निर्णय नं. ३३७८ - उत्प्रेषण परमादेश लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

निर्णय नं. ३३७८ ने.का.प. २०४५ अङ्क २
एक न्यायाधीशको इजलास
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४५ सालको रिट नं. १८८२
आदेश भएको मिति : २०४५।२।२१।६ मा
निवेदक : भक्तपुर स्वास्थ्य शाखामा कार्यरत सि.एम.ए. केदारप्रसाद वराल
विरुद्ध
विपक्षी : श्री ५ को सरकार स्वास्थ्य मन्त्रालय
विषय : उत्प्रेषण परमादेश लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
(१) निवेदनमा माग दावी नै प्रष्ट रुपमा उल्लेख गर्न नसके विपक्षीहरूबाट लिखितजवाफ मगाई रहन नपर्ने ।
(प्रकरण नं. ४)
आदेश
न्या. हरगोविन्द सिंह प्रधान : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ ।
२. म निवेदकले त्रिभुवन विश्व विद्यालय चिकिस्साशास्त्र अध्ययन संस्थानबाट ६२.४ प्रतिशत अड्ढ प्राप्त गरी उत्तीर्ण भई श्री ५ को सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत हेल्थ असिस्टेन्ट पदमा हालसम्म कार्यरत छु । सार्वजनिक सेवाको सामान्य सिद्धान्त अनुसार एम.डि.इन जनरल प्राक्टीसमा अध्ययनको लागि त्रि.वि.वि. अन्तर्गत महाराजगंज क्याम्पसमा अध्ययन गर्न पाउँ भनी स्वास्थ्य मन्त्रालयमा निवेदन दिएकोमा एम.डि.ईन जनरल प्राक्टीसको अध्ययनको लागि सि.एम.ए. योग्यताबाट जान नपाउने र हाल तपाईंको योग्यता सुहाउँदो कुनै पनि वैदेशिक तालीमको छात्रवृत्ति उपलब्ध नभएको व्यहोरा प.सं. ४१४० मिति ०४५।१।५ को पत्रबाट जानकारी गराइएको छ ।
३. सार्वजनिक सेवा सम्बन्धी नियमको २(२) अनुसार सामान्य स्वास्थ्य सेवाको लागि न्युनतम शैक्षिक योग्यता आन्तरिक प्रमाणपत्रको सामान्य स्वास्थ्य सेवा एम.डि. भएको हुनुपर्ने निर्धारित भएकोछ । सो अनुसार निवेदकको शैक्षिक योग्यताले एम.डि.ईन जनरल प्राक्टीसमा अध्ययन गर्न पाउने पूर्ण कानुनी हक निवेदकलाई हुँदा उक्त प.सं. ४१४० मिति ०४५।१।५ को पत्र उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकलाई माग बमोजिम सि.एम.ए.. तथा आन्तरिक योग्यताको आधारमा एम.डि.इन जनरल प्राक्टीसको अध्ययनको लागि स्वीकृति र सिफारिश गर्न परमादेश समेत जारी गरिपाउँ भन्ने समेत निवेदन जिकिर रहेछ ।
४. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत निवेदनमा आज निर्णय सुनाउने तारेख तोकिएको हुँदा निवेदकको माग बमोजिम विपक्षबाट लिखितजवाफ माग्नु पर्ने हो होइन त्यसतर्फ विचार गर्नु पर्ने हुन आयो । यसमा एम.डि.इन जनरल प्राक्टीसमा अध्ययन गर्न पाउँ भनी स्वास्थ्य मन्त्रालयमा निवेदन दिएकोमा सो बमोजिम अध्ययन गर्नको लागि सि.एम.ए. योग्यताबाट जान नपाउने भनी ०४५।१।५ मा जानकारी दिइयो अतः आन्तरिक योग्यताको आधारमा एम.डि.इन जनरल प्राक्टीसको अध्ययनको लागि स्वीकृति र सिफारिश पाउँ भन्ने निवेदन जिकिर देखिन्छ । तर यी निवेदकले ०४४।११।२७ मा स्वास्थ्य मन्त्रालयमा दिएको निवेदनमा एम.डि.इन जनरल प्राक्टीसको अध्ययन गर्न पाउँ वा उपाधी पाउँ भनी निवेदन दिएको देखिन्छ । त्यसबाट यी निवेदकले केको माग दावी लिएको हो सो प्रष्ट छैन । यो यस्तो पदमा यति समय सेवा गरेका कर्मचारीलाई उक्त तालीम वा अध्ययनको लागि पठाउनु पर्ने यो यस्तो कानुनी व्यवस्था भएकोमा सो बमोजिम गरिएन भनी रिट निवेदनमा प्रष्ट रुपमा उल्लेख गर्न सकेको छैन । अर्कोतर्फ श्री ५ को सरकारलाई प्राप्त भएको यो यस्तो छात्रवृत्तिमा खुला प्रतियोगिता वा अन्तर विभागीय प्रतियोगिताबाट छनौट गरी पठाउनु पर्नेमा सो बमोजिम योग्य भई निवेदन समेत गरेकोमा मेरो निवेदनको बेवास्ता गरियो भन्ने सम्बन्धमा सहानुभूतिपूर्वक विचार गर्नु पर्ने भए पनि निवेदकले निवेदनमा माग दावी नै प्रष्ट रुपमा गर्न नसकेबाट विपक्षीहरूबाट लिखितजवाफ मगाई रहनु परेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । जानकारीको लागि यो निर्णयको एकप्रति सम्बन्धित मन्त्रालयमा पठाई नियमबमोजिम गरी फाईल बुझाई दिनु ।
न्यायाधीश
इति सम्वत् २०४५ साल ज्येष्ठ २१ गते रोज ६ शुभम् ।