शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७१२४ - कर्तव्य ज्यान

भाग: ४४ साल: २०५९ महिना: कार्तिक अंक:

निर्णय न.७१२४ ने.का.प.२०५९ अङ्क ७.८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल

माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी

सम्बत् २०५५ सालको फौ.पु.नं. ..१८८६

सम्बत् २०५५ सालको फौ.पु.नं. ..१८८७

सम्बत् २०५५ सालको फौ.पु.नं. ..१८८८

सम्बत् २०५५ सालको फौ.पु.नं. ...१९४७

फैसला मितिः २०५८।८।२८।५

 

मुद्दाः कर्तव्य ज्यान ।

 

पुनरावेदक

प्रतिवादीः सल्यान जिल्ला थारमाटे गा.वि.स. वा.नं. ५ घर भई हाल कारागार शाखा सल्यानमा   थुनामा रहेका वर्ष २२ को टेकवहादुर डांगी समेत

विरुद्ध

बिपक्षी

वादीः  लिलावति खत्रीको जाहेरिले श्री ५ को सरकार    

 

पुनरावेदक

प्रतिवादीः सल्यान जिल्ला थारमाटे गा.वि.स. वा.नं. ४ घर भई हाल कारागार शाखा सल्यानमा   थुनामा रहेका बर्ष २१ को तेजवहादुर भण्डारी समेत

विरुद्ध

बिपक्षी

वादीः लिलालती खत्रीको जाहेरिले श्री ५ को सरकार    

 

पुनरावेदक

प्रतिवादीः सल्यान जिल्ला थारमाटे गा.वि.स.वा.नं. ४ घर भई हाल कारागार शाखा सल्यानमा     थुनामा रहेको वर्ष १९ को जनकवहादुर भण्डारी     

विरुद्ध

बिपक्षी

वादीः  लिलावती खत्रिको जाहेरिले श्री ५ को सरकार      

                                                                                                                         

पुनरावेदक

वादीः  लिलावति खत्रीको जाहेरिले श्री ५ को सरकार    

विरुद्ध

प्रत्यर्थी

प्रतिवादीः जि.सल्यान थारमाटे गा.वि.स.वा.नं. ४ वस्ने लिलाबहादुर के.सी समेत         

 

§  प्रतिवादीको प्रहरीमा भएको साविती वयान,लास जांच प्रतिवेदन र मिसिल संलग्न अन्य प्रमाणहरु समेतबाट यी प्रतिवादीहरुले नै धारिलो हतियारले चोट प्रहार गरी मृतकलाई मारेको हो भन्ने कुराको समर्थन र पुष्टि गरेको अवस्थामा केवल अदालतमा नीजहरुले गरेको इन्कार वयानलाई मात्र अभियोगवाट सफाइ दिने आधारको रूपमा हेर्न नमिल्ने।

§  प्रतिवादीहरुको मार्ने मनसाय नभएको भए अपराधिक कार्य (Actusreas ) हुंदाका वखत मृतकलाई वचाउने उद्देश्य राखी कुनै कार्य भए गरेको हुन पर्ने सो कहीं देखिंदैन । वेहोस भैसकेको मृतकलाइ यी प्रतिवादीहरुले घटनास्थलसम्म मृतकलाई ल्याई ढुंगामा राख्ने सम्मको कार्य गरेको पाइन्छ । मृतकलाई मार्ने कार्यमा हामीले धारिलो चोट छोडेको र वांधछांद गरेको छैन भन्ने मनाइका आधारमा मात्र ज्यान सम्वन्धीको १३(४) नं. को आरोपवाट उन्मुक्ति पाउने अवस्था नरहने।

§  लाठीको प्रहारले घाइते भएको मानिसलाई समाई ल्याई ढुंगामा राखी खुकुरी र कटारी झिकी हान्न लाग्दा ज्यान मर्छ भन्ने परिणामको पूर्वज्ञान समेत यी प्रतिवादीहरुलाई थाहा भएको अवस्थामा यी प्रतिवादीहरु अपराधिक कार्यमा पसेको छैन भनि भन्न सक्ने अवस्था नरहने।

§  नरबली दिएमा चांदीको खपटा पाइन्छ भन्ने प्रलोभनमा पसेको तथ्य स्थापित हुंदा ज्यान मार्ने मतसल्लाहमा पसेकै थिएनन भनि पुनरावेदन अदालत तुल्सीपुरले ज्यान सम्वन्धी २२ नं. को कसुर ठहर्‍याएको इन्साफ मिलेको नदेखिने।

(प्र.नं. ४२ र ४३)

§  अ.वं. १८८ नं. को व्यवस्था वमोजिम घटी सजाय गर्न भवितव्य हो कि भन्ने सम्म शंकाको अवस्था वा अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐन बमोजिमको सजाय दिंदा चर्को हुने भै घटी सजाय हुनु पर्ने स्थितिको विद्यमानता हुन आवश्यक हुन्छ । मानिसको ज्यान लिने जस्तो जघन्य अपराधमा सरिक भै ज्यान मार्ने यी प्रतिवादीहरुलाई कानूनले तोकेको सजाय घटाउनु घटनाको स्थिति र कानूनको रोहमा समेत उचित नहुने हुंदा यी प्रतिवादीहरुको हकमा सजाय घटाई पाउं भन्ने रायसंग सहमत हुन नसकिने।

(प्र.नं. ४६)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरु श्री आशिष अधिकारी, श्री सुदिप गौतम, श्री राम प्रसाद अर्याल, श्री एकराज भण्डारी, श्री खिमलाल देवकोटा, श्री लिलामणी पौडेल

विपक्षी वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री केदार पौडेल

अवलम्वित नजिरः

 

फैसला

            न्या.मीनबहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) ले यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :¬–

            २.    तेजवहादुर भण्डारी,जनकवहादुर भण्डारी, टेकवहादुर डांगी, लिलावहादुर खत्री, दिलवहादुर खत्री, प्रकाश के.सी. समेत ६ जनाले मिति २०५३।३।११ गते देखि नै खोजी गरी शिवलाल के.सी. लाई मारी फ्ंयाकेको अवस्थामा फेला पारें । निज अन्यायवालासंग पूर्वरिसइवि पनि भएको र मेरो छोरालाई मार्ने निजहरुनै भएकाले अन्यायवालाहरुलाई पक्राउ गरी कानून वमोजिम सजाय गरी पाउं भन्ने लिलावती खत्रीको जाहेरी दरखास्त ।

            ३.    पूर्व आग्रेखोला, पश्चिम आग्रेखोला र भुपाल के.सी. को आवादी खेत, उत्तर भिरालो पाखो, दक्षिण भिरकान्ला यति चार किल्ला भित्रमा मृतकको लास रहेको लास नजिकै रहेको ढुंगामा रगतको पोखरी परी जमेको देखिएको, ढुंगा माथि मृतकको हाडको टुक्रा र कपाल रहेको, ढुंगामा २ इन्च लामा २ टुक्रा वत्ती जस्तो वटुवा धागोको टुक्रा रहेको र लास नजिकै लठृी चप्पल फेला परेको भन्ने घटनास्थल प्रकृति मुचुल्का ।

            ४.    मृतकको शरीरमा विभिन्न ठाउंमा धारिलो हतियारले काटेको भन्ने लास मुचुल्का ।

            ५.    शरीरको सम्वेदनशील अङ्गमा काटिएको कारणले अत्यधिक रक्तश्राव समेत भएर मृत्यु भएको भन्ने लास जांच प्रतिवेदन ।

            ६.    वारदातको दिन मृतकलाई घरवाट वोलाई ल्याई रुपैंया भेटिन्छ भनेको ठाउंतर्फ जान लाग्दा वाटैमा मृतकले आफ्नो खेतमा पानी जाने कुलोवाट पानीफुटेको देखि फुटेको ठाउं वुझ्न घोप्टो पर्दा दिलवहादुरले हातमा लिएको लाठीले टाउकोमा प्रहार गर्दा मृतक कुलैमा लडेपछि निजको हातमा भएको लाठीले मृतकलाई प्रहार गर्दा निज वेहोस भएपछि सवैजना भै हात खुटृामा समाती लास रहेको स्थानमा लगि ढुंगामा राखी दिलवहादुरले टोपी झिकी पासमा रहेको धागोको ध्वजा वटारी साथमा लगेको खुकुरीले गर्धनमा प्रहार गरेको, तेजवहादुर भण्डारीले कटारीले टाउको कान, कुम गाला, ओठ समेतमा प्रहार गरी मारी मृतकलाई ढुंगा देखि तल फ्यांकेको हो भन्ने समेत प्रतिवादी टेकवहादुर डांगीको प्रहरीमा भएको वयान ।

            ७.    वारदातको दिन मृतकलाई मार्ने सल्लाह भई दिलवहादुरले मृतकले कुलो वुझ्न लाग्दा हानेपछि रामवहादुर खत्रीले पेटमा लाठीले हाने मैले मृतककै हातको लाठी खोसी प्रहार गरे। मृतक वेहोस भएपछि हात खुटृा समाती ढुंगामा राखी र दिलवहादुर खत्रीले खुकुरीले प्रहार गरे र मैले कान, गाला, ओठ टाउको समेतमा कटारीले प्रहार गरेको भन्ने समेत व्यहोराको प्र. तेजवहादुर भण्डारीको प्रहरीमा भएको वयान ।

८.    हामी समेत भई मृतकलाई मारेको हो भन्ने प्रतिवादीहरु लिलावहादुर खत्री, जनकवहादुर भण्डारी, दिलवहादुर खत्री, प्रकाश के.सी समेतको एकै मिलानको प्रहरीमा गरेको वयान।

            ९.    मेरो वावु दिलवहादुर खत्री र मृतकका परिवारसंग पहिले देखि कुलो पानीको वारेमा झगडा हुने गरेको र हाल मृतकले मकै खुवाएको वारेमा मृतक र मेरो वावुको कुरा भै रु २००।दिउंला भनेको थियो पछि नदिंदा रिसइवि रहेको थियो । मृतकलाई को कसले मारे थाहा छैन मैले निजलाई मार्नु पर्ने सम्मको कारण पनि केही छैन भन्ने समेत प्रतिवादी रामवहादुरले प्रहरीमा गरेको वयान कागज ।

            १०.    मृतकलाई दिलवहादुरले हातमा लिएको दाउराले प्रहार गर्दा मृतक कुलैमा लडे । रामवहादुरले लाठीले पेटमा हाने मैले निजहरुको डरले केहीगर्न पनि सकिन चुपचाप लागि हेरी रहें भन्ने प्रतिवादी लिलावहादुर के.सी. ले प्रहरीमा गरेको वयान ।

            ११.    पेन्ट वरामद गरेको मिति २०५३।२।४ को वरामदी मुचुल्का ।

            १२.   दिलवहादुर खत्रीको घरवाट रगत लागेको खुकुरी र रगत जस्तो दाग लागेको भोटो समेत वरामद भएको वरामदी मुचुल्का मिसिल सामेल रहेको ।

            १३.   जनकवहादुर भण्डारीको घरवाट कालो विडभएको कटारी, सर्ट जुत्ता वरामद भएको वरामदी मुचुल्का ।

            १४.   मृतक शिवलाललाई कर्तव्य गरी मारेका हुन को कसले कर्तव्य गरी मारे मलाई थाहा छैन पहिला प्रतिवादी र जाहेरवाली वीच घरायसी झगडा थियो भन्ने सुनेका हौं भन्ने किरण राज डि.सी. समेतले गरेको कागज ।

            १५.   मिति २०५३।३।१२ गते दिलवहादुरको घटृ नजिक रहेको रिठाको रुख नजिक दिलवहादुर , प्रकाश के.सी., तेजवहादुर भण्डारी कुरा गरीराखेको मैले देखेकी थिएं । दाजुलाई कर्तव्य गरी मार्ने दिलवहादुर , तेजवहादुर भण्डारी, जनकवहादुर भण्डारी, लिलावहादुर, टेकवहादुर डांगी, प्रकाश के.सी., लिलावहादुर के.सी. रामवहादुर खत्री समेत हुन् । दाजुलाई कर्तव्य गरी मार्न लगाउने नेत्रलाल भण्डारी हुन् भन्ने छवि कुमारी के.सी. र सोही मिलान व्यहोराको मृतककी श्रीमती नन्द कुमारी के.सी. को प्रहरीमा भएको कागज ।

            १६.    मेरो छोरालाई मार्ने मराउने मुख्यमा नेत्रलाल नै हुन मैले जाहेरी लेखाउंदा छोराको मृत्यु भएको कारण होस ठेगाना नभै जाहेरीमा लेखाउन छुट हुन गएको हो , निजलाई समेत पक्राउ गरी कारवाही गरी पाउं भन्ने जाहेरवाली लिलावती खत्रीको प्रहरीमा भएको कागज ।

            १७.   मेरो श्रीमतीलाई काका नेत्रलालले हाडनाता करणी गरेको भन्ने कुरा थाहा पाई छलफल हुंदा कस्ले देख्यो भनि कुरा हुंदा देख्ने कोही पनि ठहर नभएको तेजवहादुर भण्डारीले देखेको भनि शिवलाल के.सी. ले भनेका थिए मृतकलाई मार्ने मराउने को हुन् मलाई थाहा छैन भन्ने खुमवहादुरले प्रहरीमा गरेको कागज ।

            १८.   जाहेरवाला र मृतकसंग पहिला देखिनै मेल मिलाप नभई वोलचाल पनि थिएन मृतकलाई मार्न मराउनमा मेरो कुनै मिलोमतो र संलग्नता थिएन छैन को को भै मारे थाहा छैन भन्ने समेत नेत्रलाल भण्डारीले प्रहरीमा गरेको वयान ।

            १९.    छोरा शिवलाल खत्रीलाई मार्ने मराउनेमा नेत्रलाल भण्डारीको सकृयतावाट तेजवहादुर भण्डारी समेतको मिलोमतोवाट कर्तव्यवाट मृत्यु भएको हो भन्ने समेत मृतकका वावु रविलाल खत्रीले प्रहरीमा गरेको वयान ।

            २०.   शिवलालको मृत्यु नेत्र लाल भण्डारी समेतको कर्तव्यले भएको हुनुपर्छ भन्ने चकवहादुर भण्डारीले प्रहरीमा गरेको कागज ।

            २१.   संकलित सवुद प्रमाणहरुवाट प्रतिवादीहरुले मुलुकी ऐन ज्यान सम्वन्धी महलको १ नं. विपरीत कसूर गरेको हुंदा निज प्रतिवादीहरु मध्ये प्र. दिलवहादुर खत्री र तेजवहादुर भण्डारीले खुकुरीकटारी जोखिमी हतियारले मृतक शिवलाल के.सी. को शरीरको अत्यन्त सम्वेदनशिल अंगमा हानी काटी घोची मारेको हुंदा ज्यान सम्वन्धीको १३(१) नं. वमोजिम सजाय गरीपाउं र प्र. टेकवहादुर डांगी, जनकवहादुर भण्डारी, लिलावहादुर खत्री, प्रकाश के.सी. रामवहादुर खत्री, लिलावहादुर के.सी. समेत जना ६ ले वारदात स्थलमा उपस्थित भई मृतकलाई हात खुटृा समाती ल्याई मार्नमा संयोग पारी दिएका र प्रतिवादी मध्येका नेत्रलाल भण्डारीले मृतकलाई मार्न वचन दिएको हुंदा निज समेतलाई ज्यान सम्वन्धीको १३(४) नं. वमोजिम सजाय गरीपाउं भन्ने समेतको मागदावी लिई वादी श्री ५ को सरकारको तर्फवाट दायर हुन आएको अभियोग ।

            २२.   मिति २०५३।३।१२ गते आफ्नै रिठावोट भन्ने घटृमा वासवसेको हुं । सो रात कसैसंगभेट भएको छैन । टेकवहादुर समेत मिली मृतकलाई कर्तव्य गरी मारेको होइन । जाहेरवालीसंग घासपात काट्ने विषयमा झै झगडा थियो सोही रिसइविले मलाई कर्तव्य गरी मारेको भनि जाहेरी दिएकी हुन अभियोग दावीवाट सफाई पाउं भन्ने प्र. दिलवहादुर खत्री, टेकवहादुर डांगी, लिलावहादुर खत्री, तेजवहादुर भण्डारीको एकै मिलान व्यहोराको अदालतमा गरेको वयान ।

            २३.   मृतक शिवलाल के.सी. लाई मैले कर्तव्य गरी मारेको नहुंदा अभियोग दावीवाट फुर्सद गरी पाउं भन्ने प्रकाश के.सी. ले अदालतमा गरेको वयान ।

            २४.   २०५३ साल आषाढ १२ गते म मेरो भिनाजु थारमारे वडा नं. ५ वस्ने दलवहादुर डांगीको घरमा गै दिनभरी मकै गोडी निजकै घरमा सुतेको छुं । ऐ. १३ गते विहान शिवलाललाई काटी मारी फालेछन् भन्ने कुरा सुनेको हुं मृतकलाई मैले कर्तव्य गरी मारेको छैन त्यसैले अभियोगवाट सफाई पाउं भन्ने प्र. लिलावहादुर के.सी. र सोही मिलानको जनकवहादुर भण्डारीले अदालतमा गरेको वयान ।

            २५.   २०५३।३।१२ गते दिन रात म मेरो घरमा छु । १३ गते थारमारेमा मानिस मरेको छ भनि सुनेको हुं । जाहेरवालासंग घांसपात काट्ने सम्वन्धमा भनसुन थियो । सोही इविले मलाई भनेका हुन खपटा रुपैया सम्वन्धमा मलाई थाहा छैन भन्ने रामवहादुर खत्री, नेत्रलाल भण्डारीले अदालतमा गरेको वयान ।

            २६.   वादी पक्षका साक्षी नन्न कुमारी के.सी., छवि कुमारी के.सी., चक्रवहादुर भण्डारी, किरणराज डि.सी., जाहेरवाला लिलावती खत्री , रविराज खत्री तथा प्रतिवादीका साक्षी रामवहादुर खत्री, निमवहादुर डांगी भद्रकाली डांगी, दलवहादुर डांगी, झुपलाल खत्री, पहलमान डांगी, रुद्रविर डांगी, दिलवहादुर डांगी, तेजवहादुर भण्डारी, झग्गुप्रसाद डांगीले गरेको वकपत्र मिसिल सामेल रहेको।

            २७.   वरामती मुचुल्कामा वस्ने नेत्रवहादुर भण्डारी, घटनास्थल तथा लास प्रकृति मुचुल्कामा वस्ने हेमराज के.सी., वलवहादुर खत्री, दुर्गाप्रसाद खत्री, धनवहादुर खत्रीले गरेको वकपत्र मिसिल संलग्न रहेको ।

            २८.   मृतकलाई खुकुरी कटारीले काटी घोची मार्ने प्र. दिलवहादुर खत्री, प्र. तेजवहादुर भण्डारीलाई ज्यान सम्वन्धी महलको १३(१) नं. वमोजिम सर्वस्व सहित जन्मकैद र प्र. जनकवहादुर भण्डारी, प्र. लिलावहादुर खत्री, प्र. टेकवहादुर डांगीले मृतकलाई वोकी घटनास्थलसम्म पुर्‍याई मार्नलाइ संयोग पारी दिएकाले ज्यान सम्वन्धी महलको १३(४) नं. वमोजिम जन्मकैद हुने , प्र. लिलावहादुर के.सी. मार्ने मतसल्लाहसंग साथमा गएको भएको भनि पोलावट भएपनि अन्य प्रमाणवाट सो कुरा समर्थित हुन नआएकोले वारदात हुंदाको अवस्थामा वारदात स्थलमा उपस्थिती रही केही नगरी चुपचाप हेरी रहेको सम्म देखिएको हुंदा निजको हकमा अभियोग दावी वमोजिम सजाय गर्न नमिली ज्यान सम्वन्धी महलको १७(३) नं. वमोजिम ६ महिना कैद हुने ठहर्छ । प्रतिवादीहरु रामवहादुर खत्री, प्रकाश के.सी, र नेत्रलाल भण्डारीको हकमा निजहरुले कसुर गरेको भन्ने कुनै ठोस सवुद प्रमाण वदी पक्षवाट पेश हुन नसकेको हुंदा ज्यान जस्तो गंभीर अपराधमा विना ठोस प्रमाण कसुरदार ठहर्‍याउन न्यायोचित नहुंदा निजहरु उपरको अभियोग दावी प्रमाणित हुन नसकी अभियोग दावीवाट सफाई पाउने ठहर्छ भन्ने शुरु सल्यान जिल्ला अदालतको मिति २०५४।४।२७ को फैसला ।

            २९.   मेरो वारदात स्थलमा उपस्थिती थियो भनी कसैले भन्न नसकेको, प्रहरीमा भएको कथित सावितिलाई आधार मानी मलाई कसुरदार ठहर्‍याई गरिएको फैसलामा गंभीर त्रुटि भएकोले शुरु जिल्ला अदालतको फैसला वदर गरी आरोपित कसुरवाट सफाई दिलाई पाउं भन्ने समेतको प्र. लिलावहादुर के.सी. ले पुनरावेदन अदालतमा गरेको पुनरावेदन ।

            ३०.   शुरु सल्यान जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएकोले उक्त फैसला वदर गरी आरोपित कसुरवाट सफाई दिलाई पाउं भन्ने समेत व्यहोराको टेकवहादुर डांगी , तेजवहादुर भण्डारी, लिलावहादुर खत्री, जनकवहादुर भण्डारी र दिलवहादुर खत्री समेतको तर्फवाट पुनरावेदन अदालतमा परेको पुनरावेदन ।

            ३१.   प्र. लिलावहादुर के.सी. को हकमा आकृष्ट हुन नसक्ने ज्यान सम्वन्धीको १७(३) नं. अनुसारको अपराध कायम गरी सोहीनं. अनुसार गर्ने गरेको ६ महिना कैदको सजाय गरेको पर्याप्त नहुनुका साथै अन्य प्रतिवादीहरु रामवहादुर खत्री, प्रकाश के.सी. र नेत्र लाल भण्डारी समेतलाई आरोपित कसुरवाट सफाई दिने गरी शुरु सल्यान जिल्ला अदालतले गरेको फैसला कानूनसंगत नभएको देखिएकोले सो हदसम्म सो फैसला वदरभई प्रस्तुत पुनरावेदन जिकिर एवं शुरु अभियोग मागदावी अनुसार निज प्रतिवादीहरुलाई सजाय गरी पाउं भन्ने समेतको जिकिर लिई वादी श्री ५ को सरकारको तर्फवाट पु.वे.अ. मा दायर भएको पुनरावेदन ।

            ३२.   यसमा कसुरदार ठहरेका प्र. तेजवहादुर भण्डारी, प्र. टेकवहादुर डांगी समेतले अधिकार प्राप्त अधिकारी समक्ष सफाई पाएका प्र. प्रकाश के.सी. रामवहादुर खत्री समेतका सवै जनाले मृतकको हातखुटृा समाती लगेको र मार्ने सल्लाहमा प्र. रामवहादुर समेत रहेको भनि कागज गरी दिएको अवस्थामा प्र. प्रकाश के.सी. र प्र. रामवहादुरलाई सफाई दिएको शुरुको फैसला नमिली फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. र पुनरावेदन अदालत नियमावली, २०४८ को निमय ४७, ४८ वमोजिम लगाउको स.फौ.नं. ११५ र ११९ को मुद्दामा पुनरावेदन सरकारी वकिललाई छलफलको लागि पेशीको जानकारी दिने र छलफलमा प्रत्यर्थी प्रतिवादीहरुलाई झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

            ३३.   प्र. दिलवहादुर खत्री र तेजवहादुर भण्डारीलाई सर्वस्व सहित जन्मकैद गर्ने गरेको, प्रतिवादी मध्येका टेकवहादुर डांगी, लिलावहादुर खत्री र जनकवहादुर भण्डारीले मृतकलाई मार्नका निमित्त मतसल्लाहमा पसि संयोग पारी दिएको हुनाले तिनैजना प्रतिवादीहरुलाई ज्यान सम्वन्धी महलको १३(४) नं. वमोजिम जनही जन्मकैद हुने ठहर्‍याएको तथा प्रतिवादी मध्येका नेत्र लाल भण्डारी, रामवहादुर खत्री र प्रकाश के.सी. ले आरोपित कसुर गरेको भन्ने कुराको तथ्ययुक्त ठोस सवुद प्रमाण गुर्जान नआएकोले निज प्र.हरुलाई अभियोगवाट सफाई दिने गरेको हदसम्म शुरु जिल्ला अदालतको फैसला मिलेकै देखिंदा सो हदसम्म मनासिव ठहर्छ । प्र. लिलावहादुर के.सी.लाई ऐ. महलको २५ नं. ले रु २०।जरिवाना हुने ठहर्छ । सो वमोजिम नगरी निजलाई ज्यान सम्वन्धी महलकै १७(३) नं.को कसुर गरेको ठहर्‍याई कैद महिना ६ गर्ने गरेको हदसम्म शुरुको फैसला मिलेको नदेखिंदा केही उल्टी हुन्छ । वादी प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्र. टेकवहादुर डांगी र लिलावहादुर खत्रीलाई उपरोक्त वमोजिम ज्यान सम्वन्धी महलको १३(४) नं. वमोजिम जनही जन्मकैद हुने ठहर भएपनि निज प्र. हरुको मृतकलाई मार्नु पर्ने सम्मको कुनै पूर्व रिसइवि नभएको निजहरुको कलिलो उमेर अपराध गरेको अवस्था समेतलाई विचार गर्दा उक्त वमोजिम जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने देखिएकोले निज दुवैजना प्र.हरुलाई जनही कैद वर्ष १० गर्न मनासिव देखि अ.वं. १८८ नं. वमोजिम छुट्टै राय समेत जाहेर गरिएको छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत दाङको फैसला ।

            ३४.   मिसिल संलग्न सवुद प्रमाणवाट समेत प्रतिवादीहरुले आरोपित कसुर गरेको स्पष्ट रुपमा स्थापित हुंदा हुंदै पनि अदालतले सो को उपेक्षा गरी मनोगत आधारहरु उल्लेख गरी सोही आधारमा प्रतिवादीहरुलाई आरोपित कसुरवाट सफाई दिई प्र. मध्येका लिलावहादुर के.सी. को हकमा आकृष्ट हुन नसक्ने ज्यान सम्वन्धीको २५ नं. वमोजिम रु २०।जरिवाना गर्ने र प्र. रामवहादुर खत्री , प्रकाश के.सी., नेत्रलाल भण्डारी समेतलाई आरोपित कसुरवाट सफाई दिने गरि गरेको फैसला सो हदसम्म त्रुटिपूर्ण भएकोले सो हदसम्म वदर भई विरुद्ध खण्डमा उल्लेखित प्रतिवादीहरुलाई शुरु अभियोग मागदावी अनुसार सजाय गरी पाउन सम्मानित अदालत समक्ष सादर अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको यस अदालतमा परेको पुनरावेदन ।

            ३५.   यसमा हामीलाई प्रहरीले वाध्य वनाई इच्छा विपरीत गराएको वयानलाई समर्थन गर्ने अन्य कुनै कागज छैन, रिसइविको कारणले हामीलाई पोलेको हो सर्वोच्च अदालतवाट प्रतिपादित २०४५ साल नि.नं. ३४२५ पृ. ७०५ र २०४७ अं. १ नि.नं. ४०६० पृ. ९८ नजिर समेतको विपरीत हामीलाई सजाय गर्ने गरेको मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(४) नं. को शुरु तथा पुनरावेदन अदालतको फैसला उल्टाई कसूरवाट सफाई पाउं भन्ने समेत व्यहोराको प्र. टेकवहादुर डांगी र लिलावहादुर खत्रीले यस अदालतमा गरेको पुनरावेदन ।

            ३६.   प्रहरीमा भएको कागजमा लेखेको कुरा हामीलाई अगाडी नै नदेखाई तयार पारेको कागजमा इच्छा विपरित डर देखाई सही गराएको सम्म हो । हामीलाई जाहेरवालीले सामान्य पूर्व इविको कारण पोलेका हुन । तसर्थ सुरुले हामीलाई ज्यान सम्वन्धी महलको १३(१) नं. वमोजिम कसुरदार ठहर्‍याई सर्वस्व सहित जन्मकैद गर्ने गरेको मिति २०५४।४।२७ को फैसला सदर गरेको पुनरावेदन अदालत तुल्सीपुर दाङको मिति २०५५।३।२५ को फैसला आत्मनिष्ठ अन्यायपूर्ण एवं गैरकानूनी हुंदा वदर गरी झुठृा अभियोगवाट फुर्सद पाउं भन्ने समेत व्यहोराको पुनरावेदक दिलवहादुर खत्री र तेजवहादुर भण्डारीले यस अदालतमा गरेको पुनरावेदन ।

            ३७.   प्रहरीमा मैले गरेको भनेको कागज मेरो स्वेच्छाको कागज हैन । मलाई लगाइएको आरोप स्वतन्त्र प्रमाणहरुवाट समेत समर्थित भैरहेको छैन । जाहेरवालीसंग रिसइविले पोल गरेकी हुन । तसर्थ शुरु तथा पुनरावेदन अदालतले मलाई ज्यान सम्वन्धीको १३(४) नं. वमोजिम हुने गरी गरेको सजाय वदर गरी झुठृा अभियोग दावीवाट फुर्सद पाउं भन्ने समेत व्यहोराको पुनरावेदक जनकवहादुर भण्डारीले यस अदालतमा गरेको पुनरावेदन ।

            ३८.   नियम वमोजिम दैनिक पेशी सूचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न सम्पूर्ण कागजात हेरी वादी श्री ५ को सरकार तथा प्रतिवादीहरुका तर्फवाट पर्न आएको पुनरावेदन समेत हेरियो । पुनरावेदक जनकवहादुर भण्डारीको तर्फवाट उपस्थित विद्धान अधिवक्ता श्री आशिस अधिकारीले प्रस्तुत मुद्दाका जाहेरवालीले प्रहरीको वयानवाट सावित भएको कारण यिनीहरु नै रहेछन भन्ने थाहा भयो भनेवाट जाहेरी शंकाको भरको देखिने, घटनास्थलमा प्रहार गर्दाको अवस्थामा समाउने कार्य भएको भए लठृी प्रहार गरेको भएमात्र ज्यान सम्वन्धी महलको १३(४) नं. आकर्षित हुन सक्ने हो। मृतकलाई यी प्रतिवादीले वोकेर ल्याएको अवस्थासम्म मात्र छ । मृतकको मृत्यु धारिलो हतियारको प्रयोग भै अत्याधिक रक्तस्रावको कारणले भएको भन्ने देखिएको अवस्थामा ज्यान सम्वन्धी महलको देहाय १३(४) नं. को कानूनी व्यवस्था समाएर आरोपित गर्न सक्ने होइन । ज्यान सम्वन्धी महलको १३ (४) को कानूनी व्यवस्थाले मार्ने संयोग पार्नुपर्ने भनेकोमा जनकवहादुर भण्डारीले मार्न संयोग पारेको र हतियार आदीले चोट छाडेको छैन, इन्कारी वयान साक्षीवाट समेत समर्थित भएको अवस्था छ प्रतिवादी जनकवहादुर भण्डारीलाई आरोपित कसुरमा सजाय गरेको मिलेन सफाई पाउनु पर्ने भन्ने र अर्का प्रतिवादी लिलावहादुर खत्रीको तर्फवाट उपस्थित विद्धान अधिवक्ता श्री सुदिप गौतमले लिलावहादुर खत्रीले वारदात हुंदा चोट छोडेको छैन, मेरो पक्षलाई वोलाएर घटनास्थ्लमा लगेको सम्म अवस्था छ । लिलावहादुरले चोट छोडेको भनि न त सहअभियुक्तले भनेका छन न त प्रतिवादीले नै भनेको छ । तसर्थ लिलावहादुर खत्रीलाई १७(४) नं. अनुसार सजाय हुन पर्छ वा सफाई हुन पर्छ भन्ने व्यहोराको बहस गर्नु भयो भने अर्का प्र. दिलवहादुर खत्रीको तर्फवाट उपस्थित विद्धान अधिवक्ता श्री रामप्रसाद अर्यालले प्रतिवादीले मृतकलाई मार्न पर्ने सम्मको इवि थिएन । प्रहरीमा भएको साविति वयान प्रमाण ऐन, २०३१ को दफा ९ वमोजिम पनि पक्षले व्यक्त गरेको कुरा निजले स्वेच्छाले गरेको पुष्टी नभएसम्म प्रमाणमा लिन मिल्दैन तसर्थ सफाई पाउनु पर्छ भन्ने र प्रतिवादी तेजवहादुर , जनकवहादुर, टेकवहादुर र दिलवहादुरको तर्फवाट उपस्थित विद्धान अधिवक्ता श्री एकराज भण्डारीले अधिकार प्राप्त अधिकारी समक्ष भएको साविति वयान अरु प्रमाणवाट पुष्टी भएको छैन । ६ जना पतिवादीहरुले नै मारेको भनि किटानी छैन शंकाको भरमा सजाय भएको छ । प्रतिवादीहरुको मृतकसंग रिसइवि थिएन , वारदातको अवस्थामा प्र. प्रकाश के.सी. र तेजवहादुर एकैसाथ डुलेकोमा प्रकाश के.सी. ले सफाई पाउने र तेजवहादुर भण्डारीलाई ठहर्‍याउने गरेको इन्साफ मिल्दैन । जाहेरी समेत वनावटी रहेको पुष्टी हुन्छ । जाहेरी हेर्दा यी प्रतिवादीहरुलाई मृतकलाई मार्नको लागि वोलाइएको देखिंदैन । जवकि प्र.हरुको वयान समेतवाट गाडेको चांदीको सिक्का लिनको लागि मानिसको वली दिन पर्ने हुंदा योजना वनाई मार्ने सल्लाह गरी वोलाई ल्याई मारेको भन्ने जिकिर छ अन्य साक्षीहरु समेतको भनाई हेर्दा रिसइविवाट भएको भन्ने भनाई छ, प्रहरीमा गरेको साविति एक आपसमा मिल्दैन प्रहरीमा भएको साविति स्वतन्त्र प्रमाणवाट पुष्टी हुन सकेको छैन प्रतिवादीहरुको वारदातमा प्रत्यक्ष संलगनता नभएकोले सफाई पाउन पर्दछ भन्ने र अर्का प्रतिवादी जनकवहादुरको तर्फवाट उपस्थित विद्धान अधिवक्ता श्री खिमलाल देवकोटाले मौकामा वुझाएका व्यक्तिहरु बुझिएको छैन । जाहेरीको श्रृंखला मिलेको छैन । जाहेरीको पहिलो भाग हेर्दा ज्यान सम्वन्धीको दावी रहेको भन्ने देखिन आउंदैन । प्रमाण ऐनको व्यवस्था अनुसार घटना भएको तत्काल अवस्थामा व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ । घटना घटेको १ महिनापछि व्यक्त गरेको कुरा प्रमाणमा लिन मिल्दैन । हतियारको परिक्षण भएको छैन, कपडाको टुक्रामा लागेको भनेको रगतको परिक्षण भएको छैन, अदालत वाहेक अन्यत्र व्यक्त गरेको कुरा स्वतन्त्ररुपमा पुष्टी नभएसम्म प्रमाणमा लिन मिल्दैन त्यसैले सफाई पाउन पर्छ भन्ने र अर्का प्रतिवादी टेकवहादुर डांगीको तर्फवाट उपस्थित विद्धान अधिवक्ता श्री लिलामणी पौडेलले मृतकलाई मार्नमा प्रत्यक्ष सहयोग गरेको भन्ने स्पष्ट रुपले नदेखिएको अवस्थामा ज्यान सम्वन्धी महलको १३(४) नं. अनुसार ठहर गर्न मिल्ने होइन टेकवहादुर डांगीले मृतकलाई मार्नमा संयोग पारिदिने समाई दिने आदी कुनै कार्य गरेका छैनन् सफाई होस भन्ने र वादी श्री ५ को सरकार तर्फवाट उपस्थित विद्धान सहन्यायाधिवक्ता श्री केदार पौडेलले वारदातमा यी सवै प्रतिवादीहरुको अटुट र श्रृंखलावद्ध रुपमा संलग्नता रहेको छ । मृतक शिवलाललाई मार्ने मत सल्लाह गरी प्र. हरुले वोलाई लगी प्रतिवादी मध्येका दिलवहादुरले मृतक कुलोको पानी तर्फ झुकेको बेला लाठीले टाउकोमा हानेको र अर्का प्रतिवादी तेजवहादुर भण्डारीले पनि प्रहार गरी यी मृतक बेहोस भएपछि सवै वांकी प्रतिवादीहरु समेत मिली मृतकलाई समाती उठाई लास रहेको स्थानमा ढुंगामा लगी राखेको र त्यहां दिलवहादुर र तेजवहादुरले खुकुरी र कटारी प्रयोग गरी मारेको अवस्था छ र मृतक मरेपछि लासलाई फाल्नेसम्मको काममा यी प्रतिवादीहरु पसेको पाइएकोले शुरुले सफाई दिने ठहर्‍याएको प्र.हरु समेतलाई र शुरुले माग दावी अनुसार नगरी ज्यान सम्वन्धी महलको १७(३) नं. अनुसार सजाय गरेकोमा पुनरावेदन अदालतले ज्यान सम्वन्धी महलको २२ नं. को कसुर कायम गरी ऐ. को २५ नं. अनुसार सजाय गर्ने गरेको प्र. लिलावहादुर के.सी. को हकमा पनि मागदावी अनुसार सजायहोस् भन्ने वहस सुनियो ।

            ३९.   प्रतिवादी दिलवहादुर खत्री तेजवहादुर भण्डारीको हकमा शुरु तथा पुनरावेदन अदालतले ज्यान सम्वन्धी महलको १३(१) नं. अनुसार सर्वस्व सहित जन्मकैद हुने, प्रतिवादीहरु टेकवहादुर डांगी, लिलावहादुर खत्री र जनकवहादुर भण्डारीलाई शुरु तथा पुनरावेदन अदालतले माग दावी वमोजिम ऐ. को १३(४) नं. अनुसार जन्मकैद गर्ने, प्र. लिलावहादुर के.सी. को हकमा ऐ. १३(४) नं. को मागदावी भएकोमा शुरुले १७(४) नं. अनुसार सजाय हुने ठहर्‍याएकोमा पुनरावेदन अदालतवाट इन्साफ उल्टी भई निजको हकमा ज्यान सम्वन्धी महलको २२ नं. को कसुर कायम गरी ऐ. को २५ नं. अनुसार सजाय गर्ने गरी गरेको शुरु तथा पुनरावेदन अदालतको इन्साफ, पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर अनुसार आरोपित कसुरवाट सफाई पाउन पर्ने हो होइन ? श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ कि सक्दैन ? शुरु तथा पुनरावेदन अदालत समेतले सफाई दिएका अभियुक्तहरुलाई मागदावी एवं पुनरावेदन जिकिर वमोजिम सजाय हुन पर्ने हो होइन ? र पुनरावेदन अदालतले टेकवहादुर डांगी र लिलावहादुर खत्रीका हकमा सजाय चर्को पर्ने भयो भनी आधार देखाई जनही कैद वर्ष १० गर्न अ.वं. १८८ नं. वमोजिम यस अदालतमा जाहेर गरेको राय अनुसार हुन पर्ने हो होइन भन्ने कुराको इन्साफ दिन पर्ने देखिन आयो ।

            ४०.   जाहेरी दर्खास्त प्रतिवादीहरुले गरेको वयान समेतवाट प्रतिवादी तेजवहादुर र दिलवहादुरको मृतकसंग पुरानो रिसइवि रहेको र मृतकलाई मार्ने योजना वनाई अन्य प्रतिवादीहरु समेतलाई बेलौतीको रुखमुनी पुर्ख्र्यौली चांदीको खपडा गडेको छ नरबली दिए रुपैंया हात लाग्छ भनि अन्य प्रतिवादीहरुलाई समेत हात लिई घटनाको राती मृतक शिवलाललाई वोलाई ल्याई शुरुमा प्रतिवादीहरु दिलवहादुर र तेजवहादुरले कुलोमा लठृीले प्रहारगरी घाइते वनाई घाइते अवस्थामा अन्य प्रतिवादीहरु समेत भई कसैले हात कसैले टाउको कसैले खुटृा समाई ल्याई ओख्रो खोलामा भएको ढुंगामा सुताई प्र. दिलवहादुरले खुकुरी र प्र. तेजवहादुरले कटारी प्रयोगगरी मारेको हुंदा घटनामा संलग्न प्र. तेजवहादुर र दिल वहादुरलाई ज्यान सम्वन्धी महलको १३(३) नं. र अन्य प्रतिवादीहरुलाई ऐ. को १३(४) नं. अनुसार सजाय होस भनि मागदावी रहेको देखिन्छ ।

            ४१.   मृतकको मृत्यु कर्तव्यवाट भएको हो होइन भनि हेर्दा शरीरका संवेदनशील अङ्गमा काटिएको समेत कारणले अत्याधिक रक्तश्राव भै मृत्यु भएको भन्ने लास जांच प्रतिवेदनवाट र शरीरमा विभिन्न ठाउंमा धारिलो हतियारले काटेको भन्ने लास प्रकृति मुचुल्का र मिसिल संलग्न अन्य सवुद प्रमाणहरुवाट समेत देखिएकोले मृत्यु कर्तव्यवाट भएकोमा विवाद देखिंदैन । अब आरोपित प्रतिवादीहरुले नै उल्लेखित कसुर अपराध गरेको हो होइन भन्ने तर्फ विचार गर्दा प्र. दिलवहादुर खत्री र तेजवहादुर भण्डारीलाई प्रस्तुत मुद्दामा मुख्य अपराधीको रुपमा अभियोग लगाएको देखिन्छ । मृतक शिवलाललाई यी प्रतिवादीहरुले मार्न पर्ने सम्मको रिसइवी थियो थिएन र अभियुक्तहरुले नै मारेको हो होइन भनि हेर्दा प्र. दिलवहादुर र यी मृतक वीच कुलोपानीमा विवाद रहेको र मृतकको गोरुले नोक्सानी गरेको मकैवाली वापत मृतकले पैसा समेत नतिरेको भन्ने दिलवहादुरको प्रहरीमा भएको कागजवाट देखिएको अर्का प्रतिवादी तेजवहादुर र मृतक वीच पनि रिसइवी रहेको कुरा नीजले प्रहरीमा गरेको वयानवाट देखिन्छ । यी दुवै प्रतिवादीहरुले प्रहरीमा वयान गर्दा मृतकलाई मार्ने मत सल्लाहमा पसी खुकुरी र कटारीले हानी घोची मारेको हो भनि गरेको वयान र अन्य अभियुक्तहरुले यी दुई अभियुक्तहरुलाई कर्तव्य गर्दा हतियारले चोट प्रहार गरेको भनि प्रहरीमा वयान गरे समेतवाट मृतक र यी दुई अभियुक्त वीच रिसइवि रहे भएको र यसै कारणवाट कर्तव्य गरेको होइन रहेछ भन्न सक्ने अवस्था देखिएन । यी प्रतिवादीहरुले अदालतमा इन्कारी वयान गरेतापनि अन्य प्रतिवादीको प्रहरीमा भएको साविति वयान लास जांच प्रतिवेदन र मिसिल संलग्न अन्य प्रमाणहरु समेतवाट यी प्रतिवादीहरुले नै धारिलो हतियारले चोट प्रहार गरी मृतकलाई मारेको हो भन्ने कुराको समर्थन र पुष्टी गरेको अवस्थामा केवल अदालतमा नीजहरुले गरेको इन्कारी वयानलाई मात्र अभियोगवाट सफाई दिने आधारको रुपमा हेर्न नमिल्ने हुंदा यी दुई अभियुक्तले अभियोग दावी वमोजिम कर्तव्य गरेको ठहर्छ ।

४२.   अब अन्य प्रतिवादीहरु जनकवहादुर भण्डारी लिलावहादुर खत्री टेकवहादुर डांगीको हकमा विचार गर्दा यी अभियुक्तहरुलाई ज्यान सम्वन्धी महलको १३(४) नं. को अभियोग लगाएकोमा शुरु तथा पुनरावेदन अदालत समेतले मागदावी वमोजिम सजाय गरेको देखिन्छ । यी प्रतिवादीहरु उपरको अभियोग स्थापित हुन्छ हुंदैन र शुरुको इन्साफ मिलेको छ छैन भनि हेर्दा प्रतिवादी टेकवहादुरले प्रहरीमा वयान गर्दा दिलवहादुर र तेजवहादुर मिली शिवलाललाई मार्ने योजना वनाएका रहेछन मलाई पनि वेलौतिको रुखमुनी पुर्खौली चांदीरुपैंया गाडेको छ, नरबली दिए रुपैया हात लाग्छ भने अनुसार शिवलाललाई निजको घरवाट वोलाई ल्याई लिलावहादुर समेत भई दिलवहादुरको घटृमा गयौं । घटृमा दिलवहादुरवसि रहेका थिए । केही वेरपछि जनकवहादुर तेजवहादुर भण्डारी, प्रकाश के.सी. रामवहादुर खत्री समेत ४ जनापनि घटृमा आए । लौ त जाउं भनि मृतक समेत ९ जना रुपैंया गाडेको भनेको ठाउंतर्फ जान लाग्दा वाटैमा मृतकले आफ्नो खेतमा पानीजाने कुलोवाट पानी फूटेको देखी फूटेको ठाउं वुझ्न घोप्टो पर्दा दिलवहादुरले लाठीले टाउकोमा प्रहार गरे र मृतक कुलोमा वेहोस भई लडेपछि सवैजना भई मृतकको हात खुटृा समाती अख्रेखोलामा लगी ढुंगामा राखी दिलवहादुरले खुकुरीले गर्धनमा प्रहार गरे तेजवहादुरले कटारीले टाउको कान गाला ओठ समेतमा प्रहार गरी मृतकलाई मारेको भन्ने र अर्का दुई प्रतिवादी जनकवहादुर र लिलावहादुर खत्री प्रहरीमा वयान गर्दा मानिसको वली दिए चांदीको खपटा फेलापर्छ भनि टेकवहादुरले भनेपछि चांदीको रुपैंया पाउने आसलागी मार्नमा सहमति भएको हो मृतकलाई कुलामा लाठीले प्रहार गरी निजलडेपछि कसैले हात कसैले खुटृा कसैले टाउको समाती घटनास्थलमा लागी ठुलो ढुंगोमा राखी दिलवहादुरले खुकुरीले गर्धनमा र तेजवहादुरले कटारीले टाउको समेत ठाउं ठाउंमा हानी मारेको भनि वयान गरेको देखिन्छ । मिसिल संलग्न प्रमाणहरु, वारदातमा प्रयोग भएको भनेको कटारी जनक भण्डारीको घरवाट वरामद हुनु तथा सहअभियुक्तहरुको वयान समेतवाट यी प्रतिवादीहरु वारदातमा संलग्न भएको अवस्था देखिन्छ । मुख्य अभियुक्तहरु दिलवहादुर र तेजवहादुरले मृतकलाई खुकुरी र कटारी प्रयोग गर्नु भन्दा अगाडि मृतकलाई घायल वनाउने कुट्ने घायल भएर लडेपछि वोकेर ल्याई ढुंगामा सुताउने कार्य यी अन्य प्रतिवादीहरु समेतले गरेको देखिन्छ । यी प्रतिवादीहरुले यस अदालतमा पुनरावेदन गर्दा ज्यान सम्वन्धीको १३(४) नं. अनुसार हुनलाई मर्ने मानिसको जिउमा हात हाली ज्यान मार्दाको वखत संयोग पारेको हुन पर्नेमा सो कसुर नै स्थापित नभएको अवस्थामा ज्यान सम्वन्धीको १३(४) नं. अनुसार सजाय गर्न मिल्ने होइन भनेको देखिन्छ । यी प्रतिवादीहरु तर्फवाट यस अदालतमा वहस गर्ने अधिवक्ताहरु समेतले घटनास्थलमा प्रहार गर्दाको अवस्थामा समाउने कार्य भएको भए लाठी प्रहार गरेको भएमात्र ज्यान सम्वन्धीको १३(४) नं. आकर्षित हुन सक्ने हो मृतकलाई यी प्रतिवादीले वोकेर ल्याएको अवस्थासम्म मात्र छ मार्ने वेलामा समाउने पक्रने संयोग पार्ने कार्य भएको छैन १३(४) नं. आकर्षित हुन सक्दैन भनि गर्नु भएको बहस बुंदाहरुलाई समेत मध्यनजर राखी सो तर्फ विचार गर्दा यी प्रतिवादीहरुले मृतकलाई मारेमा धन लाभ हुने चांदीको खपटा पाइने भन्ने प्रलोभनमा परी मृतकलाई मार्ने मतसल्लाहमा पसेको कुरा प्रतिवादीहरुको प्रहरीमा भएको वयान समेतवाट देखिन्छ । कर्तव्य गर्ने कार्यमा यी प्रतिवादीहरुले अभियुक्त दिलवहादुर समेतलाई शुरु देखिनै साथ दिएको देखिन्छ । शुरुमा कुलोमा वेहोस पारी लडाउंदा यी प्रतिवादीहरुको पनि उपस्थिति रहेको देखिन्छ योजना अनुसार ज्यान मार्ने जस्तो जघन्य अपराधको उद्योग हुंदैका वखत यी प्रतिवादीहरुले प्रतिकार गरी कर्तव्य हुनवाट रोक्ने कार्य भएको छैन । मृतक घाइते भएपछि निजलाई मार्ने उद्देश्यले यी प्रतिवादीहरु समेतले कसैले हात कसैले खुटृा कसैले टाउको समाई ओख्रेखोलामा भएको ठूलो ढुंगामा ल्याएर सुताएको भन्ने कुरा सवै प्रतिवादीको प्रहरीमा भएको वयान समेतवाट देखिन्छ । प्रतिवादीहरुको मार्ने उद्देश्य (Mensrea )रहेको कुराको पुष्टी यसै तथ्यले समेत प्रमाणित गर्दछ । यी प्रतिवादीहरुको मार्ने मनसाय नभएको भए अपराधिक कार्य  (Actusreas ) हुंदाका वखत मृतकलाई वचाउने उद्देश्य राखी कुनै कार्य भए गरेको हुन पर्ने सो कहीं देखिंदैन । वेहोस भैसकेको मृतकलाइ यी प्रतिवादीहरुले घटनास्थलसम्म मृतकलाई ल्याई ढुंगामा राख्ने सम्मको कार्य गरेको पाइन्छ । मृतकलाई मार्ने कार्यमा हामीले धारिलो चोट छोडेको र वांधछांद गरेको छैन भन्ने मनाइका आधारमा मात्र ज्यान सम्वन्धीको १३(४) नं. को आरोपवाट उन्मुक्ति पाउने अवस्था रहंदैन । यी प्रतिवादीहरुको पूर्व कृयाकलाप ( Prior Activities ) हरुवाट ज्यान मार्नमा संयोगपार्ने काम भए गरेको स्पष्ट छ । यी प्रतिवादीहरु ज्यान मार्ने पूर्व योजनामा पसेकै देखिन्छ । लाठीको प्रहारले घाइते भएको मानिसलाई समाई ल्याई ढुंगामा राखी खुकुरी र कटारी झिकी हान्न लाग्दा ज्यान मर्छ भन्ने परिणामको पूर्वज्ञान समेत यी प्रतिवादीहरुलाई थाहा भएको अवस्थामा यी प्रतिवादीहरु अपराधिक कार्यमा पसेको छैन भनि भन्न सक्ने अवस्था रहंदैन । ज्यान सम्वन्धीको १३(४) नं. को कसुर स्थापित हुन जीउमा हात हाली समाती दिन पर्छ सो नभएको अवस्थामा १३(४) आकर्षित हुन सक्दैन भन्ने पुनरावेदन जिकिर र विद्धान अधिवक्ताहरुको वहस जिकिर तर्फ विचार गर्दा ज्यान सम्वन्धी महलको १३(४) नं. को स्थिति सम्वन्धमा घटना र घटनाको पूर्व अवस्थाहरु हेरिन पर्ने हुन्छ । घटना कुलोमा प्रहार भएपछि मृतक लडेको अवस्था छ मृतक लडेपछि सवैले वोकेर ल्याई ओख्रेखोलामा रहेको ढुंगामाथी राखेको तयसपछि हतियार प्रयोग भएको स्थिति देखिन आउंछ । कुलोमा लडाउने कार्य, लडिसकेपछि वोकेर ल्याई ढुंगामा राख्ने कार्य र धारिलो हतियार छोड्ने कार्य एक आपसमा आवद्ध छ । मृतकलाई मार्ने काम हुंदासम्म घटनाको श्रृंखला टुटेको पाइन्न । ज्यान सम्वन्धी महलको १३(४) नं. को मनसाय घटना घटेकै ठाउं र समयमा मृतकको जीउमा हात हाली मार्नमा संयोगपार्नु पर्ने भन्ने मात्र होइन यसको लागि घटना हुनु भन्दा पूर्वका कृयाकलाप (Prior Activities) पनि सान्दर्भिक हुन्छन र न्यायको कसीमा यस्ता कृया कलापले महत्वपूर्ण स्थान ग्रहण गर्दछ । प्रस्तुत घटना पूर्वका कृयाकलापहरु हेर्दा लठृीको प्रहार गरी घाइते र वेहोस वनाई लडाएको व्यक्तिलाई यी प्रतिवादीहरुको संलग्नतामा कुलोवाट वोकी ल्याई ढुंगामा राख्ने कार्य र ढुंगामा राखेपछि धारिलो हतियार खुकुरी र कटारी प्रहार गर्ने कार्यहरुवाट मृतकलाई मार्नलाई संयोगपारी दिन वोकी ल्याई ढुंगा माथी राखी दिने कार्य ज्यान सम्वन्धीको १३(४) मा प्रयोग भएको मार्नलाई संयोग पारी दिना निमित्त मर्ने मानिसको जीउमा हात हाली पक्रि समाती दिने कार्यकै स्वरुप देखिंदा प्रतिवादीहरुले मृतकलाई प्रहार नगरेको, मृतकलाई नछोएको भनि आरोपित कसुरवाट उन्मुक्ति दिन मिल्ने अवस्था देखिंदैन । यी प्रतिवादीहरु टेकवहादुर डांगी, लिलावहादुर खत्री, जनक भण्डारीलाई शुरु तथा पुनरावेदन अदालतले मागदावी अनुसार ज्यान सम्वन्धी महलको १३(४) नं. वमोजिम जन्मकैद गर्ने गरी गरेको इन्साफ मिलेकै देखिन्छ , पुनरावेदन अदालत समेतले गरेको सजाय मिलेको छैन भन्ने विद्धान अधिवक्ताहरुको वहस जिकिर र पुनरावेदकहरुको पुनरावेदन जिकिरसंग सहमत हुन सकिएन ।

            ४३.   अव, अर्का प्रतिवादी लिलावहादुर के.सी. को हकमा विचार गर्दा यी प्रतिवादीहरुलाई पनि ज्यान सम्वन्धी महलको १३(४) नं. को मागदावी लिई मुद्दा दायर भएको देखिन्छ । यी प्रतिवादीले मार्नमा संयोग पारि दिएको नभै घटनास्थलमा चुपचाप बसिरहेको भनि शुरुले ज्यान सम्वन्धी महलको १७(३) नं. वमोजिम ६ महिना कैद गरेकोमा पुनरावेदन अदालतले प्रहरी र अदालतमा समेत इन्कारी भई वयान गर्ने यी प्रतिवादीलाई अभियुक्त दिलवहादुरले माछा मार्न जाउं भनि वोलाएको ज्यान मार्ने कुरा भने थाहा नभएको, ज्यान मार्ने मतलवमा नपसेको केवल घटनास्थलमा चुपचाप बसेको र ज्यान मरेको कुरा मौकामा थाहा पाई जाहेर नगरी वसेको देखिन भनि ज्यान सम्वन्धीको २२ नं. अनुसारको कसुर ठहराई ऐ. को २५ नं. ले २० रुपैंया जरिवाना गरी शुरुको इन्साफ उल्टी गरेको देखिन्छ । यी प्रतिवादीको समेत प्रत्यक्ष संलग्नतामा ज्यान मार्ने कार्य भएकोले यी प्रतिवादी समेतलाई शुरु मागदावी अनुसार ज्यान सम्वन्धीको १३(४) नं. वमोजिम सजाय गरी पाउं भनि श्री ५ को सरकारले यस अदालतमा पुनरावेदन गरेको देखिन्छ । यी प्रतिवादीको हकमा श्री ५ को सरकारको मागदावी अनुसार हुन पर्ने हो होइन शुरु र पुनरावेदन अदालतको इन्साफ मिलेको छ, छैन भनि हेर्दा यी प्रतिवादीले प्रहरीमा वयान गर्दा दिलवहादुरले माछा मार्न वोलाएको र पछि माछा मार्ने होइन चांदीको खपटा निकाल्न जाने भनि वताएका हुंदा वारदात स्थलमा पुगेको हुं प्रतिवादीहरुले मृतकलाई लाठी र खुकुरी समेत प्रहार गरी मारेका हुन म डरले चुपचाप केही नगरी बसेको हुं इन्कारी वयान गरेकोमा यी प्रतिवादी अदालतमा समेत इन्कार नै देखिन्छन तर यी प्रतिवादी उपर परेको किटानी जाहेरी, सहअभियुक्तहरुको पोलहरु हेर्दा यी अभियुक्त वारदात भएको घटनास्थलमा रहे भएको कुरालाई इन्कार गर्न सक्ने स्थिति देखिन आउंदैन । ज्यान मार्ने मतलवमा पसेको थिए थिएनन भनि हेर्दा यी प्रतिवादी नरवली दिए चांदीको खपटा पाइन्छ भन्ने प्रलोभनमा परी अन्य प्रतिवादीहरुको साथ लागी घटनास्थलमा भने उपस्थित भएका तर डर त्रासले केहीनगरी रहे वसेको स्थितिसम्म मिसिल प्रमाणवाट देखिन्छ । यी प्रतिवादी समेतले मृतकलाई कुलोवाट उठाई घटनास्थलसम्म लगेको भन्ने सहअभियुक्तहरुको पोल अन्य प्रमाणहरुवाट समर्थन हुन आएको देखिंदैन । नरबली दिएमा चांदीको खपटा पाइन्छ भन्ने प्रलोभनमा पसेको तथ्य स्थापित हुंदा ज्यान मार्ने मतसल्लाहमा पसेकै थिएनन भनि पुनरावेदन अदालत तुल्सीपुरले ज्यान सम्वन्धी २२ नं. को कसुर ठहर्‍याएको इन्साफ मिलेको देखिंदैन । यी प्रतिवादीको हकमा शुरुको इन्साफ मिलेकै देखिन्छ । ज्यान मार्ने मतसल्लाह सम्ममा पसी सहयोग समेत गरेकोले ज्यान सम्वन्धी महलको १३(४) नं. वमोजिम यी प्रतिवादीलाई सजाय होस भन्ने श्री ५ को सरकारको मागदावीसंग पनि सहमत हुन सकिएन।

४४.   अब ज्यान सम्वन्धी महलको १३(४) नं. को दावी लिई अभियोग दायर भएका अन्य प्रतिवादीहरु नेत्रलाल भण्डारी , रामवहादुर खत्री र प्रकाश के.सी. को हकमा शुरु तथा पुनरावेदन अदालतले सफाई दिने गरेको इन्साफ मिलेको छ, छैन यी प्रतिवादीहरुको हकमा शुरु अभियोग एवं श्री ५ को सरकारको पुनरावेदन जिकिर अनुसार ऐ. महलको १३(४) नं. अनुसार सजाय हुन पर्ने हो होइन भनि हेर्दा यी प्रतिवादीहरुले अधिकार प्राप्त अधिकारी र प्रहरीमा कागज गर्दा आफुले आरोपित कसुर अपराध गरेकोमा पूर्णत इन्कार गरेको देखिन्छ । निजहरुको इन्कारी वयान अन्यथा हो भनि कुनै प्रमाणवाट समर्थित हुन सकेको पनि पाइंदैन । यी प्रतिवादीहरुका साक्षीहरुले अदालतमा वयान गर्दा प्रतिवादीहरुको इन्कारी वयानलाई समर्थन हुने गरी वकपत्र गरेको देखिन्छ । प्रतिवादी नेत्रलालको नाम शुरु जाहेरीमा रहे भएको समेत पाइन्न र यी अभियुक्तलाई अन्य सह अभियुक्तहरुले पोल गरेको समेत देखिन्न । प्रतिवादी प्रकाश के.सी. र रामवहादुर भण्डारीका हकमा केही सहअभियुक्तहरुले पोल गरेको भएपनि उक्त पोल अन्य स्वतन्त्र प्रमाणहरुवाट समर्थित भएको पाइन्न । सहअभियुक्तहरुको पोल र जाहेरवालीको उजुरीको आधारमा मात्र यी प्रतिवादीहरुलाई कसुर अपराधमा सजाय गर्न सक्ने अवस्था रहन्न । वादी श्री ५ को सरकारले यी प्रतिवादीहरुले मृतकलाई मारेको, मार्नलाई योजना वनाएको, संयोग पारेको भन्ने कुराको कुनै सवुद प्रमाण गुजार्न सकेको पाइन्न । तसर्थ यी प्रतिवादीहरु रामवहादुर खत्री, नेत्रलाल भण्डारी र प्रकाश भण्डारीको हकमा वादी श्री ५ को सरकारको अभियोग दावी पुग्न सक्दैन ।

४५.   अतः शुरु सल्यान जिल्ला अदालतले प्र. दिलवहादुर खत्री र प्र. तेजवहादुर भण्डारीलाई मागदावी अनुसार ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सर्वस्व सहित जन्मकैद र प्र. जनकवहादुर भण्डारी, लिलावहादुर खत्री र प्र. टेकवहादुर डांगीलाई ज्यान सम्वन्धी महलको १३(४) नं. वमोजिम जन्मकैद गर्ने गरेको तथा प्र. प्रकाश के.सी., नेत्रलाल भण्डारी र रामवहादुर खत्रीलाई अभियोग दावीवाट सफाई दिने गरीगरेको इन्साफ सम्म लाई सदर गर्ने गरेको पुनरावेदन अदालत तुल्सीपुरको इन्साफ मिलेकै देखिंदा सदरहुने ठहर्छ । प्र. लिलावहादुर के.सी. को हकमा शुरुले १७(३) नं. वमोजिम ६ महिना कैद गर्ने गरी गरेको इन्साफ केही उल्टी गरी ज्यान सम्वन्धी महलको २२ नं. को अभियोग कायम गरी ऐ. को २५ नं. वमोजिम रु २० जरिवाना गर्ने गरी गरेको पुनरावेदन अदालतको इन्साफ नमिलेको हुंदा केही उल्टी हुने ठहर्छ, नीजको हकमा शुरुकै इन्साफ सदर हुने ठहर्छ । यी प्रतिवादी लिलावहादुर के.सी. र शुरु तथा पुनरावेदन अदालतवाट सफाई पाउने अन्य प्रतिवादीका हकमा अभियोग दावी वमोजिम सजाय गरि पाउं भन्ने श्री ५ को सरकारको र अभियोग दावीवाट सफाई पाउं भन्ने प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन।

            ४६.   प्रस्तुत मुद्दामा पुनरावेदन अदालत तुल्सीपुरले प्र. टेकवहादुर डांगी र प्र. लिलावहादुर खत्रीको हकमा ज्यान सम्वन्धीको १३(४) नं. को कसुर ठहर भएपनि यी प्रतिवादीहरु मानिसको वली दिए चांदीको खपडा पाइन्छ भन्ने प्रलोभनवाट ज्यान मार्नमा अभिप्रेरित भएका र निजहरुको कलिलो उमेर समेत भएको हुंदा अ.वं. १८८ नं. वमोजिम यी दुवै प्र. हरुलाई जन्मकैद गर्दा चर्को पर्ने भएकोले जनही कैद वर्ष १० गर्न छुट्टै राय समेत जाहेर भएको हुंदा सो अनुसार हुन पर्ने हो होइन भनी विचार गर्दा यी प्रतिवादीहरु मान्छेको ज्यान मार्ने जस्तो गम्भीर अपराधमा पसेको देखिन्छ । अ.वं. १८८ नं. को व्यवस्था वमोजिम घटी सजाय गर्न भवितव्य हो कि भन्ने सम्म शंकाको अवस्था वा अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐन बमोजिमको सजाय दिंदा चर्को हुने भै घटी सजाय हुनु पर्ने स्थितिको विद्यमानता हुन आवश्यक हुन्छ । मानिसको ज्यान लिने जस्तो जघन्य अपराधमा सरिक भै ज्यान मार्ने यी प्रतिवादीहरुलाई कानूनले तोकेको सजाय घटाउनु घटनाको स्थिति र कानूनको रोहमा समेत उचित नहुने हुंदा यी प्रतिवादीहरुको हकमा सजाय घटाई पाउं भन्ने उल्लेखित रायसंग सहमत हुन सकिएन। निजहरुको हकमा कानून वमोजिम सजाय हुन्छ । अरुमा तपसील वमोजिम गर्नु ।

 

तपसील

 

यसमा माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत तुल्सीपुरले गरेको इन्साफ केही उल्टी भई शुरु सल्यान जिल्ला अदालतले गरेको इन्साफ सदर हुने ठहरेकोले पुनरावेदन अदालतको इन्साफको तपसील खण्डको देहाय १ ले प्र. ललितवहादुर के.सी. को हकमा रु २० ( वीस) जरिवानाको लगत कस्न शुरुमा लेखी पठाउने भनि राखेको लगत कायम हुन नसक्ने हुंदा नीजको हकमा साथै अन्य सम्पूर्ण प्रतिवादीहरुको हकमा शुरु फैसलाको तपसील खण्ड अनुसारकै लगत कायम हुने हुंदा सोही अनुसार गर्नु भनि शुरुमा लेखी पठाउनु ........ १

दायरीको लगत कटृा गरी मिसिल नियमानुसार वुझाई दिनु ......... १

 

उक्त रायमा सहमत छु ।

 

न्या.दिलीपकुमार पौडेल

 

इति सम्वत् २०५८ साल मंसिर २८ गते रोज ५ शुभम् .................................।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु