शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३३९१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: ३० साल: २०४५ महिना: असार अंक:

निर्णय नं. ३३९१ ने.का.प. २०४५     अङ्क ३

 

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४३ सालको रि.नं. २२५३

आदेश भएको मिति : २०४५।१।१०।६ मा

 

रिट निवेदक : तनहुँ गा.पं. पुरकोट गाउँ वडा नं. ९ बस्ने तिलाराम ढकालसमेत

विरुद्ध

विपक्षी : श्री पश्चिमाञ्चल क्षे.अदालत पोखरा श्री तनहुँ जिल्ला अदालतसमेत

 

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

 

(१)                  लिलाम सम्बधी मिसिल उजूर गर्ने म्यादभित्र तामेलीमा राख्दैमा ऐनले पक्षलाई उजूर गर्न पाउने सुविधा प्रदान गरेकोलाई समाप्त गरियो भन्न नमिल्ने ।

(प्रकरण नं.  ११)

 

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा

प्रत्यर्थीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा

 

आदेश

प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ :

२.     निवेदक मणी प्रकाश वादी र प्रत्यर्थी नेत्रबहादुर कामी, गंगामाया कमिनी, दानबहादुर कामी, पदमबहादुर कामी समेत प्र.भई तनहूँ जिल्ला अदालतमा चलेको लुटपीट मुद्दामा मिति २०३९।८।८।३ मा  फैसला हुँदा मैले बिगो रु.९९०। भरी पाउने ठहरी फैसला भयो । उक्त फैसला उपर प्रत्यर्थी प्रतिवादीहरूको अं.अ. मा पुनरावेदन परेकोमा शुरु जिल्ला अदालतलाई नै समर्थन गरी मिति ०४१।९।६ मा फैसला भयो । प्रतिवादीहरूले मैले भरी पाउने बिगो नबुझाएकोले बिगो भरी पाउन पुरकोट कुडापानी गा.पं. वडा नं. ५ को कि.नं.२६७ को ६३ देखाई मिति ०४२।५।५ मा निवेदक मणी प्रकाशले तनहुँ जिल्ला अदालतमा दर्खास्त दिएकोले प्रतिवादीहरूका नाममा ३५ दिने सूचना पठाइएकोमा प्रतिवादी मध्येका नेत्रबहादुर आफैंले बुझी अन्य प्र. को नामको म्याद सम्बन्धित वडाहरूको मानिस र गा.पं.स. रोहवरमा राखी घर दैलामा अ.बं. ११० नं. बमोजिम रीत पूर्वक टाँसिएको तथ्यलाई ०४२।५।२१ को म्याद तामेलले सिद्ध गर्दछ । उक्त म्याद तामेल भएपछि पनि बिगो बुझाउन नल्याएकोले दर्खास्तमा देखाएको कि.नं.२६७ को जग्गा मिति ०४२।११।२२ मा तायदात भई आए बमोजिम ०४३।१।९ मा जग्गाको मूल्यांकन गर्दा रु.९०००।मूल्यांकन समेत भई मिति ०४३।२।२५ मा लिलामको तारिख समेत तोकियो । उक्त तोकिएको मितिको लिलाममा निवेदक मध्ये म तिलारामले रु.९०२५। मा लिलाम सकार गरे बमोजिम निवेदकलाई अलग पुर्जी तथा उक्त लिलामबाट प्राप्त भएको कि.नं.२६७ को जग्गाधनी प्रमाणपूर्जा समेत प्राप्त गरी सकेको छु । लिलामको सम्पूर्ण काम समाप्त भएपछि हामी निवेदकहरूको नाममा क्रमशः मिति ०४३।११।६ र ०४३।१०।५ मा बुझेको म्यादमा मिति ०४३।२।२५ मा भएको लिलामको सम्पूर्ण काम कारवाही आदेश चलानी पुर्जी समेत प्रत्यर्थी पश्चिमाञ्चल क्षे.अ.बाट बदर गरिएको व्यहोरासंग अवगत भएकोले सम्मानीत अदालतमा निवेदकहरूले यो निवेदन प्रस्तुत गरेका छौं ।

३.     मिति ०४३।२।२५ मा लिलामको कार्य समाप्त भई मिति ०४३।२।३० का तामेलीमा राख्ने आदेश समेत भइसकेको छ लिलामको कार्य अन्तिम रुपमा टुंगो लागि सकेपछि उक्त लिलामको सम्बन्धमा प्रत्यर्थीहरूले लिलाम बदर गर्न अ.बं. ८६ नं. लगायत २०८ नं. को बाटो नअपनाई अ.बं. १७ नं. को बाटो अपनाई भएको आदेश त्रुटिपूर्ण भई बदरभागी छ अ.बं. ७८ नं. अन्तिम भइरहेको विषयमा आकर्षित हुँदैन । लिलाम सम्बन्धी सम्पूर्ण कारवाही सकिएको अवस्थामा अ.बं. १७ नं. को अधिकार क्षेत्र ग्रहण गरी प्रत्यर्थी श्री प.क्षे.अ. ले मिति ०४३।२।२५ को लिलाम तथा चलन पुर्जी लगायत सम्पूर्ण कारवाही आदेश बदर गरेको अ.बं. १७ नं. को प्रतिकूल छ । दण्ड सजायँको ६१ नं. बमोजिम १५ दिनभित्र नै उजूरी परेको भन्ने आधार लिई मिति ०४३।३।८ मा निवेदन परेकोमा उक्त निवेदन उपर जिल्ला न्यायाधीशले कारवाही नगरेको भन्ने आधारबाट लिलामको कार्य बदर गरिएको छ । दण्ड सजायँको ६१ नं. ले फैसला कार्यान्वयन हुँदाको अवस्थामा मात्र उजूर गर्ने हक प्रदान गरेको छ । त्यस्मा पनि म्याद तामेल भएको मितिले १५ दिनभित्र उजूरी समेत छैन । तसर्थ लिलामको सबै कार्यलाई प्रत्यर्थीहरूले चित्त बुझाई बसेको अवस्थामा जिल्ला न्यायाधीशबाट लिलामको वैद्यता देखाई फैसला सरह तामेलीमा राखी सकेको अवस्थामा पुनः जि.न्या. ले तहकिकात गर्न नमिल्ने दण्ड सजायँको ६१ नं. तथा जिल्ला अदालत नियमावलीको २०३४ को नियम ६८, ६९ को बनौटले प्रष्टतः देखाई रहेकोले उक्त नियमको समेत प्रतिकूल हुने गरी श्री प.क्षे.अ. बाट आदेश भएको छ । यस्तो अनधिकृत आदेशको आधारमा एकपटक टुंगिएको लिलाम सम्बन्धी कार्यलाई पुनः कारवाहीको रुपमा ल्याएको गैरकानूनी भएकोले हामी उपर प्रत्यर्थी जिल्ला अदालतले म्याद काट्ने लगायत शुरुले गरेको सम्पुर्ण काम कारवाहीको आदेश बदरभागी छ । अतः उत्प्रेषणको आदेश जारी गरी प्रत्यर्थी श्री प.क्षे.अ. बाट भएको मिति ०४३।९।११ को आदेश तथा निर्णय र उक्त आदेशको आधारमा श्री तनहुँ जिल्ला अदालतले शुरु गरेको काम कारवाही बदर  गरी मिति ०४३।२।२५ मा तनहुँ जिल्ला अदालतबाट भएको लिलाम तथा मिति २०४३।२।२० को लिलामको तामेली आदेश तथा उक्त लिलाम सम्बन्धी भएका काम कारवाही यथावत राखी अन्य जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर ।

४.     विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलाशको मिति २०४३।११।२०।४ को आदेश ।

५.     यस अदालतबाट भएको लिलाम र तामेली आदेश उपर प्रतिवादी पदमबहादुर कामीको श्री पश्चिमाञ्चल क्षेत्रीय अदालतमा निवेदन परी सो निवेदनमा उक्त अदालतबाट माग भई आएको कैफियत प्रतिवेदन आदेश बमोजिम कैफियत प्रतिवेदन गरी पठाएकोमा सो कैफियत प्रतिवेदनमा श्री पश्मिाञ्चल क्षे.अ.बाट मिति ४३।९।११ मा तनहुँ जिल्लाअदालतको लिलाम सम्बन्धी लिलाम र तामेली आदेश सहितका सम्पूर्ण कारवाही बदर गरिदिएको छ अ.बं. ६१ नं. ऐन बमोजिम जिल्ला न्यायाधीशले हेरी कानून बमोजिम गराउनु होला भन्ने आदेशानुसार यस अदालतबाट बिगो दायरीमा दर्ता गरी वादी दर्खास्तवालालाई ७ दिने म्याद जारी गरी पठाएको र प्रतिवादीहरूलाई बिगो रु.९९०।लिई आउनुहोला भनी ३५ दिने म्यादसमेत जारी गरी पठाइएकोमा प्रतिवादीहरूले बिगो रु.९९०। मिति ०४३।१०।२८ मा यस अदालतमा दाखिल गरी धरौटीमा रहेको र सकार गर्ने तिलारामलाई जनाउ म्याद समेत जारी गरिएको हुँदा प.क्षे.अ. को आदेशानुसार समेत भइरहेको कारबाही कानून अनुरुप नै हुँदा विपक्षीको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत तनहुँ जिल्ला अदालतको लिखितजवाफ ।

६.     यसमा दलबहादुर कामी समेतले लिलाम सम्बन्धी आदेश बदर गरिपाउँ भनी यस अदालतमा दिएकोमा मिति ०४३।२।२५ को लिलामी कारवाही सम्बन्धमा मिति ०४३।३।८ मा जि.न्या. समक्ष म्यादभित्र उजूर गरेको देखिँदा तहकिकात गर्नु पर्नेमा १५ दिन नघाई उजूरी परेको भनी सो उजुरी निवेदन तामेलीमा राखी लिलाम सकार्ने व्यक्तिलाई चलन पुर्जी गरिदिने गरी तनहुँ जिल्ला अदालतबाट भएको तत्सम्बन्धी सम्पूर्ण वेरितको काम कारवाहीहरू बदर गरिदिएको छ । निवेदकको मिति ०४३।३।८ को निवेदनमा अ.बं.६१ नं.बमोजिम जि.न्या.ले हेरी कानूनबमोजिम गर्नुगराउनु होला भन्ने न्यायाधीश ज्यूको टिपोट किताब हेर्दा देखिएकोले निवेदकहरूको निराधार निवेदन खारेज गरिपाउन सम्मानीत अदालत समक्ष सादर अनुरोध गर्दछु भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको लिखितजवाफ ।

७.     श्री प.क्षे.अ. को आदेशमा चित्त नबुझे मुलुकी ऐन अ.बं. १७ नं. अनुसार श्री सर्वोच्च अदालतमा निवेदन दिन सक्ने कानूनी बाटो हुँदा हुँदै रिट जारी गरिपाउँ भनी दिएको निवेदनबाट रिट जारी हुन सक्दैन । अतः रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत पद्मबहादुर कामी, दानबहादुर कामी, गङ्गमाया कमिनी, नेत्रबहादुर कामी, दलबहादुर कामी, समेत ५ जनाको संयुक्त लिखितजवाफ ।

८.     रिट निवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री शम्भु थापाले रिट निवेदक तिलारामले ०४३।२।२५ मा लिलाममा सकारी लिई सकेकोमा चित्त नबुझे अ.बं. ८६ नं. २०८ नं. को कार्य अपनाउनु पर्ने हुन्छ । अ.बं. १७ नं. बमोजिमको बाटो अपनाई लिलाम बदर गरेको आदेश त्रुटिपूर्ण हुँदा बदरभागी छ भन्ने समेत बहस गर्नुभयो । प्रत्यर्थी अदालतहरू तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्माले अ.बं. १७ नं. अनुसार परेको उजुरीको आधारमा लिलामबदर गरेको आदेशमा कुनै त्रुटि छैन भन्नेसमेत बहस गर्नुभयो ।

९.     आज निर्णय सुनाउन तोकिएको प्रस्तुत रिट  निवेदनमा निवेदकको माग अनुसारको आदेश जारी हुनु पर्ने होइन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएकोछ ।

१०.     यसमा निर्णयतर्फ हेर्दा मिति ०४३।२।२५ मा लिलाम हुँदा निवेदक तिलारामले सकार गरी लिएकोमा विपक्षीले अ.बं. १७ नं. अन्तर्गत उजूर गरेकोबाट लिलाम बदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय समेत त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर देखिन्छ ।

११.     तहसिलदारले लिलाम गर्ने कार्य पुरा गरी सकेपछि दण्ड सजायँको ६१ नं. को हदम्याद भित्र उजूर गरेको देखिन्छ । लिलाम सम्बन्धी मिसिल उजूर गर्ने म्यादभित्र तामेलीमा राख्दैमा ऐनले पक्षलाई उजूर गर्न पाउने सुविधा प्रदान गरेकोलाई समाप्त गरियो भन्न मिल्ने देखिँदैन । तसर्थ म्याद भित्रको उजूरी परेको भनी लिलाम बदर गरी पुनः कानून बमोजिम गर्नु भनी पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको आदेश निर्णयलाई त्रुटिपूर्ण भन्न सकिने स्थिति नहुँदा निवेदकका माग अनुसारको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या. गजेन्द्रकेशरी बास्तोला

 

 

इति सम्वत् २०४५ साल बैशाख १० गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु