निर्णय नं. ३३५४ - हाड नाता

निर्णय नं. ३३५४ ने.का.प. २०४५ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४३ सालको फौ.पु.नं. ५५८
फैसला भएको मिति : २०४४।१२।१४।१ मा
पुनरावेक/प्रतिवादी : जि. म्याग्दी ताकुम गा पं. वडा नं. ३ बस्ने सोमनाथ उपाध्याय
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ. वडा नं. ३ बस्ने तारापती उपाध्याय
मुद्दा : हाड नाता
(१) करणी जस्तो आरोपमा पञ्चायत जस्तो समाजका अगाडि करणीमा सावित भई गरेको काजगलाई मुख्य कारणी पुनरावेदकहरूले नै हामीहरूका मन्जूरी अथवा जानकारी बाहिर भएको हो भन्ने ठोस तथ्ययुक्त प्रमाण दिन सकेको छैन, यस्तो स्थितिमा निजहरूका बयान साविती कागज समेतका आधार प्रमाण समेतबाट हाडनाता करणी गरेको ठहर्याएको इन्साफ मनासिव ठहर्ने ।
(प्रकरण नं. १७)
पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री मुक्तिनारायण प्रधान
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतका मिति २०४२।९।१७ को फैसला उपर उल्लिखित प्रतिवादीहरूको पुनरावेदनको अनुमति पाउँ भनी यस अदालतमा पर्न आएको निवेदनपत्रमा पुनरावेदनको अनुमति प्रदान भई यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ ।
२.दुइजना श्रीमतीमा मेल नभएकोले म जेठी श्रीमतीसंग ताकुम गा.पं. वडा नं. ३ मा बसी विपक्षी मध्येकी गंगादेवीलाई वडा नं. ४ मा राखी आएको २०३६।१२।२३ का राती गंगादेवी बस्ने घरभित्र पसी मूल ओछ्यानमा नै विपक्षी सोमनाथले र गंगादेवीले करणी लिनु दिनु गरी हाडनातामा बिग्रेको ऐ. २४ गते गंगादेवीले धनमाल लिई भागेकी हुँदा हुलाक मार्फत दर्खास्त दिएको । २०३७।३।१२ मा वडा सभा गर्दा विपक्षीहरूले साविती कागज गरिदिएका । मूल पुरुष शशिधरका ५ भाइ छोरामा जेठा रेशमलाल, माहिला धनपती, साहिंला श्रीकान्त, काहिंला टिकाराम, कान्छा नन्दलाल भई, जेठा रेशमीलालको छोरा दयारामको छोरा विपक्षी सोमनाथ र साहिंला श्रीकान्तको छोरा म तारापति भएको हुँदा विपक्षी सोमनाथले कान्छी आमालाई करणी गरेको र गंगादेवीले जेठाजूको छोरासंग करणी गराएकीले हाडनाता करणीको ३ नं. बमोजिम हदैसम्म सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको तारापति उपाध्ययको फेरादपत्र ।
३.म बस्ने घरको वरपर घनाबस्ती भएको १६ वर्ष, १३ वर्ष र ६ वर्षका ३ छोरा घरमै भएको हुँदा उमेर पुगेका छोराहरूको सामु परपुरुषसंग मूल ओछ्यानमै करणी लिनुदिनु गर्ने प्रश्नै आउँदैन । ४२ वर्षको माहिला छोरा नाताको व्यक्तिसंग बिग्रने अवस्थै आउँदैन । अंश मागी भन्ने रिसले झुठ्ठा नालिश दिएका हुन् । मेरो चरित्रमा धक्का पुर्याएकोमा बेइज्जती तर्फ छुट्टै नालेश गर्नेछु । मैले कुनै साविती कागज गरेकी छैन । झुक्याई कुनै कागज गराएको भए अ.बं. ७८ नं. बमोजिम नामाकरण गर्नेछु भन्ने समेत व्यहोराको प्र.गंगादेवी उपाध्यायको प्रतिउत्तरपत्र ।
४.घरमा २२ वर्षकी रुपवती श्रीमती छँदा छँदै आमा नाता पर्ने गंगादेवीसंग करणीमा बिग्रने कुरै आउँदैन । करणीमा बिग्रे भन्ने दिन रात म गाउँमा छैन । ३ दिन अगाडि नै नुन तेल समेत लिनको लागि घरबाट हिंडी २३ गते पुतलीखेत पुगी ३० गते साँझ मात्र घरमा पुगेको थिए । विपक्षी बाबुका पालामा अपुताली तेरो मेरो सम्बन्धमा मुद्दा परेका इवीदार भएका र मलाई खतम गर्ने भनी हाँक समेत दिएका हुँदा झुठ्ठा नालिश दिएका हुन् भन्ने समेत व्यहोराको प्र.सोमनाथ उपाध्यायको प्रतिउत्तरपत्र ।
५.२०३७ सालमा गाउँमा अनिकाल परेको बेनीमा चामल पाइन्छ, सहिछाप गर्नु पर्यो भनी गा.पं.स. चिन्तामणीले भनेको हुँदा विश्वासमा परी लेखिएको कागजमा सहिछाप गरेकी हुँ । करणीमा बिग्रेको विषयमा सहिछाप गरेकी होइन । २०३७।३।१२ को कागजमा लगाएको सहीछाप मेरो होइन । दाखेल गर्ने चिन्तामणीलाई सजायँ गरिपाउँ भन्नेसमेत व्यहोराको प्र.गंगादेवीले गरेको बयान ।
६.वादी मेरो विरोधी भएकाले प्र.पं. हरिलाल चिन्तामणी र तारापती भई कीर्ते कागज खडा गरेका हुन् २०३७।३।१२ को कागजमा लागेको ल्याप्चे र हस्ताक्षर मेरो होइन कीर्ते गरेमा निजहरूलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्र. सोमनाथको बयान ।
७.२०३७।३।१२ को कागज सद्दे हो सो कागजमा लगाएको ल्याप्चे र हस्ताक्षर गंगादेवी र सोमनाथकै हो, कीर्ते गरेको होइन भन्ने समेत कीर्तेतर्फ पोलिएका प्र.पं. हरिलाल उपाध्याय चिन्तामणी उपाध्याय र अर्को पं.स. चिन्तामणी उपाध्यायको बयान ।
८.करकापसंग कागज गराएका भए मौकैमा बदर गराउनु पर्नेमा सो गरेको नदेखिँदा प्रतिवादीहरूले हाडनाता करणीका ३ नं. अनुसार प्र. सोमनाथलाई र ऐ. का ८ नं. अनुसार प्र.गंगादेवीलाई सजायँ हुन्छ र कीर्ते कागजका ९ नं. बमोजिम सजायँ हुन्छ भन्ने समेत शुरु म्याग्दी जिल्ला अदालतको फैसला ।
९.म्याग्दी जिल्ला अदालतको फैसलामा चित्त बुझेन उक्त फैसला बदर गरी कैदको लगत काटी जरिवाना समेत फिर्ता दिलाई पाउँ भन्ने समेत प्रतिवादी सोमनाथ र गंगादेवीको धवलागिरी अञ्चल अदालतमा परेको छुट्टा छुट्टै पुनरावेदनपत्र ।
१०.प्रधानपञ्च समेतका रोहवरमा भएको कागज कसैलाई कुनै किसिमको फाइदा पुग्ने स्वार्थबाट प्रेरित भई गरेको भन्ने नदेखिँदा र प्र. हरूले वारदातमा थिएनौं भन्ने कुराको सबूद गुजार्न नसकेका वादी पक्षका साक्षीहरूले किटानी बकपत्र गरेका । हाडनाता करणी जस्तो सम्वेदनशील विषयमा घटना नघटिकन भन्न मिल्ने अवस्था कारण आउँदैन । तसर्थ हाडनाता करणी गरेको ठहर्याएको शुरुको इन्साफ मनासिव ठहर्छ भन्ने समेत व्यहोराको धवलागिरी अञ्चल अदालतको फैसला ।
११.धवलागिरी अञ्चल अदालतले लाग्ने बुँदा प्रमाण नलगाई लाग्न नसक्ने बुँदा प्रमाण र अर्थ लगाई हामीलाई हराउँदा प्रत्यक्ष गम्भीर कानुनी त्रुटी हुन गएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेतको प्र. हरूको प.क्षे.अ. मा परेको निवेदनपत्र, “आफ्नो स्वास्नी अर्कोसंग बिग्रिएकी अवस्थामा” त्यसबखत केही नगरी चुपलागी बसी रहन नपर्ने, २०३७।३।१२ को लिखत खडा भएपछि मात्र फिराद परेको देखिन आएको र मुद्दामा मिलापत्र गर्न पनि वादी राजी रहेको निवेदनबाट देखिन अएबाट प्रमाणको मूल्यांकन त्रुटिपूर्ण संग भएको देखिँदा धवलागिरी अञ्चल अदालतको फैसला उपर न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(३) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरेको छु, भन्ने समेत प.क्षे.अ. को आदेश ।
१२.यसमा प्रतिवादीहरू ४ पुस्ता भित्रका आमा छोरा नाताका हुन् भन्ने कुरामा विवाद छैन । प्र. हरूले करणी लिनुदिनु गरेकोमा सावित भई गाउँपञ्चायत समक्ष कागज गरी सहीछाप गरेको पाइन्छ । २०३७।३।१२ को कागजमा भएको ल्याप्चे र हस्ताक्षर सोमनाथको हस्ताक्षरसंग मिले भिडेको विशेषज्ञको राय समेत प्राप्त भएबाट सो कागजलाई सद्दे साँचो व्यवहारको भन्न पर्ने हुन आउँछ । उक्त कागज जोर जुलुम करकापबाट भएको भए मौकैमा बदर गराउन सक्नुपर्नेमा सो गरेको पाइँदैन । अतः हाडनाता करणी गरेको ठहर्याएको शुरुको इन्साफ सदर गरेको धवलागिरी अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१३.हामीलाई २०३७।३।१२ को कथित साविती कागजको भरमा मात्र हराएको छ । उक्त कागज अ.बं. ७७ नं. प्रतिकूल फिरादसाथ वादीले पेश गर्न नसकी पछि चिन्तामणी भन्ने व्यक्तिबाट पेश भएको छ । उक्त कागजको अस्तित्वलाई मान्नु पर्ने अवस्था छैन । उक्त कागज गा.पं. मा नभई हरिलाल समेतका व्यक्तिहरूका रोहवरमा भएको भन्ने सोही कागज र हरिलाल समेतको बयानबाट देखिन्छ । यस्तोमा गा.पं. समक्ष हामीले कागज गरेको भन्ने प.क्षे.अ. को उल्लिखित बुँदा स्पष्ट त्रुटीपूर्ण छ । हाडनाता करणी सम्बन्धमा त्यस्तो कागज गराउने अधिकार कुनै व्यक्ति वा निकायलाई छैन । जुन कागजको अस्तित्व नै छैन त्यसमा रहेको भनिएको ल्याप्चे र हस्ताक्षरको मूल्यांकनको कुनै औचित्य नै रहँदैन । उल्लिखित कागज विशेषज्ञद्वारा यथार्थ खुल्ने गरी जँचाई पाउँ । प्रस्तुत मुद्दामा मिलापत्र गरिपाउँ भनी दुवैथरको संयुक्त निवेदन परेको छ, यदी वादी आरोप साँचो भए मिल्न राजी हुन नपर्ने थियो अतः उपरोक्त बमोजिम प.क्षे.अ. को फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाई सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरूको यस अदालतमा पर्न आएको संयुक्त निवेदनपत्रमा, “यसमा गा.पं. लाई त्यस प्रकारको कागज गराउने अधिकार कानूनले प्रदान गरेको पाइँदैन । साथै विशेषज्ञलाई उपस्थित गराई जिरह गराई मात्र प्रमाणमा लिन पर्नेमा सो नगरी हाडनाताभित्र करणी गरेको ठहर गरेको जि.अ.को फैसलालाई सदर गरेको प.क्षे.अ. को इन्साफमा प्रमाण ऐन, २०३१ को दफा १८ तथा ऐ. को दफा ५४ को गम्भीर कानुनी त्रुटी देखिएको र त्यस्तो त्रुटी सार्वजनिक महत्वको विषय हुँदा न्या.प्र.सु. ऐन ०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेतको यस अदालत तत्काल डिभिजनबेञ्चको मिति २०४३।१।२५ को आदेश ।
१४.यसमा प्रमाण ऐन, २०३१ को दफा २३ र ५२ बमोजिम विशेषज्ञलाई उपस्थित गराई बकपत्र गराई नियमानुसार पेश गर्नु भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४४।४।२१ को आदेश ।
१५.मिति २०४०।८।७ मा धवलागिरी अञ्चल अदालतलाई मिति २०३७।३।१२ को लिखतमा परेको सोमनाथ पाध्याको हस्ताक्षर सहिछापहरू परीक्षण गरी उक्त अदालतलाई राय उपलब्ध गराएको हुँ । रायका आधारहरू प्रतिवेदनको प्रकरण २ मा र निष्कर्ष प्रकरण ४ मा उल्लेख गरी आफ्नो राय दिएको छु सो राय ठीक छ भन्ने समेत व्यहोराको विवाद ग्रस्त लिखत परीक्षक पद्यराज काÇलेले यस अदालतमा गरेको बकपत्र ।
१६.पुनरावेदकतर्फबाट उपस्थित हुनु भएको विद्वान अधिवक्ता श्री मुक्तिनारायण प्रधानले गर्नु भएको बहस समेत सुनियो मुख्यत क्षेत्रीय अदालतले गरेको निर्णय मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
१७.पुनरावेदक प्रत्यवादी सोमनाथ तथा पुनरावेदिका गंगादेवी कान्छी आमा र भतिजा नाता पर्ने कुरामा विवाद देखिएन । अर्को कुरा गंगादेवी आफ्नो लोग्नेसंग अलग घरमा बसेकी भन्ने कुरामा पनि दुईमत देखिँदैन । गाउँपञ्चायतमा निजहरूले करणी लिनु दिनु गरेमा पूर्ण साविती भई गरेको कागजमा विशेषज्ञ जाँचबाट समेत सो कागज निजहरूले नै गरेको प्रष्ट देखिएको र अदालतमा विशेषज्ञलाई झिकाई बकपत्र गराउँदा पनि सो राय ठीक भई लेखिएको हो भनी बयान गरेको पाइन्छ । त्यस्तो कागजलाई बेनीमा चामल पाइन्छ भनी सही गरेको भन्ने भनाइलाई यदि त्यो चामल नपाएपछि त्यस्तो कुराको कानून बमोजिम उजूर गरी सो कागजलाई बदर गराउन सकेको र बदर गराउनेतर्फ कारवाहीसम्म गरेको पनि पाइँदैन । जुन करणी जस्तो आरोपमा पञ्चायत जस्तो समाजका अगाडि करणीमा सावित भई गरेको कागजलाई मुख्य कारणी पुनरावेदकहरूले नै हामीहरूका मन्जूरी अथवा जानकारी बाहिर भएको हो भन्ने ठोस तथ्ययुक्त प्रमाण दिनसकेको पनि छैन । यस्तो स्थितिमा निजहरूका बयान साविती कागज समेतका आधार प्रमाण समेतबाट हाडनाता करणी गरेको ठहर्याएको शुरु म्याग्दी जिल्ला अदालतको इन्साफ मनासिव ठहर्याई धवलागिरी अञ्चल अदालतको इन्साफ सदर गर्ने गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव ठहर्छ । पुनरावेदक प्रत्यवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्तैन । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रत्यवादी सोमनाथ उपाध्यायके माथि इन्साफ खण्डमा लेखिए बमोजिम इन्साफ क्षेत्रीय अदालतले गरेको इन्साफ सदर भएकोले पुनरावेदन गरे बापत शुरुले करणी गरे तर्फ हाडनाता करणीको महलको ३ नं. अनुसार कैद वर्ष १।६ कैद र कीर्ते बयान झुठ्ठा ठहरे तर्फ जरिवाना रु.५०।– गर्ने गरेकोमा सो भुक्तान भइसकेकोले अञ्चल अदालतले गरेको त्यस कैदको लगत काटी दिनु भनेकोले त्यस तर्फ केही गर्न परेन जरिवाना तर्फ अ.बं. २०३ नं. बमोजिम शुरु जरिवाना रु.५०।– को सयकडा ५।– ले रु.२।५० का दरले जरिवाना हुन्छ । देहाय बमोजिम असूल गर्नु भनी शुरु म्याग्दी जिल्ला अदालतमा लेखी पठाउनु भनी का.जि.अ. मा लगत दिनु ...............१
पुनरावेदक प्रत्यवादी सोमनाथ उपाध्याय के रु.२।५०,
ऐ ऐ.गंगादेवी उपाध्यायनी के रु.२।५०
५।–,
मिसिल नियमानुसार गरी बुझाई दिनु ..... २
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा ।
इति सम्वत २०४४ साल चैत्र १४ गते रोज १ शुभम् ।