शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३३७४ - ज्यान

भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक:

निर्णय नं. ३३७४                 ने.का.प. २०४५                  अङ्क २

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४१ सालको फौ.पु.नं. ५६६

सम्वत् २०४१ सालको साधक फौ.नं. १२४

फैसला भएको मिति : २०४४।१२।१९।६ मा

 

पुनरावेदक/प्रतिवादी : रौतहट, गंगापिपरा गा.पं.  वा.नं.२ बस्ने हरिहर सिंह भुमिहारसमेत

विरुद्ध

विपक्षी/वादी : रामकिशोर प्रसाद सिंहको जाहेरीले श्री ५ को सरकार

 

वादी : श्री ५को सरकार

विरुद्ध

प्रतिवादी : रामनरेन्द्र सिंहसमेत

 

मुद्दा : ज्यान

 

(१)                  आश्विनको महीनामा रौतहट जस्तो तराई ठाउँमा मानिस चिसोको कारणले मर्न सक्छ भनी भन्न मिल्ने नदेखिँदा मृतकको मृत्यु हुनाको कारण भनी प्रतिवादी समेतले देखाएको कारण विश्वासनीय एवं युक्तिसंगत देखिन नआउने ।

(प्रकरण नं.  २८)

(२)                मृतकको लाश लगी फालेको हो भनी यकीनन भन्न नसकी इनारमा छवाङ आवाज आएकोले सो कुरा शंकाकै भरमा भनेको र यदि लाश देखेकै भए समयमै हल्ला गरी सो कुरा यकीन गर्नुपर्नेमा सो गरेको नदेखिएकोबाट मृतकको मृत लाशलाई इनारमा फाली बनावटी वारदातको श्रृजना गरे होलान् भनी सम्झन मनासिव नदेखिने ।

(प्रकरण नं. २८)

(३)                मृतकको मृत्यु हुनाको कारण भई आएको पोष्टमार्टम प्रतिवेदनमा मृत्युको कारणमा नाकमुख बन्द भइकन मरेको भन्ने देखिने यदि मृतक आफैं नालीमा खसी नाकमुख बन्द भइकन मरेको भए सो लाश जाँच प्रतिवेदनबाट मृतकको नाकमुखमा हिलो पानी समेत देखिन पर्ने, किनकी कुनै जिवित व्यक्ति नालीमा खसेर नाकमुख बन्द भई मर्दछ भने त्यस अवस्था उसको नाकमुख नालीको हिलोपानीमा डुबेको हुने, जसले गर्दा उस्को नाकमुखमा हिलोपानी हुनुपर्ने ।

(प्रकरण नं.  २८)

(४)                प्रतिवादीहरू समेतलाई पोल गरी किटानी जाहेरी दर्खास्त परेको र सो जाहेरी दर्खास्तमा उल्लेख भएका कुरा बकपत्रबाट समेत समर्थित भई पुष्ट्याँई भएको र अन्य देख्ने भनिएका व्यक्तिको भनाईबाट प्रतिवादीहरूको घटनास्थलमा उपस्थित थियो भनी वकी लेखाएको समेतबाट प्रतिवादीहरूको इन्कारी बयानलाई विश्वसनीय मान्न नसकिने ।

(प्रकरण नं.  २८)

पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्ज विहारीप्रसाद सिंह

प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री रामजी विष्ट

विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान : म.क्षे.अ.को फैसलामा चित्त नबुझेकोले पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्र.हरिहरसिंको निवेदनमा यस अदालत डिभिजन बेन्चका मिति २०३९।११।९ गतेका आदेशले अनुमति प्रदान भई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ ।

२.     २०३५ साल आश्विन १९ गतेको राति मेरो छोरा मुरारी भन्ने महेश्वरप्रसाद सिंह पुजारी रघुनाथको साथमा हरिहर सिंहको दर्वाजामा पुर्‍याई खैनी खान बसी कुराकानीको झगडामा निज हरिहर सिंह, दामोदर सिंह, सरोवर सिंह, विश्वनाथ सिंह, रामनरेन्द्र सिंह समेतले मेरो छोरा महेश्वरलाई मारी निजहरू र रामएकवाल सिंह, रामऔतार सिंह समेतको मिलोमतोबाट लाश इनारमा फालेको लाश ऐ.२२ गते विहान इनारमा भेटिएकोले लाशजाँच गरी विपक्षीहरूलाई पक्राउ गरी ज्यान मारे दबाए छपाएमा कानून बमोजिम प्रतिवादीहरूलाई सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको रामकिशोरप्रसाद सिंह भूमिहारको जाहेरी ।

३.     २०३५।६।१९ गते राति ठूलो पानी र बतास अर्थात हावापानी भयो । हरिहर सिंहको वरण्डामा लाल्टेन बली राखेको थियो । सो वरण्डामा निज हरिहर सिंह, दामोदर सिंह, विश्वनाथ सिंह, रामनरेन्द्र सिंह समेत निजलाई सबैजनाले समाई कुटपीट गरेको देखें साथै मुरारीलाई रामनरेन्द्रले घाँटी दबाएको थियो भन्ने समेत व्यहोराको अनुठासाको, रामनरेन्द्रको छातिमा समाएको भन्ने सतदेवदास र कुटपीट गरेको देखें भन्ने जनकदास, कुश्वेश्वरदास, लक्ष्मणदास समेतका व्यहोरा र कसले इनारमा फाले मृत्युको कारण के हो हामी भन्न सकेनौं भन्ने समेत अरु सरजमीनका मानिस समेत जवान १५ को सरजमीन मुचुल्का ।

४.     २०३५।६।१९ गतेको राती मुरारी भन्ने महेश्वरप्रसादलाई पिप्रा माडीबाट पानी परेको हुँदा छाता वडाई हातमा लाल्टिन समेत लिई निजलाई समाई हरिहरसिंहको दर्वाजामा पुर्‍याई खैनी खाई तिमी जाउ भनी हरिहरसिंह, दामोदरसिंहले भनेकोले मुरारीलाई त्यहीं छाडी म मोठमा गएँ, भोलिपल्ट मुरारीलाइ खोजी गर्दा सो कुरा रामकिशोरलाई बताई दिएको छु मैले मुरारीलाई मारे मराएको छैन भन्ने समेत ०३५।८।८ मा प्रहरीमा पुजारी रघुनाथको कागज ।

५.     ०३५।६।१९ गतेको राती हामीहरू आफ्नै घरको वरण्डामा थियौं, सो ठाउँमा विश्वनाथ र राम नरेन्द्र पनि थिए, मुरारी भन्ने महेश्वरप्रसादलाई रघुनाथ झाले सो राती ठूलो पानी परेको हुँदा छाता वढाई ल्याएका थिएँ, निज मुरारीले खैनी खाई विश्वनाथ सिंह राम नरेन्द्र गाँजा खान्छौं भनी घरभित्र पसे, म पनि खान्छु भनी मुरारी पनि घरभित्र पसे । त्यसपछि कोठामा ढूस ढूसको आवाज सुने, केही वेरपछि राम नरेन्द्र र विश्वनाथ सिंहले मुरारीलाई काँधमा बोकी घरबाट निकाली उत्तरतर्फ लगेको देखेपछि मुरारीको लाश इनारमा भेटेकोले निज मुरारीलाई विश्वनाथ सिंह र राम नरेन्द्रसिंहले मारेको होलान् हामीले मारेको छैन र साथै लाश समेत दबाए छपाएका छैन भन्ने समेत २०३५।८।७।४ मा प्र.हरिहर, दामोदर समेतको प्रहरीमा कागज ।

६.     प्र. राम एकवाल सिंह, मिथुला सिंह, राम औतार सिंह, रामचन्द्र सिंह, हितलाल साह कानू खामु दास समेत उपर मुद्दा नचलाउने र विश्वनाथ सिंह, राम नरेन्द्र सिंहले मारेको सिद्ध हुनआएकोले निजहरू उपर ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम र हरिहरसिं, दामोदर सिंलाई ज्यानसम्बन्धीको १३ देहाय ४ नं. बमोजिम र सरोवर सिंलाई ज्यानसम्बन्धीको १७(३) बमोजिम सजायँ गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन ।

७.     रामएकवालसिं, रामऔतारसिंह, मिथिलासिं, रामचन्द्रसिं समेत उपर ज्यान सम्बन्धीको २५ नं.  बमोजिम निजहरू उपर सजायँ समेत हुनुपर्ने भन्ने स.स.अ. को राय प्रतिवेदन ।

८.     रामएकवाल, रामऔतार, मिथिला उपर मुद्दा नचलाउने प्रहरीको राय मनासिव भन्ने अदालतबाट भएको आदेश रहेछ ।

९.     मुरारी भन्ने महेश्वरलाई हामीले मारेका छैन सो दिन म समेत आफ्नो गाउँघरमा छैन, भैंसी किन्न भनी म र मेरो भाइ लखन तिवारी, विहारी राउत कुर्मी समेत गई २१ गते घर आएको हुँ, १९ गते घरमा छैन भन्ने समेत हरिप्रसाद सिंको अदालतमा बयान ।

१०.     मैले मारेको छैन भन्ने समेत दामोदरसिं को बयान ।

११.     १९ गते राती म आफ्नै घरमा छु ठूलो हुरी वतासले गर्दा म बाहिर निस्केको छैन, कसैसँग भेटघाट पनि भएको छैन । मैले मृतक महेश्वरलाई मारे मराएको छैन, म उपरको उजुर झूठ्ठा हो, मार्ग ७ गते मात्र पक्राउ परेको भन्ने प्रहरीमा लेखेको कागज झुठ्ठा हो, म आश्विन २ गते देखि नै प्रहरी हिरासतमा छु, भन्ने समेत व्यहोराको सरोवरको अदालतमा बयान ।

१२.    १९ गते राती म गङ्गा पिप्रामा गएको छैन, १५ गते अरेराज महादेवको दर्शन गर्न गई उतै पेट दुख्ने विरामी परी भोलिपल्ट वैरगिन्या अस्पतालमा आई उपचारको लागि भर्ती भएको र ऐ. २२ गते मात्र अस्पताल बाट डिस्चार्ज भएकोले १९ गते राती अस्पतालमा नै छु, तसर्थ त्यहाँ भएको कुराहरू मलाई थाहा छैन भन्ने समेत व्यहोराको राम नरेन्द्र सिंको अदालतमा बयान ।

१३.    १५ गते बुझाउन कहाँ बाँकी पैसा लिन जाँदा त्यही विरामी परेकोले ऐ. १६ गते जिल्ला सर्लाही हरिहरपुर हेल्थपोष्टमा उपचारको लागि भर्ना भई २२ गते मात्र सो वैरगन्यामा आएको र सो दिन अस्पतालमा भएको हुँदा म समेत भई मुरारीलाई कर्तव्य गरी मारेको होइन झुठ्ठा उजूर हो भन्ने समेत व्यहोराको विश्वनाथ सिंको अदालतमा बयान ।

१४.    निजहरू गाउँमा हुँदा निजहरूले सो कसूर गरे बिराएको छैन, निजहरूको उपरको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र. दामोदर सिं र हरिहर सिंको साक्षी राजेन्द्र रायको बकपत्र ।

१५.    सोही मिलानको श्रीराम रायको बकपत्र ।

१६.     निजहरू मेरै साथमा भएकोले सो वारदात निजहरूले गरे विराएको छैन, म गाउँघरमा आउँदा मुरारी इनारमा डुबी मरेको भन्ने सुनेकोछु भन्नेसमेत व्यहोराको विहारी राउत कुर्मीको बकपत्र ।

१७.    सोही मिलानको घरिछन तिवारीको बकपत्र ।

१८.    निजले मुरारीलाई मारे मराएको र दवाएको समेत होइन, निज रातमा मेरो साथमा हुँदा निज उपरको अभियोग झुठ्ठा हो भन्नेसमेत व्यहोराको प्र. सरोवरको साक्षी रामअसिस साहुको बकपत्र ।

१९.     निजको घरमा अरु कोही मानिस आएको देखिन, त्यसो हुँदा सरोवर माथिको अभियोग झुठ्ठा हो भन्ने समेतको हरिनारायण सिंहको बकपत्र ।

२०.    निज रामनरेन्द्र हाम्रो साथमा हुँदा निज सो ठाउँमा गएको र मुरारीलाई कुटपीट गरी मारेको समेत होइन निज उपरको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र. रामनरेन्द्रको साक्षी कमला रायको बकपत्र र सोही मिलानको गंगा रायको, अनुठा राय समेतको बकपत्र ।

२१.    सो दिन निज विश्वनाथ मेरो साथमा हुँदा निज उपरको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र. विश्वनाथ सिंको साक्षी भोलाशाहको बकपत्र र सोही मिलानको बुझाउन साहुको बकपत्र ।

२२.    केश फाराम हेर्दा मानिस मर्न सक्ने खालका घाउ खत केही देखिँदैन, मृत्यु सम्बन्धमा डाक्टरको विचार हेर्दा श्वासनलि बन्द भई श्वास रोकिएकोले मरेको हुनुपर्छ भन्ने देखिन्छ । सरजमीनको आफ्नै मौकाको सरजमीन र अदालतको बकपत्रमा लेखाएको तथ्यहरू निज सरजमीनका मानिसहरूको भनाई लेखाई संग एकको अर्कासंग अर्कासंग नमिलि बाझिएको पाइन्छ देख्ने भनेका मानिस एकले अर्कालाई देखेको हुनु पर्नेमा अनुठासा १ जना मात्रले केश्वरदास तत्माले आफ्नु दुरामा उभि वारदात हेरिरहेको थिए भन्ने र केश्वरदासले कसैलाई देखिन भन्ने समेत बकपत्र गरेकोले २ जनाको कुरा मिल्न नआएको र जनकदास, सतदेवदास तत्मा र लक्ष्मणदासहरूले त्यस ठाउँमा अरु कसैलाई देखिन भन्ने समेत हुँदा त्यही ठाउँमा नजिक बाटो समेतबाट वारदात भएको देखेको भए हेर्ने मानिस एकले अर्कोलाई देख्न सक्ने स्वभाविक नभएको, सतदेवदास चोरी मुद्दामा परिराखेको मानिस भन्ने निजहरूको बकपत्रबाट समर्थित भैराखेको र लक्ष्मणदास जाहेरवालाकै जग्गामा घर बनाई बसेको व्यक्ति हुन् भन्ने निजको बकपत्रबाट देखिन आयो । अनुठा जाहेरवाला कै कामदार भन्ने समेत विश्वनाथको बयान समेतबाट देखिँदा उक्त सरजमीनका मानिसका लेखाई एकदमै शंकास्पद देखिन आउँछ । इनारको प्रकृति मुचुल्काबाट पनि कुनै कुनै तथ्य समेत नदेखिएको । एउटा व्यक्ति कुनै निर्दिष्ट समयमा एउटै ठाउँमा हुन्छ । उसको दुई ठाउँ उपस्थित हुन सक्दैन । विश्वनाथ सिंह हरिहरपुर स्थित हेल्थपोष्टमा रहेभएको सर्टिफिकेटबाट देखिन आएको हुँदा निजलाई अभियुक्त बनाउन न्यायोचित भएन । राम नरेन्द्रसिंह एक्लैले वारदात गरेको भन्ने कतै नभएको निजले पनि वारदातको दिन वैरगनिया भएको प्रमाण पेश गरेको निजको साक्षिद्वारा समर्थित भएको, दामोदर, हरिहर प्रहरीमा र अदालतमा समेत आफूहरूले कसूर गरेको छैन भनी इन्कार रही साक्षिद्वारा आफ्नु बयान समर्थित गराएको सरोवरको आरोप पत्रमा बाहेक अन्यत्र कुनै प्रमाणबाट शंका नगरिएको गवाहको बकपत्र शंकास्पद देखिएको शंकाको सुविधा प्रतिवादीहरूले पाउने हुँदा प्रतिवादीहरूले महेश्वरप्रसादसिंलाई मारेको ठहर्दैन, यस मुद्दामा अभियुक्तहरूले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०३६।१०।२५ गतेको रौतहट जिल्ला अदालतको फैसला ।

२३.    उक्त फैसलामा चित्त नबुझी वादी श्री ५ को सरकारको म.क्षे.अ.मा पुनरावेदन परेकोमा शुरुले गरेको फैसला नमिलेको हुँदा छलफलको लागि अ.बं. २०२ नं. बमोजिम झगडिया झिकाउने भन्ने समेत २०३८।५।२५ गतेको आदेश ।

२४.    प्र. दामोदर र हरिहरको प्रहरीमा गरेको कागज समेतको आधारमा मृतकलाई प्रतिवादी राम नरेन्द्र सिंह र विश्वनाथसिंले ज्यान सम्बन्धीको १३(३) बमोजिम सजायँ हुने अपराध गरेको ठहर्छ । प्रतिवादीहरू हरिहरसिं, दामोदरसिं, सरोवरसिंले हात छोडेको भनी केशरसिं समेतको बकपत्रबाट देखिन आउँछ तापनि हरिहरसिं र दामोदरसिंको कुटपीटबाट मरेको भन्ने लाश प्रकृतिबाट समर्थन भएको देखिन आएको, तर वारदात स्थलमा रही मतलवी सम्म मिसिल प्रमाणबाट देखिन आएकोले निजहरूको विरुद्ध ज्यान सम्बन्धीको १३(४) अभियोग कायम हुनसक्ने नदेखिँदा ज्यानसम्बन्धीको १३(४) को अभियोग लागेका हरिहर सिं, दामोदर सिं र ऐ. को १७(३) को अभियोग लागेका सरोवरसिंले ज्यानसम्बन्धीको १७(३) को अपराध गरेको ठहर्छ । शुरुले प्र.हरूलाई प्रहरी प्रतिवेदन दावीको अभियोगबाट सफाई दिने गरेको फैसला मिलेको नदेखिँदा गल्ती ठहर्छ भन्नेसमेत व्यहोराको म.क्षे.अ.को मिति २०३८।१२।२९ गतेको फैसला ।

२५.    हामीलाई गढाउ हुने कुनै सबूद प्रमाण छैन । हामी २०३५।६।१९ गते सर्लाही सुदमा गा.पं. मा रहेको कुरा हाम्रा साक्षिहरूबाट समर्थित छ । कर्तव्यबाट मारेको कुरा प्रमाणित भएपछि मात्र मतलवीको अपराध हुनसक्ने हो । कर्तव्यबाट मुरारीको मृत्यु प्रमाणित छैन । प्रमाण ऐनको दफा २७ बमोजिम हाम्रो सफाईको सबूद अन्यथा प्रमाणित छैन । यस्तो अवस्थामा न्यायिक मनको प्रयोग नगरी सार्वजनिक महत्वको उपरोक्त कानुनी प्रश्नहरूमा प्रत्यक्षतः त्रुटिपूर्ण फैसला म.क्षे.अ. बाट भएकोले बदरभागी छ, त्यसैले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको हरिहरसिं भूमि  हार, दामोदरसिंह भूमिहार सरोवरसिंह भूमिहारको यस अदालतमा पर्न आएको संयुक्त निवेदन ।

२६.    यसमा निवेदकहरूलाई मतलवी भनेर सजायँ गरेको देखिन्छ । तर यस सन्दर्भमा सबूद प्रमाणको अभाव भएको र त्यस्तो सबूद प्रमाणको केही मूल्यांकन नै नगरी म.क्षे.अ.ले २०३८।१२।२९ मा गरेको फैसलामा अ.बं. १८९ तथा १८४, १८५ को त्रुटी गरी गरेको देखिनाले त्यस्तो त्रुटी सार्वजनिक महत्वको समेत हुँदा न्याय प्र.सु.ऐन, २०३१ को दफा १३(५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत डिभिजन वेन्चको आदेश ।

२७.    नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल कागजात समेत अध्ययन गरी पुनरावेदक तर्फबाट रहनु भई बहसमा उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह र साधक जाँचको लागि पेश भएका अन्य प्रतिवादीहरूको तर्फबाट रहनु भएका विद्वान वैतनिक अधिवक्ता श्री रामजी विष्ट र विपक्षीतर्फबाट बहसमा खटिई आउनु भएका विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले गर्नु भएको बहस समेत सुनी क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने देखिन आयो ।

२८.    यसमा साधक तहबाट विचार गर्नुपर्ने प्रतिवादीहरू रामनरेन्द्रसिं र विश्वनाथसिंहका हकमा विचार गर्दा निज प्रतिवादीहरले क्षेत्रीय अदालत समेतको इन्साफमा चित्त बुझाई पुनरावेदन नगरी बसेको देखिन्छ । प्रतिवादी मध्येको विश्वनाथसिंहले आफूले बयान गर्दा मृतकको मृत्यु हुनाको कारणमा प्रशस्त रक्सी खाई सो नसाको सुरमा बाहिर निस्कदा पानीले भिजी ठण्डा लागी नसाको असर समेतबाट मरेको भन्ने सुनेको हुँ भनी उल्लेख गरेको र बुझिएका केही व्यक्तिले मृतकका मृत्युको कारणमा सोही कुरालाई समर्थन गर्दै बके पनि निजको सो भनाईलाई पोष्टमार्टम प्रतिवेदनमा उल्लेख भएको मृतकको मृत्यु हुनाको कारण समेतले समर्थन हुन नआई आश्विनको महीनामा रौतहट जस्तो तराई ठाउँमा मानिस चिसोको कारणले मर्न सक्छ भनी भन्न समेत मिल्ने नदेखिँदा मृतकको मृत्यु हुनाको कारण भनी प्रतिवादी समेतले देखाएको कारण विश्वसनीय एवं युक्तिसंगत देखिन आउँदैन । बुझिएका व्यक्ति सुखदास तत्माले अदालतमा बकपत्र गर्दाको अवस्था रामकिशोरसिंह भुमिहार समेतले मृतकको लाश इनारमा फालेको कुरा दिशा गर्न गएको अवस्था देखेको भनी भने पनि मृतकको लाश लगी फालेको हो भनी यकीनन् भन्न नसकी इनारमा छ्वाङ आवाज आएकोले सो कुरा शंकाकै भरमा भनेको र यदि खास देखेकै भए समयमै हल्ला गरी सो कुरा यकीन गर्नु पर्नेमा सो गरेको नदेखिएकोबाट मृतकको मृत लाशलाई निजकै बाबुले इनारमा फाली बनावटी वारदातको श्रृजना गरे होलान् भनी सम्झन मनासिव देखिन आउँदैन । मृतकको मृत्यु हुनाको कारण हेरिएमा भई आएको पोष्टर्माटम प्रतिवेदनमा मृत्युको कारणमा नाकमुख बन्द भैकन मरेको भन्ने देखिन्छ । यदि मृतक आफैं नालीमा खसी नाकमुख बन्द भैकन मरेको भए सो लाशजाँच प्रतिवेदन बाट मृतकको नाक मुखमा हिलो पानी समेत देखिन पर्ने, किनकी कुनै जिवित व्यक्ति नालीमा खसेर नाक मुख वन्द भई मर्दछ भने त्यस अवस्था उसको नाक मुख नालीको हिलो पानीमा डुवेको हुन्छ । जस्ले गर्दा उसको नाक मुखमा हिलो पानी हुनुपर्ने सो कुरा प्रस्तुत मुद्दामा देखिँदैन । यी प्रतिवादीहरू समेतलाई पोल गरी किटानी जाहेरी दर्खास्त परेको र सो जाहेरी दर्खास्तमा उल्लेख भएका कुरा पुजारी रघुनाथ र फिलवानको बकपत्रबाट समेत समर्थित भई पुष्टयाँई भएको र अन्य देख्ने भनिएका सतदेवदास तत्मा र अनुदा साह समेतका व्यक्तिको भनाईबाट प्रतिवादीहरूको घटनास्थलमा उपस्थिति थियो भनी बकी लेखाएको समेतबाट प्रतिवादीहरूको इन्कारी बयानलाई विश्वसनीय मान्न सकिने देखिँदैन । यसका साथै प्रतिवादी मध्येको विश्वनाथले आश्विन १६ गतेदेखि २१  गतेसम्म सर्लाही हरिहरपुर हेल्थपोष्टमा भर्ना भई उपचार गराएको छु भनी आफू वारदातको दिन अन्यत्र रहेको कुराको जिकिर लिएको सम्बन्धमा सो हेल्थपोष्टबाट झिकाई आएको विरामीको दर्ता किताब हेर्दा २०३५।६।१५ को दिन जँचाउने विरामीको नामावलीको पुछारमा निजको नाम लेखिएको देखिँदा १६ गते जँचाउने विरामीको १५ गते जँचाउने विरामीको नामावलीको पुछारमा जोडी लेखिएबाट प्र. विश्वनाथ सो दिन हेल्थपोष्टमा थिए भन्ने कुरामा शंका देखिन आएकोले निजबाट प्रस्तुत सो प्रमाण युत्तिसंगत देखिन आउँदैन । तसर्थ क्षेत्रीय अदालबाट लगाएको अन्य बूँदा प्रमाण समेतका आधारमा प्रतिवादी रामनरेन्द्रसिंह र विश्वनाथसिंहले ज्या.सं.को १३(३) बमोजिम सजायँ हुने अपराध गरेको ठहर्‍याएको क्षे.अ. को इन्साफ मिलेकै देखिँदा मनासिव ठहर्छ ।

२९.    अब पुनरावेदन गर्ने प्रतिवादीहरूको हकमा विचार गर्दा प्रतिवादी हरिहरसिंह, दामोदर सिंह र सरोवरसिंह समेतले आरोपित कसूरमा इन्कार भई बयान गरे पनि मृतकको मृत्यु यो यस किसिमले भएको हो भनी भन्न नसकी केवल के भई मरे थाहा छैन भनी वकी लेखाएको देखिन्छ । आफूहरू निर्दोष व्यक्तिलाई बाबु बाजेकै पालादेखि मुद्दा मामिला चली झगडिया भएको कारणले फसाउन पोल गरेका हुन् भनी स्वयं प्रतिवादीहरूले नै आआफ्नो बयानमा उल्लेख गरेकोबाट मृतकसंगको रिसइवी परेकै देखिन आउँछ । निजका साक्षीहरूले यी प्रतिवादीहरू अन्यत्र रहेभएको कुरा बकपत्र गरिदिए पनि निजहरू उपर किटानी जाहेरी भएको वारदात घटना देख्ने भनिएका व्यक्ति सतदेवदास तत्मा र अनुठा शाले बकपत्र गर्दा समेत यी प्रतिवादीहरु घटनास्थमा मौजुद रहेभएको कुरा देखेको भनी उल्लेख गरी बकपत्र गरिदिएबाट घटना घट्दाको अवस्था घटास्थलमा यी प्रतिवादीहरूको उपस्थिति रहेभएको कुरा पुष्टि भइराखेकै देखिन्छ । तसर्थ यी प्रतिवादीहरूले ज्या.सं. को १७(३) बमोजिम अपराध गरेको ठहर्‍याएको म.क्षे.अ. को इन्साफ मिलेकै देखिँदा इन्साफ क्षे.अ. को मनासिव ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

देहायका प्रतिवादीहरूके माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को इन्साफ मनासिव ठहरी फैसला भएकोले म.क्षे.अ.ले ज्यानसम्बन्धीको दफा १७(३) बमोजिम देहायका प्रतिवादीहरूलाई जनही ६ महीनाका दरले कैद गरेको देखिँदा पुनरावेदन गरे वापत अ.बं. २०३ नं. बमोजिम थप जनही ९(नौ) दिन थप कैद हुन्छ । लगत कसी असूल गर्नु भनी शुरु रौतहट जिल्ला अदालतमा लेखिपठाउन का.जि.अ.त. मा लगत दिनु ............१

प्र. हरिहर सिंह भूमिहार   १, प्र. दामोदर सिंह भूमिहार , प्र. सरोवर सिंह भूमिहार १। मिसिल नियमबमोजिम गरी बुझाईदिनु.................................२

                (यसमा दुवैको सहमतिबाट निर्णय सुनाई सकेपछि मा.न्या.श्री हरिहरलाल राजभण्डारीको स्वर्गारोहणभएकोले वहाँको सही हुन नसकेको ।)

 

न्या. हिरण्येश्वरमान प्रधान

 

इति सम्वत् २०४४ साल चैत्र १९ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु