निर्णय नं. ३३७१ - ज्यान

निर्णय नं. ३३७१ ने.का.प. २०४५ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४४ सालको फौ.पु.नं. ४२५,
२०४४ सालको साधक नं. ६१
आदेश भएको मिति : २०४५।१।१३।२ मा
पुनरावेदक/प्रतिवादी : कारागार शाखा भद्रगोलमा थुनामा रहेको मानबहादुर तामांग
विरुद्ध
विपक्षी/वादी : कृष्णबहादुरको जाहेरीले श्री ५ को सरकार
मुद्दा : ज्यान
(१) अत्यधिक मात्रामा जाँड रक्सी सेवन गरेको अवस्थामा मार्ने पूर्व योजना नभई अचेतन मनमा उठेको तत्काल परिणाम सोच्न नसक्ने बेलामा मृतकलाई मारेको देखिँदा अ.बं. १८८ नं. बमोजिम राय जाहेर गरेको मनासिवै देखिने ।
(प्रकरण नं. १५)
फैसला
न्या.प्रचण्डराज अनिल : म.क्षे.अ.को २०४४।२।१३।४ गतेको फैसला उपर पुनरावेदन परी दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ ।
२. मिति ०४१ साल फाल्गुण २८ गते राति ३.३० बजेको समयमा वीरबहादुरको बुहारीको अर्गो गरी रहेको अवस्थामा मेरो कान्छा बाबुको छोरी ठूली तामांगनी त्यहीँ बसेको मौका पारी मेरो भिन्न भई बस्नु भएको दाजु मानबहादुर तामांगले बञ्चरो हतियार प्रयोग गरी उक्त रातको ३.३० बजे अर्गो गरी रहेको ठाउँमा गई टाउकामा बञ्चरो प्रहार गरी एकै खेपमा मारी भागेको कुरा वीरबहादुरले मलाई भन्दा थाहा पाई हेर्दा निज दिदी ठूली तामांगनी मरी सकेको देखिएकोले जाहेर गर्न आएको छु, कानून बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको २०४१।११।३० मा परेको कृष्णबहादुर तामांगको जाहेरी दर्खास्त ।
३. टाउको पछाडी पट्टि ३।। इन्च लम्बाई र १ इन्ज जति गहिराईको छड्के काटिएको घाउ लाशको वरिपरि रगत जमेको औंलाको नङहरू निलो भएको, लाशको सम्पूर्ण शरीर सुनिएको टाउको बाहेक अन्य ठाउँमा घाउ चोटपटक नदेखिएको भन्ने समेत व्यहोराको मिति २०४१।१२।१।५ को लाश प्रकृति मुचुल्का ।
४. टाउको फुटेको कारणबाट मृत्यु भएको भन्ने लाश पोष्टमार्टम रिपोर्ट ।
५. ०४१ साल फाल्गुण २८ गतेका दिन वीरबहादुर तामांगको बुहारीको अर्गोमा ठूली तामांगनी पनि गएकी थिइन, उक्त अर्गोमा ठूलीको झडकेला छोरा ठूलो कान्छा र मानबहादुरको दाजु माईली तामांगको बीच भएको झगडामा आफ्नो छोरालाई छुट्याई दिइन उक्त दिन रातको ३.३० बजेतिर ठूली तामांगनीले पिण्ड दिई रहेको अवस्थामा मानबहादुर तामांगले बञ्चरोले टाउकोमा हिर्काई एक खेपमा मारेका हुन् उक्त दिनको दिउँसो ठूली तामांगनीको झडकेला छोरा र मानबहादुरको दाजु माइला तामांगसंग झगडा भएको रीसइवी लिई निज मानबहादुर तामांगले ठूली तामांगनीलाई मारेको विश्वास लाग्छ भनी सन्तबहादुर तामांग समेत चार जनाले २०४१।१२।२ मा प्रहरीमा गरेको संयुक्त कागज ।
६. ०४१।११।२८ गते वीरबहादुरको बुहारीको अर्गोमा म गएको थिएँ, यस्तैमा उक्त रातको अं. ३.०० बजे अर्गोको काम सकी पिण्ड दिने बेलामा पिण्ड दिई रहेकी ठूली तामांगनीलाई हिर्काए जस्तो लागि भुँइको बञ्चरो टिपी टाउकोमा हिर्काउँदा मर्छे जस्तो लाग्यो र बञ्चरो फाली भागेको हुँ भन्ने समेत व्यहोराको अभियुक्त मानबहादुर तामांगले ०४१।१२।६ मा प्रहरीमा गरेको बयान कागज ।
७. २०४१।११।२८ गते वीरबहादुरको बुहारीको अर्गोमा ठूली तामांगनीको र मानबहादुरको केही रकम लेनदेन सम्बन्धमा निजहरूको वादविवाद भएको भन्ने सुनेका हौं । सोही रातको अं. ३.३० बजे मानबहादुरले ठूली तामांगनीलाई बञ्चरोले टाउकोमा हानी मारी भागे भन्ने सुनेको हुँदा निज मानबहादुर तामांगले सोही रकम सम्बन्धको रिसइवीबाट मारेको विश्वास लाग्दछ भन्ने एकबहादुर थापा समेतले २०४१।१२।१५ मा गरेको सरजमीन मुचुल्का ।
८. अभियुक्त भीमबहादुर तामांगले ठूली तामांगनीलाई रु.२४।– तिर्नु पर्ने रकम सम्बन्धमा झै झगडा भई सोही रीसइवी लिई निज मानबहादुर तामांगले ठूली तामांगनीलाई बञ्चरोले टाउकोमा प्रहार गरी मारी मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. अनुसार कसूर गरेको प्रष्ट देखिएकोले निज मानबहादुर तामांगलाई सोही ऐनको १३(१) नं. को सजायँ माग दावी लिई प्रस्तुत गरिन्छ भन्ने समेत व्यहोराको २०४१।१२।२६।१ को प्रहरी प्रतिवेदन ।
९. २०४१।११।२८ गते अर्गोको काममा वीरबहादुरको घरमा गएको थिएँ । जाँडको नसा लागिरहेको थियो, उक्त दिन रातको अं. ३.०० बजे राति के सुरमा हो विंड उठाई हानेको जस्तो लाग्यो उक्त चोट ठूली तामांगनीलाई परेछ, निज मर्छे होला भन्ने डरले भागेर टोड्केको लेकमा ३ दिन बसे, मरी होला भन्ने डरले जंगलमा ३ दिन बस्दा भोक लाग्यो र छहरे जाँदो सार्के भन्ने तामांगले मलाई समाती दाम्लाले थाममा बाँध्यो, पछि प्रहरीले पक्राउ गरेका हुन् मर्ने ठूली तामांगनी आफ्नै कान्छा बाबाको छोरी भएकोले उनीसंग र कान्छा बाबासंग समेत मेरो कुनै रिसइवी झै झगडा लेनदेन थिएन भन्ने समेत व्यहोराको प्र.मानबहादुर तामांगले अदालतमा मिति ०४१।१२।२६।२ मा गरेको बयान ।
१०. आफूले बञ्चरोले मृतक ठूली तामांनीलाई हिर्काएमा अभियुक्त सावित रहेको पाइन्छ निजको सो साविती बमोजिमको घटना प्रकृति लाश जाँचको प्रतिवेदनबाट समर्थन हुनआएको देखिन्छ । साथै विशेषज्ञको जाँचबाट दशीको रुपमा प्राप्त बञ्चरो र मृतकको लुगामा मानव रगतको विद्यमानता देखिनाले समेत प्रहरी प्रतिवेदन माग दावी मनासिव ठहर्छ । अत्यधिक मात्रामा जाँड रक्सी सेवन गरेको प्रतिवादीको अवस्था र मृतकसंग रिसइवी नरहेको भन्ने समेतका आधारबाट निज प्रतिवादीलाई कम सजायँ हुन अ.बं. १८८ नं. बमोजिम बेग्लै राय समेत राखी पेश गरेको छु भन्ने समेत व्यहोराको शुरु नुवाकोट जिल्ला अदालतको मिति ०४२।९।१७।४ को फैसला ।
११. शुरु नुवाकोट जिल्ला अदालतको फैसलामा चित्त बुझेन, सो फैसला बदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.मानबहादुरको मिति २०४३।८।२३ मा म.क्षे.अ. मा परेको पुनरावेदन ।
१२. प्रतिवादीले मृतक ठूली तामांगनीलाई जोखिमी हतियार प्रहार गरी कर्तव्य गरी मारेकोमा ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याएको इन्साफ मनासिव ठहर्छ । अत्यधिक मात्रामा जाँड रक्सी सेवन गरेको प्रतिवादीको अवस्था र मृतकसंग रिसइवी नरहेको भन्ने समेतका आधारमा कम सजायँ हुन अ.बं. १८८ नं. बमोजिम शुरु नुवाकोट जिल्ला अदालतले राय जाहेर गरेको सम्बन्धमा प्रतिवादीले जाँड रक्सी सेवन गरी नसामा रही मानसिक चेतनाको विद्यमानता शून्य रहेको अवस्थामा अपराध हुन गएको भन्ने शुरुले आधार ग्रहण गरेको तर सो कुराको प्रमाण प्रतिवादीले गुजार्न सकेको मिसिलबाट नदेखिएकोले माथि लेखिए अनुसार प्रतिवादीले पुरा होसमै जोखिमी हतियार बञ्चरोले प्रहार गरेको र मृतकको मृत्यु हुन गएको ठहरेकोले समेत अ.बं. १८८ नं. बमोजिम कम सजायँ हुन पर्ने भन्ने शुरु नुवाकोट जिल्ला अदालतको राय मनासिव देखिएन भन्ने म.क्षे.अ. को २०४४।२।१३।४ को फैसला ।
१३. म.क्षे.अ.ले गरेको फैसलामा चित्त बुझेन म.क्षे.अ को फैसलाले बढी सजायँ गर्ने गरेको बदर गरी शुरु नुवाकोट जिल्ला अदालतले अ.बं. १८८ नं. लगाई गरेको फैसला बमोजिमको सुविधा उपभोग गर्नपाउँ भन्नेसमेत व्यहोराको प्र.मानबहादुरको यस अदालतमा पर्न आएको पुनरावेदन ।
१४. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी म.क्षे.अ.ले गरेको फैसला मिले नमिलेको के रहेछ भनी निर्णयतर्फ विचार गर्दा जाँडको नसा लागि रहेको बेला आफूले बञ्चरोले मृतक ठूली तामांगनीलाई हिर्काएको कुरा अधिकार प्राप्त अधिकारी र अदालत समक्ष अभियुक्तले साविती बयान गरेको पाइन्छ । निजको सो साविती बमोजिमको घटना प्रकृति लाश जाँचको प्रतिवेदन समेतबाट समर्थन हुनआएको देखिन्छ । साथै विशेषज्ञको जाँचबाट दशीको रुपमा प्राप्त भएको बञ्चरो र मृतकको लुगामा लागेको रगत मानव रगतको विद्यमानता रहेको भन्ने देखिएकोबाट पनि प्रमाणित हुनआएको छ । तसर्थ प्रतिवादीले मृतकलाई जोखिमी हतियार बञ्चरो प्रहार गरी कर्तव्य गरी मारेकोमा ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहराएको शुरुको इन्साफ सदर गरेको म.क्षे.अ. को इन्साफ मनासिव ठहर्छ । पुनरावेदक मानबहादुर तामांगको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
१५. सजायँको हकमा अत्याधिक मात्रामा जाँड रक्सी सेवन गरेको प्रतिवादीको अवस्था र मृतकसंग रिसइवी नरहेको भन्ने समेत आधारमा कम सजायँ हुन अ.बं. १८८ नं. बमोजिम शुरुले राय जाहेर गरेकोमा म.क्षे.अ.ले उक्त राय मनासिव देखिएन भन्ने सम्बन्धमा विचार गर्दा मृतक ठूली तामांगनीलाई अत्यधिक मात्रामा जाँड रक्सी सेवन गरेको अवस्थामा मार्ने पूर्व योजना नभई अचेतन मनमा उठेको तत्काल परिणाम सोच्न नसक्ने बेलामा मृतक ठूली तामांनीलाई मारेको देखिँदा म.क्षे.अ. को राय मनासिव देखिएन । तसर्थ नुवाकोट जिल्ला अदालतले अ.बं. १८८ नं. बमोजिम राय जाहेर गरेको मनासिव देखिँदा मानबहादुर तामांगलाई १० वर्ष कैद हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन परी निर्णय भएको हुँदा साधकको लगत कट्टा गरिदिनु । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पु.वे.प्र. मानबहादुर तामांग के माथि इन्साफ खण्डमा लेखिए बमोजिम १०(दश) वर्ष कैद हुने ठहरी फैसला भएकोले शुरु नुवाकोट जिल्ला अदालतको २०४२।९।१७।४ को फैसलाले ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने लगत कायम नरहने हुँदा व्यहोरा जनाई लगत कट्टा गरिदिने र निज मानबहादुर तामांग मिति २०४१।१२।६ बाट प्रहरी हिरासतमा बसेको देखिँदा सोही मितिदेखि कैद कट्टा हुने गरी २० वर्ष कैद असूल गर्नु भनी नुवाकोट जिल्ला अदालतमा लेखि पठाउन का.जि.अ.त. मा लगत दिनु..१ शुरु नुवाकोट जि.अ.बाट अंश सर्वस्वतर्फ २०४२।८।२१।६ मा मुचुल्का भई मुचुल्का बमोजिमको जग्गा रोक्का राखेको देखिँदा सो रोक्का राख्नु परेन । फुकुवा गरिदिनु भनी नु.जि.अ.मा. लेखि पठाउन का.जि.अ.त. मा लगत दिनु..२, मिसिल नियमबमोजिम गरी बुझाई दिनु.......३
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४५ साल बैशाख १३ गते रोज २ शुभम् ।