शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७६४२ - उत्प्रेषण परमादेशसमेत

भाग: ४८ साल: २०६३ महिना: बैशाख अंक:

निर्णय नं.७६४२           ने.का.प.२०६३       अङ्क १

 

सर्वोच्च अदालत,संयुक्त इजलास

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री पवनकुमार ओझा

संवत २०६१ सालको रिट न ३००१

आदेश मितिः २०६२।१२।४।६

 

विषय : उत्प्रेषण,परमादेश ।

 

निवेदकः महोत्तरी जिल्ला बलवा गा.वि.स.वडा नं .८ पुर्वारी टोल घर भई जनकपुर अंचल            अस्पताल जनकपुरधाम धनुषामा आठौं तह फिजिसियन पदमा कार्यरत डा.रामपरिक्षण यादब

विरुद्ध

विपक्षीः लोकसेवा आयोग केन्द्रीय कार्यालय कमलपोखरी काठमाण्डौ समेत

 

§  स्तरबृद्धि गरिएको निर्णय मिति भन्दा अगाडि बृद्धि गर्न सकिने कानूनी प्रावधान स्वास्थ्य सेवा ऐन, २०५३ मा रहे भएको नपाइएको अवस्थामा कानून विपरीत अतितप्रभावी हुने गरी गरिएको स्वास्थ्य मन्त्रालयको निर्णयलाई आधार लिई ज्येष्ठता कायम गरिपाऊँ भन्ने निवेदकको जिकिर कानूनसंगत नदेखिने ।

(प्रकरण नं.१८)

§  निवेदकले पेश गरेको भनिएका प्रमाणपत्रहरुमा R.P.Yadav has workभन्ने उल्लेख भएको देखिएवाट सेवाकालिन तालिमको प्रमाणपत्र नभै काम गरेको अनुभवको प्रमाणपत्र हो भन्ने देखिदा उक्त प्रमाणपत्र तालिम गरेको प्रमाणपत्र हो भन्ने प्रमाणित हुन नसक्ने ।

(प्रकरण नं.१९)

 

निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री महादेव यादव र विद्वान अधिवक्ता श्री जगन्नाथ महतो

विपक्षी तर्फवाटः

अवलम्वित नजिरः सम्वत ०६१ सालको रिट नं. २९७७ (किरण रेग्मी घिमिरे बि.लोकसेवा आयोग केन्द्रीय कार्यालय समेत)

 

आदेश

न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८(२) वमोजिम पर्न आएको प्रस्तसत रिट निवेदन सहितको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ  :

२.    म निवेदक नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ सर्भिसेज समुहको रा.प.तृतीय श्रेणीको मेडिकल अधिकृत पदमा २०५०।१।१३ मा सेवा प्रवेश गरी विभिन्न अस्पतालहरुमा सरुवा भै कार्यरत रहदै हाल जनकपुर अंचल अस्पताल जनकपुर धाममा एक इमान्दार एवं कर्तव्य निष्ठ चिकित्सकको हैसियतले कार्यरत रहदै आएको हुँ

३.    स्वास्थ्य सेवा ऐन २०५३।११।१५ मा लालमोहर लागी राजपत्रमा सूचना प्रकासित भएपछि सो को एकानव्बे दिन देखि लागु भए वमोजिम म निवेदकलाई सो ऐनको दफा ९० वमोजिम निजामती सेवाको पद र श्रेणीवाट २०५४।२।१४ गते देखि लागु हुनेगरी स्वास्थ्य सेवाको अधिकृत सातौ तहमा जनरल हेल्थ सर्भिसेज समुह) तह मिलान गरिएवमोजिम उक्त ऐन र नियमवमोजिम नियन्त्रित एवं निर्देशित भई कार्यरत रहेको छु । त्यसै गरी श्री ५ को सरकार स्वास्थ्य मन्त्रालयको मिति २०५६।६।१३ को पत्रद्धारा स्वास्थ्य सेवा ऐनको दफा ९ को उपदफा २(५) वमोजिम श्री ५को सरकारको मिति २०५६।६।१२ को निर्णय अनुसार नेपाल स्वास्थ्य सेवाकोहालको पद र तह( सातौ तह मेडिकल अधिकृत पद) वाट सोही सेवाको आठौंतह र फिजिसियन पद मेडिसन समुहमा २०५४।२।१४ देखि जेष्ठता कायम हुनेगरी स्तर बृद्धि र पदस्थापना समेत गरिएको थियो । यसै बीचमा आयोगवाट गोरखापत्रमा प्रकाशित कार्यक्षमता मुल्यांकनमा वढुवाको सूचनामा वढुवा सूचना नं .६१।२०५९।०६० को स्वास्थ्इ सेवा मेडिसन समुहको नवौं तहको कन्सल्टेन्ट फिजिसियन पद संख्या ४ कार्य क्षमताको मुल्यांकन द्धारा वढुवा गर्ने गरी विज्ञापन प्रकाशित भएको र म निवेदक समेत सम्भाव्य उम्मेदवार भएकोले मैले उक्त वढुवाको लागी दरखास्त फाराम भरी वुझाएको थिए । यसै क्र्रममा २०६०।११।२२ गतेको गोरखापत्रमा स्वास्थ्य मन्त्रालय,वढुवा समिती सचिवालयको सूचनामा बढुवा समितिको मिति २०६०।११।२१ को निर्णयानुसार उक्त ४ पदको लागी विपक्षी नं .४ देखि ७ सम्मको नाम वढुवाको लागी सिफारिस गर्ने गरी बढुवा सूचिको नामावली प्रकाशित भएको र सो सूचीमा मेरो नाम समावेश नभएको हुँदा मेरो नाम केकति कारणले समावेश नभएको हो भनी सोधी खोजी गर्दा स्वास्थ्य सेवा नियमावलीको नियम ७६ वमोजिम का.स.मु. वाहेक ०५४।२।१४ देखिको ज्येष्ठता,भौगोलिक क्षेत्र र सेवा कालिन तालिम वापतको अंक नदिएको हुँदा सो निर्णय उपर आयोग समक्ष उजुरी दिएकोमा बढुवा समितिको निर्णय नै सदर हुनेगरी ०६१।४।१९ मा निर्णय भएको छ ।

४.    स्वास्थ्य सेवा ऐनको दफा ९० मा ऐनको दफा ८९ वमोजिम निजामती सेवाका स्थायी सेवावाट यस ऐन वमोजिम गठित नेपाल स्वास्थ्य सेवामा परिवर्तन भई आउने देहायको श्रेणीका कर्मचारीहरु देहाय वमोजिमको तहमा मिलान हुने छन् भन्ने व्यवस्था भए वमोजिम देहायको खण्ड (ख)(१) अनुरुप अधिकृत सातौ तहमा मिति २०५४।४।२३ कोस्वास्थ्य मन्त्रालयको पत्रद्धारा मेरो तह मिलान भएको कुरा निर्विवाद छ । मिति २०५६।६।१३ को पत्रद्धारा श्री ५ को सरकारको मिति २०५६।६।१२ को निर्णयानुसार स्वास्थ्य सेवाको हालकोपद र तहवाट सोही सेवाको फिजिसियन पद आठौं तहमा ०५४।२।१४ देखि ज्यष्ठता कायम हुने गरी मेरो स्तर बृद्धि र पदस्थापना गरिएको छ । त्यसरी स्वास्थ्य मन्त्रालयको ०५४।२।२३ को पत्रवाट तह मिलान र ०५६।६।१३ को पत्रवाट स्तर बृद्धि गरिएको हुँदा छुट्टा छुट्टै मितिको पत्रवाट तह मिलान र स्तर बृद्धि गरिएको मा एउटै मितिमा तह मिलान र स्तर बृद्धि गरिएको भन्ने आयोगको निर्णय न्याय संमत छैन । तहमिलन गरिए पछि मात्र स्तर बृद्धि गरिएको कुरा ०५६।९।र१३ को पत्रवाट पुष्टि हुन्छ । ०५६।६।१३ को पत्रवाट आठौं तहमा श्री५ को सरकारले स्तर वृद्धी गर्ने निर्णयगर्दा०५६४।२।१४ गतेदेखि ज्येष्ठता मात्रै कायम गरिएको छ । मिति २०५४।२।१४ मा स्तर बृद्धि गर्ने निर्णय गरिएको छैन । त्यसरी स्तर बृद्धि गर्दा ज्येष्ठता अघिको मितिवाट कायम गर्ननमिल्ने भनी कुनै कानूनले रोट लगाएको अवस्था छैन । त्यसमा पनि स्वस्थ्य सेवा ऐनको दफा ९० वमोजिम तह मिलान ०५४।४।२३ को पत्रवाट ०५४।२।१४ देखि लागु हुने गरी गरिएको र श्री ५ को सरकारको ०५६।६।१२ को निर्णयानुसार स्वास्थ्य सेवा ऐनको दफा ९ को उपदफा (५) वमोजिम तोकिएको योग्यता पुगेको आधारमा मात्र मलाई स्तर बृद्धि गरिएको र ज्येष्ठता मिति २०५४।२।१४ गते देखि कायम हुनेगरी गरिएकोमा त्यसलाई एउटै मितिमा तहमिलान र स्तर बृद्धि गरिएको भन्न कदापी मिल्ने होइन । उक्त ऐनको दफा ९ को उपदफा(५) को कानूनी व्यवस्था तह मिलान गरी सकेपछि मात्र स्तर बृद्धि गर्नु पर्ने कानूनी व्यवस्था होइन । उक्त व्यवस्था त स्वास्थ्य सेवा ऐन आउनु भन्दा अघि निजामती सेवा ऐन २०४९ वमोजिम स्वास्थ्य सेवाको रा.प.तृतीय श्रेणीको पदमा स्थायी रुपले वहाल रहेको र सो सेवा समुह उप समुह संग सम्बन्धित विषयमा माष्टर डिग्रीको उपाधी हासिल गरी कमगरेको अनुभव र सेवा अवधि पुरा गरेका कर्मचारीलाई आठौं तहको पदमा स्तर बृद्धि गरिने छ भन्ने व्यवस्था भए अनुसार मलाई आठौं तहको पदमा स्तर बृद्धि गरी ज्येष्ठता कायम गरिएकोमा त्यसरी ०५४।२।१४ देखि मेरो ज्येष्ठता कायमगरी नम्बर दिनुपर्नेमा सो नगरी ०५६।६।१३ देखिको मात्र अंक दिई गरिएको निर्णय त्रुटीपूर्ण छ ।

५.    Tata Memorial Hospital Bombay / king gearg" medical college Lucknow, India मा तालिम लिन श्री ५को सरकारले ०५१।५।३० को पत्र अनुसार मनोनयनगरी पठाएको र सोही वमोजिम तालिममा भागलिन गएको र उक्त संस्थालेदिएको तालिम वापतको उक्त प्रमाण पत्र पेश गरेको मा त्यस्तो प्रमाण पत्रलाई कामको अनुभवको प्रमाण पत्र हो भन्न मिल्दैन । यसरी उल्लेखित संस्थाहरुवाट प्राप्त गरेको तालिम वापतको ०.७५ अंक पाउन पर्ने र उक्त तालिम ज्येष्ठता र भौगोलिक क्षेत्र वापतको अंक जोड्दा वढुवापाउने अन्तिम उम्मेदवारले पाएको अंक ६३.३५०० अंक भन्दा मेरो अंक वढी हुने हुँदा मैले बढुवा पाउने निश्चित रहेकोअवस्थामा वढुवा नगर्ने गरी गरेको विपक्षीको निर्णयवाट मेरो.संविधान प्रदत्त अधिकारमा आघात पुगेको हुँदा विपक्षी वढुवा समितीबाट ०६०।११।२१ मा भएको बढुवा सिफारिस गर्ने निर्णय र सो निर्णय अनुसार प्रकाशित सूचना एवं सो निर्णयलाई सदर गर्ने गरी गरेको आयोगको निर्णय तथा विपक्षीहरुले नियुक्ति पाई सकेको भए सो वढुवा नियुक्ति लगायतका सम्पूर्ण निर्णय एवं काम कारवाहीलाई समेत उत्प्रेषणको आदेश द्धारा बदर गरी श्री ५ को सरकारको मिति २०५६।६।१२ को निर्णयानुसार ०५४।२।१४ देखि जेष्ठता कायम गरिए वमोजिमको ज्येष्ठता, भौगोलिक क्षेत्र तथा सेवाकालिन तालिम वापत निवेदकले पाउनु पर्ने उक्त अंक समेत प्रदान गरी बढुवा सिफारिस गरी बढुवा नियुक्ति समेत गर्नु गराउनु भनी परमादेशको आदेश लगायत जो चाहिने उपयुक्त आदेश जारी गरिपाऊँ भन्ने रिट निवेदन ।

६.    यसमा के कसो भएको हो ? निवेदकको माग वमोजिमको आदेश जारी गर्नु नपर्ने कुनै कारण भए वाटाका म्याद वाहेक १५ दिन भित्र लिखित जवाफ पेश गर्नु साथै अन्तरिम आदेशको माग सम्बन्धमा तत्काल अन्तरिम आदेश जारीगर्नु पर्ने अवस्थाको विद्यमानता नदेखिदा कानून वमोजिम गर्नु भन्ने यस अदालतको ०६१।५।७ को आदेश ।

७.    स्वास्थ्य मन्त्रालयको ०५६।६।१२ को निर्णयवाट ०५४।२।१४ देखि ज्येष्ठता कायम हुने गरी रिट निवेदक आठौ तहको पदमा स्तर बृद्धि भएको भन्ने कुरालाई रिट निवेदनमा स्वीकार गरीएकै छ । ०५४।२।१४ देखि अधिकृत सातौं तहको पदमा तह मिलान भएका कर्मचारीलाई स्वस्थ्य मन्त्रालयले सोही मिति देखि ज्येष्ठता कायम हुनेगरी आठौ तहको पदमा स्तर बृद्धि गरेकोले एउटै मितिमा दुई भिन्दा भिन्दै तहमा तहमिलान र स्तर बृद्धि भएको भनी वढुवा समितीले त्यसरी भूतलक्षित प्रभाव पर्ने गरी आठौ तहमा गरिएको स्तर बृद्धिलाई मान्यता नदिई नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को नियम ७९ वमोजिम व्याख्या गरी आठौ तहको पदमा स्तर बृद्धि गर्न निर्णय भएको मितिलाई आधार मानी नवौं तहको बढुवामा आठौतहको ज्येष्ठता गणना गरेको रहेछ । यसरी भूतलक्षित प्रभाव पर्ने गरी गरिएको स्तर बृद्धिवाट केही कर्मचारीलाई फाइदा पुग्ने र केही कर्मचारीलाई मर्कापर्न जाने भएकोले सवैलाई समान व्यवहार गर्न आठौ तहमा स्तर बृद्धि गर्ने निर्णय भएको मिति देखि ज्येष्ठता गणना गरेको वढुवा समितिको निर्णयलाई यस आयोगले पनि मुनासिव ठहर गरेको हो । आठौंतहको पदमा स्तर बृद्धि गर्ने निर्णय भएको मिति ०५६।६।१२ देखि मात्र आठौ तहको ज्येष्ठता गणना गर्दा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा २६ मा तोकिए वमोजिम आठौं तहको पदमा दुईवर्ष सेवा अवधि पुरा भै नर्वौ तहको पदमा वढुवाको लागी संभाव्य उम्मेदवार कायम भएको तर वढुवा वापत निजले पाएको कुलअंक वढुवा सूचिको अन्तिम क्रममा रहेका व्यक्तिले पाएको भन्दा घटी भएका कारण निज यादबको नाम वढुवा सूचिमा समावेश नभएको हो । यसरी निर्णय मितिको आधारमा आठौ तहको ज्येष्ठताको अंक गणना गर्दा र वढुवा वापत पाएको नियमानुसारको अन्य अंक गणना गर्दा बढुवा सूचिको अन्तिम क्रममा रहेका व्यक्तिले वढुवावापत पाएको कुल अंक भन्दा रिट निवेदकले पाएको कुल अंक घटी भएका कारण निजको नाम वढुवा सिफारिसमा समावेश नभएको र निवेदकले पेश गरेको Tata Memorial Hospital Bombay / king geargs" medical college Lucknow, India वाट प्राप्त गरेको प्रमाणपत्र नियमानुसार तालिम केन्द्रवाट लिएको सेवाकालिन तालिमको प्रमाणपत्र नभई अस्पतालमा काम गरेको अनुभवको प्रमाणपत्र भएकोले त्यस्ता अनुभवको प्रमाणपत्रको आधारमा वढुवा प्रयोजनको लागी  तालिमको अंक दिन नमिल्ने हुँदा निजलाई उक्त पदको वढुवामा तालिमको अंक नदिइएको वढुवा समितिको निर्णय लाई यस आयोगवाट मुनासिव ठहर गरिएको हो । रिट निवेदन  खारेज गरि पाउं भन्ने लोक सेवा आयोग केन्द्रीय कार्यालय कमलपोखरीको लिखित जवाफ ।

८.    मिति २०५६।६।१२ को निर्णयवाट मिति २०५४।२।१४ देखि ज्येष्ठता कायम हुने गरी आठौ तहमा स्तर बृद्धिभएवाट मिति ०५४।२।१४ देखि ज्येष्ठता कायम हुने गरी गरिएको स्तर बृद्धि देखिनै ज्येष्ठता र भौगोलिक क्षेत्रवापत अंक पाउने भन्ने जिकिर कानूनसम्मत छैन । किनकी २०५६।६।१२ को निर्णयवाट स्तर बृद्धि र आठौ तहमा पदस्थापना भएको हो भन्ने ०५६।६।१३ को पत्रवाट प्रष्ट छ । ०५६।६।१२ देखि विपक्षीलाई र ०५४।२।१४देखि हामी प्रत्यर्थीहरुलाई ज्येष्ठता लागु हुने गरी वढुवा समितिले अंक दिएको पनि छैन । निर्णय भएको मिति देखि नै सवै उम्मेदवारको हकमा आठौतहको ज्येष्ठता मिति कायम गर्ने गरी वढुवा समितिले गरेको निर्णय कानुन सम्मत छ । सेवाकालिन तालिम प्राप्त उपाधी अंक पाउन जुन तहमा हुँदा तालिमको लागी मनोनयन भएको हो सोही तहको लागी मात्र गणना गरिने हो । निजले उक्त तालिम मेडिकल अफिसर हुँदा लिएको भन्नेनिजकै जिकिरवाट देखिन्छ । सो उल्लेख गरिएको सेवाकालीन तालिम भनिएको नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ कोनियम ७४(३) वमोजिम ऐ ७४(१) को प्रयोजनको लागी अंक दिन मिल्ने नै होइन । कुन विषयमा तालिम लिएको हो सो विषयगत कुरा स्पष्ट भएको नदेखिएको र ०५१।५।३० को पत्र अनुसार मनोनयनगरी लिएको तालिमलाई ०५६।६।१२ को स्तर बृद्धि गरिएको आठौतहमा आएर तालिम वापत पाउने अंक नदिएको गैरकानूनी भएको भन्ने निवेदन जिकिर नियमावलीको ७४(३) विपरीत भएकोले खारेज भागी छ । वढुवा समितिवाट ०६०)११।२१ मा भएको वढुवा सिफारिस गर्ने निर्णय र सोलाई सदर गरेको आयोगको निर्णय सदर कायम राखी पाउं भन्ने डा.शितल प्रशाद यादबको लिखित जवाफ ।

९.    आठौतहमा स्तर बृद्धि गर्ने निर्णय भएको मिति देखि मात्र सवै उम्मेदवारको ज्येष्ठता र भौगोलिक क्षेत्रमा काम गरेवापतको अंक गणना गर्ने बढुवा समिति र लोक सेवा आयोगको निर्णय मा कुनै कानूनी त्रुटी छैन । स्तरबृद्धिको ज्येष्ठता गणना ऐन लागु भएकै मितिवाट हुने भन्ने कानूनी व्यवस्था नकभएको स्थितीमा त्यस्तो निर्णय भएकै मिति देखि मात्र गणनाहुने स्पष्ट छ । तालिमको अंक गणना गर्दा जुन तहमा छदा तालिमको लागी मनोनयन भएको हो, सो अंक सोही तहको लागीमात्र गणना गरिने छ भन्नेव्यवस्था छ । ऐन प्रारम्भ हुन अघि विपक्षी निजामती सेवाको रा.प.तृतीय श्रेणीको कर्मचारी भएको र त्यस्तो कर्मचारी ऐनको दफा ९० वमोजिम सातौ तहमा मिलान भएको हुदा सातौ तहको कर्मचारीको हैसियतमा प्राप्त तालिम वापतको अंक आठौंतहवाट नवौं तहमा हुने वढुवा प्रयोजनार्थ पाउन सक्ने अवस्था नै छेन । यसका अतिरिक्त विपक्षीको सेवाकालिन तालिम हो वा अध्ययन वा काम गरेको अनुभव के कस्तो प्रमाणपत्र पेश गरेको हो सो समेत स्पष्ट नभएको अवस्थामा बढसवा समिति र लोक सेवा आयोगको निर्णय कानूनसम्मत हुँदा रिट खारेजगरिपाऊँ भन्ने डा.अनिल कुमार मिश्रले पेश गरेको लिखित जवाफ ।

१०.    एउटै वा फरक फरक मितिको निर्णय भएपनि सातौ तहमा तह मिलान र आठौ तहमा स्तर बृद्धि एउटै मिति देखि लागु हुनेगरी गर्नसक्ने कानूनी व्यवस्था छैन । जुन पद वा तहमा रहेर काम गरेको हो सो पद वा तहको मात्र ज्येष्ठता गणना हुने हुँदा ०५६।६।१३ भन्दा अघी विपक्षी सातौ तहमा भएकोले नवौं तहको बढुवाको लागी ज्येष्ठता गणना गर्दा नियमावलीको नियम ७२ वमोजिम हाल कायम रहेको तहको ज्येष्ठता गणना गर्नु पर्ने भएकोले आठौंतहको कर्मचारीको हैसियतमा काम गरेकोअवधिलार्इ मात्र ज्येष्ठता प्रयोजनको लागी गणना गरिएको कानूनसम्मत छ । नेपाल स्वास्थ्य सेवा ऐन २०५३ मिति २०५४।२।१४ देखि लागु भएको हो । यो ऐन लागुहुँदा दफा ९ मा उपदफा (५) थिएन । ऐनमा ०५५ साल माघ २७ गते भएको संशोधन पछि मात्र उक्त उपदफा(५) रहन गएको हो । यसमा स्तरबृद्धि गर्दा पहिल्यैको मिति देखि लागुहुने गरी स्तर बृद्धिगर्न सक्ने उल्लेख छेन ।

११.    तलिम वापतको अंक जुन तहमा छदा प्राप्त गरेको हो सोही तहको लागी मात्र गणना गरिने कानूनी व्यवस्था रहेकोवाट रिट निवेदन खारेजगरिपाऊँ भन्ने एकै मिलानको डा.लक्ष्मण मण्डल र डा.वसन्त कुमार ताम्राकारको लिखित जवाफ ।

१२.   नेपाल स्वास्थ्य सेवाका कर्मचारीलाई निजामती सेवावाट नेपाल स्वास्थ्य सेवा ऐन ०५३ को दफा ९० अनुसार तहमिलान गर्दा ०५४।२।१४ देखि नै कायम गरिएमा एउटै मितिवाटदुई भिन्ना भिन्नै तहमा स्तरबृद्धि र तहमिलान हुन जाने भएकोले यस अवस्थामा अतित प्रभावी असर पर्नेगरी आठौ तहमा गरिएको स्तर बृद्धिलाई नियम सम्मत मान्न सक्ने अवस्था नभएकोले नेपाल स्वस्थ्य सेवा नियमावली २०५५ को नियम ७९ अनुसारवढुवा समितिले आवश्यक व्याख्या गरी स्तर बृद्धि गरेको निर्णय मितिलाई नै मान्यता प्रदानगरी अंकगणना गरिएको हो । जहासम्म तालिम वापतको अंक पाउन पर्ने भन्ने सम्बन्धमा निवेदकले पेश गरेको प्रमाणपत्र सेवाकालिन तालिमको नभई निवेदकले अस्पतालमा काम गरेको अनुभव उल्लेखगरी प्रदान गरेको पत्र मात्र भएको कुनै तालिमको कोर्ष गरेको प्रमाणापत्र पेश नभएको हुँदा यस्तो पत्रको आधारमा तालिम वापतको अंक प्रदान गर्न मिल्ने नदेखिएको र भौगोलिक क्षेत्रको अंक हाल वहाल रहेको तहमा रही काम गरेको अवस्थामा मात्र प्राप्त हुन सक्ने कानूनी व्यवस्था भएकोले रिटनिवेदन खारेज गरिपाऊँ भन्ने स्वास्थ्य मन्त्रालय वढुवा समितिको तर्फवाट पेश भएको लिखित जवाफ ।

१३.   यसमा निवेदक डा.राम परिक्षण यादब र विपक्षीहरु डा.लक्ष्मण मण्डल, डा.अनिल कुमार मिश्र,डा.शितलप्रसाद यादब तथा डा.वसन्त कुमार ताम्राकारलाई आठौतहमा स्तर बृद्धिगर्ने सम्बन्धी ०५६।६।१२ तथा अन्य मितिको निर्णय र निवेदक तथा विपक्षीहरुको वढुवा सम्बन्धी बढुवा समितिको मिति ०६०।११।२१ को निर्णय तथा सो उपरको उजुरी सुनी लोकससेवा आयोगको नि.नं . १५।०६०।०६१ के निर्णय सहितको सक्कल फाइल हरु महान्यायाधिवक्ता को कायर्कालय मार्फत झिकाई नियम वमोजिम पेश गर्नु भन्ने यस अदालतको ०६१।११।१८ को आदेश ।

१४.   यसमा यस्तै विषय समावेश भएको रिट नं .२९७७ निवेदक किरण रेग्मी वि.लोकसेवा आयोगसमेत भएको रिटनिवेदन मा ०६२।७।८ मा निर्णय सुनाउने तारेख तोकिएको भनी वहशको क्रममा विपक्षीतर्फवाट उपस्थित उपन्यायाधिवक्ता ले उल्लेख गर्नु भएको हुदा उक्त निवेदनको निर्णय सहितको प्रतिलिपी साथै राखी पेश गर्नु भन्ने यस अदालतको ०६२।७।४ को आदेश ।

१५.   नियम वमोजिम दैनिक पेशी सूचिमा चढीपेश हुन आएको प्रस्तुत रिट निवेदनमा मिसिल संलग्न सम्पूर्ण कागज प्रमाणहरुको अध्ययन गरी निवेदक तर्फवाट रहनु भएका विद्धान वरिष्ठ अधिवक्ता  श्री महादेव यादब र अधिवक्ता श्री जगन्नाथ महतोले स्वास्थ्य सेवा ऐनको दफा ९० वमोजिम तह मिलान ०५४।४।२३ को पत्रवाट ०५४।२।१४ देखि लाग हुनेगरी र स्तर बृद्धि ०५६।६।१२ को निर्णय अनुसार ०५४।२।१४ देखि कायम हुने गरी गरिएकोमा तह मिलान र स्तर बृद्धि एकै मितिमा भएको भन्न मिल्ने होइन । स्वास्थ्य सेवा ऐनको दफा ९(५) को कानूनी व्यवस्था तहमिलान गरि सकेपछि मात्र स्तर बृद्धि गर्ने भन्ने होइन । ज्येष्ठता अघिको मितिदेखि कायम गर्न नमिल्ने भनी कुनै कानूनले रोक लगाएको छैन । श्री ५ को सरकारले तालिमको लागी मनोनयन गरी पठाएको र सोही अनुसार तालिम प्राप्त गरी प्रमाणपत्र पेश गरिएको अवस्थामा तालिम वापतको अंक नपाउने भन्ने कुरा हुदैन ।  नियमावलीको नियम ७४(३) आकर्षित नभई नियम ७५ आकर्षित हुने हो । तसर्थ वढुवा नगर्ने गरी गरिएको निर्णय कानून प्रतिकूल छ बदरगरिपाऊँ भनी र प्रत्यर्थी वढुवा समिति र लोक सेवा आयोगको तर्फवाट रहनु भएका विद्धान उप न्यायाधिवक्ता  श्री सुरेन्द्रवहादुर थापाले स्वास्थ्य सेवा नियमावली २०५५ को नियम ७४(३)(४) र (५) को कानूनी व्यवस्था अनुसार तालिमको अंक दिने अवस्था छैन । २०५६।६।१२ को निर्णय अनुसार ०५४।२।१४ देखि लागु हुनेगरी भुतलक्षित (Retrospective) निर्णय गर्न मिल्दैन । Tata Memorial Hospital Bombay वाट प्राप्त गरेको प्रमाणपत्र कुन श्रेणीको सो समेत खुलेको छैन भनी र प्रत्यर्थी वसन्तकुमार ताम्राकार र अनिल कुमार मिश्रको तर्फवाटरहनु भएका विद्धान अधिवक्ता हरु श्री प्रकाश राउत र श्री पदम गिरीले स्वास्थ्य सेवा ऐनको दफा ९(१) ले पदपूर्ति स्तरबृद्धिको माध्यमवाट गरिने व्यवस्था गरेको र ऐनको ९(५) को व्यवस्था पनि तथ्यसम्बन्धी छानविन गरी निर्णय गर्नपर्ने विषय हो । वढुवा अतित प्रभावी हुने गरी निर्णय गर्ने अधिकार कानूनले दिएको छैन । जुन तहमा छदा तालिम लिएको हो सोही तहको लागी मात्र काम लाग्ने हो भनी र प्रत्यर्थी लक्ष्मण मण्डलको तर्फवाट रहनु भएका विद्धान अधिवक्ता  श्री सुरेन्द्र अर्यालले निवेदक र विपक्षीहरुको बीचमा भेदभाव नगरी कानून वमोजिम गरिएको निर्णय कानूनसम्मत हुँदा रिट खारेज हुनुपर्दछ भनी गर्नु भएको वहस समेत सुनी निवेदक माग वमोजिम रिट जारी हुने हो वा होइन सो सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

१६.    निर्णयतर्फ विचार गर्दा ०५६।६।१२ को निर्णय अनुसार २०५४।२।१४ देखि ज्येष्ठता कायम हुने गरी आठौ तहमा स्तरबृद्धि गरिएकोमा मिति ०५४।२।१४ देखि नै मेरो ज्येष्ठता वापतको अंक दिनुपर्नेमा सो नदिई र श्री ५ को सरकारले मनोनयन गरी पठाए अनुसार  तालिम गरी प्रमाणपत्र समेत पेश गरेकोमा सो वापतको अंक नदिई मलाई वढुवा नगर्ने गरी गरिएको वढुवा समितिको ०६०।११।२१ को निर्णय सदर गरेको आयोग निर्णय उत्प्रेषणको आदेश द्धारा बदरगरी ०५४।२।१४ देखि ज्येष्ठता, भौगोलिक क्षेत्र तथा सेवा कालिन तालिम वापत निवेदकले पाउन पर्ने उक्त अंक समेत प्रदान गरी बढुवा सिफारिस गरी बढुवा नियुक्ति समेत गर्नु गराउनु भनी परमादेशको आदेश समेत जारीगरिपाऊँ भन्ने रिट निवेदन र स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९० अनुसार तह मिलान गर्दा २०५४।२।१४ देखि नै कायम गरिएमा एउटै मितिवाट दुई भिन्दा भिन्दै तहमा स्तरबृद्धि र तह मिलान हुन जाने भएकोले अतितप्रभावी असर पर्ने गरी आठौं तहमा गरिएको स्तर बृद्धिलाई नियमसम्मत मान्न सक्ने अवस्था नभएकोले नियमावलीको नियम ७९ अनुसार स्तरबृद्धि गरेको निर्णय मितिलाई नै मान्यता प्रदान गरि अंक गणना गरिएको हो । निवेदकले पेश गरेको प्रमाणपत्र सेवाकालीन तालिमको नभई अस्पतालमा काम गरेको अनुभवको हुँदा र भौगोलिक क्षेत्रको अंक हाल वहाल रहेको तहमा काम गरेको अवस्थामा मात्र प्राप्त हुन सक्ने कानूनी व्यवस्था भएकोले रिट निवेदन खारेज गरिपाऊँ भन्ने लिखित जवाफ रहेको देखिन्छ ।

१७.   नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९० वमोजिम निजामती सेवाको पद र श्रेणीवाट २०५४।२।१४ गते देखि लागु हुने गरी निवेदकलाई स्वास्थ्य सेवाको अधिकृत सातौं तहमा तह मिलान गरिएको देखिन्छ । स्वास्थ्य सेवा ऐन २०५३ को दफा (५)( दोस्रो शंसोधन २०५५।१०।२७ ले स्वास्थ्य सेवा ऐन २०५३ प्रारम्भ हुनुअघि निजामती सेवा ऐन, २०४९ वमोजिम नेपाल स्वास्थ्य सेवाको राजपत्रांकित तृतीय श्रेणीको पदमा स्थायीरुपले बहाल भएका र सेवा समुह,उपसमुहसंग सम्बन्धित विषयमा आधारभूत स्नातक उपाधी(व्याचलर डिग्री)प्राप्त गरेपछिको उपाधी(मास्टर डिग्री)प्राप्तगरी काठमाण्डौं उपत्यका बाहिरको क्षेत्रमा कम्तीमा एक वर्ष कामगरी तीन वर्ष सेवा अवधी पुरा गरेका वा आधारभूत स्नातक उपाधी(व्याचलर डिग्री) प्राप्त गरेपछिको उपाधी (पोष्ट ग्यय्राजुएट डिप्लोमा)प्राप्त गरी काठमाण्डौं उपत्यका वाहिरको क्षेत्रमा कम्तिमा दुईवर्ष कामगरी तीनवर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई पनि आठौंतहको पदमा स्तरबृद्धि गरिने छ भन्ने व्यवस्था गरेको पाइन्छ भने ऐनको दफा ९(१) ले सेवाका पदहरु मध्ये अधिकृत छैठौतहवाट सातौ, सातौंवाट आठौं र नवौंवाट दशौंतहको पदको पूर्ति स्तर बृद्धिको माध्यमवाट गरिने छ भन्ने व्यवस्था गरेको पाइन्छ । उक्त दफा ९(५) र दफा ९(१) स्वतन्त्र रुपमा रहेका र दुवैदफाको कानूनी व्यवस्थाले छुट्टाछुट्टै कार्य गरेको पाइन्छ । ऐनको दफा ९(५) को कानूनी व्यवस्थाको अध्ययन गर्दा उक्त दफा ९(५) मा राखिएका आवश्यक योग्यताहरु पुरा गरेको कर्मचारीलाई पनि आठौ तहको पदमा स्तर बृद्धि गरिने छभन्ने वाक्यांश उल्लेख मात्र गरिएको पाइन्छ । यसवाट उल्लेखित योग्यताहरु पुरागरेको कर्मचारीलाई स्वतः आठौं तहको पदमा स्तरबृद्धि हुने भन्ने नभै ९(५)ले तोकेको योग्यता पुरा गरेको कर्मचारीलाई पनि निर्णय गरी स्तरबृद्धि गर्न सक्ने भन्ने देखिन आउंछ ।

१८.   निवेदकलाई ०५४।२।१४ देखि लागु हुनेगरी अतितप्रभावी असर पर्नेगरी आठौं तहमा गरिएको २०५६।६।१२ कोस्तरबृद्धि निर्णय कानूनसम्मत नभएकोले नियमावलीको नियम ७८ को अधिकार प्रयोग गरी वढुवा समितिले आवश्यक व्याख्यागरी स्तरबृद्धि गरेको निर्णय मितिलाई मान्यता प्रदान गरी अंकगणना गरीएको र निवेदकले पेश गरेको प्रमाणपत्र तालिमको नभै कामगरेको अनुभवको भएको हुँदा अंक प्रदान गर्न नमिल्ने भन्ने आधारलिई वढुवा समितिले ०६०।११।२१ मा गरेको निर्णयलाई लोकसेवा आयोगवाट समेत सदर हुने गरी निर्णय भएको देखिन्छ । मिति ०५४।२।१४ गतेदेखि स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९० वमोजिम स्वास्थ्य सेवाको अधिकृत सातौतहमा तहमिलान भएकोमा स्वास्थ्य मन्त्रालयको ०५६।६।१२ को निर्णय अनुसार सोही मिति ०५४।२।१४ देखि नै ज्येष्ठता कायम हुने गरी आठौ तहमा समेत स्तरबृद्धि गरिएको ०५६।५।१३ को स्वास्थ्य मन्त्रालयको पत्रवाट देखिन्छ । यसरी स्तरबृद्धि गरिएको निर्णयमिति भन्दा अगाडि देखि नै ज्येष्ठता कायम हुने गरी स्तरबृद्धि गर्न सकिने कानूनी प्रावधान स्वस्थ्य सेवा ऐन, २०५३ मा रहे भएको नपाइएको अवस्थामा उक्त कानून विपरीत अतितप्रभावी हुने गरी गरिएको स्वास्थ्य मन्त्रालयको निर्णयलाई आधार लिई ०५४।२।१४ देखि ज्येष्ठता कायम गरिपाऊँ भन्ने निवेदकको जिकिर कानून न्यायसंगत देखिएन । यस्तै प्रकृतिको सम्वत ०६१ सालको रिट नं. २९७७ निवेदक किरण रेग्मी (घिमिरे) बि.लोक सेवा आयोग केन्द्रीय कार्यालयसमेत भएको उत्प्रेषण परमादेशको मुद्दामा दशौतहको पदमा स्तरबृद्धि गर्ने निर्णय भएको मिति २०६०।५।१५ सम्म निवेदिका नवौतहको पदमा रही कामकाज गरि रहेको हुँदा स्तरबृद्धि गरिएको निर्णयमा ०५८।४।१ गते देखि लागुहुने भन्ने व्यहोरा परेकै कारणवाट निवेदिका ०५८।४।१ गते देखि नै दशौतहको पदमा कार्यरत रहेको निस्कर्षमा पुग्न कानून तथा तर्कसंगत र न्यायोचित हुने समेत देखिदैन भनी यस अदालतवाट निर्णय भएको पाइन्छ ।

१९.    निवेदकले पेश गरेको भनिएका प्रमाणपत्रहरुमा R.P.Yadav has workभन्ने उल्लेख भएको देखिएवाट सेवाकालिन तालिमको प्रमाणपत्र नभै काम गरेको अनुभवको प्रमाणपत्र हो भन्ने देखिन्छ । उक्त प्रमाणपत्र तालिम गरेको प्रमाणपत्र हो भन्ने प्रमाणित हुन सकेको देखिदैन । पेश भएको प्रमाणपत्र १९९० र १९९४ मा दिइएको भन्ने उक्त मिसिल संलग्न प्रतिलिपीवाट देखिएको र उक्त समयमा निवेदक आठौ तहमा कार्यरत रहेको भन्ने समेत नदेखिएको अवस्थामा नियमावलीको नियम ७४(३)(४) र(५) बमोजिम अंक गणना गर्न मिल्ने समेत देखिएन ।

२०.   तसर्थ माथी उल्ल्खित आधार कारणवाट ०६०।११।२१ को वढुवा समितिको निर्णयलाई सदर गर्ने गरेको आयोगको निर्णयमा कुनै त्रुटी विद्यमान नदेखिदा निवेदकको माग वमोजिमको आदेश जारीगर्न परेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । आदेशको प्रतिलिपी जानकारीका लागी महान्यायाधिवक्ता को कार्यालयमा पठाई मिसिल नियमानुसार वुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.पवनकुमार ओझा

 

 

इति संवत २०६२ साल चैत्र १२  गते रोज ६  शुभम...................

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु