शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३३६० - उत्प्रेषण

भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक:

निर्णय नं. ३३६०                 ने.का.प. २०४५                  अङ्क २

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हरिहरलालराज भण्डारी

सम्वत् २०४३ सालको रि.नं. १७२७

आदेश भएको मिति : २०४४।१०।२५।२ मा

 

निवेदक : का.जि.का.न.पं. वार्ड नं. २१ अन्तर्गत यंगाल बस्ने वर्ष १३ को ओमकुमार प्रधान तथा वर्ष ११ को श्री कुमार प्रधानका वारेस एकासगोलका बाबु न्हुछेबहादुर प्रधान

विरुद्ध

विपक्षी : काठमाडौं नगरपञ्चायत निरीक्षण तथा कार्यान्वयन फाँट काठमाडौंसमेत

 

विषय : उत्प्रेषण

 

(१)                  कानुनी प्रक्रिया सबै पूरा गरी नक्शा पास गरी घर बनाउन शुरु गरेकोमा पुनः अर्को नक्शा पेश गराउन आदेश दिएको देखियो, यस्तो पुनः नक्शा पेश गराउने गरी प्रधानपञ्चले आदेश दिन पाउने व्यवस्था नगरपञ्चायत ऐनले गरेको देखिँदैन, आफूलाई अधिकार नै नभएको विषयवस्तुमा ओभरसियरको रिपोर्ट अनुसार जग्गा र ढल नमिचिने गरी बनाउन नक्शा पेश गराउने भनी गरिएको आदेश कानून अनुकूल मान्न नमिल्ने ।

(प्रकरण नं.  ९)

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी

विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विद्वान अधिवक्ता श्री चोलेन्द्र शंसेर ज.ब.रा.

 

आदेश

न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ ।

२.काठमाडौं शहरी क्षेत्रको नापी हुँदा मुक्ति  बहादुर प्रधानका हक भोगचलनको जग्गा काठमाडौं नगर पंचायत वडा.नं. २१ को कि.नं.११३८ बाट १ आना १ पैसा क्षेत्रफल कायम भई २०३४।४।२७ मा मुक्तीबहादुर प्रधानका नाउँमा नाप नक्शा भई ज.ध.द.पू. पाई भोग तिरो गरेकोमा कसैको उजूरी परेको थिएन । सो जग्गा मुक्तिबहादुरले २०३९।११।९ मा निवेदकलाई हालैको बकसपत्र पास गरिदिनु भएकोले नामसारी दर्ता गराई घर बनाउन नक्शा पास गराई घर बनाउन थालेका थियौं । जग खनी जग हाली बनाई लिन्थसम्म उठाई बनाई सकेपछि ढलान गरी रहेकोमा पश्चिमपट्टिको सन्धियार लतनारायणलाई मर्का परेको जनाएको र स्थानीय जनताको सार्वजनिक ढल मिची बनाउँदै गरेको भन्ने गुनासो परेको हुँदा निमार्ण कार्य रोक्का राखी ३ दिनभित्र उपस्थित हुन आउँनु भनी का.न.पं. निरीक्षण तथा कार्यान्वयन फाँटको पत्र निवेदकका नाउँमा टाँस गरी तामेल गराइयो । २०४२।२।३० को पत्र बमोजिम ०४२।३।२ मा हाजिर हुन गएपछि विपक्षी लतनारायण महर्जनले मेरो जग्गा मिची घर बनाउन लागेको र सार्जजनिक ढल मिची घर बनाउन लागेको भनी दिएको निवेदन तथा २७ नं. वडा समितिका अध्यक्ष जुजुकाजीले लतनारायणलाई परेको मर्का जनाई कारवाही भएन भन्ने गुनासो र स्थानीय जनताको भनाई हुँदा तुरुन्त उचित कारवाहीको लागि अनुरोध गर्दछु भन्ने प्रधान अधिकृत का.न.पं. लाई २०४२।२।३० मा लेखेको पत्र देखाई निवेदकको बयान लिँदा नक्शा पास पूर्जी बमोजिम आफ्ना हक भोगचलनको जग्गा वा घर बनाउने कार्य शुरु गरेका हौं कसैको जग्गा तथा सार्वजनिक ढल मिची बनाएको छैन भनी बयान गरिसकेपछि तारेखमा राखियो । नक्शा पास गरी गराई घर बनाउने कार्य थालिएको रोक्का गरी १ वर्ष भन्दा बढी समयसम्म तारेखमा राखी सकेपछि ०४३।४।१५ मा सार्जजनिक ढल मिचिन्छ कि मिचिंँदैन ओभरसियर जँचाई पेश गर्न आदेश भयो । सो आदेशानुसार ओभरसियरले जाँच्दा सम्बन्धित जग्गाधनीले दक्षिण साइडतर्फ पिलर उठाई बनाउन लागेको भवनसम्म प्रेषित नापीको नक्शा अनुसार क्रसचेक गर्दा सो नापीको नक्सामा दक्षिण पूर्व कुनातर्फ ३८ फीट ८½ इन्च राखी जग्गा उल्लेख भएकोमा हाल स्थलमा ३९ फीट रहेको र पश्चिम दक्षिण कुनातर्फ २३ फीट ६ इन्च उल्लेख भएको स्थलमा २३ फीट ७½ इन्च राखी जग्गा देखिएकोले सो स्थल चेक र नापीको नक्साको क्रसचेकबाट सार्वजनिक ढल मिचेको देखिँदैन भनी प्रतिवेदन पेश गरिसकेपछि ०४३।४।१७ को प्रतिवेदनमा पश्चिमतर्फ छूट हुन गएकोमा सम्बन्धित स्थलमा पश्चिमतर्फको जमीन मुनिबाट एक सार्वजनिक ढल गएको देखिन्छ र सो ढलमाथि निज प्रतिवादीले उचाई २ फीटको गारो उठाई भवन बनाउन लागेको देखिन्छ । नापीको नक्सामा पश्चिमतर्फको पर्खालको कुनाबाट निजको जग्गा सीमाना सम्मको दूरी १२ फीट ३ इन्च देखिएकोमा हाल निजले १० फीट ६ इन्च मात्र छोडी उचाई २ फीटसम्म गारो उठाएको देखिन्छ । नापीको नक्सामा उल्लेख भए भन्दा १ फुट ९ इन्च बढी सार्वजनिक भनेको जग्गा च्यापी बनाएको देखिन्छ । ढलमा ढल माथि रहेको ट्यांकीको उत्तरतर्फको गारोबाट भने निजले ९ इन्ची मुख्य ढल मिची अगाडि बढाई उचाई २ फीट ६ इन्चसम्म भवनको गारो लगाएको देखिन्छ भन्ने प्राविधिकको सही दस्तखत नभएको २०४३।४।२१ को प्राविधिक प्रतिवेदन मिसिल संलग्न गरी गराई ०४३।४।२८ को तारेखबाट ०४३।४।३१ को तारेख दिई तारेखमै नभए नरहेका दिन ०४३।४।२९ मा म ओभरसियरको रिपोर्ट अनुसार जग्गा र ढल नमिचिने गरी बनाउन नक्शा पेश गराउने आदेश निर्णय भएको रहेछ भन्ने ०४३।५।१ मा नक्कल सारी लिएपछि जानकारी भयो सबै कानुनी विधि विधान पूरा गरी गराई सकेपछि घर बनाउन नक्शा पास प्रमाणपत्र दिई सकेपछि सन्धियारको निवेदन तथा वडा अध्यक्षको पत्र लिई कारवाही चलाई प्राविधिकको सही भएको प्रतिवेदनको वास्तै नगरी अर्को प्रतिवेदन बनाउन लगाई तारेखमै नरहेका दिन घर बनाउन अर्को नक्शा पेश  गराउने आदेश निर्णय गर्ने अधिकार नगरपञ्चायतलाई नहुँदा उक्त काम कारवाही अनाधिकार छ । पास भएको नक्शा बमोजिम नबनाई नक्सामा अदल बदल गरी घर बनाउन थालेको भन्ने आरोप छैन । अतः उत्प्रेषणयुक्त परमादेश लगायतका आदेश जारी गरी मौलिक तथा कानुनी अधिकारको प्रचलन गराई पाउँ भन्ने समेतको रिट निवेदन जिकिर ।

३.विपक्षीबाट लिखितजवाफ मगाउने भन्ने समेतको यस अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश ।

४.नक्सा पास बिपरीत सार्वजनिक जग्गा र ढल मिची घर बनाउन लागेको जाँचबाट देखिएपछि न.पं. ऐनको दफा ५३ ले कारवाही गर्न सक्ने कुरा प्रष्ट छ । का.न.पं. ले आफ्नो क्षेत्रभित्र रही निर्णय गरेको हुनाले विपक्षीको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको लतनारायण महर्जनको लिखितजवाफ ।

५.न.पं. ऐनको दफा ५२ र ५३ नं. बमोजिम श्रीमान् प्रधानपञ्चज्यूले विपक्षीलाई पुनः अर्को नक्शा पेश गर्न लगाउने भन्ने आदेश दिएको ऐन कानून अन्तर्गत हुँदा रिट खारेज हुन पर्दछ भन्ने समेतको का.न.पं. वडा नं. २१ को वडा अध्यक्ष जुजुकाजीको लिखितजवाफ ।

६.विपक्षीले ढल मिची घर निर्माण गर्न लागेको कारणबाट अधिकार प्राप्त प्रधानपञ्चले पारित नक्शा समेत अध्ययन गरी नक्शा बमोजिम नबनाई लम्बाई चौडाई र घरको मोहडा समेत बदली बनाउँदा ढल मिचिन गएको प्राविधिक प्रतिवेदन पर्न आएको हुँदा न.पं. ऐनको दफा ५२, ५३ नं. बमोजिम प्रधानपञ्चले पुनः अर्को नक्शा पेश गर्न लगाउने भन्ने आदेश गर्नु भएको हुँदा रिट निवेदन खारेज हुनपर्दछ भन्ने समेतको का.न.पं. निरीक्षण तथा कारवाही फाँटको लिखितजवाफ ।

७.नियमबमोजिम दैनिक पेशी सूचीमा चढी आज पेश हुनआएको प्रस्तुत रिट निवेदनमा निवेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री होराप्रसाद जोशीले र विपक्षी लतनारायण तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले एवं विपक्षी का.न.पं. तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री चोलेन्द्रशंसेर ज.ब.रा.ले गर्नु भएको बहससमेत सुनियो ।

८.अब प्रस्तुत रिट निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ भन्ने कुराको निर्णय दिनुपरेको छ ।

९.निर्णयतर्फ विचार गर्दा यसमा निवेदकले काठमाडौं नगरपञ्चायतबाट घर बनाउन नक्शा पास गराई जग हाली घर बनाउन लागेको भन्ने बारेमा कुनै विवाद छैन । त्यसरी निवेदकले घर बनाउन लागिसकेपछि विपक्षी लतनारायण समेतको उजूरी परी का.न.पं.निरीक्षण तथा कार्यान्वयन फाँटबाट ओभरसियर खटाई पुनः नापी जाँची प्रतिवेदन लिई ओभरसियरको प्रतिवेदन अनुसार जग्गा र ढल नमिचिने गरी बनाउन नक्शा पेश गराउने भन्ने आदेश भएको रहेछ । त्यसरी एकपटक नक्शा पास गरी जग हाली घर बनाउन शुरु गरेपछि पुनः नक्शा पेश गराउने आदेश दिन मिल्दैन भन्ने समेतको रिट निवेदकको मुख्य निवेदन जिकिर देखिन आएको    छ । त्यसरी का.न.पं.बाट दिएको आदेश कानून अनुरुप छ छैन भन्ने नै मुख्य रुपमा विचार गर्नु पर्ने भएको छ नगरपञ्चायत ऐन, २०१९ को दफा ४६ बमोजिम न.पं. क्षेत्रमा नयाँ घर बनाउन पर्दा नक्शासहित दर्खास्त पेश गर्ने व्यवस्था गरेको पाइन्छ । त्यसरी दर्खास्त पेश गर्दा सो जग्गामा आफ्ना हक पुगेको निस्सा दाखेल गर्न पर्ने व्यवस्था ऐ. ऐनको दफा ४७ मा व्यवस्था भएको देखिन्छ । नक्शा पासको दर्खास्त परेपछि दफा ४८ बमोजिम साँध सँधियार सरजमीन समेत बुझी इन्जिनियर वा ओभरसियरको प्रतिवेदन समेत लिई नक्शा पास गरिदिन मनासिव देखिए प्रधानपञ्चले दर्खास्त परेको मितिले एक महीनाभित्र नक्शा पास गरिदिन पर्ने व्यवस्था न.पं. ऐनको दफा ४९ ले गरेको छ । माथि उल्लेख गरिए  बमोजिमका प्रकृया पूरा गरी निवेदकतर्फबाट घर बनाउन शुरु गरेको देखिन्छ । त्यसरी नक्शा पास गरी घर बनाउन शुरु गरेपछि न.पं. ऐनको दफा ५३ बमोजिम नक्शा बमोजिम घर बनेको छ वा छैन भनी जाँचबुझ गर्न प्रधानपञ्चले कर्मचारी खटाउन सक्ने देखिन्छ । पास भएको नक्सामा अनुमति बेगर अदलबदल गरी घर बनाए वा बनाइरहेको ठहरेमा सो घर वा सो घरको कुनै भाग प्रधानपञ्चले आवश्यक सम्झेमा भत्काउन आदेश दिन सक्ने व्यवस्था छ । निवेदकको सम्बन्धमा नक्शा पासमा अदलबदल गरी बनाएको भनी निरीक्षणबाट भनेको भई दफा ५३ बमोजिम प्रधानपञ्चले आदेश दिएको पनि देखिँदैन । कानुनी प्रकृया सबै पुरा गरी नक्शा पास गरी घर बनाउन शुरु गरेकोमा पुनः अर्को नक्शा पेश गराउन आदेश दिएको देखियो । यस्तो पुनः नक्सा पेश गराउने गरी प्रधानपञ्चले आदेश दिन पाउने व्यवस्था नगरपञ्चायत ऐनले गरेको देखिँदैन । आफूलाई अधिकार नै नभएको विषयबस्तुमा ओभरसियरको रिपोर्ट अनुसार जग्गा र ढल नमिचिने गरी बनाउन नक्शा पेश गराउने भनी गरिएको आदेश कानून अनुकूल मान्न मिलेन । अतः उक्त मिति ०४३।४।२९ को विपक्षी काठमाडौं नगरपञ्चायतको आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुने    ठहर्छ । फायल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.हरिहरलाल राजभण्डारी

इति सम्वत् ३०४४ साल माघ २५ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु