निर्णय नं. ३४०३ - उत्प्रेषण

निर्णय नं. ३४०३ ने.का.प. २०४५ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४३ सालको रिट नम्बर २१८७
आदेश भएको मिति : २०४५।२।२५।३ मा
निवेदक : जि. गोरखा गोरखकाली गा.पं. वार्ड नं. १ बस्ने मेघबहादुर मास्केसमेत
विरुद्ध
विपक्षी : गुठी संस्थान केन्द्रीय कार्यालय, रामशाहपथसमेत
विषय : उत्प्रेषण
(१) रैतान नम्बरीमा दर्ता भएको जग्गाको दर्ता बदर गुठी संस्थानले गर्न सक्ने नदेखिने ।
(प्रकरण नं. ११)
(२) गुठी रैतान नम्बरी जग्गामा जग्गावालाको हक र हैसियत प्रचलित कानून बमोजिम सरकारी रैकर जग्गाको जग्गावाला सरह नै हुनेछ भन्ने गुठी संस्थान ऐन, २०३३ को दफा ६२(२) मा भएको व्यवस्थाबाट उक्त जग्गाहरूले अधिग्रहण परेकोमा मुआवजा निवेदकहरुले नै पाउन पर्नेमा ३ भागको २ भाग गुठी संस्थानमा आउनु पर्ने भन्दै १ भाग हाल जोताहा मोहीले पाउने गरी गुठी संस्थानबाट भएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने
(प्रकरण नं. ११)
निवेदकहरु तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती
विपक्षीहरु तर्फबाट : विद्वान सह–न्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोईराला र विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय
उल्लिखित मुद्दा : सम्वत् २०४३ सालको रि.नं. २४३२ निवेदिका धनसरिया दासिन र विपक्षी गुठी संस्थान केन्द्रीय कार्यालय समेत भएको उत्प्रेषणको रिट निवेदनमा ने.का.प. २०४४ को नि.नं. ३१८८ मा सिद्धान्त प्रतिपादित
आदेश
न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ ।
२. हामी निवेदकहरूको गुठी रैतान नम्बरी घर जग्गा सम्पत्ति हाल नापी हुँदा गोरखकाली गा.पं. वार्ड नं. १ मा क्रमशः कि.नं.४७५, ४७३, ४७४, ४७६, ४५४, ४५७, ४७७, ४७२, ४४६, ४४२, ८०४, ४४७ र ४४९।४८१, ४५५, ४४३, ४४८, ४७९ तथा ४४४ कायम भएका छन् । उपरोक्त घर जग्गाको प्रकृतिको विषयमा नापीका बखत छानबीन हुँदा यी जग्गा रैकर सरहका गुठी रैतान नम्बरी हुन् तर ज.ध. प्रमाण पूर्जामा खास जोताहाको नाम मोहीको महलमा लेख्ने र जग्गा धनीको महलमा दर्तावाला मोहीको नाम लेख्ने तथा रैकर जग्गा सरह नै सम्बन्धित जग्गावालालाई सो पूर्जा दिने भन्ने स्वयं विपक्षी नं. १ ले ०४०।४।२४ मा स्वीकार गरी मा.पो.का.गोरखालाई पत्र प्रेसित गरेको छ । उक्त पत्रकै आधारमा हामीले रैकर सरह नै ज.ध.प्र. पूर्जा प्राप्त गरेका छौं । गोरखा बजार स्थित हाम्रो उपरोक्त घर जग्गा श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको प्रतिमा स्थापनाको लागि श्री ५ को सरकारले अधिग्रहण गरेकोमा घर पर्ने हामी निवेदकहरूले पुरा क्षतिपूर्ति प्राप्त गरी सकेको छौं । जग्गाको क्षतिपूर्ति लिन विपक्षी नं. २ मा सम्पर्क राख्दा गुठीको जग्गा भएबाट तीन खण्डको दुई खण्ड गुठी संस्थानलाई र १ खण्ड मुआवजा हामीलाई दिने भनिएबाट यो जग्गा रैकर सरहको नगद तिरो लागेको र हामीले ज.ध. सरह प्रमाण पूर्जा विपक्षी नं. १ कै निर्णयबाट पाएको र हाम्रो जस्तै विवादमा रैतान नम्बरी जग्गाको हकमा सम्पूर्ण मुआवजा दर्तावालालाई दिनु पर्ने सम्मानीत सर्वोच्च अदालतबाट निर्णय भएको कागज राखी निवेदन गरी पटक–पटक सम्पर्क राख्ने क्रममा ०४३।१०।२ मा सम्पर्क राख्दा ०४३।८।१८ मा विपक्षी नं. १ ले ३ खण्ड को २ खण्ड मुआवजा आफैंले पाउने निर्णय कायमै गरेको मौखिक जानकारी पायौं । अनौपचारिक रुपमा छाप नलगाई पत्रको प्रतिलिपि दिइयो ।
३. २०४०।४।२४ को विपक्षी गुठीसंस्थान कै पत्रले यो जग्गा गुठी रैताननम्बरी मानी सकिएको छ । यसै पत्रानुरुप हामीले ज.ध.प्र. पूर्जा पाई मालपोत सरहको तिरो लिई आएको छ । गुठी संस्थान ऐनको दफा २६, ३२ र ४२ ले सो अधिग्रहणमा परेको जग्गाको सम्पूर्ण मुआवजा हामीले प्राप्त गर्ने कुरा हाम्रो निर्विवाद हक हो । विपक्षी नं. २ आफ्नै पत्रद्वारा विबन्धित छन् । अब आई सक्षम अदालतबाट निर्णय नगराई स्वयेंव गुठी अधीनस्थ जग्गा भन्नु अधिकार क्षेत्रात्मक त्रुटि एवं तथ्य र औचित्यहीन समेत हुने भई अ.बं. ३५ प्रतिकूल छ । यदि त्यस्तो निर्णय गर्ने अधिकार भए पनि हामीलाई प्रतिवादको मौका दिनु पर्दथ्यो । सो दिइएको छैन । अतः विपक्षी नं. १ को ०४३।४।२४ र ०४३।८।१८ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी सम्पूर्ण मुआवजा हामीलाई दिनु भन्ने विपक्षी नं. २ को नाउँमा परमादेशको आदेश जारी गरिपाउँ भन्ने समेतको रिट निवेदन जिकिर ।
४. विपक्षीबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेतको यस अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश ।
५. निवेदनमा उल्लिखित कि.नं.का.जग्गाहरू अधिकरण भएपछि मालपोत कार्यालय गोरखाबाट वितरण भएको जग्गाधनी दर्ता प्रमाण पूर्जामा गुठी जनिएको देखिँदा गुठी संस्थानसंग सोधिएकोमा उक्त कि.नं.का जग्गाहरू राजगुठी हुँदा मोहिलाई ३ भागको १ भाग दिने, २ भाग गुठी संस्थानमा पठाउने भन्ने पत्र गुठी संस्थानबाट प्राप्त हुनआएकोले सोही बमोजिम मोहिलाई मुआवजा वितरण हुने सूचना सम्बन्धित मोहीलाई दिइएको भन्नेसमेतको जिल्ला कार्यालय गोरखाको लिखितजवाफ ।
६. विवादित जग्गा गुठी अधीनस्थ जग्गा भएकोले २ खण्ड गुठी संस्थानलाई १ खण्ड विपक्षीले मुआवजा पाउने गरी ०४३।८।१८ मा भएको निर्णय पर्चा सदर राखी झुठ्ठा दावी जिकिरबाट फुर्सद दिलाई पाउँ भन्ने महादेव मन्दिरका पुजाहारी रामजी अधिकारीको लिखितजवाफ ।
७. यो ठाउँको यो यो कि.नं.जग्गाको यो यो व्यक्तिलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा दिनु भनी गुठी संस्थानबाट लेखी पठाएको देखिँदैन । गुठी अधीनस्थ जग्गा हुँदा निवेदकले उल्लेख गरेको नजीर आकर्षित हुँदैन भन्ने समेतको गुठी संस्थानको लिखितजवाफ ।
८. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत रिट निवेदनमा निवेदकहरूका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले गुठी संस्थानको पत्र बमोजिम निवेदकहरूले ज.ध. दर्ता प्रमाण पूर्जा पाएको रैतान नम्बरी जग्गाको मुआवजा सबै निवेदकहरूले पाउन पर्ने हुन्छ भन्ने समेत र विपक्षी जिल्ला कार्यालयतर्फबाट उपस्थित विद्वान सह–न्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइरालाले र गुठी संस्थान तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शोभाकर उपाध्यायले गुठी अधीनस्थ जग्गा हुँदा रिट निवेदकको निवेदन जिकिर अर्थहिन छ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
९. अब प्रस्तुत रिट निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ भन्ने कुराको निर्णय दिनुपरेको छ ।
१०. निर्णयतर्फ विचार गर्दा यसमा हामी निवेदकहरूको गुठी रैतान नम्बरी जग्गा अधिग्रहणमा परेकोमा त्यसको मुआवजा हामीले पाउन पर्नेमा विपक्षी गुठी संस्थानले उक्त हाम्रो जग्गा गुठी अधीनस्थ भन्दै २ भाग क्षतिपूर्ति गुठी संस्थानले र १ भाग हामीले पाउने भनी निर्णय गरेको बदरभागी छ भन्ने समेतको निवेदन जिकिर भएकोमा विपक्षी गुठी संस्थानतर्फबाट पेश भएको लिखितजवाफमा विवादित जग्गा गुठी अधीनस्थ जग्गा हो गुठी रैतान नम्बरी होइन यो ठाउँको यो यो कि.नं.जग्गाको यो यो व्यक्तिलाई जग्गा धनि दर्ता प्रमाण पूर्जा दिनु भनी गुठी संस्थानबाट लेखी पठाएको समेत छैन भन्ने उल्लेख भएको देखिन्छ ।
११. विवादित जग्गा गुठी रैतान नम्बरी जग्गा वा गुठी अधीनस्थ के रहेछ भन्ने तर्फ विचार गर्दा फायल संलग्न ज.ध. प्रमाण पूर्जाको प्रतिलिपि हेर्दा जग्गा धनिको महलमा निवेदकहरूको नाम उल्लेख भएको देखिन आएको छ गुठी संस्थान ऐन, ०३३ को दफा २(ज) मा “गुठी रैतान नम्बरी जग्गा भन्नाले दर्तावालाले संस्थानलाई मालपोत बुझाउन पर्ने जग्गा सम्झनु पर्छ” भन्ने उल्लेख भएको पाइन्छ निवेदकहरूले गुठी संस्थानलाई मालपोत बुझाएको देखिन आएको छ गुठी संस्थानको मिति ०४०४२४ को मालपोत कार्यालय गोरखालाई पठाएको पत्र कै आधारमा निवेदकहरूले उक्त जग्गाको दर्ता प्रमाण पूर्जा भएको देखिन आएको छ गुठी संस्थानको उक्त पत्र र निवेदकहरूले ज.ध.प्र. पूर्जा पाए उपर संस्थानको उजूर परेको र बदर गराउन सकेको छैन सम्वत् २०४३ सालको रि.नं. २४३२ निवेदिका धनसरिया दासिन र विपक्षी गुठी संस्थान केन्द्रीय कार्यालय समेत भएको उत्प्रेषणको रिट निवेदनमा गुठी रैतान नम्बरी दर्ता भएको जग्गाको दर्ता बदर गर्न गुठी संस्थान केन्द्रीय कार्यालयलाई कानूनी अधिकार गुठी संस्थान ऐन, २०३३ को दफा ३९ ले नमिल्ने भनी ने.का.प. २०४४ को नि.नं. ३१८८ मा सिद्धान्त समेत प्रतिपादित भएकोछ उक्त प्रतिपादित सिद्धान्त समेतबाट रैतान नम्बरीमा दर्ता भएको जग्गाको दर्ता बदर गुठी संस्थानले गर्न सक्ने देखिँदैन निवेदकहरूको जग्गा गुठी रैतान नम्बरी नै मान्नु पर्ने हुन आयो गुठी रैतान नम्बरी जग्गामा जग्गावालाको हक र हैसियत प्रचलित कानून बमोजिम सरकारी रैकर जग्गाको जग्गावाला सरह नै हुनेछ भन्न गुठी संस्थान ऐन, २०३३ को दफा ३२(२) मा उल्लेख भएको व्यवस्थाबाट उक्त जग्गाहरू अधिग्रहणमा परेकोमा मुआवजा निवेदकहरूले नै पाउन पर्नेमा ३ भागको २ भाग गुठी संस्थानमा आउनु पर्ने भन्दै १ भाग खास जोताहा मोहिले पाउने गरी गुठी संस्थानबाट ०४३४२४ र ०४३८१८ मा निवेदकहरूको सम्बन्धमा भएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ जानकारीको लागि आदेशको प्रतिलिपि विपक्षी गुठी संस्थानमा र जिल्ला कार्यालय गोरखामा म.न्या.का.मार्फत पठाई फायल नियमबमोजिम गरी बुझाई दिनु
उक्त रायमा म सहमत छु ।
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४५ साल ज्येष्ठ २५ गते रोज ३ शुभम् ।