निर्णय नं. ३३५२ - अपुताली

निर्णय नं. ३३५२ ने.का.प. २०४५ अङ्क २
पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४४ सालको दे.पु.ई.नं. ६७
फैसला भएको मिति : २०४४।१२।९।३ मा
पुनरावेदक/वादी : जिल्ला वारा गा.पं. व्रम्हपुरी वडा नं. १ बस्ने बाबुलाल साहू तेली
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ. गाउँपञ्चायत कलैया वडा नं. ५ बस्ने सुगिया तेलिनसमेत
मुद्दा : अपुताली
(१) अंश र अपुताली भन्ने दुई बेग्ला बेग्लै अवधारणा हुन् पुस्ताको हिसावले विचार गर्दा पनि लोग्ने स्वास्नी समान पुस्तामा पर्छन् भने छोरा दोस्रो पुस्तामा पर्न आउँछ, अपुताली पहिला समान पुस्तामा र त्यसपछि मात्र दोस्रो पुस्तामा जाने ।
(प्रकरण नं. १६)
पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विद्वान अधिवक्ता श्री प्रकाश वस्ती
विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री पीताम्वर सिलवाल
उल्लिखित मुद्दा : पुनरावेदक यादवनीधी तिवारी विपक्षी हिरण्येगर्भ कुमारी तिवारी भएको अंश दाइजो मुद्दामा २०३०९१०३ मा पूर्णइजलासबाट निर्णय भएको (सर्वोच्च अदालत निर्णय संग्रह भाग ९, पृष्ठ ९)
फैसला
न्या.प्रचण्डराज अनिल : प्रस्तुत मुद्दा निर्णयार्थ संयुक्त इजालस समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम निणयार्थ यस इजलास समक्ष पेश हुनआएको रहेछ । मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२.राम लखनको २ पत्नी जेठी पत्नीतर्फको जेठो छोरा म वादी, कान्छी जयनारायण कान्छीतर्फका ४ छोरा रामबाबु, श्यामबाबु, राजाबाबु, बद्रीप्रसाद हुन् । जयनारायण स्वर्गवास भएपछि निजको छोरा महन्थप्रसाद समेत सीताराम, लखन, म बाबुलाल, महन्थप्रसाद, सुगिया तेली, रामबाबु साह, श्यामबाबु, राजाबाबु, बद्रीप्रसाद समेत मिति २०२०।३।२७ मा रजिष्ट्रेशन पारित गरी छुट्टी परस्पर भिन्द भई बसेकोमा बद्रीप्रसाद स्वर्गवास भए, बद्रीप्रसादको अंश सम्पत्ति अपुताली पिता रामलखनले भोगचलन गरी आउनु भएको पिताको रेखदेख सेवा म तथा विपक्षी समेतले गरिआएकोमा पिता रामलखन मिति २०३६।८।२९ मा स्वर्गवास हुनु भयो । उहाँको कृया श्राद्ध मैले गरेको छु । पिता रामलखन साहको अंश भागमा परेको पिताको श्री सम्पत्ति हामी सबैको समान हक भई मेरो हुने अपुताली हक छुट्याई दिनु भनी बराबर भन्दा छुट्याई नदिएकोले रु.६६,०००।– मोलको श्री सम्पत्तिबाट ५ खण्डको १ खण्ड मेरो अपुताली हक छुट्याई दर्ता चलन समेत गराई पाउँ भन्ने फिराद दावी ।
३.जेठीतर्फका छोरा र कान्छीतर्फका ४ छोरालाई अंश छुट्याई दिएको बण्डापत्रमा मेरो नामसम्म उल्लेख छैन लोग्ने रामलखन म सुगियासंग साथमा छौं भाइ बद्रीप्रसादको अंश अपुताली पिता रामलखनले भोगी आएको भन्ने कुरा झुठ्ठा हो ।
४.अपुतालीको १२ नं. मा कुनै भाइले अंश लिई बसेकोमा अपुताली पर्न आएमा विमातृ पट्टीकाले पाउँदैन संग साथमा बसेकाले पाउँछ भन्ने व्यवस्था छ । म सुगिया स्वास्नी छँदै भिन्न बसेका सौतेनी छोराले अपुताली पाउने प्रश्न उत्पन्न हुन सक्दैन मर्ने बद्र्री र रामलखनको अपुताली समेत मेरै हक हुनुपर्छ भन्ने समेत प्रतिउत्तर–पत्र जिकिर ।
५.बद्रीप्रसादको अपुताली सम्बन्धमा अपुतालीको २० नं. को हदम्यादभित्र कायम गरेर आएको देखिँदैन । साथै अपुतालीको १२ नं. अन्तर्गत पनि वादी आउँन पाउने नदेखिएकोले वादी दावी पुग्दैन भन्ने वारा जिल्ला अदालतको फैसला ।
६.अपुतालीको २ नं. ले अपुतालीको क्रममा मर्नेको स्वास्नी छोराका नातीमा लोग्नेको स्वास्नी नजिकको हकदार हुने हुँदा स्वास्नीको उपस्थितिमा भिन्न भएको छोराले अपुताली पाउने नहुँदा शुरुको इन्साफ सदर हुन्छ भन्ने नारायणी अञ्चल अदालतको फैसला ।
७.रामलखन र निजकी श्रीमती सुगिया समेत अंश लिई भिन्न भएको भन्ने देखिन आएको अवस्थामा छोरीले अपुताली पाउने व्यवस्था रहेको अपुतालीको २ नं. प्रयोग गरी पिता रामलखनको अपुतालीमा छोरा बाबुलालको दावी नपुग्ने ठहर्याएको शुरुको सदर गरेको अञ्चल अदालतको फैसला कानुनी त्रुटिपूर्ण देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने म.क्षे.अ. डिभिजनबेन्चको आदेश ।
८.लोग्ने मरेपछि लोग्नेको सम्पति स्वास्नीले पाउने देखिएको । अपुतालीको २ नं. को व्यवस्था छोरीले अंश पाउने विषयमा मात्र नभई अपुताली पाउने हकवालाको अनुमति निर्धारण गरेकोले जेठी स्वास्नी मरी सकेकोले कान्छी स्वास्नी मात्र जीवित देखिएको हुँदा अंश लिई बेगल बसेका वादीले आमा छँदै अपुताली पाउँछ भन्न नमिली नारायणी अञ्चल अदालतले वादी दावी नपुग्ने ठहर्याएको इन्साफ मिलेको देखिँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने म.क्षे.अ.को फैसला ।
९.म.क्षे.अ.को इन्साफमा कानूनको व्याख्या सम्बन्धी प्रश्नमा त्रुटी भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने बाबुलालको निवेदन ।
१०.वादी प्रतिवादीहरू सबै छुट्टी भिन्न–भिन्न बसेको समेतबाट रामलखन मरी अपुताली पर्दा सबैको हक लाग्नेमा वादी दावी नपुग्ने ठहर्याई म.क्षे.अ.बाट भएको फैसलामा अपुतालीको २ नं. तथा १० नं.को त्रुटी भएको र त्यस्तो त्रुटी सार्वजनिक महत्वको विषयमा समेत हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत मिति २०४२।१२।२२।६ को यसै अदालत डिभिजनबेञ्चको आदेश ।
११.निर्णयार्थ संयुक्त इजलास समक्ष पेश हुँदा अंशबण्डाको १ नं. र २ नं.को व्यवस्थाबाट बाबुआमा र छोराहरूको पैतृक सम्पतिमा बराबर हक लाग्ने भन्ने कुरा स्पष्ट गरेको पाइन्छ । अपुतालीको १० नं. को अन्तिम वाक्यांशमा अंश लिई छुट्टिएको स्वास्नी मरी भने छोरा भएकोले छोरा नभए लोग्नेले पाउँछ भन्ने व्यवस्था भएकोबाट पनि अपुतालीमा छोराको बढी हक हुने कुरा स्पष्ट गरेको पाइन्छ । अपुतालीको २ नं. मा अपुताली पर्दा मर्नेको लोग्ने स्वास्नी छोरा वा छोराको छोरा भएसम्म छोरीले अपुताली पाउँदैन भन्ने उल्लेख भएकोबाट सामान्यतः हेर्दा अपुताली पाउने क्रम तोकेको हो कि भन्ने जस्तो देखिन आउँछ तर छोरा भएसम्म छोरीले अपुताली पाउँदैन । भन्ने वाक्यांशबाट कस्तो अवस्थामा छोरीले अपुताली पाउने हो त्यसको लागिसम्म व्यवस्था भएको प्रष्ट हुन्छ । छुट्टी भिन्न भएका स्वास्नी मरी भने छोराले पाउँछ । छोरा नभएमा लोग्नेले पाउँछ भन्ने अपुतालीको १० नं. को व्यवस्थाबाट पनि २ नं.ले अपुताली पाउँनेको प्राथमिकता क्रम तोकेको हो भन्ने कुरा भन्न मिल्ने देखिन आएन । प्रस्तुत मुद्दाका आमा र छोराहरू अंशबण्डा गरी सबै बेगल बसेको अवस्थामा बाबु मरी अपुताली पर्न आएको देखिएकोले आमा छोरा बराबर अंश पाउने समान हकदार हुनाले बराबरका हिसावले अपुताली पाउनु पर्नेमा सुगियाले मात्र अपुताली पाउने वादीले नपाउने भन्ने जिल्ला अदालतको निर्णय सदर गरेको अञ्चल अदालत र क्षेत्रीय अदालतको निर्णय मिलेको देखिएन । वादीले ५ भागको १ भाग अपुताली पाउने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय ।
१२.मुलुकी ऐन अपुतालीको २ नं. मा अपुताली पर्दा मर्नेको लोग्ने स्वास्नी छोरा वा छोराको छोरा भएसम्म छोरीले अपुताली पाउँदैन भन्ने उल्लेख भएकोबाट अपुताली पाउँनेको क्रमको व्यवस्था गरेको भन्ने देखिन आएको छ । यस कुराको पुष्टि यसै नम्बरको तल्लो वाक्यांश “छोरीहरू मध्ये कोही कन्या र कोही विवाह भएको वा पोइल गएकी भए प्रत्येक कन्या छोरीले दुई खण्ड र प्रत्येक विवाह भएकी वा पोइल गएकी छोरीले एक खण्डको हिसावले अपुताली पाउँछ । छोरी नभए संग बसेका हकवाला भए त्यस्ता हकवालाले र त्यस्ता हकवाला नभए अरु हकवालाले अपुताली पाउँछ” भनी गरिएको व्यवस्थाले पनि पुष्टी गर्दछ । लोग्ने स्वास्नी एकै पुस्ताका र छोरा दोस्रो पुस्तामा पर्न जान्छ । अपुताली पहिले समान पुस्तामा र त्यसपछि दोस्रो पुस्तामा जाने भन्ने कुरा व्यवहार र कानुनी व्यवस्थाले नै स्पष्ट गरेको छ । अंश भन्ने कुरा र अपुताली भन्ने कुरा दुई बेग्लाबेग्लै हुन् बाबुको सम्पत्ति अंशबण्डा नभई पैतृक सम्पतिको नाताले बाबुआमा र छोराको बण्डा हुन्छ भने छुट्टीएर पछि बाबु आमाको अंश भागको सम्पति अपुतालीको नाताले जान्छ । यस भिन्नतालाई राम्ररी ध्यानमा राख्नु पर्ने अवस्था छ । मर्ने राम लखनकी श्रीमती सुगिया छँदै वादीको दावी नपुग्ने भनी ठहर भएको शुरु र अञ्चल अदालतको इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ सदर हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय भई मिति २०४४।२।१४ मा निर्णय भएको रहेछ ।
१३.पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी तथा विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले अपुतालीको २ नं. ले अपुतालीको क्रम तोकेको होइन कस्तो अवस्थामा छोरीले अपुताली पाउँन सक्छ भन्ने प्रसंगमा सो व्यवस्था रहेको हो तसर्थ वादी दावी नपुग्ने ठहराएको इन्साफ मिलेको छैन, भन्ने समेत बहस गर्नु भयो । विपक्षी प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पीताम्वर सिलवालले अंश र अपुताली समान कुरा होइनन् तसर्थ जिय जियको धारणाले अपुतालीको क्रम तोकेको हुँदा यस्तो अवस्थामा लोग्नेको अपुताली स्वास्नीले पाउने ठहराएको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।
१४.आज निर्णय सुनाउँन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा वादी बाबुलाल साह तेली राम लखनका छोरा प्रतिवादी मध्येकी सुगिया तेलीन राम लखनकी श्रीमती र अन्य प्रतिवादीहरू रामबाबु, श्यामबाबु तथा राजाबाबु राम लखनका छोरा भएकोमा विवाद छैन । निजहरू सबैका बीचमा अंशबण्डा पारित भई अलग अलग बसेका अवस्थामा राम लखनको मृत्यु भएको कारणले निजको अपुताली ५ खण्डको १ खण्ड पाउँ भनी प्रस्तुत फिराद पर्न आएको देखिन्छ ।
१५.रामलखनकी श्रीमती सुगिया तेलीन जीवित रहँदैको अवस्थामा निजको छोरा वादी बाबुलालको अपुतालीमा दावी लाग्न सक्ने हो वा होइन ? अर्थात् रामलखनको अपुताली निजकी श्रीमती वा छोरा कस्ले प्राप्त गर्न सक्ने हो ? भन्ने सन्दर्भमा हेर्दा मुलुकी ऐन अपुतालीको २ नं. मा “अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराका छोरा भएसम्म छोरीले अपुताली पाउँदैन” भन्ने उल्लेख भएको पाइन्छ । मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोरीको छोरा पछि मात्र छोरीले अपुताली पाउँन सक्ने भनिएबाट अपुताली पाउने व्यक्तिहरूको प्राथमिकता क्रम तोकिएको भन्नु पर्ने हुन्छ र सो क्रममा लोग्नेको अपुताली पाउँन सक्ने सबैभन्दा नजिकको व्यक्ति स्वास्नी देखिन आउँछ । त्यसपछि मात्र छोरा, छोराको छोरा अर्थात् नातीलाई अपुताली प्राप्त हुनसक्ने देखिन्छ । यस कुराको पुष्टि उक्त २ नं. मा नै छोरीहरूमध्ये पनि कन्या र विवाह भएकी छोरीमा गरिएको विभेदबाट स्पष्ट हुन आउँछ । साथै छोरीपछि संग बसेका हकवाला र त्यस्ता हकवाला पनि नभए अन्य हकवालाले अपुताली पाउँन सक्ने भन्ने व्यवस्था उक्त २ नं. मै गरिएको पाइन्छ । समष्टिगत रुपले हेर्दा पनि उक्त २ नं. को व्यवस्था अपुतालीको प्राथमिकता क्रम तोक्ने सन्दर्भमा रहेको प्रावधान देखिन्छ ।
१६.अंश र अपुताली भन्ने दुई बेग्ला बेग्लै अवधारणा हुन् पुस्ताको हिसावले विचार गर्दा पनि लोग्ने स्वास्नी समान पुस्तामा पर्छन् भने छोरा दोस्रो पुस्तामा पर्न आउँछ । अपुताली पहिला समान पुस्तामा र त्यस पछि मात्र दोस्रो पुस्तामा जान्छ । यस दृष्टिले हेर्दा पनि प्रस्तुत मुद्दामा रामलखनको मृत्यु पछि निजको अपुताली निजकी श्रीमती सुगियालाई र त्यसपछि मात्र छोरो वादी समेतलाई प्राप्त हुनसक्ने देखिन्छ । पुनरावेदक यादवनिधी तिवारी विपक्षी हिरण्येगर्भ कुमारी तिवारी भएको अंश दाइजो मुद्दामा लोग्ने परलोक भइसकेकोले लोग्ने स्वास्नी समान स्तरमा रहने हुनाले अपुतालीको २ नं. को व्यवस्था अनुसार लोग्नेको अपुताली स्वास्नीले खान पाउने भन्ने संयुक्त इजलासमा माननीय न्यायाधीश श्री हेरम्वराजको राय भएकोमा पूर्णइजलासबाट सोही रायलाई समर्थन भई मिति २०३०।९।१०।३ मा निर्णय भएको पनि पाइन्छ (सर्वोच्च अदालत निर्णय संग्रह, भाग ९, पृष्ठ ९)
१७.अतः उपर्युक्त कारणबाट रामलखनको अपुतालीमा निजकी श्रीमती सुगिया तेलीन जिवित रहेको अवस्थामा वादीलाई प्राप्त हुनसक्ने नदेखिँदा वादी दावी नपुग्ने ठहराएको शुरु वारा जिल्ला अदालतको इन्साफ सदर गरेको नारायणी अञ्चल अदालत तथा म.क्षे.अ.को इन्साफ सदर गरेको संयुक्त इजलासका मा.न्या.श्री गजेन्द्रकेशरी बास्तोलाको राय मनासिव ठहर्छ । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या.रुद्रबहादुर सिंह
सम्माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय
यस्मा निर्णयतर्फ हेर्दा रामलखनको अपुताली ५ खण्डको १ खण्ड पाउँ भन्ने वादी दावी देखिन्छ मर्ने रामलखनको बाबुलाल छोरा र प्रतिवादी मध्येकी सुगिया तेलीन श्रीमती भएको र निजहरू सबै अंशबण्डा भई अलग अलग रहेकोमा विवाद छैन ।
रामलखनको मृत्युपछि निजको अपुताली निजको छोरा वादी समेतलाई वा निजकी श्रीमती प्रतिवादी मध्येकी सुगिया तेलिनलाई मात्र प्राप्त हुनसक्ने हो ? प्रस्तुत मुद्दामा सो कुराको निर्णय दिनुपर्ने देखिन आएको छ ।
मुलुकी ऐन, अपुतालीको २ नं. मा “अपुताली पर्दा मर्नेको लोग्ने स्वास्नी छोरा वा छोराको छोरा भएसम्म छोरीले अपुताली पाउँदैन । त्यस्ता कोही नभए छोरीले अपुताली पाउँछ” भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दाको निरोपणको क्रममा उपर्युक्त दुई वाक्यहरूको विश्लेषण गर्नु आवश्यक छ । उक्त दुई वाक्य मध्ये पहिलो वाक्यले व्यक्त गर्न खोजेको कुरालाई अरु स्पष्ट गर्ने सन्दर्भमा विधायिकाले दोस्रो वाक्य राखेको देखिन्छ । त्यसैले दोस्रो वाक्य “त्यस्ता” भन्ने सर्वनामबाट शुरु भएको छ । पहिलो वाक्यको अभिव्यक्ति नकारात्मक छ । अर्थात अपुताली पर्दा कस्तो अवस्थासम्म छोरीले अपुताली पाउँन सक्दैन त ? भन्ने प्रश्नको जवाफ दिने क्रममा मर्नेको लोग्ने, स्वास्नी छोरा वा छोराको छोरा भएसम्म छोरीले अपुताली पाउँदैन भनिएको छ यो अपुतालीको प्राथमिकता क्रम होइन । यदि यसलाई प्राथमिकता क्रम मान्ने हो भने विधायिकालाई अपुतालीको प्राथमिकता क्रम तोक्दा स्पष्ट शब्द यो पछि यस्ले अपुताली पाउँछ नभनी यस्तो नकरात्मक अभिव्यक्ति दिनु पर्ने कारण थिएन ।
अपुतालीको २ नं. को उपर्युक्त व्यवस्थाको व्याख्या गर्दा अपुतालीकै १० नं. को अन्तिम दुई वाक्यहरूको पनि व्याख्या गर्नु पर्ने हुन्छ, जहाँ यस्तो व्यवस्था छ । “अंशलिई छुट्टिएकी स्वास्नी मरी भने छोरा भए छोराले र छोरा नभए लोग्नेले पाउँछ । यी नभए सौतैनी छोराले पाउँछ” उक्त व्यवस्थाबाट अंश लिई छुट्टिइएकी स्वास्नी मर्दा प्राथमिकताको क्रममा पहिला छोरा र त्यसपछि लोग्ने र सो नभएमा सौतेनी छोरा पर्न आउँछ । यदि अपुतालीको २ नं. को उपर्युक्त व्यवस्थाले अपुतालीको प्राथमिकता क्रम तोकेको मान्ने हो भने अपुतालीको १० नं. को उपर्युक्त उद्धरणमा स्वास्नीको अपुताली छोरा र छोरापछि मात्र लोग्नेलाई प्राप्त हुनसक्ने भनिएको हुँदा सो व्यवस्था अपुतालीको १० नं. को उपर्युक्त वाक्यहरू संग बाझिन आउँछ । विधायिकाले जे कुरा व्यक्त गर्न खोजेको छ सो स्पष्टसंग व्यक्त गरेको छ भनेर मान्नु पर्छ । विधायिकाको मनसाय सबभन्दा बढी शसक्त रुपमा कानूनले नै व्यक्त गर्दछ र जबसम्म कानून प्रष्ट छ तवसम्म त्यसको सोझो अर्थ गरिनु पर्छ भन्ने कानून व्याख्याको नियमलाई पनि प्रस्तुत सन्दर्भमा ध्यान दिनु आवश्यक छ ।
मुलुकी ऐन, अंशबण्डाको १ नं. मा अंशबण्डा गर्दा बाबु, आमा, स्वास्नी छोराहरूको जिय जिय अंश गर्नुपर्छ भन्ने र २ नं. मा त्यसरी बण्डा गर्दा अन्यथा लेखिएमा बाहेक सबै अंशियारको बराबर अंश गर्नुपर्छ भन्ने व्यवस्था रहेकोबाट पैतृक सम्पत्तिमा बाबु, आमा र छोराहरूको बराबर हक लाग्ने रहेछ, भन्ने देखिन्छ । लोग्ने स्वास्नी छोराहरू सबै अंश छुट्टिई भिन्न बेगल बसेकोमा लोग्नेको अपुताली स्वास्नीले मात्र पाउँछ भन्ने स्पष्ट कानुनी व्यवस्थाको अभावमा सो अपुताली प्रतिवादी मध्येकी सुगिया तेलीनलाई मात्र प्राप्त हुन्छ भन्न मिलेन ।
अतः उपर्युक्त कारणबाट मर्ने रामलखनको बाबुलाल छोरा र प्रतिवादी मध्येकी सुगिया तेलीन स्वास्नी देखिएको हुँदा रामलखनको सम्पत्तिमा सुगियाको मात्र हक लाग्ने भन्न मिल्ने देखिएन । वादी दावी बमोजिम ५ खण्डको १ खण्ड रामलखनको अपुताली वादी बाबुलाल साह तेलीले पाउने ठहर्छ । सो बमोजिम हुने ठहराएको संयुक्त इजलासका माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय मनासिव ठहर्छ । बहुमतको रायसंग सहमत नहुँदा आफ्नो छुट्टै राय व्यक्त गरेको छु ।
इति संवत् २०४४ साल चैत्र ९ गते रोज ३ शुभम् ।