शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३३८१ - ज्यान

भाग: ३० साल: २०४५ महिना: असार अंक:

निर्णय नं. ३३८१ ने.का.प. २०४५     अङ्क ३

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४३ सालको फौ.पु.ई.नम्बर १६

फैसला भएको मिति : २०४४।१२।१८।५ मा

 

निवेदक/प्रतिवादी : पर्सा जिल्ला (सवैठवा) गा.पं.वडा नं. ९ बस्ने राजेन्द्र राय नेटुवा

विरुद्ध

विपक्ष/वादी : श्री ५ को सरकार (बिपती लोहरनीको जाहेरीले)

 

मुद्दाः ज्यान

 

(१)                  सरजमीनमा लेखाई दिएको कथन र अदालतमा बकपत्र गर्दा भनेको कुरा मिले जतिमा प्रमाणमा लिन सकिने ।

(प्रकरण नं.  २७)

(२)                जिरह गर्न नपाएकोमा उसै मौकामा उजूर गर्नु पर्ने ।

(प्रकरण नं.  २७)

(३)                मुद्दा दोहर्‍याई निर्णय गरिदिनु भन्ने हुकूम प्रमाड्डी वक्स भई आएपछि प्रतिवादीलाई दिन ७ को म्याद जारी गरेकोमा सो म्यादभित्र हाजिर हुन नआई म्याद गुजारी फरार रहेको स्थितिमा अब जिरह गर्ने भन्ने कुरा निरर्र्थक हुन जाने ।

(प्रकरण नं.  २७)

 

निवेदकतर्फवाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री चोलेन्द्र शमशेर ज.ब.रा.

विपक्षी/वादीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री वलराम के.सी.

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका जुनाफमा फुल बेञ्बाट इन्साफ जाँच गरिपाउँ भनी राजेन्द्र राय नेटुवाको हकमा आमा मलमदारी नेटुवानीले चढाएको विन्तिपत्रमा फुल बेञ्चबाट दोहर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु प्रमाङ्गीको जनाउ विन्तिपत्रवालालाई दिनु भन्ने श्री ५ महाराजााधिराज बाट हुकूम वक्सेको छ, भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४२।८।४।३ मा तोक लागी आई लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :

२.     मिति २०३२।११।८ गतेका दिन मेरो पति जगदीश ठाकुर लोहार वैल खरीद गर्न रुपैयाँ सापटी लिन भनी मेरो माइत सवैठवा वडा नं. ४ बस्ने ओमा ठाकुरको घर जानु भएपछि म पनि पतिको भिनाजु सतवरिया पोखरीया बस्ने लगन ठाकुरको घरमा विवाह परेकोले गएँ । मिति २०३२।११।९ गतेको विहान ७ बजेको समयमा धोविया टोल बस्ने ठाकुर महतो तत्मा पोखरीयामा भएको ठाउँमा आई तिम्रो पति जगदीश ठाकुरलाई शुक्रवारको राती ८ बजे ससुरालीबाट फर्कदा मोटर नेटुवा समेतले मरणासन्न हुने गरी कुटपीट गरी रुपैयाँ लुटी लगेछन भनी खबर दिएपछि आफ्नो घर सोही दिन १० बजे पुग्दा पति जगदीश ठाकुरको विपक्षीहरूको कुटाईको पीरले विहान ८ बजे नै मृत्यु भइसकेको रहेछ । मृत्यु के कस्तो वारदातमा कसरी भयो  भनी पत्ता लगाउँदा पति २०३२।११।८ गते शुक्रवारको दिन ससुराली शोभा ठाकुरको घरमा रुपैयाँ लिन जाँदा बाटोमा मोटर नेटुवाको घर नजिक पुग्दा मोटरले कहाँ जान लागेको भनी सोध्दा पतिले रुपैयाँको आवश्यक परी शोभा ठाकुर कहाँ जाँदैछु रुपैयाँ दिन बोलाएका छन भनी जवाफ दिएपछि त्यहाँबाट शोभा ठाकुरको घरमा पुग्नु भएछ र खानपिन गरी निजसंग रु.७१५।लिई सोही रात ८ बजे साँझतिर घर फर्किन लाग्दा बाटोमा पर्ने विपक्षी मोटर नेटुवाको घर नजिक आइपुग्दा मोटर राय नेटुवा, वैजनाथ राय नेटुवा, राजेन्द्र नेटुवा, हिरालाल राय नेटुवा, मुवाली राय नेटुवा, लालबाबु राय नेटुवा, मोहरीया नेटुवा, ललन राय नेटुवा, भुकुटराय नेटुवा, लठ्ठी लिई बसेका रहेछन् । मेरो पतिलाई देखि विपक्षीहरू एकहुल भई घेरी मोटर नेटुवाले तिमीसंग भएको सबै रुपैयाँ देउ भनी भन्दा पतिले विरोध गरी भाग्न खोजेको देखि यसलाई ज्यान मारी रुपैयाँ खोसी लेउ भनी मोटरले बचन लिएपछि विपक्षी मुनाली रायले लिई राखेको लठ्ठीले पतिको टाउकोमा प्रहार गर्दा पति भुंइमा खस्नु भएछ र अन्य विपक्षीहरूले लडेको पतिलाई आआफ्नो हातमा लिई राखेको लठ्ठीले जथाभावी कुटपीट प्रहार गर्न थालेछन् कुटपीट गरी मर्न लागेको देखि मोटरको घर नजिक खाने सामान बिक्री गर्ने मुनरी तत्मीनले ज्यान मार्‍यो भनी हल्ला गरी कराउँदा भोज दिन मियाँ देवराज सा तेली, वैजनाथ सा कंचन ठाकुर लोहार, मोति ठाकुर लोहार, जगदेव सा तेली समेत अन्य मानिसहरू कुटपीट गरी रहेको ठाउँमा पुग्दा विपक्षीहरू भागी गएछन् । मेरो पति मरणासन्न भई घाइते अवस्थामा लडेको देखि निजलाई उठाई हाम्रो घरमा लिई आउनु भएछ, होस आएपछि विश्वनाथ ठाकुर समेतलाई वारदातको विवरण सुनाउनु भएछ र पछि अवस्था झन बिग्रदै जान लागेको देखि डा. अब्दुललाई बोलाई उपचार गराउँदा पनि सुधार नभई भोलिपल्ट विहान अर्थात् मिति २०३२।११।९ गते शनिवार विहान ८ बजेतिर सोही कुटाइको पीरले पतिको मृत्यु भएपछि विपक्षीहरूले मेरो पतिलाइ ज्यान मार्ने रुपैयाँ लुटी लिने नियतले कुटपीट गरी ज्यान मारेकाले निज विपक्षीहरूलाई हदैसम्म सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको विपक्षी लोहरनीको जाहेरी दर्खास्त रहेछ ।

३.     फाल्गुण ८ गतेको बेलुका पिपराबाट फर्की रातको १२ बजेको आफ्नो घर पुगी सुतिरहेको अवस्था गाउँकै भू.पू.प्र.पंच विश्वनाथ नुनियाँ, कैलाश ठाकुर लोहार समेतलाई म समेतलाई पक्राउ गरी प्रधानपञ्चको घरमा लगे । किन ल्याएको भनी सोध्दा रक्सी खाई जगदीशलाई कुटपीट गरी मारेको हुँदा तिमी समेत उपर शंका लागि ल्याएको हुँ भनी सोही रात निजकै घरमा राखी मोटर सुरवाडी गौरी समेतबाट नमालुम के कति रुपैयाँ खाई छोडी दियो र मलाई समेत थुनामा राखी राखेको थियो । बुझ्दा जगदीश ठाकुरलाई राजेन्द्र मुवाली वैजनाथ मोटर मोहरिया ललन र जगदीश समेत भई रक्सी खाई झगडा कुटपीट भई जगदीश ठाकुर घाइते भई भोलिपल्ट विहान मृत्यु भएको भन्ने सुने । म उक्त घटनास्थलमा नभएको हुँदा मैले कुटपीट गरेको र मेरो कुटाइको चोटबाट मर्न गएको होइन र मार्नु पर्ने कारण पनि केही छैन भन्ने समेत व्यहोराको प्रतिवादी हिरालाल राय नेटुवाको प्रहरीमा भएको कागज ।

४.     मिति २०३३।११।८ गतेको बिहान ९ बजे घरबाट हिंडी सिकिम भारतमा गई वैरागनियातर्फ गएको र रात त्यँही रेल्वे लाइनको स्टेशन रक्सौलमा बसी भोलिपल्ट विहान ७ बजे घर आउँदा गाउँकै देवराज समेतको मुखबाट सुनेको हिजो बेलुकी ९ बजे रक्सी खाएको कुरा लिई राजेन्द्र, मुवारी, जगदीश तथा विश्वनाथको बीच मारपीट भयो र जगदीश मरीसके भन्नेसमेत कुरा सुने । विहान ७ बजे म मुख धोइरहेको अवस्था विश्वनाथले पक्राउ गरी भोलिपल्ट छाडेको हो भन्ने समेत व्यहोराको प्रतिवादी मोहरिया नेटुवाले प्रहरीमा गरिदिएको कागज ।

५.     मिति २०३२।११।८।६ को दिन बिहान गाई  चराउन गई साँझ फर्की आउँदा राती भात खाई लेटी रहेको अवस्था ठूलो हल्ला सुनी जाँदा जगदीश गौरी, मोटर, लखराज दिना नटु गोपी मोहरिया हिरालाल राय, राजेन्द्र, बैजनाथ, मुवाली, ललन समेत बीच झै झगडा भई मारपीट भइरहेको देखि उभिरहेको थिएँ । ।११।९ गते विहान १० बजे कैलाश ठाकुरले मलाई गाई चराई रहेको ठाउँबाट पक्राउ गरी भू.पू. प्रधानपञ्चको घरमा पुर्‍याउँदा किन मलाई पक्राउ गरेको भनी सोध्दा तिमी समेत भई जगदीशलाई मारेको भनी कमलले भन्दा सुनी पाएको हुँ र मलाई भोलिपल्ट छाडेका हुन । मैले जगदीशलाई मारेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी मुकुट राय नेटुवाले प्रहरीमा गरेको कागज ।

६.     जगदीश घाइते भएको अवस्था निजसंग सोध्दा मलाई मोटर वैजनाथ, राजेन्द्र, मुवाली, हिरालालको नाम लिई र अरु भन्न नपाउँदै निजको वाक्य बन्द भयो । निजहरूकै कुटाईको चोटले जगदशीको मृत्यु भएको हुनुपर्छ भन्ने समेत झगड मियाँ, मैले ५० गज पर उखुको बिउ काटी रहेको अवस्थामा निज विपक्षीहरू मोटर, मुवाली, जपाल, हिरालाल लालबाबु समेत र अन्य नचिनेका समेत भई लठ्ठी लिई मारपीट गरी रहेको देखी किन अन्याय गरेको भन्दै सोही ठाउँमा म जाँदा मलाई समेत पिट्न दगुरेकोले डरले भागी गएँ भन्ने मोति ठाकुर लोहार समेतका मानिसहरू र उल्लिखित विपक्षीहरूको कुटाईबाटै जगदीश मरेको हुनुपर्छ भन्ने समेत व्यहोराको अधिकांश सरजमीनका मानिसहरू समेत भएको सरजमीन मुचुल्का ।

७.     लाश पोष्टमार्टम फाराम समेत र सरजमीनका मानिसहरू तथा जाहेरवालाको लेखाईबाट समेत प्रतिवादीहरू मोटर, वैजनाथ, राजेन्द्र, हिरालाल, मुवारी, लालबाबु, मोहरीया, ललन मकुटले नै जगदीशलाई मार्ने नियतले कुटपीट गरी सोही कुटाइको चोटपीरले निजको मृत्यु भएको भन्ने देखिएकोले उल्लिखित ९ जना प्रतिवादीहरूले ज्यानसम्बन्धीको ९ नं. बमोजिमको अपराध गरेकोले निजहरूलाई ऐ.को १३(३) बमोजिम सजायँको दावी लिई प्रस्तुत गरिएको प्रहरी प्रतिवेदन ।

८.     प्रहरीमा गराएको कागज राजीखुसीले गरेको नभई कुटपीट गरी गराएका हुन । म दिनमा सो दिन गाई चराई रहेको र बेलुका सुतिरहेको अवस्था मै वारदात स्थलमा नभएको हुँदा मैले जगदीशलाई मारपीटसमेत गरेको होइन भन्ने समेतको प्रतिवादी मुकुट राय नेटुवाले अदालतमा गरेको बयान ।

९.     जगदीश ठाकुरलाई चोरले कुटपीट गरी मारे भन्ने कुरा भारत पिप्रबाट फाल्गुण ८ गते राती १२ बजे घर पुगेपछि सुनेको हुँ । कसले कहाँ किन कुटपीट गरे थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी हिरालाल राय नुटुवारले अदालतमा गरेको बयान ।

१०.     वारदातको दिन म घरमा नभई पाकेट मार्न वेरगनियातर्फ गई भोलिपल्ट प्रधानपञ्च विश्वनाथले रुपैयाँ माग्दा नदिएकोले निजले मुद्दा लगाएको हो । मैले कुटपीट गरे गराएको छैन, भन्ने समेतको प्रतिवादी मोहरिया नेटुवारले अदालतमा गरेको बयान ।

११.     मैले जगदीशलाई कुटपीट गरी मारे मराएको छैन म उपरको झुठ्ठा दावी जाहेरवाला र सरजमीनका मानिसहरूले किन लेखाई दिए निजहरू जानुन भन्ने समेत व्यहोराको प्रतिवादी ललनराय नेटुवारले अदालतमा गरेको बयान ।

१२.    भारत जिल्ला चम्पारण आदापुर पर्ने रामेश्वर नेटुवार कहाँ मिति २०३२।११।७ गते नै गई ऐजन १० गते दिउँसोमात्र घर आएकोले मैले जगदीशलाई कुटपीट गरी मारे मराएको छैन भन्ने समेतको प्रतिवादी राजेन्द्र राय नेटुवारले अदालतमा गरेको बयान ।

१३.    मिति २०३२।११।७ गते म घरबाट हिंडी वीरगंज चिनी कारखानामा भाइ जोगेन्द्र नेटुवा कहाँ ८ गते तहाँ बसी ९ गते रुपैयाँ लिई घर फर्केको हुनाले मैले जगदीशलाई मारे मराएको छैन भन्ने समेतको प्रतिवादी  मोटर राय नेटुवाले अदालतमा गरेको बयान ।

१४.    मिति २०३२।११।८ गते बिहान ८ बजे स्वास्नी माइत जाने भएकोले बिदा गराउन भनी गई ऐजन ११ गते मात्र घर आएकीले मैले जगदीशलाई कुटपीट गरी मारेको छैन, भन्ने समेत व्यहोराको प्रतिवादी बैजनाथ राय नेटुवाले अदालतमा गरेको बयान ।

१५.    प्रतिवादी मध्येका मुवालीराय नेटुवा र लालबाबु राय नेटुवाले मिति २०३३।५।२३ मा तामेल भएको ७० दिने म्याद गुजारी बसेको ।

१६.     वारदात स्थलमा घटना भइरहेको देख्ने भनेका नियामत मियाँ, शोभा ठाकुर लोहार, मुस्तकिम मियाँ दर्जी, झगड मियाँ धोवी, कचंन ठाकुर लोहार, मोति ठाकुर लोहार, मजदिन मियाँ दर्जी र विश्वनाथ ठाकुर समेतको अदालतमा बकपत्र भएको ।

१७.    पोष्टमार्टम रिपोर्टबाट जगदीश ठाकुर कर्तव्यबाट मरेको भन्ने देखिएको प्रतिवादीहरू कसूर गरेमा इन्कार रहेका सरजमीनका मुनरी तत्मीन र प्रसाद रायलाई अदालतबाट झिकाउँदा निजहरू उपस्थित नभएकोले निजहरूको सरजमीनको भनाई प्रमाणमा लिन नमिल्ने समेत कारणबाट प्रतिवादीहरू हिरालाल राय नेटुवा, मोटर राय नेटुवा, वैजनाथ राय नेटुवा, राजेन्द्र राय नेटुवा, मोहरिया नेटुवा ललनराय नेटुवा मुकुट राय नेटुवा समेतका ७ जनाले सफाई पाउने र म्याद गुजारी फरार रहने भुवाली राय नेटुवा र लालबाबु राय नेटुवाको हकमा मुलतवी राखी दिने ठहर्छ भन्ने समेत व्यहोराको पर्सा जिल्ला अदालतको मिति २०३५।२।२४।३ को फैसला ।

१८.    सरजमीनका अदालतमा आई बकपत्र गर्ने समेतका साक्षीहरूको वकाइलाई मान्यता नदिई गरेको उक्त फैसला मिलेको छैन प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत श्री ५ को सरकारको पुनरावेदनपत्र ।

१९.     मर्ने जगदीशको लाश परेमा विवाद नभएको र शव परीक्षण प्रतिवेदनबाट कर्तव्य भन्ने देखिन आएको अपराधमा प्रतिवादीहरू प्रहरी र अदालतमा इन्कार छन् । मृतक जगदीशले निजका ससुरा शोभा ठाकुरबाट रु.७१५।ल्याएको कुरा स्वयं रुपैयाँ दिने शोभा ठाकुरले बयान गरिदिएका छन् । जग्दीशले सो रुपैयाँ लिई प्रतिवादी मध्येका मटर राय नेटुवाको द्वारमा आइपुग्दा प्रतिवादी मध्येकै मोटर राय, वैजनाथ राय, राजेन्द्र राय, हिरालाल राय र मुवाली राय समेतले मृतक जगदीशलाई लाठीले टाउकोमा कुटपीट गरेको देखेको भनी चस्मदिद कंचन ठाकूर र मोति ठाकुर लोहार समेतले अदालत समेतमा बकपत्र गरेको देखिन आएको मृतक जगदीशले मर्नु अगाडि कुटपीट गर्ने व्यक्तिको नाम लिंदा मोटर राय, वैजनाथ राय, राजेन्द्र राय, मुवाली राय र हिरालालको नाम लिएपछि वाक्य बन्द भएको भनी झकड मियाँ निजामत मियाँ समेतले प्रहरीमा र अदालतमा समेत बकपत्र गरेको देखिन्छ । प्रहरीमा कागज गर्दा नाम लिइएका प्रतिवादीहरूको नाम चस्मदिदहरूले अदालतमा बकपत्र गर्दा पनि लिएकै हुनाले प्रहरी अदालत दुबै ठाउँमा नाम मिलेका प्रतिवादीहरू मोटर राय नेटुवा, राजेन्द्र राय नेटुवा, बैजनाथ राय नेटुवा, हिरालाल राय नेटुवालाई सफाई दिन सकिने नभएकोले निजहरू ४ जवानले जगदीश ठाकुरलाई लठ्ठी समेतले कुटपीट गरी मारेको र अरु प्रतिवादीहरूले सफाई पाउने ठहर्छ । शुरु पर्सा जि.अ.को फैसला केही उल्टी हुन्छ भन्ने समेत म.क्षे.अ.को मिति २०३८।१०।५ को फैसला ।

२०.    सो फैसलामा चित्त बुझेन भन्ने प्रतिवादी हिरालाल राय नेटुवाको यस सर्वोच्च अदालतमा परेको पुनरावेदनपत्र ।

२१.    प्रतिवादी मोहरिया नेटुवा ललनबाबु र मुकुट नेटुवाको हकमा सफाई दिने गरेको इन्साफ सदर गरेको सो क्षे.अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको पुनरावेदनपत्र ।

२२.    श्री ५ महाराजाधिराज सरकारका जुनाफमा  म.क्षे.अ.को फैसला उपर हिरालालको पुनरावेदन परी सर्वोच्च अदालतबाट हेरिने भएकोले निवेदकका हकमा पनि इन्साफ जाँची निर्णय गरिदिनु भन्ने हुकूम प्रमाङ्गी बक्स पाउँ भनी प्रतिवादी राजेन्द्र राय नेटुवाको हकमा निजको आमा मलमदरी नेटुइनले चढाएको बिन्तिपत्रमा अन्य व्यक्तिको पुनरावेदनबाट हेरिने भइरहेको भए विन्तिपत्रको व्यहोरा बुझी कानून बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ भनी मौसुफसरकारका विशेष जाहेरी विभागबाट मिति २०४१।२।१७ मा तोकलागी आएको रहेछ ।

२३.    म.क्षे.अ.को निर्णयमा कुनै परिवर्तन गर्नु पर्ने अवस्था नदेखिएकोले म.क्षे.अ.को फैसलामा लेखिएको बूदा प्रमाण समेतबाट इन्साफ सदर ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।७।२९ गतेको फैसला ।

२४.    श्री ५ महाराजाधिराज सरकारका जुनाफमा पुनरावेदन सरह साधक जाँच गरी इन्साफ जाँच गरी इन्साफ गरिदिनु भन्ने हुकूम प्रमाङ्गी वक्स पाउँ भनी प्रतिवादी राजेन्द्र राय नेटुवाको हकमा एकाघरसंगको आमा मलमदारी नेटेइनले चढाएको विन्तिपत्रमा डिभिजनबेञ्चबाट छिनिएको पुनरावेदन तथा साधक समेत फुलबेञ्चबाट दोहराई हेरी कानून बमोजिम निर्णय गर्नु प्रमाङ्गीको जनाउ विन्तिपत्रवालालाई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ, भनी मौसूफ सरकारका विषेश जाहेरी विभागबाट मिति २०४२।८।४।३ मा तोक लागि आएको रहेछ ।

२५.    निवेदक प्रतिवादी राजेन्द्र राय नेटुवातर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले मर्ने जगदीश ठाकुर ९ गते मृत्यु भएको कुरा प्रहरीमा सोही बखत खबर गरेको फाइलबाट देखिँदैन । १० गते पोष्टमार्टम भएको छ । ११ गते जाहेरी परेको छ जाहेरी ढिलो परेको छ । चस्मदिदहरूको बकपत्र गर्दा प्रतिवादीहरूले जिरह गर्न पाएको छैन । प्रतिवादीहरूको तारिख नभएको दिन बकपत्र भएको छ । बकपत्रको स्तर पनि फरकफरक छ । प्रतिवादीले जिरह गर्न नपाएको बकपत्र प्रतिवादीको विरुद्ध प्रमाण लाग्न सक्दैन । तसर्थ प्रतिवादीलाई अपराधी ठहर गरेको निर्णय मिलेको छैन, भन्ने समेत र प्रतिवादी हिरालाल राय नेटुवा समेतकोतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री चोलेन्द्र शमशेर ज.ब.रा. ले प्रतिवादीहरू अपराध गरेमा इन्कार छ । चस्मदिदहरूको वकाई प्रहरी र अदालतमा फरक छ । तसर्थ प्रतिवादीहरूलाई अपराधी ठहर गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ मिलेको छैन भन्ने समेत बहस गर्नुभयो । वादी श्री ५ को सरकारतर्फबाट बहस गर्न उपस्थित विद्वान का.मु. सहन्यायाधिवक्ता श्री वलराम के.सी.ले साक्षिको बकपत्रमा जिरह गर्न नपाएको कुरामा मौकैमा अ.बं. १७ नं. अन्तर्गत निवेदन दिनु पर्छ । तर दिन सकेको छैन । समय वितिसकेको छ । चस्मदिद गवाहहरूले मर्ने जगदीश ठाकुर मर्नु भन्दा अघि बोलेको कुरा समेत खुलाई किटान बकपत्र गरेको   छ । बकपत्रमा समय र तत्व महत्व छ । सो प्रमाणको आधारमा प्रतिवादीहरूलाई अपराधी ठहर गरेको इन्साफ मनासिव हुनु पर्दछ भन्ने समेत बहस गर्नुभयो ।

२६.    आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।

२७.    यसमा निर्णयतर्फ हेर्दा मर्ने जगदीश ठाकुरको श्रीमती विपति लोहारनीको २०३२।११।११ मा जाहेरी दर्खास्त परी प्रस्तुत मुद्दा कारवाही भएको देखिन्छ । आरोपित कसूरमा प्रतिवादीहरू इन्कार रहेको   पाइन्छ । मौका सरजमीनमा मुनरी तत्मीनीले मर्ने जगदीश ठाकुरलाई मोटरराय, राजेन्द्र, भूपाली र हिरालाल समेतले लाठीले कुटपीट गरेको भनी मुचुल्का  गरिदिएको छ । सरजमीनका मजदीन मियाँ दरजी कंचन ठाकुर लोहार, मोति ठाकुर लोहार र टेनिराय चमारले मर्ने जगदीश ठाकुरलाई प्रतिवादीहरूले कुटपीट गरी रहेको देखेको भनी अदालतमा समेत आई किटानी साथ बकपत्र गरेको देखिन्छ । त्यस्तै सरजमीनका झगड मियाँ धोबीले जगदीशसंग सोद्धा मोटर राय हिरालाल, वैजनाथ, राजेन्द्र, भूवालीको नाम लिएपछि वाक्य बन्द भएको भनेको र नियमित मियाँ धुनियाले जगदीशसँग सोध्दा मोटर राय, राजेन्द्र, भुवाली बैजनाथ समेतको नाम लिएपछि वाक्य बन्द भएको भनी किटानी साथ अदालतमा समेत बकपत्र गरेको पाइन्छ । सरजमीनमा भनेको कुरालाई अदालतमा समेत उपस्थित भई पुष्ट्यांई गरी बकपत्र गरिदिएको देखिन्छ । चस्मदिद कुटपीट वारदात देख्ने व्यक्ति समेतको सो बकपत्रहरूलाई आधार मान्नु नपर्ने तथ्युक्त आधार कुनै देखिँदैन । तसर्थ सरजमीनमा लेखाइ दिएको कथन र अदालतमा बकपत्र गर्दा भनेको कुरा मिले जतिमा प्रमाणमा लिन सकिने नै भयो । सरजमीन समेतको बकपत्रमा जिरह गर्न पाएको छैन भन्ने हकमा ती सरजमीन समेतका व्यक्तिहरू झिकाई २०३४ साल कार्तिकमा बकपत्र गराएको देखिन्छ । जिरह गर्न नपाएकोमा उसै मौकामा उजूर गर्नु पर्ने थियो । तर सो मौकामा उजूर गरेको छु भन्न सकेको छैन । प्रतिवादी राजेन्द्र राय नेटुवाले क्षेत्रीय अदालत उपर पुनरावेदन गर्न सकेको पनि छैन । मुद्दा दोहराई हेरी निर्णय गरिदिनु भन्ने हुकूम प्रमाङ्गी वक्स भई आएपछि प्रतिवादी राजेन्द्र राय नेटुवालाई दिन ७ को म्याद जारी गरेकोमा सो म्याद मिति २०४३।३।२० मा तामेल भएकोमा म्यादभित्र हाजिर हुन नआई म्याद गुजारी फरार रहेको देखिन्छ । यस स्थितिमा अब जिरह गर्ने भन्ने कुरा निरर्थक हुन जाने हुन्छ ।

२८.    तसर्थ सरजमीनका व्यक्तिहरू तथा चस्मदिद देख्ने व्यक्तिहरू समेतको बकपत्र समेतका प्रमाणहरूको आधारमा प्रतिवादीहरू मोटर राय नेटुवा, राजेन्द्र राय नेटुवा, वैजनाथ राय नेटुवा र हिरालाल राय नेटुवा समेत जवान चार (४) ले मृतक जगदीश ठाकुरलाई लठ्ठीले समेत कुटपीट गरी मारेको ठहराएको म.क्षे.अ.को इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।७।२९ गतेको इन्साफ मनासिव ठहर्छ । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या. प्रचण्डराज अनिल

 

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय

२९.    प्रस्तुत मुद्दामा मेरो ध्यान अदालतको काम कारवाहीतर्फ गएको छ । त्यो हो वेतारिखको दिनमा अदालत जस्तो निकायबाट न्याय सम्पादनको क्रममा अपनाइएको प्रकृया जसको परिणाम स्वरुप वहुमतको रायबाट अभियुक्त गम्भीर सजायँको भागी हुन पुगेको छ ।

३०.    कानूनतः वेतारिखको दिनमा हुने अदालतको जुनसुकै काम कारवाही आफैंमा बदरभागी छ । त्यस्तो स्वतः बदर रहेको कृयाबाट उठान भएको साक्षि बक्ने बकाउने काम आधारविहिन हुन्छ, नभए सरह हुन्छ दुषित हुन्छ । अदालतको उक्त अमान्य साक्षि बकाउने कामलाई मुद्दाको सुनवाईको भाग भनेर (Admissible) ग्राह्य मान्न सकिन्न । सो जति दुषित भागलाई बाहेक गरी अन्य कुरा वा प्रमाणको भरमा मुद्दाको निरोपण हुन सक्दछ । यो सर्वमान्य प्रमाणको मूल्यांकन सम्बन्धी सिद्धान्त हो । त्यसमा पनि प्रमाण ऐनले साक्षिलाई आदरको स्थान दिएको छ र विधायिकाले साक्षि सम्बन्धमा यौटा सिंगो परिच्छेदको व्यवस्था गरी जिरहलाई सारवान अधिकारको रुप दिएको छ । जानाजान वा अन्जानमा त्रुटि अथवा भ्रम पर्न सक्ने साक्षिको कुरालाई ग्राह्य हुने प्रमाणको स्थानबाट पन्छाउन जिरह गर्न आउने अधिकारलाई सजिव रुपमा  राखिएको छ । यो कानूनको कानून बनाइएको होइन । यसमा मानवीय कमजोरीहरूबाट न्याय विचलित हुन नपुगोस् भनेर पारखको रुपमा व्यवस्था गरिएको भन्नु पर्ने हुन्छ । जिरहको अभावमा साक्षि बकाउने कार्य अधुरो तथा त्रुटियुक्त हुन्छ भनेर नै जिरह नभएको खण्डमा पनि अदालतले न्यायको रोहमा आफैं पनि साक्षिलाई प्रश्न गर्न सक्ने व्यवस्था भएको पाइन्छ । जुन प्रस्तुत मुद्दामा भएको पाइन्न । फौज्दारी मुद्दामा साक्षि बकाउने र जिरहको विशेष स्थान रहन्छ । प्राय फौज्दारी मुद्दा साक्षिको भरमा निरोपण हुन्छ । तसर्थ जिरहलाई सरसरती पन्छाउन मिल्दैन ।

३१.    जहाँसम्म फरार रहेको व्यक्तिबाट जिरह गर्ने गराउने प्रश्नै उठ्दैन भन्ने तर्कको सम्बन्धमा सो कुरा विषय प्रसंग भन्दा अलग हुन सक्दैन । मुद्दा हेर्ने प्रसंगमा अदालतले मुद्दालाई सम्पूर्ण रुपमा हेरेको हुन्छ र यस मुद्दामा हेरेको पनि छ । मुद्दाको जुनसुकै पक्षमा प्रवेश गरिएको पनि छ । अर्थात मुद्दामा अपनाइएको प्रकृया र काम कारवाहीको औचित्यलाई समेत दृष्टिगत गरी निष्कर्षमा पुगेको हुन्छ । यसर्थ जिरह मात्रको हक फरार रहेको भन्न मिल्दैन । कि त मुद्दै दोहर्‍याई हेरिनु हुँदैन । अब फरार रहेको व्यक्तिको हकमा जसले मुद्दाको पैरवी गरेको छ वा जहाँ कानून व्यवसायी रहेको छ । (कानून व्यवसायी नभए पनि फौज्दारी मुद्दामा वैतनिकबाट पनि अदालतले सहयोग लिई आएको छ ।) निजैबाट जिरह हुन नसक्ने देखिन्न, चाहेमा जिरह गर्न पाउनु पर्दछ ।

३२.    अब यसै प्रश्नमा अ.बं. १७ नं. पनि देखाइएको छ भनिएको छ । १७ नं. को सुविधाको प्रयोग नगरेपछि अहिले आएर जिरह गर्न पाइएन भन्न मिल्ने होइन । १७ नं. फौज्दारी मुद्दाको यस पक्षमा विबन्धित गर्दैन । कानून बमोजिमको प्रकृया (Due Process) अपनाउनु पर्ने कुरामा कतै शंका छ जस्तो मलाई लाग्दैन कानूनी प्रश्नमा विबन्धन लाग्दैन भनेर सर्वोच्च अदालतले सर्र्वथा मान्दै आएको छ । तसर्थ मुद्दाको अन्तिम तहसम्म जिरह गर्न पाउने अधिकारबाट अभियुक्तलाई बचिंत गराउन मिल्दैन । त्यस उपर अ.बं. १७ नं.लाई सरसरती हेर्दा पनि उक्त दफाले झन् माथिल्लो अदालतलाई थप अभिभारा सौपेको छ । मुद्दाको जुनसुकै तह र स्थितिमा काम कारवाही भए नभएको हेर्नु पर्ने र ठिक दुरुस्त नभएमा सच्याउने र सच्याउन लगाउने किटानी व्यवस्था गरेको छ । यसर्थ पक्षले कुनै आपत्ति नउठाए पनि अदालत आफैंले हेर्नु पर्ने र गर्नु पर्ने कुरा भन्ने विधायिकाको स्पष्ट मनसाय देखिन्छ ।

३३.    अतः वेतारिखका दिन साक्षि बके बकाएको काम कारवाही प्रमाणमा ग्राह्य नहुने हुंदा सो प्रमाणको आधारमा भएको निर्णय मनासिव भन्न मिल्दैन । सर्वोच्च अदालत डिभिजनबेञ्च लगायतको तल्लो अदालतहरूको निर्णय बदर हुन्छ । अब कानून बमोजिम पुनः शुरु कारवाही गरी निर्णय गर्नु भनी मिसिल शुरु जिल्ला अदालतमा पठाई दिनु पर्ने ठहर्छ ।

३४.    सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ सदर गरेको बहुमतको रायसंग सहमत नहुँदा आफ्नो छुट्टै राय व्यक्त गरेको छु ।

 

इति सम्वत् २०४४ साल चैत्र १८ गते रोज ५ शुभम् ।      

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु