निर्णय नं. ९०२६ - कर्तव्य ज्यान

ने.का.प. २०७०, अङ्क ६
निर्णय नं. ९०२६
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
०६६-CR-०३८४, ०१२०
फैसला मितिः २०७०।२।२९।४
मुद्दा :– कर्तव्य ज्यान ।
पुनरावेदक प्रतिवादीः जिल्ला सुर्खेत, मेहेलकुना गाउँ विकास समिति वडा नं. २ घर भई हाल कारागार कार्यालय, पाल्पामा थुनामा रहेका कमल कामी
विरुद्ध
प्रत्यर्थी वादीः ठमनबहादुर गुरुङको जाहेरीले नेपाल सरकार
शुरू फैसला गर्ने :–
मा.न्या.श्री दीपेन्द्र अधिकारी
पुनरावेदन फैसला गर्ने :–
मा.न्या.श्री विश्वनाथ जोशी
मा.न्या.श्री निर्मलकुमार ढुङ्गाना
§ पहिला सामान्य विवाद भए पनि सोही विवादलाई जरिया बनाई समयको अन्तरालपछि योजनाका साथ बाटोमा लुकी छिपी बसी आक्रमण गरिएको छ । विवाद भएको ठाउँबाट आफ्नो घर गई रिसइबी साध्ने मनस्थितिका साथ आई घटना घटाएको स्थिति हुँदा तत्कालको आवेगमा घटना हुन पुगेको भन्ने देखिँदैन । विवाद भएको तात्कालिक समयमा घटना भएको छैन । विवाद सिर्जना भएको समय र वारदातको समयको अन्तराल लामो भएको अवस्थामा क्षणिक क्षति हुने वा आत्मनियन्त्रण गुम्न जाने स्थिति हुँदैन । आत्मनियन्त्रण गुमेको समयमा नै घटनाले पूर्णता पाइसकेको अवस्थामा केही विचार नै गर्न पाएको नहुने ।
§ ज्यानसम्बन्धी महलको १४ नं.मा “उसै मौकामा उठेको रिस थाम्न नसकेको” भन्ने शब्दावलीले समयको तत्वलाई इङ्गित गर्दछ । बिहान १० बजे उठेको रिसको परिणति अपरान्ह ४ बजे हुने क्रियालाई ज्यानसम्बन्धीको १४ नं.ले सम्बोधन गरेको मान्न नमिल्ने ।
§ समयको अन्तरालमा रिस शिथिल हुने, अपराध गर्न नहुने कुरामा सचेतता बढ्ने स्थिति हुन्छ । रिस उठेको तत्काल गरिने कार्यमा व्यक्तिले सोच्न नभ्याउने, कुनै योजना बनाउन नभ्याउने स्थिति महसूस गरी यस्तो अवस्थामा हुने ज्यानसम्बन्धी अपराधको सजायमा १० वर्ष मात्र कैदको सहुलितपूर्ण व्यवस्था गरेकाले ज्यानसम्बन्धी १४ नं.को प्रयोग गर्नु पर्दा न्यायकर्ताले थाम्न नसकिने प्रकृतिको रिस उठेको समय र कसूर सम्पन्न भएको समयको अन्तरालको पक्षमा विचार गर्नैपर्ने ।
(प्रकरण नं.९)
§ पीडितको कारणबाट उत्पन्न हुने आवेशको अवस्था त्यो हदसम्मको हुनुपर्ने मानिन्छ, जुन अवस्थामा सामान्य सुझबुझ भएको मानिस (Reasonable Person) समेत उत्तेजित हुन्छ र आफ्नो उत्तेजित अवस्थालाई नियन्त्रण गर्न सकिरहेको हुँदैन । यस्तो उत्तेजना पीडितको क्रियाकलापबाट अचानक (Sudden) उत्पन्न भई त्यसको आवेशले क्षणिकरूपमा (Temporarily) आत्मनियन्त्रण गुमाएको हुनुपर्ने ।
(प्रकरण नं.११)
§ आत्मनियन्त्रण गुमाउने अवस्था थियो थिएन भन्ने कुरा गणितीय हिसाबमा आंकलन गर्न नसकिए पनि यो कुनै घटना, परिस्थिति तथा मानवीय संवेदनशीलता जस्ता कुरामा भर पर्ने हुन्छ । यस्तो आवेशको अवस्था हुन आफैंले केही कुरा गरी पीडितबाट आफूलाई उत्तेजित पार्ने कार्य (Self–induce Provocation) गरेको भन्न नहुनुका साथै पीडितको क्रियाकलापबाट उत्तेजित भए पनि त्यो उत्तेजना शान्त भएको (Cooling of Blood) अवस्थाले पनि आवेशको स्थितिलाई वर्जित गर्ने ।
(प्रकरण नं.१२)
वादीतर्फबाटः विद्वान सहन्यायाधिवक्ता रेवतीराज त्रिपाठी
प्रतिवादीतर्फबाटः विद्वान अधिवक्ता विष्णुप्रसाद खनाल
अवलम्बित नजीरः
§ नेकाप २०५९, कात्तिक/मङ्सिर, नि.नं. ७११८, पृष्ठ ५०१
§ नेकाप २०६६, असोज, नि.नं. ८१६७, पृ. ९४०
सम्बद्ध कानूनः
§ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१), १४ र १७(३)
फैसला
न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादी नेपाल सरकार र प्रतिवादी कमल कामीसमेत दुवै पक्षको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः–
मिति २०६३।३।३२ गते बिहान अन्दाजी १०.०० बजे मेरो भतिजा बालकृष्ण गुरुङ र म जाहेरवाला जिल्ला सुर्खेत, मेहेलकुना गाउँ विकास समिति वडा नं. २ पुल बजारस्थित भीमकुमारी गुरुङको घरमा भेट गर्न गएका थियौं । हामीहरू भीमकुमारी गुरुङको घरमा नास्ता खाई बसिरहेको अवस्थामा कमल कामी र मनबहादुर वि.क. मदिरा सेवन गरी आएका थिए । के विषयमा हो भतिजा बालकृष्ण गुरुङको कमल कामी र मनिष वि.क.का बीच झगडा भएको थियो । सो झगडा गाउँले र मसमेत भई छुट्याएपछि निजहरू आफ्नो घरतर्फ लागेका थिए तर, निजहरूले सोही झगडालाई इबी लिई हामी फर्कने बाटोको जङ्गलमा कुरेर बसेका रहेछन् । सुर्खेत, मेहेलकुना गाउँ विकास समिति वडा नं. २ को भेरी नजिक भतिजा बालकृष्ण गुरुङले दिसा लाग्यो भनेकाले म भेरी पुलमा काम गर्ने सुर्खेत घुमखहरे गाउँ विकास समिति वडा नं. ९ बस्ने रामबहादुर पौडेलसँग कुरा गरी बसिरहेको थिएँ । मिति २०६३।३।३२ गते अन्दाजी ४.०० बजे भतिजा बालकृष्ण गुरुङ आफ्नो पैन्ट कस्दै गर्दा लुकी बसेका कमल कामीले चक्कुले भतिजा बालकृष्ण गुरुङलाई निधारमा प्रहार गरे । मनबहादुर वि.क.ले ढुङ्गाले कञ्चटमा प्रहार गरेपछि भतिजा बालकृष्ण गुरुङ भूईंमा लडे र अन्यायीहरू त्यहाँबाट भागे । भतिजालाई उपचारका लागि वीरेन्द्रनगरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएकोले कमल कामीले चक्कुले र मनिष वि.क. ले ढुङ्गाले प्रहार गरेका सोही पीडाबाट भतिजा बालकृष्ण गुरुङको मृत्यु भएकाले कमल कामी र मनबहादुर वि.क.लाई पक्राउ गरी कानूनी कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको जाहेरी दरखास्त ।
जिल्ला सुर्खेत, मेहेलकुना गाउँ विकास समिति वडा नं. २ स्थित पूर्वमा तीर्थ वादीको जग्गा, पश्चिम भेडावारी जाने झोलुङ्गे पुल तथा भेरी नदीको डील, उत्तरमा नरवीर वि.क. को मकैबारी र दक्षिणमा नरवीर वि.क. को मकैबारी यति चारकिल्लाभित्र मिति २०६३।३।३२ गते अन्दाजी ४.३० बजे मेहेलकुना गाउँ विकास समिति वडा नं. २ बस्ने कमल कामी र मनबहादुर वि.क.ले सुर्खेत गाउँ विकास समिति वडा नं. ४ बस्ने बालकृष्ण गुरुङलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको स्थानको छेउछाउको घाँसहरू मडारिएको, धारो, पातमा रगत जस्तो देखिने तरल पदार्थ उठाउन नसकिने अवस्थामा रहेको देखिएको भन्ने व्यहोराको घटनास्थल मुचुल्का ।
जिल्ला सुर्खेत, मेहेलकुना गाउँ विकास समिति वडा नं. १ स्थित पूर्वमा चूडामणि शर्माको घर, पश्चिममा डीलबहादुर बी.सी.को घर, उत्तरमा धनबहादुर वलीको घर, दक्षिणमा छिन्चु जाजरकोट सडक यति चारकिल्लाभित्र दक्षिण मोहडा भएको टुवल चौडेको पक्की घरमा रमेश फार्मेसी लेखिएको बोर्ड भएको औषधि पसल, सो औषधि पसलको पश्चिमतर्फ भित्र जाँदा दक्षिण उत्तर मोहडा भएको कोठामा पूर्व टाउको, पश्चिम खुट्टा, स्ट्रेचरमा उत्तानो परी मृत अवस्थामा बालकृष्ण गुरुङको शव रहेको चारकिल्लासहितको लास प्रकृति मुचुल्का ।
म कमल कामी र मेरो साथी मनिष वि.क. सँगै बसी मासु रक्सी खाँदैरहेको अवस्थामा अन्य व्यक्तिहरूको चिनजानकै क्रममा विवाद भएकै कारण मृतकलाई रिसइबी साध्ने मनस्थिति भएकाले साथी मनिष वि.क. र मसमेत त्यहाँबाट हिँडी मनिष वि.क.को घरमा गई कुटपीट गर्ने योजना बनाई घरबाट निस्की मकैबारीको बाटो हुँदै भेडाबारी गाउँ जाने भेरी नदीको झोलुङ्गे पुलमा बस्यौँं । मिति २०६३।३।३२ गते ४.३० बजे मृतक बालकृष्ण गुरुङ र निजको साँहिलो बुबा आउँदै गरेको देख्यौँ । मृतक दिसा गर्न भनी नजिकै झाडीमा गई दिसा बस्न थाले । मृतक आई पुग्नासाथ हामीले कुटपीट गर्न थाल्यौँ । मैले निज मृतक बालकृष्ण गुरुङलाई सानो खुकुरीले प्रहार गर्दा निजको बायाँ आँखीभौँमाथि लाग्न गई निज लडी बेहोस् भएपछि हामी दुवैजना भाग्न सफल भयौं । मैले प्रहार गरेको खुकुरी भीम वादीको घर नजिकै झाडीमा फालिदिएको हुँ भन्ने व्यहोराको कमल कामीले अनुसन्धान अधिकारीसमक्ष गरेको मौकाको कागज ।
“Death is due to this case primarily resulted from asphyxia and associated is head injury” भन्ने व्यहोराको शव परीक्षण प्रतिवेदन ।
मृतक बालकृष्ण गुरुङले हामीलाई आमाचकारी गाली गरेपछि रक्सीको नशाको सुरमा म र निज बालकृष्ण गुरुङबीच वादविवाद भै समातासमात भएकाले सोही रिसइबी साध्ने मनसायले म र मेरो साथी मनिष वि.क.समेत भै निजलाई कुटपीट गर्ने योजना बनाई मकैबारीको बाटो हुँदै भेडाबारी जाने पुलमा गई निजलाई कुरी बस्यौँ । केही छिनपछि अन्दाजी ४.३० बजे निज मृतक बालकृष्ण गुरुङलाई कुटपीट गर्न थाल्यौँ । मैले आफूले बोकी ल्याएको सानो खुकुरीले प्रहार गर्दा निजको बायाँ आँखीभौँमाथि लाग्न गई बेहोस् भएपश्चात् मेरो साथी मनबहादुर भन्ने मनिष वि.क.ले ढुङ्गाले मृतक बालकृष्ण गुरुङको टाउको र शरीरको अन्य अङ्गमा प्रहार गर्दा मृतकको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी कमल कामीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
कमल कामी र म मनिष वि.क.ले रिस साध्ने इबी लिई मृतकलाई कुटपीट गरेका हौँ । कमल कामीले खुकुरी प्रहार गर्दा बालकृष्ण गुरुङ भूईंमा लडे । त्यसपछि मैले पनि लात्ती र ढुङ्गाले कुटपीट गरेपश्चात् हामी दुवैजना भाग्न सफल भयौं । वारदात भएको सोही दिन मिति २०६३।३।३२ गते दिनको अन्दाजी ४.३० बजे उपचार हुँदाहुँदै बालकृष्ण गुरुङको मृत्यु भएको हो । निजको मृत्यु हामी दुवैजनाको कुटपीटबाट भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी मनिष वि.क.ले अनुसन्धान अधिकारीसमक्ष गरेको मौकाको कागज ।
मृतक बालकृष्ण गुरुङसँग वादविवाद भएपछि हामी दुवैजना कमल कामी र म मनिष वि.क.ले मृतकलाई कुटपीट गर्ने योजना बनाई मैले राखेको सानो खुकुरी साथी कमललाई दिई हामी दुवैजना मकैबारीको बाटो हुँदै भेडावारी गाउँ जाने झोलुङ्गे पुलमा गई मृतकलाई कुरी बस्यौँ । केही छिनपछि मिति २०६३।३।३२ गते अन्दाजी ४.०० बजे निज मृतक दिसा बसेर उठी आएपछि हामीले निज मृतक बालकृष्ण गुरुङलाई कुटपीट गर्न थाल्यौँ । कुटपीट गर्ने सिलसिलामा साथी कमल कामीले खुकुरी प्रहार गर्दा बालकृष्ण गुरुङको बायाँ आँखीभौंमाथि लाग्न गै बेहोस् भई भूईंमा लड्नेवित्तिकै मैले लात्ती र ढुङ्गाले कुटपीट गर्दा निज अचेत अवस्थामा भएको देखी हामी दुवैजना वारदातस्थलबाट भाग्न सफल भएको र सोही दिन अन्दाजी ४.३० बजे मेहेलकुना बजारको रमेश पाण्डेको मेडिकलमा उपचार हुँदाहुँदै हामीहरूले कुटपीट गरेकै कारणबाट निज मृतक बालकृष्ण गुरुङको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी मनिष वि.क.को अनुसन्धान अधिकारीसमक्षको बयान ।
मिति २०६३।३।३२ गतेको दिन अन्दाजी ४.०० बजेको समयमा सुर्खेत, मेहेलकुना गाउँ विकास समिति वडा नं. २ बस्ने कमल कामी र मनबहादुर वि.क. भन्ने मनिष वि.क.ले सुर्खेत, दहचौर गाउँ विकास समिति वडा नं. ४ बस्ने बालकृष्ण गुरुङलाई धारिलो हतियार खुकुरी ढुङ्गा मुड्की लात्तीले प्रहार गरी कुटपीट गर्दा बेहोस् पारी वारदातस्थलबाट भागी गएको र वारदात निजहरूले नै घटाएका हुन् भन्ने जाहेरवाला ठमनबहादुर गुरुङ र शिवलाल पौडेलबाट सुनी थाहा पाएको हो । मृतकको प्रकृति हेर्दा बायाँ आँखीभौँमाथि काटिएको घाँटी र दुवै कानको छेउ भागमा चोट लागी सुन्निएको देखेको हुँदा निज प्रतिवादीहरूले मृतकलाई धारिलो हतियारसमेत प्रहार गरी मारेकोमा विश्वास लाग्छ भन्ने रमेश पाण्डेले गरेको कागज ।
प्रतिवादी कमल कामी र मनबहादुर कामीले मृतक बालकृष्ण गुरुङलाई रिसइबी साध्ने योजना बनाई भेडावारी गाउँ जाने भेरी पुलमा गई बाटो कुरी सुनियोजितरूपमा मार्ने उद्देश्यले मिति २०६३।३।३२ गते अन्दाजी ४.०० बजे धारिलो हतियारसमेत प्रयोग गरी कुटपीट गरी बेहोस् बनाई घटनास्थलबाट फरार भएका हुन् । बालकृष्ण गुरुङलाई उपचार गर्न जाहेरवालासमेतले मेहेलकुना बजारमा पुर्याउँदा निजको बाटोमा नै मृत्यु भएको हो । निज प्रतिवादीहरूले ज्यान मार्ने मनसायले कर्तव्य गरी मारेको भन्ने जाहेरवाला र भीमकुमारी गुरुङबाट सुनी थाहा पाएको हौँ । उक्त वारदात निज प्रतिवादीहरूले घटाएकोमा पूर्ण विश्वास लाग्छ भन्ने इन्द्रा वि.क. र अम्मरबहादुर खड्काले गरिदिएको घटना विवरण कागज ।
मिति २०६३।३।३२ गते अ.४.०० बजे मेरो दाजु र साँहिलो बुबा घर जान भनी हिंड्नु भएको र भेरी पुल नजिकै पुगेपछि दाजु दिसा बस्न भनी नजिकको झाडीभित्र पसी दिसा गर्न बसेको र साँहिलो बुबा पुलमा नै बस्दाको अवस्थामा निज प्रतिवादीहरू आई पुलमा नै बसे । दाजु आएपछि निज प्रतिवादीहरूले भेरी पुल नजिकै कुटपीट गर्न थालेकोमा प्रतिवादीमध्येका कमल कामीले धारिलो हतियार प्रयोग गरी बेहोस् बनाई भूईंमा लडाएको र अर्का प्रतिवादी मनिष वि.क.ले ढुङ्गा लात्ती मुड्कीसमेतले प्रहार गरी वारदातस्थलबाट फरार भए । वारदात लगत्तै साँहिलो बुबासमेतको सहयोगमा दाजुलाई उपचार गर्न मेहेलकुनास्थित रमेश पाण्डेको क्लिनिकमा पुर्याउँदा दाजु बालकृष्ण गुरुङको मृत्यु भएकोले मृतक दाजुलाई निज प्रतिवादीहरूले ज्यान मार्ने मनसायले नै पूर्वयोजना बनाई कर्तव्य गरी मारेको ठीक साँचो हो भन्ने भीमकुमारी गुरुङले लेखाई दिएको घटना विवरण ।
प्रतिवादी कमल कामी र मनबहादुर कामीले पूर्व रिसइबी साध्ने मनसायले ज्यानै मार्ने योजना बनाई बाटो कुरी जाहेरवालाको भतिजा बालकृष्ण गुरुङलाई धारिलो हतियार खुकुरीसमेत प्रहार गरी वारदातस्थलबाट भागेको मैले प्रत्यक्ष देखेको हुँ । सोही पीडाले गर्दा मृतकको मृत्यु भएकोले निज प्रतिवादीहरूलाई कानूनबमोजिम कडा कारवाही हुनुपर्छ भन्नेसमेत व्यहोराको रामबहादुर भन्ने शिवलाल पौडेलले लेखाई दिएको घटना विवरण ।
मृतकलाई प्रतिवादी कमल कामी र मनबहादुर भन्ने मनिष वि.क.ले धारिलो हतियार खुकुरीसमेत प्रहार गरी कर्तव्य गरी मारेको देखिँदा निज प्रतिवादी कमल कामी र मनबहादुर भन्ने मनिष वि.क.लाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कसूर अपराध गरेकाले ऐ. महलको १३(१) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग पत्र ।
जीतबहादुर गुरुङको घरमा खानपीनको क्रममा मृतक र मेराबीच तिम्रा गाउँका केटाहरूलाई मैले चिन्छु भनेपछि निज मृतकले कसकसलाई चिन्छौ भनी सोधेकाले मैले पनि आफूले चिनेका केटाहरूको नाम बताएँ । फेरि मृतकले आफ्ना गाउँका अरू केटाहरूको नाम भने मैले चिन्दिन भनेपछि मृतकले मलाई आमा चकारी गाली गरे । सोही विषयमा समातासमात भयो । त्यहाँ भएका अरू मानिसले छुट्याए र हामी दुवैजना मनिषको घरतर्फ गयौं । मृतक र जाहेरवाला घर जान भनी भेडाबारी पुलतर्फ जाँदै गरेको मनिष वि.क.ले देखी मलाई बोलाई तिनीहरू घर जान लागेकाले हामी जाऔँ भनेपछि हामी दुवैजना भेरी नदी किनारा हुँदै पुलमा पुग्यौँ । पुलमा पुगेपछि उनीहरूसँग भेट भयो र भेटपश्चात् मेरो झगडा मृतकसँग भयो । मैले मृतकलाई ढुङ्गाले बायाँ आँखामाथि निधारमा हानें रगत बग्यो । मृतक उठ्नलाग्दा मनिष वि.क.ले छातीमा हाने मैले कञ्चटमा हानें, त्यसपछि मृतक बालकृष्ण गुरुङ पल्टियो हामी भाग्यौं । मैले मृतकलाई खुकुरीले प्रहार गरेको होइन, ढुङ्गाले प्रहार गरेको हुँ । मैले निज मृतकलाई मार्ने नियतले हानेको होइन, कम सजाय हुनुपर्छ भन्ने व्यहोराको प्रतिवादी कमल कामीले शुरू अदालतमा गरेको बयान ।
मिति २०६३।३।३२ गतेका दिन म मेरो दिदीको घरमा दिदीलाई बोलाउन जानलाग्दा प्रतिवादी कमल कामी दौडदै गरेको अवस्थामा मैले देखें र जाँदै गर्दा भेडाबारी पुलको वारी मेहेलकुना गा.वि.स. वडा नं.२ मा मृतकको लास देखेँ । जाहेरवालाले खबर गरी दिनुपर्यो भने तर म खबर गर्न नगई त्यहीँबाट मेरो घर फर्किएँ । मृतकलाई मोटरसाइकलमा हाली उपचारका लागि हस्पिटलतर्फ लगे । मैले लास देख्दा ठमनबहादुर गुरुङ, शिवलाल पौडेल, साहिँला नाम गरेको माझीसमेतका मानिस थिए । कमलले मलाई माथि डाँडाबाट आइज भनी बोलाएका थिए तर म गइन । मिति २०६३।३।३२ गते मलगायत थुप्रै मानिसहरू तिखे वादीको घरमा भैँसी काटेकाले मासु ल्याई करीब २.०० बजेतिर सबै आ–आफ्नो घरतर्फ लाग्यौं म घरमै थिएँ । शङ्काकै भरमा प्रतिवादी कमल कामीले पोल गरेकै कारणबाट अन्य मानिसहरूले मसमेतलाई घटनामा संलग्न छ भनी झूठा व्यहोरा लेखाई दिएका हुन्, म निर्दोष छु । घटनामा मेरो कुनै संलग्नता नहुँदा अभियोग दावीबाट सफाई पाऊँ भन्ने व्यहोराको प्रतिवादी मनबहादुर भन्ने मनिष वि.क.ले शुरू अदालतमा गरेको बयान ।
मिति २०६३।३।३२ गते मृतक बालकृष्ण गुरुङ र म मृतककी बहिनीको घरमा भेटघाट गर्न गएकोमा निजको घरमा नास्ता खान लागेको अवस्थामा प्रतिवादीहरू कमल कामी र मनिष वि.क. पनि त्यहीँ आए । प्रतिवादीहरूले पनि नास्ता खाए । मृतक र प्रतिवादीहरूबीच झगडा भयो । म र छिमेकीहरूले उक्त झगडा छुट्यायौं । प्रतिवादीहरू आफ्नो घर गए । हामीहरू पनि केही समयपछि घरतर्फ लाग्यौं । भेरी पुल नजिकको जङ्गलमा मृतक बालकृष्ण दिसा गर्न गयो । म १५/२० मिटरअगाडि पुगेपछि एक्कासी दादा यही हो भन्ने शब्द सुनेपछि फर्की हेर्दा प्रतिवादी कमल कामीले मृतकलाई निधारमा प्रहार गरेपछि मृतक भूईंमा लड्यो । मनबहादुरले ढुङ्गाले कञ्चटमा थिच्यो । हामीहरू त्यहाँ पुग्न नपाउँदै उनीहरू भागे । शिवलाल पौडेल र मसमेत भई उपचारका लागि देउती फार्मेसीमा पुर्याएको केही समयपछि मृतकको मृत्यु भयो । प्रतिवादीहरू र मृतकका बीच पूर्व रिसइबी भए नभएको मलाई केही थाहा भएन । रक्सीकै कारण झगडा भएको हो । मृतकलाई प्रतिवादी कमल कामीले चक्कुले हानेको मैले देखेको हुँ । उनीहरू मृतकलाई हानेर भाग्न सफल भए । जीतबहादुर गुरुङको घरमा प्रतिवादीहरूले समातासमात गरेका थिए । जयबहादुर कार्कीसमेतका मानिस आई छुट्टयाएका हुन् भन्ने व्यहोराको ठमनबहादुर गुरुङले शुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६३।३।३२ गते मेरो घरमा खसी काटी रमाइलो मनाउनका लागि मेरो काका र मेरो दाजु मृतक बालकृष्ण गुरुङलाई घरमा बोलाएका थियौं । ठमनबहादुर गुरुङ र बालकृष्ण गुरुङले मेरो घरमा मासु चिउरा खान लाग्दा सोही अवस्थामा निज प्रतिवादीहरू कमल कामी र मनिष वि.क. मेरो घरमा आई जाहेरवाला र मृतक बसेको ठाउँमा बसी अनाहकमा मृतकसँग झगडा गर्न थालेपछि गाउँलेहरू समेत आई झगडा छुट्टयाए पनि निजहरू आफ्नो घरतर्फ गए । निजहरू घर गएको १५/२० मिनेटपछि मृतक दाजु बालकृष्ण र काका ठमनबहादुर मेरो घरबाट पूर्वतर्फ रहेको आफ्नो घरतर्फ लागे । त्यहाँबाट गएको १५/२० मिनेटपछि प्रतिवादी कमल कामीले चक्कुले हान्ने र प्रतिवादी मनिष वि.क.ले भूईंमा लड्दाका अवस्थामा ढुङ्गाले बालकृष्णलाई हानेपछि उपचारका लागि रमेश मेडिकलमा ल्याई पुर्याउनेवित्तिकै बालकृष्ण गुरुङको मृत्यु भएको हो भन्ने सुनेकी हुँ । घरमा प्रतिवादीहरू र मृतकका बीच झगडा भएको देखेको हुँ । वारदातस्थलमा प्रतिवादीहरूले मृतकलाई हानेको कुरा मैले सुनेको हुँ, देखेकी होइन । मृतक बालकृष्ण गुरुङको मृत्यु रमेश पाण्डेको मेडिकलमा पुर्याउँदा भएको हो भन्ने बुझिएकी मानिस भीमकुमारी गुरुङले गरेको बकपत्र ।
मिति २०६३।३।३२ गते मृतक बालकृष्ण र प्रतिवादी कमल कामीबीच जीतबहादुर गुरुङको घरमा झगडा भएको हो । उक्त झगडा मैले छुट्टयाएको हुँ । कमल कामीको कर्तव्यबाट बालकृष्ण गुरुङको मृत्यु भएको हो । घटना मैले देखिन । मृतकलाई उपचारका लागि मेडिकल ल्याउने मानिस जाहेरवालासमेतले प्रतिवादी कमल कामीले चक्कुले हानेर घाइते बनाएकाले उपचारका लागि मेडिकल ल्याएका हुन् भनेकाले थाहा पाएको हुँ । मृतकलाई मनिष वि.क.ले हानेको कुरा जाहेरवालाले मलाई भनेका थिएनन् भन्ने प्रतिवादी मनिष वि.क.का साक्षी जयबहादुर कार्कीले शुरू अदालतमा गरेको बकपत्र ।
घटना घट्दाको अवस्थामा म मेहेलकुना गा.वि.स. वडा नं.१ बजारमा थिएँ । घटनाको बारेमा मलाई केही थाहा जानकारी छैन । प्रतिवादी र मृतकका बीच घटना घट्नुअघि केही रिसइबी थियो थिएन भन्ने बारेमा मलाई केही थाहा छैन । प्रतिवादी कमल कामी र मनिष वि.क.ले मृतकसँग झगडा गरी निजलाई मारे भन्ने सुनेको हुँ । घटनामा म नभएकोले थाहा भएन भन्ने प्रतिवादी कमल कामीका साक्षी दलबहादुर कार्कीले शुरू अदालतमा गरेको बकपत्र ।
२०६३ साल असारको महिनामा भेडाबारीको पुलमा मनिष र कमल कामी गएको देखेँ । ठमन भन्ने अगाडि पुलमा गएर मनिषसँग कुराकानी चल्दै थियो । म पछाडि थिएँ । कमल कामी दौडिएर मृतक पुलतिरको बाटोतर्फ गएपछि हामी करीब २० मीटर टाढा थियौं । घटनास्थलमा कमल र मृतकको झगडा भयो । एक्कासी मृतक पल्टिएको देखी हामीहरू गयौं । मृतकलाई मेडिकलमा पुर्याउनका लागि मोटरसाइकलमा राखी मेहेलकुनातर्फ लगेका हुन् । मेहलकुना गएपछि मृतकको मृत्यु भयो भन्ने हामीले सुन्यौं । प्रतिवादीहरूले मृतकलाई ढालेपछि मनिष वि.क आफ्नो घरतर्फ लागे । कमल वि.क बोटेचौरतर्फ जाने बाटो लागे । मैले हानेको देखेको होइन । हामी जाँदा मृतक ढलेका थिए भन्ने प्रत्यक्षदर्शी शिवलाल पौडेलले शुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी कमल कामीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिमको कसूर अपराध गरेको पुष्टि हुँदा निजलाई सोही महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने र अर्का प्रतिवादी मनबहादुर भन्ने मनिष वि.क.ले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम कसूर अपराध गरेको देखिँदा निजलाई सोही महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर्छ भन्ने सुर्खेत जिल्ला अदालतको मिति २०६४।९।१६ को फैसला ।
धारिलो हतियार र ढुङ्गा जस्तो जोखिम वस्तुले प्रतिवादीहरूले मृतकलाई प्रहार गरेको तथ्य पुष्टि भइरहेको अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. आकर्षित हुने स्पष्ट हुँदाहुँदै ज्यानसम्बन्धीको १३(३) नं. बमोजिमको सजाय ठहर गरेको फैसलामा गम्भीर कानूनी त्रुटी हुँदा सुर्खेत जिल्ला अदालतको फैसला बदर गरी अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन अदालत, सुर्खेतमा परेको पुनरावेदन पत्र ।
जाहेरी दरखास्त र अदालतमा गरेको बकपत्र एकआपसमा मेल नखाएको, कसका प्रहारबाट मृतकको मृत्यु भएको फैसलामा उल्लेख नभएको, जाहेरी दरखास्त घटनास्थल मुचुल्का र शव परीक्षण प्रतिवेदन आपसमा बाझिएको अवस्थामा सुर्खेत जिल्ला अदालतले गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाऊँ भन्ने प्रतिवादी कमल कामीको पुनरावेदन अदालत, सुर्खेतमा परेको पुनरावेदन पत्र ।
सहअभियुक्तको पोलको आधारमा मात्र कसूरदार ठहराउन मिल्दैन । पूर्वाग्रह राखी जाहेरी दिएको छ । प्रत्यक्षदर्शीको बकपत्रलाई गौण मानिएको छ, तर जाहेरवालाको बकपत्रलाई प्रमाणमा लिएको मिलेको छैन । अदालतको इन्कारी बयानसमेतलाई प्रमाणमा लिनुपर्नेमा सो नगरेको सुर्खेत जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने प्रतिवादी मनिष वि.क.को पुनरावेदन अदालत, सुर्खेतमा परेको पुनरावेदन पत्र ।
यसमा वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परेको देखिँदा वादीको पुनरावेदनको प्रतिलिपि प्रतिवादीहरूलाई र प्रतिवादीहरूको पुनरावेदनको प्रतिलिपि वादीलाई उपलब्ध गराई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत, सुर्खेतको मिति २०६५।५।३१ को आदेश ।
ढुङ्गा र साधारण सानातिना हातहतियारले हानी ज्यान मरेको अवस्थामा ज्यानसम्बन्धी महलको १३(३) नं. आकर्षित हुने देखिन्छ भने प्रस्तुत मुद्दामा प्रतिवादीले सानो खुकुरी ल्याएको भनेको जाहेरवालाले चक्कुले प्रहार गरे भनेको अवस्थामा प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय गरिनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन ।
प्रतिवादी कमल कामीले आफूले मृतक बालकृष्ण गुरुङलाई खुकुरीले निधारमा हानेँ भनी अधिकारप्राप्त अधिकारीसमक्ष र ढुङ्गाले कञ्चटमा हानेको हुँ भनी अदालतमा बयान गरेको अवस्थामा निज प्रतिवादी कमल कामीले मृतकलाई ढुङ्गाले हानेकोमा कुनै विवाद नदेखिँदा कमल कामीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्याएको हदसम्म सुर्खेत जिल्ला अदालतको मिति २०६४।९।१६ को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । अर्का प्रतिवादी मनिष वि.क.को हकमा विचार गर्दा अदालतमा आरोपित कसूरमा इन्कार रहे पनि अधिकारप्राप्त अधिकारीसमक्ष आरोपित कसूरमा साबित रही बयान गरेको देखिन्छ । जाहेरवाला ठमनबहादुर गुरुङले गरेको बकपत्र र प्रहरीसमक्षको कागज आपसमा बाझेको देखिएको, प्रत्यक्षदर्शी व्यक्तिहरूको भनाई तथा सहअभियुक्तको पोलमा एकरूपता नभएकोमा सहअभियुक्तको पोलको आधारले मात्रै प्रतिवादीले आरोपित कसूर गरेको ठहराउन न्यायोचित देखिन आएन । मनिष वि.क.ले मृतकलाई कुटपीट गरेको भन्ने तथ्य ठोसरूपमा प्रमाणित हुन आएको नदेखिएको अवस्थामा घटनास्थलमा उपस्थित मात्र भएको अवस्थामा निजलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने ठहर्याएको हदसम्म शुरू सुर्खेत जिल्ला अदालतको मिति २०६४।९।१६ को फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहरी ज्यानसम्बन्धी महलको १७(३) नं.बमोजिम ३ वर्ष कैद हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, सुर्खेतको मिति २०६६।१।२७ को फैसला ।
प्रतिवादी दुवैजनाले बालकृष्णमाथि आक्रमण गरेको र पहिला कमल कामीले बालकृष्णको आँखामाथि खुकुरीले प्रहार गरेको र निज बालकृष्ण ढलेपछि प्रतिवादी मनिष वि.क.ले लात्ती तथा ढुङ्गाले कञ्चटमा प्रहार गरेको कारणबाट मृतकको मृत्यु भएको छ । कमल कामीले मृतकलाई धार भएको जोखिमी हतियार चक्कुले प्रहार गरेको अवस्थामा निजलाई ज्यानसम्बन्धीको १३(१) नं.बाट १३(३) नं. मा परिणत गर्ने गरी भएको फैसला त्रुटिपूर्ण छ । मनिष वि.क.को हकमा घटनामा सहअभियुक्त कमल कामीले मौकामा र अदालतमा समेत बयान गर्दा निजले समेत मृतकउपर ढुङ्गा र छातीमा लात्तीले प्रहार गरेको भनेको तथा निजले मृतकलाई ढुङ्गाले प्रहार गरेको प्रत्यक्ष जाहेरवालाले देखेको भनी अदालतमा समेत बकपत्र गरेको अवस्थामा त्यसलाई प्रमाणमा नलिनु त्रुटिपूर्ण हुँदा पुनरावेदन अदालतको फैसला उल्टी गरी माग दावीबमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।
रक्सी खाई मृतकसँग झगडा भएपछि सोही जरियाबाट झगडा भई आवेशमा आई ढुङ्गासम्म प्रहार गरेको कारण ज्यान मरेकोमा ज्यानसम्बन्धीको १४ नं. आकर्षित हुने हो । मार्ने उद्देश्यले प्रहार गरेको होइन । यस्तो अवस्थामा उक्त दफाको प्रयोग नभएबाट नेकाप २०४६, पृ.४९६, नेकाप २०४५, पृ.१६२ मा प्रतिपादित सिद्धान्तविपरीत हुँदा सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरिपाऊँ भन्ने कमल कामीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
यसमा वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परेको देखिएकोले वादीको पुनरावेदन प्रतिवादीलाई र प्रतिवादीको पुनरावेदन वादीलाई सुनाई प्रतिवादी मनबहादुर भन्ने मनिष वि.क.लाई समेत अ.बं. २०२ नं. को प्रयोजनार्थ झिकाई आएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६९।२।२४ को आदेश ।
नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट विद्वान सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी र प्रतिवादीहरूमध्ये कमल कामीको तर्फबाट विद्वान अधिवक्ता श्री विष्णुप्रसाद खनालले प्रस्तुत गर्नुभएको बहससमेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, सुर्खेतको फैसला मिलेको छ छैन सोही विषयमा निर्णय दिनुपर्ने देखिंन आयो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी कमल कामी र मनबहादुर भन्ने मनिष वि.क.ले मृतकलाई धारिलो हतियार खुकुरीसमेत प्रहार गरी कर्तव्य गरी मारेको हुँदा निज प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग माग दावी भएकोमा प्रतिवादी कमल कामीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने र अर्का प्रतिवादी मनबहादुर भन्ने मनिष वि.क.लाई जन्मकैदको सजाय हुने ठहर गरेको सुर्खेत जिल्ला अदालतको फैसला केही उल्टी गरी प्रतिवादी कमल कामीको हकमा शुरू सदर हुने र प्रतिवादी मनिष वि.क.को हकमा केही उल्टी हुने ठहर गरी ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम ३ वर्ष कैद सजाय हुने ठहर गरेको पुनरावेदन अदालत, सुर्खेतको फैसलाउपर वादी नेपाल सरकारको र प्रतिवादीमध्ये कमल कामीको पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको पाइयो ।
३. यसमा मिति २०६३।३।३२ गते अन्दाजी ४.०० बजे सुर्खेत जिल्ला, मेहेलकुना गाउँ विकास समिति वडा नं. २ को भेरी नजिक कमल कामीले बालकृष्ण गुरुङलाई चक्कुले निधारमा तथा मनबहादुर भन्ने मनिष वि.क.ले ढुङ्गाले कञ्चटमा प्रहार गरी कर्तव्य गरी मारेको भनी यी प्रतिवादीहरूउपर किटानी जाहेरी परेको छ । प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय गरिपाउन अभियोग माग दावी भएकोमा प्रतिवादी कमल कामीलाई ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम र मनिष वि.क.लाई ज्यानसम्बन्धी महलको १७(३) नं.बमोजिम सजाय हुने ठहर गरी पुनरावेदन अदालत, सुर्खेतबाट फैसला भएको देखिन्छ । अब, उक्त फैसला मिलेको छ छैन, वादी नेपाल सरकार तथा प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो होइन भन्ने विषयमा निर्णय दिनु परेको छ ।
४. रक्सी खाई मृतकसँग झगडा भएपछि सोही जरियाबाट आवेशमा आई ढुङ्गासम्म प्रहार गरेको कारण ज्यान मरेकोमा ज्यानसम्बन्धीको १४ नं. आकर्षित हुनुपर्ने भन्ने प्रतिवादी कमल कामीको तथा दावी परिवर्तन गरी सजाय हुने ठहर गरेकोमा वादी नेपाल सरकारको पुनरावेदन जिकीर रहेको हुँदा सोही विषयको निरूपण गर्नुपर्ने देखियो ।
५. बालकृष्ण गुरुङको मृत्युको कारणमा “Death is due to this case primarily resulted from asphyxia and associated is head injury” भन्ने शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको र यी प्रतिवादी आरोपित कसूरमा अनुसन्धान अधिकारी र अदालतमा समेत साबित रहेको र यस अदालतमा गरेको पुनरावेदन जिकीरमा ज्यानसम्बन्धीको १४ नं. को उल्लेख गरेबाट प्रतिवादीले प्रहार गरेको चोटको कारणबाट बालकृष्ण गुरुङको मृत्यु भएको तथ्यमा विवाद भएन । उक्त वारदात घटाउनमा यी प्रतिवादीहरूको के कस्तो भूमिका र संलग्ता छ भन्नेतर्फ विचार गर्दा प्रतिवादीहरूमध्ये कमल कामीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा आफू र मनिष वि.क. मासु रक्सी खाँदै रहेको अवस्थामा मृतकसँग विवाद भएकै कारण रिसइबी साध्ने इरादा राखी मिति २०६३।३।३२ गते ४.०० बजे कुटपीट गरी सानो खुकुरीले प्रहार गर्दा निजको बायाँ आँखीभौँमाथि लाग्न गई निज बेहोस् भई भूईंमा लडेपछि मनिष वि.क.र आफू वारदातस्थलबाट भागेको भन्ने उल्लेख गरेको देखिन्छ । त्यसै गरी अर्का प्रतिवादी मनिष वि.क.ले गरेको बयानमा मृतक बालकृष्ण गुरुङलाई कुटपीट गर्ने सिलसिलामा कमल कामीले खुकुरी प्रहार गर्दा बालकृष्ण गुरुङको वायाँ आँखीभौँमाथि लाग्न गै बेहोस् भई भूईंमा लड्नेवित्तिकै आफूले लात्ती र ढुङ्गाले कुटपीट गरेको भनी उल्लेख गरेको पाइन्छ ।
६. प्रतिवादीमध्ये मनिष वि.क अदालतमा आरोपित कसूरमा इन्कार रहे पनि प्रतिवादी कमल कामीले मनिष वि.क.को समेत वारदातमा संलग्नता देखाई आफूले मृतकलाई ढुङ्गाले बायाँ आँखामाथि निधारमा तथा कञ्चटमा हानेको र मनिष वि.क.ले छातीमा हानेको भनी बयान गरेको देखिन्छ । जाहेरवाला ठमनबहादुर गुरुङको किटानी जाहेरी र सो मिलान हुने गरी अदालतमा गरेको बकपत्र, मौकामा कागज गर्ने व्यक्तिहरू रमेश पाण्डे, इन्द्रा वि.क., अम्मरबहादुर खड्का, भीमकुमारी गुरुङ, शिवलाल पौडेलले मौकामा कागज गर्दा यिनै प्रतिवादीहरूको कर्तव्यबाट मृतकको मृत्यु भएको भनी कागज गर्नुको अतिरिक्त कागज गर्ने ती व्यक्तिहरूमध्ये भीमकुमारी गुरुङ र शिवलाल पौडेलले अदालतमा आई आफ्नो पूर्व भनाईलाई समर्थन गरी बकपत्र गरेको समेतबाट यी प्रतिवादीहरूकै कर्तव्यबाट बालकृष्ण गुरुङको मृत्यु भएको तथ्य स्थापित भएको तथा निजहरूले अधिकारप्राप्त अधिकारिसमक्ष गरेको बयान समर्थित हुन आएको छ ।
७. अब, यी प्रतिवादी कमल कामीले जिकीर लिएबमोजिम निजको हकमा ज्यानसम्बन्धीको १४ नं. आकर्षित हुन सक्ने अवस्था छ छैन भन्नेतर्फ विचार गर्दा ज्यानसम्बन्धीको १४ नं. मा भएको कानूनी व्यवस्था हेर्दा “ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्ने सम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात मुक्का इत्यादि हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा” भन्ने उल्लेख छ । आवेशप्रेरित हत्याको प्रकृतिभित्र पर्न आउँछ । उक्त कानूनी व्यवस्थाअनुसार आवेशप्रेरित हत्या ठहर हुनको लागि देहायका तत्वको विद्यमानता हुनु आवश्यक हुन्छ ः–
(क) ज्यान लिने मनसाय र इबी नरहेको,
(ख) कुनै विषयमा दुई पक्षबीच तत्काल विवादको सिर्जना भई सोको परिणाम एक पक्षको मृत्यु भएको हुनुपर्यो,
(ग) जोखिमी हतियारको प्रयोग हुनु भएन, र
(घ) साधारण लाठा ढुङ्गा प्रयोग भएको हुनुपर्यो ।
८. आवेशप्रेरित हत्यामा पूर्व रिस, इबी र मनसायको सर्वथा अभाव रहेको हुन्छ । तत्काल सिर्जना भएको रिस र आवेगलाई नियन्त्रण गर्न नसकी आत्मनियन्त्रण गुमाउँदाको परिणतिबाट निस्केको परिणाम हो । यसमा दोषी मनोभावना नहुँदानहुँदै पनि तत्काल उठेको आवेगलाई व्यक्तिले नियन्त्रण गर्न नसक्दाको परिणाम कसैको ज्यानसम्म जान सक्छ । अब, यी प्रतिवादीको कार्य उक्त कानूनले व्यवस्था गरेको सीमाभित्र छ छैन र उक्त तत्वहरूको विद्यमानता छ छैन सो विचारणीय छ ।
९. प्रतिवादी कमल कामीको बयान हेर्दा यी प्रतिवादी कमल कामी र निजको साथी मनिष वि.क. ले मासु रक्सी खाँदैरहेको अवस्थामा मृतकसँग भेट भई चिनजानकै क्रममा विवाद भएकै कारण मृतकलाई रिसइबी साध्ने मनस्थिति भएकाले निज र निजको साथी मनिष वि.क. विवाद भएको ठाउँबाट मनिष वि.क.को घरमा गै यी मृतकलाई कुटपीट गर्ने योजना बनाई घरबाट फर्की भेरी नदीको झोलुङ्गे पुलमा गै बाटो ढुकी बसी कुटपीट गरी मारेको स्थिति छ । प्रस्तुत वारदातको समग्र प्रकृतिको सूक्ष्म मनन गरी हेर्दा जुन अवस्थामा यी प्रतिवादीहरूको मृतकसँग विवाद सिर्जना भएको थियो सोही बखत तत्काल वारदात भएको छैन । पहिला सामान्य विवाद भए पनि सोही विवादलाई जरिया बनाई समयको अन्तरालपछि योजनाका साथ मृतक हिँड्ने बाटोमा लुकी छिपी बसी आक्रमण गरिएको छ । विवाद भएको ठाउँबाट यी प्रतिवादीहरू आफ्नो घर गई रिसइबी साध्ने मनस्थितिका साथ आई घटना घटाएको स्थिति हुँदा यहाँ तत्कालको आवेगमा घटना हुन पुगेको भन्ने देखिँदैन । विवाद भएको तात्कालिक समयमा घटना भएको छैन । विवाद सिर्जना भएको समय र वारदातको समयको अन्तराल लामो छ भने यस्तो अवस्थामा क्षणिक क्षति हुने वा आत्मनियन्त्रण गुम्न जाने स्थिति हुँदैन । आत्मनियन्त्रण गुमेको समयमा नै घटनाले पूर्णता पाइसकेको अवस्थामा प्रतिवादीले केही विचार नै गर्न पाएको हुँदैन । तर, प्रस्तुत विवादमा मिति २०६३।३।३२ गते बिहान अ. १०.०० बजे जिल्ला सुर्खेत, मेहेलकुना गाउँ विकास समिति वडा नं. २ भेरी पुल बजारस्थित भीमकुमारी गुरुङको घरमा दुई पक्षबीच विवाद सिर्जना भएको र वारदात सोही दिनको ४.०० बजे घटेको हुँदा तत्काल विवाद सिर्जना भई उक्त घटना घटेको अवस्था नहुँदा निज प्रतिवादीले आत्मनियन्त्रण गुमाउँदा उक्त घटना घटेको भनी मान्न मिलेन । ज्यानसम्बन्धी महलको १४ नं.मा “उसै मौकामा उठेको रिस थाम्न नसकेको” भन्ने शब्दावलीले समयको तत्वलाई इङ्गित गर्दछ । बिहान १० बजे उठेको रिसको परिणति अपरान्ह ४ बजे हुने क्रियालाई ज्यानसम्बन्धीको १४ नं. ले सम्बोधन गरेको मान्न मिल्दैन । समयको अन्तरालमा रिस शिथिल हुने, अपराध गर्न नहुने कुरामा सचेतता बढ्ने स्थिति हुन्छ । रिस उठेको तत्काल गरिने कार्यमा व्यक्तिले सोच्न नभ्याउने कुनै योजना बनाउन नभ्याउने स्थिति महसुस गरी यस्तो अवस्थामा हुने ज्यानसम्बन्धी अपराधको सजायमा १० वर्ष मात्र कैदको सहुलियतपूर्ण व्यवस्था गरेको हो । तसर्थ ज्यानसम्बन्धी १४ नं. को प्रयोग गर्नु पर्दा न्यायकर्ताले थाम्न नसकिने प्रकृतिको रिस उठेको समय र कसूर सम्पन्न भएको समयको अन्तरालको पक्षमा विचार गर्नैपर्ने हुन्छ ।
१०. आवेशप्रेरित हत्याको सम्बन्धमा सर्वोच्च अदालतबाट प्रतिपादन भएका सिद्धान्तहरू उल्लेख हुनु सान्दर्भिक छ । “टाउको जस्तो संवेदनशील भागमा पटकपटक प्रहार गरेको देखिँदा निज प्रतिवादीको मृतकलाई मार्ने मनसाय थिएन भन्न सकिने अवस्था नरहने । चोट एकपटक मात्र नभै धेरै पटक हुनुको साथै शरीरको अन्य भागमा नीलडामसमेतका चोटहरू देखिएको हुँदा प्रतिवादीले आवेशमा आई प्रहार गरेको भनी ज्यानसम्बन्धी महलको १४ नं. आकर्षित हुने अवस्था नदेखिने” भनी नेकाप २०५९, कात्तिक, मङिसर, नि.नं. ७११८, पृष्ठ ५०१ मा सिद्घान्त प्रतिपादन भएको छ ।
यसैगरी नेकाप २०६६, असोज, नि.नं. ८१६७, पृ. ९४० मा आवेशप्रेरित हत्याका तत्वहरूको बारेमा व्याख्या गर्दै सर्वोच्च अदालतले भनेको छ – “आवेशप्रेरित हत्या प्रतिवादीले आफूले आफैलाई नियन्त्रण गर्न नसकी उत्तेजित भै आफ्नो कर्तव्यबाट हुने परिणामको ख्यालै नगरी पीडितउपर आक्रमण गर्दा त्यो आक्रमणको कारणबाट पीडितको मृत्यु भएको अवस्था हो । तथापि प्रतिवादीलाई उत्तेजित पार्ने काम पीडित अर्थात् मृतकबाटै हुनुपर्ने ।
११. पीडितको कारणबाट उत्पन्न हुने आवेशको अवस्था त्यो हदसम्मको हुनुपर्ने मानिन्छ, जुन अवस्थामा सामान्य सुझबुझ भएको मानिस (Reasonable Person) समेत उत्तेजित हुन्छ र आफ्नो उत्तेजित अवस्थालाई नियन्त्रण गर्न सकिरहेको हुँदैन । यस्तो उत्तेजना पीडितको क्रियाकलापबाट अचानक (Sudden) उत्पन्न भई प्रतिवादीले त्यसको आवेशले क्षणिकरूपमा (Temporarily) आत्मनियन्त्रण गुमाएको हुनुपर्ने ।
१२. आत्मनियन्त्रण गुमाउने अवस्था थियो थिएन भन्ने कुरा गणितीय हिसाबमा आंकलन गर्न नसकिए पनि यो कुनै घटना, परिस्थिति तथा मानवीय संवेदनशीलता जस्ता कुरामा भर पर्ने हुन्छ । यस्तो आवेशको अवस्था हुन प्रतिवादीले आफैंले केही कुरा गरी पीडितबाट आफूलाई उत्तेजित पार्ने कार्य (Self–induce Provocation) गरेको भन्ने हुन नहुनुका साथै पीडितको क्रियाकलापबाट उत्तेजित भए पनि त्यो उत्तेजना शान्त भएको (Cooling of Blood) अवस्थाले पनि आवेशको स्थितिलाई बर्जित गर्ने ।
१३. अतः मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. को कानूनी व्यवस्था तथा आवेशप्रेरित हत्याको सम्बन्धमा सर्वोच्च अदालतबाट प्रतिपादित उपरोक्त नजीर सिद्धान्तसमेतको पृष्ठभूमिमा हेर्दा प्रतिवादीहरूको मृतकसँग विवाद सिर्जना भएको सोही बखत तत्काल वारदात नघटाई सोही विवादलाई जरिया बनाई धेरै समयको अन्तरालपछि योजनाका साथ मृतक हिड्ने बाटोमा लुकीछिपी बसी आक्रमण गरी कुटपीट गरी मारेको हुँदा निज यी पुनरावेदक प्रतिवादीसमेतले मृतकलाई मार्ने मनसाय थिएन भनी भन्न सकिने अवस्था रहेन ।
१४. आवेशप्रेरित हत्याको लागि नभई नहुने आवश्यक तत्वहरू अर्थात् उपरोक्त अवस्थाहरू प्रस्तुत मुद्दामा विद्यमान नदेखिएकोले पनि प्रस्तुत घटना आवेशप्रेरित हो भनी मान्न सकिने अवस्था नहुँदा निज प्रतिवादी कमल कामीको पुनरावेदन जिकीर पुग्न सक्ने देखिएन । निज प्रतिवादी कमल कामीको हकमा ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर गरेको सो हदसम्म पुनरावेदन अदालतको फैसला मिलेकै देखिन आयो ।
१५. अब, मनिष वि.क.को हकमा विचार गर्दा मनिष वि.क.लाई ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम सजाय हुने ठहर गरेको पुनरावेदन अदालत, सुर्खेतको फैसला मिलेको छैन भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर रहेतर्फ विचार गर्दा माथि विवेचित तथ्यबाट यी प्रतिवादी मनिष वि.क. समेतको संलग्नतामा उक्त वारदात घटेको भनी विवेचना भइसकेको छ । निजले अदालतमा गरेको बयानमा प्रतिवादीले गरेको पोलमा समेत असहमति प्रकट गर्दै आरोपित कसूरमा इन्कार रही बयान गरेता पनि यिनै प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा बालकृष्ण गुरुङलाई कुटपीट गर्ने सिलसिलामा कमल कामीले खुकुरी प्रहार गर्दा बालकृष्ण गुरुङको बायाँ आँखीभौँमाथि लाग्न गै बेहोस् भई भूईंमा लड्नेवित्तिकै आफूले लात्ती र ढुङ्गाले कुटपीट गरेको भनी उल्लेख गरेको र सहप्रतिवादी कमल कामीले यी प्रतिवादीको सक्रिय संलग्नता देखाई पोल गरी दुवैको बयान नबाझिई एकापसमा मेल खान आएको छ । सो तथ्य शव परीक्षण प्रतिवेदन, प्रत्यक्षदर्शी जाहेरवालाको भनाई र मौकामा कागज गर्ने व्यक्तिहरूले गरेको कागज एबं बकपत्रसमेतबाट पुष्टि हुन आएको छ ।
१६. ज्यानसम्बन्धीको १७ नं.को प्रयोग हुन अभियुक्तको कार्य मुख्य भई बचन नदिएको, हातहतियार पनि नछाडेको र मृतकको जीउमा पनि नछोएको पूर्वावस्था देखिनुपर्दछ । मृतकको जीउमा छुने भन्नुको तात्पर्य मृतकलाई कुनै पनि किसिमले प्रहार नगरेको अवस्था हो । मूलतः ज्यानसम्बन्धीको १७ नं. ज्यान मार्ने मूल अपराधमा स्वयं प्रत्यक्ष सरिक नभई सहयोगीको भूमिका निभाउनेका लागि सजाय गर्ने कानून हो । मृतकको जीउमा छुने व्यक्तिलाई यस कानूनले सहयोगीमात्र मानेको छैन । ज्यानसम्बन्धी महलको १७ नं.द्वारा वर्णित सहयोगीका विविधरूपमध्ये देहाय (३) नं.को व्यवस्था भनेको मत सल्लाहमा पसेको, तर मर्ने ठाउँमा गई अरू कुरा केही नगरी हेरिरहने आरोपीका हकमा सम्म सो लागू हुने हो, तर यी प्रतिवादी मनिष वि.क समेत भई मार्ने मनसायका साथ योजना बनाएको, सोही योजनालाई साकार रूप दिन मृतक आउने बाटो ढुकी बसेको, मृतकलाई पहिला कमल कामीले प्रहार गरी निज भूईंमा अचेत अवस्थामा लड्न पुगेपश्चात् यी प्रतिवादी मनिष वि.क.ले मृतकको छाती तथा टाउकोमा ढुङ्गा र लात्तीसमेतले प्रहार गरेको अर्थात् मृतकको जीउमा छोएको भनी निजैले गरेको बयानबाट खुलेको अवस्थामा निजको वारदातस्थलमा उपस्थितसम्म भएको अर्थ गरी निजलाई ज्यानसम्बन्धी महलको १७(३) नं.बमोजिम सजाय हुने ठहर गरेको पुनरावेदन अदालतको फैसला सोहदसम्म मिलेको देखिएन । निजको उक्त कार्य ज्यानसम्बन्धीको १३(४) नं.ले परिभाषित गरेको कसूरभित्रको देखिँदा पुनरावेदन अदालतको फैसला केही उल्टी भई प्रतिवादी मनिष वि.क.लाई ज्यानसम्बन्धीको १३(४) नंं. बमोजिम जन्मकैदको सजाय हुने ठहर्छ ।
१७. अब, दुवै प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर रहेतर्फ विचार गर्दा प्रस्तुत वारदातमा जोखिमी हतियार प्रयोग भएको नदेखिएको चक्कु प्रहार भएको भनी जाहेरवालाले उल्लेख गरेपनि सो बरामद हुन नसकेको तर मृतकलाई मार्ने योजनाका साथ बाटो ढुकी बसी ढुङ्गा तथा लात मुक्काले प्रहार गरी मृतकलाई मारेको पुष्टि हुन आएको छ । वादी नेपाल सरकारले पुनरावेदन जिकीर एवं दावी लिएबमोजिम जोखिमी हतियार भने प्रयोग भएको नदेखिएबाट प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सजाय हुनुपर्ने भन्ने सो हदसम्मको पुनरावेदन जिकीर मनासिब देखिएन ।
१८. अतः माथि विवेचित आधार प्रमाणबाट प्रतिवादी कमल कामीका हकमा निजलाई ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर गरेको शुरू सुर्खेत जिल्ला अदालतको मिति २०६४।९।१६ को फैसला सो हदसम्म सदर गरेको पुनरावेदन अदालत, सुर्खेतको मिति २०६६।१।२७ को फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ । अर्का प्रतिवादी मनिष वि.क.का हकमा शुरू सुर्खेत जिल्ला अदालतको फैसला केही उल्टी गरी निजलाई ज्यानसम्बन्धी महलको १७(३) नं.बमोजिम सजाय हुने ठहर गरेको सो हदसम्म फैसला मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादी मनिष वि.क.लाई ज्यानसम्बन्धी महलको १३(४) नं.बमोजिम जन्मकैदको सजाय हुने ठहर्छ । ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम हुनुपर्ने भन्ने प्रतिवादी कमल कामीको तथा ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सजाय हुनुपर्ने भन्ने सो हदसम्मको वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरूमा तपसीलबमोजिम गर्नू ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, सुर्खेतको मिति २०६६।१।२७ को फैसला केही उल्टी भई प्रतिवादी कमल कामीका हकमा निजलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय हुने ठहर गरेको सो हदसम्मको फैसला सदर भई प्रतिवादी मनबहादुर भन्ने मनिष वि.क.को हकमा केही उल्टी भई निजलाई ज्यानसम्बन्धी महलको १३(४) नं.बमोजिम जन्मकैदको सजाय हुने ठहरी फैसला भएकोले कमल कामीको हकमा शुरू सुर्खेत जिल्ला अदालतले फैसलाको तपसील खण्डको प्रकरण १ मा राखेको लगतबमोजिम नै गर्नु भनी तथा प्रतिवादी मनबहादुर भन्ने मनिष वि.क.का हकमा निज २०६३।४।११ देखि थुनामा रही पुनरावेदन अदालत, सुर्खेतको मिति २०६६।१।२७ को फैसलाअनुसार मिति २०६६।४।१० मा कैदबाट छुटी गएको देखिँदा निज थुना तथा कैदमा बसेको अवधि ३ वर्ष (तीन वर्ष) कैद कट्टा गरी असूल गर्नुपर्ने बाँकी कैद वर्ष १७ (सत्र) निज बेरूजु हुँदा लगत कसी असूलउपर गर्नु भनी शुरू सुर्खेत जिल्ला अदालतमा लगत दिनू..........१
फैसलाको जानकारी प्रतिवादी कमल कामीलाई सम्बन्धित कारागार कार्यालयमार्फत दिई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाईदिनू .........२
उक्त रायमा सहमत छु ।
न्या.ज्ञानेन्द्रबहादुर कार्की
इति संवत् २०७० साल जेठ २९ गते रोज ४ शुभम––
इजलास अधिकृत :– दीपक ढकाल