शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७४३५ - मोही निष्काशन ।

भाग: ४६ साल: २०६१ महिना: पौस अंक:

निर्णय नं.७४३५     ने.का.प.२०६१ अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

माननीय न्यायाधीश श्री शुसिला सिंह सिलु

संबत् २०५७ सालको दे.पु.नं. ....६३४८

फैसला मितिः २०६१।२।१।६

 

मुद्दाः मोही निष्काशन ।

 

      पुनरावेदक

      प्रतिवादीः काठमाडौं जिल्ला, चुनिखेल गाऊँ विकास समिति वडा नं. ४ वस्ने  हेराकाजी   (हिराकाजी) श्रेष्ठ     

बिरुद्ध

      विपक्षी

      वादी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २२ वस्ने विष्णु केशरी श्रेष्ठ

 

§  पुनरावेदक प्रतिवादीले पेश गरेको नगदी रसिदबाट के वापत, कुन जग्गाको, को जग्गाधनीलाई, कुन सालको कूतवाली धरौट राखेको भन्ने नदेखिएको र सम्बन्धित गाऊँ विकास समितिले दिएको जवाफबाट समेत त्यस्तो धरौट राखेको भनी जिकिर लिएको धरौटी रकम आम्दानी वाँधेको तथा ७ दिन भित्र जग्गाधनीलाई सूचना दिएको भन्ने देखिन नआएबाट भूमी सम्बन्धी ऐन, २०२१ को दफा ३६ अनुरुप वाली धरौट राखेको रसिद हो भन्न  नमिल्ने ।

§  प्रतिवादीले दावीको सालको कूतवाली प्रत्यर्थी जग्गाधनीलाई वुझाएको र सम्बन्धित निकायमा धरौटी राखेको समेत नदेखिएको हुँदा भूमी सम्बन्धी ऐन, २०२१ को दफा ३६ वमोजिम आपूmले कमाउदै आएको जग्गाको तोकिएवमोजिमको कूत वाली जग्गाधनीलाई वुझाउनु पर्ने दायित्व पूरा नगर्ने पुनरावेदक मोहीलाई दफा २९(१) वमोजिम मोही हकबाटै निष्काशन गर्ने गरेको पुनरावेदन अदालत, पाटनको फैसला सो हदसम्म मिलेकै देखिंदा सदर हुने ।

§  वादीको दावी नै नरहेको बिषयमा प्रतिवादीबाट कूत भराइ दिने ठहराएको पुनरावेदन अदालतको फैसला वादी दावी भन्दा वाहिर गई भएको देखिंदा सोतर्फको ठहर बुँदा सम्म नमिली केही उल्टी हुने ।

 

पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ताद्वय श्री दामोदर खड्का र श्री लक्ष्मण थपलिया

विपक्षी वादीतर्फवाटः विद्वान अधिवक्ताद्वय श्री नारायण वल्लभ पन्त र श्री अर्जुनप्रसाद कँडेल

अवलम्वित नजिरः २०६० सालको फौ.पु.इ.नं. ३,,५ कृष्ण नारायण सिंह समेत विरुद्ध श्री ५ को सरकार

 

फैसला

            न्या.हरिप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पुनरावेदन अदालत, पाटनको मिति २०५७।२।९ को  फैसला उपर प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:-

            २.    मेरा नाउँमा दर्ता रहेको चुनीखेल गाऊँ विकास समिति वडा नं.२(ख) कि.नं. २०३ रोपनी १.१.३ जग्गाको विपक्षी हेराकाजी श्रेष्ठ मोही हो । विपक्षीले निजको दायित्व वमोजिम उक्त जग्गाको कूत आजसम्म वुझाएको छैन । २०३४ र २०३५ सालमा विपक्षी उपर दिएको मुद्दामा वाली भरी पाउने फैसला भएको । यो २०५४ सालको कूत मलाई नवुझाएको र गाऊँ विकास समिति वा भूमी सुधार कार्यालय समेतमा धरौट समेत नराखेकोले भूमी सम्बन्धी ऐनको दफा २९(१) अन्तर्गत फिराद गर्न आएको छु । उल्लेखित कि.नं. २०३ को जग्गाको कूत मलाई कानून वमोजिम नवुझाएको र म्यादमा धरौट समेत नराखेको हुनाले विपक्षी मोहीलाई कि.नं. २०३ बाट निष्काशन गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

३.    उल्लेखित चुनीखेल गाउँ विकास समिति वडा नं. २(ख) कि.नं. २०३ को १.१.३ जग्गाको मोही म प्रतिवादीले उक्त जग्गा कमाउदै विपक्षी जग्गाधनीलाई साल सालको वाली वुझाउदै आइरहेको थिएँ । यो २०५४ सालको वाली जग्गा धनीलाई वुझाउन जाँदा वुझ्न नमानेकोले म प्रतिवादीले उक्त जग्गाधनीलाई वुझाउनु पर्ने वाली नगदमा परिणत गरी भूमी सम्बन्धी ऐन, २०२१ को दफा ३६(२) वमोजिम गाउँ विकास समितिमा धरौटी राखेबाट विपक्षीको दावी निराधार हुँदा दावी खारेज गरीपाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको प्रतिउत्तर ।

४.    वादी दावी पुग्न सक्तैन भन्ने समेत व्यहोराको २०५५।८।१० को भूमी सुधार कार्यालय, काठमाडौंको फैसला ।

            ५.    भूमी सुधार कार्यालयको उक्त फैसला सर्वोच्च अदालतबाट प्रतिपादित नजिर समेतको प्रतिकूल हुँदा वदर गरी वादी दावी वमोजिम मोही निष्काशन गरी पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।

            ६.    सुरु भूमीसुधार कार्यालय, काठमाडौंको निर्णय फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने २०५६।१२।७ को पुनरावेदन अदालत, पाटनको आदेश।

७.    धरौट राखिएको भनेको धरौटी रकम सम्बन्धित चुनिखेल गाऊँ विकास समितिमा धरौटी आम्दानी बाँधेको नदेखिनुका अतिरिक्त पेश गरेको नगदी रसिदको फोटोकपीमा कुन कित्ता जग्गाको के वापत धरौट राखेको हो सो समेत नखुलेकोले वादी दावी वमोजिमको जग्गाबाट प्रतिवादी मोही हकबाट निष्काशन हुने र बाली समेत भराई लिन पाउने ठहर्छ । वादी दावी पुग्न नसक्ने ठहराएको सुरुको निर्णय उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०५७।२।९ को फैसला ।

            ८.    पुनरावेदन अदालतबाट भएको उक्त फैसलामा चित्त वुझेन । जग्गाधनीले वाली बुझ्न नमानेको कारणबाट मैले दावीको कूत वाली ऐनका म्याद भित्रै मिति २०५४।१०।१२ मा सम्बन्धित चुनिखेल गाऊँ विकास समितिमा धरौट राखेको छु । कर्मचारीको गल्तीले जग्गाधनीको नाम र कित्ता नं. उल्लेख नहुँदैमा पक्षको हक जाँदैन । कूत धरौट राखेको कुरालाई चुनिखेल गाऊँ विकास समितिको कार्यालयले समेत मानेकै हुँदा वाली वुझाउने मोहीलाई निष्काशन गर्न मिल्दैन। तसर्थ सुरुको निर्णय उल्टी गरी वादी दावी वमोजिम मोही निष्काशन समेत गर्ने गरेको पुनरावेदन अदालतको फैसला उल्टी गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालत समक्षको पुनरावेदन पत्र ।

            ९.    यसमा प्रत्यर्थी वादीले दावीको जग्गाको वालीमा यो यति रकम दिलाई भराई पाउँ भन्ने सम्बन्धमा दावी नै नभएको अवस्थामा पुनरावेदन अदालत, पाटनबाट वादी दावी भन्दा वाहिर गई वाली समेत भराई दिने ठहराएको फैसला मिलेको नदेखिंदा छलफलको लागि अदालती वन्दोवस्तको २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि लगाउको दे.पु.नं. ६३४९, ६३५० र ६३५१ को मुद्दा साथै पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको २०६०।२।३० को आदेश ।

            १०.    यसमा काठमाडौं जिल्ला चुनिखेल गाऊँ विकास समितिबाट पुनरावेदक प्रतिवादीहरुले कूत धरौट राखेको रकम धरौटी आम्दानी बाँधेको र जग्गावालालाई ७ दिन भित्र सूचना दिएको श्रेस्ता झिकाई पेश गर्नु भन्ने समेत यस अदालतको २०६०।८।५ को आदेश ।

            ११.    यसमा पूर्व आदेश वमोजिमको जवाफ प्राप्त नहुँदै पेश भएको देखिंदा के कसरी कस्को लापरवाहीवाट पेश हुन आएको हो ? जे जो गर्नु पर्छ गरी उक्त आदेश वमोजिमको कार्य सम्पन्न भएपछि पेश गर्नु भन्ने समेत यस अदालतको २०६१।१।४ को आदेश ।

            १२.   नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता द्वय  श्री दामोदर खड्का र लक्ष्मण थपलियाले वाली भराई पाउँ भन्ने प्रत्यर्थी वादीको दावी नै छैन । दावी वेगर नै वाली भराउने गरेको पुनरावेदन अदालतको फैसला वादी दावी भन्दा वाहिर गई भएको प्रष्टै छ । त्यसमा पनि दावीको सालको वाली पुनरावेदकले सम्बन्धित चुनिखेल गाउँ विकास समितिमा निवेदन दिई धरौट राखेको अवस्था छ । कर्मचारीको गल्तीले नगदी रसिदमा जग्गाको विवरण, वापत र जग्गाधनीको नाम उल्लेख नहुँदैमा पक्षको हक जान सक्दैन । आम्दानी बाँध्ने र जग्गाधनीलाई सूचना दिने काम मोहीको नभई गाऊँ विकास समिति कार्यालयकै हुँदा सो कार्यविधि पुरा नभएको भन्दैमा कूत धरौट नै नराखेको अर्थ गर्न मिल्दैन । तसर्थ वादी दावी भन्दा वाहिर गई भएको पुनरावेदन अदालत, पाटनको फैसला उल्टी हुनु पर्दछ भनी र प्रत्यर्थी वादीकातर्फबाट विद्वान अधिवक्ताद्वय श्री नारायण वल्लभ पन्त र अर्जुनप्रसाद कँडेलले विपक्षी मोहीले यस अघि पनि वाली नवुझाई जग्गाधनीलाई पटक पटक मुद्दा खेपी हिड्नु पर्ने अवस्था पार्नु भएको र दावीको सालको वाली पनि बुझाएको अवस्था छैन । चुनीखेल गाऊँ विकास समितिमा धरौट राखेको भन्ने जिकिर भए पनि पेश गरेको नगदी रसिदबाट कुत वापत धरौटी राखेको भन्ने देखिदैन । कूत धरौट राखेको भए सो कुरा खोली जग्गाको कित्ता नम्वर र जग्गाधनीको नाम समेत उल्लेख हुनुपर्ने हो । भूमी सम्बन्धी ऐन, २०२१ को दफा ३६ को प्रक्रिया पूरा नगरी नगदी रसिद मात्र लिएको कुरालाई कूत वाली धरौट राखेको भन्न मिल्दैन । त्यसमा पनि विपक्षीले राखेको भनेको कूत धरौटी गाऊँ विकास समितिमा आम्दानी वाँधिएको र सो सम्बन्धमा जग्गाधनीलाई सूचना दिएको अवस्था समेत नहुँदा वादी दावी पुग्ने ठहराई पुनरावेदन अदालत, पाटनबाट भएको फैसला सदर हुनु पर्दछ भनी गर्नु भएको वहस सुनियो ।

            १३.   पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी हेर्दा मेरा नाउँ दर्ताको चुनीखेल गाऊँ विकास समिति वडा नं. २(ख) कि.नं. २०३ को रोपनी १.१.३ जग्गाको विपक्षी मोहीले २०५४ सालको कूतवाली नवुझाएको र सम्बन्धित निकायमा धरौट समेत नराखेकोले मोही निष्काशन गरी पाउँ भन्ने समेत फिराद दावीमा दावीको कूतवाली विपक्षी जग्गाधनीलाई वुझाउन लैजाँदा वुझ्न नमानेकोले नगदीमा परिणत गरी सम्बन्धित गाऊँ विकास समितिमा धरौट राखी सकेको हुँदा झुठृा दावी खारेज गरी पाउँ भन्ने समेत प्रतिउत्तर जिकिर रहेको देखिन्छ । सुरुले वादी दावी पुग्न नसक्ने ठहराई गरेको निर्णय उल्टी गरी दावीको जग्गाबाट प्रतिवादीलाई मोही हकबाट निष्काशन हुने र वाली समेत भराई लिन पाउने ठहराई पुनरावेदन अदालतबाट भएको फैसला उपर प्रतिवादीको प्रस्तुत पुनरावेदन परेको पाइयो । दावीको वाली सम्बन्धित चुनीखेल गाउँ विकास समिति कार्यालयमा समयमै धरौट राखेकोमा कित्ता नं. सम्म उल्लेख नभएको भनी कर्मचारीको गल्तिका कारणले पक्षको हक जाने गरी तथा वालीतर्फ दावी नै नभएकोमा वाली समेत भराइ दिने गरी पुनरावेदन अदालतबाट भएको फैसला त्रुटीपूर्ण हुँदा वदर गरी पाउँ भन्ने समेत पुनरावेदक प्रतिवादीको मूख्य पुनरावेदन जिकिर रहेको देखियो ।

            १४.   अव पुनरावेदन अदालत, पाटनको फैसला मिले नमिलेको के रहेछ ? र पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने सम्बन्धमा निर्णयतर्फ विचार गर्दा दावीको चुनीखेल गाऊँ विकास समिति वडा नं. २(ख) कि.नं. २०३ रोपनी १.१.३ जग्गाको पुनरावेदक प्रतिवादी मोही रहेको भन्ने तथ्यमा विवाद रहेको पाइएन । २०५४ सालको वाली मोहीले नवुझाएकोले मोही निष्काशन गरी पाउँ भन्ने दावी भएकोमा दावीको वाली सम्बन्धित चुनिखेल गाऊँ विकास समितिमा २०५४।१०।१२ मा धरौट राखेको भनी प्रतिवादीले रु. ३९७। को नगदी रसिदको फोटोकपी पेश गरेको देखिए पनि के वापत उक्त रकम जम्मा गरेको भन्ने देखिन आउँदैन । यसका अतिरिक्त उक्त नगदी रसिदमा जग्गाको कित्ता नंवर र जग्गाधनीको नाम सम्म पनि उल्लेख भएको पाइएन । यस अदालतको मिति २०६०।८।५ को आदेशानुसार कूत रकम धरौटी आम्दानी वाँधेको र ७ दिन भित्र जग्गावालालाई सूचना दिएको श्रेस्ता पठाई दिनु भनी चुनीखेल गाऊँ विकास समितिलाई लेखिएकोमा च.नं. ११२ मिति २०६०।११।५ को पत्र मार्फत २०६०।६।२५ मा कार्यालय विष्फोटबाट ध्वस्त भएकोले रेकर्ड पठाउन नसकिने व्यहोराको जवाफ पठाएको देखिए तापनि सो भन्दा अगावै पुनरावेदन अदालतबाट मोहीले वाली धरौटी राखेको सम्पूर्ण विवरण पठाउन आदेश भई लेखी गएकोमा २०५६।१०।१७ को पत्र मार्फत पठाएको जवाफमा समेत कूत धरौटी आम्दानी वाँधेको र जग्गाधनीलाई सूचना दिएको भन्न र सो को विवरण पेश गर्न सकेको देखिएन । यसबाट पुनरावेदकले कुत धरौट राखेको भनी पेश गरेको नगदी रसिद वमोजिमको रकम भूमी सम्बन्धी ऐन, २०२१ को दफा ३६(३) वमोजिम सम्बन्धित गाऊँ विकास समितिमा धरौटीमा आम्दानी वाँधेको तथा जग्गा धनीलाई ७ दिन भित्र सूचना दिएको अवस्था समेत देखिन आएन । यसरी पुनरावेदक प्रतिवादीले पेश गरेको नगदी रसिदबाट के वापत, कुन जग्गाको, को जग्गाधनीलाई, कुन सालको कूतवाली धरौट राखेको भन्ने नदेखिएको र सम्बन्धित गाऊँ विकास समितिले दिएको जवाफबाट समेत त्यस्तो धरौट राखेको भनी जिकिर लिएको धरौटी रकम आम्दानी वाँधेको तथा ७ दिन भित्र जग्गाधनीलाई सूचना दिएको भन्ने देखिन नआएबाट भूमी सम्बन्धी ऐन, २०२१ को दफा ३६ अनुरुप वाली धरौट राखेको रसिद हो भन्न  मिल्ने देखिएन ।

            १५.   माथि उल्लेखित विवेचनाबाट पुनरावेदक प्रतिवादीले दावीको सालको कूतवाली प्रत्यर्थी जग्गाधनीलाई वुझाएको र सम्बन्धित निकायमा धरौटी राखेको समेत नदेखिएको हुँदा भूमी सम्बन्धी ऐन, २०२१ को दफा ३६ वमोजिम आपूmले कमाउदै आएको जग्गाको तोकिए वमोजिमको कूत वाली जग्गाधनीलाई वुझाउनु पर्ने दायित्व पूरा नगर्ने पुनरावेदक मोहीलाई दफा २९(१) वमोजिम मोही हकबाटै निष्काशन गर्ने गरेको पुनरावेदन अदालत, पाटनको फैसला सो हदसम्म मिलेकै देखिंदा सदर हुन्छ । सोतर्फको प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

            १६.    जहाँ सम्म दावी नै नभएको कूत वाली भराउने गरेको फैसला नमिलेको भन्ने पुनरावेदकतर्फका विद्वान अधिवक्ताको वहस जिकिर छ सो सम्बन्धमा प्रत्यर्थी वादीको सुरु फिराद दावी हेर्दा मोहीले २०५४ सालको कूत नदिएकोले मोही हकबाट निष्काशन गरी पाउँ भन्ने सम्मको दावी लिएको देखिए पनि २०५४ सालको वाली भराई पाउँ भनी दावी लिन सकेको पाईएन । यस्तो वादीको दावी नै नरहेको बिषयमा प्रतिवादीबाट कूत भराइ दिने ठहराएको पुनरावेदन अदालतको फैसला वादी दावी भन्दा वाहिर गई भएको देखिंदा सोतर्फको ठहर बुँदा सम्म नमिली केही उल्टी हुने ठहर्छ । वाली भराई दिने भनी पुनरावेदन अदालतको फैसलाको तपसिल खण्डमा उल्लेख भए वमोजिम नगर्नु नगराउनु भनी सुरुमा लेखी  पठाई  मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

           

न्या.शुसिला सिंह सिलु

इजलास अधिकृत (शा.अ.) नारायणप्रसाद सुवेदी

 

 

इति संबत् २०६१ साल जेष्ठ १ गते रोज ६ शुभम ............... ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु