शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३३४३ - उत्प्रेषण मिश्रित परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

भाग: ३० साल: २०४५ महिना: बैशाख अंक:

निर्णय नं. ३३४३        ने.का.प. २०४५     अङ्क १

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४४ सालको फौ.पु.नं. २३९०

आदेश भएको मिति : २०४४।१०।२८।५ मा

 

निवेदकहरू : ललितपुर उद्योग व्यापार संघको तर्फबाट र आफ्नो हकमा समेत सुभाषगोपाल वैधसमेत

विरुद्ध

विपक्षीहरू : श्री निर्वाचन अधिकृत, नेपाल उद्योग वाणिज्य संघ, त्रिपुरेश्वरसमेत

 

विषय : उत्प्रेषण मिश्रित परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 

(१)                  अवधि समाप्त भइसकेपछि साविकको निर्वाचन बमोजिम गठित उद्योग व्यापार संघको कार्यसमिति भंग गरेको निर्णय उपर विचार गरी सो मिल्यो मिलेन भनी रिट जारी गर्न निरर्थक देखिने ।

(प्रकरण नं.  ९)

 

विपक्षीतर्फबाट    : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह

 

आदेश

न्या.हरिहरलाल राजभण्डारी : नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार रहेछ ।

२.आफ्नै विधान, प्रबन्ध पत्र र नियमावली, २०३१ बमोजिम सञ्चालित श्री ५ को सरकारद्वारा मान्यता प्राप्त ललितपुर उद्योग व्यापार संघको कार्य समितिको निर्वाचन, गठन, विघटन सम्पूर्ण कुरा आफ्नै विधान बमोजिम हुन्छ । संघको नवौं वार्षिक साधारण सभाको साथै अध्यक्ष र कार्य समितिका सदस्यहरूको मिति २०४२।५।८ मा भएको निर्वाचनद्वारा विधिवत निर्वाचित हामी अध्यक्ष र कार्य समितिका सदस्यहरू हौं । नेपाल उद्योग वाणिज्य संघको नियमावलीको दफा ४२ को अधीनमा रही ललितपुर उद्योग व्यापार संघ, नेपाल उद्योग वाणिज्य संघको सदस्य भई आएको छ ।

३.नेपाल उद्योग वाणिज्य संघले म सुभाषगोपाल वैधको अध्यक्षतामा कार्य समितिलाई मान्यता दिई आएको र लेखापढी इत्यादि गरिआएका छौं । संघको केही सदस्यहरूले हाम्रो विरुद्धमा केन्द्रमा उजूरी गरेका रहेछन् । यही २०४४ साल ज्येष्ठ १५ गते हुने नेपाल उद्योग वाणिज्य संघको एक्काइसौं वार्षिक अधिवेशनमा भाग लिनको लागि ललितपुर उद्योग व्यापार संघका तर्फबाट हामीहरूलाई पठाइएको र मुख्य प्रतिनिधि चुनावको लागि मत अधिकार लिई आउनेमा म अध्यक्ष सुभाषगोपाल वैद्यलाई पठाएको म सुभाषगोपाल वैद्यले कार्य समितिको सदस्य पदको लागि आफ्नो उम्मेदवारी पत्र दाखिल गर्न गएकोमा विपक्षी नेपाल उद्योग वाणिज्य संघ तथा विपक्षी निर्वाचन अधिकृतले अस्वीकार गर्नु भयो । के कति कारणबाट अस्वीकार गर्नु भएको हो भनी सोद्धा नेपाल उद्योग वाणिज्य संघको स्थायी समितिले मिति २०४३।१२।२३ मा तपाईहरूको विरुद्धमा निर्णय गरेको र तपाईहरूको प्रतिनिधि र उम्मेदवारी मनोनयन पत्र दर्ता स्वीकार नगर्नु भनेबाट नगरेको हो भनियो । निर्णयको व्यहोरामा अध्यक्ष तथा कार्य समितिका सदस्यहरूका आपसी मत भिन्नता भई  विभिन्न गुटमा विभाजित भएको र एक पक्षले अर्को पक्षलाई निष्काशित निलम्वन गर्ने जस्ता कार्यहरू भएको, अन्योलको स्थितिले गर्दा खाता सञ्चालन नभएको र यस्तो स्थितिमा संघको अस्तित्वको महत्व पनि नरहने भन्ने नेपाल उद्योग वाणिज्य संघको नियमावलीको नियम ९(ख) बमोजिम ललितपुर उद्योग व्यापार संघको हालको कार्य समितिलाई भङ्ग गर्ने, ललितपुर जिल्लाको उद्योग व्यापारिक समुदायबाट बढीमा ७ जना व्यक्तिहरूसम्मको एउटा तदर्थ नियुक्त गर्ने, तदर्थ समितिले ललितपुर उद्योग व्यापार संघमा अध्यक्ष एवं नयाँ कार्य समितिका सदस्यहरूको चुनाव नियमबमोजिम यथाशिघ्र गराउने, चुनाव नभएसम्म तदर्थ समितले ललितपुर उद्योग व्यापार संघको कार्य नियमबमोजिम चलाउने र बैंकको खाता समेत सञ्चालन गर्न, ललितपुर उद्योग व्यापार संघको बारेमा छानबीन नभई निर्णय नभएसम्मको लागि उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धमा यस संघबाट प्रत्यायोजित अधिकारलाई निलम्वन गरी २०४३।१०।५ देखि यसै संघबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्था भइरहेकोमा सो उत्पत्तिको प्रमाणपत्र जारी गर्न यो अधिकारलाई पूर्व शर्त अनुसार पुनः ललितपुर उद्योग व्यापार संघको तदर्थ समितिलाई प्रत्यायोजन गर्ने चुनावपछि गठित ललितपुर उद्योग व्यापार संघको कार्य समितिले प्रयोग गर्ने भनी निर्णय गरिएको रहेछ ।

४.विपक्षी नेपाल वाणिज्य संघको नियमावलीको दफा ९(ख) ले विपक्षीलाई उपरोक्त निर्णय गरी हाम्रो कार्य समितिलाई भंग गर्ने अधिकारै दिएको छैन । विपक्षी स्थायी समितिको ते¥हौं बैठकको मिति २०४३।१२।२३ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ । नेपाल उद्योग वाणिज्य संघको ललितपुर उद्योग व्यापार संघ सदस्य भएपछि विपक्षी नेपाल उद्योग बाणिज्य संघको नियमावलीको दफा ४९.३ बमोजिम प्रतिनिधि पठाउने र मतदान गर्ने अधिकार भएको ऐ. नियमको दफा २० बमोजिम म शुभाषगोपाल वैद्यलाई उम्मेदवार हुन पाउने हक छ । निवेदक संघको मात्र प्रतिनिधित्व हुन नपाउने र उम्मेदवार हुन नपाउने सर्वथा गैरकानुनी हुँदा विपक्षीको हाम्रो कार्य समिति विघटन गर्ने निर्णयबाट हामीलाई अधिवेशन र निर्वाचनमा भाग लिनबाट बञ्चित गरिएको हुँदा प्रतिनिधि स्वीकार गरी उम्मेदवारको नामाड्ढन पत्र दर्ता गरिदिनु भन्ने विपक्षीहरूका नाउँमा परमादेश जारी गरिपाउँ । मेरो हकाधिकारको सुरक्षाको लागि २०४४ ज्येष्ठ १५ गते हुन गइरहेको अधिवेशन निर्वाचन रिटको अन्तिम टुङ्गो नलागेसम्म अन्तरिम आदेश जारी गरी स्थगित गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर ।

५.यस्मा विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेश गर्नु भन्नेसमेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४४।२।१४ को आदेश ।

६.ललितपुर उद्योग व्यापार संघको निर्वाचन २०४२।५।८ मा २ वर्षको लागि भएको थियो । रिट निवेदकहरूको पदावधि २०४४।५।८ गते समाप्त हुन्छ । यस संघको नियमावलीको नियम ९(ख) बमोजिम कारण परेमा र आवश्यक भएमा यो संघले कुनै पनि सदस्य संघको कार्य समितिलाई भंग गर्न सक्दछ । यसमा कुनै प्रतिबन्ध लागेको छैन, उक्त संघको सदस्यहरूको हितलाई ध्यानमा राखी यो संघले सोही नियमले दिएको अधिकार प्रयोग गरी ललितपुर उद्योग व्यापार संघको कार्य समितिलाई भंग गरी तदर्थ समिति गठन गरेको हो । एकै संघबाट दुई विभिन्न व्यक्तिको नाम सदस्य पदको लागि सिफारिश भई आएकोबाट पनि आपसमा झै झगडा भइरहेको कुरा देखिन्छ । कार्य समितिको ठाउँमा तदर्थ समिति गठन भइसकेकोले कार्य समितिको सिफारिश प्रष्ट रुपमा गैरकानुनी हुँदा प्रस्तुत रिट खारेज गरिपाउँ भन्ने समेत व्यहोराको नेपाल उद्योग वाणिज्य संघको अध्यक्षको लिखितजवाफ ।

७.अन्य विपक्षीहरूबाट लिखितजवाफ प्राप्त हुन नआएको ।

८.नियमबमोजिम पेश भएको प्रस्तुत रिट निवेदनमा प्रत्यर्थी महेशलाल प्रधान समेतका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जबिहारीप्रसाद सिंहले गर्नु भएको बहस समेत सुनियो निर्णयतर्फ विचार गर्दा, उद्योग वाणिज्य संघको कार्य समितिको सदस्य पदको लागि उम्मेदवारी पत्र दाखिल गर्न गएका सुभाषगोपाल वैद्यलाई उम्मेदवारी दर्खास्त दाखिल गर्न नदिएको भन्ने निवेदन जिकिर देखिन्छ । नेपाल उद्योग वाणिज्य संघलाई निवेदकको कार्य समितिलाई भंग गर्ने अधिकार नभएकोमा भंग गरिएको मिति २०४३।१२।२३ को निर्णयले निवेदकहरूको हकमा आघात परेको भन्ने निवेदकको मुख्य जिकिर रहेको पाइन्छ ।

९.प्रत्यर्थीको लिखितजवाफबाट संघको निर्वाचन २०४२।५।८ मा दुई वर्षको लागि भएको र सो पदावधि २०४४।५।८ मा समाप्त हुने कुरा उल्लेख गरेको देखियो । अर्थात नियमानुसार भएको निर्वाचनको अवधि उक्त मिति २०४२।५।८ गतेबाट शुरु भई २०४४।५।८ गते समाप्त भइसकेको देखिन्छ । अवधि समाप्त भइसकेपछि साविकको निर्वाचन बमोजिम गठित ललितपुर उद्योग व्यापार संघको कार्यसमिति भङ्ग गरेको मिति २०४३।१२।२३ को निर्णय उपर विचार गरी सो मिल्यो मिलेन भनी रिट जारी गर्न निरर्थक देखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाईल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.प्रचण्डराज अनिल

 

इति संवत् २०४४ साल माघ २८ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु