निर्णय नं. ३४०७ - कर्तव्य ज्यान

निर्णय नं. ३४०७ ने.का.प. २०४५ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४४ सालको फौ.पु.नं. ५०१
फैसला भएको मिति : २०४५।२।१७।२ मा
पुनरावेदक/प्रतिवादी : सुर्खेत गोगने गा.पं. वार्ड नं. ९ मलमी गाउँ बस्ने हाल कारागार शाखा सुर्खेतमा थुनामा रहेकी गौरी पुनः मगर्नी
विरुद्ध
विपक्षी/वादी : कुलबहादुरको जाहेरीले श्री ५ को सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) मानसिक सन्तुलन ठीक रहेको अवस्थामा गरेको अपराधिक कार्यको लागि दण्ड सजायँको १ नं. आकर्षित नहुने ।
तत्काल रीस उठी सोही रिसको कारणबाट नजिकै रहेको बञ्चरोको पासोले हानी मृत्यु भएको र अघिदेखिको ज्यान मार्नु पर्ने सम्मको इवी तथा मनसाय रहे भएको नदेखिँदा ज्यानसम्बन्धीको १३(१) नं. नलागी ज्या.सं. को १४ नं. बमोजिमको कसूर गरेको देखिने ।
(प्रकरण नं. १३)
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला : मिति २०४३।१२।१२ को मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय निम्नानुसार छ :
२. मिति २०४०।९।२० गतेका दिन विहान खाना खाई घरको परिवार आ–आफ्नो काममा गयौं । घरमा मेरो आमा र श्रीमती थिए र दिउँसो ३ बजे घरमा आगो लागि रहेकोले गाउँका मानिस समेत भई निभायौ आमा र गौरीलाई नदेखेकोले खोज्दा आमाको लाश खोलामा फेला परेको र श्रीमती गाउँकै कूलबहादुरको गोठमा ०४०।९।२२ गते फेला पारी सोधपुछ गर्दा सासू मनसरीलाई मारी घरमा समेत मैले नै आगो लगाएको हुँ भनी भनेकी र निजको २०४० साल कात्र्तिक देखि दिमाग बदलिने होस ठेगाना नभएको अवस्थामा हो वा कुन अवस्थामा हो श्रीमती गौरीले आमालाई मारी फालेको र घरमा समेत आगो लगाएकोले कानून बमोजिम सजायँ गरिपाउँ भन्ने कूलबहादुरको जाहेरी दर्खास्त ।
३. २०४० सालको दशैं तिहार देखि नै मलाई कहिले टाउको दुख्ने, कहिले हातखुट्टा बेहोस हुने कहिले बेहोस हुने, स्थिति ठिक थिएन । मैले सासूलाई मेरो हात खुट्टा झम झमाउँछ टाउको दुख्न खान मन लाग्दैन भन्दा तँलाई लाग्ने म नै हुँ भनी सासूले मलाई भनेकाले रीस थाम्न नसकी नजिकै रहेको बञ्चरोको पासोले सासू मनसारीको टाउकोमा हानी, निज मुर्छा परेपछि मरेको ठानी खोलामा पल्टाई दिएँ । रिसको आवेशमा हुँदा घरमा आगो लगाई दिएको हुँ भन्ने समेत गौरी पुनले प्रहरीमा गरेको बयान कागज ।
४. बुझिए सम्मको संकलित हुनआएको सबूद प्रमाणबाट मृतक मनसरीलाई गौरी पुन मगर्नीले कर्तव्य गरी मारेको सिद्ध हुनआएकोले मुलुकी ऐन ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेतको प्रहरी प्रतिवेदन ।
५. यही २०४० सालको दशैं देखि म विरामी थिएँ तर उपचार गरेकी थिइन । सासूलाई मार्ने दिन म छोरी समाती गुन्द्रि बुन्दै गरेकी सासूलाई मलाई लागेको रोगको विषय बताउँदा तेरो शरीरमा लाग्ने म हुँ भनेकाले मलाई रीस उठेकाले नजिकै रहेको बञ्चरोको पासोले टाउकोमा हाने र निज मरेको सम्झी खोलामा फालेकी हुँ । आगाको अगुल्टो छानामा घुसारेकी हुँ । त्यसपछि म कता हिंडे मलाई केही थाहा भएन भन्ने समेत गौरी पुन मगर्नीले अदालतमा गरेको बयान ।
६. गौरीलाई जाहेरवालाको घरमा लिएर सोध पुछ गर्दा सासूलाई बञ्चरोले हानी मारी घरमा आगो लगाउने म हुँ भनेकाले मनसरीलाई गौरीले मारेकी हुनुपर्छ भन्ने सरजमीन समेत मानिस सेरबहादुर गुरुङ्ग समेतले अदालतमा गरेको बकपत्र ।
७. घरमा मेरी आमा र प्रतिवादी गौरी थिए । दाई र म कुलो खन्न गएका थियौं । गौरीले आमालाई मारी घरमा आगो लगाई दिइछन । घरमा आगोको धुँवा उठेपछि म समेतका मानिस घरमा आउँदा गौरी घरमा थिइनन् । कुलबहादुरको गोठमा लुकेर बसेकी रहिछन् । घरमा उनको कसैसँग रीसइवी थिएन । उनी पागल जस्तो देखिन्थिइन् औषधि उपचार गरेको थिएन उ पागल जस्तो देखिन्थ्यो । गौरीलाई रोगले पक्राउ गरेकै अवस्थामा आमालाई मारी घरमा आगो लगाएको हुनुपर्छ भन्ने जाहेरवालाले अदालतमा गरेको बकपत्र ।
८. गौरी पुन मगर्नीले आफू गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने अवस्थामा आफ्नो सासूलाई बञ्चरोको पासोले हानी मारी घरमा आगो लगाएको देखिएकोले द.स.को १ नं. बमोजिम कुनै सजायँ गरी रहन नपर्ने ठहर्छ भन्ने शुरु जिल्ला अदालतको फैसला ।
९. गौरी पुन मगर्नीलाई द.स. को १ नं. बमोजिम सजायँ नगर्ने गरेको सुर्खेत जिल्ला अदालतको जाहेरी फैसलामा चित्त बुझेन । प्रहरी माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको तर्फबाट म.प.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।
१०. मैले सासू मनसरीलाई टाउकोमा बञ्चरोको पासोले एकपटक हाने त्यसपछि पनि कति पटक निजलाई हाने मलाई थाहा भएन । त्यसपछि मरेको ठानी खोलामा पल्टाई दिएँ भन्ने समेतको बयान निजले अधिकारप्राप्त अधिकारीमा गरेको र रीसकै कारणबाट कर्तव्य गरेको कुरा अदालतमा समेत बयान गरेकोबाट तत्काल उठेको रीसइबीबाट कर्तव्य गरेको देखिन आउँछ । तसर्थ विवाद हुँदाको अवस्था उठेको रीस थाम्न नसकी बञ्चरोको पासोले मनसरीलाई कर्तव्य गरी मारेको ठहर्छ भन्ने समेतको मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
११. आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने रोग ग्रस्त स्थितिमा गरेको कर्तव्यमा द.स. को १ नं. बमोजिम हुनु पर्नेमा शुरु जिल्ला अदालतको न्याय संगत इन्साफ उल्टाई शंका र गलत अनुमानको आधारमा म.प.क्षे.अ. ले गरेको त्रुटिपूर्ण फैसला उल्टाई पाउँ भन्ने समेत व्यहोराको गौरी पुन मगर्नीको पुनरावेदनपत्र ।
१२. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दाको सम्पूर्ण मिसिल अध्ययन गरी पुनरावेदकतर्फबाट उपस्थित हुनुभएका विद्वान वैतनिक अधिवक्ताले मेरो पक्ष मानसिक रुपमा असन्तुलित भएको र मानिसिक स्थिति जाँच गरिएकोमा निजलाई क्अजष्कय एजचभलष्ब को विरामीले ग्रस्त भई मानसिक असन्तुलन भएको भनी सम्बन्धित विशेषज्ञको राय उल्लेख भएको मानसिक अस्पतालको पत्रबाट देखिन्छ । साथै मेरो पक्षले आफ्नो सासू मार्नु पर्ने अपराधिक मनस्थिति राखेको थियो भन्ने कुरा मृतकका परिवारको कुनै पनि सदस्यबाट खुल्न आएको छैन । यसको अतिरिक्त प्रतिवादी थुनामा रहँदा केही महीनासम्म निजको मोड कहिले राम्रो हुने कहिले नराम्रो हुने गरेको भन्ने कारागार शाखाको ०४२।८।९ को पत्रबाट देखिएको समेतबाट द.स. को १ नं. बमोजिमको सजायँ हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
१३. यसमा म.प.क्षे.अ. ले गरेको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ । यस सम्बन्धमा विचार गर्दा श्रीमती गौरी पुनले आमा मनसरीको ज्यान कर्तव्य गरी मारी फालेकी र घरमा आगो समेत लगाएकोले सजायँ गरिपाउँ भनी कुलबहादुरले किटानी जाहेरी दिएको देखिन्छ । भई आएको लाशजाँच मुचुल्का एवं शव परीक्षण प्रतिवेदन समेतबाट कर्तव्य भई मरेको पुष्टि हुने हुनाले मनसरीको मृत्यु कर्तव्यबाट भएको रहेछ भन्ने देखिन्छ । निज प्रतिवादी गौरी पुनले प्रहरीमा गरेको बयान कागजको स.ज. ४ मा खाना खाई सकेपछि सासू मनसरीले खलामा गुन्द्री बुन्न लागिन, म पनि छोरी समाती खला नजिकै गई बसी मेरो हात गोडा झमझमाउँछ, खान मन लाग्दैन, खाना धेरै रुच्दैन, किन मलाई यस्तो हुन्छ भनी मैले सासूसँग भन्दा तेरो शरीरमा लाग्ने, तँलाई यस्तो बनाउने म हुँ भनी सासू मनसरीले जवाफ दिंदा मलाई ज्यादै रीस उठ्यो र नजिकै रहेको काठको बिँड भएको बञ्चरोको पासोले सासू मनसरीको टाउकोमा एकपटक हाँने त्यसपछि कतिपटक हाँने याद छैन र सासू मुर्छा परेपछि मरेको ठानी खलाको ठीक नेरबाट च्यारकुले खोलामा पल्टाई दिएँ भन्ने र निजले अदालतमा गरेको बयानको स.ज. ४ मा निज प्रतिवादीले सासूसँग रोगको विषयमा कुरा गर्दा तँलाई रोग लगाउने मै हुँ भनी भनेकाले नजिकै रहेको बञ्चरोको पासोले सासूको टाउकोमा एकपटक हाँने त्यसपछि कतिपटक हाँने कहाँ हाँने मलाई थाहा छैन भनी आफूले प्रहरीमा गरेको बयानलाई समर्थन गर्दै बयान गरेको देखिन्छ । प्रतिवादीलाई लागेको रोगको विषयमा सम्बन्धित विशेषज्ञ समक्ष जाँच गर्न पठाएकोमा निज प्रतिवादी गौरी पुनलाई Scjiso Phrenia भन्ने रोगसम्म लागेको भन्ने सुर्खेत अस्पतालको मिति ०४२।११।३ को पत्रबाट देखिन्छ । निज प्रतिवादीले रोगको कारणले मैले सासूलाई हिर्काएको हुँ भन्ने भनी प्रहरी र अदालतमा समेत भन्न लेखाउन सकेको पनि छैन । यसरी आफूले अपराध गरेको कुरा प्रहरी तथा अदालतमा स्वाभाविक एवं क्रमबद्ध रुपले वर्णन गरी रीसको आवेशमा आई बञ्चरोले हानेको कुरा स्वीकार गरी बयान कागज गरेको देखिन्छ । उक्त मिति ०४२।११।३ को अस्पतालको पत्रबाट रोग लागेपछि मानसिक असन्तुलन बरावर रही रहेन भन्ने देखिँदैन । कुनै बेला विरामी पूर्णतया मानसिक रुपमा स्वस्थ पनि हुन सक्छ । आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मानसिक असन्तुलन बिग्रिएको एवं सो स्थिति हमेशा रही रहने भन्ने पनि देखिँदैन । मानसिक सन्तुलन ठिक रहेको अवस्थामा गरेको अपराधिक कार्यको लागि दण्ड सजायँको १ नं. आकर्षित हुने होइन । तसर्थ दण्ड सजायँको १ नं. लाग्ने अवस्था देखिएन । अब प्रहरी माग दावी ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सजायँ हुने हो होइन सो सम्बन्धमा विचार गर्दा निज प्रतिवादी गौरी पुनले आफूलाई लागेको रोगको बारेमा सासूसंग कुरा गर्दा तँलाई रोग लगाउने म हुँ भनी भनेकोबाट तत्काल रीस उठी सोही रीसको कारणबाट नजिकै रहेको बञ्चरोको पासोले हानी मनसरीको मृत्यु भएको र अघिदेखिको ज्यान मार्नु पर्ने सम्मको इबी तथा मनसाय रहे भएको नदेखिँदा ज्यानसम्बन्धीको १३(१) नं. नलागी ज्या.सं. को १४ नं. बमोजिमको कसूर गरेको प्रष्ट देखिन्छ । तसर्थ ज्या.सम्बन्धीको १४ नं. लगाई प्रतिवादी गौरी पुनलाई १० वर्ष कैद गरेको मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा मनासिव हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
यसमा गौरी पुनः मगर्नी के माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.प.क्षे.अ. को इन्साफ सदर हुने ठहरेकोले अ.बं. २०३ नं. बमोजिम कैद वर्ष १० को ५µ ले थप ६ महीना कैद हुन्छ । लगत कसी असूल गर्नु भनी सुर्खेत जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु............................१
मिसिल नियमबमोजिम गरी बुझाई दिनु.......................१
उक्त रायमा मेरो सहमति छ ।
न्या. रुद्रबहादुर सिंह
इति सम्वत् २०४५ साल ज्येष्ठ १७ गते रोज २ शुभम् ।