निर्णय नं. ३३७३ - हक कायम समेत

निर्णय नं. ३३७३ ने.का.प. २०४५ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४३ सालको दे.पु.नं. ५३६
फैसला भएको मिति : २०४४।११।१६।१ मा
पुनरावेदक/प्रतिवादी : का.प.जि. श्रीखण्डपुर गा.पं. वडा नं. ८ खडकु छाप गाउँ बस्ने दुर्गाबहादुर के.सी.
विरुद्ध
विपक्षी/वादी : ऐ.वडा नं. ८ म्यान्डोल बस्ने धनबहादुर थापा क्षेत्री
मुद्दा : हक कायम समेत
(१) जग्गा नाप जाँच ऐन, २०१९ को तत्काल प्रचलित व्यवस्था बमोजिम परेको उजुरीबाट कारवाही भई सोही व्यवस्थाले निर्देश गरे बमोजिम परेको फिराद म्याद नाघेको भन्न नमिल्ने ।
(प्रकरण नं. १३)
(२) अघि दिएको फिरादमा लेखेकै भए पनि तत्काल कानूनले फिराद गर्न अनिवार्य भएकोमा नगरेमासम्म कानुनी प्रतिबन्ध लाग्ने हो तर यस्तो एकाको जग्गा अरुले आफ्नो कित्तामा घुसाई नापी गराएमा तत्काल प्रचलित जग्गा नाप जाँच ऐन, २०१९ ले नापी टोली र मा.पो.का. समेतमा कानूनले व्यवस्था गरे बमोजिम माथि लेखी देखाइए बमोजिम उजूर परी कारवाही चलाउँदै रहेको देखिएकोले सो फिरादमा लेखे बमोजिम फिराद नदिएकैबाट जिकिर बमोजिम फिराद म्याद नाघि परेको भन्न नमिल्ने ।
(प्रकरण नं. १३)
पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा
प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
फैसला
न्या. हिरण्येश्वरमान प्रधान : श्री म.क्षे.अ.को इन्साफ उपर चित्त नबुझाई परेको निवेदनमा यस अदालतमा मिति २०४३।४।१७ का आदेशले पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।
२. मेरो हक भोग दर्ता तिरोको विजन ।–। ।५।५। घरवारी र ।–।–।३। खेत विजन लागेको जग्गा मध्ये मेरो घरबाट झर्ने ठाडो बाटो देखि दक्षिण छेउ चिलाउनीको रुख भित्तापट्टी काली ऐसेलु पैयौंको रुख साँधसम्मको जग्गा नापी हुँदा घुसाएकोले मैले नापीमा उजूर गरेको जग्गा छुट्याई पाउन मालपोत कार्यालयमा उजूर गर्दा अदालतमा गई हक गराई ल्याउनु भनी २०३८।११।३ मा सुनाई दिएकोले नालेस गर्न आएको छु । सो जग्गा घुसाई नापी गराई दर्ता गरे दर्ता बदर गरी हक कायम गरी मेरा नाउँमा दर्ता समेत गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. वादी दावी झुठ्ठा हो । विपक्षीको फिराद अ.बं. १८० नं. ले खारेज भागी छ । विपक्षीले २०३५ साल कार्तिक २ मा ५ नं. नापी टोलीमा उजूर गरी सनाखत गरिसकेको २०३५।७।२६ मा निजलाई ३५ दिने सूचना दिएकाले विपक्षीको फिराद हदम्याद भित्रको छैन भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।
४. २०२५।१२।२७ को बागमती अञ्चल अदालतको अन्तिम भई बसेको फैसलाबाट प्रतिवादीका दाजु सनकबहादुरले लिएकै लुटपीटको दावी नपुग्ने गरी फैसला भएको समेतबाट प्रतिवादीले गरेको दर्ता बदर भई वादीको हक कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको काभ्रेपलाञ्चोक जिल्ला अदालतको मिति २०३९।६।२७ को फैसला ।
५. सो फैसलामा चित्त बुझेन इन्साफ उल्टाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी तर्फबाट बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
६. वादीले दर्ता मुद्दामा नै जग्गा घुसाएकोमा छुट्टै उजूर गर्ने भनी २०३५।१०।२३ मा उल्लेख गरेकोमा ज.मि.को. १८ नं. ज.प. को १७ नं. बमोजिम म्याद नाघी परेको फिरादलाई मान्यता दिई सुरुले गरेको फैसला गल्ती देखिएकोले वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतबाट भएको मिति २०४०।१।५ को फैसला ।
७. उक्त फैसलामा चित्त नबुझेकोले पुनरावेदनको अनुमति पाउँ भनी वादीको म.क्षे.अ. मा पर्न आएको निवेदनपत्र ।
८. २०३६।४।२१ को निर्णयले कि.नं.३९९ को जग्गा प्रतिवादीका नाउँमा दर्ता भएकोमा म्यादभित्र नालेस नपरेको भनी गरेको अञ्चल अदालतको फैसला कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने म.क्षे.अ. को मिति २०४१।६।७ को आदेश ।
९. मिति २०३८।११।३ को मालपोत कार्यालयको निर्णयबाट हक कायम गराई ल्याउनु भनी सुनाएको मितिले हदम्याद भित्र नै नालेस परेको देखिएकोले अञ्चल अदालतले हदम्यादको आधारमा खारेज गर्ने ठहराएको निर्णय नमिलेको हुँदा बदर गरिदिएको छ । तसर्थ जो जे बुझ्नु पर्छ बुझी ठहर निर्णय गर्नु भनी तारेखमा रहेका दुबै पक्षलाई तारेख तोकी मिसिल बागमती अञ्चल अदालतमा पठाई दिनु भन्ने व्यहोराको म.क्षे.अ.को मिति २०४३।११।१७ को फैसला ।
१०. प्रस्तुत मुद्दामा हदम्यादको सम्बन्धमा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६(७) भित्र भएको जस्तो देखाई म.क्षे.अ. बाट फैसला भएको छ । मैले लालपुर्जा पाउने भएपछि विपक्षीले मिति २०३६।४।२१ को पर्चा लिई चुनौती गर्नु पर्ने हो । मिति २०३६।४।२१ को पर्चाको वैधता कायम रहेसम्म मिति २०३८।११।३ को पर्चा कायम रहन सक्दैन । यसप्रकार उक्त निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ र अ.बं. १८४(क) १८५ को प्रत्यक्ष त्रुटी हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको प्र. दुर्गाबहादुरको यस अदालतमा पर्न आएको निवेदनपत्र ।
११. यसमा निवेदकले मिति २०३६।४।२१ को पर्चाबाट लालपूर्जा पाएको जुन विपक्षीले थाहा पाएको मितिले जग्गा मिच्नेको १८ नं. जग्गा पजनीको १७ नं. बमोजिम म्यादभित्र अदालतमा उजूर गरेको देखिन नआएकोमा क्षेत्रीय अदालतले म्यादभित्रको भनी निर्णय गरेको उक्त निर्णयबाट ज.मि. को १८ नं. र ज.प. को १७ नं. को त्रुटी भए गरेको देखिएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत डिभिजनबेन्चको मिति २०४३।४।१७ को आदेश ।
१२. यसमा यिनै वादी प्रतिवादीका बीचमा श्रीखण्डपुर गा.पं. वार्ड नं. ८ कि.नं.३९९ को जग्गाको सम्बन्धमा २ नं. नापी गोश्वारा काभ्रे पलाञ्चोकबाट तामेलीमा रहेको मिसिल र सो संग सम्बन्धित दुर्गाबहादुरका नाउँमा जग्गा दर्ता गर्ने निर्णय भएको मिति २०३६।४।२१ तथा मिति २०३८।११।३ को निर्णय सहितको फाइल मालपोत कार्यालय काभ्रे पलाञ्चोकबाट झिकाई आएपछि नियमबमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०४४।५।१७ को आदेश ।
१३. नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापा तथा प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले गर्नु भएको बहस समेत सुनी इन्साफ तर्फ विचार गर्दा यसमा वादीको यो फिराद म्याद नाघेको भन्ने तर्फ प्रतिवादीबाट खास विवादित कि. नं. ३९९ को जग्गा नापी हुँदाकै अवस्था वादी विपक्षीको जग्गा घुसाएको भन्ने वादीलाई सोही मौकामा थाहा भएपछि सो नापीकै मितिले ज.मि.का १८ नं. को म्यादभित्र फिराद नपरेको विवादको जग्गा दर्ता गरिपाउँ भन्ने पुनरावेदकको ०३५।१२।२० मा निवेदन परी ०३६।४।२१ मा दर्ता गर्ने निर्णय भएपछि पनि वादी विपक्षीको सो दर्ता उपर कुनै उजूर नपरेको र यीनै वादीले यीनै प्रतिवादी उपर यही विवादको जग्गा समेतको दर्ता बदर गरिपाउँ भनी अदालतमा २०३५।१०।२३ मा फिराद दिंदा पनि वादीको जग्गा कि.नं.३९९ मा घुसाई नापी गराएको भनी थाहा पाई सो तर्फ छुट्टै फिराद गर्नेछु भनी उल्लेख गरे बमोजिम फिराद नगरी वसी प्रतिवादी पुनरावेदकका नाउँमा दर्ता गर्ने निर्णय पूर्व २०३५।१०।२६ मा जग्गा छुट्याई पाउँ वादीको परेको निर्णयबाट एक वाजी दर्ता गर्ने निर्णय गरिसकेपछि फेरी सोही कुरामा ०३८।११।३ मा निर्णय गरिदिएको म्यादको आधारमा दिएको यो फिराद पुनरावेदन गर्ने अनुमति प्रदान गर्दा भएको आदेश बमोजिम म्यादभित्रको भन्न नमिल्ने भन्ने मुख्य जिरह लिएको देखिन आएको छ । पुनरावेदक तर्फको सो जिरहलाई ध्यानमा राखी मिसिल र प्रमाणमा प्राप्त मिसिल समेत हेरिएमा विवादित कि.नं.३९९ को जग्गा पुनरावेदकको नाउँमा नापी हुँदाकै अवस्थामा विपक्षीको नापी गोश्वारा नापी टोलीमा उजूर परी सकेको सो नापी टोलीले विपक्षी धनबहादुरलाई दिएको २०३५।७।२६ को सूचनामा ज.ध.प्र.पूर्जा वितरण भएको मितिले ४५ दिनभित्र सम्बन्धित कार्यालयमा उजूर दिनु भनी उल्लेख भएकोबाट देखिन आउँछ र सोही सूचना बमोजिम विपक्षी वादी धनबहादुरले सोही ४५ दिनको म्यादभित्रै ०३५।१०।२६ मा कि.नं.३९९ मा सो आफ्नो जग्गा घुसेको कित्ता काट गरी छुट्याई पाउँ भन्ने निवेदन दिएकै देखिन आएको छ । अर्को तर्फ प्रतिवादी पुनरावेदकले पनि आफ्नो भनी दावी लिएको कि.नं.३९९ को जग्गामा नापीमा झगडा जनिएकोबाट आफ्नो नाउँमा दर्ता गरिपाउँ भनी २०३५।१२।२० मा निवेदन दिएको देखिन आएको छ । यसरी एकै कित्ता जग्गामा दुई थरीको दर्ता गरिपाउँ भन्ने निवेदन एकै कार्यालयमा परेपछि दुवै थरीलाई रोहवरमा राखी दुवै पक्षको सबूद प्रमाण हेरी अनिमात्र कुनै निर्णय गर्नु पर्नेमा मालपोत कार्यालयबाट सो बमोजिम निर्णय नगरी अघि परेको वादीको निवेदन त्यसै राखि पछि परेको प्रतिवादीको निवेदनको आधार लिई २०३६।४।२१ मा प्रतिवादीका नाउँमा दर्ता गर्ने गरी निर्णय गरेको देखियो । त्यसरी निर्णय गरी सकेपछि फेरि सोही कार्यालयबाट वादीको अघि परेको निवेदनबाट वादीलाई २०३८।१। को सूचना २०३८।९।११ मा बुझाई वादीलाई झिकाई वादीले कित्ता काट गरी छुट्याई पाउँ भनेको जग्गा २०३६।४।२१ को निर्णयबाट प्रतिवादीको नाउँमा दर्ता भइसकेकोले अदालतबाट हक गराई ल्याउनु भनी सुनाई दिएको र सो जानकारी पाएकै मितिले म्यादभित्र यो फिराद परेको देखिन आयो । यसरी जग्गा नाप जाँच ऐन, २०१९ को तत्काल प्रचलित व्यवस्था बमोजिम परेको उजूरीबाट कारवाही भई सोही व्यवस्थाले निर्देश गरे बमोजिम परेको यो फिराद म्याद नाघेको भन्न मिल्ने देखिन आएन । जहाँसम्म यिनै वादीले दिनै प्रतिवादी उपर २०३५।१०।२३ मा फिराद दिंदा नै कि.नं.३९९ मा आफ्नो जग्गा घुसेको भनी फिराद गर्नेछु भनेको तर जग्गा घुसाएकोमा ज.मि.को म्यादभित्र फिराद नपरेको भन्ने हकमा पनि अघि दिएको फिरादमा उक्त बमोजिम लेखेकै भए पनि तत्काल कानूनले फिराद गर्न अनिवार्य भएकोमा नगरेमा सम्म कानुनी प्रतिबन्ध लाग्ने हो तर यस्तो एकाको जग्गा अरुले आफ्नो कित्तामा घुसाई नापी गराएमा तत्काल प्रचलित जग्गा नाप जाँच ऐन, २०१९ ले नापी टोली र मा.पो.का.समेतमा कानूनले व्यवस्था गरे बमोजिम माथि लेखी लेखाइए बमोजिम उजूर परी कारवाही चलाउँदै रहेको देखिएकोले सो फिरादमा लेखे बमोजिम फिराद नदिएकैबाट जिकिर बमोजिम सो फिराद म्याद नाघी परेको भन्न नमिली विपक्षीतर्फको यो सम्बन्धित जिरह मनासिव देखिन आएकोले इन्साफ क्षेत्रीय अदालतको मनासिव ठहर्छ । कोर्टफी राखी पुनरावेदन गरेको देखिँदा केही गर्नु परेन नियमबमोजिम गर्नु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशराम भक्त माथेमा
इति सम्वत् २०४४ साल फाल्गुण १६ गते रोज १ शुभम् ।