शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३३६६ - उत्प्रेषण

भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक:

निर्णय नं. ३३६६                 ने.का.प. २०४५                  अङ्क २

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४३ सालको रिट नं. २२९७

आदेश भएको मिति : २०४४।९।८।४ मा

 

निवेदक : काभ्रे जि. सिमथली गा.पं. वार्ड नं. ७ बस्ने कटकबहादुर बस्नेत

विरुद्ध

विपक्षी : निर्वाचन आयोग, बहादुर भवन काठमाडौंसमेत

 

विषय : उत्प्रेषण

 

(१)                  प्रकाशित नामावलीको प्रयोजन निर्वाचनको लागि मात्र रहने हो, उक्त निर्वाचनको कार्य समाप्त भएपछि सो नामावली अन्य प्रयोजनको लागि कुनै महत्व नरहने

(प्रकरण नं.  ९)

(२)                जुन प्र्रयोजनको लागि मतदाता नामावली प्रकाशित भएको र सो नामावलीको सम्बन्धमा दावी विरोध परी नामावली हटाउने गरी निर्णय गरिएको हो सो कार्य समाप्त भई निर्वाचन समेत समाप्त भई सो निर्वाचन सदर कायम रही रहेको अवस्थामा यतिखेर आएर उक्त नामावलीमा रिट निवेदकको नाम समावेश गर्नु भनी आदेश जारी गर्न निरर्थक हुने ।

(प्रकरण नं.  ९)

 

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की

विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जितबहादुर कार्की

 

आदेश

न्या.हरगोविन्द सिंह प्रधान : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य जिकिर एवं निर्णय यसप्रकार छ ।

२.मैले जि. काभ्रे भुमेस्थान गा.पं. को ०३४ देखि ०३८ साल सम्म प्रधानपञ्च भइसकेको र ०३८ सालदेखि सोहि गा.पं. को नेपाल किसान संगठनको प्रारम्भिक कार्य समितिको सभापति पदमा निर्वाचन भई सो पदको हैसियतले पदावधि समेत पुरा गरेको छु । यस पटकको स्थानीय पञ्चायतको निर्वाचनमा साविक सिमथली गा.पं. वार्ड नं. ७ बाट मेरो मतदाता नामावलीमा नाम प्रकाशित भइसकेको आधारमा ०४३।१२।१ मा सो पञ्चायतको प्रधान पञ्चको लागि उम्मेदवारी दर्खास्त पेश गर्न जाँदा दर्खास्त स्वीकार नगरी विपक्षी मतदान अधिकृतले मतदाता नामावलीबाट नाम हटाउने निर्णय भएको हुँदा दर्ता गर्न नमिल्ने भनी फिर्ता दिइएको हुँदा सोको कारण सोद्धा जानकारी दिन मिल्दैन भनी जवाफ दिइयो । अनौपचारिक रुपमा बुझ्दा विपक्षी मध्येका धनबहादुर भण्डारीको उजुरी दर्खास्त लिई म उक्त पञ्चायतमा बसोबास नगरेको भन्ने आधारमा मेरो नाम हटाउने गरी निर्णय गरिएछ ।

३.कानून बमोजिम प्रकाशित नाम अनुसार मैले उक्त गा.पं.को निर्वाचनमा भाग लिन पाउनु पर्ने  हो । यदि नाम हटाउनु नै पर्ने भए पनि सरोकारवालालाई कारण सोधी सफाई र सबूद प्रमाण पेश गर्ने मौका दिनु पर्ने मलाई कुनै जनाउ नदिई प्राकृतिक न्याय सिद्धान्त बिपरीत मेरो निर्वाचनमा भाग लिन पाउने मौलिक अधिकारबाट वञ्चित गरियो यसरी मनोमानीसंग मलाई मतदाता नामावलीबाट हटाउनु स्थानीय पञ्चायतको निर्वाचनमा भाग लिन नदिने गरी गरेको निर्णय स्थानीय निर्वाचन ऐन, २०२५ को दफा ५(२) तथा स्था.प.नि. निर्देशिका, ०४३ को दफा ४(१)(क) को बिपरीत हुनुको साथै संविधानको धारा १० र ११ ले प्रत्याभूतित मौलिक हकमा समेत आघात परेको हुँदा उक्त निर्णय बदर गरी मेरो नाम समेत समावेश गरी उम्मेदवारको दर्खास्त लिनु भनी परमादेशको आदेशसमेत जारी गरिपाउँ भन्नेसमेत रिट निवेदन जिकिर रहेछ ।

४.विपक्षीबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने यस अदालतको मिति ०४३।१२।६।६ को आदेशले प्राप्त हुनआएको लिखितजवाफ यसप्रकार रहेछ ।

५.स्थानीय गा.पं.को निर्वाचन सम्पन्न गर्नको लागि स्थानीय पञ्चायत निर्वाचन निर्देशिका अनुसार मलाई भएको सम्पूर्ण अधिकार मतदान अधिकृतलाई प्रत्यायोजन गरी सकेको र सो अनुसार मलाई विपक्षी बनाउनु नपर्ने हुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने जि.का.काभ्रेको लिखितजवाफ रहेछ ।

६.सिथली गा.पं. वार्ड ७ को भोटर लिष्टमा निज कटकबहादुरको नाम प्रकाशित भएकोमा निजको सो क्षेत्रमा बसोबास नभएको हुँदा निजको नाम कट्टा गरिपाउँ भनी धनबहादुर भण्डारीको विरोधमा निवेदन परेको थियो । ०४३।१२।१ गते दिनको १० बजे भित्र सफाई पेश गर्नु भनी सूचना प्रकाशित गरेकोमा सो समयभित्र कुनै सबूत प्रमाण पेश गर्न नसकेको हुँदा मतदाता नामावलीबाट नाम हटाइएको हो भन्ने समेत निर्वाचन अधिकृत मोहन सिलवालको लिखितजवाफ रहेछ ।

७.कानून बमोजिम भए गरेको निर्वाचन सम्बन्धी कारवाही बदर गर्न मिल्ने होइन प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत निर्वाचन आयोगको लिखितजवाफ रहेछ ।

८.यी रिट निवेदकको सिमथली गा.पं. मा बसोबास नभएकोले निजको नाम मतदाता सूचीबाट       हटाई पाउँ भनी मैले उजूरी दिएकोमा ०४३।१२।१ मा सफाई पेश गर्न मौका दिंदा पनि कुनै सबूद प्रमाण पेश नगरेको हुँदा निजको यहाँ बसोबास नभएको भन्ने व्यहोराको सरजमीन समेत भई सोही आधारमा मतदान सूचीबाट निजको नाम हटाइएको हो भन्ने समेत धनबहादुर भण्डारीको लिखितजवाफ रहेछ ।

९.नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत निवेदनमा रिट निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्कीले र विपक्षी निर्वाचन आयोग समेतको तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री जितबहादुर कार्कीले गर्नु भएको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो । यसमा म त्यस गा.पं. को स्थायी बसोबास गरी विगतमा प्रधानपञ्च र किसान संगठन प्रारम्भिक कार्य समितिको सभापित समेत भइसकेको व्यक्तिलाई विपक्षी मतदान अधिकृतले मतदाता नामावलीबाट मेरो नाम हटाई दिने गरी निर्णय गरेबाट मेरो निर्वाचनमा भाग लिन पाउने अधिकारबाट वंचित भएको हुँदा सो निर्णय बदर गरी मेरो नाम समेत समावेश गरी उम्मेदवारीको दर्खास्त लिनु भन्ने परमादेशको आदेश जारी गरिपाउँ भन्ने निवेदकको माग दावी भएकोमा उक्त गा.पं. इलाकामा यो निवेदकको बसोबास नभएको हुँदा निजको नाम मतदाता नामावलीबाट कट्टा गरिपाउँ भन्ने निवेदन परी सो सम्बन्धमा आवश्यक सबूत प्रमाण पेश गर्न नसकेको र सरजमीन समेतको आधारमा मतदाता नामावलीबाट नाम हटाई दिने गरी निर्णय भएको भन्ने विपक्षीहरूको लिखित जवाफमा उल्लेख भएको देखिन्छ । प्रकाशित नामावलीको प्रयोजन निर्वाचनको लागि मात्र रहने हो । उक्त निर्वाचनको कार्य समाप्त भएपछि सो नामावलीको अन्य प्रयोजनको लागि कुनै महत्व रहँदैन । उक्त मतदाता नामावली प्रकाशित भएपछि सो क्षेत्रमा निर्वाचनको कार्य सोही समय समाप्त भइसकेको छ । उक्त निर्वाचन बेरितपूर्वक वा गैरकानुनी तरिकाले भएको भए सो निर्वाचन बदर गराउन सक्नु पर्ने थियो सो सम्बन्धमा कारवाही चलाएकोसम्म पनि मिसिलबाट देखिँदैन । यसरी जुन प्रयोजनको लागि मतदाता नामावली प्रकाशित भएको र सो नामावलीको सम्बन्धमा दावी विरोध परी नामावली हटाउने गरी निर्णय गरिएको हो सो कार्य समाप्त भई निर्वाचन समेत समाप्त भई सो निर्वाचन सदर कायम रही रहेको अवस्थामा यतिखेर आएर उक्त नामावलीमा रिट निवेदकको नाम समावेश गर्नु भनी आदेश जारी गर्न निरर्थक हुने हुँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । नियमबमोजिम गरी फायल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४४ साल पौष ८ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु