निर्णय नं. ३३९४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. ३३९४ ने.का.प. २०४५ अङ्क ३
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४३ सालको रिट नं. २०९२
आदेश भएको मिति : २०४५।२।२।१ मा
रिट निवेदक : पर्सा, वि.न.पं. वार्ड नं. ७ रेशम कोटी वस्ने लोकनाथ माडवारी
विरुद्ध
विपक्षी : जिल्ला भूमिसुधार अधिकारी भू.सु.का.वारा, कलैयासमेत
विषयः उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले दाजुको नामको मोही हक निजको मृत्यु पश्चात भाईमा सर्ने व्यवस्था गरेको नदेखिने, विवादित जग्गा रिट निवेदकबाट भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ को उपदफा (१) अनुसार कबूलियत गरी कमाएको भन्न र कबूलियत पनि पेश गर्न नसकेको यस्तो अवस्थामा मोही कायम गरेको निर्णय त्रुटिपूर्ण देखिने ।
(प्रकरण नं. १०)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री मोतिकाजी स्थापित
प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णराम श्रेष्ठ विद्वान अधिवक्ता श्री अवधेश कुमार सिंह
आदेश
प्र.न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छः–
२. विश्वनाथ माडवारी जग्गाधनी भएको वारा जिल्ला छतवा गा.पं. को कि.नं.११३, कि.नं.११९, कि.नं.१२२, कि.नं.१२१, कि.नं.१२३, र कि.नं.१०६ समेतको गरी ज.वि. ४–२–३ जग्गाको मोही भई कमाई आएको, मोहियानी हकको प्रमाणपत्रमा मोही मेरो दाजु सुन्द्यर रातउ वरै भनी लेखिएको भए तापनि उक्त जग्गाहरूको वास्तविक मोही म भई जग्गाधनीलाई कूत बुझाई भर्पाई लिने गरिआएकोले उपरोक्त सम्पूर्ण जग्गाको मोही कायम गरी मोहियानीको प्रमाणपत्र पाउँ भन्ने विपक्षी लक्ष्मी राउत वरैको निवेदन विपक्षी जि.भू.सु.का.मा परेको थियो । विपक्षी लक्ष्मी राउतले दावी गर्नु भएको जग्गा मध्ये कि.नं.११९ र कि.नं.१२२ को मोही विपक्षी लक्ष्मी राउत वरै हुन् सो बाहेक अरु विपक्षीको दावीको कि.नं.११३, कि.नं.१२१, कि. नं. १२३ र कि.नं.१०६ को जग्गाको दर्तावाल मोही विपक्षी नभई सुन्दर राउत वरै दर्तावाल मोही हुनु भएकोमा निज सुन्दर राउत २०३४ सालमा परलोक भई निजको हकवाला श्रीमती र छोराहरू समेत कोही नहुँदा म आफैंले जोतेका छु भन्ने समेत व्यहोराको प्रतिउत्तर मैले दिएको थिएँ । विपक्षी कार्यालयबाट यसमा लक्ष्मी वरै र सुन्दर राउत वरै एका घरका दाजूभाई हुन् भन्ने प्रमाण ४ नं. जो.अ.नि. मा उल्लेख भएको र दावीको प्रमाण र भर्पाईबाट देखिँदा माग बमोजिमको कित्ताको ३ नं. मोही कायम गरी प्रमाणपत्र बनाई दिने ठहर्छ भन्ने निर्णय मिति ०४३।६।६ मा गरियो । निम्न प्रत्यक्ष कानूनी त्रुटीहरू भएकोले सो फैसला कामय रहन नसकी बदरभागी छ ।
३. दाजुको नाउँको मोहियानी भाइले स्वतः पाउन सक्ने कुनै कानूनी व्यवस्था छैन । दर्तावाला मोहियानी हक निजको शेषपछि निजका श्रीमती वा छोरामा जग्गाधनीले पत्याएकोले पाउने भन्ने भू.सं. ऐन, २०२१ को दफा २६ (१) मा प्रष्ट भइराखेको हुनाले विपक्षी लक्ष्मी राउत वरै दर्तावाल मोही सुन्दर राउत वरैको भाइ हुँदा सो ऐनले निज भाइको मोही हक पाउन सक्ने व्यक्ति होइन । दर्तावाला मोहिको मृत्युपछि विपक्षीसंग ऐ.ऐनको दफा ३४(१) बमोजिम उक्त जग्गाको सम्बन्धमा कबूलियत भएको पनि छैन । विपक्षी लक्ष्मी राउत वरैबाट पेश भएका भर्पाई प्रमाणमा लगाउनु अघि अ.नं. ७८ नं. बमोजिम ती भर्पाई मलाई देखाई सद्दे कीर्ते जालसाजीमा मेरो बयान गराउनु पर्नेमा सो बमोजिमको प्रकृया नअपनाई भएको निर्णय कानूनी त्रुटिपूर्ण छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा ८ मा गरिएको एक व्यक्तिले तराईमा भित्री मदेशमा बढीमा ४ विगहासम्म मात्र मोहियानी हक पाउन सक्ने भनी गरिएको व्यवस्थाको विरुद्ध गरी ज.वि.४–२–३ को मोही हक गरिदिएको फैसला सो ऐनको प्रतिकूल छ । विवादको कि. नं. ११३, १२१, १२३ र १०६ को जग्गामा मैले लगाएको २०४२ सालको गहुँ बाली विपक्षी लक्ष्मी राउतवरैसमेतले लुटी लगेमा मैले वारा जि.अ.मा लुटपीट मुद्दा दिई राखेकोमा सो मुद्दामा असर पर्ने गरी उक्त कित्ता जग्गाहरूमा विपक्षी लक्ष्मी राउतवरैलाई मोहीकायम गर्नेगरेको निर्णय त्रुटि पूर्ण छ । अतः माथि लेखिएबमोजिम प्रत्यक्ष कानूनीत्रुटि गरी विपक्षी जि.भू.सु.का.वाराबाट भएको मिति २०४३।६।६ को फैसलाले नेपालको संविधानको धारा १०, ११(२)ङ र १५ द्वारा प्राप्त संवैधानिक हक तथा भूमिसम्बन्धी ऐनबाट प्राप्त हकसमेत हनन् भएको र हकप्रचलन गरिपाउन अन्य कानूनी उपचार नहुँदा यो रिट निवेदन गर्न आएको छु । उत्प्रेषणको आदेश जारी गरी उक्त विपक्षी जि.भू.सु.का वाराबाट भएको मिति २०४३।६।६ को फैसला बदर गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४३।९।२२।३ को आदेश ।
५. निवेदक दावीको सम्पूर्ण जग्गाको बाली बुझी लक्ष्मी राउतलाई रिट निवेदकले भर्पाई दिएको भर्पाई पेश हुँदा सोही आधारमा मोही कायम गरिएको हो । रिट निवेदकको रिट निराधार हुँदा खारेज गरिपाउँ भन्ने समेत भूमिसुधार सुधार कार्यालय वाराको लिखितजवाफ ।
६. विवादित जग्गाहरू सर्भे नापी हुनु अगावै देखि मैले नै मोहीमा कमाई मैले नै जग्गाधनीलाई सालसालैको कुतवाली बुझाई आएको छु । अतः सो जग्गाहरूमा मेरो मोहियानी हक कायम गरी मोहिको प्रमाणपत्र दिने भनी भू.सु.का.वाराको मिति ०४३।६।६ को निर्णय विलकुल कानूनसंगत हुँदा विपक्षीको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत लक्ष्मी राउत वरैको लिखितजवाफ ।
७. नियमबमोजिम निर्णयार्थ आज इजलासमा पेश हुनआएको प्रस्तुत रिट निवेदनमा रिट निवेदककातर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापितले कि.नं.११३।१२१।१२३ र १०६ को ४ कित्ता जग्गाको दर्तावाला मोही सुन्दर राउत वरै हो । निज २०३५ सालमा मरी सकेकोले जग्गा रिट निवेदकले जोति आएको छ । प्रत्यर्थी लक्ष्मी राउत सो जग्गाका मोही होइन । सुन्दर राउतको भाइ मात्र हो । सो जग्गा प्रत्यर्थी लक्ष्मी राउतको नाममा मोही कायम गरी प्रमाणपत्र बनाई दिने गरेको भू.सु.का.को निर्णय त्रुटिपूर्ण हुँदा बदर हुनु पर्दछ भन्ने समेत वहश गर्नुभयो । प्रत्यर्थी कार्यालयतर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ र प्रत्यर्थी लक्ष्मी राउत वरैतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री अवधेश कुमार सिंहले प्रत्यर्थी लक्ष्मी राउतको मर्ने सुन्दर सहोदर दाजु हो । सो जग्गा लक्ष्मी राउतले नै जोत भोग गरिआएको छ तसर्थ निजका नाउँमा मोही कायम गरी प्रमाणपत्र बनाई दिने गरेको भु.सु.का.को निर्णय कानूनसंगत छ भन्ने समेत बहस गर्नुभयो ।
८. प्रस्तुत रिट निवेदनमा निवेदकका माग अनुसारको आदेश जारी हुनु पर्ने हो होइन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
९. यसमा निर्णयतर्फ दावीको जग्गा मध्ये कि.नं.१२२ र ११९ को मात्रको वादी मोही हुन् अन्य कित्ताहरूको वादी मोही नहुँदा मोही कायम गरिदिनु पर्ने होइन भन्ने भई मुद्दा चली आएको रहेछ । लक्ष्मी राउत वरै र सुन्दर राउत वरै एकाउदरका दाजुभाइ हुन् भन्ने प्रमाण ४ नं. जो.अ.नि.मा उल्लेख भएको र दावीको प्रमाण र भर्पाईहरूबाट देखिँदा माग बमोजिम कित्ताको ३ नं. मोही कायम गरी प्रमाणपत्र बनाई दिने ठहर्छ भनी प्रत्यर्थी भूमिसुधार कार्यालय वाराबाट मिति २०४३।६।६ मा निर्णय गरेको देखिन्छ ।
१०. रिट निवेदन साथ पेश गरेको जग्गाधनी प्रमाणपत्रको फोटोकपीबाट विवादको कि.नं.११३–१२१–१२३ र १०६ को कित्तामा मोहिको नाम सुन्दर राउत वरैको र कि.नं.११९ र १२२ मा मोही प्रत्यर्थी लक्ष्मी राउत वरैको नाउँ उल्लेख भएको पाइन्छ । सुन्दर राउत वरै मृत्यु भइसकेको रिट निवेदन लेखाईबाट देखिन्छ । प्रत्यर्थी लक्ष्मी राउत वरै दर्तावाला मोही सुन्दर राउत वरैका भाइ भन्ने कुरामा विवाद देखिन्न । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले दाजुको नामको मोही हक निजको मृत्यु पश्चात भाइमा सर्ने व्यवस्था देखिँदैन । विवादित जग्गा रिट निवेदकबाट भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ को उपदफा (१) अनुसार कबूलियत गरी कमाएको भन्न र कबूलियत पनि प्रत्यर्थी लक्ष्मी राउत वरैले पेश गर्न सकेको छैन । यस्तो अवस्थामा सुन्दर राउत मोही जनिएको कि.नं.११३।१२१।१२३ र १०६ को कित्ता ४ जग्गामा प्रत्यर्थी लक्ष्मी राउत वरैलाई मोही कायम गरेको हदसम्मको प्रत्यर्थी भूमिसुधार कार्यालय वाराको मिति ०४३।६।६ को निर्णय त्रुटिपूर्ण देखिन आयो ।
११. अतः उपर्युक्त उल्लेख भए अनुसार चार कित्ता जग्गामा मोही कायम गरेको हदसम्मको प्रत्यर्थी भूमिसुधार कार्यालय वाराको मिति ०४३।६।६ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । यो आदेशको एकप्रति प्रतिलिपि प्रत्यर्थी कार्यालय पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. प्रचण्डराज अनिल
इति सम्वत् २०४५ साल ज्येष्ठ २ गते रोज १ शुभम् ।