शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३३४८ - ज्यान

भाग: ३० साल: २०४५ महिना: बैशाख अंक:

निर्णय नं. ३३४८                 ने.का.प. २०४५     अङ्क १

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४४ सालको फौ.पु.नं. ४१३, सा.नं. ६५

फैसला भएको मिति : २०४५।१।५।१ मा

 

पुनरावेदक/प्रतिवादी : विदेश रुस पेवा घर भई अमेरिकाबाट नेपाल आई हाल केन्द्रीय कारागारमा थुनामा रहेको भिक्टर लुकीन

विरुद्ध

विपक्षी/वादी : प्रहरी थाना दोलालघाटको जाहेरीले श्री ५ को सरकार

 

मुद्दा : ज्यान

 

(१)                  आत्महत्या गरी मरेको हो भने लाश जाँच मुचुल्कामा लेखी देखाए बमोजिम लाशको टाउको देखि कम्मरसम्म बोराले र कम्मरदेखि खुट्टासम्म स्लीपिड्ड व्यागमा रही सो स्लीपिड्ड व्यागमा ढुड्डा समेत राखी बाँधिएको नहुनु पर्नाको साथै अभियुक्तको बयान तथा प्रहरी कागजमा देखाए बमोजिम मर्ने निकोलाइले बोलाएको सुनी जाँदा आफूले देखेको कुरा बताउँदा समेत निजको शरीर बोरा र स्लीपिड्ड व्यागमा बाँधिएको भनी नदेखाएको र लाशको खुट्टा कम्मर  समेत मुडो जस्तो पारी बाँधिएको देखिएकोबाट क्गअष्मभ लयतभ मा देखाइए बमोजिम मितिमा आत्महत्या गरी मरेको भन्न सकिने अवस्था नरहेको सो कुरा यदि साँचो भए अभियुक्तले मौकैमा प्रहरीमा समेत खबर गर्नुपर्नेमा सो नगरी झन फोटो कन्सर्नमा गई मर्ने निकोलाई आफ्नो देशमा फर्की सकेको भनी देखाएकोबाट पुष्टी हुन आएको समेतबाट पुनरावेदकतर्फका जिकिरसित सहमत हुन नसकेकोले इन्साफ मनासिव ठहर्ने ।

(प्रकरण नं.  २१)

 

पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान : म.क्षे.अ.को फैसला उपर चित्त नबुझाई प्र.भिक्टर लुकीनका तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षित विवरण यसप्रकार रहेछ ।

२.रामेछाप आवत जावत गर्ने बाटो मुनी सुनकोशीमा लाश छ भन्ने खबर अनुसार जाँदा दोलालघाट गा.पं. सकिने डाँडामुनी पानीमा डुबीरहेको फेला परेकोले जाहेर गरेको छु भन्ने समेत व्यहोराको दोलालघाट चौकीको पत्र ।

३.सुनकोशीको नदी बगिरहेको ठाडे कंकारभिर पानीमा अडिरहेको लाश झिकी हेर्दा घाँटीमा ९ फन्का, कम्मरमा ४ फन्का र गोडा, पिंडुलामा १६ फन्का नाइलनको डोरीले बाँधेको लाशको ज्याकेटमा ग्याँसवाला लाइटर छुरी, दाँत, चस्मा समेत वरामद भएको विदेशी लोग्ने मानिस नाउँ थाहा नभएको लाश हेर्दा अं. १३ दिन अघिको जस्तो देखिने, वोराले टाउको समेत छोपिएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का ।

४.निज विदेशी बसेको ठाउँ का.प.जि. फलाटे गा.पं. अन्तर्गत रासपति भन्ने ठाउँमा गई मिति २०३९।१२।१० मा बुझ्दा मानबहादुर माझीको रासपतिमा भएको छाप्रोमा हेर्दा स्लीपिङ्ग व्याग, फोटोहरू, खाना बनाउने भाँडा, जुत्ता, मोजा समेत सामानहरू बरामद भएको भन्ने समेत व्यहोराको बरामदी मुचुल्का ।

५.१९८२ अगष्ट २८ का दिन अमेरिकी नागरिक निकोले ग्रिडिन मेरो लजमा आई बसेर भोलिपल्ट मुड्खु गए । सो को ८।१० दिनपछि निकोले ग्रिडिन साथी लुकिन भिक्टरलाई लिई आए । भिक्टर १०।१२ दिन बसे, निकोले चाहिँ भोलिपल्टै मुड्खु गए । यसै बीच निकोले आएपछि पुनः नाम्चे जान्छु भनी क्यामराको वकनर, किताब बोरामा हालिराख्न दिए । लुकीन भिक्टोर पनि स्वयंभुतिर जान्छु भनी गएर बराबर निकोले फर्किए भनी सोध्न आउने गर्थे मिति २०३९।१०।१७ मा निकोले फर्केर आए । भिक्टोर आई बराबर निकोलेलाई भेटि जाने गर्दथे । एकदिन दुबैजना दोलालघाट जाने भनी हिंडे, १५।२० दिनपछि १९८३ मार्च ३ का दिन फोटोग्राफी सामान साथी लुकीन भिक्टोरलाई दिनु भन्ने निकोले ग्रिडिन नाम लेखेको पत्र लिई लुकीन भिक्टोर आए । मैले निकोले खोई भन्दा उनी दोलालघाटमै छन् भनेपछि सामान दिएँ । निकोले ग्रिडिनले ५० डलरको चेक निजको नाउँको पासपोर्ट पठाएको छ, बैंकमा साटी दिनुपर्‍यो भनी भिक्टोरले भने । चेक साट्न सम्बन्धित मानिस नभई साट्दैनन् भनेपछि निज दोलालघाटबाट जान्छु भनी फोटोको सामान सहित लिई गए हाल प्रहरीले पासपोर्ट नं. २४६०८५२२ को यु.एस.ए. नागरिक भिक्टोर लुकीनको फोटो देखाई यस व्यक्तिलाई चिन्नुहुन्छ भनी सोधे, मेरो लजमा आई बस्ने मानिस हुन् निकोले  ग्रिडिनको मृत्युबारे भिक्टोर लुकीनलाई थाहा हुनुपर्छ भन्ने समेत व्यहोराको काठमाडौं ठमेल ड्रिमलेण्ड लजका मेनेजर अशोककुमार उप्रेतीको प्रहरीमा बयान ।

६.निकोले ग्रिडिन र भिक्टोर लुकीनको फोटो देखाउँदा देखें, सो फोटो निजहरूको हो । मिति २०३९।१०।१६ मा क्यामरा किन्नुहुन्छ भनी निकोले सोध्न आएका थिए । मैले ल्याउ भन्दा मिति २०३९।१०।१९ मा उनले ल्याएर म दोलालघाटमा बस्छु रु.३००।मा बेची दिनु भने । पुनः मिति २०३९।१०।२७ मा लेन्स दुई लिई आई रु.४,७००।मा बेची दिनु भनी रसिद लिई गए । एक हप्तापछि सामान बिक्री भए नभएको बुझ्न आए । सामान बिक्री भएको छैन भनी मैले भनें । मिति २०३९।११।२२ साँझमा भिक्टोर लुकीनले क्यामरा लेन्स, मिटर ट्युवसेट, रोयक्स समेतको फोटो ग्राफीको सामान बिक्री गरिदिनु भनी ल्याए । मैले सो दिन राति भएकोले लिइन, भोलिपल्ट रु.२०००।मा बिक्री गरिदिनु भनी मेरो पसलमा छोडेको र मैले लेन्स अमेरिकन बुढाले बिक्री गर्न दिई भनी देखाउँदा, यो लेन्स दिने मेरो साथी हो, उसले क्यामरा समेत मलाई उपहार दिएको भने । ३।४ दिनपछि सामान बिक्री भएको छैन भन्दा केही दिन राखे बिक्री होला भनी फर्कि गएको आजसम्म पनि आएको छैन । निकोले ग्रिडिनको मृत्यु भयो भन्ने कुरा आजै थाहा पाएँ भन्ने समेत व्यहोराको फोटो कन्सर्नमा काम गर्ने मनोहरले प्रहरीमा गरेको बयान कागज ।

७.२०३९ साल फाल्गुण महीनाको १८।१९ गते दुइजना विदेशी नागरिकहरू मेरो खेतको छाप्रोमा आई पाल टांगी बसेका थिए । भोलिपल्ट देखि नजिकैको जंगलमा गई बसे । ४।५ दिनपछि सो मध्ये बुढो विदेशी चाहिं देखिंन । मैले खोई भन्दा थाहा छैन भन्थ्यो । त्यहाँ रहेको एकजना विदेशी पनि ४।५ दिनपछि काठमाडौं गई ११ दिनपछि रेडियो, बाजा समेत लिएर आयो र सोही ठाउँमा ८ दिनजति बस्यो र लिएर आएको रेडियो र बाजा समेत बोकी गएपछि फर्केर आएको थिएन । यस कार्यालयबाट पक्राउ गरी ल्याई देखाउँदा चिनें । मृतक विदेशीको साथमा आई बस्ने यही हो । त्यसैले यहि व्यक्तिले नै मृतक निकोले ग्रिडिनलाई मारेका हुन् भन्ने कुरामा मलाई विश्वास लाग्छ भन्ने समेत व्यहोराको मानबहादुर माझीले प्रहरीमा गरेको बयान कागज ।

८.दुई जना विदेशीहरू मानबहादुर माझीको खेतमा पाल टांगी बसेका थिए । त्यस मध्ये एकजनालाई नदेख्दा काठमाडौं गयो होला भन्ने ठानेको थिएँ । यस कार्यालयबाट पक्राउ गरिल्याएको मानिसलाई चिनें । मृतक विदेशीको साथमा सँगै बसेको मानिस यहि हो । यहि भिक्टर लुकीनले निकोले ग्रिडेनलाई मारेकोमा शंका लाग्छ भन्ने समेत व्यहोराको प्रहरी समक्ष साहिंलो माझीको बयान कागज ।

९.मृतक निकोले ग्रिडिनको पासपोर्ट समेत निज भिक्टोर लुकीनसंग भएको भन्ने समेत प्रहरी हवल्दारको प्रतिवेदन ।

१०.निकोलाई ग्रिडिनसंग एक वर्ष चार महीना अघि अमेरिकामा चिनाजान भएको हो । अमेरिकाबाट संगै हिंडेका हौं । निकोलाई सोझै नेपाल (काठमाडौं) आए, म चाहिं एक महीना जतिपछि पेरिश, बंगलादेश हुँदै आएँ । एयरपोर्टमा मलाई लिन निज मृतक आएका थिए । त्यसपछि ड्रिमलेण्ड लजमा गएर बस्यौं । एकदिन दोलालघाट दुबैजना गयौं, सुनकोशीको किनारको फलाटे गा.पं. वडा नं. ९ अन्तर्गत रासपात भन्ने गाउँको ढुंगाको ककारोमा गई बस्यौं । निज मर्नु भन्दा एकदिन अघि रुघाखोकी लागेको थियो भोलिपल्ट भिरबाट लडी पानीमा परेका थिए । जाडो भयो भनेकाले मैले स्लिपिङ ब्याग ओडाई दिएँ । उनले म मर्छु होला, म मरें भने तिमीले नै मारेको भनी पुलिस कारवाही होला । मेरो सामान पुलिसमा बुझाई दिनु, तिमी दोलालघाटमा गई बस्नु भने र दोलालघाटमा नै बसी त्यसपछि स्वयंभु गई दुई दिन बसें । त्यसपछि प्रहरीले पक्राउ गरेको हो । निज मृतक निकोले ग्रिडिनले मेरो पासपोर्ट अमेरिकी दुतावासमा नबुझाउनु,  बुझाएमा तँलाई पक्राउ गर्छ भनेकोले नबुझाएको हुँ निजको मृत्यु कर्तव्यबाट भएको हुनु पर्दछ । कसले कर्तव्य गरी मारे भन्न सक्दिन भन्ने समेत व्यहोराको भिक्टर लुकीनले प्रहरी समक्ष गरेको बयान कागज ।

११.निकोले ग्रिडिनलाई भिक्टोर लुकीनले कर्तव्य गरी मारेको भन्ने घटनास्थल सरजमीन मुचुल्का ।

१२.पोष्टमार्टम रिपोर्ट, मनबहादुर समेतको प्रहरीमा कागज, भिक्टर लुकीनको प्रहरीमा कागज समेतको आधारबाट मृत अवस्थामा, मृतक निकोलाई ग्रिडिन र भिक्टर लुकीन मात्र घटनास्थलमा भएको देखिन्छ । तसर्थ निकोलाई ग्रिडिनलाई मारी निजको धनमाल सामान आफूले लिने नियतले भिक्टोर लुकीनले कर्तव्य गरी मारी फालेको सबूद प्रमाणबाट देखिन आएकोले प्रतिवादी भिक्टोर लुकीनले ज्यानसम्बन्धी महलको १ नं. अनुसार कसूर गरेकोले निजलाई ऐ. ऐनको ज्यानसम्बन्धी महलको १३(३) अनुसार सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

१३.मेरो गुरुले छोडेर गएका दुइवटा कागजले बताउँछन् कि उनलाई कसैले मारेको होइन आफैं पानीमा डुबी मरेका हुन् । जीउमा बाँधेको डोरी पनि उनी आफैंले बाँधेका हुन् । उनको खुट्टा चल्न सक्ने स्थिति     थिएन । हात र अरु जिउ राम्रो अवस्थामा थियो । पानीमा रहेको ढुंगामा ठोक्किई टाउकोमा चोट लागेको     होला । मेरो गुरुले मर्नु भन्दा पहिले म मरेपछि यी सामानहरू तिमिले जिम्मा राख्नु, क्यामरा लगेर फोटो कन्सर्नमा बिक्री गरिदिनु भनेकोले मैले गुरुको आज्ञालाई पालना गरेको हुँ । तिमी मेरो पासपोर्ट लिएर अमेरिकी दुवातावास नजानु भनेकोले म नगएको हुँ, प्रहरीले अमानवीय व्यवहार समेत गर्‍यो भन्नेसमेत व्यहोराको प्र.भिक्टर लुकीनले काभ्रेपलाञ्चोक जिल्ला अदालतमा गरेको बयान ।

१४.मानबहादुर माझी, अशोककुमार उप्रेती समेतले प्रहरीमा भएको कागजलाई समर्थन गर्ने गरी गरेको बकपत्र साथै भक्तबहादुर लयायतका मनिसहरूले सरजमीनको कुरालाई समर्थन गर्ने गरी काभ्रे पलान्चोक जिल्ला अदालतमा गरेको बकपत्र ।

१५.प्रतिवादीले निकोलाई ग्रिडिनको मृत्युपछि मृतकले राख्न दिएको क्यामरामा फिट हुने लेन्स फोटो कन्सर्नमा लिई जाँदा मृतकले उपहार दिएको भनेको, नमारेको भए लेखिए अनुसार कीर्तेपत्र लिई होटलमा जानुपर्ने र नभएको कुरा भनी क्यामेराको लेन्स लिई फोटो कन्सर्न जानुपर्ने अवस्था नभएको निजले कर्तव्य नगरेको भए प्रतिवादी र मर्ने निकोलाई मात्र दुई जना रासपात भन्ने ठाउँमा भएको, एकजना मरेको थाहा भएपछि सम्बन्धित निकाय तथा प्रहरी कार्यालयमा जानकारी दिनु पर्नेमा त्यस्तो केही गरेको छु भन्न प्रतिवादीले सकेको छैन । अर्कोतर्फ प्रतिवादीले निकोलाई ग्रिडिन स्वेच्छाले आत्महत्या गरी मरेको भन्ने लिएको बयान जिकिर मिलेको नहुँदा र प्रतिवादीले आफ्नो बयानमा मर्नेलाई अरु कुनै व्यक्तिले कर्तव्य गरेको भनी देखाउँन सकेको समेत नहुँदा प्रतिवादीले मर्ने निकोलाई ग्रिडिनलाई कर्तव्य गरी मारेको ठहर्छ । सो ठहर्नाले प्रतिवादी भिक्टोर लुकीनलाई प्रतिवेदन दावी बमोजिम ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुन्छ । प्रतिवादी विदेशी भएकोले १० वर्ष कैद हुने राय समेत अ.बं. १८८ नं. बमोजिम लेखी अ.बं. १८६(१) बमोजिम जाहेरी गरी पठाउने ठहर्छ भन्नेसमेत व्यहोराको शुरु काभ्रेपलाञ्चोक जि.अ.को मिति २०४२।३।३१ को फैसला ।

१६.म निर्दोष भएकोले मलाई सजायँ गर्ने ठहराई भएको काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला उल्टाई सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.भिक्टोर लुकिनको म.क्षे.अ.मा पर्न आएको पुनरावेदन ।

१७.प्रतिवादी आरोपित कसूरमा इन्कार रहेको लाशजाँच प्रकृति मुचुल्काबाट मृतको घाँटी, कम्मर र      गोडा डोरीले बाँधिएको हात भने खुल्ला रहेको र मेरो मृत्युमा कसैलाई दोष नलगाउनु भन्ने मर्नेको पत्र बरामद भएकोबाट समेत आत्महत्या गरेको भन्ने प्रतिवादी जिकिरको पुष्टी हुने हुँदा प्रतिवादीलाई कसूरदार ठहराएको शुरु जिल्ला अदालतको ठहर फरक पर्ने भएबाट अ.बं. २०२ नं. तथा क्षेत्रीय अदालत नियमावली बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई छलफलको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने म.क्षे.अ.को मिति २०४३।१।२२ को आदेश ।

१८.लाश प्रकृति मुचुल्का र प्रतिवादीले देखाएको भनेको ठाउँको घटनास्थल विवरणबाट मृतक निकोलाई ग्रिडेन कर्तव्यबाट मरेको भन्ने देखिई मृतक र प्रतिवादी भिक्टर लुकिनसंग साथ एकान्त ठाउँ, जंगलको ढुङ्गा ककरमा रहेको भन्ने देखिएको र भिक्टर मरेको थाहा पाएपछि पनि त्यसको सम्बन्धित निकाय तथा प्रहरीमा जानकारी नगराई मर्नेको सम्पत्ति खाने गरी हिंडेको भन्ने बुझिएको प्रमाणबाट देखिएकोले समेत मृतक निकोलाई ग्रिडेनलाई प्रतिवादी भिक्टर लुकिनले कर्तव्य गरी मारेको ठहराई सजायँ गरेको र १० बर्ष कैद हुने भनी अ.बं. १८८ नं. बमोजिम राय समेतको शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत म.क्षे.अ.को मिति २०४३।६।५ को फैसला ।

१९.पेटमा पानी नभई पानीमा डुबी मरेको लाशका लक्षणहरू नदेखिएको र लाश केही अंश मात्र कुहिएको भन्ने डाक्टरको राय समेत कर्तव्य ठहर्‍याउने आधार हुन सक्दैन । मेरा अपराधीक मनसाय समेत प्रमाणित   छैन । सरजमीनका मानिसहरूले मृतकले आत्महत्या सम्बन्धित पत्र छाडेको तथ्यको अज्ञानतामा तथा प्रहरीले कारवाही चलाएको कुरा भनी विश्वास गरी बकेका समेत आधारमा शुरुको निर्णय मनासिव ठहराई म.क्षे.अ.बाट भएको त्रुटिपूर्ण फैसला बदर गरी निर्दोष सावित गरिपाउँ भन्ने व्यहोराको प्रतिवादी भिक्टर लुकीनको यस अदालतमा मिति २०४४।४।२१ मा पर्न आएको पुनरावेदनपत्र ।

२०.नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री दमन ढुङ्गानाले प्रतिवादी कसूरमा प्रहरीमा तथा अदालत समेतमा इन्कार रही अत्महत्या गरी मृतकको मृत्यु भएको भनेका छन् । निजको इन्कारीलाई मृतकले मर्नुअघि स्वयं लेखेको आत्महत्या गर्ने व्यहोराको पत्रबाट पुष्टि गर्दछ । मृतकको हात समेत खुलै रहेका अवस्थामा निजले आफ्नो गोडा समेत बाँधी आत्महत्या गर्न नदीमा हाम फाल्न नसक्ने अवस्था रहँदैन । यस्तो स्थितिमा क्षेत्रीय अदालतले शुरू सदर गर्ने गरी गरेको इन्साफ उल्टी हुने अवस्था हुँदा विपक्षी झिकाई छलफल गरी मेरो पक्षलाई निर्दोष ठहराइयोस् भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

२१.यसमा भेट्टिएको लाशको फोटोबाट लाश मर्ने निकोलाई ग्रिडिनको हो भन्ने देखिएको र सोही फोटो देखाई अभियुक्तलाई पक्राउ गरेको देखिएको लाशजाँच र पोष्टमार्टम हुँदा पनि लाश यो यसको भन्ने यकीन नभए पनि लाशको फोटोबाट सरजमीनका अदालतमा आई बकपत्र गर्ने मानिसहरूबाट समेत लाश मर्ने निकोलई ग्रिडिनकै भनी देखाएको र अभियुक्तले पनि त्यसतर्फ कुनै विवाद नउठाएकोबाट यसतर्फ शंका लिई रहनु पर्ने अवस्था नभएको, जहाँसम्म अभियुक्तको इन्कारी बयान छ, निजले मर्ने निकोलाई आत्महत्या गरी मरेको भनी निज आफू आत्महत्या गरी मरेको भनी २०३९।११।५ मा कागज समेत गरी छोडेको भन्ने आधार लिएको देखिन आउँछ । तर इन्कारी बमोजिमका आत्महत्या गरी मरेको हो भन्ने लाशजाँच मुचुल्कामा लेखी लेखाए बमोजिम लाशको टाउको देखि कम्मरसम्म बोराले र कम्मरदेखि खुट्टासम्म स्लीपिङ व्यागमा रही सो स्लीपिङ व्यागमा ढुङ्गा समेत राखी बाँधिएको नहुनु पर्नाको साथै  अभियुक्तको बयान तथा प्रहरी कागजमा देखाए बमोजिम मर्ने निकोलाइले बोलाएको सुनी जाँदा आफूले देखेको कुरा बताउँदा समेत निजको शरीर बोरा र स्लीपिङ व्यागमा बाँधिएको भनी नदेखाएको र लाशको खुट्टा कम्मर समेत मुडो जस्तो पारी बाँधिएको देखिएकोबाट क्गअष्मभ लयतभ मा देखाइए बमोजिम मितिमा आत्महत्या गरी मरेको भन्न सकिने अवस्था नरहेको सो कुरा यदि साँचो भए अभियुक्त मौकैमा प्रहरीमा समेत खबर गर्नु पर्नेमा सो नगरी झन फोटोकन्सर्नमा गई मर्ने निकोलाई आफ्नोदेशमा फर्किसकेको भनी देखाएकोबाट पुष्टि हुनआएको समेत बाट पुनरावेदक तर्फका विद्वान अधिवक्ताको बहस जिकिर समेतसित सहमत हुन नसकेकोले इन्साफ मनासिव ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्नसक्दैन । मिसिल नियमबमोजिम गरी बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४५ साल बैशाख ५ गते रोज १ शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु