निर्णय नं. ३३४४ - बन्दी–प्रत्यक्षीकरण

निर्णय नं. ३३४४ ने.का.प. २०४५ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४४ सालको रिट नं. १६६०
आदेश भएको मिति : २०४४।१२।२९।२ मा
निवेदक : का.न.पं.व.ा.नं.१४ बस्ने विजय कौशलको हकमा श्रीमती सावित्री कौशल
विरुद्ध
विपक्षी : भ.पु.जि. ठिमी भिमसेन गा.पं. वडा नं. ७ बस्ने गोविन्द श्रेष्ठसमेत
विषय : बन्दी–प्रत्यक्षीकरण
(१) प्रत्यर्थीको लिखितजवाफमा निवेदक थुनामा नरहेको भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । निवेदक थुनामा रहेको भन्ने कुरा समर्थित हुने कुनै प्रमाण परिबन्द निवेदक तर्फबाट आउन नसकेको तथा निवेदक थुनामा नरहेको भन्ने प्रत्यर्थी कार्यालयहरूको जवाफ समेत देखिएको स्थितिमा निवेदकको माग बमोजिम बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गर्नु पर्ने अवस्था नदेखिने ।
(प्रकरण नं. ९)
विपक्षीतर्फबाट : विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री वलराम के.सी.विद्वान अधिवक्ता श्री शम्भु थापा
आदेश
न्या.हरिहरलाल राजभण्डारी : नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार रहेछ ।
२.मलाई अञ्चलाधीशज्यूको मौखिक आदेश भनी जिल्ला प्रहरी कार्यालयका प्रहरीलाई गिरÇतार भएको कारणसहितको सूचना नै नदिई मिति २०४४।९।१० गतेदेखि जिल्ला कार्यालयमा थुनामा राखिएकोछ ।
३.थुनामा राखिनुको तात्पर्य विपक्ष गोविन्द श्रेष्ठसंगको लेनदेन विषयलाई लिएर रहेछ । सो विषयमा उजूरी लिई सुन्ने र कारवाही गर्ने अधिकार विपक्ष अञ्चलाधीश कार्यालयलाई छैन । अतः विपक्षीहरूले गैरकानुनी थुनामा राखी संविधान समेतको उल्लंघन गरेकोले बन्दी–प्रत्यक्षीकरणको जादेश जारी गरी थुनाबाट मुक्त हुनपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर ।
४.यसमा विपक्षीहरूबाट लिखितजवाफ मगाई नियमानुसार पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४४।९।२३ को आदेश ।
५.निवेदक विजय कौशल र निजका विपक्षी गोविन्द श्रेष्ठ बीच लेनदेनको कारणबाट अशान्ति भएकोले शान्ति सुरक्षा गरिपाउँ भनी गोविन्द श्रेष्ठको निवेदन परी शान्ति सुरक्षामा दखल पर्ने काम नगर्नु भनी निजलाई झिकाई सम्झाई बुझाइसम्म गरी रेखदेखको निमित्त उपस्थित गराउँदा उपस्थित नभई वेपत्ता भएकोले निजलाई यस कार्यालयबाट थुनामा राखिएको छैन, रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी अञ्चलाधीशको कार्यालय बागमती अञ्चलको लिखितजवाफ ।
६.विपक्षी विजय कौशललाई २०४४।९।१० गते पक्राउ नगरी यस कार्यालयमा थुनामा नै नराखेको हुँदा आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्नको लागि प्रहरी माथि लान्छना लगाई झुठ्ठा निवेदन दिएको हुँदा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको प्रत्यर्थी जिल्ला प्रहरी कार्यालय, काठमाडौंको लिखितजवाफ ।
७.मलाई विपक्षीले तिर्नु पर्ने रकमको सम्बन्धमा मलाई नतिरी उल्टै मेरो जीउ ज्यानमा खतरा हुने खालका धम्की दिएकोले अञ्चलाधीश कार्यालयमा शान्तिसुरक्षा समेत गरिपाउँ भनी निवेदन गरेको हुँ । उक्त निवेदनबाट निवेदकलाई थुनामा समेत राखिएको छैन भन्ने समेत व्यहोराको प्रत्यर्थी गोविन्द श्रेष्ठको लिखितजवाफ ।
८.नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दामा प्रत्यर्थी कार्यालयतर्फबाट उपस्थित विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री वलराम के.सी.तथा प्रत्यर्थी गोविन्द श्रेष्ठ तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले निवेदकलाई शान्ति सुरक्षाको दृष्टिले सम्झाउने कामसम्म भएकोमा निज स्वयं हाल देखा नपरी थुनामा राख्यो भनी कल्पित व्यहोरा उल्लेख गरेका हुन् । थुनामा राखिएको समेत नहुँदा रिट निवेदन खारेज होस् भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
९.यसमा निर्णयतर्फ हेर्दा, निवेदकलाई लेनदेनको विषयलाई लिएर गैरकानुनी रुपमा मिति २०४४।९।१० देखि थुनामा राखिएको छ भन्ने निवेदन जिकिर भएकोमा प्रत्यर्थी अञ्चलाधीश कार्यालयको लिखितजवाफमा शान्ति सुरक्षाको निमित्त सम्झाइएको, रेखदेखको निमित्त उपस्थित गराउँदा उपस्थित नभएको भन्ने व्यहोरा उल्लेख भई प्रत्यर्थी अञ्चलाधीश कार्यालय तथा जिल्ला प्रहरी कार्यालय समेतको लिखितजवाफमा निवेदक थुनामा नरहेको भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । निवेदक थुनामा रहेको भन्ने कुरा समर्थित हुने कुनै प्रमाण परिबन्द निवेदकतर्फबाट आउन नसकेको तथा निवेदक थुनामा नरहेको भन्ने प्रत्यर्थी कार्यालयहरूको जवाफ समेत देखिएको स्थितिमा निवेदकको माग बमोजिम बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गर्नु पर्ने अवस्था नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत २०४४ साल चैत्र २९ गते रोज २ शुभम् ।