निर्णय नं. ३३९६ - जग्गा खिचोला किल्ला बदर

निर्णय नं. ३३९६ ने.का.प. २०४५ अङ्क ३
संयुक्त इजलास
सम्माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४२ सालको दे.पु.नं. ४५८, ४५९
फैसला भएको मिति : २०४४।१२।२९।२ मा
पुनरावेदक/प्रतिवादी : जिल्ला तनहुँ माझकोट गा.पं.वा.नं ९ मीपुलंङ बस्ने तन्हौ जिल्लापञ्चायतका सभापति विष्णु वीर आले
विरुद्ध
प्रत्यर्थी/वादी : जिल्ला तनहुँ क्यामिन छाप थोक गा.पं.वा.नं. १ बस्ने चिरंजिवी उपाध्यायसमेत
पुनरावेदक/वादी : जिल्ला तनहुँ गा.पं. क्यामिन वा.नं. १ नरंगा वेल थुम्की वस्ने चिरंजिवि उपाध्यायसमेत
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : जिल्ला तनहुँ माझकोट गा.पं.वा.नं. ९ मिलुङ् वस्ने जिल्लापञ्चायतका हालका सभापति विष्णु वीर आलेसमेत
मुद्दा : जग्गा खिचोला किल्ला बदर
(१) जिल्लापञ्चायत कार्यालयले दानपत्र पारित गरी लिएको भन्ने भएपछि आफू जिल्लापञ्चायतले नलिँदै पहिल्यै उजूर गर्नु पर्ने प्रहरी कार्यालयको हक स्वामित्व स्थापित भएको छ भनी नलाग्ने कानून विरुद्ध बुँदा लगाई अदालतले गलत इन्साफ दिन नमिल्ने ।
(प्रकरण नं. २५)
(२) आफूले कानूनको रितपुर्वक जग्गा प्राप्त नगरेको र पारित गरी लिनेको नाउँमा पनि ऐनको म्यादभित्र उजूर परी रहेको भएपछि त्यस्तो आफ्नो हक नपुगेको र झगडा परिरहेको जग्गामा घर बनाएको भन्ने भएबाट त्यस्तो कुरामा घर बनाउने ४ नं. बमोजिम नै हुने ।
(प्रकरण नं. २५)
पुनरावेदक वादीतर्फबाट : विद्वान व.अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान वरिष्ठ अधिवक्ता श्री कुष्णप्रसाद पन्त
विपक्षी पुनरावेदक प्रत्यवादीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल
फैसला
न्या. सुरेन्द्रप्रसाद सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४१।११।३०।४ को निर्णयमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दुबै पक्षबाट यस अदालतमा निवेदन परी पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्न प्रकार छ ।
२. केशबहादुर दरैले म चिरंजिवीलाई निजकै भाइ मानबहादुरको नाउँ दर्ता पूर्व सोमबहादुर समेतको खेत ४ किल्ला भित्रको अघि देवी थान डिही हाल कटहर वारी भन्ने रैकर पाखो जग्गा रु.३,०००। मा मिति २०२७।४।१८।१ मा रजिष्ट्रेशन गरिदिनु भएको र मु. अन्तवीर थापाले वहाली पुर्जी गरिदिनु भएको मेरो भोग तिरोको उक्त जग्गा समेत किल्ला भित्र परी विपक्षी बोटेहरूले हाम्रो बाजेको नाउँमा लालमोहर भएको सुरकालीका गुठीमा तिर्नु बुझाउनु पर्ने हाम्रो भोगचलनको रु.२०,०००।– मोलीने २४ साल देखि नगर योजना व्यवस्था भइरहेको भन्ने समेत झुठ्ठा व्यहोर उल्लेख गरी दानपत्र लेखी विपक्षी तारापति मार्फत जि.पं.का.तनहुँका नाउँमा मिति २०२९।५।२३।२ मा पारित गरेको विपक्षीका बाजेको नाउँमा लालमोहर भएको जग्गा होइन । अघि हिरा सिंह र सुब्बा गौरीनाथको गुठी मुद्दामा घर दर हुँदा लेखाउन देखाउन सक्नु पर्ने सो समेत भएको छैन, ७।१४ नं. फाराम भर्न पनि सकेका छैनन् नगर योजना व्यवस्था ०२५ साल देखि सो मेरो जग्गा देखि दक्षिण तर्फमात्र गरिएको छैन । उल्लिखित जग्गा बोटेहरूको होइन दरैहरूको हो भन्ने कुरा जि.पं. काले स्वीकार गरी निज दरै जातिबाट लिएको २०३७।५।१३।६ को दानपत्रबाट देखिन्छ । सो जग्गा प्रहरीलाई थाना बनाउन दिने भनी जि.पं.का.ले २०२८ सालमा निर्णय गरेको, तर आफैं जि.पं.का.ले २९ सालमा मात्र दानपत्र पारित गरेको त्यस अघि प्रहरीलाई दिने कुनै कानूनी आधार छैन । रजिष्ट्रेशनको १० नं. को रीत पुगेको छैन । विपक्षहरूको अरु कुनै कानूनी आड समेत नभएको २ वर्ष तक पाको भइसकेको पछि सो मध्य रु.।८७ को केही जमीन श्रीप्रसाद उपाध्यलाई दानपत्र गरिदिएको कसैको उजूर विरोध छैन । विपक्षी जि.पं. का ले कुनै हक हुँदै नभएका जग्गाधनी बनाई आफू दानपत्र लिने भई अन्याय गरेकाले फिराद गर्न आएका छौं । २०३०।१।१ देखि बाली लगाउन समेत नदिई खिचोला गरेकाले जम्मा रु.४४०।– नोक्सान गरिदिएकोमा म्यादभित्र उजूर गर्ने हुँदा उपरोक्त बमोजिम श्रीप्रसादको रु.।८७ तिराको जग्गामा खिचोला मेटाई पाउँ भन्ने समेत व्यहोराको चिरंजिवी उपाध्यायको हकमा समेत श्रीप्रसाद उपाध्यायको मिति २०३१।२।३२ को संयुक्त फिराद ।
३. वादी चिरंजिवीले दिनुभएको जालसाजी मुद्दामा स्पष्ट तवरमा लेखी प्रतिउत्तर दिएकोले उक्त प्रतिउत्तरबाट विशेष जानकारी हुनेछ । वादीहरूले दावा लिई लेख्नु भएको ४ किल्ला भित्रको जग्गा वादीको दाता केशबहादुरको रैकर देवीथान डिही कटहर वारी भन्ने जग्गा होइन । देवी थान डिही भन्ने कटहर वारी पाखो जग्गा राजमार्ग देखि उत्तरतर्फ छ । दावा गरेको जग्गा पृथ्वीराजमार्ग देखि दक्षिण तर्फको गुठी जग्गा बोटेहरूबाट जिल्ला सभाले २४ साल देखि नै अधीन लिई २६ साल चैत्र देखि प्रहरी थानाले भोगचलन गरिआएको हुँदा वादीहरूले भोगचलन गर्नु भएको छैन । जालसाज राजीनामा, रसिद, वहाली, दानपत्र बनाई झुठ्ठा दावा गर्नु भएको खारेज गरिनु पर्छ भन्ने समेत व्यहोराको तारा पतिको प्रतिउत्तरपत्र ।
४. अन्त वीर थापा जिम्मा ११ साले मोठमा दर्ता नरसिंह दरेको देवी थाना डिही निज मर्दा छोरा मानबहादुर दरेसेर्मा रु.१।– साझा रु.।४ समेतको कलम १ सोमा रु.१।४७ साझा रु.।४ समेतको कलम १ समेत २ कित्ता दर्ता भएको, मानबहादुरबाट केशबहादुरको हक भएको भन्ने राजीनामा देखिँदैन वादीहरूले केशबहादुरबाट लिंदा सोमा रु.१।– लागेको लिनु भएको २०२७।४।१९ को बहाली पुर्जी २७।२८ को तिरो रसिद सेर्मा रु.१।७ भन्ने २९।३० रसिदमा रु.१।३७ मध्ये रु.।८७ को जग्गा विपक्षी श्रीप्रसादलाई दिई बांकी रु.।६० र श्रीप्रसादलाई दिनुभएको दानपत्रमा रु.।२० राखी रु.।८७ को पारित गरेको कुन दर्ताको कति तिरोको हो भन्ने यकीन हुन नआई फरक पारे शंकास्पद स्पष्टै छ । सो खर कटहर वारी भन्ने राजीनामामा लेखिएको देवीथान डिही हाल कटहर वारी भनी फिरादमा भएको मानबहादुर दरेको दर्ता जग्गा केशबहादुरबाट वादीले लिनु भएको रहेछ भन्ने एक क्षणलाई माने पनि मानबहादुरका नाउँमा तिरो रु.१।– साझा रु.।४ को कलममा देवी थान डिही भनी लेखिएको तिरो १।४७ साझा ।४ को कलममा जग्गाको नाउँ नै छैन । वादीहरूले दावी गर्नु भएको मानबहादुरको रैकर पाखो दर्ता केशबहादुरको हक भोगको जग्गा होईन, हामी बोटेहरूको गुठी जग्गालाई दरेहरूको भनी दावी गर्दा कुरा नमिलेको हो दरेहरू समेतको भए मानबहादुर, केशबहादुरले तनहुँ जि.पं.लाई २०२७।५।१३।६ मा दिनुभएको दानपत्रमा पश्चिम बोटेहरूको आवादी जग्गा भनी लेख्ने थिएनन् । रैकर पाखो दर्ता तिरो हक भोगको जग्गा पृथ्वीराजमार्ग देखि उत्तर, अद्यपि निजहरूका निवास घरवारी देवी थान छँदैछ । पृथ्वीराजमार्ग देखि दक्षिणतर्फ रैकर पाखो जग्गा छँदै छैन । हामी बोटेहरूको जग्गा जि.पं.लाई २५ साल देखि नै दिएका त्यसमध्ये वादीहरूले दावी गर्नु भएको ४ किल्ला भित्र प्रहरी चौकी जुन राजमार्गको किनारामा २०२६ साल चैत्र देखि नै निमार्ण भई उपभोग गरिरहेको र जि.प्र.का बन्द रहेको कुरा फिरादमा उल्लेख गर्न सक्नु भएको र प्रहरी कार्यालय उपर फिराद दिनुभएको पनि छैन । झुठ्ठा दावीबाट फुर्सत पाउँ भन्ने समेत व्यहोराको बलबहादुर बोटे समेत जना १५ को वा उपसभापति कृष्णप्रसाद अधिकारीको प्रतिउत्तरपत्र ।
५. वादीहरूले नै पृथ्वीराजमार्ग देखि उत्तरतर्फको रैकर जग्गालाई राजमार्ग देखि दक्षिण तर्फको बोटेहरूबाट लिई जिल्ला सभाले प्रहरी थानालाई दिएको र २६ साल देखि नै चेकपोष्ट बनाई भोगी आएको जमिनलाई किल्ला हाली झुठ्ठा दावा गरेका हुन् । केशबहादुर दरेको रैकर जमीन छुट्टै छ । खिचोला गरेको होइन भन्ने समेत व्यहोराको उपसभापति कृष्णप्रसाद अधिकारीको प्रतिउत्तरपत्र ।
६. जिल्लापञ्चायत ऐन, २०१९ को दफा ४, २, ३, अनुसार जि.पं. का उपर फिराद दिनुभएको उक्त ऐनले मिल्दैन । जिल्ला सभाले बोटेहरूद्वारा दानपत्र प्राप्त गरेको जमिनमा जि.पं. कार्यालयको कुनै सरोकारै नभएकोमा जिल्ला सभा उपरको उजूरी बेगर इन्साफ दिन गर्न मिल्दैन खारेज गरिनुपर्छ । इन्साफ दिएको पत्रमा सदरमुकाम बन्दीपुरबाट दमौली शाखामा सरी आएको दरे बोटेहरूको हक भोगको शुरु खडगकाली गुठी जमीन २०२४ साल श्रावण देखि नै जिल्ला सभाले अघिनै लिई चलन गरेको । दरेहरूबाट २०२७।५।१२।६ मा र बोटेहरूबाट २०२९।४।२३ मा दानपत्र पारित गरिलिए पनि २०२५ साल फाल्गुण ७ गते देखि नै ब्यास नगर योजना सुरुआत गरी बनेको भवन समेत निर्माण भएको हुँदा रहेकोले जालसाज र खिचोला गर्नुपर्ने प्रश्नै उठ्दैन, बोटेहरूबाट जिल्ला सभाले प्राप्त गरेको गुठी जमीन मध्ये प्रहरीलाई भवन बनाउन दिएको २०२६ चैत्र देखि चौकी बनाई उपभोग गरेको २०२८ साल बैशाख देखि थाना निर्माण गरिरहेको गुठी जमिनलाई रैकर भनी चिरंजिवी श्रीप्रसादले लेखत साक्षी भई पारित गरेका प्रहरी थाना र जिल्ला सभा उपर उजूरी नदिई जि.पं कार्यालय समेतको नाउँमा झठ्ठा फिराद दिनुभएको हो । दावी गरेको जमिनमा वादीहरूको भोगचलन भए गरेको छैन । म अन्त वीरलाई हात लिई कृत्रिम रसिद बहाली जालसाज षडयन्त्र गरेका हुन् । नक्शा सरजमीन भएमा पृथ्वी राजमार्ग देखि उत्तर केशबहादुरको रैकर दर्ताको घर जग्गा देखि देवीस्थान स्पष्ट देखिने हुँदा दावाबाट फुर्सत पाउँ भन्ने समेत व्यहोराको जि.पं.का.मु. सचिव प्रेमबहादुर के.सी.को प्रतिउत्तरपत्र ।
७. मानबहादुरको हक छुटेको लिखत बेगर तालुकदारले वादी मध्येका चिरंजिवीलाई गरिदिएको वहाली पुर्जीबाट मानबहादुरका दर्ता तिरोको जग्गामा चिरंजिवीको अ.बं. ८२ नं. ले हक प्राप्त भएको देखिन नआएको र आफ्नो हक प्राप्त बेगर सोही जग्गा वादी मध्येका श्रीप्रसादलाई दानपत्र गरिदिएकोले सर्वप्रथम राजीनामा गरिदिने चिरंजिवी कै छ । प्राप्त भएको छैन भने तिनै चिरंजिवीले गरिदिएको दानपत्रबाट श्रीप्रसादले उजूर गर्न पाउने गरी हकदैया पुगिसकेको भनी ठहर गर्न नमिल्ने हुँदा दाबी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको तनहुँ जिल्ला अदालतको फैसला ।
८. हकदैया नै नपुग्ने भन्ने खारेजी फैसला मिलेन । मुद्दाको तथ्यमा प्रवेश गरी औचित्यमा निर्णय गर्नु भनी तनहुँ जिल्ला अदालतमा मिसिल पठाईदिनु भन्ने समेत व्यहोराको मिति २०३३।१०।८।३ को प.क्षे.अ. को फैसला ।
९. राजीनामा लेखिएको सो खर कटहरवारी भन्ने जग्गा र देवीस्थान डिही मध्येको भन्ने जग्गा एउटै हो सो जग्गा म केशबहादुरको नाउँमा दर्ता छैन । मैले राजीनामा गरिदिएको जग्गाको हालको ४ किल्ला मेरा बाबु नरसिंह दरै समेतका नाउँमा दर्ता भएको पृथ्वी राजमार्ग देखि दक्षिण पट्टिको जग्गा बोटेहरूको हो बिक्री गरेको होइन भन्ने समेत केशबहादुर दरैको ततिम्बा बयान ।
१०. जुद्धबहादुर दरैले २०३४।११।२२ को मितिमा दाखिल गरेको मु.अम्मावीर थापा मगर आगे भएको २०२७।१।१।३ का मितिको सक्कल रसीद मैले मेरा हस्ताक्षरले लेखिदिएको पनि छैन । रसीदमा लेखीएको तिरो रु.१।२५ केशबहादुरसँग बुझी लिएको र रसीद दिएको समेत होइन । उक्त रसीद जुद्धबहादुरले कहाँबाट दाखिल गरेका हुन् निजै जानुन्, भन्ने समेत मु.अन्तवीर थापाको बयान ।
११. तनहुँ माल अड्डामा परेको श्री ५ को सरकारको हकदैया गराउने विषयको मुद्दा मालबाट अन्तिम किनारा नभई प्रस्तुत मुद्दामा हक बेहक छुट्टाई निर्णय दिन नमिल्ने हुँदा मालमा परेको मुद्दा अन्तिम किनारा भएपछि जनाउने भन्ने समेत तनहुँ जि.अ. को आदेश ।
१२. प्रस्तुत मुद्दा मुलतवीबाट जगाउने भन्ने समेत २०३५।८।२२ को तनहुँ जिल्ला अदालतको आदेश ।
१३. वादीका राजीनामा किल्ला भित्रका झगडा परेको जग्गा मध्य न.नं. ५, ६, ७, ८, ९, १०, ११, १७, १८ का जग्गामा प्रहरी भवन र प्रहरीबाट बनेका वार पर्खाल समेत बनाए उपर वादीको उजूर नदेखिएकोले सो बाहेक प्रहरी थानाको क्षेत्रदेखि पश्चिम न.नं. ४ को सजिवनबाट भनेको ठाउँ देखि सिधा पश्चिमबाट उत्तरतर्फको न.नं. १४, १५, १६, को कान्लो डिलदेखि पूर्व न.नं. १२, १३ समेत वादीको जग्गा कायम हुने देखिएकोले जग्गामा प्रतिवादीहरूले खिचोला गरेको र त्यतिसम्मको प्र.को दानपत्रको किल्ला बदर हुने ठहर्छ भन्ने तनहुँ जि.अ. को फैसला ।
१४. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको तारापति भट्टराई समेत जना ५ को गण्डकी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
१५. सो फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको श्रीप्रसाद उपाध्याय समेतको उक्त अदालतमा परेको पुनरावेदनपत्र ।
१६. शुरु इन्साफ मनासिव ठहर्छ भन्ने समेत व्यहोराको गण्डकी अञ्चल अदालतको पहिलो पुनरावेदन फैसला ।
१७. उक्त फैसलामा त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको विष्णु वीर आले समेत जवान ४ को प.क्षे.अ. मा परेको अनुमति निवेदन ।
१८. सो फैसला त्रुटीपुर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको चिरंजिवी उपाध्याय र श्रीप्रसाद उपाध्यायको संयुक्त रुपमा प.क्षे.अ. मा परेको अनुमति निवेदन ।
१९. यसै लगाउँको जालसाजी मुद्दाका अनुमति प्रदान गरेको हुँदा यसमा पनि अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको प.क्षे.अ. को अनुमति आदेश ।
२०. यसमा राजीनामा लेखिएको ४ किल्लाको प्रतिकूल असर पर्ने गरी जि.पं.ले पाएको दानपत्र कायम हुने भएन । मिसिल संलग्न २०३२।२।३ को नक्शा कुण्डलीको पूर्वमान न.नं. १ पश्चिममा न.नं. २ उत्तरमा न.नं. ३ दक्षिणमा न.नं ४ का जग्गामा वादीहरूको हक कायम हुने ठहर्छ सो हदसम्म प्रतिवादी जि.पं.ले पाएको दानपत्रको किल्ला बदर हुने ठहर्छ । जिल्ला प्रहरी कार्यालयको यथार्थ भोगमा रहेको भन्ने नक्शा कुण्डलीबाट देखिँदा सो हदसम्म जि.पं. ले खिचोला गरेको हुँदा बदर गर्न मिलेन । वादीले जिल्ला प्रहरी कार्यालयलाई प्रतिवादी बनाएको नदेखिँदा त्यसतर्फ विचार गर्न परेन । सो हदसम्म वादीले बढी दावी गरेको ठहर्छ । अरु जग्गामा प्रतिवादी जि.पं. ले खिचोला गरेको ठहर्छ भन्ने समेत व्यहोराको प.क्षे.अ. को मिति २०४१।११।३०।४ को फैसला ।
२१. उक्त निर्णयमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दुवै पक्षबाट पर्न आएको निवेदनहरूमा यसमा प.क्षे.अ. ले विवादित जग्गा वादीको ठहर्याएको तर सोही ४ किल्ला भित्र प्रहरीले बनाएको घर जि.पं. को हक प्राप्त हुनुभन्दा अघी प्रहरीले बनाएको भनी खिचोला नठहर्याएको खास प्रमाण छाडी निर्णय गरेको कानून अनुरुप नभई प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि हुँदा र उक्त त्रुटि सार्वजनिक महत्वको समेत हुँदा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५) को (ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको २०४२।४।२३ को अनुमति आदेश ।
२२. पुनरावेदक वादीतर्फबाट उपस्थित हुनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले र विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले र विपक्षी पुनरावेदन प्रत्यवादीतर्फबाट उपस्थित हुनु भएको विद्वान अधिवक्त श्री यादवप्रसाद खरेलले गर्नु भएको बहस समेत सुनियो । मुख्यत पश्चिमाञ्चल क्षेत्रीय अदालतले निर्णय गरेको मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
२३. यसमा हामीहरूले सुफत दर्ता तिराको जग्गा राजीनामा पारित गरी लिई भोगचलन गरिआएकोमा केही रु.।८७ तिरोको जग्गा म चिरंजीवीले म श्रीप्रसादलाई दानपत्र गरिदिएको जग्गामा हाम्रो राजीनामा भित्रको जग्गा समेत किल्ला भित्र पारी दर्ता निस्सा प्रमाणको कुनै हक नै नभएको व्यक्तिबाट दानपत्र पारित गरी विपक्षी जि.पं.का.ले लिएको भनी खिचोला गरेकोले सो दानपत्रको उत्तर किल्ला समेत बदर गरी म श्रीप्रसादको रु.।८७ तिरोको जग्गामा खिचोला मेटाई पाउँ भन्ने समेत मुख्य वादीको दावी भएको पाइन्छ ।
२४. कुनै पनि जग्गाको मूल प्रमाणको सो जग्गाको मोठ दर्ता तिरो हो यदि राजगुठी जग्गा भए सोको लालमोहर सिलालेख ताम्रपत्र आदि ठोस प्रमाण हुनुपर्छ अन्यथा सो जग्गामा जग्गाको स्वामित्व हक कायम हुन सक्दैन । प्रस्तुत मुद्दामा वादीका दाताहरूका नाउँमा देवीस्थान भन्ने २ हल पृथक–पृथक दर्ता रहेको प्रमाण पेश भएको देखिन्छ र सोहि दर्ता जग्गा दर्तावाला नरसिं दरैको छोरा मानबहादुरलाई साक्षी राखी निजको अर्को छोरा केशबहादुरबाट वादी मध्येका चिरंजिवीले ०२७।४।१८ मा र निज चिरंजिबीबाट श्रीप्रसादले दानपत्र पारित गरी लिएको प्रमाण पेश भएको देखिन्छ । उक्त दर्ता र लिखतहरू बदर गरिपाउँ भन्ने तर्फ प्रत्यवादी लगायत कसैको कुनै व्यहोराको उजूर परेको पनि देखिँदैन । प्रत्यवादी तर्फको सबूद प्रमाण के कस्तो छ भनी हेर्दा प्रत्यवादी जि.पं.का.दाता बोटेहरूका नाउँमा कहिं कुनै अड्डाखानामा श्रेस्ता र दर्ता तिरोको सबूद प्रमाण छ भन्न र देखाउन सकेको छैन । जि.पं.ले लिखित पारित गरी लिंदा रजिष्ट्रेशनको १७ नं. बमोजिमको निस्सा प्रमाण पेश गरी सो कानूनी आधारमा पारित गरेको समेत पाइँदैन । उक्त पारित लिखतमा पछि ७ नं. फाँटवारी पेश गर्ने व्यहोराको पत्रको उल्लेख गरी मात्र पारित गरेकोमा त्यस्तो आफूले गरेको लिखतमा लेखिएको सर्त तथा भूमिसम्बन्धी ऐन, ०२१ ले वाध्यात्मक व्यवस्था गरेको अनुसार कहिं कतै १ नं ७ नं. समेतका फाराम भर्नु र २ नं. प्रकाशित गर्न गराउन हुन समेत सकेको प्रमाण प्रत्यवादीबाट पेश भएको देखिँदैन । यसको अलावा अघि धर्मलोप मुद्दा परी घर दर हुँदा प्रत्यवादी वादीका दाता बोटेहरूका नाउँ कतै उल्लेख नभएको भनी वादीहरूले सो घर मुचुल्काको प्रतिलिपि समेत पेश गरेको मिसिल सामेल देखिन्छ । सो उतार प्रति प्रतिवादीले कुनै चुनौती दिई विरोध जनाई खण्डन गर्न सकेको पनि पाइँदैन । यसबाट पनि विवादित जग्गामा बोटेहरूको अघि परापूर्व देखि नै कुनै हक दर्ता भोग स्वामित्व भएको नदेखिएकोले झगडा परेको सम्पूर्ण जग्गामा वादीहरूको हक कायमै हुने ठहराएको प.क्षे.अ. को फैसला मिलेकै देखियो ।
२५. जहाँसम्म वादीले प्रहरी कार्यालयलाई प्रत्यवादी नबनाएको र भई आएका नक्शा कुण्डलीबाट प्रहरीको भवन बनेकोतर्फ विचार गर्न नमिल्ने भनी सो हदसम्म वादीले बढी दावी गरेको ठहर्छ भनी प.क्षे.अ. को फैसलामा उल्लेख भएकोलाई मिले नमिलेको के रहेछ भन्ने तर्फ हेर्दा प्रत्यवादी जिल्लापञ्चायत कार्यालयले बोटेहरूबाट ०२९।४।२३ मा मात्र दानपत्र पारित गरी लिएको भन्ने भएपछि आफू जिल्लापञ्चायतले नलिँदै पहिल्यै उजूर गर्नु पर्ने प्रहरी कार्यालयको हक स्वामित्व स्थापित भएको छ भनी नलाग्ने कानून विरुद्ध बूँदा लगाई अदालतले गलत इन्साफ दिन मिल्ने देखिँदैन । तसर्थ प.क्षे.अ. को उपरोक्त ठहर कानूनसंगत देखिएन अतः आफू प्रहरी कार्यालयले पनि कानूनको रीतपूर्वक जग्गा प्राप्त पनि नगरेको र पारित गरी लिने जि.पं.का.को नाउँमा पनि वादीहरूको ऐनको म्यादभित्र उजूर परी रहेको भएपछि त्यस्तो आफ्नो हक नपुगेको र झगडा परिरहेको जग्गामा घर बनाएको भन्ने भएबाट त्यस्तो कुरामा घर बनाउने ४ नं. बमोजिम नै हुने हुनाले प्रस्तुत मुद्दामा अरु कुरा बोलीरहन परेन उपरोक्त कारणबाट दावी मध्ये श्रीप्रसादको रु.।८७ पैसा तिरो दर्ताको सस्पूर्ण जग्गामा प्रत्यवादीहरूले खिचोला गरेको ठहर्ने हुँदा उक्त उल्लिखित हद सम्मको प.क्ष.अ. को इन्साफ उल्टी हुने ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक वादी श्रीप्रसाद, चिरंजीवी प्रसादके माथी इन्साफ खण्डमा लेखिए बमोजिम सम्पूर्ण वादी दावी बमोजिमको जग्गामा प्रत्यवादीले खिचोला गरेको ठहरेकाले निजहरूले शुरुमा राखेको जम्मा कोर्ट फी रु.५१०।– मध्ये शुरु तनहुँ जि.अ. ले आधी रु.२५५।– मात्र प्र. बाट भराउने गरेको सो भराउन बाँकी रु.२५५।– गण्डकी अञ्चल अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु.३८।२५ र पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु.३८।२५ र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु.३८।२५ समेत वादीबाट तह तहमा रहेको जम्मा कोर्ट फी रु.३६९।७५ प्रतिवादी जिल्लापञ्चायत समेतका प्रतिवादीहरूबाट भराई पाउँ भनी यसै सरहदको जेथा देखाई म्यादमा दर्खास्त परे कानूनको रीत पुर्याई प्रत्यवादीबाट वादीहरूलाई भराई दिनु भनी शुरु तनहुँ जिल्ला अदालतमा लेखी पठाउनु भनी का.जि.अ. मा लगत दिनु.........१
मिसिल नियमानुसार गरी बुझाई दिनु.............................................२
उक्त रायमा म सहमत छु ।
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४४ साल चैत्र २९ गते रोज २ शुुभम्