निर्णय नं. ३३७२ - चोरी

निर्णय नं. ३३७२ ने.का.प. २०४५ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४२ सालको फौ.पु.नं. ५०१
फैसला भएको मिति : २०४५।१।१३।२ मा
पुनरावेदक/वादी : स.ई. सम्सुल जोहाको प्रतिवेदनले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : भारत वाराणशी घर भई पर्सा जि.वीरगञ्ज बस्ने गोविन्दप्रसाद त्रिवेदी
मुद्दा : चोरी
(१) दसी समेत वरामद भएपछि अदालतमा कसूरमा ईन्कर रहेकै भरमा मात्र कसूरदार होइन भनी मान्न नमिल्ने ।
(प्रकरण नं. १८)
(२) पुनरावेदन परेको अवस्थामा थुनछेकको सम्बन्धमा निर्णय गरेको प्रासंगिक नदेखिने, इन्साफमा चित्त नबुझाई पुनरावेदन परेकोमा शुरुमा निर्णय गर्न पठाउने भएपछि थुनछेकका सम्बन्धमा टिप्पणी गरेकोलाई सान्दर्भिक मान्न नमिल्ने ।
(प्रकरण नं. १९)
पुनरावेदक, वादीतर्फबाट : विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री बलराम के.सी.
फैसला
न्या.प्रचण्डराज अनिल : म.क्षे.अ.को फैसला उपर वादी श्री ५ को सरकारका तर्फबाट परेको निवेदनमा यस अदालत डिभिजनबेञ्चका मिति २०४२।१०।१ का आदेशले पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।
२. २०३७।१२।११ गतेको राती १ बजेदेखि ५ बजेसम्मको वीरगञ्ज २–३ नं. रोड रामटोला कुम्हाल टोलको रमन गस्तिमा म आवश्यक मद्दत सहित खटी गएकोमा रातको २, २।। बजे रामटोलमा पुग्दा ४, ५ जना टाउकोमा भाडाकुँडा बोकी पूर्वलाईनतर्फ जान लागेको देखि शंका भई को हो रुक रुक भनी आवाज दिंदा ती मानिसहरू मध्ये १ जनाले पोको लिँदै र अरुले पोका फाल्दै भागेकोमा लखेट्दा २ जना मात्र पोका फाली भाग्ने मध्येका गोविन्द द्विवेदी भन्ने गोविन्द त्रिवेदी र श्यामसुन्दर गिरीलाई पक्राउ गरी सोधपुछ गर्दा माडवारी सेवा समाज संघबाट ल्याएका हौं भनी मुख सावित भएकोले निजहरूले चोरी ल्याएको सामान र सेन खन्ने खन्तिसमेत प्रतिवेदनसाथ दाखिल गरेको छु भन्ने समेत व्यहोराको स.ई. सम्सुल जोहाको प्रतिवेदन ।
३. माडवारी समाज सेवा संघको गोदामबाट २०३७।१२।११ गते राती नमालुम कुन समयमा कहाँको के कतिजना चोरहरू आई उक्त गोदामको ताल्चा सहितको कुण्डा नै उखेली तोडी भित्र पसी बिगो रु.९०७०।– को भाडावर्तन दरी समेतका मालसामानहरु चोरी गरी लगेको कुरा भोलिपल्ट विहान गोदाम खुल्ला रहेको देखि गोदामभित्र हेर्दा थाहा हुनआएको र उक्त गोदामबाट चोरी भएको सामान सहित राती गस्तिले श्यामसुन्दर गिरी र गोविन्द त्रिवेदीलाई पक्राउ गरेको छ भन्ने बुझिएकोले कार्यालयमा आई हेर्दा चोरी भएका सामानहरू चिन्हेकोले अरु मालहरू कहाँ लगी चोरहरूले राखेका छन् पत्ता लगाई दिलाई भराई चोरी गरेमा कानून बमोजिम कारवाही गरिपाउँ भन्ने समेत विहारीलाल लाठको उजूरी दर्खास्त ।
४. ढोकामा रहेको कुण्डामा जडान रहेको गोलो फलाम पनि भाँचेको र तेश्रो कोठाभित्र भाडावर्तनहरू चोरी भएको देखिएको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।
५. २०३७।१२।११ गतेको राती करीव २ बजेको समयमा म साथी गोविन्द द्विवेदी र रामबहादुर क्षेत्री समेत ३ जनाको राय सल्लाह अनुसार माडवारी सेवा समाज संघको गोदाम खन्तिको सहाराले कोठाको ढोकाको ताल्चा लगाउने कुण्डा उखेली र साथी रामबहादुर गोविन्द ढोकाभित्र पसी भाडावर्तनहरू चोरी गरी बाहिर दिँदै गरे म चाहीं त्यहाँबाट उठाई केही पूर्वतर्फ लगी थुपार्दै गरें, अन्तमा आफ्नो टाउकोमा भाँडाकुडा उठाई पहिले थुपारेको भाडा भएकोतर्फ जान लागेको प्रहरी गस्ती आई म र गोविन्दलाई पक्राउ गरे रामबहादुर भाग्न सफल भए भन्ने समेत व्यहोराको प्रहरीमा श्यामसुन्दर गिरीले गरेको कागज ।
६. म र साथै श्यामसुन्दर गिरी तथा रामबहादुरले २०३७।१२।११ गतेको दिन माइस्थानमा सल्लाह भए अनुसार रामबहादुरले ल्याएको फलामको खन्तिले माडवारी समाज सेवा संघ गोदामको ढोकाको कुण्डा उखेली भित्र पसी भाडावर्तनहरू चोरी गरी केही माल पूर्वपट्टी लगी थुपारी दोश्रोपटक मालसामान झिकी बोकी ३ जना जान लाग्दा गस्ति प्रहरीले म र श्यामसुन्दर गिरीलाई पक्राउ गरे, तर रामबहादुर भने भागे दशिका मालसामान हामी तीनजनाले चोरी गरेको ठीक हो भन्ने समेत व्यहोराको गोविन्दप्रसाद त्रिवेदीको कागज ।
७. चोरीको दशी भाडावर्तन सहित पक्राउ नपरेका रामबहादुर समेत भई चोरी गरेको ठिक हो भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
८. संकलित सबूद प्रमाणबाट प्र.श्यामसुन्दर गिरी र गोविन्दप्रसाद त्रिवेदी सहित भएर मारवाडी समाज सेवा संघको भाँडावर्तन चोरी गरेको सिद्ध हुनआएकोले रामबहादुर पक्राउ भई आएपछि र दशी सहित पक्राउ भएका श्यामसुन्दर गिरी तथा गोविन्दप्रसाद त्रिवेदीलाई दोश्रो पटक चोरी गरेमा चोरीको १४(१) नं. बमोजिम सजायँ हुन र जाहेरवालाको बिगो समेत भराई दिन हुन भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
९. मैले चोरी गरेको होइन । प्रहरीमा कुटपीट गरी सावित गराएका हुन् भन्ने समेत व्यहोराको प्र. गोविन्दप्रसाद त्रिवेदीको इन्कारी बयान ।
१०. प्रहरीले जत्र तत्र कुटपीट गरी सही गराएको हो, मैले चोरी गरेको होइन अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र.श्यामसुन्दर गिरीको इन्कारी बयान ।
११. प्रतिवादी श्यामसुन्दर र गोविन्दत्रिवेदी अघि पनि चोरीमा सावित भई खराव आचरणको समेत देखिँदा वादी दावी मुताविक दोश्रोपटक निजहरूले चोरी गरेको ठहर्छ भन्ने समेत व्यहोराको शुरु पर्सा जि.अ. बाट मिति २०३९।३।२०।१ मा भएको फैसला ।
१२. मैले पर्सा जि.अदालतमा २०३९।१२।२४ मा बयान गर्दा लेखिएका साक्षीहरुलाई रितपूर्वकको समाव्हान नपठाई नबुझी मलाई अपराधी ठहराई पर्सा जि.अ.ले गरेको फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको गोविन्दप्रसाद त्रिवेदीले ना.अं.अ. मा पुनरावेदन गरेकोमा यो पुनरावेदन जरिवानाको हदबाट यस अदालतको अधिकार क्षेत्रभित्र पर्ने पुनरावेदन लेखाइबाट नदेखिँदा रु.५,०००।– भन्दा बढी जरिवाना भए गरिएको न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(१)(ख) पुनरावेदन सुन्ने कार्यक्षेत्र म.क्षे.अ. को हुँदा मिसिल पठाई दिनु भन्ने ना.अं.अ. को २०४०।५।१।४ को आदेश ।
१३. साक्षीहरूलाई बुझ्दैै नबुझी भएको यो फैसला कानूनको रीत पुगेको नदेखिएकोले पुनरावेदक गोविन्दप्रसाद त्रिवेदीको हकमा यो फैसला बदर गरिदिएको छ । कानून बमोजिम जो बुझ्नु पर्ने बुझी कानून बमोजिम गर्नु भनी मिसिल शुरु जि.अ. मा पठाई दिनु । अदालतमा आई इन्कारी बयान गर्ने पुनरावेदकलाई पुर्पक्षको निमित्त थुनामा राखी छाड्न मनासिव नदेखिएकोले अन्य मुद्दाबाट थुनामा रहने अवस्था नभए अ.बं. १२३ नं. अनुसार अभियुक्तलाई थुनाबाट छोडी तारेखमा राखी कानून बमोजिम गर्नु भन्ने समेत म.क्षे.अ.को मिति २०४१।११।१६ को फैसला ।
१४. प्रहरीको साविती र दशीको लेखाजोखा फैसला हुँदाका बखत टिका टिप्पणी हुनेमा फैसला गर्न शुरुमा पुनः पठाउने भएपछि त्यो टिकाटिप्पणी सामयिक भन्न मिलेन । अर्को तर्फ फैसला गर्न शुरुमा पठाउने निर्णय गरेपछि शुरुले ठहर गर्दा लगाएको जरिवाना पनि काट्ने, सावितिलाई छाडिदेउ भनी भन्ने यी दुवै परस्पर विरोधी कुरा युक्तिसंगत नहुने देखिएकोले पटके चोरलाई तारेखमा छोडी दिने मनासिव नदेखिएकोले उक्त फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारका तर्फबाट यस अदालतमा पर्न आएको निवेदन ।
१५. यसमा पुनरावेदकको साक्षी नबुझेको आधारमा प.क्षे.अ. ले जिल्ला अदालतको फैसला बदर गरी पुनः कानून बमोजिम प्रमाण बुझी निर्णय गर्न जिल्ला अदालतमा पठाउने निर्णय गरेपछि पुनरावेदकलाई अ.बं. १२३ नं. बमोजिम तारेखमा छोड्ने भनी गरेको निर्र्णयमा अ.बं. १२३ नं. समेतको त्रुटी भएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत डिभिजनबेञ्चको मिति २०४२।१०।१ को आदेश ।
१६. नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारका तर्फबाट उपस्थित विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री वलराम के.सी.ले गर्नु भएको बहस समेत सुनी म.क्षे.अ.को इन्साफ मनासिव बेमनासिव के रहेछ निर्णय दिनु पर्ने हुन आयो ।
१७. यसमा निर्णयतर्फ विचार गर्दा विपक्षी प्रतिवादी गोविन्दप्रसाद त्रिवेदी समेतलाई शुरु पर्सा जिल्ला अदालतले वादी दावी मुताविक दोश्रो पटक चोरी गरेको कसूरदार ठहर्याई निर्णय गरेको देखिन्छ । सो निर्णय उपर प्र.गोविन्दप्रसादको पुनरावेदन पर्दा, म.क्षे.अ.बाट निजको हकमा शुरुको फैसला बदर गरी कानून बमोजिम गर्नु भनी मिति २०४१।११।१६ मा शुरु जिल्ला अदालतमा निर्णय गर्न पठाउने र अभियुक्तलाई अ.बं. १२३ नं. अनुसार थुनाबाट छाडी तारेखमा राखी कानून बमोजिम गर्नु भन्ने व्यहोरा उल्लेख गरी निर्णय गरेको देखियो ।
१८. अब विपक्षीलाई शूरु जिल्ला अदालतले कसूरदार ठहर्याएको इन्साफ बदर गरेको तर्फ विचार गर्दा, निज प्रतिवादी गोविन्दप्रसाद समेत चोरी गरेकोमा अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा सावित रहेको पाइन्छ । यी प्रतिवादी समेत पक्राउ पर्दा चोरीका दशी बरामद भई दाखिल भएको देखिन्छ । अदालतमा बयान गर्दा प्रतिवादी गोविन्दप्रसाद इन्कार रहे तापनि निजको अधिकार प्राप्त अधिकारी समक्ष भएको सावितिलाई दशी बरामद भई दाखिल भएको र मारवाडी सेवा संघका विहारीलालले सनाखत गरिदिएबाट समेत समर्थित भएको छ । दसी समेत प्र. बाट बरामद भएपछि अदालतमा कसूरमा इन्कार रहेकै भरमा मात्र कसूरदार होइन भनी मान्न मिल्दैन । यस्तो अवस्थामा प्र.गोविन्दप्रसादको हकमा शुरु इन्साफ बदर गरी पुनः निर्णय गर्न पठाउने गरेको मनासिव देखिएन ।
१९. अ.बं. १२३ नं. बमोजिम प्र.गोविन्दप्रसादलाई थुनाबाट छाडिदिने भन्ने सम्बन्धमा शुरु जिल्ला अदालतले विपक्षीलाई चोरी गरेको ठहर्याएको ठहर इन्साफ उपर पुनरावेदन परेको देखिन्छ । सो उपर पुनरावेदन परेको अवस्थामा थुनछेकका सम्बन्धमा निर्णय गरेको प्रासंगिक देखिँदैन । अर्थात इन्साफमा चित्त नबुझाई पुनरावेदन परेकोमा शुरुमा निर्णय गर्न पठाउने भएपछि थुनछेकका सम्बन्धमा टिप्पणी गरेकोलाई सान्दर्भिक मान्न मिल्दैन ।
२०. अतः प्रतिवादी गोविन्दप्रसाद त्रिवेदीका हकमा शुरु इन्साफ बदर गरी पुनः निर्णय गर्न पठाएको र अ.बं. १२३ नं. बमोजिम थुनाबाट छोडी तारेखमा राखी कानून बमोजिम गर्नु भन्ने समेत म.क्षे.अ.को इन्साफ त्रुटिपूर्ण हुँदा उल्टी भई शुरु पर्सा जिल्ला अदालतले गरेको इन्साफ मनासिव ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
यसमा माथि इन्साफ खण्डमा लेखिए बमोजिम मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती भई उल्टी हुने ठहरेकाले म.क्षे.अ. बाट मिति २०४१।११।१६ मा फैसला हुँदा राख्ने गरेको लगत कट्टा गरी शुरु जि.अ.ले राख्ने गरेको लगत कायम गर्नु भनी शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु ...........................१
मिसिल नियमबमोजिम गरी बुझाई दिनु ..................२
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४५ साल बैशाख १३ गते रोज २ शुभम् ।