शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३३६४ - धर्म परिवर्तन

भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक:

निर्णय नं. ३३६४                 ने.का.प. २०४५                  अङ्क २

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४४ सालको फौ.पु.नं. ४३८

फैसला भएको मिति : २०४४।१२।२१।१ मा

 

पुनरावेदक, प्रतिवादी : झापा जिल्ला दमक नगरपञ्चायत वडा नं. १३ बस्ने गम्भीर राई

विरुद्ध

विपक्षी, वादी : केशवदत्त जोशीको जाहेरीले श्री ५ को सरकार

 

मुद्दा : धर्म परिवर्तन

 

(१)                  पुनरावेदन उजूरी नदिएकाको हकमा सम्म कानून बमोजिम सबूद प्रमाण हेरी केलाई जाँच गर्दा तल्लो अदालतको इन्साफ तथा सजायँ फरक पर्ने भई उल्टीन जाने देखियो भनेमात्र यो यति परिबन्दले इन्साफ सजायँ उल्टी हुन्छ भनी इन्साफ दिनु पर्ने कानुनी व्यवस्था रहे भएको, पुनरावेदन उजूरी दिएकाको हकमा यस व्यवस्था अनुसार यसरी हेर्न मिल्दैन पुनरावेदन तहबाटै हेरी कानून बमोजिम गर्नु पर्ने ।

(प्रकरण नं.  ४२)

 

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ ।

२.काठमाडौंबाट रमेश खत्री समेतका केही व्यक्तिहरू पोखरा टिम अस्पतालमा आई सो अस्पतालका स्टाफहरू समेतलाई दिउँसो दैनिक ३ बजे देखि ६ बजेसम्म वाइवल नामक पुस्तक पढाउने गरेको र भित्र भित्रै क्रिश्चियन धर्म प्रचार गर्ने गरेको भन्ने बुझिएकोले आवश्यक कारवाही गरिपाउँ भन्ने व्यहोराको प्र.ह. केशवदत्त जोशीको मिति ०४१।२।१ को प्रतिवेदन ।

३.म क्रिश्चियन धर्मावलम्बी हुँ । क्रिश्चियन धर्म ग्रहण गरेको ३ वर्ष भयो । वाइवल पढी आफैं क्रिश्चियन बनेको हुँ । यो धर्म लिनु भन्दा अघि म कुन धर्ममा थिएँ थाहा छैन । हिन्दु धर्मको विरोधमा मैले कुनै प्रचार प्रसार गरेको छैन । हिन्दु धर्मको कुनै कुरामा विश्वास नभएकोले हिन्दु धर्ममा आस्था छैन । मूर्ती पूजामा विश्वास गर्दिन । आफ्नो परम्परागत हिन्दु धर्म परिवर्तन गरी क्रिश्चियन धर्मावलम्बी भएको हुँ भन्ने समेतको प्र. भोजराज भट्टले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।

४.म क्रिश्चियन धर्मावलम्बी भएको ७ वर्ष भयो । वाइवल पुस्तक अध्ययन गर्नाले त्यसमा लेखिएका कुराहरूमा विश्वास लाग्यो । अहिले हिन्दु धर्मको रीति रिवाजमा विश्वास गर्दिन । हिन्दु धर्मको विरोधमा प्रचार प्रसार गरेको छैन । म आफैं क्रिश्चियन बनेको हुँ भन्ने समेतको प्र.सिद्धराज भट्टले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।

५.म क्रिश्चियन धर्ममा रहेको १ वर्ष ५ महीना भयो । म पहिले महादेव सन्तोषी मातालाई मान्थे बुद्धको उपदेश मान्थे । अहिले सनातन देखि चलेको कुनै पनि धार्मिक रीतिरिवाज पालन गर्दिन । मैले हिन्दु धर्ममा आस्था राख्दिन । प्रभु यिशू क्रिष्टको प्रभावबाट आत्मामा शान्ति मिलेकोले आफ्नो मत परिवर्तन गरी आफ्नो इच्छाले इशाई धर्म लिएको हुँ हिन्दु धर्मको विरोधमा कुनै प्रचार प्रसार गरेको छैन भन्ने समेतको प्र. चन्द्रबहादुर कैनीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।

६.मैले यिशु क्रिष्टलाई मान्न थालेको ३ वर्ष जति भयो । म हिन्दु धर्म पनि मान्दछु घृणाको दृष्टिले हेर्दिन । कुनै धर्म विरुद्ध प्रचार प्रसार गरेको छैन भन्ने समेतको प्र. देवी भुजेलले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।

७.म यिशु क्रिष्टलाई मान्दछु । यिशु धर्मावलम्वी भएको करीव २ वर्ष जति भयो । पहिले हिन्दु धर्म पनि मान्दथे । हिन्दु धर्म विरुद्ध कुनै प्रचार प्रसार गरेको छैन । झुठ्ठा आरोपबाट फुर्सद पाउँ भन्ने समेतको प्र. राजेशकुमार रावतले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।

८.मैले क्रिश्चियन धर्म लिएको ७ वर्ष जति भयो । मलाई हिन्दु धर्म प्रति विश्वास छैन । वाइवलको अध्ययनबाट क्रिश्चियन धर्म लिएको हुँ । क्रिश्चियन धर्म सम्बन्धी प्रचार प्रसार गरेको छैन भन्ने समेतको प्र. प्रयागराज भट्टको बयान ।

९.मैले क्रिश्चियन धर्म लिएको छ वर्ष भयो । वाइवल पढी आफ्नै खुसीले सो धर्म लिएको हुँ । हिन्दु धर्मको विरोधमा कुनै प्रचार प्रसार गरेको छैन । हिन्दु धर्ममा आस्था छैन भन्ने समेतको प्र. पद्य सिंह भाटको बयान ।

१०.यिशु क्रिष्टलाई प्रभु र गुरु मान्छु क्रिश्चियन धर्म मानेको १२ वर्ष जति भयो त्यो भन्दा अघि नास्तिक थिएँ । मैले कुनै पनि धर्मको विरुद्ध प्रचार प्रसार गरेको छैन । अरु धर्मको इज्जत गर्छु । सेन्टजेबीएर स्कूलमा पढ्दा देखि नै वाइवल पुस्तकको अध्ययनले मलाई अशर पारेकोले मुक्तिको लागि यिशुलाई मान्छु भन्ने समेतको प्र. रमेश खत्रीको बयान ।

११.म आफू खुसी क्रिश्चियन बनेको हुँ र क्रिश्चियन धर्म ग्रहण गरेको १० वर्ष भयो । सो भन्दा पहिले म हिन्दु थिएँ । मैले हिन्दु धर्मको विरोधमा कुनै प्रचार प्रसार गरेको छैन । सनातन धर्मलाई मान्दछु । क्रिश्चियन धर्मानुसार सरसंगती हुने हुँदा सोही सिलसिलामा डडेलधुरा पोखरा अस्पतालमा आएको हुँ भन्ने समेतको प्र. परशुराम महतोको बयान ।

१२.म क्रिश्चियन धर्मावलम्वी हुँ । क्रिश्चियन धर्म मानेको ९ वर्ष जति भयो । हिन्दु रीतिरिवाजलाई मान्दिन । सत्संगतीको लागि पोखरा अस्पतालमा आएको हुँ । क्रिश्चियन धर्मको प्रचार प्रसार गरेको छैन भन्ने समेतको प्र. एलीया प्रधानको बयान ।

१३.क्रिश्चियन धर्म मानी आएको ९ वर्ष भयो इशाई धर्म बाहेक अरु कुनै धर्म प्रति आस्था छैन । इशाई धर्मावलम्बीहरूका बीचमा क्रिश्चियन धर्म प्रचार प्रसार गरेको हुँ तर अरु धर्मको प्रचार गरेको छैन । मैले जाने देखि इशाई धर्म मानी आएको भन्ने समेतको प्र. गम्भीर राईको बयान ।

१४.सिद्धराज भट्ट समेतका मानिसहरूले क्रिश्चियन धर्म लिएका छन् । रमेश खत्री समेतका व्यक्तिहरूले २५ गते पोखरा अस्पतालमा क्रिश्चियन धर्मको प्रचार प्रसार गर्ने कार्य गरिरहेका थिए भन्ने समेत खड्गराज भट्ट समेतका केही व्यक्तिहरूको भनाई तथा निजहरूले क्रिश्चियन धर्म लिएका छन् तर प्रचार प्रसार गरेको हामीले देखेनौं भन्ने केही व्यक्तिहरू भएको सरजमीन मुचुल्का ।

१५.रमेश खत्री समेतका बाहिरबाट आएका व्यक्तिहरू संगतीको लागि बोलावट गरेको हुन् । वाइवल नामक पुस्तक पढ्ने र पढाउने गरेका थिए । बाहिर गएका छैनन् भन्ने समेतको पोखरा अस्पतालका इन्चार्ज पिटर हर्सको कागज ।

१६.क्रिश्चियन धर्म ग्रहण गरेमा अभियुक्त रमेश खत्री समेतले साविती बयान दिएको र गाउँ गाउँमा सो प्रचार प्रसार समेत गरी हिन्दु जातीमा चली आएको धर्ममा खलल हुने गरी मु.ऐ. अदलको १ नं. को परिभाषित कसूर गरेकोले निज अभियुक्त जवान ११ लाई सोही ऐन अनुसारको सजायँ माग दावी भएको मिति ०४१।२।१० को प्रहरी प्रतिवेदन ।

१७.७ वर्ष यता देखि यिशु प्रति विश्वास राख्छु सो भन्दा अघि नास्तिक थिएँ । मेरो कुलाचार धर्म हिन्दु हो । म कुनै पनि धर्मलाई मान्दिन । अध्ययनको हकमा गीता पनि अध्ययन गर्छु र वाइवल पनि पढ्छु । हिन्दु धर्मलाई यस अघि पनि ग्रहण गरेको नहुँदा म बाट धर्म परिवर्तन भएको छैन । सिर्फ ईश्वरमा यिशु क्रिष्टलाई ग्रहण गरेको छु । हिन्दु धर्मको विरोधमा कुनै प्रचार प्रसार गरेको छैन । कसैलाई पनि यिशु प्रति विश्वास दिलाई हिन्दु धर्मकालाई धर्म परिवर्तन गराएको छैन । प्रहरी प्रतिवेदन अभियोग बमोजिमका कार्य गरेको छैन, झुठ्ठा हो भन्ने समेतको प्र. सिद्धराज भट्टले अदालतमा गरेको बयान ।

१८.प्रहरी अभियोग अनुसार हिन्दु धर्म परिवर्तन गरी क्रिश्चियन धर्म अपनाई अरु कुनै किसिमको धर्मको प्रचार प्रसार गरी हिन्दु धर्मको खलल हुने अपराध गरेको छैन । मैले धर्म अपनाएको छैन । वाइवल पढी यिशु क्रिष्टलाई गुरु मानेको ३ वर्ष भयो । सो भन्दा अघि कुनै देवताको आराधाना गरेको थिएन । प्रहरीमा बयान गर्दा क्रिश्चियन धर्मावलम्बी हुँ भनी भनेको होइन भन्ने समेतको प्र. भोजराज भट्टले अदालतमा गरेको बयान ।

१९.हिन्दु धर्ममा खलल हुने गरी प्रचार प्रसार गरेको नभई पोखरा टीम अस्पतालमा कोठाभित्र वसी वाइवल आफैं अध्ययन गरेको हुँदा प्रहरी प्रतिवेदन दावी झुठ्ठा हो । यिशु क्रिष्टलाई गुरु परमेश्वर मानी ग्रहण गरेको १२ वर्ष जति भयो । त्यो भन्दा अघि म नास्तिक थिएँ । क्रिश्चियन धर्म मानेको भनी प्रहरीको बयानमा लेखाएको होइन । बढी लेखी दिएका रहेछन् भन्ने समेतको प्र.रमेश खत्रीले गरेको बयान ।

२०.२०२० साल देखि प्रभु यिशुलाई ग्रहण गरी  वाइवल पढ्ने गरेको छु । यिशुलाई कुन धर्मावलम्बीले मान्दछन्, त्यो मलाई थाहा छैन । वाइवलबाट प्राप्त ज्ञान अरु कसैलाई भनेको र कसैलाई परिवर्तन गरी यिशु क्रिष्ट ग्रहण गराउने शिक्षा दिएको छैन । प्रहरीमा गरेको बयान राजिखुसी बाट गरेको होइन भन्ने समेतको प्र. प्रयागराज भट्टले गरेको बयान ।

२१.मैले आफ्नो सनातन धर्म परित्याग गरेको नहुँदा र हिन्दु धर्ममा खलल हुने किसिमको कुनै धर्मको प्रचार प्रसार समेत गरेको नहुँदा म माथिको प्रहरी अभियोग झुठ्ठा हो । इश्वरमा यिशु क्रिष्टलाई मानेको हुँ तापनि हिन्दु धर्म परिवर्तन गरेको छैन । प्रहरीमा राजिखुसीले बयान गरेको हुँ भन्ने समेत प्र. राजेशकुमार रावतले गरेको बयान ।

२२.म हिन्दु धर्मावलम्वी व्यक्ति हुँ आफ्नै सनातन धर्ममा छु । अरु देवताहरूलाई मान्दछु, तर यिशु क्रिष्टमा बढी आस्था छ । कुनै प्रकारको धर्म परिवर्तन गराउन र क्रिश्चियन धर्म प्रचार प्रसार गर्न डडेल्धुरामा आएको होइन र प्रचार प्रसार गरेको पनि छैन । प्रहरीमा राजिखुसीले बयान गरेको भन्ने समेतको प्र. देवी भुजेलले गरेको बयान ।

२३.डडेल्धुरामा इशाई धर्म प्रचार गर्न आएको नभई सत् संगत गर्न आएको थिएँ । सतसंगतमा भाग लिन नपाउँदैमा पक्राउमा परेको छु । मेरो परम्परा देखिको धर्म इशाई हो । हाम्रो देशमा हिन्दु धर्म हुँदा सो को सम्मान गर्दछु । हिन्दु धर्मको मत परिवर्तन गर्न प्रचार प्रसार गरेको छैन प्रहरीमा इच्छा विरुद्ध बयान गराएको थियो भन्ने समेतको प्र.गम्भीर राईको बयान ।

२४.मैले इशाई धर्मको प्रचार प्रसार गरेको छैन । प्रभु यिशुलाई मान्न थालेको १ वर्ष ५ महीना भयो । वाइवल पढेर यिशुलाई मान्न थालेको हुँ । अरु कसैलाई मूर्ती पूजा नगर हिन्दु धर्म नमान भनी प्रचार गरेको छैन भन्ने समेतको प्र. चन्द्रबहादुर कैनीले अदालतमा गरेको बयान ।

२५.वाइवलको अध्ययनबाट यिशुलाई गुरु मानी आएको हुँ । अरु धर्म मान्नेलाई यो धर्म मान्नु पर्छ यो मान्नु हुँदैन भनी प्रचार गरेको छैन भन्ने समेत प्र. एलीया प्रधानको बयान ।

२६.हिन्दु धर्म परिवर्तन गरी इशाई धर्म प्रचार प्रसार गरे गराएको छैन । म हिन्दु धर्म पनि मान्दछु । क्रिश्चियन धर्ममा पनि विश्वास भएकोले ईसाई धर्म पनि मान्दछु, भन्ने समेतको पद्य सिंह  भाटको बयान ।

२७.प्रहरी अभियोग दावी झुठ्ठा हो । मैले कुनै किसिमको मत प्रचार गरी हिन्दु धर्ममा खलल पारेको छैन । म हिन्दु भएकोले हिन्दु सनातन धर्मको सम्मान गर्दछु । इश्वरमा याकुवको परमेश्वरलाई मान्दछु भन्ने समेतको प्र. परशुराम महतोको बयान ।

२८.प्रतिवादीहरूले हिन्दु धर्म छाडेका छैनन् । हिन्दु धर्ममा नै छन् । क्रिश्चियन धर्म प्रचार प्रसार गरेको छैनन् भन्ने समेत व्यहोराको सरजमीनका लाल पार्की, रामकृष्ण पार्की, धनिराम भट्ट, दत्त पार्की, हरिहरलाल पार्की, रघुविर कुडा, गुणकर भाट, लक्ष्मण पार्की समेतका व्यक्तिहरूको एकै मिलानको पृथकपृथक बकपत्र ।

२९.प्रतिवदीहरूले गरेको बयान अनुसार निजहरूले क्रिश्चियन धर्म लिएका हुन् । पोखरा टिम अस्पतालमा क्रिश्चियन धर्म सम्बन्धमा प्रतिवादीहरूले प्रचार प्रसार गरेका हुन् भन्ने समेतका सरजमीनका प्रताप खत्री, गगनराज भट्ट, भिमबहादुर भण्डारीले गरेको एकै मिलानको पृथकपृथक बकपत्र ।

३०.प्रतिवादी रमेश खत्री समेतले क्रिश्चियन धर्म अपनाई सो धर्मको प्रचार प्रसार पोखरा टिम अस्पतालमा गरेका हुन् । जाहेरी प्रतिवेदन मैले दिएको जाहेरवाला हो भन्ने समेतको प्र.ह. केशव दत्त जोशीको बकपत्र ।

३१.अभियुक्त मध्येका पद्य सिंह भाट, परशुराम, महतो, र देवी भुजेलले मौकामा र अदालतमा इन्कारी बयान गरेको देखिएकोले सफाई पाउने ठहर्छ । उक्त ३  जना प्र.हरू बाहेकका चन्द्रबहादुर कैनी समेतका ८ जनाले मौकामा र अदालतमा बयान गर्दा समेत इशाई धर्म मान्दछु हिन्दु धर्म मान्दिन तर क्रिश्चियन धर्मको प्रचार प्रसार गरेको छैन भनी सावित भएकोले मु.ऐ. अदलको १ नं. बमोजिम हिन्दु जातिमा चली आएको धर्म खलल हुने गरी इशाई धर्म लिई परिवर्तन गरेकोसम्म देखिएकोले निजहरूलाई जनही ६ महीनाका दरले कैद हुने ठहर्छ भन्ने समेतको डडेल्धुरा जिल्ला अदालतले मिति ०४१।१२।१।५ मा गरेको फैसला ।

३२.प्र. प्रद्य सिंह भाट, परशुराम महतो र देवी भुजेलले आरोपित कसूर गरेको प्रतिवादीहरूले धर्म परिवर्तन गरी गाउँ घरमा क्रिश्चियन धर्मको प्रचार प्रसार गरेको नै देखिँदा निजहरूलाई ६ वर्षको कैद गर्नु पर्नेमा पद्य सिंह भाट, परशुराम महतो, देवी भुजेललाई सफाई दिई अन्य प्रतिवादीहरूलाई ६ महीना मात्र कैद गरेको ड.जि.अ. को फैसलामा कानुनी त्रुटी निहीत हुँदा निज प्रतिवादीहरूलाई अदलको १ नं. बमोजिम ६ वर्ष कैद गरिपाउँ भन्ने समेतको श्री ५ को सरकारतर्फबाट पर्न आएको पुनरावेदन ।

३३.मैले कुनै प्रकारको धर्म परिवर्तन गरेको छैन हिन्दु जातीमा चली आएको धर्म खलल हुने कुनै काम पनि नगरेकोमा मलाई सजायँ गर्ने गरी भएको शुरु फैसला बदरभागी हुँदा फैसला बदर गरी सफाई पाउँ भन्ने समेतको प्र. सिद्धराज भट्टको पुनरावेदन जिकिर ।

३४.हामीहरूले कुनै व्यक्तिलाई पनि कुनै किसिमको खलल पुर्‍याई ईशाई मत प्रचार तथा ग्रहण गराएको समेत नभएकोले शुरु फैसला बदर गरिपाउँ भन्ने समेतको प्र. भोजराज भट्ट, एलिया प्रधानको संयुक्त पुनरावेदन जिकिर ।

३५.हामीलाई लगाएको आरोपलाई सिद्ध गर्न मिसिल संलग्न कुनै सबूद नहुँदै सजायँ गरेको ड.जि.अ. बाट भएको फैसला बदर गरी सफाई दिलाई पाउँ भन्ने समेतको प्र. प्रयागदत्त भट्ट चन्द्रबहादुर कैनी, गम्भीर राईको संयुक्त पुनरावेदन जिकिर ।

३६.मिसिलमा हुँदै नभएको विषयलाई निर्णयाधारको रुपमा अवलम्बन गरी मलाई सजायँ दिने ठहराएको फैसला बदर गरी सफाई दिलाइपाउँ भन्नेसमेतको प्र.रमेश खत्रीको पुनरावेदन जिकिर ।

३७.प्र.सिद्धराज महतोले सफाई पाउने प्र.गम्भीर राई समेतले तारेख गुजारी बसेकोले अ.बं. १७९ नं. बमोजिम डिसमिस हुने र अन्य प्रतिवादीहरूको हकमा शुरुको इन्साफ मनासिव ठहर्छ भन्ने समेत व्यहोराको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४३।९।२ को फैसला ।

३८.मैले दायर गरेको पुनरावेदनपत्रमा मैले तारेख गुजारी बसेपनि अ.बं. २०५ नं. समेतलाई मध्य नजर राखी फैसला गर्नु पर्नेमा सो नगरी डिसमिस फैसला गरेको बेरीतपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्र. गम्भीर राईको सर्वोच्च अदालतमा परेको निवेदनपत्र ।

३९.मुलुकी ऐन अ.बं. २०५ नं. मा भएको व्यवस्थाबाट प्रस्तुत मुद्दामा अभियोगबाट सफाई पाउने प्र.सिद्धिराज भट्टको सरह पुनरावेदन डिसमिस गराउने निवेदक प्रतिवादीहरूको समेत हकमा इन्साफ उल्टाई फैसला गर्नु पर्नेमा निजहरूका हकमा नबोली गरेको सु.प.क्षे.अ. को फैसलामा उक्त ऐनको व्याख्यात्मक त्रुटी हुनुको साथै ने.का.प. ०३६, पृ. ३८३ मा प्रकाशित सिद्धान्त समेतको त्रुटी हुँदा पुनरावेदनको अनुमति दिएको छ भन्ने यस अदालत संयुक्त इजलासको मिति ०४४५१२ को आदेश

४०.नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितका सम्पूर्ण मिसिल अध्ययन गरी सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको के रहेछ भन्ने नै निर्णय दिनु पर्ने हुनआएको छ ।

४१.यस्मा पुनरावेदन गर्ने गम्भीर राईको हकमा  विचार गर्दा क्षे.अ. मा दायर गरेको पुनरावेदनपत्रमा मैले तारेख गुजारी बसेपनि अ.बं. २०५ नं. समेतको आधारमा फैसला गर्नु पर्नेमा डिसमिस गरेको बेरीतको छ भन्ने प्र. गम्भीर राईको पुनरावेदन जिकिर भएकोमा अ.बं. २०५ नं. मा भएको व्यवस्थाबाट प्रस्तुत मुद्दामा अभियोगबाट सफाई पाउने प्र.सिद्धिराज भट्टका सरह पुनरावेदन डिसमिस गराउने निवेदक प्रतिवादीहरूका समेत हकमा इन्साफ उल्टाई फैसला गर्नु पर्नेमा सो नगरेको भन्ने आधारमा पुनरावेदनको अनुमति प्रदान भएको देखिन्छ ।

४२.मुलुकी ऐन अदालती बन्दोवस्तको २०५ नं. मा एकै मुद्दामा हार्ने झगडीया मध्ये कसैको पुनरावेदन उजूर परेकोबाट जाँचीदा इन्साफ वा सजायँ उल्टीने भई सो इन्साफ सजायँ उल्टाई फैसला गर्दा पुनरावेदन उजूर नदिने झगडीयाको हकमा समेत इन्साफ सजायँ उल्टीन जाने भयो भने त्यस्तोमा पुनरावेदन उजूरी परेको छैन भनी सदर गरिदिनु हुँदैन । पुनरावेदन उजूर नदिनेका हकमा समेत पुनरावेदन उजूर दिने सरह उल्टाई छिनी दिनु पर्छभन्ने व्यवस्था भएको देखिन्छ । पुनरावेदन उजूरी नदिएको हकमा सम्म कानून बमोजिम सबूद प्रमाण हेरी केलाई जाँच गर्दा तल्लो अदालतको इन्साफ तथा सजायँ फरक पर्ने भई उल्टीन जाने देखियो भने मात्र यो यति परिबन्दले इन्साफ सजायँ उल्टी हुन्छ भनी इन्साफ दिनु पर्ने कानुनी व्यवस्था रहे भएको प्रष्ट हुन्छ । पुनरावेदन उजूरी दिएको हकमा यस व्यवस्था अनुसार यसरी हेर्न मिल्दैन । पुनरावेदन तहबाटै हेरी कानून बमोजिम गर्नु पर्ने हुन्छ । प्रस्तुत मुद्दामा यी पुनरावेदक गम्भीर राई ०४३।५।१५ को तारेख गुजारी बसेकोले निजको हकमा अ.बं. १७९ नं. बमोजिम पुनरावेदन डिसमिस हुने भनी क्षेत्रीय अदालतबाट डिसमिस गरेको देखिन्छ । प्रस्तुत मुद्दामा अ.बं. २०५ नं. को व्यवस्था आकर्षित हुनसक्ने अवस्था नहुँदा यी पुनरावेदक गम्भीर राईले ०४३।५।१५ को तारेख गुजारेको भनी पुनरावेदन डिसमिस गर्ने गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४३।९।२ गतेको फैसला मिलेकै देखिँदा सोही इन्साफ मनासिव ठहर्छ । प्र. गम्भीर राईको पुनरावेदन जिकिर पुग्न सक्तैन । अरु तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक प्रतिवादी गम्भीर राईके शुरुको सदर गरेको सु.प.क्षे.अ. को ०४३।९।२ को फैसला मनासिव ठहरिएकोले शुरु डडेलधुरा जि.अ.को फैसलाले गर्ने गरेको कैद महीना ६ को अ.बं. २०३ नं. बमोजिम सयकडा ५ ले थप कैद दिन ९ नौं हुन्छ । बेरुजू हुँदा लगत असूल गर्नु भनी शुरु जि.अ. मा लगत दिनु भनी का.जि.अ.त मा लेखी पठाउनु ..................................१

नियमानुसार गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.प्रचण्डराज अनिल

 

इति सम्वत् २०४४ साल चैत्र २१ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु