निर्णय नं. ७४३८ - आ.व. २०४४।०४५ को आयकर ।

निर्णय नं.७४३८ ने.का.प.२०६१ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित
सम्वत् २०५५ सालको दे.पु.नं. ४२४३
फैसला मितिः २०६१।२।७।५
मुद्दाः– आ.व. २०४४।०४५ को आयकर ।
पुनरावेदक
वादीः कर कार्यालय नेपालगंजकोतर्फवाट प्रमुख कर अधिकृत
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः कृष्ण ट्रेडिङ्ग कन्सर्न नेपालगंजका साझेदार बांके जिल्ला नेपालगंज नगरपालिका वडा नं. १४ वस्ने भगवति देवी अग्रवालको मु.स. गर्ने कृष्ण गोपाल अग्रवाल
§ आयकर ऐन, २०३१ को दफा ५८ को देहाय खण्ड (ख) मा दफा ४९ को उपदफा (५) वमोजिम श्री ५ को सरकारले तोकेको तरीका र भाषामा नराखेको लेखा मान्य नहुने भन्ने कानूनी प्रावधान रहेको देखिन्छ । सो दफा ४९(५) वमोजिम लेखा राख्ने तरिका र भाषा तोकी श्री ५ को सरकारले नेपाल राजपत्रमा मिति २०३५।५।२० मा सूचना प्रकाशित गरी तोकी सकेको अवस्थामा करदाताले परम्परादेखी चलिआएको मौखिक कारोवार गरेकोले तोके वमोजिमको लेखा नराखेको वा विल भर्पाई नभएको भन्ने आधारमा राज्यले निर्धारण गरेको कानून वमोजिम लेखा राख्ने दायीत्ववाट विपक्षी करदाताले उन्मुक्ति पाउँछ भन्न नमिल्ने ।
§ ऐनको दफा ५८ क संशोधन हुनुपूर्वको लेखालाई मान्यता दिएको भन्ने आधारमा ऐनको संशोधन पछिको आ.व. को सम्वन्धमा पनि सोही वमोजिम मान्यता दिनुपर्ने भन्न नमिल्ने ।
§ आयकर ऐन, २०३१ को दफा ५८क संशोधन भैसकेपछि श्री ५ को सरकारले तोकेको तरिका भाषामा लेखा राख्ने कानूनी दायित्व विपक्षी करदाताकै हुने भएकोले त्यस्तो कानूनी दायीत्व पुरा नगर्ने व्यक्तिलाई राज्यले कुनै सुविधा प्रदान गर्न मिल्ने नहुँदा कानून वमोजिम नराखेको लेखालाई मान्यता नदी ऐनको दफा ३३ (२) वमोजिमको प्रक्रिया अपनाई खुद आय कायम गरि गरेको कर निर्धारण आदेशमा राजश्व न्यायाधिकरणले करदाताले पेश गरेको लेखालाई मान्यता दिई ऐन संशोधन पूर्व ०३१।०३२ सालको आयकर निर्धारणलाई आधारमानी भएको राजश्व न्यायाधिकरणको फैसला उक्त सम्सोधीत कानूनको वेवास्ता गरी भएको देखिंदा त्रुटीपूर्ण देखिने ।
पुनरावेदक वादीतर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री पुष्पराज कोइराला
प्रत्यर्थी प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री नारायण नेपाल
अवलम्वित नजिरः
फैसला
न्या.केदारप्रसाद गिरीः राजश्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८(ख) वमोजिम पुनरावेदनको अनुमति प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-
२. आ.व. २०४४।०४५ मा बार्षिक प्राप्त भएको कुल आयको रकममा खर्च कट्टा गरि खुद आय रु. ५४,३६४।३२ भएको थियो भन्ने भगवती देवी अग्रवालले कर कार्यालय, नेपालगंजमा दाखिल गरेको आय विवरण ।
३. आ.व. ०४४।०४५ को आय विवरणमा उल्लेखित आम्दानी अर्चको पुष्टिको लागि लेखा हिसाव किताव विल भौचर रसिद भरपाइ आदि लिई उपस्थित भएको भन्ने कृष्ण गोपाल अग्रवालले कर कार्यालय, नेपालगंजमा दिएको निवेदन ।
४. कारोवारको अनुपातमा काम गर्ने कर्मचारीलाई दिएको खर्च, टेलिफोन खर्च, विजुली खर्च र उपकार धर्म कार्यको लागि दिएको सहायता खर्च कारोवारको सिलसिलामा आउने जाने मानिसहरुलाई खुवाएको खर्च, आगन्तुकलाई वस्न वनाएको ठाउंको तन्ना फाटेकोले अर्को नयां तन्ना राखेको खर्चपाउनु पर्छ । यस आ.व. मा ध्यू र जडिबुटी मात्रको कारोवार गरेको थियौं विदेशी पाटीको लागि किनेको सामानमा मैले किनी दिएको मानिसले किनेको मोलमा १ प्रतिशत र सो सामान मेरो नामवाट विदेशी पार्टीलाई पठाई दिए वापत २ प्रतिशत कमिशन दिने गरेको थियो भन्ने कृष्ण गोपाल अग्रवालले कर कार्यालय नेपालगंजमा गरेको वयान ।
५. ०४६।३।११ गते उपस्थित भई वयान गरिसकेको छु फर्मले पेश गरेको लेखाको आधारमा कर निर्धारण गरि पाउं भन्ने कृष्ण गोपाल अग्रवालले ०४६।३।१८ मा दिएको निवेदन ।
६. प्रस्तुत करदाताले यस आ.व. मा ध्यू र टिन गरि जम्मा रु.४८,२१,४१५।– सुठो रु.१४,७४,२७८।६० (चौध लाख चौहत्तर हजार दुई सय अठत्तर पैसा साठी) र स्थानीय बजारमा ध्यू जडिबुटी सुठो टिन समेत गरि रु.५,००,०००।– समेत रु. ६७,९५,६९३।६० जतिको कारोवार गरेको होला सो मध्ये ध्यू र टीन सुठो गरि रु. ३१,४७,८४६।५० को कमिशनमा र सो मध्ये रु.३१,४७,८४६।५० को निजीमा कारोवार गरि निकासी गरेको र ध्यू सूठो टिन समेत जडिबुटी समेत रु. २,५०,०००।– लाई कमिशनमा र रु. २,५०,०००।– लाई स्थानीय बिक्री गरेको होला भन्ने कर निरीक्षकले मिति २०४६।३।११ गतेमा गरेको प्रतिवेदन ।
७. आ.व. ०४४।०४५ मा खुद आय रु.३,००,८०६।२० कायम गर्ने गरि कर कार्यालय, नेपालगंजबाट खडा भएको निर्णय पर्चा र आयकर निर्धारण आदेश ।
८. कर कार्यालय, नेपालगंजको निर्णय पर्चा र आयकर निर्धारण आदेश कानूनी त्रुटीपूर्ण हुंदा वदर गरि खर्च कटाई खुद आय रु. ५४,३६४।३२ कायम गर्ने गरि हक इन्साफ गरि पाउं भन्ने भगवती देवी अग्रवाल समेतले यस राजश्व न्यायाधिकरणमा दिएको पुनरावेदन पत्र ।
९. पुनरावेदक भगवती देवी अग्रवाल मिति २०४७।९।२१ मा प्रलोक हुनु भएकोले निजको हकमा मुद्दा सकार गरि पाउं भन्ने कृष्ण गोपाल अग्रवालले निवेदन दिई मुद्दा सकार गरेको, पुनरावेदक आयकर दाताले फर्मले कमिशन एजेन्टको रुपमा कारोवार गरेको कुरामा विवाद छैन । यही फर्मको आजै पेशी रहेको लगाउको ०२९।०३० र ०३१।३२ सालको मुद्दा हेर्दा कर कार्यालय, नेपालगंजवाट आ.व. ०३१।०३२ मा रु.३७,६०,६०८।– को कारोवारमा सोको कर निर्धारण गर्दा मिति ०४१।५।३१ को निर्णय अनुसार रु.८५,०००।– खुद आय कायम भई सोमा पुनरावेदनमा गई म.प.क्षेत्रीय अदालतवाट फर्मले राखेको लेखालाई मान्यता दिने निर्णय मिति २०४०।२।३ मा भएकोमा राजश्व न्यायाधिकरणवाट उक्त वमोजिम गर्न मिति २०४५।९।२६ को निर्णय अनुसार कर कार्यालय, नेपालगंजवाट पुनः मिति ०४६।११।१५ मा कर निर्धारण गर्दा रु.४०,१६३।२८ खद आय कायम भएको देखिन्छ । उक्त निर्णय उपर निज फर्मले पुनः राजश्व न्यायाधिकरणमा पुनरावेदन दिंदा मिति ०५२।११।१४ को निर्णय अनुसार कर कार्यालय, नेपालगंजको मिति ०४६।११।१५ को निर्णय नै शुरु सदर भएको छ । आ.व. ०२९।०३० र ०३१।०३२ को विवादित आ.व.हरुमा प्रस्तुत फर्मले राखेको ०३१।०३२ को लेखालाई मान्यता दिई कर निर्धारण समेत भइसकेकोले सोही वमोजिमको हिसाव कितावलाई मान्यता दिनु नपर्ने कुराको कुनै कारण र औचित्य छैन । ०३९।०४० आ.व. को यसै फर्मको आयकरको लगाउको मुद्दामा व्यक्त आधार पनि प्रस्तुत मुद्दामा सान्दर्भिक छ । ०४४।०४५ मा निज फर्मले कमिशन एजेन्टकै रुपमा निकासी गरेको रकम मध्ये आधालाई आढत भएको मानी र आधालाई निजी कारोवार भएको मानी खुद आय कायम गर्ने गरेको पाइन्छ । पुनरावेदक फर्मले निजी तौरमा कारोवार गर्न फर्मको रुपमा दर्ता नभै कमिशन एजेन्टको काम गर्ने रहेको देखिन आउंदा त्यस्तो अवस्थामा अनुमानको भरमा निजी र स्थानीय कारोवार पनि गरेको भन्न मनासिव नहुंदा फर्मले राखेको लेखा र कर कार्यालयको तथ्यांक अनुसारको कारोवार अंक ६२,९५,६९३।६० मा ३ प्रतिशतले हुन आउने रु. १,८८,८७०।८० खुद आय कायम हुने ठहर्छ भन्ने समेतको राजश्व न्यायाधिकरण नेपालगंजको मिति २०५२।११।१४ को फैसला ।
१०. आयकर ऐन, २०३१ को (संसोधन सहितको दफा ४९(५) ले उद्योग व्यापार पेशा व्यवसायको आय प्राप्त गर्ने व्यक्तिले आय व्ययको लेखा श्री ५ को सरकारले तोकेको तरिका र भाषामा राख्नु पर्ने व्यवस्था गरेको छ । सो वमोजिमको तरिका र भाषा श्री ५ को सरकारले मिति २०३५।५।२० को राजपत्रमा प्रकाशित गरी तोकी सकेको अवस्थामा सो वमोजिम नराखेको लेखा लाई मान्यता दिन मिल्दैन । सो तरिका र भाषामा नराखेको लेखा सोही ऐनको दफा ५८ ख वमोजिम अमान्य हुने कानूनी व्यवस्था भएकोमा राजश्व न्यायाधिकरणवाट ऐन संशोधन हुनुपूर्वको आ.व. २०३१।०३२ को लेखालाई मान्यता दिएकोले पछिको लेखालाई पनि मान्यता दिनुपर्ने भन्ने आधारमा शुरुको निर्णय उल्टी गरि कर निर्धारण गर्ने गरेको राजश्व न्यायाधिकरणको फैसला त्रुटीपूर्ण हुंदा राजश्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८(ख) र (ग) वमोजिम पुनरावेदनको अनुमति पाउं भन्ने समेतको यस अदालतमा परेको पुनरावेदन पत्र ।
११. प्रत्यर्थी कृष्णा ट्रेडिङ कन्सर्नले श्री ५ को सरकारले तोको दिएको तरिकामा लेखा नराखेको भनि कर कार्यालय नेपालगंजवाट निर्णय भएकोमा २०३१।०३२ मा निज ट्रेडिङ कन्सर्नले राखेको लेखा प्रणाली लाई मान्यता दिई राजश्व न्यायाधिकरणले निर्णय गरेको भन्ने आधार लिई उक्त लेखालाई हाल आएर मान्यता दिनुपर्ने भन्ने निर्णय राजश्व न्यायाधिकरणले गरेको पाइयो । आयकर ऐन, २०३१ को दफा ५८ मा २०३५।५।२० को राजपत्रवाट संशोधन भै उक्त दफा ५८ क मा दफा ४९(५) वमोजिम श्री ५ को सरकारलाई तोकेको तरिका र भाषामा नराखेको लेखा मान्य नहुने भन्ने व्यवस्था भएवाट उक्त ऐन, लागु नहुंदाको अवस्थाका मुद्दामा भएको निर्णय ऐन आएपछिको अवस्थामा लागु गर्न नमिल्ने हुंदा राजश्व न्यायाधिकरण नेपालगंजको निर्णयमा राजश्व न्यायाधिकरण ऐन को दफा ८(ख) को त्रुटी देखिदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ । भन्ने समेतको यस अदालतको आदेश ।
१२. नियम वमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढि यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको सम्पूर्ण मिसिल कागजात अध्ययन गरि पुनरावेदकतर्फवाट विद्वान सह न्यायाधिवक्ता श्री पुष्पराज कोइरालाले आयकर ऐन, २०३१ को दफा ५८ संशोधन भै श्री ५ को सरकारले तोकेको तरिका र भाषामा लेखा राख्नु पर्ने व्यवस्था भै सो लेखा राख्ने तरिका र भाषा समेत २०३५।५।२० को राजपत्रमा प्रकाशित गरि सकेपछि पनि तोके वमोजिमको तरिकावाट लेखा नराखेको अवस्थामा ऐनको संशोधन हुनुपूर्वको आर्थिक बर्षको लेखालाई मान्यता दिएकोले सोही वमोजिम करदाताले ऐन संशोधन पछि राखेको लेखालाई पनि मान्यता दिनु नपर्ने कारण नभएको भन्ने आधार लिई भएको राजस्व न्यायाधिकरणको फैसला त्रुटीपूर्ण हुंदा वदर भई शुरु कर कार्यालयको निर्णय सदर कायम हुनु पर्दछ भनि गर्नु भएको वहस र विपक्षीतर्फवाट विद्वान अधिवक्ता श्री नारायण नेपालले अ.वं. २०३१,२०३२ को कर निर्धारण आदेश नै मिति २०४६।१०।१५ मा भएको अवस्थामा सो अ.व २०२९।३० र ०३१।०३२ सालको लेखालाई मान्यता दिएपछि आ.व. ०३९।०४० देखी २०४५।०४६ सम्मको लेखालाई मान्यता प्रदान गर्न नमिल्ने भन्ने कारण समेत नहुंदा कर कार्यालयले गरेको खुद आय निर्धारण गर्ने निर्णय एवं कर निर्धारण आदेश वदर गरि कर दाताले राखेको लेखा समेतका आधारमा खुद आय कायम भई कर निर्धारण भएको राजश्व न्यायाधिकरण नेपालगंजको फैसला मनासिव हुंदा सदर हुनु पर्दछ भनि गर्नु भएको वहस समेत सुनीयो ।
१३. प्रस्तुत मुद्दाको निर्णयतर्फ विचार गर्दा शुरु कर कार्यालय नेपालगंजका कर अधिकृतले श्री ५ को सरकारले तोकेको तरिका र भाषामा लेखा नराखेको भन्ने आधारमा सो लेखालाई मान्यता दिन नमिल्ने भनि आयकर ऐन, २०३१ को दफा ३३(२) को आधारमा कर निर्धारण गर्ने गरेको निर्णय वदर गरि आ.व. २०२९।०३० र २०३१।०३२ को तरीकाले राखेको श्रेस्तालाई मान्यता दिनुपर्ने भन्ने आधारमा कर दाताले राखेको लेखालाई आधार मानी खुद आय कायम गरि कर निर्धारण हुने ठहराएको राजश्व न्यायाधिकरण नेपालगंजको फैसला मिलेको छ वा छैन ? सोही कुरामा निर्णय दिनुपर्ने देखियो ।
१४. यसमा शुरु कर कार्यालय नेपालगंजका कर अधिकृतले करदाता विपक्षी कृष्ण ट्रेडिङ कन्सर्नले ध्यू सुठो खालीटीन तथा जडीवुटीको भारत निकासी गरि कमिशन ऐजेण्टको रुपमा गरेको (आढती) कारोवार र स्थानीयस्तरमा खरीद विक्री गरेको स्थानीय व्यवसायको आयकर ऐन, २०३१ वमोजिम श्री ५ को सरकारले तोकेको ढांचामा लेखा नराखेको विल भर्पाइ सुरक्षीत राख्नु पर्ने नराखी विल भर्पाई समेत पेश नगरेको भन्ने आधारमा आयकर ऐन, २०३१ को दफा ३३(२) को खण्ड (ग) (घ) र (च) वमोजिम कर निरीक्षकले दिएको प्रतिवेदनको आधारमा कर निर्धारण गर्ने निर्णय गरेको देखियो । विपक्षी करदाता कम्पनीले कर कार्यालयमा वयान गर्दा अढाती (कमिशन ऐजेप्ट) को कारोवार लिखीत रुपमा नहुने स्थानीय व्यापार गरेको छैन भनि वयान गरेको देखिएकोले कानूनले तोके वमोजिमको लेखा करदाता कम्पनीले राखेको भन्ने देखीएन । आयकर ऐन २०३१ को दफा ४९(५) मा उद्योग, व्यापार, पेशा, व्यवसायको आय र श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरि तोकेको अन्य कुनै आय आर्जन वा प्राप्त गर्ने व्यक्तिले आफ्नो आय व्यय स्पष्ट देखिने गरि लेखा राख्नु पर्नेछ र यस्तो लेखाको तरिका र भाषा श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरि तोके वमोजिम राख्नु पर्नेछ भन्ने कानूनी व्यवस्था गरेको र सोही ऐनको दफा ५८ को देहाय खण्ड (ख) मा दफा ४९ को उपदफा (५) वमोजिम श्री ५ को सरकारले तोकेको तरीका र भाषामा नराखेको लेखा मान्य नहुने भन्ने कानूनी प्रावधान रहेको देखिन्छ । सो दफा ४९(५) वमोजिम लेखा राख्ने तरिका र भाषा तोकी श्री ५ को सरकारले नेपाल राजपत्रमा मिति २०३५।५।२० मा सूचना प्रकाशित गरी तोकी सकेको अवस्थामा करदाताले परम्परादेखी चलिआएको मौखिक कारोवार गरेकोले तोके वमोजिमको लेखा नराखेको वा विल भर्पाई नभएको भन्ने आधारमा राज्यले निर्धारण गरेको कानून वमोजिम लेखा राख्ने दायित्ववाट विपक्षी करदाताले उन्मुक्ति पाउँछ भन्न मिल्ने देखिएन ।
१५. यस्तो लेखा अद्यावधिक नभएको र आयको श्रोतको प्रमाण दाखिल नगर्ने करदातको आयकर निर्धारण सम्वन्धमा हेर्दा आयकर ऐन, २०३१ को दफा ३३(२) मा कर दाताले आय विवरण दाखिल नगरेमा वा झुठा विवरण दाखिल गरेमा वा कारोवारको लेखा नराखेमा वा राखेको लेखालाई मान्यता दिन नमिल्ने भएमा कर अधिकृतले देहायको कुनै आधारमा खुद आय कायम गरि कर निर्धारण गर्न सक्ने छ भन्ने व्यवस्था गरेको र सोही उपदफा २ को खण्ड (ग) मा कर निरक्षकको प्रतिवेदनको आधार, खण्ड (घ) मा यस्तै किसिमका अरु करदाताको यस्तै किसिमको कारोवार वा व्यवसायमा के कति खुद आय निर्धारण भएको छ सो को आधारमा समेत खुद आय कायम गरि कर निर्धारण गर्न सकने छ भन्ने कानूनी व्यवस्था गरेको देखिन्छ । शुरु कर कार्यालयले कर निर्धारण गर्दा करदाताले तोके वमोजिम लेखा नराखेको र निजले राखेको लेखा लाई मान्यता दिने नमिल्ने भनि निरीक्षकले दिएको प्रतिवेदन समेतको आधारमा खुद आय कायम गरी कर निर्धारण आदेश गरेको देखियो ।
१६. जाहासम्म राजस्व न्यायाधिकरणले निज करदाता कम्पनीको राखेको आ.व. ०३१।०३२ को लेखालाई मान्यता दिई कर निर्धारण समेत भै सकेकोले सोही वमोजिमको हिसाव कितावलाई मान्यता दिन नपर्ने औचित्य र कारण नभएको भनि ग्रहण गरेको निर्णयाधारको सम्वन्धमा हेर्दा ऐनको दफा ५८ क संशोधन हुनुपूर्वको लेखालाई मान्यता दिएको भन्ने आधारमा ऐनको संशोधन पछिको आ.व. को सम्वन्धमा पनि सोही वमोजिम मान्यता दिनुपर्ने भन्न मिल्ने देखिदैन । आयकर ऐन, २०३१ को दफा ५८ क संशोधन भैसकेपछि श्री ५ को सरकारले तोकेको तरिका भाषामा लेखा राख्ने कानूनी दायित्व विपक्षी करदाताकै हुने भएकोले त्यस्तो कानूनी दायित्व पुरा नगर्ने व्यक्तिलाई राज्यले कुनै सुविधा प्रदान गर्न पनि मिल्ने हुदैन । कानून वमोजिम नराखेको लेखालाई मान्यता नदी ऐनको दफा ३३ (२) वमोजिमको प्रक्रिया अपनाई खुद आय कायम गरि गरेको कर निर्धारण आदेशमा राजश्व न्यायाधिकरणले करदाताले पेश गरेको लेखालाई मान्यता दिई ऐन संशोधन पूर्व ०३१।०३२ सालको आयकर निर्धारणलाई आधारमानी भएको राजश्व न्यायाधिकरणको फैसला उक्त सम्सोधीत कानूनको वेवास्ता गरी भएको देखिंदा कानूनसम्मत मान्न नमिली त्रुटीपूर्ण देखियो ।
१७. विपक्षी करदाता कृष्ण ट्रेडिङले खुद आय कायम गराउन माग गरेको भन्दा फरक रुपमा राजश्व न्यायाधिकरणवाट खुद आय कायम भएको अवस्थामा सोलाई प्रत्यर्थीले स्वीकार गरी पुनरावेदनसम्म पनि नगरी वसेको स्थितिमा निजले राखेको लेखा सत्यतथ्यमा आधारित भएको मान्न मिल्ने अवस्था समेत नदेखिंदा आयकर ऐन, २०३१ को दफा ३३(२) वमोजिम कर अधिकृतले करदातावाट दाखिल भएको कारोवारको अंकलाई समेत आधार मानी कमिशनको रुपमा प्राप्त आय र निजीरुपमा स्थानीय कारोवारवाट आर्जन गरेको आय समेतको आधारमा खुद आय कायम गरी आयकर निर्धारण गर्ने गरेको कर अधिकृतको निर्णय अन्यथा भन्न नमिल्ने हुंदा शुरु कर कार्यालयको खुद आय कायम गर्ने गरेको निर्णय केही उल्टी गर्ने गरेको राजश्व न्यायाधिकरण नेपालगंजको फैसला नमिलेकोले उल्टी भै शुरु कर कार्यालय नेपालगन्जको निर्णय मनासिव ठहर्छ । अरु तपसिलका कुरामा तपसिलै वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए अनुसार राजश्व न्यायाधिकरण नेपालगंजको फैसला उल्टी भै शुरु कर कार्यालय नेपालगंजको निर्णय मनासिव ठहरेकाले राजश्व न्यायाधिकरणको मिति २०५२।११।१४ को फैसला वमोजिमको लगत राखेको भए कट्टा गरि शुरुको निर्णय कर निर्धारण आदेश वमोजिम गर्नु भनि शुरु कर कार्यालय नेपालगंजमा लेखी पठाई दिनु ..........१
दायरी लगत कट्टा गरि मिसिल नियम वमोजिम वुझाई दिनु .......... २
उक्त रायमा सहमत छु ।
न्या.शारदाप्रसाद पण्डित
इ.अ.(रा.प.तृ.) रामप्रसाद सेढाई
इति सम्वत् २०६१ साल जेष्ठ ७ गते रोज ५ शुभम्............