शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७४३६ - लागूऔषध ।

भाग: ४६ साल: २०६१ महिना: पौस अंक:

निर्णय नं.७४३६     ने.का.प.२०६१ अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेल

माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित

सम्वत् २०५६ सालको फौ.पु.नं. ...२१४२

फैसला मितिः २०६१।२।१४।५

 

मुद्दाः लागूऔषध ।

 

      पुनरावेदक

      वादीः प्र.ना.नी. रेशमवहादुर श्रेष्ठ समेतको प्रतिवेदनले श्री ५ को सरकार

विरुद्ध

            प्रत्यर्थी

      प्रतिवादीः दोलखा जि. माटी गा.वि.स.वा.न.. ८ वस्ने सुदर्शन कुवंर समेत

 

§  लागूऔषध नभए पनि गैर लागुपदार्थलाई समेत लागुपदार्थको रुपवाट कारोवार गर्ने कार्यलाई समेत कसूर मानि सजायको व्यवस्था गरिएको देखिदा कारोवार गर्ने व्यक्तिलाई विवादित पदार्थ लागूऔषध हो भन्ने जानकारी हुनु वा नहुनुले कारोवारको परिणामलाई असर नपार्ने ।

§  लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १७क मा उल्लिखित लागूऔषध भन्ने विश्वासमा पारीभन्ने व्याक्याशंले कारोवारकर्तालाई लागुपदार्थ हो भन्ने जानकारी भएको हुनुपर्छ भन्ने अर्थ गर्न नमिल्ने ।

§  समग्रमा दफा १७ क ले लागूपदार्थको नाममा वा रुपमा हुने गैर लागुपदार्थको कारोवारलाई समेत सजाय योग्य कार्य भनी तोकेको सम्म देखिन्छ, कारोवार कर्तालाई लागुपदार्थ हो भन्ने थाहा भएको अवस्था हुनै पर्ने भन्न नमिल्ने ।

§  लागुपदार्थको कारोवार गर्ने प्रतिवादीहरुलाई लागूपदार्थ हो भन्ने थाहा भए नभएको कुराले उल्लिखित १७ क नं.बमोजिमको कसूरमा कुनै अन्तर नआउने ।

 

पुनरावेदक वादीतर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री दिनेशहरि अधिकारी

प्रत्यर्थी प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री खिल गिरी

अवलम्वित नजिरः

 

फैसला

            न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत पाटनवाट मिति २०५५।१२।२३ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत वादी श्री ५ को सरकारतर्फवाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार रहेको छ :

            २.    मिति २०५३।११।२६।१ गते युवराज पोखरल समेतले लागु औषधि हिरोइन खरिद विक्री गर्न हिडेका छन भन्ने वुझिएकोले खोजतलास गर्दै जाँदा वागवजारमा २ जनालाई शंका लागि सोधपुछ गर्दा लागूऔषध विक्री गर्न वसेको हो भनेकोले शरिर खानतलासी लिंदा सुदर्शनले लगाएको ज्याकेट भित्र अगाडि पट्टि पेटमा लुकार्ई राखेको छालाको प्याकेट फेला परेको र उधारी हेर्दा नरम प्लाष्टीकमा हिरोइन निकाली तौल गर्दा २०० ग्राम भएकोले वरामद गरी सुदर्शन कुंवर र युवराज पोखरेललाई पक्राउ गरेको हो भन्ने वरामदी मुचुल्का ।

            ३.    पक्राउमा परेका सुदर्शन कुंवरले भने देखाए बमोजिमको घरवाट हरी महरालाई पक्राउ गरी अभियुक्तहरु र लागूऔषध समेत दाखिला गरेका छौ कानूनबमोजिम कारवाही गरी पाउँ भन्ने प्र. ना.नि. रेशमवहादुर श्रेष्ठ समेतको संयुक्त प्रतिवेदन ।

            ४.    वरामद भएका २०० ग्राम लागूऔषधवाट अदालतमा पठाउन र परीक्षणको लागि पठाउन ३।३ ग्रामको दरले पोको पारी लाहाछाप गरिएको भन्ने मिति ०५३।११।२७ को मुचुल्का ।

            ५.    करिव १ हप्ता पहिला युवराज पोखरेलले लागूऔषध खरिद गर्ने ग्राहक फेला पारेको छु लागूऔषध फेला पार्न सक्छौ भने ल्याउ म विक्रि गर्छु भनेकोले सो कुरा मैले मेरो वावु संग गरेको र वावु हरि महराले पक्राउ पर्नु भन्दा २ दिन पहिले सर्लाहीवाट ल्याई मलाई दिएकोले म संग पक्राउ परेका युवराज पोखरेलले खरिद गर्ने पाटीको व्यवस्था भएको छ । सामान वोकी हिड भनेकोले वरामद भएको लागूऔषध सहित पक्राउ गरेका हुन के कति मुल्यमा विक्री गर्ने भन्ने कुरा मलाई थाहा थिएन भन्ने समेत व्यहोराको प्र. सुदर्शन कुंवरले अधिकार प्राप्त अधिकारी समक्ष गरेको  वयान ।

            ६.    वरामद लागूऔषध सुदर्शन कुवरले ल्याएका हुन कहाँवाट कसरी ल्याए मलाई थाहा छैन पैला देखी चिनेको वतन थाहा नभएको राज कुमार डोटेल भन्नेले ग्राहकले सामान हेरेपछि भाउ मिलार्ई दिन्छु भनेकोले विक्री गर्न वागवजार ल्याएको अवस्थामा सुदर्शनले वोकेको वेला वरामद भएको हो भन्ने समेत व्यहोराको अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादी युवराज पोखरेलले  गरेको वयान ।

            ७.    वरामद भएको लागूऔषध निरु चौधरी भन्ने व्यक्तिको हो वखतवहादुर कुंवरले ला.औ खोजी देउ भनेका र निज चौधरीले मसंग लागूऔषध हिरोइन छ भनेकोले मैले दुवै जनालाई भेट गराएको मात्र हुं उक्त लागूऔषध वखतवहादुरले सर्लाहीवाट वरहथवावाट आफैंले वोकी काठमाडौ ल्याएका हुन म पनि निजकै साथमा काठमाडौ आएको हुं भन्ने समेत व्यहोराको अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादी हरि महराले गरेको वयान ।

            ८.    वखतवहादुर कुंवर मिति २०५३।११।२६ गते देखि वेपत्ता भै भारत दिल्लीतर्फ गएको भन्ने वुझिन आएको   भन्ने व्यहोराको प्र.स.नि. राजेन्द्र श्रेष्ठको प्रतिवेदन ।

            ९.    प्राप्त नमुना परीक्षण गर्दा लागूऔषध नदेखिएको भन्ने रोनाष्टको परीक्षण प्रतिवेदन।

            १०.    वरामद लागूऔषध हिरोइन भनेको पदार्थ (पाउडर)लाई ला.औ. हिरोइन भन्ने प्रभाव पारी खरिद गर्ने पाटीको प्रतिक्षामा वसेको अवस्थामा सुदर्शन कुंवर र युवराज पोखरेल पक्राउमा परेका र सुदर्शन कुवरले देखाई सोही दिन हरि महरा पनि पक्राउ परेको हुंदा अभियुक्तहरु सुदर्शन कुवर, युवराज पोखरेल, हरि महरा र पक्राउमा नपरेका वलवहादुर कुंवर उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ को (संशोधन सहित) दफा ४ को (घ) (च) बमोजिम कसूर गरेमा सोही ऐनको दफा १४ (१) को खण्ड (छ) (३) अनुसार सजाय हुनेमा अन्य सेतो पाउडरलाई हिरोइन हो भनि विश्वास दिलाई कारोवार गरेमा सोही ऐनको दफा १७ (क)बमोजिम सजायँ हुन अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको प्रहरी अभियोग दावी।

            ११.    प्रहरीमा भएको वयानको व्यहोरा मेरो होइन प्रहरीलेनै आफू खुसी लेखी जवरजस्ती कुटपिट गरी डर धाक देखाई सही गराएको हो युवराज र हरि महरालाई चिनेको छैन लागूऔषध म वाट वरामद भएको होइन । ०५३।१२।२५ गते काम गर्ने होटलवाट वाहिर आएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो कसूर नगरेको हुंदा साक्षी प्रमाण वुझी पाउं भन्ने प्रतिवादी सुदर्शन कुवरले जिल्ला अदालतमा गरेको वयान ।

            १२.   लागूऔषध वरामद भएको भनिएको के कस्को कहाँवाट वरामद भयो थाहा छैन । मैले विक्री वितरण गरेको छैन म आफ्नो काम गर्ने होटलमा डिउटी सकी घर जादै गरेको वेला घण्टाघर निर प्रहरीले समातेको हो । सुदर्शन भन्ने व्यक्तिलाई मैले चिनेको छैन प्रहरीमा मलाई जवरजस्ती धम्की दिई विभिन्न कागजमा सही गराएको हो । म वाट दावी अनुसार कसूर नभएको हुंदा निर्दोष छु भन्ने समेत व्यहोराको प्रतिवादी युवराज पोखरेलको अदालतमा भएको वयान ।

            १३.   म सर्लाहीवाट चैत्र २३ गते सालो दिनेशलाई लिन काठमाडौं आएको वेला साथीकोमा भएको ठाउं चक्रपथमा वसेको वखत प्रहरीले २५ गते पक्राउ गरेको हो लागूऔषध मैले मिलाई निजहरु संग बखतवहादुरलाई काठमाडौं पठाएको होइन । प्रहरीले ला.औ. कहाँवाट ल्यायो थाहा छैन निरु चौधरी, वखतवहादुर समेतलाई चिन्दीन । मैले कुनै कसूर गरेको छैन लागूऔषध विक्री वितरण गरेको छैन माँग दावी अनुसार सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी हरि महराले अदालतमा गरेको वयान ।

            १४.   सुदर्शन कुंवर लागूऔषध कारोवार गर्ने मानिस होइन भन्ने सुदर्शनको साक्षी विनोद राणाको वकपत्र ।

            १५.   युवराज पोखरेल क्याम्पस पढदै साधारण होटलमा काम गर्ने व्यक्ति हुंदा प्रहरीले घण्टाघरवाट किन पक्राउ गरेभन्ने प्र. युवराजको साक्षी प्रमोद अधिकारीको वकपत्र ।

            १६.    निरु चौधरी भन्ने को हो मलाई थाहा छैन निजको आचरण राम्रो छ सजाय पाउने होइन भन्ने प्र. हरि महराको साक्षी अग्नीप्रसादको वकपत्र ।

            १७.   वरामदी मुचुल्कामा भएको सहीछाप मेरो हो प्रहरीले ४।५ जना साक्षी राख्नु पर्छ भनि सही गराएको हो के वरामद भयो मैले देखिन साक्षी सम्म वसेको हुं भन्ने समेत व्यहोराको वरामदी मुचुल्काका साक्षी सूर्यदत्त गौतमको वकपत्र ।

            १८.   अभियुक्त मध्ये सुदर्शन कुंवरवाट उल्लेखित वस्तु वरामद भएको देखिंदा निजलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा १४ (१) को खण्ड ६ (३)  को आधा अर्थात ऐ. ऐनको दफा १७ (क) बमोजिम (१५ वर्षको आधा) साढे सात वर्ष कैद र अढाई लाख (२१/२) जरिवाना हुने ठहर्छ । अर्का प्रतिवादीद्वयवाट वरामद भएको नदेखिएता पनि उक्त कसूर गर्न निजहरुको पनि संलग्नता देखिएको हुंदा निज दुवै जनालाई ऐ. ऐनको दफा १७ बमोजिम प्र. सुदर्शन कुंवरलाई भएको सजायको आधा सजायँ र आधा जरीवाना हुने  ठहर्छ । फरार रहेका प्रतिवादी वखतवहादुर कुवरका नाउंको म्याद वेपत्ते तामेल भएकोले निज पक्राउ भै वा आफैं उपस्थित भएका वखत कानूनबमोजिम हुनेनै हुंदा निजको हकमा वोली रहनु परेन भन्ने समेत व्यहोराको शुरु काठमाडौ जिल्ला अदालतको मिति २०५५।२।६ को फैसला ।

            १९.    शुरु जिल्ला अदालतले कसूरदार ठहराई सजाय गर्ने गरेको शुरुको फैसलामा चित्त वुझेन सो फैसला वदर गरी अभियोग दावीवाट सफाइ पाउं भन्ने प्रतिवादी युवराज पोखरेलको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन ।

            २०.   शुरु जिल्ला अदालतले मलाई कसूरदार ठहराई कैद र जरीवाना गर्ने गरेको फैसलामा चित्त वुझेन दफा १७(क) को अपराध हुनको लागि लागूऔषध हो भनि अभियुक्तले कुनै व्यक्तिलाई विश्वासमा पारेको हुन् अनिवार्य छ । ठोस सवुद प्रमाणको अभाव रहेकोतर्फ हेर्दै नहेरी भएको फैसला न्यायीक मनको अभाव भएको हुंदा शुरुको फैसला वदर गरी आरोपित दावीवाट सफाइ पाउं भन्ने पुनरावेदक हरि महराको पुनरावेदन अदालतमा परेको पुनरावेदन   पत्र ।

            २१.   शुरु जिल्ला अदालतले मलाई कसूरदार ठहराई कैद जरिवाना गर्ने गरेको फैसलामा चित्त वुझेन सो फैसला वदर गरी आरोपित दावीवाट सफाइ पाउं भन्ने पुनरावेदक सुदर्शन कुवरको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

२२.   यस्मा प्रतिवादी हरि महरावाट लागूऔषध भनि विक्री गरिएको भनिएको दशी समेत वरामद भएको नदोखिएको अवस्थामा निजलाई कसूरदार ठहर्‍याएको शुरु काठमाडौ जिल्ला अदालतको फैसला नमिली फरक पर्न सक्ने हुंदा विपक्षी झिकाउनु भन्ने तथा सो पुनरावेदनमा विपक्षी झिकाउने आदेश भएको आधारमा प्र. युवराज तथा सुदर्शन कुवंरको पुनरावेदनमा पनि विपक्षी झिकाउने गरी पुनरावेदन अदालत पाटनवाट मिति ०५५।१०।१२ मा भएको आदेश ।

२३.   शुरुले पुनरावेदक प्रतिवादीहरुलाई कसूरदार ठहर गरी सजायँ गर्ने गरेको शुरु काठमाडौ जिल्ला अदालतको मिति ०५५।२।६।४ को फैसला प्रमाणको अभावमा मिलेको नदेखिंदा उल्टी भै पुनरावेदक प्रतिवादीहरु हरि महरा, सुदर्शन कुवंर, युवराज पोखरेलले आरोपित दावीवाट सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५५।१२।२३ को फैसला ।

२४.   शुरु काठमाडौं जिल्ला अदालतले कसूरदार ठहर्‍याई गरेको फैसला उल्टयाई सफाइ दिने गरी भएको पुनरावेदन अदालतको फैसला कानून विपरीत हुंदा वदर गरि पाउं भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारतर्फवाट यस अदालतमा परेको पुनरावेदन ।

२५.   लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा १७ (क) को अभियोग दावी भएको प्रस्तुत मुद्दामा प्रतिवादी सुदर्शन कुवंरले लगाएको ज्याकेट भित्र अगाडि पट्टि पेटमा लुकाई राखेको छालाको प्याकेट भित्र नरम प्लाष्टिकमा लागूऔषध हिरोइन भनिएको सेतो वस्तु ( पाउडर) वरामद भई निज प्रतिवादी मौकामा कागज गर्दा लागूऔषध ओसारपसार विक्री वितरण गरेकोमा सावित भएको र सोही अनुरुप प्रतिवादी युवराज पोखरेल र हरि महरा समेत मौकाको वयानमा साक्षी देखिंदा निज प्रतिवादीहरु अदालतमा वयान गर्दा इन्कारी रहे पनि निजहरुको मौकाको साविति वरामदी दशी र वरामदी मुचुल्कावाट अभियोग दावी बमोजिमको आरोप समर्थित भै रहेको अवस्थामा शुरु जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादीहरुलाई सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०५५।१२।२३ को फैसला फरक पर्न सक्ने देखिंदा छलफलको निमित्त विपक्षी झिकाउनु भन्ने समेत व्यहोराको यस अदालतको मिति ०५९।७।२५ को आदेश ।

२६.   नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा प्रत्यर्थी वादी श्री ५ को सरकारतर्फवाट उपस्थित हुनु भएका विद्वान सहन्यायाधिवक्ता श्री दिनेशहरि अधिकारीले सुदर्शन कुवर समेतका मानिसहरु लागूऔषधको कारोवार गर्छन भन्ने आधारमै अनुसन्धान भएको देखिन्छ, सामान्य पिठोलाई लेदरको व्यागमा पोको पारी राख्ने कुरा हुदैन सवै कारोवार लागूऔषध हो भनी गरिएकोछ, वयान लागूऔषधकै सन्दर्भमा भएको छ, म्याद थपका लागि अदालत समक्ष उपस्थित गराउदा प्रतिवादीले आफ्नो शरीरको जाँच गराउन सकेको छैन, तसर्थ अनुसन्धान अधिकारी समक्षको वयान प्रमाण योग्य छ । लागूऔषध हो भन्ने विश्वासमा पारी अन्य पदार्थको कारोवार गरेकोमा पनि लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा १७ कबमोजिम सजाय हुनेनै हुन्छ । यस सम्वन्धमा यस अदालतको पूर्ण इजलासवाट फौ.पु.ई.नं. ३,,५ कृष्ण नारायण सिंह समेत विरुद्ध श्री ५ को सरकार भएको मुद्दामा निर्णय भैसकेको छ भन्ने समेत व्यहोरामा वहस गर्नु भयो भने प्रत्यर्थी प्रतिवादी युवराज पोखरेलतर्फवाट रहनु भएका विद्वान अधिवक्ता श्री खिल गिरीले अभियोग दावीको १७ क.बमोजिम सजाय हुन लागूऔषध होइन भनी थाहा भएर पनि लागूऔषध हो भनी विक्रि वितरण गर्ने मनसाय हुनुपर्छ तर मिसिलवाट त्यस्तो देखिदैन । लागूऔषधनै हो भनी विक्री वितरण गरेकोमा १७ क.बमोजिम सजाय गर्न मिल्दैन यस सम्वन्धमा यस सम्मानित अदालतवाट ०५४ सालको फौ.पु.नं. १२२४ र १६०० मिति २०५७।५।५ मा फैसला भै नजिरको रुपमा रहेकोछ, उक्त नजिर आकर्षित हुने हुन्छ । वरामदी पदार्थ पनि मेरो पक्षवाट वरामद भएको होइन । वरामदी पनि शंकारहित छैन तसर्थ प्रमाणमा लिन मिल्दैन भनी वहस गर्नु भयो ।

२७.   पेश हुन आएको पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी विद्वान कानून व्यवसायीहरुद्वारा प्रस्तुत वहस जिकिर समेत मध्यनजर गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनवाट मिति ०५५।१२।२३ मा भएको फैसला मिलेको छ, छैन भनी निर्णय दिनुपर्ने हुन आयो ।

२८.   प्रतिवादी सुदर्शन कुंवर, युवराज पोखरेल, हरि महरा, वखतवहादुर कुंवर समेतलाई प्रस्तुत मुद्दामा लागूऔषध    (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (घ)   (च) विपरीतको कसूरमा सोही ऐनको दफा १४ (१) को खण्ड (छ)(३) बमोजिम सजायँ हुने हुंदा अन्य सेतो पाउडरलाई लागूऔषध हेरोइन हो भनी विश्वास दिलाई कारोवार गरेको हुंदा सोही ऐनको दफा १७क बमोजिम सजाय गरी पाउँ भनी यस मुद्दाका अभियोग पत्र दायर भएको देखिन्छ । उक्त दफा ४ को खण्ड (घ) मा लागूऔषधको विक्री वितरण गर्न र खण्ड (च) ले लागूऔषध खरीद गर्ने सन्चय गर्ने, राख्ने वा ओसारपसार गर्ने कार्यलाई निषेधित कार्य भनी उल्लेख भएको देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी मध्येका सुदर्शन कुंवर र युवराज पोखरेललाई वागवजार इच्छुमती टोलमा एकैसाथ पक्राउ गरिएको र प्र. सुदर्शन कुंवरले लगाएको ज्याकेटको भित्र पेटमा कलेजी रंगको छालको प्याकेटमा सेतो प्लाष्टिकको पोका वनाई राखेको अवस्थामा प्लाष्टिकलाई वाहेक गरी तौलिंदा २०० ग्राम लागूऔषध वरामद गरेको भन्ने वरामदी मुचुल्कावाट देखिएको र निज शुदर्शन कुंवरले देखाए बमोजिम महाराजगन्ज स्थिति डेराबाट अर्का प्र. हरि महरालाई पक्राउ गरिएको तथ्य मिसिलवाट देखिन आएको छ । अदालत समक्ष वयान गर्दा पक्राउमा परेका तीनै जना प्रतिवादीले वरामदी मुचुल्का बमोजिमको लागूऔषध भनिएको पदार्थ समेत आफूहरु पक्राउ परेकोमा पूर्ण इन्कारी वयान गर्दै एकले अर्कोलाई चिन्दै नचिनेको, आफूहरुले लागूऔषधको कारोवार समेत नगर्ने गरेको भनि आआफ्नो भनाइ लेखाई दिएको देखिन्छ । तथापी, अनुसन्धान अधिकारी समक्ष वयान गर्दा एक आपसको मिलेमतोमा सर्लाहीवाट लागूऔषध हेरोइन काठमाडौमा विक्री गर्ने उद्देश्यले ल्याई प्रतिवादी मध्येका यूवराजले खरिद गर्ने ग्राहक खोजी वेच्न हिडेका वखत वरामदी मुचुल्का अनुसारनै पक्राउ परेको भनी वयान गरेको पाइन्छ । उक्त वयान आफ्नो नभै प्रहरीलेनै आफू खुसी तयार गरी कुटपिट गरी डर धाक धम्की देखाई सहीछाप गराएको भनी अदालतमा खण्डन गरी वयान गरेतापनि त्यस्को कुनै सवूत प्रमाण यी तीनै जना प्रतिवादीहरुले देखाउन, प्रस्तुत गर्न सकेको अवस्था छैन । यी प्रतिवादीहरुको मिति ०५३।१२।५ गते अनुसन्धान अधिकारी समक्ष वयान भएकोमा मिति ०५३।१२।७ मा हिरासतमा राख्न म्याद थपको लागि जिल्ला अदालत समक्ष उपस्थित गराउँदा सरकारी मुद्दा सम्वन्धी ऐन, २०१७ को दफा १५ को उपदफा (३) बमोजिम आफ्नो शरीर जाँचको लागि निवेदन गर्न सकेको समेत देखिदैन ।

२९.   यी प्रतिवादीहरुले लागूऔषध वरामद भएको तथ्यमै इन्कारी वयान गरेको भएपनि प्रतिवादी मध्येका युवराज पोखरेल समेत साथै रहेको अवस्थामा प्र. सुदर्शन कुवरको शरीरवाट विवादित पदार्थ वरामद भएको भनी मिति ०५३।११।२६ को वरामदी मुचुल्कामा उल्लेख भै निज दुवै जना तथा सम्वन्धित वडा नं. ३१ का वडा अध्यक्ष समेत रोहवरमा वसी सहीछाप गरि दिएको देखिन्छ । मुचुल्कामा साक्षी वस्ने मध्येका सुर्यदत्त गौतमले अदालत समक्ष उपस्थित भै के कस्तो चिज वरामद भएको आफूले नदेखेको भनी उल्लेख गराए पनि वारदात मिति समय र स्थानमा नै उक्त कागजमा सहिछाप गरि दिएको तथ्यलाई स्वीकार गरी वकपत्र गरि दिएको दोखिन्छ । यसवाट प्रतिवादीहरुको वयान जिकिर अनुसार निजहरुवाट उक्त पदार्थ बरामद नै नभएको भन्ने देखिन आएन । प्र. युवराजको साथमा रहेकै वखत सुदर्शन कुवरवाट वरामद हुन आएको स्पष्ट हुन आएको छ । यसरी वरामद हुन आएको पदार्थ कानूनबमोजिमकै हो भनी प्रतिवादीहरुको जिकिर वा निजहरुकातर्फवाट कुनै सवूत प्रमाण पेश हुन सकेको अवस्था छैन । लागूऔषध ( नियन्त्रण) ऐन, २०३३ को दफा १२ अनुसार कुनै व्यक्तिका साथमा कुनै लागूऔषध भएको फेला परेमा” ............. त्यस्तो पदार्थ निजको यो ऐन र यस ऐन अन्तर्गत वनेको नियम वा जारी भएको आदेश बमोजिम प्राप्त गरेको वा राखेको हो भन्ने कुराको प्रमाण निजलेनै पेश गर्नुपर्ने हुन्छ त्यस्तो प्रमाणित गर्ने वा जिकिर समेत लिएको  देखिदैन ।

३०.   यी प्रतिवादीहरुलाई शुरु जिल्ला अदालतवाट लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा १४ उपदफा १ को खण्ड (छ) को देहाय ३ को आधारमा दफा १७. क बमोजिम सजाय गरिएको देखिन्छ । उल्लिखित दफा १७.क मा लागूऔषध वाहेकको अन्य कुनै पदार्थलाई लागूऔषध भन्ने विश्वासमा पारी त्यस्तो कारोवार वेचविखन, निकासी पैठारी, सन्चय, उत्पादन समेतको कार्य गर्ने व्यक्ति वा गिरोहलाई सो अपराध गरे वापत हुने सजायँको आधा सजायँ हुनेछभन्ने उल्लेख भएको पाइन्छ । प्रतिवादी सुदर्शन कुंवरवाट मिति ०५३।११।२६ मा वरामद भएको लागूऔषध हेरोइन भनिएको पाउडर वैज्ञानिक परीक्षण गर्दा प्राप्त नमुना लागूऔषध होइन भन्ने प्रतिवेदन प्राप्त भएको मिसिल संलग्न परीक्षण प्रतिवेदनबाट देखिन्छ । यसरी प्राप्त नमूना परीक्षणबाट लागूऔषध नदेखिएको र प्रतिवादीहरुले लागूऔषध हो भनी विश्वासमा पारेको भन्ने तथ्य मिसिलवाट नदेखिएको भन्ने आधारमा नै पुनरावेदन अदालतवाट प्रतिवादीहरुलाई सफाइ दिएको पाइयो । सो वरामदी पदार्थ लागुपदार्थ नदेखिन आएको हुंदा नै दफा १७ क.बमोजिम सजायँ गरिनु पर्ने भन्ने वादी श्री ५ को सरकारतर्फवाट उपस्थित विद्वान सहन्यायाधिवक्ताको एवं उक्त दफा १७क बमोजिम सजाय गर्न लागूऔषध होइन भनी थाहा पाउँदा पाउँदै लागूऔषध हो भनी विक्री वितरण गरेको अवस्थामा हुनुपर्ने जिकिर प्रतिवादी पक्षका कानून व्यवसायीले लिनु भएको देखिन्छ । लागूऔषधको हरेक प्रकारको कारोवार र विक्रि वितरणलाई अति संवेदनशिल विषय मानेर नै दफा १७.क लाई तेस्रो संशोधनद्वारा थप गरिएको भन्ने उक्त दफाको वनावटवाट देखिन आउँछ । अर्थात लागूऔषध नभए पनि गैर लागुपदार्थलाई समेत लागुपदार्थको रुपवाट कारोवार गर्ने काइलाई समेत कसूर मानि सजायको व्यवस्था गरिएको देखिन्छ । कारोवार गर्ने व्यक्तिलाई विवादित पदार्थ लागूऔषध हो भन्ने जानकारी हुनु वा नहुनुले कारोवारको परिणामलाई असर पार्ने हुदैन । दफा १७क मा उल्लिखित लागूऔषध भन्ने विश्वासमा पारीभन्ने व्याक्याशंले कारोवारकर्तालाई लागुपदार्थ हो भन्ने जानकारी भएको हुनु पर्छ भन्ने अर्थ गर्न मिल्ने देखिदैन अपितु उक्त वाक्याँशले खरीदकर्तालाई लागुपदार्थ हो भन्ने विश्वासमा पारिएकोतर्फ ईंगित गरिएको भन्नु पर्ने हुन्छ । समग्रमा दफा १७ क ले लागुपदार्थको नाममा वा रुपमा हुने गैर लागुपदार्थको कारोवारलाई समेत सजाय योग्य कार्य भनी तोकेको सम्म देखिन्छ, कारोवार कर्तालाई लागुपदार्थ हो भन्ने थाहा भएको अवस्था हुनै पर्ने भन्न मिल्दैन । यसै  सन्दर्भमा, प्रस्तुत मुद्दामा यी प्रतिवादीहरु वीच लागुपदार्थ कारोवार गर्ने सम्वन्धमा नै सल्लाह भै लागुपदार्थकै रुपमा विवादित पदार्थ खरीद भै काठमाडौ ल्याई पुर्‍याएको र लागुपदार्थकै रुपमा विक्रि गर्न भनी हिडेको अवस्थामा वरामद र पक्राउ भएको अवस्था छ । विधिविज्ञान प्रयोगशालाको प्रतिवेदन आउनुपूर्वका सम्पूर्ण अनुसन्धान प्रक्रिया लागूऔषधकै रुपमा भै प्रतिवादीहरुकै अनुसन्धान अधिकारी समक्षको वयान पनि लागुपदार्थ हेरोइनको प्रसंगमा नै भएको देखिन्छ । विधिविज्ञान प्रयोगशालावाट प्रतिवेदन प्राप्त भएपछि मात्र अभियोग पत्रमा यी प्रतिवादीलाई लागूऔषध वाहेकको पदार्थलाई लागूऔषध भनी विश्वासमा पारी विक्री गर्न हिडेको भन्ने अभियोग लगाइएको पाइन्छ । यस अवस्थामा माथि उल्लेख भएबमोजिम लागुपदार्थको कारोवार गर्ने प्रतिवादीहरुलाई लागुपदार्थ हो भन्ने थाहा भए नभएको कुराले उल्लिखित १७ क नं.बमोजिमको कसूरमा कुनै अन्तर आउने देखिदैन । प्रतिवादीतर्फवाट रहनु भएका विद्वान अधिवक्ताले यस अदालतको फौ.पु.नं. १६०० को अरुण कुमार शर्मा, विरुद्ध श्री ५ को सरकार भएको लागूऔषध मुद्दामा भएको फैसलालाई नजीरको रुपमा प्रस्तुत गर्नु भएको देखिन्छ । सोही फैसलालाई नजीरको रुपमा ग्रहण गरी रायबाझी फैसला भएको कृष्ण नारायण सिंह समेत विरुद्ध श्री ५ को सरकार भएको संवत २०६० सालको फौ.पु.ई.नं. ३, , ५ को लागूऔषध मुद्दामा यस अदालत पूर्ण इजलासवाट कुनै पदार्थलाई लागुपदार्थ हो भन्ने विश्वासमा पारी कारोवार गरेको अवस्थामा अनुसन्धानको क्रममा वरामद भएको पदार्थ लागूऔषध नभई अन्य कुनै पदार्थ भएको खुल्न आएमा अभियोग पत्रमा नै ऐनको दफा १७.क को मागदावी लिन सकिने अवस्था रहने दफा १७ क अनुसार सजाय हुन नसक्ने भन्ने देखिन नआउने भनी स्पष्ट नजीर प्रतिपादन भएको पाइन्छ भने सोही फैसलाले उक्त २०५४ सालको फौ.पु.नं. १६०० मिति ०५७।५।५ मा प्रतिपादित सिद्धान्तसंग सहमत हुन नसकिने भनी निर्णय वोलिएको अवस्था हुंदा समेत विद्वान कानून व्यवसायीद्वारा प्रस्तुत उक्त नजिर आकर्षित हुन सक्ने देखिन आएन ।

३१.   तसर्थ माथि उल्लेखित आधार प्रमाणवाट प्रतिवादी मध्येका सुदर्शन कुवरलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा १७क बमोजिम दफा १४(१) को खण्ड (छ)३ अनुसार हुने सजायको आधा अर्थात ७ १/२ वर्ष (साढे सात वर्ष) कैद र २१/२ अढाई लाख) जरिवाना गर्ने र प्रतिवादीहरु युवराज पोखरेल र हरि महरालाई उक्त ऐनको दफा १७ बमोजिम दफा १७ क विपरीतको कसूरमा मतियार भए वापत सो दफा बमोजिम हुने सजायको आधा अर्थात जनही ३ वर्ष ९ महिना कैद र रु १,२५,०००। (एकलाख पच्चीस हजार) जरिवाना हुने गरो शुरु काठमाडौ जिल्ला अदालतको फैसला मुनासिव देखिंदा सदर हुने ठहर्छ  उक्त फैसला उल्टी गरी प्रतिवादीहरुलाई दावीको कसूरवाट सफाइ दिने गरेको पुनरावेदन अदालत पाटनको मिति २०५५।१२।२३ को फैसला उल्टी हुन्छ । अन्य कुराका हकमा तपसिलबमोजिम गर्नु

 

तपसिल

 

माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम प्रतिवादीहरुलाई कैद र जरीवानाको सजाय गर्ने गरेको शुरु अदालतको फैसला सदर भै सो बमोजिम सजाय गर्ने गरेको शुरु फैसला उल्टी गरी प्रतिवादीहरुलाई सफाइ दिने गरेको पुनरावेदन अदालतको फैसला उल्टी भएको हुंदा शुरुबाट प्रतिवादीहरुका हकमा राखेको सजायको लगत कट्टा गर्नु भनी पुनरावेदन अदालत पाटनको मिति ०५८।८।१९ को पत्रसाथ लेखि पठाइएको देखिंदा उक्त पत्रानुसार गर्नु परेन । अव देहाय बमोजिम सजायको लगत राखी कानूनबमोजिम असुल उपर गर्नु भनी काठमाडौ जिल्ला अदालतमा लेखि  पठाउनु ........ १

प्रतिवादी सुदर्शन कुंवरके लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा १७ क बमोजिम ७१/१( साँढे सात वर्ष) कैद र २१/२ (अढाई लाख) जरिवाना हुनेमा पुर्पक्षको लागि थुनामा वसी सकेको अवधि कट्टा गरी वाँकी कैद र जरीवाना कानूनबमोजिम असुल उपर  गर्नु .......२

प्रतिवादी युवराज पोखरेलके, लागूऔषध ( नियन्त्रण) ऐन, २०३३ को दफा १७ बमोजिम ३ वर्ष ९ महिना कैद र रु १,२५,०००। जरीवाना हुनेमा निज मुद्दा पुर्पक्षको लागि थुनामा वसी सकेको अवधि कट्टा गरी वाँकी कैद तथा जरीवानाको लगत राखी कानून बमोजिम असूल उपर गर्नु ....३

प्रतिवादी हरि महराके, लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १७   बमोजिम ३ वर्ष ९ महिना कैद र रु१,२५,०००। जरीवाना हुनेमा पुर्पक्षको लागि वसिसकेको अवधि कट्टा गरी वाँकी कैद र जरीवानाको लगत राखी कानूनबमोजिम असूल उपर गर्नु ...........४

 

उक्त रायमा सहमत छु ।

 

न्या.शारदाप्रसाद पण्डित

इजलास अधिकृत :रितेन्द्र थापा

 

इति सम्वत् २०६१ साल जेष्ठ १४ गते रोज ५ शुभम्...........................

           

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु