हाजिर गर्नबाट बञ्चित गराउने विपक्षीहरुको कार्य सरासर गैरकानूनी एवं हचुवाको आधारमा गरिएको छ । विपक्षीहरुको कानूनीबलविहिन यस्तो कार्यले मलाई हाजिर गर्नबाट बञ्चित गराउन मिल्दैन । यसरी म निवेदकलाई गैरकानूनी तथा कपटपूर्ण तवरले कार्यालयमा हाजिर भै काम गर्नबाट बञ्चित गर्ने विपक्षीहरुको काम कारवाही निर्णयले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१), १२(२)(ङ) द्वारा प्रदत्त हकमा आघात पु¥याएको हुँदा ऐ. को धारा २३, ८८(२) अन्तर्गत यो निवेदन गर्न आएको छु । अतः मलाई कार्यालयमा काम गर्नबाट बञ्चित गर्ने विपक्षी कार्यालयको मिति ०५८।५।१४ को निर्णय पत्र लगायत सम्पूर्ण काम कारवाहीहरु उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकलाई साविक बमोजिम हाजिर गराई काममा लगाउनु भन्ने परमादेश समेत जारी गरी पाउँ भन्ने निवेदन ।

४.    यसमा के कसो भएको हो ? १५ दिनभित्र विपक्षीहरुबाट लिखित जवाफ मगाउनु भन्ने यस अदालतको आदेश ।

५.    यस कार्यालय र अन्तर्गत स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरु मध्ये कतिपय कर्मचारीहरुले सिटरोल फाराम दर्ता नगरेको जानकारी निजामती किताबखानाबाट प्राप्त भएकोले यसरी सिटरोल फाराम दर्ता नगराउन भविष्यमा कर्मचारीलाई पर्न सक्ने समस्या प्रति सम्बन्धित कर्मचारीलाई सचेत गराउँदै हालसम्म सिटरोल नभएका कर्मचारीहरुलाई सिटरोल फाराम भराउन लगाई निजामती किताबखानामा दर्ता गर्न पठाउने सम्बन्धमा श्री मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय पुल्चोकको च.नं. २०२१ मिति ०५७।१।२ को पत्रबाट लेखि आएकोले सो अनुसार यस कार्यालय र अन्तर्गत सबै स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरुले अनिवार्य सिटरोल फाराम भरी पेश गरेको तर निज मानबहादुर वस्नेतको शुरु नियुक्ति पत्र नभएको कारणबाट सिटरोल दर्ता नहुने भएकोले सो पेश गर्न निजलाई बारम्बार लिखित तथा मौखिक रुपमा अनुरोध गर्दा पनि शुरु स्थायी नियुक्ति पेश गर्न नसकेको र यस कार्यालयमा रहेको निजको व्यक्तिगत फाइलमा निजको शुरु नियुक्ति पत्र नभएको केवल च.नं. प.सं. केही उल्लेख नभएको ०४३।२।२७ को साविक रामेछाप हे.सेबाट पाएको नियुक्तिमा नि. मेडिकल अधिकृत उल्लेख भएको नि. मेडिकल अधिकृतको नाम नलेखिएको स्वास्थ्य उपशाखा प्रमुख ठोसेको बाया किनारामा सही भएको पत्र निजको फायलमा रहेको छ । सोको फोटोकपी १ यसैसाथ प्रस्तुत गरिएको छ । निजको ०४३।३।२७ देखि ठोसे हेल्थपोष्टको पियन पदमा हाजिर भै तलब भत्ता र सञ्चयकोष सुविधा समेत पाउँदै आउनु भएको हो भन्ने विपक्षीहरुको लिखित  जवाफ ।

६.    नियम बमोजिम पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको मिसिल अध्ययन गरियो । रिट निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री विनोद कार्कीले निवेदकले मिति ०४३।३।२७ देखि नैं पियन पदको स्थायी नियुक्ति पाई संचयकोषको सुविधा समेत पाइरहेको एवं मिति ०५०।४।१ देखि लागू हुने गरी साविककै पद तथा कार्यालयमा पदस्थापन गरिएकोमा आफ्नो स्थायी नियुक्तिको सक्कल प्रति हराएको हुँदा व्यक्तिगत विवरण भर्ने क्रममा सो कुराको जानकारी गराउँदा पनि सक्कल स्थायी नियुक्ति पत्र पेश गर्न नसकेको भन्ने आधारमा हाजिर नगराउने भनि गरिएको निर्णय गैरकानूनी छ, आफ्नो मातहत कर्मचारीको व्यक्तिगत विवरण दुरुस्त राख्नुपर्ने कार्यालय प्रमुखको दायित्व हुनेमा कार्यालयमा रेकर्ड नभएको भनि हाजिर गर्नबाट बञ्चित गराउने कार्य अन्यायपूर्ण छ भन्ने समेत व्यहोराको बहस गर्नुभयो । यसैगरी प्रस्तुत रिट निवेदनमा निवेदन मागदावी बमोजिमको आदेश जारी हुनुपर्ने हो वा होइन भन्ने प्रश्नमा निर्णय गर्नुपर्ने देखिएको छ ।

७.    म निवेदक मिति ०४३।३।२६ को निर्णय अनुसार ०४३।३।२७ गतेदेखि पियन पदको स्थायी नियुक्ति पाई रामेछाप हेल्थ सेन्टर अन्तर्गत ठोसेबजार हेल्थपोष्टमा कार्यरत रही श्री ५ को सरकारको स्थायी कर्मचारीको हैसियतले प्राप्त गर्ने संचयकोषको सुविधा समेत प्राप्त गर्दै आएको तथा ०५०।२।१८ को श्री ५ को सरकार (मन्त्रीपरिषदको) निर्णय बमोजिम स्वास्थ्य मन्त्रालय र अन्तर्गतका कार्यालय समेतको नयाँ संगठन तालिका स्वीकृत भई नयाँ संगठन तालिका अनुसारको पद तथा कार्यालयमा मिलान गर्ने क्रममा मिति ०५०।४।१ देखि लागू हुनेगरी साविककै पद तथा कार्यालयमा रहने गरी पदस्थापना भएकोमा मेरो स्थायी नियुक्तिपत्रको सक्कल प्रति हराएको हुँदा म आफूसँग मात्र हुनुपर्ने प्रकृतिको कागजात नभएको हुँदा कार्यालयको रेकर्ड अनुसार व्यक्तिगत विवरण भरी पाउँ भन्ने लिखित जानकारी गराउँदा समेत मेरो सक्कल स्थायी नियुक्ति पत्र नभएको भनि मलाई कार्यलयमा हाजिर गर्नबाट बञ्चित गराउने गरी विपक्षी जिल्ला स्वास्थ्य कार्यालयबाट मिति ०५८।५।१८ मा लेखिएको पत्र र सो आधारमा विपक्षी ठोसे हेल्थपोष्टका प्रमुखले मलाई हाजिर गर्नबाट बञ्चित गराउने गरी गरेको कार्य लगायतका काम कारवाहीहरु उत्प्रेषणद्वारा बदर गरी साविक बमोजिम हाजिर गराई काममा लगाउनु भन्ने समेतको परमादेश समेत जारी गरी पाउँ भन्ने निवेदन दावी रहेको देखिन्छ । निवेदक मानबहादुर वस्नेत मिति ०४३।३।२६ को निर्णय बमोजिम ०४३।३।२७ देखि श्री ५ को सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग रामेछाप हेल्थसेन्टर अन्तर्गत ठोसेबजार हेल्थपोष्टमा स्थायी कर्मचारीको हैसियतले पियन पदमा कार्यरत रहँदै आएको तथ्यलाई विपक्षी जिल्ला स्वास्थ्य कार्यालय समेतले इन्कार गर्न सकेको अवस्था देखिंदैन । निवेदक मानबहादुर वस्नेत स्थायी हुँदाका बखत साविक रामेछाप हेल्थसेन्टरबाट भएको भनि बुझिन आएको र सो हेल्थसेन्टर अन्तर्गतका इलाका स्वास्थ्य चौकीहरु श्री ५ को सरकारको ०४५ को राष्ट्रिय जनस्वास्थ्य नीति अनुरुप रामेछाप जनस्वास्थ्य शाखामा गाभिएको साथै रामेछाप जिल्लाको पुरानो सदरमुकाम ०४५ मा नयाँ सदरमुकाम मन्थलीमा कार्यालयहरु लगिएको र पुनः ०४७ सालमा पुरानैं सदरमुकाममा कार्यालयका कागजपत्र ल्याउँदाका बखत निवेदकको व्यक्तिगत फाइल हराएको हुन सक्ने भनि लिखित जवाफमा नैं स्वीकार गरिएको छ । यसरी ०४३।३।२७ देखि स्थायी कर्मचारीको हैसियतले ठोसेबजार हेल्थपोष्ट रामेछापमा कार्यरत निवेदक मानबहादुर वस्नेतले कर्मचारी सञ्चयकोषको सुविधा समेत पाई आएको अवस्थामा निवेदकको व्यक्तिगत विवरण भराउनको निम्ति निवेदकको सक्कल स्थायी नियुक्ति पत्र माग गरिएको र निवेदकले उक्त स्थायी नियुक्तिको सक्कल प्रति हराएको भनि लिखित अनुरोध गर्दा विपक्षीहरुले निवेदकलाई सक्कल नियुक्ति पत्र नभएको भनि कार्यरत कार्यालयमा हाजिर गर्नबाट बञ्चित गरेको अवस्था देखिन्छ । आफ्नो मातहतको कर्मचारीको विवरण लगायतका अभिलेख दुरुस्त राख्नुपर्ने कर्तव्य सम्बन्धित कार्यालय एवं उक्त कार्यालय प्रमुखको रहने कुरामा विवाद हुन सक्दैन । मिति ०४३।३।२७ देखि स्थायी कर्मचारीको रुपमा निरन्तर कार्य गरी आएको कर्मचारीलाई व्यक्तिगत विवरण भराउने प्रयोजनको निम्ति सक्कल स्थायी नियुक्ति पत्र पेश गर्न नसकेको तथा कार्यालयमा रहेको फाइलमा समेत शुरु नियुक्ति पत्र नभएको भनि मिति ०५८।५।१८ मा आएर कार्यरत कार्यालयमा हाजिर गर्न नदिने भनि निर्णय गर्नु कानून संगत नहुनुका साथै उचित देखिंदैन । निजामती सेवा ऐन, २०४९ को दफा २४ङ मा आफ्नो कार्यालयमा कार्यरत निजामती कर्मचारीको वैयक्तिक विवरण दुरुस्त राख्ने जिम्मेवारी कार्यालय प्रमुखको हुनेछ भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको कुरालाई ध्यान नदिई कर्मचारीका साथै आफूले समेत सुरक्षित गरी राख्नुपर्ने कर्मचारीको स्थायी नियुक्ति पत्र कार्यालयको फाइलमा नरहेको एवं मिति ०४७ सालमा  कार्यालय  स्थानान्तरण  हुँदा

हराएको हुन सक्ने भनि गैर जिम्मेवारीपूर्ण कुरा गरी पन्ध्र वर्ष देखि निरन्तर स्थायी कर्मचारीको रुपमा कार्यरत कर्मचारीलाई कार्यालयमा हाजिर गर्न नदिने भनि निर्णय गर्नु कानून विपरीत समेत हुन्छ । निजामती सेवा ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० मा निजामती कर्मचारीले व्यक्तिगत विवरण भर्ने प्रयोजनको निम्ति सक्कल स्थायी नियुक्ति पेश गर्न नसकेमा निज कर्मचारीलाई हाजिर गर्नबाटै बञ्चित गराउन सकिने व्यवस्था रहेको देखिंदैन । तसर्थ निवेदक मानबहादुर वस्नेतलाई आफू कार्यरत कार्यालयमा हाजिर गर्न नदिने नदिलाउने भनि विपक्षी जिल्ला स्वास्थ्य कार्यालयले मिति ०५८।५।१८ मा लेखेको पत्र एवं तत्सम्बन्धी सम्पूर्ण कारवाही उत्प्रेषणद्वारा बदर गरिएको छ । निवेदकलाई साविक बमोजिम हाजिर गराई काममा लगाउनु भनि विपक्षीहरुका नाममा परमादेश समेत जारी हुन्छ । आदेशको जानकारी विपक्षीहरुलाई दिई मिसिल नियमानुसार बुझाई दिनु ।    

 

उक्त रायमा सहमत छु ।

न्या.वलराम के.सी.  

 

 

इति सम्वत् २०६१ साल पौष १२ गते रोज २ शुभम्  .... ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु