शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३३७९ - उत्प्रेषण सहितको उपयुक्त रिट जारी गरिपाउँ

भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक:

निर्णय नं. ३३७९        ने.का.प. २०४५                  अङ्क २

 

 

एक न्यायाधीशको इजलास

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४४ सालको रिट नं. १९४५

आदेश भएको मिति : २०४५।२।२४।२

 

निवेदक : महोत्तरी मझौरा विष्णुपुर गा.पं.वा.नं.९ बस्ने किशोरी नायक सुडी

विरुद्ध

विपक्षी : ऐ.ऐ. बस्ने सिकिन्दर नायकसुडीसमेत

 

विषय : उत्प्रेषण सहितको उपयुक्त रिट जारी गरिपाउँ

 

(१)                  निर्वाचनमा भएका मत्रपत्र सहितको बन्दीखाम पक्ष विपक्षको रोहवरमा खोली निर्वाचन विशेष अदालतबाट समेत गन्ती गरिएको र गन्तीबाट प्र.पं. मा निर्वाचित ठहर्‍याएको निर्वाचन विशेष अदालतको निर्णयमा कुनै त्रुटी नदेखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गरी रहनु     नपर्ने ।

(प्रकरण नं. ५)

 

आदेश

न्या.हरगोविन्द सिंह प्रधान : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण एवं निर्णय यसप्रकार छ ।

२.     २०४३।१२।७ गते महोत्तरी जिल्लाको स्थानीय पञ्चायतको निर्वाचनमा मझौरा विष्णुपुर गा.पं. को प्रधानपञ्च पदमा म निवेदक र विपक्षी उम्मेदवार थियौं । निर्वाचन पश्चात मत गन्ती हुँदा जम्मा १९८९ मतपत्र खसेकोमा १६२ मत बदर भई विपक्षीले ८८१ मत र मैले ९४६ मत प्राप्त गरी म निर्वाचित घोषित भएको थिएँ ।

३.     किशोरी नायकले प्राप्त गरेको मध्ये ७५ मतपत्र बदर हुनुपर्ने सदर गरी विजयी घोषित गरेको हुँदा सो निर्वाचन घोषणा बदर गरी मलाई निर्वाचित घोषित गरिपाउँ भनी विपक्षीले निर्वाचन विशेष अदालतमा उजूर गर्नु भयो । सदर मतलाई नै सदर गरिएकोछ, मत गन्ती हुँदा विपक्षीको वारेस उपस्थित भई मुचुल्कमा सहिछाप गर्नु भएको हुँदा वादीको दावी खारेज गरिपाउँ भन्ने समेत मेरो प्रतिवाद भएकोमा निर्वाचन सम्बन्धी कागजात खोली मत गणना गर्दा जम्मा मतपत्र खसेको १९८९ मध्ये २६८ मतपत्र बदर भई वादीको चुनाव चिन्ह गाईमा ८६३ र प्रतिवादी किसोरी नायकको चुनाव चिन्ह मानिसमा ८५८ मत परेकोले वादीले प्रतिवादी भन्दा बढी ५ मतपत्र पाएको प्रमाणबाट देखिन आएको हुनाले किशोरी नायकलाई प्रधान पञ्चमा विजयी घोषित गरेको नमिलेको हुँदा बदर गरिदिएको छ । उक्त गाउँपञ्चायतको प्रधान पञ्चमा सिकिन्दर नायक निर्वाचित हुने ठहर्छ भनी मोहत्तरी निर्वाचन विशेष अदालतका न्यायाधीश केशरमान पतिले ०४५।२।४ मा फैसला गर्नु भयो ।

४.     निर्वाचन आयोगको सिफारिसमा श्री ५ को सरकारले नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा गठन गरेको निर्वाचन विशेष अदालतमा जिल्ला अदालतका जिल्ला न्यायाधीशलाई तोकिएको छ । श्री ५ केशरमान पति महोत्तरी जि.अ.को पहिलो न्यायाधीश हुनुहुन्न वहाँबाट भएको फैसला अनधिकृत भई बदरभागी  छ । पुनः मतगणना गरिपाउँ  भन्ने विपक्षीको माग दावी थिएन । निर्वाचन मतगन्तीमा विपक्षीको वारेस उपस्थित भई मुचुल्कामा सहिछाप गर्नु भएको छ । निर्वाचन (अपराध र सजायँ) ऐन, ०२४ को दफा १४(४) मा निर्वाचन विशेष अदालतले निर्वाचित उम्मेदवारको निर्वाचन बदर हुने गरी फैसला गर्दा बाध्यात्मक रुपमा फैसलामा उल्लेख गर्नु पर्ने कुराहरू विशेष अदालतका फैसलामा उल्लेख गरिएको छैन । स्थानीय पञ्चायत (निर्वाचन कार्यविधि) ऐन, ०२५ को संशोधित दफा २२ मा मतपत्र बदर हुने अवस्थाहरू उल्लेख गरिएको छ मतपत्र सदर बदर गर्दा सो कुरा उल्लेख भएको नहुँदा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको बिपरीत भई उक्त निर्णय बदरभागी छ । अतः निर्वाचन विशेष अदालतको ०४५।२।४ को अनधिकृत र गैरकानुनी फैसला तथा तत्सम्बन्धी अन्य सबै काम कारवाई उत्प्रेषण लगायतको उपयुक्त आज्ञा वा आदेश जारी गरी बदर गरिपाउँ भन्ने समेत व्यहोराको निवेदनपत्र ।

५.     नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत रिट निवेदनमा निवेदकतर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्ज विहारीप्रसाद सिंहले गर्नु भएको बहस समेतलाई ध्यानमा राखी आज निर्णय सुनाउने तारिख तोकी पेश हुनआएकोमा निर्णयतर्फ विचार गर्दा निवेदकको माग बमोजिम विपक्षीबाट लिखितजवाफ मगाउने नमगाउने के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो । यसमा ०४३।३।१२।७ मा मझौरा विष्णुपुरा गा.पं. को प्र.पं. को निर्वाचनमा निकटतम प्रतिद्वन्दी सिकिन्दरको ८८१ र मैले ९४६ मत प्राप्त गरी विजयी भएको थिएँ । सो उपर विपक्षीको निर्वाचन विशेष अदालतमा उजूरी पर्दा बिना आधार मेरो सदर मतलाई घटाई ८५८ कायम गरी विपक्षीलाई प्र.पं. मा विजयी गराएको गैरकानुनी छ भन्ने निवेदन लेखाइबाट देखिन्छ । उक्त निर्वाचनमा भएका मतपत्र सहितको बन्दीखाम यी पक्ष विपक्षको रोहवरमा खोली निर्वाचन विशेष अदालतबाट समेत गन्ती गरिएको र गन्तीबाट निवेदकको सदर मत ८५८ र सिकिन्दर नायक सुडीको ८६३ सदर कायम हुँदा सिकिन्दरलाई प्र.पं. मा निर्वाचित ठहर्‍याएको निर्वाचन विशेष अदालतको मिति ०४५।२।४ को निर्णयमा कुनै त्रुटी नदेखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गरिरहनु परेन प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । नियमबमोजिम गरी फायल बुझाई दिनु ।

 

न्यायाधीश

 

इति सम्वत् २०४५ साल ज्येष्ठ २४ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु