शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७०९२ - गोली हानी हत्या ।

भाग: ४४ साल: २०५९ महिना: भाद्र अंक:

निर्णय नं.७०९२      ने.का.प.२०५९ अङ्क ५/६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ

संवत २०५० सालको फौ.पु.नं. .. २८५४

फौ.सा.नं. ...... २८०

फैसला मितिः २०५८।७।१६।५

 

मुद्दाः गोली हानी हत्या ।

 

वादी

पक्षः श्री ५ को सरकार

 

प्रतिवादी

विपक्षीः  शेर सिंह लिम्वु

 

पुनरावेदक

प्रतिवादीः पांचथर जिल्ला लिम्वा गा.वि.स. वडा नं. ७ घर भई शाही नेपाली सेना शाही रक्षक हवाई    सुरक्षा व्याट्री राजदरवारमा अमलदार पदमा कार्यरत हाल एै मा थुनामा रहेको शेर सिं लिम्वु

विरुद्व

विपक्षी

वादी मानवहादुर तामाङको जाहेरीले श्री ५ को सरकार

 

§  रक्सी खाएर शाही सेनाका केही जवान हो हल्ला गरेको कारणबाट उत्पन्न स्थानीय गाउंलेहरुसंगको विवादका वारेमा जिम्मेवार सैनिकले रक्सी सेवन गरेको अवस्थामा लोड गरेको वन्दुक लिई गाउंले युवा समात्न जाने कार्यलाई कदापी उचित र कानूनसम्मत मान्न नसकिने ।

§  मुलुकी ऐन ज्यान सम्वन्धीको ५ नं. मा ज्यान लिने इविलाग वा मनसाय नभै कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भै कुनै मानिस मर्न गएमा भवितव्य ठहर्छ भन्ने परिभाषा हुनाले सो परिभाषा भित्र प्रस्तुत अपराध पर्न नआउने ।

§  प्रतिवादी स्वयंले साविति भई गरेको वयान र त्यसबाट अपराधको तहकिकातको निरोपणमा सघाउ पुग्न गएको स्थितिलाई विचार गर्दा मुलुकी ऐन अ.व. १८८ नं. वमोजिम ७(सात) वर्ष मात्र कैद सजाय हुने ।

(प्र.नं. २७ र २८)

 

वादी तर्फबाटः

पुनरावेदक प्रतिवादी तर्फबाटः विव्दान अधिवक्ता श्री लिलामणी पौडेल

अवलम्वित नजिरः

 

फैसला

            न्या.ज्ञाइन्द्रबहादुर श्रेष्ठः पुनरावेदन अदालत पाटन ललितपुरको मिति ०५७।८।२० को फैसला उपर चित्त नवुझी प्रतिवादीको पुनरावेदन परिआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं ठहर निम्नप्रकार छ :

            २. का.जि.का.गोलढुंगा गा.वि.स. वडा नं. ४ मा पर्ने श्रीनागर्जुन मा.वि. जाने वाटोको चोकमा मिल जाने वाटो देखि ३ फिट फरक नागर्जुन जाने वाटोमा पानी वगेको ठाउँमा ३।३ इन्ची फरकमा वगेको पानीमा फायर भएको 9x19 MFS 93 लेखिएको फायर भएको खोका ३ र सोही नजिक पानी वाहिर मानिस हिड्ने वाटोतर्फ ३­४ इन्चको फरकमा 9x19 MFS 93 लेखिएको फायर भएको गोलीको ४ खोका समेत थान ७ गोलीको खोका भेटिएको सो गोलिको खोका देखि करिव डेढ फिट फरकमा ३ फिट सडकमा रगत आलो वगेको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति विवरण ।

            ३.    २०५४।१२।३१ गतेको वेलुका ९:४५ वजेको समयमा म खाना खान गइरहेको अवस्थामा ४।५ वटा गोली पडकेको आवाज आई मानिस मर्‍यो भन्ने सुनि दौंडदै जाँदा कृष्णकुमार लामालाई रक्ताम्मे अवस्थामा निजको आमा र श्रीमतीले घर तर्फ ल्याउँदै गरेको अवस्थामा गोली लाग्यो भनेकोले पिकप गाडीमा हाली म र अन्य गाउँका मानिस समेतले अस्पतालमा ल्याउना साथ मुत्यु भयो । ४।५ जना शाही नेपाली सेनाका मानिसले गोली हानेको भनेको भनि निजका भाईले भनेको सुनेको थिएँ भन्ने व्यहोराको राम लामाको कागज ।

            ४.    वा.अ.ख. ४३ नं. को पिकप गाडीमा गाउँमा जादैको अवस्थामा वेखु भन्ने ठाउँमा पुगेपछि जंगलतिर गोली पड्केको आवाज आएको थियो । मान्छे वोकेको देखि सोधपुछ गर्दा आर्मीले गोली हानी लाग्यो भनि भनेकाले घाईते कृष्ण कुमार लामालाई गाडीमा राखि उपचारकोलागि वीर अस्पताल पुर्‍याउँदा निजको मृत्यु भएको हो भन्ने व्यहोराको कमल घिमिरेको कागज ।

            ५.    २०५४।१२।३१ गते दिनरातको अं. २१.३० को समयमा मेरो छोरा कृष्णकुमार लामा गाउँमा हो हल्ला भएको सुनि हेरी आउँ भनि घरवाट वाहिर निस्की गएकोमा शाही नागार्जुन वन स्थित वुखु पोष्टमा वनको सुरक्षाको डृयुटी रेहेका सैनिकहरु र वेखुका केटा वीच वादविवाद भएको र छोरा त्यहाँ पुगी यसरी झगडा नगर तपाईहरु आफ्नो पोष्टमा जानुहोस भनि भन्दा त हामीसंग झगडा गर्न आएको हो भनेर निज सैनिकहरु हल्दार समेतले मेरो छोरालाई अनेकन गाली दिई वन्दुकद्वारा गोली हानी भागेको र मेरो छोरालाई उपचारार्थ वीर अस्पताल पुर्‍याउँदा मृत्यु भएको रहेछ । छोरालाई गोली हानी हत्या गर्ने सैनिकहरुको नाम थर थाहा छैन । निजहरु उक्त्त पोष्टमा भएकोले पक्राउ गरी कानून वमोजिम कारवाही गरिपाउँ भन्ने व्यहोराको जाहेरी दर्खास्त ।

            ६.    लाशको नाकको प्वालवाट मुखवाट रगत निस्केको वाँया गाला तर्फ वगेको माथिल्लो ओठमा स्यानो निलो घाउ भएको घांटी माथि देखि दाहिने गालामा गोली लागेको करिव १ इन्च गोलाई निलो घाउ देखिएको, सो गोली लागेको प्वालवाट आएको रगतले मृतकको कपाल घांटी समेत भिजेको गोली लागेको दाहिने गालाको घाउवाट आलो रगत निस्केको, जमिनमा झरेको भन्ने व्यहोराको लाश प्रकृति  मुचुल्का ।

            ७.    टाउकोमा गोली लागी सोही चोटवाट मृत्यु भएको हो भन्ने लाश जाँच प्रतिवेदन पत्र ।

८.    ५०।६० जना गाउले आइमाई केटाकेटी र अन्य मानिसहरु र हाम्रा साथी वीच झगडा हानाहान कुटाकुट भई रहवेको वेला म पुग्दा साथ ३ जना जति केटाहरु म भएको ठाउँमा आई मैले वोकेको शर्टगन खोस्न लाग्दा २ राउण्ड गोली व्लाङ फायर गरें ।साथीहरु तिर म भाग्दै गर्दा ९।१० जनाले हतियार खोस्न लाग्दा मैले व्लाङ फायर टिंगरमा हात लागाउँदा उक्त मानिसहरुले मेरो हात तानेकोले उक्त गनवाट गोली पडकेर कहाँ गयो थाहा भएन । उक्त घटनामा प्रहार भएका गोलीवाट एक जना मानिस मरेको भनि थाहा पाएको हुँ । पछि वुझदा गोली कृष्ण कुमार लामालाई लागेर उपचारार्थ वीर अस्पताल लैंजांदा निजको मृत्यृ भएछ भन्ने समेत व्यहोराको प्र.शेर सिंह लिम्वुले जिल्ला सरकारी वकिल समक्ष गरेको वयान ।

            ९.    २०५४।१२।३१ गतेको वेलुका १०.०० वजे तिर हल्ला भएकोले के हो भनि वुझ्दा वैंखु पोष्टका आर्मीहरु वीच झगडा हुँदा कृष्णकुमार लामालाई आर्मीहरुले प्रकार गरेको गोलीवाट घाईते उपचारार्थ विर अस्पताल लांदा मृत्यु भएको हो । वुझ्दा गोली हान्ने सेरवहादुर लिम्वु हुन् भन्ने थाहा पाएको हुँ भन्ने व्यहोराको प्रहरीमा गरेको जीवन लामाको कागज ।

१०.    वैखु पोष्टका ५।७ जना आर्मीहरु गाउँमा रक्सी खान भट्टीमा आएका अवस्थामा गाउँलेहरुसंग झगडा परेको र आर्मीहरुले गोली हानेको कृष्णकुमार लामालाई लागे पछि निजको मृत्यु भएको रहेछ गोली हान्ने शेर सिंह लिम्वु हुन् भन्ने थाहा पाएको हुँ भन्ने समेत व्यहोराका प्रहरीमा गरेको मंगल लामाको कागज ।

११.    वैखु पोष्टका आर्मीहरु तल गाउँ झरी रक्सी खाएर गाउँका चेलीवेटीहरुलाई जिस्काउने गरेको गाउंलेले निजहरुलाई सम्झाउँदा उल्टै झगडा गर्न निहुँ खोज्ने गरेको  र पोष्टवाट राईफल ल्याई कृष्णवहादुर लामालाई गोली प्रहार गरिएको हो । उक्त गोली प्रहार गर्ने शेर सिंह लिम्वु हुन् भन्ने समेत व्यहोराको प्रहरीमा गरेको कुमार लामाको कागज ।

            १२.   अरु आर्मी पनि आई साथमा वन्दुक ल्याए कृष्ण कुमार लामालाई अघि झगडा गर्ने यही हो भने पछि राईफल वोकेका व्यक्तिले निज भाइलाई लडाई गोली हानी उनीहरु वैखु पोष्टमा भागेछन् र भाइलाई उपचारको लागि वीर अस्पताल लगेकोमा उपचार गर्न नपाउँदै मुत्यु भएको हो । भाइलाई गोली हानी हत्या गर्ने शेर सिंह लिम्वु हुन् भन्ने कुरा पछि थाहा पाएको हुँ भन्ने समेत व्यहोराको प्रहरीमा धनवहादुर लामाको कागज ।

१३.   रगत, गोली समेतको परीक्षण प्रतिवेदन मृतकको आमा र श्रीमती घरमा नभएकोले फेला नपरेको भन्ने प्रहरीको प्रतिवेदन पत्र ।

१४.   प्रतिवादी शेरवहादुर लिम्वुले प्रहार गरेको गोलीको चोट पीडावाट मृतक कृष्ण कुमार लामाको मृत्यु भएको भन्ने कुरा पोष्टमार्टम रिपोर्टवाट देखिएको अवस्था समेतवाट प्रतिवादी शेर सिंह लिम्वु उपर मुलुकी ऐन ज्यान सम्वन्धी महलको १ नं. को कसूर अपराधमा ऐ महलको १३ (१) नं. वमोजिम सजाय हुन माग दावी लिई अदालतमा प्रस्तुत गरिएको प्रहरीको अभियोग पत्र ।

            १५.   मैले जानी जानी निज मृतक कृष्ण कुमार लामालाई गोली हानी हत्या गरेको होइन। मेरो मृतकसंग झगडा परेको होइन र निजसंग मेरो चिनजान पनि थिएन । मैले जानी जानी मान्छे मार्ने भनि गोली चलाएको नभई हतियार र आफ्नो सुरक्षाको लागि हवाई फायर गर्न खोज्दा गोली लागी भवितव्य परी निज मृतकलाई लाग्न गई निजको मृत्यु भएको हो । यस कारण मलाई अभियोग दावी वमोजिम सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी शेर सिंह लिम्वुले अदालतमा गरेको वयान ।

            १६.    अ.वं. ११८ को देहाय २ आकर्षित हुँदा थुनामा राखी मुद्दा पुर्पक्ष गर्नु पर्ने हुँदा प्रतिवादी वहालवाला सैनिक भएको हुँदा र सैनिक ऐन, २०१६ को दफा ६१ वमोजिम सैनिक अदालतवाट नहेरिने अवस्थाको मुद्दा हुँदा सैनिक ऐन, २०१६ यी प्रतिवादीलाई सैनिक हिरासतमा राख्न पठाई दिने गरी  अ.वं. १२४ ग नं. वमोजिम यो आदेश पर्चा खडा गरि दिएं । जाहेरावाला प्रहरीमा तत्काल कागज गर्ने व्यक्तिहरु  जि.स.व. कार्यालय मार्फत र प्रतिवादीका साक्षी कानून वमोजिम गरी एकै दिन पारी झिकाई साक्षी वुझ्न नियम वमोजिम गरि पेश गर्नु भन्ने आदेश ।

१७.   अदालतवाट वुझिएका धनवहादुर र मृतकका वावु मानवहादुर तामाङको वकपत्र तथा प्रतिवादीका साक्षीहरुले आफ्नो पक्षको मिलान गरी वकेको वकपत्र मिसिल सामेल रहेछ ।

१८.   संभावित परिणामको प्रतिवादीलाई जानकारी हुन नसक्ने अवस्था प्रस्तुत मुद्दामा नदेखिंदा अभियोग माग दावी वमोजिम निज प्रतिवादीले कसूर गरेको ठहर्छ । निजलाई ज्यान सम्वन्धी १३(१) नं. वमोजिम सर्वश्वसहित जम्मकैदको सजाय हुने ठहर्छ । प्रतिवादी र मृतक कृष्णकुमार लामा वीच ज्यान लिनु पर्ने सम्मको इवि लाग वा मनसाय देखिदैन । निज मृतकलाई नै भनि प्रतिवादीले गोली चलाई निज कृष्ण कुमारको मृत्यु भएको अवस्था नदेखिई अपराध गरेको अवस्था विचार गर्दा प्रतिवादीलाई ज्यान सम्वन्धीको १३(१) नं. वमोजिम सर्वश्वसहित जन्मकैदको सजाय गर्दा चर्को हुने देखिई घटी सजाय हुनु पर्ने लागेकोले अ.वं. १८८ नं. वमोजिम निजलाई ५ वर्ष कैदको सजाय हुनुपर्ने राय समेत दिइएको छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतवाट २०५६।७।१८ मा भएको फैसला ।

१९.    म र मृतक वीच कुनै पूर्व चिनजान नभएको मृतकसंग पूर्व र तत्काल समेत कुनै रिसईवि नभएको, मैले मृतकलाई वा अन्य कसैलाई समेत मारौं भन्ने मनसाय नभएको,मैले आफैले मृतकलाई ताकेर वा अन्धाधुन्ध रुपमा गोली प्रहार समेत नगरेको केवल वन्दुकको सुरक्षा गर्ने र वन्दुक खोस्ने भई तानातान हुँदा गोली लोड भएको वन्दुकको ट्रिगरमा मृतकको हात पर्न गै मृतकको कन्चटमा गोली लाग्न गएको कुरा घटनास्थल प्रकृति लाश जाँच प्रकृति एवं मेरो वयान तथा प्रत्यक्षदर्शी व्यक्तिहरुको वकपत्र समेतवाट पुष्टि भैरहेको अवस्थामा उल्लेखित वारदात मुलुकी ऐन, ज्यान सम्वन्धीको ५ नं. अन्तर्गतको भएको हुँदा सोही ऐनको ६ न. मेरो हकमा आकर्षित हुन पर्नेमा कर्तव्य ठहर गरि भएको शुरु का.जि.अ.को मिति २०५६।७।१८ को फैसला त्रुटिपुर्ण भएकोले सो फैसला वदर गरि मेरो कावु वाहिरको परिस्थितिवश भएको उल्लेखित वारदात पूर्णत : मुलुकी ऐन ज्यान सम्वन्धी ५ नं. अनुसारको हुँदा ऐ ६ नं. अनुसार सजाय गरिपाउँ भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादीको पुनरावेदन पत्र ।

२०.   यसमा जाहेरीमा प्रतिवादीले चलाएको गोलीवाटै मृत्यु भएको भन्ने कुरा प्रष्ट नखुलेको र प्रतिवादी शेर सिंह लिम्वुले मौकामा गरेको वयानमा वन्दुक वोकेको हात तातातान भएको अवस्था गोली चलेको कारणले मृत्यु भएको भनि वयान गरेको देखिंदा ज्यान सम्वन्धीको १३(१) को कसूर कायम गर्ने गरेको शुरु का.जि.अ.को इन्साफ विचारणीय हुँदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ को नियम ४७ वमोजिम छलफलका लागि विपक्षी श्री ५ को सरकार सरकारी वकिल कार्यालयलाई पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०५७।२।३१।३ को आदेश ।

२१.   यसमा प्रतिवादीलाई शुरु जिल्ला अदालतवाट सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर फैसला भएको देखिएकोमा निज प्रतिवादीको अंश रोक्का रहेको नदेखिंदा कानून वमोजिमको अंश रोक्का राखी नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

२२.   पोष्टमार्टम रिपोर्टवाट अनुहारको दायाँ भागको गिजाको भागवाट गोलि छिरेको अवस्था देखिंदा प्रतिवादी शेर सिंह लिम्वुको कार्यवाट नै ज्यान सम्वन्धी १३(१) अवस्था पुष्टि हुन आएकोले सर्वश्वसहित जन्मकैद ठहराएको जिल्ला अदालतको फैसला मनासिव ठहर्छ । तर सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिएकोले अ.वं. १८८ नं. वमोजिम १० वर्ष मात्र कैद सजाय हुनुपर्ने देखि साधक जाहेर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५७।८।२० को फैसला ।

२३.   पु.वे.अ. को फैसलामा चित्त वुझेन भन्ने प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन

            २४.   नियम वमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फवाट वहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री लिलामणी पौडेलले मेरो पक्ष प्रतिवादीलाई ज्यान सम्वन्धी महलको १३(१) नं. वमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालतकोे इन्साफ मिलेको छैन । घटनाको अवस्था र प्रकृतिवाट मेरो पक्षले मृतकलाई मार्न नै मनसाय राखि फायर गरेको भन्ने नभई भैरहेको झगडा होहल्लालाई शान्त पार्ने उद्देश्यवाट आकास तर्फ फायर गरेको अवस्थामा भवितव्य परि ज्यान मर्न गएकोले भवितव्य वमोजिम सजाय हुनु पर्ने अवस्था छ भनि गर्नु भएको वहस जिकिर समेत सुनियो ।

            २५.   प्रस्तुत मुद्दामा पुनरावेदन अदालतले गरेको इन्साफ मिलेको छ छैन ? सो सम्वन्धमा इन्साफ दिनु पर्ने देखिन  आयो ।

२६.   यसमा प्रतिवादीको पुनरावेदन परी आएकोले सोहीवाट विचार हुने हुँदा साधकको लगत कट्टा गरी दिनु ।

२७.   मिसिल संलग्न कागजातहरु अध्ययन गर्दा झगडाको शुरुवात वैखु पोष्टका केही ५, ७ जना आर्मी जवानहरु का.जि. गोलढुंगा गा.वि.स. वडा नं. ४ स्थित रक्सी भट्टीमा आई रक्सी खान थालेका र सोही रक्सी भट्टीमा वैखु क्षेत्रका केही युवकहरु र सैनिक आर्मी वीच झै झगडा हुन गई सोही अवस्था मृतक कृष्णकुमार लामा (तामाङ) लाई गोली लाग्न गई उपचारार्थ वीर अस्पताल लगेकोमा अस्पालमा मृत्यु हुन गएको भन्ने देखिन आएको छ । मृतक कृष्ण कुमार लामा (तामाङ) को वावु जाहेरवाला मानवहादुर तामाङको जाहेरी दरखास्त हेर्दा शाही नागार्जुन वन (रानी वन) स्थित वैखु पोष्ट वनको सुरक्षार्थ डियुटीमा खटी आएका सैनिकहरु र वैखु क्षेत्रका केटाहरु वीच वादविवाद हुँदा छोरालाई गोली हानी सख्त घाईते पारी भागी गएको र अस्पतालमा पुर्‍याउँदा छोराको मृत्यु हुन गएकोले आर्मीहरुलाई कारवाही गरिपाउँ भन्ने घटनाको भोली पल्ट जोहरी दिएको देखिन आएको छ । प्रतिवादी शेर सिंह लिम्वुको अदालतमा भएको वयान हेर्दा सुरक्षाको लागि एउटा एम.जि. गन लिएर घटनास्थल तर्फ छिटो भन्दा छिटो गएको, गन लोड भएको हतियार खोल्नु पर्छ भनि ३ जनाले समातेर घचेटेर लडाई दिएको, हतियार तान्न लागेको , हतियार खुस्काउन लागिसकेको हुँदा २ राउण्ड हवाई फायर गरेको हो । त्यसपछि आफूलाई छाडि दिएको र आफू भाग्दा धेरै जनाले समातेर लडाएको हतियार तान्न लागेको, केही जोड नचले पछि हतियार खोस्न नदिन र आफू समेत जोगिन हवाई फायर गर्न लाग्दा गाउँले केटाहरुले समेत हतियार तानी रहेको हुन कहाँ लाग्न गयो केही थाहा भएन मैले मार्न भनि गोली हानेको होइन भनि वयान गरेको देखिन्छ । ड्यूटीमा रहेको अभियुक्तलाई गोली सहितको गन लिएर जान निज भन्दा माथिको अधिकृतले खटाएको देखिदैन । घटनाको प्रकृति हेर्दा ड्यूटीमा रहेको व्यक्ति कर्तव्यपालनको सिलसिलामा त्यसरी जानुपर्ने अवस्था सिर्जना भएको पनि देखिंदैन । निजले अदालतमा गरेको वयानबाट निजसंग वन्दुक रहेको र निजसंग रहेको वन्दुकको फायरबाट मृतक कृष्णकुमारको मृत्यु भएको भन्ने देखिन्छ । निज शेरसिंह लिम्वुले रक्सी सेवन गरेको समेत देखिन आएको छ । यसरी रक्सी खाएर शाही सेनाका केही जवान हो हल्ला गरेको कारणबाट उत्पन्न स्थानीय गाउंलेहरुसंगको विवादका वारेमा जिम्मेवार सैनिकले रक्सी सेवन गरेको अवस्थामा लोड गरेको वन्दुक लिई गाउंले युवा समात्न जाने कार्यलाई कदापी उचित र कानूनसम्मत मान्न सकिएन । लोड भएको वन्दुक फायर भएको अवस्थामा व्यक्तिको मृत्यु हुन सक्छ भन्ने जो कसैलाई पनि जानकारी हुने अवस्था छ र निजले चलाएको गोलीवाटै मृतकको मृत्यु हुन गएको देखिन आएको छ । प्रतिवादी शेरसिंह लिम्वु वाहेक अन्य व्यक्तिको फायर चोटबाट मृतक कृष्णकुमार लामाको मृत्यु हुन गएको भन्ने कुरा मिसिल संलग्न कागजबाट देखिन आएको छैन । मुलुकी ऐन ज्यान सम्वन्धीको ५ नं. मा ज्यान लिने इविलाग वा मनसाय नभै कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भै कुनै मानिस मर्न गएमा भवितव्य ठहर्छ भन्ने परिभाषा गरेको देखिन्छ । सो परिभाषा भित्र प्रस्तुत अपराध पर्न आउने देखिदैन । अतः प्रतिवादी शेरसिंह लिम्वुलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(१) नं. वमोजिम सर्वश्वसहित जन्मकैदको सजाय गरेकोलाई पुनरावेदन अदालत पाटनले सदर गरेको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्छ ।

            २८.   प्रतिवादी शेरसिंह लिम्वुलाई अ.वं. १८८ नं. वमोजिम १० वर्ष मात्र सजाय हुनुपर्ने भनी पुनरावेदन अदालतले लगाएको राय सम्वन्धमा विचार गर्दा झगडाको स्थितिलाई हेर्दा मृतक कृष्णकुमार लामा (तामांग) लाई अभियुक्त शेर सिंहले मार्नु पर्ने सम्मको पूर्व रिसइवी देखिन नआएको र सैनिक जवान र गाउंले केटाहरु वीच झगडा चली धेरै हुल भई असामान्य स्थिति हुन गएको अवस्थामा फायर भएको गोली मृतकलाई लाग्न गै मृत्यु भएको देखिंदा प्रतिवादी शेरसिंह लिम्वुलाई सर्वश्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्ने देखिन आउंछ । प्रतिवादी स्वयंले साविति भई गरेको वयान र त्यसबाट अपराधको तहकिकातको निरोपणमा सघाउ पुग्न गएको स्थितिलाई विचार गर्दा मुलुकी ऐन अ.व. १८८ नं. वमोजिम ७ (सात) वर्ष मात्र कैद सजाय हुने ठहर्छ । अरुमा तपसिल वमोजिम गर्नु ।

 

तपसिल

 

माथि इन्साफ खण्डमा लेखिए वमोजिम पु.वे. प्रतिवादी शेर सिं लिम्वुलाई ७ (सात) वर्ष मात्र कैद सजाय हुने ठहरेकोले शुरु जि.अ.ले सर्वश्वसहित जन्मकैदको लगत कायम गरेको देखिंदा उक्त लगत कायम नरही कट्टी हुने हुँदा शुरु जि.अ.ले राखेको लगत कट्टा गरी कैद वर्ष ७ (सात) को कैद अवधिको लगत कायम गरी सो वमोजिम असुल उपर गर्नु भनि शुरु जिल्ला अदालतमा लेखि पठाउनु..............१

फैसलाको जानकारी प्रतिवादी हाल थुनामा रहेको सम्वन्धित कारागारमा लेखि पठाई दिनु....१

मिसिल नियम वमोजिम गरी वुझाई दिनु.....१

 

उक्त रायमा सहमत छु ।

                       

न्या.केदारनाथ उपाध्याय

 

इति सम्वत् २०५८ साल कार्तिक १६ गते रोज ५ शुभम्............. ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु