निर्णय नं. ७०९९ - कर्तव्य ज्यान ।

निर्णय नं.७०९९ ने.का.प.२०५९ अङ्क ५.६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
सम्वत् २०५८ सालको फौ.पु.नं...२५१५
सम्वत् २०५९ सालको फौ.साधक नं.४२२
फैसला मितिः २०५९।२।२।५
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक
प्रतिवादीःजिल्ला सोलुखुम्वु, गा.वि.स. गोराखानी वडा नं. ४ घर भै सोलुखुम्वु कारागार शाखामा थुनामा रहेको नुर्वु शेर्पा
बिरुद्ध
प्रत्यर्थी
वादीः नाम्खा शेर्पाको जाहेरीले श्री ५ को सरकार
वादीः नाम्खा शेर्पाको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादीः जिल्ला सोलुखुम्वु गा.वि.स. गोराखानी वडा नं. ४ घर भै सोलुखुम्वु कारागार शाखामा थुनामा रहेको नुर्वु शेर्पा
§ वलिरहेको दाउराले टाउको जस्तो संवेदनशील अंगमा दुईतीन पटक प्रहार गरी मृतकको मृत्यु भएको अवस्थामा रक्षा शिक्षा गर्नेले मर्नेको हितको निमित्त कुटपिट गर्दा भवितव्य भै मृत्यु भएको मान्न नमिल्ने भै मर्नेको हितको निम्ति कुटपिट गर्दा मृत्यु भएकोले ज्यान सम्वन्धीको ६(३) वमोजिम हुनुपर्ने भन्ने प्रतिवादीको जिकिर मनासिव देखिन नदेखिने ।
(प्र.नं. २१)
पूनरावेदक प्रतिवादी तर्फबाटः
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या.अरविन्दनाथ आचार्यः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम पुनरावेदन अदालत राजविराजको मिति ०५७।११।१ को फैसला उपर यस अदालतमा प्रतिवादीको पुनरावेदन पर्न आएको र साधक जांचको लागि समेत दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।
२. मिति २०५६।९।२१ गतेका दिन मेरो जेठान दाजु नुर्वु शेर्पा मलाई वोलाउन आएको हुंदा म र काजी शेर्पा समेत नुर्वु शेर्पाको घरमा पुग्दा घरको माथिवाट निज नुर्वु शेर्पाको श्रीमती रगतम्य मृत अवस्थामा रहेको र सोहि ठाउंमा कामी शेर्पा समेत सख्त घाइते अवस्थामा रहेको हुंदा निज कामी शेर्पालाई मृतक कान्छी शेर्पाको मृत्यु के कसरी भयो भनि सोधनी गर्दा उक्त मितिको विहान म नुर्वु शेर्पाको घरमा आउदा श्रीमान श्रीमती दुवै जना झगडा गरि रहेका थिए । सोहि अवस्थामा निज नुर्वु शेर्पाले अगेनामा वलिरहेको अगुल्टोले निर्मम तरिकावाट श्रीमतीलाई कुटपिट गर्न लागे म छुट्याउन जांदा म समेत घाइते भएं । मृतक कान्छी शेर्पाको के कुन अवस्थामा मृत्यु भयो मलाई थाहा भएन भनि भनेकाले मृतक कान्छी शेर्पालाई नुर्वु शेर्पाले कर्तव्य गरी मारेको हो । कानून वमोजिम कारवाही गरी पाउं भन्ने समेत व्यहोराको नाम्खा शेर्पाको मिति २०५६।९।२२ को जाहेरी दरखास्त ।
३. मृतकको अनुहार सम्पूर्ण रगतले भिजेको टाउको तथा अनुहारको सम्पूर्ण भाग सुनिएको, दाहिने पट्टिको कानको माथि टाउको भागमा अं ४ इन्च लम्वाई गहिराई नाप्न नसकिने चोट र घुच्चुकको टाउको पछाडिको भागमा अं. ३.१/२ इन्च लम्वाई गहिराई नाप्न नसकिने चोट भएको र मृतक लास नजिक मृतकलाई प्रहार गरेको दाउरामा रगत तथा कपाल लागेको अवस्थामा फेला परेको भन्ने समेत व्यहोराको लास प्रकृति मुचुल्का ।
४. मिति २०५६।९।२१ गतेका दिन म घरमा नै रहेको अवस्थामा कामी शेर्पा मेरो घरमा रगताम्य अवस्थामा आई नुर्वु शेर्पाले श्रीमतीलाई कुटपिट गरेकोमा मैले छुट्याउन जांदा मलाई समेत घाइते वनाई दिए भनेको हुंदा म समेत नुर्वु शेर्पाको घर गई नुर्वु शेर्पालाई तिमीले किन कामी शेर्पालाई कुटपिट गरेको भनि सम्झाउदै गरेको अवस्थामा नुर्वु शेर्पाको आमाले भित्र हेर्न आइज भनि वोलाएको हुंदा हेर्न जांदा कान्छी शेर्पा रगताम्मे मृत अवस्थामा रहेकी हुंदा मृतकलाई नुर्वु शेर्पाले कुटपिट गरी मारेको हो भन्ने समेत व्यहोरा वुझिएको मानिस देण्डी शेर्पाले गरी दिएको कागज ।
५. मिति २०५६।९।२१ मा म नुर्वु शेर्पाको घरमा गएकी थिएँ, तहां पुगेपछि म, नुर्वु शेर्पा, कान्छी शेर्पा र लेमी शेर्पा समेत वसी जाँड खाएर वस्यौ त्यत्तिकैमा नुर्वु शेर्पाले श्रीमती कान्छी शेर्पालाई किन यतिखेर सम्म जोप्केहरु नफुकाएको जाँड खाएर मातेर वसेको भनि गाली गरी लातले छातीमा र पेटमा हिर्काई लडाई त्यसपछि चुल्होवाट वल्दै गरेको आगोको अगुल्टोले निर्मम तरिकावाट टाउकोमा प्रहार गर्न थाले । यसरी नकुट भनि मैले छुट्याउन जांदा मलाई समेत सोहि दाउराले प्रहार गरी सख्त घाइते वनाए । मृतक कान्छी शेर्पाको मृत्यु नुर्वु शेर्पाले कुटपिट गरेकै कारण मृतक कान्छी शेर्पाको मृत्यु भएको हो भन्ने समेत व्यहोराको चश्मदित, व्यक्ति कामी शेर्पाले गरि दिएको कागज ।
६. मृतकको मृत्यु टाउकोमा भएको चोटको कारणवाट भएको भन्ने पोष्टमार्टम रिपोर्ट ।
७. मिति २०५६।९।२१ गते विहान जंगलमा गई डालेघास काटी लिएर अं. १ वजे घरमा आउंदा मेरो श्रीमती कान्छी शेर्पा र गोराखानी ४ वस्ने काजी शेर्पाको श्रीमती कामी शेर्पेनी समेत दुवै जना छ्याङ रक्सी खादै रहेछन् । मलाई छ्याङ खानु भन्दा मैले खाईन र मैरै श्रीमती कान्छी शेर्पाले रक्सी खान दिइन रक्सी खादै गरेको अवस्थामा मैले श्रीमतीलाई किन यतिखेर सम्म गाई वस्तु नखोलेको र नखोल्ने भए पानी खुवाउ भन्दा सोहि विषयमा हाम्रो विवाद भयो । मैले अगेनामा भएको अगुल्टा झिकी श्रीमती कान्छी शेर्पाको टाउकोमा ३।४ पटक प्रहार गरे । मैले अगुल्टो प्रहार गर्दा श्रीमतीलाई नकुट भनि घरमा रहेकी कामी शेर्पा छुट्याउन आएको थिइन्। मैले निज समेतलाई एक पटक प्रहार गरी हुत्याई दिएँ, निज लडिन् । सो पछि भुईमा मुर्छा परि रहेकि श्रीमती कान्छी शेर्पालाई पानी खुवाउन खोज्दा निजका मृत्यु भई सकेको रहेछ मृतक कान्छी शेर्पालाई सामान्य विवादको कारण मलाई रिस उठ्यो र मैले दाउरा अगुल्टोले कुटपिट गर्दा निजको मृत्यु भएको हो मृतकलाई मार्ने मराउने कोहि कसैको सहमति छैन मैले मात्र मारेको हो भन्ने समेत व्यहोराको प्रतिवादी नुर्वु शेर्पाले प्रहरीमा गरेको वयान ।
८. मिति २०५६।९।२१ गते अं. विहानको ७ वजेको समयमा मेरो कान्छा छोरा नुर्वु शेर्पा पत्कार लिन गएको र अं.१० वजे तिर घरमा आई पुग्यो । अभियुक्त नुर्वु शेर्पा निजकै श्रीमती मेरो वुहारी कान्छी शेर्पा र कामी शेर्पा त्यही घरमा रक्सी वनाई रक्सी खादै थिए । मलाई पनि मृतक कान्छी शेर्पाले रक्सी दिइन् र खाए¤ । केहि समय पछाडि अभियुक्त नुर्वु शेर्पाले किन जोकपे नखोलेको किन वस्तुहरुलाई पानी पनि नखुवाएको भनि वाद विवाद गर्दै रहेको अवस्थामा नुर्वु शेर्पाले मृतक कान्छी शेर्पालाई चिरुवा दाउरा अगुल्टोले टाउकोमा हिर्काउन थाल्यो र पहिला कामी शेर्पा छुट्याउन गयो कामी शेर्पालाई पनि नुर्वु शेर्पाले कुटपिट गर्न थाल्यो र म पनि छुट्याउन गएकोमा निज नुर्वु शेर्पाले मलाई पनि टाउको चल्नीमा अगुल्टोले हान्यो म त्यही वेहोस भई लडें । केहि समयमा म व्युझि उठी हेर्दा कोठाको भुइमा कान्छी शेर्पा रगताम्य भई लडेको देखे निजलाई वोलाउंदा मृत्यु भई सकेको रहेछ । कोठावाट वाहिर निस्कदा आगनमा नुर्वु शेर्पा र कामी शेर्पा रहेछन । मेरो टाउको सारै दुखेको हुनाले नुर्वु शेर्पालाई के कसले भगाएर लगेको हो मलाई थाहा छैन भन्ने समेत व्यहोराको लेमी शेर्पाको वयान कागज ।
९. मिति २०५६।९।२१ गते दिनको समयमा मृतक कान्छी शेर्पा आफ्नै घरमा भएको अवस्थामा ज्वाई नुर्वु शेर्पा वाहिर कामवाट आई विना कारण श्रीमान श्रीमती वीचमा विवाद गरी सोहि अवस्थामा मृतक कान्छी शेर्पालाई निज नुर्वु शेर्पाले अगेनाको अगुल्टोले अति सम्वेदनशिल टाउकोमा पटक पटक हिर्काई मारि छाडेछन । मृतक कान्छी शेर्पालाई अन्य कोहि कसैको पूर्व रिसइवि केहि थिएन निजकै श्रीमान नुर्वु शेर्पाले नै कर्तव्य गरी मारेको हो अरु कोहि कसैको सहमति छ वा छैन निज प्रतिवादी नुर्वु शेर्पाले जानुन् भन्ने समेत व्यहोराको दावा शेर्पाको ठाडो कागज ।
१०. मिति २०५६।९।२१ गतेका दिन म मेरै घरमा वसि रहेको अवस्थामा मेरो श्रीमान नाम्खा शेर्पालाई वोलाउन आउनेवाट घटनाको वारेमा थाहा भयो । वारदात स्थलमा आउंदा मृतक कान्छी शेर्पालाई रगताम्य अवस्थामा मृतक लास देखें । निज प्रतिवादी नुर्वु शेर्पाले के कुन रिसको कारण कुटपिट गरी मारेको हो निजै जानुन मृतक कान्छी शेर्पालाई नुर्वु शेर्पाले अति सम्वेदनशिल टाउंकोमा कुटपिट गरी दाउराले हानी कर्तव्यवाट मारेको हो । अन्य कोहि कसैको सहमति छैन भन्ने समेत व्यहोराको जाहेरवाला नाम्खा शेर्पाको रोहवरमा फुलम शेर्पिनीले गरि दिएको ठाडो कागज ।
११. घरायसी विवादका कारण प्रतिवादी नुर्वु शेर्पाले आफ्नै श्रीमती कान्छी शेर्पालाई अगेनाको अगुल्टोले टाउकोमा प्रहार गरी कर्तव्य गरी मारेको हो । नुर्वु शेर्पाले त्यसरी कुटपिट गर्दा झगडा नगर भनी छुट्याउने कामी शेर्पा समेत सख्त घाइते भएकी हुन् भन्ने समेत व्यहोराको आङकाजी शेर्पाको कागज ।
१२. मिति २०५६।९।२१ को दिन प्रतिवादी नुर्वु शेर्पा र श्रीमती कान्छी शेर्पाका वीच घरायसी कुरामा विवाद भै झगडा हुंदा प्रतिवादी नुर्वु शेर्पाले आगोको अगुल्टोले आफ्नी श्रीमती कान्छी शेर्पाको टाउकोमा प्रहार गरी निज कान्छी शेर्पाको सोही चोटको कारण कर्तव्यवाट मृत्यु भएको हो भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिस दण्डी शेर्पा समेतको कागज ।
१३. प्रतिवादी र मृतक वीच घरायसी विवादको कारण झगडा हुंदा प्रतिवादी नुर्वु शेर्पाले प्रहार गरेको दाउराको चोटको कारणवाट मृतकको मृत्यु भएको हो भन्ने कुरा मिसिल संलग्न प्रमाणवाट पुष्टि हुन आएको हुंदा प्रतिवादी नुर्वु शेर्पालाई मुलुकी ऐन ज्यान सम्वन्धीको महलको १ र १३(३) अनुसारको कसूर अपराधमा सोही महलको १३(३) नं. वमोजिम सजाय गरी पाउं भन्ने अभियोग पत्र ।
१४. मिति २०५६।९।२१ को विहान १०.३० वजेको समयमा म घांस लिएर घरमा आउंदा कामी शेर्पा र मेरो श्रीमती कान्छी शेर्पा जाड रक्सी खादै रहेछन् । श्रीमतीले मलाई पनि रक्सी दिइन् । म रक्सी खान थाले । त्यसपछि कामी शेर्पाले दुई वोतल रक्सी किनी खादै गर्दा गाई र जोकमेलाई पानी खान दिने विषयमा श्रीमती र मेरो वीचमा झगडा हुन लाग्दा मलाई श्रीमतीले अगेनामा भएको अगुल्टो झिकी कुट्न खोज्दा मैले रक्सी खाएको रिसमा त्यहि अगुल्टो खोसी त्यसैले २,३ पल्ट श्रीमतीको टाउकोमा हिर्काएपछि भुइमा लड्यो । लडेको वेला मैले पानी खुवाउन लाग्दा अलिअलि सास थियो । पानी खुवाउदा खुवाउदै श्रीमतीको सास गयो । म र श्रीमती झगडा गरी रहेको वेला मेरी आमा र कामी शेर्पेनी छुट्याउन आउंदा निजहरुलाई पनि लागेछ । मेरी श्रीमती कान्छी शेर्पालाई कर्तव्य गरी मार्नेमा म वाहेक अरु कुनै व्यक्ति छैन । मैले मात्र दाउराले कुटपिट गरी मारेको हो । मैले प्रहरी समक्ष गरेको वयान मेरो स्वइच्छाले गरेको हुं भन्ने समेत व्यहोराको प्रतिवादी नुर्वु शेर्पाले अदालतमा गरेको वयान ।
१५. प्रतिवादी नुर्वु शेर्पाले मार्ने नै मनसायवाट टाउको जस्तो संवेदनशील भागमा पटकपटक प्रहार गरी कान्छी शेर्पालाई कर्तव्य गरी मारेको देखिंदा निज प्रतिवादी नुर्वु शेर्पालाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुन्छ । मार्नु पर्ने सम्मको पूर्व रिस इवी मिसिलवाट प्रमाणित हुन नसकेको अवस्थामा निजलाई सर्वश्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने चित्तमा लागेको हुंदा निजलाई १२ बर्ष मात्र कैदको सजाय गर्नु न्यायोचित हुने देखिइ सो वमोजिम सजाय गर्नु अदालती वन्दोवस्तको १८८ नं. वमोजिम राय समेत उल्लेख गरी सोलुखुम्वु जिल्ला अदालतवाट भएको फैसला ।
१६. आफ्नी श्रीमतीलाई मार्ने मनसाय नभएको, श्रीमतीले आफूलाई कुट्न खोजेको रिसमा सोही दाउरा खोसी कुटपिट गर्दा मृत्यु भएको अवस्थामा भवितव्य ठहर गरी सोही वमोजिम फैसला हुनु पर्नेमा त्यसो नगरी ज्यान सम्वन्धीको १३(३)नं. वमोजिम सजाय गरेको शुरु सोलुखुम्वु जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुंदा वदर गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र ।
१७. प्रतिवादी नुर्वु शेर्पाले कुटपिट गरी कान्छी शेर्पालाई कर्तव्य गरी मारेकोले ज्यान सम्वन्धीको १३(३) नं. वमोजिमको कसूर गरेको ठहर्छ । त्यसो ठहर्ने भएको र पूर्व रिसइवी समेत नभएको अवस्था हुंदा ज्यान सम्वन्धीको १३(३) नं. अनुसारको सजाय चर्को हुनाले अदालती वन्दोवस्तको १८८ नं. अनुसार प्रतिवादी नुर्वु शेर्पालाई १२ बर्ष कैद मात्र गर्नुपर्ने भई व्यक्त गरेको राय समेत भएको सोलुखुम्वु जिल्ला अदालतले गरेको फैसला मनासिव हुंदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत राजविराजको मिति २०५७।११।१ को फैसला ।
१८. वस्तुलाई पानी किन नदिएको भन्दा अगुल्टोले हान्दा सोही अगुल्टो खोसी हिर्काएको हुं, सोही कारणवाट पत्नीको मृत्यु पनि भयो । पत्नीलाई मार्नु पर्ने मेरो मनसाय थिएन । घरमूलीको नाताले वस्तुलाई पानी खुवाउनु पर्छ भनी मृतकलाई शिक्षा दिएको थिएं । यसरी रक्षा गर्नेले मर्नेको हितकै निम्ति कुटपिट गर्दा मृत्यु भएमा ज्यान सम्वन्धीको ६(३) वमोजिम उक्त घटनालाई भवितव्य ठहर गर्नुपर्ने हो । ज्यान सम्वन्धीको १३(३) नं. लगाई गरिएको कानूनी त्रुटिपूर्ण फैसला वदर गरी ज्यान सम्वन्धीको ६(३) नं. वमोजिम रु.५०। सम्म जरिवाना गरी कैदवाट मुक्त गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
१९. नियम वमोजिम पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी प्रतिवादी नुर्वु शेर्पालाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सर्वश्वसहित जन्मकैद गरेको पुनरावेदन अदालत राजविराजको फैसला साधक जांचको लागि प्राप्त भई यस अदालतमा दर्ता भएकोमा प्रतिवादी नुर्वु शेर्पालाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सर्वश्वसहित जन्मकैदको सजाय गरेको शुरु सोलुखुम्वु जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला उपर निज प्रतिवादीको यस अदालतमा पुनरावेदन परी पेश भै रहेकोले साधकको रोहवाट विचार गर्नुपर्ने अवस्था नभई प्रस्तुतु साधकको लगत कट्टा गरिएको छ ।
२०. प्रतिवादी नुर्वु शेर्पालाई ज्यान सम्वन्धीको महलको १३(३) नं. वमोजिम सर्वश्वसहित जन्मकैदको सजाय गरेको शुरु सोलुखुम्वु जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिले नमिलेको सम्वन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
२१. निर्णयतर्फ विचार गर्दा प्रतिवादी नुर्वु शेर्पाले मृतक कान्छी शेर्पालाई प्रहार गरेको दाउराको चोटको कारणवाट मृतकको मृत्यु भएकोले प्रतिवादीलाई मुलुकी ऐन, ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सजाय गरी पाउं भन्ने अभियोग दावी भएकोमा प्रहरी र अदालत समक्ष समेत प्रतिवादीले अगेनामा भएको अगुल्टोले मृतक कान्छी शेर्पालाई आफूले २,३ पल्ट हिर्काउंदा मृतक लडेको र पानी खुवाउन खोज्दा निजको मृत्यु भै सकेको भनी वयान गरेको पाइयो । प्रत्यक्षदर्शी कामी सेर्पाले मृतक कान्छी सेर्पा र प्रतिवादी नुर्वु सेर्पा वीच वस्तुभाउलाई नफुकाएको र पानी नखुवाएको सम्वन्धमा झगडा भई प्रतिवादीले मृतकलाई गाली गरी लातले छातीमा र पेटमा हिर्काई वल्दै गरेको अगुल्टोले टाउकोमा प्रहार गरेको भनी मौकामा लेखाई दिएको र सोही व्यहोरालाई समर्थन हुने गरी अदालतमा वकपत्र गरेको देखिन्छ । मृतकको टाउकोमा भएको चोटको कारणवाट मृत्यु भएको लास जांच प्रतिवेदन र प्रत्यक्षदर्शी कामी सेर्पा तथा प्रतिवादीकी आमा लेमी सेर्पा समेतको मौकामा भएको वकपत्र समेतवाट प्रतिवादीले प्रहरी र अदालतसमक्ष गरेको वयान समर्थित भै रहेकोले मृतक कान्छी सेर्पालाई प्रतिवादीले वलिरहेको दाउराले टाउकोमा प्रहार गरेको कारणवाट मृतक कान्छी सेर्पाको मृत्यु भएको अवस्था देखिन आयो । वलिरहेको दाउराले टाउको जस्तो संवेदनशील अंगमा दुईतीन पटक प्रहार गरी मृतकको मृत्यु भएको अवस्थामा रक्षा शिक्षा गर्नेले मर्नेको हितको निमित्त कुटपिट गर्दा भवितव्य भै मृत्यु भएको मान्न नमिल्ने भै मर्नेको हितको निम्ति कुटपिट गर्दा मृत्यु भएकोले ज्यान सम्वन्धीको ६(३) वमोजिम हुनु पर्ने भन्ने प्रतिवादीको जिकिर मनासिव देखिन आएन । अतः प्रतिवादी नुर्वु शेर्पालाई आरोपित कसूर वमोजिम ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सर्वश्वसहित जन्मकैदको सजाय गरेको शुरु सोलुखुम्वु जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला मनासिव हुंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मृतकलाई मार्नु पर्ने पूर्व रिसइवी समेत नभएको अवस्था हुंदा ज्यान सम्वन्धीको १३(३) नं. अनुसारको उक्त सजाय गर्दा चर्को हुने भई अ.वं.१८८ नं. वमोजिम निज प्रतिवादी नुर्वु सेर्पालाई कैद बर्ष १२ मात्र गर्ने भनी शुरु सोलुखुम्वु जिल्ला अदालतको रायलाई सदर गरेको पुनरावेदन अदालत राजविराजको राय समेत सदर हुन्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
प्रतिवादी नुर्वु शेर्पालाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहरे पनि अदालती वन्दोवस्तको १८८ नं. वमोजिम निजलाई कैद बर्ष १२ मात्र भएकोले सर्वश्वसहित जन्मकैदको लगत कट्टा गरी कैद बर्ष १२ को लगत कायम गर्नु भनी शुरु सोलुखुम्वु जिल्ला अदालतमा लेखी पठाउनु...........१
प्रतिवादी नुर्वुशेर्पा मिति २०५६।१०।३ देखि प्रहरी हिरासतमा रही अदालतको
फैसला वमोजिम कारागार शाखा सोलुखुम्वुमा कैदमा वसिरहेको अवस्थामा कारागार शाखा सोलुखुम्वुको मिति २०५९।१।९ प.स. लगत ०५८।५९ च.नं.१६२ को पत्रवाट माओवादीहरुले मिति २०५८।८।१० मा सोलुखुम्वु जिल्लाको सदरमुकाममा आक्रमण गर्दा सवै वन्दीहरुलाई कारागारवाट छाडी दिएको हुंदा प्रतिवादी नुर्वु शेर्पालाई यस अदालतवाट पठाएको पेशीको जानकारी गराउन नसकेको भनी लेखी आएको हुंदा निजलाई भएको १२ बर्ष कैदमा मिति २०५६।१०।३ देखि २०५८।८।९ सम्म कैदमा वसेको अवधि कटाई वांकी कैद कानून वमोजिम असुल गर्न कारागार शाखा सोलुखुम्वुमा लेखी पठाउन शुरु सोलुखुम्वु जिल्ला अदालतमा लेखी पठाउनु..... २
मिसिल नियमानुसार वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.चन्द्रप्रसाद पराजुली
इति सम्वत् २०५९ साल जेठ २ गते रोज ५ शुभम्......................