शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३३७६ - उत्प्रेषण

भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक:

निर्णय नं. ३३७६                 ने.का.प. २०४५                  अङ्क २

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४३ सालको रिट नं. १८६२

आदेश भएको मिति : २०४५।१।१३।२ मा

 

निवेदक : का.जि.का.न.पं. वार्ड नं. ९ बस्ने प्रेम रमण सिग्देल

विरुद्ध

विपक्षी : श्री पशुपति अमालकोट कचहरी देवपतन काठमाडौंसमेत

 

विषय : उत्प्रेषण

(१)                  निवेदकलाई बुझ्दै नबुझी विवादको जग्गा जोताहामा लेखिएको निवेदकको नाम काटी विपक्षीको नाम कायम गर्न पठाएको पशुपति अमालकोट कचहरीको पत्र र सो बमोजिम टिप्पणी सदर गरी विपक्षीलाई दर्तावाला मोही कायम गरेको भु.सु.का.को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ।  

(प्रकरण नं.  ९)

 

निवेदकतर्फवाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञावाली, विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

 

आदेश

न्या.हिरण्येश्वरमान प्रधान :     नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ ।

२.     जग्गावाला कृष्ण बहादु गुरुङलाई सालको १० पाथी धान बुझाउनु पर्ने का.जि. बत्तिसपुतली साविक वार्ड नं. ६ कि.नं.५९ को ०२ जग्गा र त्यसमा भएको घर समेत मैले शेरबहादुर थापा क्षेत्रीबाट ०२०।१२।२०।५ मा राजीनामा रजिष्ट्रेशन पारित गरी लिई भोगचलन गरिआएको छु । नापी हुँदा क्षेत्रीय किताबमा जोताहामा मेरो नाम उल्लेख भएको छ । यस घरलाई मर्मत गर्न तथा त्यस्मा तला थप्नका लागि मेरो एकाघरको छोराले तेजारथ कार्यालयबाट ऋण सापट लिई उक्त पक्की घर बनाई बसोबास गरिआएको छ । उक्त जग्गा पशुपति गुठीको लोकमाया खड्गीबाट मैले राजीनामा गरी लिएको जोताहा प्रेम रमणको नाउँमा काटी कटाई कायम गरिदिने भन्ने सम्बन्धमा कारवाई भई प.अ. कचहरीले भु.सु.का.लाई जोताहा प्रेम रमणको नाम कटाई दर्तावाला मोही इन्दिरा देवकोटाको नाम कायम गरिदिनु भनी पत्र लेखेको र त्यसको आधारमा भू.सुका.बाट २०४२।४।१४ मा टिप्पणी समेत सदर गरी सोही अनुसार श्रेस्ता जनाउनु भनी मा.पो.का.लाई पत्र लेखेको रहेछ ।

३.     यसरी राजीनाबाट प्राप्त गरी वर्षौं अघि देखि घरबास गरी भोगचलन गरिआएको नापी जोताहामा मेरो नाम भइरहेकोमा मलाई बुझ्दैै नबुझी विपक्षीको मात्र एकलौटी कुरा सुनी जोताहाबाट मेरो नाम काटी इन्दिरा देवकोटाको नाम लेख्नु भनी पशुपति अमालकोट कचहरीले निर्णय गरी सो व्यहोरा भू.सु.का.लाई र मा.पो.का.समेतलाई पत्रचार गर्नु समेत प्राकृतिक न्याय सिद्धान्त समेतको प्रतिकूल भई संविधानको धारा १०, ११(२)(ङ) र १५ समेतको प्रतिकूल हुँदा उक्त काम कारवाही तथा निर्णयहरू उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने मुख्य रिट निवेदन जिकिर रहेछ ।

४.     विपक्षीबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४३।७।२७।५ को आदेशले प्राप्त हुनआएको लिखित जवाफ यसप्रकार रहेछ ।

५.     सम्बन्धित गुठी कार्यालय श्री पशुपति अमालकोट कचहरीको मिति २०४२।२।१६।४ को पत्रानुसार इन्दिरा देवकोटाको नाम कायम गर्ने गरी यस कार्यालयबाट भएको निर्णयमा कुनै कानुनी त्रुटी नहुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने भू.सु.का.काठमाडौंको लिखितजवाफ रहेछ ।

६.     श्री पशुपनिाथको जग्गामा जोताहा दिने व्यवस्था छैन । सनदसवाल र २०३१।८।१८ मा भएको हुकूम प्रमाङ्गी समेतबाट जोताहा हक दिन मिल्दैन । खास विर्तावालालाई नै जोताहा मानी आएको छ । अतः जोताहाको हक भएको भन्ने निवेदन जिकिर नै झुठ्ठा हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत पशुपति अमालकोट कचहरीको लिखितजवाफ रहेछ ।

७.     विवादित जग्गा मैले २०३८।८।१२ मा रु.४०,०००।मा लोकमाया खड्कीबाट राजीनामा पारित गरी लिएको हुँ । मैले पारित गरी लिएको उक्त राजीनामा लिखतमा पशुपतिनाथ अमालकोट कचहरीमा दर्ता भएको र धान तथा नगद तिरो तिर्नु पर्ने कुरा स्पष्ट  रुपमा लेखिएको छ । २०३९।५।२५ मा मलाई दिएको दर्ता प्रमाण पूर्जा उपर विपक्षीले कुनै उजूर वाजूर गर्नु भएको छैन । अतः मेरो नाममा जोताहा कायम गर्ने गरेको पशुपतिनाथ अमालकोट कचहरी समेतको निर्णयमा कुनै त्रुटी नहुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी इन्दिरा देवकोटाको लिखितजवाफ रहेछ ।

८.     नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत रिट निवेदनमा रिट निवेदकको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृणप्रसाद पन्त तथा विपक्षी इन्दिरा देवकोटाको तर्फबाट उपस्थिति हुनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञावालीले र भू.सु.का.काठमाडौं समेतको तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले गर्नु भएको बहस समेत सनुी निर्णयतर्फ विचार गर्दा निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ सो सम्बन्धमा निर्णय          दिनु पर्ने देखियो ।

९.     यस्मा पशुपति अमालकोट पूर्जिबाट निवेदकको जोताहा लेखिएको नाम काटी विपक्षी इन्दिरा देवकोटाको नाम कायम गरेको देखिन आयो तर पशुपति अमालकोटले सो गर्न भूमिसुधार कार्यालयलाई लेखेको पुर्जीमा नै जोताहा प्रेम रमणको नाउँ कटाई दर्तावाला मोहीमा इन्दिरा देवकोटाको नाम कायम गरिदिने भनी लेखेकोबाट विवादको कि.नं.५९ को जग्गामा विपक्षीलाई दर्तावाला मोही कायम गर्नु पूर्व निवेदकको नाम कायम भइरहेको भन्ने कुरा पशुपति अमालकोट कचहरीलाई जानकारी भइसकेको देखिएकोले यदि पशुपति अमालकोट कचहरी अन्तर्गतको जग्गामा विपक्षीको मोहीको हक कायम हुन नसक्ने नै भए पनि फिल्डबुकबाट देखिएका निवेदक जोताहालाई बुझिमात्र कानून बमोजिम निर्णय गर्नु पर्नेमा निवेदकतर्फबाट पेश भएको राजीनामा समेतबाट निवेदकको विवादको जग्गामा हकै नभएको भनी तत्कालै भन्न सकिने अवस्था नभएको हुँदा पशुपति आमालकोटले निवेदकलाई बुझ्दैै नबुझी विवादको जग्गा जोताहामा लेखिएको निवेदकको नाम काटी विपक्षी इन्दिराको नाम कायम गर्न पठाएको पशुपती अमालकोट कचहरीको पत्र र सो बमोजिम टिप्पणी सदर गरी विपक्षीलाई दर्तावाला मोही कायम गरेको भू.सु.का.को निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । निवेदक समेतलाई बुझी कानून बमोजिम निर्णय गर्नु भनी पशुपति अमालकोटको नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ विपक्षीको जानकारीको लागि यो आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई नियमबमोजिम गरी फायल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४५ साल बैशाख १३ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु