शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९०२७ - कर्तव्य ज्यान

भाग: ५५ साल: २०७० महिना: असोज अंक:

ने.का.प. २०७०,           अङ्क ६

निर्णय नं. ९०२७

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की

संवत् २०६७ सालको ०६७CR०२०७, ०४०९, ०२२१

संवत् २०६८ सालको ०६८CR०२०७

फैसला मिति २०७०।२।२२।४

 

मुद्दा :कर्तव्य ज्यान ।

 

पुनरावेदक वादीः मीनबहादुर मगरको जाहेरीले नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः भोजपुर जिल्ला, बोया गा.वि.स.वडा नं.३ घर भै हाल कारागार कार्यालय,           भोजपुरमा कैदमा रहेका नेत्रबहादुर मगरसमेत

 

पुनरावेदक प्रतिवादीः भोजपुर जिल्ला, बोया गा.वि.स.वडा नं.३ घर भै हाल केन्द्रीय कार्यालय,       जगन्नाथ देवल, काठमाडौँमा थुनामा रहेको नेत्रबहादुर मगर

विरुद्ध

पुनरावेदक प्रतिवादीः नेपाल सरकार

 

पुनरावेदक प्रतिवादीः भोजपुर जिल्ला, बोया गा.वि.स.वडा नं.३ घर भै हाल कारागार शाखा,           भोजपुरमा थुनामा रहेको नन्दमणि मगर

विरुद्ध

प्रत्यर्थी वादीः मीनबहादुर मगरको जाहेरीले नेपाल सरकार

 

शुरू फैसला गर्ने :

मा.न्या.श्री शम्भुराम कार्की

पुनरावेदन फैसला गर्ने :

मा.मु.न्या.श्री हरिप्रसाद घिमिरे

मा.न्या.श्री शेषराज सिवाकोटी

 

§  छुरा जस्तो जोखिम हतियारले कलेजोसम्म काटिने गरी प्रहार भएको वारदातलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं.ले भवितव्य ठहरिने प्रकृतिको मान्ने अवस्था नदेखिने ।

§  मृत्युको कारणमा त्यही वारदातमा कलेजोसम्म काटिएको समेतबाट रगतमा संक्रमण भएको तथ्य लास जाँच परीक्षण प्रतिवेदनबाट देखिँदा वारदात मितिबाट २१ दिनभित्र घाइते परलोक नभएकोले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ९ नं. बाट ज्यान मुद्दा चल्न सक्दैन भन्ने प्रतिवादीको भनाई रहेको देखिन्छ । उक्त ऐनको ९ नं. आकृष्ट हुन ज्यान मार्नलाई अङ्ग भाँच्ने छिन्नेबाहेकको अवस्था हुनुपर्ने हुन्छ । वारदातमा धारिलो हतियारले कलेजोसम्म काटिने गरी प्रहार भएको देखिँदा ज्यान मार्नलाई अङ्ग भाँच्ने छिन्ने अवस्था भएन भन्न मिलेन । तसर्थ मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ९ नं. बमोजिम २१ दिनभित्र वा बाहिर घाइते परलोक भएको भनी हेर्नुपर्ने स्थिति नरहने ।

§  ज्यानसम्बन्धीको महलको ८ नं.ले यति दिनभित्रै परलोक हुनुपर्ने किटान नगरी घाइते थला परी जतिसुकै पछि मरे पनि ज्यानमाराको बात लाग्ने कानूनी व्यवस्था गरेकोमा कलेजो काटिएको निको नभई त्यसैको संक्रमणको कारणबाट घाइते परलोक भएको अवस्थामा ज्यानसम्बन्धीको महलको ८ नं.को प्रावधानले समेट्दैन भन्न नमिल्ने ।

(प्रकरण नं.४)

§  हुलमुलमा हानाहान हुँदा दुई प्रतिवादीहरूले मृतकलाई कुटपीट गरेको छुरा भाटा इत्यादिले प्रहार गरेको र घाइतेको ज्यान गएको अवस्थामा वारदातको प्रकृतिले ज्यानसम्बन्धीको महलको १३(३) नं.को अवस्था रहेको देखिने ।

(प्रकरण नं.७)

 

पुनरावेदक वादीतर्फबाटः विद्वान वैतनिक अधिवक्ताद्वय श्रुतिकुमारी रेग्मी र हरिशंकर कर्ण

प्रत्यर्थी प्रतिवादीतर्फबाटः विद्वान सहन्यायाधिवक्ता रेवतीराज त्रिपाठी एवं विद्वान अवधिक्ता रुद्रप्रसाद नेपाल

सम्बद्ध कानूनः

अवलम्बित नजीरः

§  मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १, , , १३(३), १७(२) नं.

§  अ.बं. १८८ नंं.

 

फैसला

न्या.वैद्यनाथ उपाध्यायः पुनरावेदन अदालत, धनकुटाको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :

भोजपुर जिल्ला, बोया गा.वि.स.वडा नं.३ स्थित सार्वजनिक बाटोमा मिति २०६४।१२।८ गते राति ८:०० बजेको समयमा बाटो ढुकी अभियुक्तहरू इन्द्रकुमार मगर, इच्छाबहादुर मगर, मानबहादुर मगर नन्दमणि मगर, नेत्रबहादुर मगर, अमृता मगर, कमला मगरसमेतको मानिसहरूले बुहारी लक्ष्मी मगर, भतिजो ढाकाप्रसाद मगर, ज्वाइँ लक्ष्मण मगर, भतिजो पवन मगरलाई लाठी, छुरी, खुकुरीसमेत प्रहार गरी सख्त घाइते बनाई ज्यान मार्ने उद्योग गरेको हुँदा निज अभियुक्तहरूलाई कानूनबमोजिम गरिपाऊँ भन्नेसमेत व्यहोराको जाहेरी दरखास्त ।

अभियुक्तहरू इच्छाबहादुर मगर, रामबहादुर मगर, मानबहादुर मगर, कमला मगरसमेतलाई पक्राउ गरी पेश गरेका छौं । निजहरूलाई कानूनबमोजिम गरिपाऊँ भन्नेसमेत व्यहोराको प्रहरी प्रतिवेदन ।

जाहेरीमा उल्लेख गरिएको मिति समयमा वारदातस्थल बोया गा.वि.स.वडा नं.३ स्थित सार्वजनिकस्थल मूल बाटोमा विरुद्ध खण्डमा लेखिएको इन्द्रकुमार मगर, नन्दमणि मगर, नेत्रबहादुर मगर, मानबहादुर मगर, रामबहादुर मगरसमेतले पीडित घाइते भनिएका लक्ष्मण मगर, पवन मगर, ढाकाप्रसाद मगर, लक्ष्मी मगरलाई पूर्व रिसइबीको कारण धारिलो हतियार छुरी, लाठीसमेत प्रहार गरी सख्त घाइते बनाई ज्यान मार्नेसमेतको उद्योग गरेको हो । मेरो बुहारी कमला मगर उक्त वारदातमा भए पनि कोही कसैलाई कुट्ने पिट्ने कार्य गरिनन् कानूनबमोजिम होस् भन्नेसमेत व्यहोराको प्रतिवादी इच्छाबहादुर मगरले अधिकारप्राप्त अधिकारीसमक्ष गरिदिएको बयान कागज ।

पीडित घाइते भनिएका लक्ष्मण मगर, पवन मगर, ढाकाप्रसाद मगर, लक्ष्मी मगरसमेतलाई मिति २०६४।१२।८ गते राति ८:०० बजेको समयमा वारदात घट्दाको अवस्थामा प्रतिवादीहरू नन्दमणि मगर, नेत्रबहादुर मगर, इन्द्रकुमार मगर, मानबहादुर मगरसमेतले एक्कासी आक्रमण गरी कुटपीट गर्दा र अभियुक्त नन्दमणि मगरले धारिलो हतियार छुरी प्रहार गरी ज्यान मार्नेसमेतको उद्योग गरेको हो । उक्त वारदातमा मैले कसैलाई कुट्ने पिट्ने कार्य गरिनँ भन्नेसमेत व्यहोराको रामबहादुर मगरले अधिकारप्राप्त अधिकारीसमक्ष गरिदिएको बयान कागज ।

वारदातस्थल भनिएको ठाउँमा मिति २०६४।१२।८ गते राति ८:०० बजेको समयमा अभियुक्तहरू इन्द्रकुमार मगर, नन्दमणि मगर, नेत्रबहादुर मगरसमेतले छुरी, लाठी प्रयोग गरी पीडित घाइते भनिएका पवन मगर, ढाकाप्रसाद मगर, लोकबहादुर मगर, लक्ष्मी मगरसमेतलाई सख्त घाइते बनाई ज्यान मार्ने उद्योग गरेको हो । उक्त वारदातमा मैले कोही कसैलाई हात हालिनँ भन्नेसमेत व्यहोराको अभियुक्त मानबहादुर मगरले अधिकारप्राप्त अधिकारीसमक्ष गरिदिएको बयान कागज ।

वारदातस्थलमा गएको हो उक्त वारदात हुँदाको अवस्थामा अभियुक्तहरू इन्द्रकुमार मगर, नन्दमणि मगर, नेत्रबहादुर मगर, मानबहादुर मगरसमेतले धारिलो हतियार छुरी, लाठीसमेत प्रहार गरी पीडितहरूलाई घाइते बनाई ज्यान मार्नेसमतेको उद्योग गरेको हो । उक्त वारदातमा मैले कसैलाई हात हालिनँ कानूनबमोजिम होस् भन्नेसमेत व्यहोराको अभियुक्त कमला मगरले गरिदिएको कागज ।

मिति २०६४।१२।८ गते राति वारदातस्थल भनिएको बोया गा.वि.स.वडा नं.३ मूलबाटोमा अभियुक्त नन्दमणि मगर, इन्द्रकुमार मगर, रामबहादुर मगरसमेतले पूर्व रिसइबीको कारण बाटो ढुकी पीडितहरूलाई धारिलो हतियार छुरी, लाठी प्रयोग गरी सख्त घाइते बनाई ज्यान मार्नेसमेतको उद्योग गरेको हुँदा घाइतेहरूको घाउ जाँच केश फराम गरिपाऊँ भन्ने तेजबहादुर मगरले जिल्ला प्रहरी कार्यालय, खाँदबारीमा दिएको निवेदन ।

घाइतेमध्ये लक्ष्मण मगर र पवन मगरको घाउ जाँच गर्दा शरीरको विभिन्न भागमा चोट पटक रहेको र तुरुन्त माथिल्लो उपचार केन्द्रमा लगी अप्रेशन नगरेको खण्डमा मर्न सक्ने सम्भावना रहेको भनी जिल्ला अस्पताल, खाँदबारीले गरिदिएको घाउ जाँच केश फाराम ।

मलाई मिति २०६४।१२।८ गते पीडित घाइते भनिएको लोकबहादुर मगरसमेतले कुटपीट गरी सख्त घाइते बनाएको अवस्थामा मेरी श्रीमती कमला मगर र मेरो बुबा इच्छाबहादुर मगरसमेतका मानिसहरू वारदातस्थलमा गई मलाई उठाउनु भएको हो । सोही अवस्थामा वारदातस्थलमा आएका नन्दमणि मगर, इन्द्रकुमार मगर, रामबहादुर मगर, मानबहादुर मगर, नेत्रबहादुर मगरसमेतले पीडितहरूलाई छुरी, लाठीसमेतले प्रहार गरी सख्त घाइते बनाएका हुन्, मेरो बुबा इच्छाबहादुर मगर र कमला मगर उक्त वारदातमा संलग्न छैनन् भनी निज दिपक मगरले गरिदिएको कागज ।

वारदातस्थलमा जाहेरीमा उल्लेख गरिएका प्रतिवादीहरूले पीडितहरूलाई एक्कासी आक्रमण गरी छुरी, लाठी प्रहार गरी सख्त घाइते बनाई ज्यान मार्नेसमेतको उद्योग गरेको हुँदा निज अभियुक्तहरूलाई कानूनबमोजिम गरिपाऊँ भन्ने लोकबहादुर मगर, गणेशकुमार राई मणिराज राईले गरिदिएको कागज ।

मिति २०६४।१२।८ गते राति वारदातस्थलमा बाटो ढुकी पीडित घाइतेलाई अभियुक्तहरूले छुरी, लाठी प्रहार गरी सख्त घाइते बनाएको हो । निजहरूलाई कानूनबमोजिम सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको विश्वजित राईसमेतले गरिदिएको एकैमिलानको वस्तुस्थिति मुचुल्का ।

अभियुक्तहरू सार्वजनिक बाटोमा मेलाबाट फर्कदै गर्दा ढाकाप्रसाद मगर, लक्ष्मण मगर, पवन मगर लोकबहादुर मगर र लक्ष्मी मगरलाई लाठी, धारिलो हतियार छुरी (चुप्पी) ले शरीरको यत्रतत्र भागमा प्रहार गरी सख्त घाइते तुल्याई ज्यान मार्ने उद्योगको कसूर गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १५ नं. विपरीतको कसूर गरेको हुँदा अभियुक्तमध्येका इच्छाबहादुर मगर, मानबहादुर मगर, कमला मगर, रामकुमार मगर, नन्दमणि मगर, अमृता मगर, नेत्रबहादुर मगरको हकमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम सजाय हुने र अर्का अभियुक्त इन्द्रकुमार मगर फरार रहेकोमा पक्राउ गरी अड्डासार गर्दै ल्याउँदै गर्दा प्रहरीको पञ्जाबाट उम्की मिति २०६४।१।९ गते अरूण नदीमा हामफाल्दा मृत्यु भइसकेकोले निजको हकमा सजाय माफ गरिपाऊँ भन्ने व्यहोराको अभियोग पत्र ।

वारदातस्थलमा म पनि संलग्न थिएँ घाइतेहरूलाई इन्द्रकुमार मगर, नन्दमणि मगर र नेत्रबहादुर मगरले कुटपीट गरी छुरी हानी घाइते बनाएको हो, कमला मगर, इच्छाबहादुर मगर, मानबहादुर मगर र म रामबहादुर मगरले पीडितहरूलाई कुटपीट गरी घाइते बनाएको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर मगरले शुरू अदालतमा गरेको बयान ।

घाइतेहरूलाई इन्द्रकुमार, नेत्रबहादुर र नन्दमणि मगरले कुटपीट गरी छुरी प्रहार गरी घाइते बनाएको हो । मैले कुटपीट गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी मानबहादुर मगरले शुरू अदालतमा गरेको बयान ।

मेरा छोरा दिपक मगरलाई यस मुद्दाका पीडित भनिएका पवन मगरले कुटपीट गरी घाइते बनाएको छ भन्ने सुनी वारदातस्थलमा जाँदा पीडितहरूलाई नन्दमणि मगर, नेत्रबहादुर मगर, इन्द्रकुमार मगरले भाटा, लाठीसमेत प्रहार गरी घाइते बनाएको मैले देखेको हो, नन्दमणि मगरले खुकुरी भिरेको थियो । खुकुरी वा छुरी के प्रहार भयो, मैले देखिन मैले घाइतेहरू कसैलाई पनि कुटपीट गरेको होइन भन्नेसमेत व्यहोराको इन्द्रबहादुर मगरले शुरू अदालतमा गरेको बयान ।

मेरो श्रीमान् दिपक मगरलाई गाउँका मानिसहरूले कुटपीट गरे भनी रामबहादुर मगर र मानबहादुर मगर बोलाउन गएका थिए । त्यसपछि मेरो ससुरा इच्छाबहादुर मगर र म मेरो श्रीमान् दिपक मगरलाई लिन गएका थियौँ । वारदातस्थलमा नन्दमणि मगरले पवन मगर, ढाकाप्रसाद मगर र लक्ष्मण मगरलाई छुरी प्रहार गरेको अरे भनी मैले भोलिपल्ट सुनेकी हुँ । घाइतेहरूलाई को कसले कुटपीट गरे मलाई थाहा भएन । मैले कुटपीट गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी कमला मगरले शुरू अदालतमा गरेको बयान ।

म वारदातस्थलमा थिइनँ, घटना भएको समयमा म आफ्नै घरमा सुतिरहेको थिएँ । मेरो दाजु नन्दमणि मगर र बुबा इन्द्रकुमार मगर वारदातमा संलग्न भएकोले दाजु बुबाको रिसले मलाई पनि फसाउन झूटो जाहेरी दिएको मात्र हो भन्नेसमेत व्यहोराको प्रतिवादी अमृता मगरले शुरू अदालतमा गरेको बयान ।

घाइतेहरूलाई इन्द्रकुमार मगर, नन्दमणि मगरले चुप्पीले हानेको हो । मैले बाँसको भाटाले लक्ष्मण मगर र ढाकाप्रसाद मगरलाई हिर्काएको हो । हामी तीनजनाबाहेक अन्य प्रतिवादीहरू घटनास्थलमा भए पनि कुटपीट गरेको मैले देखिनँ, प्रतिवादी अमृता मगर घटनास्थलमा गएकी थिइनन् भन्नेसमेत व्यहोराको प्रतिवादी नेत्रबहादुर मगरले शुरू अदालतमा गरेको बयान ।

वारदातस्थलमा जाँदा मेरो बुबा इन्द्रकुमार मगरले खुकुरी र चुप्पी बोक्नु भएको रहेछ । बाटोमा बुबाले मलाई चुप्पी दिनुभयो । वारदातस्थलमा पुगेपछि बुबाले मलाई हान भनेर ठेली दिनुभयो । मैले ढाकाप्रसाद मगरलाई र पवन मगरलाई सो चुप्पीले हानेपछि फालिदिएँ । बुबाले सोही चुप्पी टिपी लक्ष्मण मगरलाई हान्नु भयो । नेत्रबहादुर मगरले ढाकाप्रसादको कपालमा समाती भाटाले हानेको देखेँ । बाबुले चुप्पीले हान्न लगाउनु भयो र मैले घाइतेहरूलाई कुटपीट गरी चुप्पी प्रहार गरेको हो । मानबहादुर र रामबहादुरले पनि भाटाले कुटपीट गरेको देखेको हो । कमला मगर र अमृता मगरले कुटपीट गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी नन्दमणि मगरले शुरू अदालतमा गरेको बयान ।

प्रतिवादीमध्येका इच्छाबहादुर मगर, मानबहादुर मगर, रामबहादुर मगर, कमला मगरबाट जनही रु.१०,०००।का दरले नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई पुर्पक्षको लागि तारेखमा राख्ने र दिन नसके कानूनबमोजिमको सिधा खान पाउने गरी कारागार कार्यालय, भोजपुरमा थुनुवा पूर्जी दिई थुनामा पठाई दिनु भन्ने मिति २०६५।१।१३ को थुनछेक आदेश ।

प्रतिवादीमध्येकी अमृता मगरलाई मुलुकी ऐन, अ.बं.४७ नं.बमोजिम साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने मिति २०६५।१।२३ को थुनछेक आदेश ।

प्रतिवादीमध्येका नन्दमणि मगर र नेत्रबहादुर मगरलाई पुर्पक्षको लागि थुनामा पठाई दिनु भन्ने मिति २०६५।१।२७ गतेको थुनछेक आदेश ।

मिति २०६५।१।१३ र २०६५।१।२७ गतेको थुनछेक आदेश मिलेकै देखिँदा मिति २०६५।३।१९ मा अनुमोदन भएको रहेछ ।

प्रतिवादीमध्येका नन्दमणि मगर र नेत्रबहादुर मगरलाई पुर्पक्षको लागि थुनामा राख्ने गरी भएको मिति २०६५।१।२७ को आदेश बदर गरी निजहरूबाट जनही रु.१५,०००।का दरले नगद धरौट वा सो बराबरको जेथा जमानत माग गरी मिति २०६५।३।१९ मा थुनछेक आदेश भएको रहेछ ।

मिति २०६५।३।१९ का आदेशबमोजिम प्रतिवादीमध्येका नेत्रबहादुर मगरले माग भएको रु.१५,०००।बराबरको जेथा जमानत राखी तारेखमा बसेका रहेछन् । प्रतिवादीमध्येका नन्दमणि मगरले माग भएको धरौट रु.१५,०००।दिन नसकी पुर्पक्षका निम्ति थुनामा बसेका रहेछन् ।

मिति २०६५।३।१९ का आदेशानुसार वादी प्रतिवादीका साक्षीहरूको बकपत्र भई उक्त बकपत्र मिसिल सामेल रहेछ ।

मिति २०६५।८।१८ का आदेशानुसार पीडित घाइतेहरूको बकपत्र भई उक्त बकपत्र मिसिल सामेल रहेछ ।

मिति २०६४।१२।८ गते राति जिल्ला भोजपुर, बोया गा.वि.स.वडा नंं.३ सिंहदेवी स्थान नजिकै मेरो छोरा लक्ष्मण मगरसमेतलाई प्रतिवादीहरू इच्छाबहादुर मगरसमेतले कुटपीट गरी सख्त घाइते बनाई ज्यान मार्ने उद्योग मुद्दामा कारवाही चलाई आएकोमा निज लक्ष्मण मगरको सोही चोटको कारणबाट मिति २०६५।९।२८ गते बिहान आफ्नै घरमा मृत्यु भएको हुँदा विपक्षीहरूलाई कानूनबमोजिम कर्तव्य ज्यान मुद्दा चलाई कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको ओमबहादुर मगरको मिति २०६५।९।२८ गतेको जाहेरी दरखास्त ।

जिल्ला भोजपुर, बोया गा.वि.स.वडा नं.४ स्थित पूर्वमा मृतककै करेसाबारी, पश्चिममा नजिकै खाली बारी, उत्तर गोपाल मगरको घर, दक्षिणमा मृतककै गाई गुवाली यति चार किल्लाभित्र उत्तर दक्षिण पाली गाँसेको सोही पालीमा जस्केलो नजिक पश्चिम टाउको पूर्व खुट्टा भई मृतक लक्ष्मण मगरको लास परालमाथि हरियो उनीको बर्कोले छोपेको सो बर्को खोली हेर्दा पहेंलो पाटा भएको सर्ट लगाई उत्तानो अवस्थामा दुवै खुट्टा खुम्च्याई दुवै हात पेटमाथि रहेको पेटको दाहिने भागमा ४ इञ्च लम्बाई २ इञ्च चौडाई रहेको पिप निस्केको घाउ तथा पेटको बीच भागबाट ८ इञ्च लम्बाई भएको छातीसम्म पुरानो घाउ खत भएको निजलाई पल्टाई हेर्दा कम्मरमाथि दाहिने पट्टी १ इञ्च लम्बाई १ इञ्च चौडाई भएको पुरानो घाउबाट पिप निस्केको सोही घाउमाथि पुरानो निको भएको घाउको खत देखिएको उक्त घाउ जिल्ला भोजपुर, बोया गा.वि.वडा नं.३ बस्ने इन्द्रकुमार मगरसमेतले धारिलो हतियार छुरीले प्रहार गरी घाइते बनाएको सोही चोटको कारणबाट मृतकको मृत्यु भएको भनी देखाएको चारकिल्ला विवरण ठीक छ भनी बोया गा.वि.स.वडा नं.४ बस्ने जगतबहादुर राईसमेतले गरी दिएको मिति २०६५।९।२८ गतेको घटनास्थल तथा लास जाँच मुचुल्का ।

मृतकको मृत्युको कारण Septicaemia and due to peritonitis due to punctured wound in the rif  भन्नेसमेत व्यहोराको Autopsy report.

मिति २०६५।१।१२ मा ज्यान मार्ने उद्योग मुद्दाको अभियोग पत्र दर्ता भई कारवाही चल्दैको अवस्थामा मृतक लक्ष्मण मगरको मृत्यु प्रतिवादीहरूकै कुटपीटबाट सोही चोट पीडाको कारण मिति २०६४।९।२८ गते पीडामा रहेको अवस्थामा भएको तथ्य Autopsy report बाट देखिएकोले प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं.ले निषेध गरेको कसूर अपराधमा ऐ.ऐनको दफा ८ नं.बमोजिमको अवस्था हुँदा ऐ.ऐनको १३(३) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग माग दावी ।

प्रतिवादीमध्येका नन्दमणि मगर र नेत्रबहादुर मगरलाई पुर्पक्षको लागि थुनामा राख्ने प्रतिवादीमध्येका इच्छाबहादुर मगर, मानबहादुर मगरबाट जनही रु.२७,०००।नगद धरौट वा सो बराबरको जेथा जमानत माग गर्ने, प्रतिवादीमध्येका कमला मगर र रामबहादुर मगरबाट जनही रु.१०,०००।नगद धरौट वा सो बराबरको जेथा जमानत माग गर्ने र प्रतिवादीमध्येकी अमृता मगरलाई पुर्पक्षको लागि अ.बं.४७ नं. बमोजिम साधारण तारेखमा राख्ने गरी मिति २०६५।१०।१७ मा थुनछेक आदेश भएको रहेछ ।

मिति २०६५।१०।२१ गते प्रतिवादीहरूको सनाखत बयान भई थुनछेक आदेश भई मिति २०६५।१०।१७ गते गरेको थुनछेक आदेश अनुमोदन भएको रहेछ ।

नि.जि.न्या.ले गरेको मिति २०६५।१०।१७ को थुनछेक आदेश मा.जि.न्या.बाट मिति २०६५।१०।२१ मा अनुमोदन भई उक्त आदेशबमोजिम प्रतिवादीहरू नन्दमणि मगर र नेत्रबहादुर मगर पुर्पक्षको लागि थुनामा बसेका रहेछन् । प्रतिवादीमध्येका रामबहादुर मगर, मानबहादुर मगर, कमला मगर र इच्छाबहादुर मगरले माग भएको धरौट बराबर जेथा जमानत राखी तारेखमा बसेका र प्रतिवादी अमृता मगर साधारण तारेखमा बसेकी रहिछन् ।

जाहेरी दरखास्त, जाहेरवाला, घाइतेको बकपत्र, प्रतिवादीहरूको अदालतमा भएको बयानसमेतका मिसिल संलग्न कागजातबाट प्रतिवादीमध्येका नन्दमणि मगर र नेत्रबहादुर मगरले वादी दावीको कसूर गरेको ठहर्छ । अन्य प्रतिवादीहरू रामबहादुर मगर, मानबहादुर मगर, इच्छाबहादुर मगर, कमला मगर र अमृता मगरले अभियोग माग दावीबाट सफाइ पाउने ठहर्छ । अर्का प्रतिवादी इन्द्रकुमार मगरको मृत्यु भइसकेको हुँदा केही बोलिरहन परेन भन्नेसमेत व्यहोराको शुरू भोजपुर जिल्ला अदालतको फैसला ।

म नन्दमणिले छुरी प्रहार गरेको देखिन नआई इन्द्रकुमार मगरले छुरी प्रहार गरेको देखिन आएको र म नेत्रबहादुरले १, २ भाटाले हानेको हुँ र भाटाले हान्दा मान्छे नमर्ने हुँदा अभियोग दावीबाट सफाइ दिनुपर्ने सर्वश्वसहित जन्मकैदको सजाय गर्ने गरी शुरूबाट भएको फैसला बदर गरी सफाइ पाऊँ भन्नेसमेत व्यहोरा प्रतिवादीहरू नन्दमणि मगर १ र नेत्रबहादुर मगर १ को पुनरावेदन अदालतमा परेको संयुक्त पुनरावेदन पत्र ।

प्रत्यर्थी खण्डमा उल्लिखित प्रतिवादीहरू समेत भएर घाइतेहरू लक्ष्मण मगर, पवन मगर, ढाकाप्रसाद मगरसमेतलाई कुटी काटी ज्यान मार्ने उद्योगको कसूर गरेको, घाइतेमध्येका लक्ष्मण मगर ऐनका म्यादभित्र मरेको पुष्ट्याइँ भएको अवस्थामा प्रत्यर्थी खण्डमा उल्लिखित प्रतिवादीहरूलाई समेत अभियोग दावीअनुसार सजाय हुनपर्नेमा सफाइ दिने ठहर गरेको र ज्यान मार्ने उद्योग मुद्दाको मूल अभियोग दावीतर्फ प्रवेश नै नगरी भएको शुरू फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी प्रत्यर्थी प्रतिवादीहरूलाई समेत शुरू अभियोग तथा पूरक अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

मृतक लक्ष्मण मगरबाहेकका अन्य घाइतेका सम्बन्धमा दायर रहेको ज्यान मार्ने उद्योग मुद्दातर्फ केही नबोलेको र सफाइ पाउने अन्य प्रतिवादीहरूका सम्बन्धमा भएको प्रमाणको समेत समुचित मूल्याङ्कन नभएको तथा ज्यानसम्बन्धी महलको ८ र ९ नं. को व्याख्यात्मक प्रश्नसमेत उपस्थित भई दुवैतर्फको पुनरावेदन परी रहेको समेत परिप्रेक्ष्यमा शुरूको फैसला फरक पर्न सक्ने भई विचारणीय हुँदा छलफलको लागि अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम परस्परका प्रत्यर्थी हरूलाई झिकाई नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

प्रतिवादीमध्येका नन्दमणि मगरलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.ले सर्वश्वसहित जन्मकैदको सजाय गरी प्रतिवादी नेत्रबहादुर मगरबाहेकका अन्य प्रतिवादीहरूलाई आरोपित कसूरबाट सफाइ दिने गरी शुरू भोजपुर जिल्ला अदालतले मिति २०६६।३।२९।२ मा गरेको इन्साफसम्म शुरू सदर हुने ठहर्छ । प्रतिवादीमध्येका नेत्रबहादुर मगरले मृतकमाथि भाटाले सम्म हिर्काई मार्न संयोग पारेको देखिँदा निजलाई पनि ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्‍याएको शुरूको फैसला मिलेको नदेखिँदा उक्त फैसला केही उल्टी भई निजलाई ज्यानसम्बन्धी महलको १७(२) नं.ले पाँच वर्ष कैद हुने ठहर्छ । वारदातको स्थिति, अवस्था र प्रतिवादीमध्येका नन्दमणि मगरको कलिलो उमेरसमेतलाई विचार गरी निजलाई जन्मकैदको सजाय गर्दा चर्को हुने देखिएको हुँदा अ.बं.१८८ नं. बमोजिम निजलाई १० (दश) वर्ष कैद हुनुपर्ने राय व्यक्त गरिएको छ भन्ने मिति २०६७।१।२८।३ गतेको पुनरावेदन अदालतको फैसला ।

मिसिल संलग्न सबूद प्रमाणबाट वारदातमा प्रतिवादीहरू नन्दमणि मगर र नेत्रबहादुर मगरको मात्र संलग्नता नरही विपक्षी बनाइएका सबै प्रतिवादीहरूको संलग्नता रहेको स्पष्टरूपमा पुष्ट्याईं भइरहेको छ । वारदातको प्रत्यक्षदर्शी र घटनाबाट घाइते भएको व्यक्ति पवन मगरले अदालतमा गरेको बकपत्रमा मलाई नन्दमणि मगरले छुरी हानेको हो । नन्दमणि मगरले छुरी हान्नुभन्दा पहिला मानबहादुर मगर, नेत्रबहादुर मगरले भाटाले हानेका हुन् । घटनामा इच्छाबहादुर मगर, इन्द्रबहादुर मगर, रामबहादुर मगर, कमला मगर, अमृता मगर, नेत्रबहादुर मगर, मानबहादुर मगर र नन्दमणि मगर सबैको संलग्नता छ भनी सबै प्रतिवादीहरूउपर किटानी पोल गरेका छन् । घटनामा प्रतिवादीहरू सबैको संलग्नता छ भनी सबैजना प्रतिवादीहरू उपर किटानी पोल गरेबाट वारदातमा प्रतिवादीहरू सबैजनाको संलग्नता रहेको निर्विवादरूपमा पुष्ट्याईं भएको अवस्थामा पुनरावेदन अदालतको फैसलामा प्रमाण ऐन, २०३१ को दफा १८ र ५४ को समेत त्रुटि रहेको छ । प्रतिवादीहरूमध्ये नेत्रबहादुर मगरलाई शुरूले गरेको सजाय घटाई र अन्य प्रत्यर्थी/प्रतिवादीहरूको शुरूले कम सफाइ दिएको इन्साफलाई सदर गरेको हदसम्मको पुनरावेदन अदालत, धनकुटाको फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म उक्त फैसला बदर गरी प्रतिवादीलाई शुरू अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्नेसमेतको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।

प्रस्तुत मुद्दाको वारदात मिति २०६४।११।८ गते भएको र उक्त वारदातका आधारमा म पुनरावेदकसमेतउपर ज्यान मार्ने उद्योग मुद्दा चली अनुसन्धानको क्रममा वारदात मितिभन्दा करीब एक वर्षपछि मिति २०६५।९।२८ गते लक्ष्मण मगरको मृत्यु भएको छ । मृतकको मृत्यु मेरो प्रहारबाट लागेको चोट पीडाको कारणबाट भएको होइन । भाटाले लागेको सामान्य नीलडामको चोट पीरबाट मरेको हो भनी अर्थ गर्न मिल्दैन । मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ८ नं. कुनै अङ्ग भाँच्ने छिन्ने गरी कुटेमा भनिएको छ । प्रस्तुत मुद्दामा म पुनरावेदकबाट कुनै अङ्ग भाँचिएको वा छिनेको भन्ने उल्लेखसम्म पनि छैन । ज्यानसम्बन्धी महलको ८, ९ र १७(२) नं. एकैसाथ लागू हुन सक्क्तैन । ऐनको गलत व्याख्या गरी लिइएको माग दावी र सोही आधारमा भएको पुनरावेदन अदालत, धनकुटाको फैसला बदर गरी झूठा अभियोग माग दावीबाट सफाइ दिलाई पाऊँ भन्नेसमेतको नेत्रबहादुर मगरको यस अदालतमा परेको पुनरावेदन पत्र ।

घाइते भनिएको व्यक्ति लक्ष्मण मगरलाई नबुझेको तथा बुझ्ने प्रयाससमेत नगरेको अवस्थामा बिना सबूद प्रमाण घाइते थला परी मरेको रहेछ भनी अनुमान गर्न मिल्ने होइन । मृतकलाई म पुनरावेदक/प्रतिवादी नन्दमणि मगरले छुरी प्रहार गरेको नभई इन्द्रकुमार मगरले छुरी प्रहार गरेको हो भनी मैले भोजपुर जिल्ला अदालतमा गरेको बयानलाई सो घटनाको प्रत्यक्षदर्शी दिपक मगरले गरेको बकपत्रबाट पुष्टि भएको छ र घाइते पवन मगरको बकपत्रबाट पनि मेरो बयान समर्थित भएको छ । मृतक लक्ष्मण मगरलाई म नन्दमणिले छुरी प्रहार नगरी इन्द्रकुमार मगरले छुरी प्रहार गरेको भन्ने सारा प्रमाणबाट पुष्टि हुँदाहुँदै म निर्दोष व्यक्तिलाई ज्यान जस्तो जघन्य अपराधमा सजाय गर्ने गरेको फैसला बदर गरी म निर्दोष पुनरावेदकलाई सफाइ दिलाई पाऊँ भन्नेसमेतको प्रतिवादी नन्दमणि मगरले यस अदालतमा गरेको पुनरावेदन पत्र ।

प्रतिवादी नन्दमणि मगरले मृतक लक्ष्मण मगरलाई छुरा प्रहार गरेको स्वीकार गरी अदालतमा बयान गरेको नदेखिएको अवस्थामा सबूद प्रमाणको मूल्याङ्कनको रोहमा पुनरावेदन अदालत, धनकुटाबाट भएको इन्साफ फरक पर्न सक्ने देखिँदा उक्त २०६७CR०२०७, ०६८CR०४०९ समेतको पुनरावेदनको रोहमा समेत छलफल गर्न अ.बं.२०२ नं. बमोजिम विपक्षीहरू झिकाई पुनरावेदक प्रतिवादीहरूको पुनरावेदनको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयलाई पठाई वादी नेपाल सरकारको पुनरावेदनको प्रतिलिपि पुनरावेदक प्रतिवादीहरूलाई दिई सोको निस्सा मिसिल सामेल राखी नियमानुसार पेश गर्नु भन्नेसमेतको मिति २०६८।१०।४ को यस अदालतको आदेश ।

नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको मिसिल अध्ययन गरी नेपाल सरकारको तर्फबाट उपस्थित सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठीले वारदातको प्रकृति फागु पूर्णिमाको मेला भर्न गएको बेलामा लाठा, ढुङ्गा प्रयोग गरी भएको सबैजनाले हात छोडेको अवस्था छ र सबैजना प्रतिवादीहरू वारदातस्थलमा छन् भने अर्कोतर्फ केही नगरी हेरी रहनेलाई समेत सजायको व्यवस्था गरिएको छ । यस्तोमा धेरै जना प्रतिवादीहरूलाई सफाइ दिने गरेको मिलेको छैन । नेत्रबहादुरको हकमा पुनरावेदनले गरेको मिलेको छैन तसर्थ पुनरावेदन अदालतको फैसला बदर गरी शुरू अभियोग माग दावीबमोजिम गरिपाऊँ भन्नेसमेतको बहस जिकीर प्रस्तुत गर्नुभयो ।

पुनरावेदक नन्दमणि र नेत्रबहादुरको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रुद्रप्रसाद नेपालले रातिको ८ बजेको समयमा घटना घटेको, को कसले हानेको हो चिन्न नसकिने अवस्था छ । घटना भएको हो, हानाहान भएको छ तर नन्दमणिले नहानेको अवस्था छ । उक्त घटना भएपश्चात् धेरै लामो समयपछि मृतकको मृत्यु भएको हुँदा सोही चोटको कारणले मृत्यु भएको हो भन्न नसकिने हुनाले पुनरावेदन अदालतले कसूरदार ठहर गर्ने गरेको फैसला उल्टी गरी सफाइ पाऊँ भन्नेसमेतको बहस जिकीर प्रस्तुत गर्नुभयो । त्यस्तै प्रतिवादी नन्दमणि मगरको तर्फबाट उपस्थित विद्वान् वैतनिक अधिवक्ताद्वय श्री श्रुतिकुमारी रेग्मी र हरिशंकर कर्णले मृतकलाई नन्दमणिले हानेको नभई बुबा इन्द्रबहादुरले छुरी प्रहार गरेको भनी भनेका छन् । अर्कोतर्फ इन्द्रबहादुर अरूण नदीमा हामफालेर मरेको अवस्था छ । यस्तो अवस्थामा नन्दमणिले हानेको ठहर गरेको पुनरावेदन अदालतको फैसला मिलेको नहुँदा उल्टी गरी यी प्रतिवादीलाई सफाइ दिलाई पाऊँ भन्नेसमेतको बहस जिकीर प्रस्तुत गर्नुभयो ।

उपरोक्तानुसारको बहस जिकीरसमेत सुनी पुनरावेदन अदालतको फैसला मिलेको छ छैन तथा पुनरावेदकहरूको पुनरावेदन जिकीर पुग्न सक्ने हो होइन सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरू इच्छाबहादुर मगर, मानबहादुर मगर, कमला मगर, रामबहादुर मगर, नन्दमणि मगर, अमृता मगर, नेत्रबहादुर मगर र इन्द्रकुमार मगरले पवन मगर, लक्ष्मण मगर, ढाकाप्रसाद मगर, लोकबहादुर मगर र लक्ष्मी मगरउपर लाठी छुरी प्रहार गरी सख्त घाइते बनाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १, १५ नं. बमोजिमको कसूर अपराध गरेको हुँदा प्रतिवादी इन्द्रकुमार मगर मरी सकेको हुँदा निजलाई हुने सजाय माफ गरी अन्य प्रतिवादीहरूलाई उक्त १५ नं. बमोजिम सजाय गरिपाऊँ भनी मिति २०६५।१।१२ मा वादी नेपाल सरकारका तर्फबाट पहिलो अभियोग पत्र दर्ता भई कारवाहीयुक्त अवस्थामा रहेको अवस्था घाइतेमध्येका लक्ष्मण मगरको प्रतिवादीहरू कै चोट पीडाबाट २०६६।९।२८ मा मृत्यु भएको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं.ले निषेध गरेको कसूरमा ऐ.को ८ नं. अवस्था हुँदा सबै प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सजाय गरिपाऊँ भनी पुनः मिति २०६५।१०।१५ मा अर्को अभियोग पत्र दर्ता भई सबै प्रतिवादीहरू उपर कर्तव्य ज्यान मुद्दामा कारवाही उठेको देखिन्छ । उक्त अभियोग दावी सम्बन्धमा शुरू भोजपुर जिल्ला अदालतले प्रतिवादीमध्येका नन्दमणि मगर र नेत्रबहादुर मगरले अभियोग दावीबमोजिम कसूर गरेको ठहर्‍याई निजहरूलाई सर्वश्वसहित जन्मकैद हुने र अन्य प्रतिवादीहरूले अभियोग दावीबाट सफाइ पाउने गरी फैसला भएकोमा पुनरावेदन अदालतबाट प्रतिवादीमध्येका नन्दमणि मगरलाई ज्यानसम्बन्धीको महलको १३(३) ले सर्वश्वसहित जन्मकैद र प्रतिवादी नेत्रबहादुर मगरलाई ज्यानसम्बन्धी महलको १७(२) नं. ले पाँच वर्ष कैद हुने र अन्य प्रतिवादीहरूले सफाइ पाउने गरी भएको फैसलाउपर सफाइ पाएका प्रतिवादीहरूलाई पनि अभियोग दावीबमोजिम सजाय हुनुपर्दछ भनी वादी नेपाल सरकारको तर्फबाट र कसूरबाट उन्मुक्ति पाउनुपर्दछ भनी कसूर ठहर भएका प्रतिवादीहरू नन्दमणि मगर र नेत्रबहादुर मगरको तर्फबाट छुट्टाछुट्टै पुनरावेदन पत्रहरू पर्न आएको पाइयो ।

३. मिसिल अध्ययन गर्दा मिति २०६४।११।८ गते बेलुका अन्दाजी ८ बजेको समयमा भोजपुर जिल्ला, बोया गा.वि.स.वडा नं.३ मा पर्ने सार्वजनिक मूल बाटोमा वारदात भएको भन्ने देखिन्छ । सो वारदातमा पीडितमध्येका लक्ष्मण बलम पाकी मगर, पवन बलम पाकी मगर, ढाकाप्रसाद बलम पाकी मगर सख्त घाइते भएको भन्ने मिसिल संलग्न घाउ जाँच केश फारामबाट देखिएकोमा मिति २०६५।९।२८ मा मृत्यु भएका लक्ष्मण बलम पाकी मगरको घाउ जाँच केश फारामबाट अङ्ग फोरिएको छुरीले कलेजोसम्म चोट पारेको (Stab injury up to liver) र समयमा उपचार नगरे मर्न सक्ने (Fatal) भनी उच्चस्तरको अस्पतालमा उपचारको लागि सिफारिश गरेको पाइन्छ भने मिति २०६५।९।२९ मा मृतकको लाश जाँच हुँदा पेटको दाहिने भागमा ४ इञ्च लम्बाई, २ इञ्च चौडाई भएको घाउबाट पिप निस्केको, पेटको बीच भागमा ८ इञ्च लम्बाई भएको छाब्गस्तीसम्म काटिएको पुरानो घाउ खत रहेको, कम्मरमाथि दाहिनेपट्टि १ इञ्च लम्बाई १ इञ्च चौडाई भएको पुरानो घाउ भई पिप निस्केको साही घाउ इन्द्रबहादुर मगरसमेतले धारिलो हतियार छुरी खुकुरीले प्रहार गरी घाइते बनाएको सोही चोटको कारणबाट मृत्यु भएको भनी उल्लेख भई निजको शव परीक्षण प्रतिवेदन (Autopsy report) मा पनि मृतकको मृत्युको कारण Septicaemia and due to peritonitis due to punctured wound in the rif भन्ने उल्लेख भएको समेतबाट निज लक्ष्मण बलम पाकी मगरको मृत्यु मिति २०६४।११।८ मा भएको वारदातमा लागेको चोटकै कारण रगतमा भएको सक्रमणबाट भएको देखिन आयो ।

४. जहाँसम्म प्रतिवादीतर्फका कानून व्यवसायीहरूको ज्यानसम्बन्धी महलको ८ नं. प्रस्तुत मुद्दामा आकर्षित हुँदैन भन्ने बहस जिकीर रहेको छ सो सम्बन्धमा हामीले ज्यानसम्बन्धी महलमा भएको कानूनी व्यवस्था यसै महलको ५ नं. ले भवितव्य ठहर्नेबाहेक कुनै अङ्ग भाँच्ने छिन्ने गरी हाने कुटेमा त्यो थला परी निको नभए जतिसुकै समयपछि मरे पनि ज्यानमाराको बात लाग्छभनी उल्लेख भएको देखिन्छ । वारदात मिति २०६४।१२।८ बाट लामो समयको अन्तरालपछि मिति २०६५।९।२८ मा मृत्यु भएको कारणबाट उपचार गरी ठीक भइसकेपछि मृतकको मृत्यु भएको हुँदा यी प्रतिवादीहरूलाई कसूरदार बनाउन मिल्दैन भनी प्रतिवादीहरूको जिकीर रहेको पाइयो । मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ८ नं.मा भएको प्रावधानअनुसार मृतकको मृत्यु भएको हो कि होइन भनेर हेर्नुपर्ने अवस्था छ । मृतकको शुरूको जाहेरी परेपछि भएको घाउ जाँच फाराममा stab injury up to liver भन्ने उल्लेख भएकोमा उक्त लागेको चोट निको भई सकेको भन्ने कुनै प्रमाण मिसिल संलग्न रहेको देखिँदैन । घाउ उपचार गरी ठीक भई सकेको भन्ने प्रतिवादीहरूको जिकीर पुष्टि हुन सकेको देखिन आएन । शव परीक्षण प्रतिवेदन हेर्दा कलेजोसम्म काटिएको वारदात हुँदाको घाउकै कारणबाट रगतसम्म संक्रमण हुन पुगी मृत्यु भएको देखिन्छ । तसर्थ मृतकको मृत्यु मिति २०६४।११।८ मा भएको घाउकै कारणबाट भएको देखिन आयो । छुरा जस्तो जोखिम हतियारले कलेजोसम्म काटिने गरी प्रहार भएको वारदातलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं.ले भवितव्य ठहरिने प्रकृतिको मान्ने अवस्था देखिँदैन । मृत्युको कारणमा त्यही वारदातमा कलेजोसम्म काटिएको समेतबाट रगतमा संक्रमण भएको तथ्य लास जाँच परीक्षण प्रतिवेदनबाट देखिन्छ । वारदात मितिबाट २१ दिनभित्र घाइते परलोक नभएकोले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ९ नं.बाट ज्यान मुद्दा चल्न सक्क्तैन भन्ने प्रतिवादीको भनाई रहेको देखिन्छ । उक्त ऐनको ९ नं. आकृष्ट हुन ज्यान मार्नलाई अङ्ग भाँच्ने छिन्नेबाहेकको अवस्था हुनुपर्ने हुन्छ । प्रस्तुत वारदातमा धारिलो हतियारले कलेजोसम्म काटिने गरी प्रहार भएको देखिँदा ज्यान मार्नलाई अङ्ग भाँच्ने छिन्ने अवस्था भएन भन्न मिलेन । तसर्थ मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ९ नं. बमोजिम २१ दिनभित्र वा बाहिर घाइते परलोक भएको भनी हेर्न पर्ने स्थिति रहेन । तर, ज्यानसम्बन्धीको महलको ८ नं.ले यति दिनभित्रै परलोक हुनुपर्ने किटान नगरी घाइते थला परी जतिसुकैपछि मरे पनि ज्यानमाराको बात लाग्ने कानूनी व्यवस्था गरेकोमा सो कलेजो काटिएको निको नभई त्यसैको संक्रमणको कारणबाट घाइते परलोक भएको यस अवस्थामा ज्यानसम्बन्धीको महलको ८ नं.को प्रावधानले समेट्दैन भन्न मिल्ने देखिएन ।

५. वारदात भएको दिन फागु पूर्णिमाको मेला भर्न भोजपुर जिल्लाको चम्पे बजारमा गएको बेलामा फर्किने क्रममा घाइतेसमेतसँग वारदातस्थलमा भेट हुँदा सामान्य बोलचालको क्रममा भनाभन हुँदा पहिले घाइते पक्षका लोकबहादुर मगर, ढाकाप्रसाद मगर, पवन मगर, लक्ष्मण मगरसमेतले लाठी लात मुक्काले आक्रमण गर्दा दिपककुमारसमेतलाई सख्त घाइते बनाएको भन्ने कुरा प्रतिवादीमध्येका मानबहादुर मगर, कमला मगर र बुझिएका दिपक मगरसमेतले मौकामा गरेको कागजमा लेखाएको देखिन्छ । घाइते ढाकाप्रसाद मगरले अदालतमा आई बकपत्र गर्दा लक्ष्मण मगरसमेतको कोखामा नन्दमणिले दुई ठाउँमा छुरा प्रहार गरेको भनी लेखाएका छन् । प्रतिवादीमध्यको नेत्रबहादुरले भाटाले मृतकलाई हिर्काएको भनी लेखाएको समेत कुरामा साबित देखिन्छन् । घाइते पवन मगरले बकपत्र गर्दा पनि प्रतिवादी नन्दमणिले घाइतेहरू उपर छुरी प्रहार गरेको भनी लेखाएको पाइन्छ । मौकामा वस्तुस्थिति मुचुल्कामा लेखाई अदालतमा बकपत्र गर्ने टिकामाया मगरले मृतकसमेतलाई इन्द्रकुमारको अह्रोट मानी नन्दमणिले छुरा प्रहार गरेको र प्रतिवादी नेत्रबहादुर मगरले लाठीले कुटपीट गरेको भनी लेखाएको देखिन्छ ।

६. प्रतिवादीमध्येका इन्द्रकुमार मगरको मृत्यु भइसकेको र नन्दमणि तथा नेत्रबहादुर मगरबाहेकका अन्य प्रतिवादीहरूले मृतकसमेतउपर प्रहार गरी मृतकको मृत्यु भएको भन्ने कुरा मिसिल संलग्न प्रमाणबाट नदेखिएको हुँदा निजहरू समेतलाई सजाय हुनुपर्दछ भन्ने वादी पक्षको जिकीरसँग सहमत हुन सकिएन ।

७. त्यस्तै प्रतिवादीमध्येका नेत्रबहादुर मगरलाई पनि ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम नै सजाय हुनपर्दछ भन्ने सम्बन्धमा लिएको जिकीरतर्फ हेर्दा माथिको प्रकरणमा उल्लेख गरिएअनुसार बाबु इन्द्रबहादुरको अह्रोटमा छोराहरू नेत्रबहादुर र नन्दमणिले मृतकलाई हानेको कुरामा सहमत नै छन् । मृतकलाई दुवैजनाले प्रहार गरेको भनी अदालतमा समेत लेखाई दिएको पाइन्छ । दुई समूहबीच हानाहान भएको वारदातमा यी प्रतिवादीहरू नेत्रबहादुर र नन्दमणि ककसले कसरी प्रहार गरे भनी मौकाका व्यक्तिहरूले गरेको कागज र अदालतको बकपत्रबाट स्पष्ट एकरूपता देखाउन नसके पनि यी दुई प्रतिवादीहरूको कर्तव्यबाट मृतक घाइते भएको तथ्यमा विवाद रहेको देखिँदैन । यसरी हुलमुलमा हानाहान हुँदा यी दुई प्रतिवादीहरूले मृतकलाई कुटपीट गरेको छुरा भाटा इत्यादिले प्रहार गरेको र घाइतेको ज्यान गएको यस अवस्थामा वारदातको प्रकृतिले यो ज्यानसम्बन्धीको महलको १३(३) नं.को अवस्था रहेको देखिन आयो ।

८. माथि विवेचना गरिएअनुसार प्रतिवादीमध्येका मुख्य अभियुक्त इन्द्रबहादुर मगरको मृत्यु भइसकेको, प्रतिवादीमध्येका नेत्रबहादुर मगर र नन्दमणि मगरसमेतले मृतकलाई भाटा तथा छुरीले हान्ने कार्यमा संलग्न रहेको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. अनुसार दुवैजनालाई जन्मकैदको सजाय गर्नुपर्नेमा प्रतिवादी नन्दमणि मगरलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.अनुसार सर्वश्वसहित जन्मकैद र नेत्रबहादुर मगरलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(२) नं. ले ५ (पाँच) वर्ष कैद गर्ने गरेको हदसम्म शुरूको फैसला केही उल्टी भई प्रतिवादीहरू नन्दमणि मगर र नेत्रबहादुर मगर दुवैजनालाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. अनुसार जनही जन्मकैदको सजाय हुने ठहर्छ । अन्य सबैजना प्रतिवादीहरूलाई अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने नेपाल सरकारको तथा सफाइ पाउनु पर्दछ भन्ने प्रतिवादीहरू नन्दमणि मगर र नेत्रबहादुर मगरको पुनरावेदन जिकीर पुग्न सक्क्तैन ।

९. फागु पूर्णिमाको मेला भर्न गएको बेलामा वादविवादबाट घटेको वारदात, वारदात हुँदा दुवैथरिको झगडा भएको अवस्था, ज्यान मार्ने पूर्व नियोजित सरसल्लाह केही नभएको अवस्था र प्रतिवादीहरू दुवैजना नन्दमणि मगर र नेत्रबहादुर मगरको कलिलो उमेरसमेतलाई विचार गरी निजहरूलाई जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने हुँदा अ.बं.१८८ नं. बमोजिम निजहरू दुवैजनालाई जनही ८ (आठ) वर्ष कैद हुने ठहर्छ । अरूमा तपसीलबमोजिम गर्नू ।

 

तपसील

माथि ठहर खण्डमा पुनरावेदन अदालतको फैसला केही उल्टी भई प्रतिवादीमध्येका नन्दमणि मगर र नेत्रबहादुर मगरलाई जनही ८ (आठ) वर्ष कैद हुने ठहरेकोले निजहरूमध्ये नन्दमणि मगरको नाममा भएको सर्वश्वसहित जन्मकैदको लगत कट्टा गरी ८ (आठ) वर्षको लगत कायम गरी असूलउपर गर्नु र अर्का प्रतिवादी नन्दबहादुर मगरलाई पुनरावेदन अदालतको फैसलाले लागेको कैद वर्ष ५ (पाँच) को लगत कट्टा गरी कैद वर्ष ८ (आठ) को लगत कायम गरी असूलउपर गर्नु भनी शुरू जिल्ला अदालतमा लेखी पठाई दिनू–––––––

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ––––––

 

उक्त रायमा सहमत छु ।   

                                                 

न्या.प्रा.डा.भरतबहादुर कार्की

 

इति संवत् २०७० साल जेठ २२ गते रोज ४ शुभम्––––

 

इजलास अधिकृत : भोलानाथ ढकाल 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु